Category: कलाप्रेस

  • ‘आँधी तुफान २’ निर्माण घोषणा, मौनता र मदनको सहकार्य

    ‘आँधी तुफान २’ निर्माण घोषणा, मौनता र मदनको सहकार्य

    काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो ।

    दशकअघि निर्माण भएको ‘आँधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । निर्माता मौनता श्रेष्ठ हुन् । उनले एकसय बढी फिल्म लेखेका छन् ।

    मदन घिमिरेको निर्देशन रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम लगायतको अभिनय हुने जनाइएको छ ।

    थ्रिलर र सस्पेन्स विधामा नारी एक्सन समेटेर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए ।

    चैतको पहिलो साताबाट छायाँकन सुरु हुने फिल्ममा रामशरण उप्रेतीको सिनेम्याटोग्राफी, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।

  • माधुरीको काखमा नेपाली बालिका समाइरा, ‘डान्स दिवाने’मा प्रतिस्पर्धा गर्ने

    माधुरीको काखमा नेपाली बालिका समाइरा, ‘डान्स दिवाने’मा प्रतिस्पर्धा गर्ने

    काठमाडौं- तीनवर्षे नेपाली बालिका समाइरा थापा अहिले भारतीय रियालिटी सोमा चर्चित छिन् । सानै उमेरमा टीकटक स्टार बनेकी यी फुच्चीको फ्यान हुने सूचिमा थपिएकी छिन् बलिउड डीभा एवं ‘धकधक गर्ल’ माधुरी दीक्षित ।

    समाइराकी दिदीले बुधबार इस्टाग्राममा पोस्ट गरेको एउटा तस्विरमा माधुरीले समाइरालाई मायालु तरिकाले बोकेको देख्न सकिन्छ । जुन तस्विर रियालिटी सो ‘डान्स दिवाने ३’ सिजनबाट लिइएको हो ।

    हरियो फ्रकमा समाइराले पोज दिएको देख्न सकिन्छ । उक्त तस्विर पोस्ट भए लगत्तै प्रशंसकले मुटु आकारको रातो इमोजीसहितका टन्नै प्रतिक्रिया दिएका छन् । आकर्षक नृत्य प्रस्तुतिका कारण बलिउड अभिनेत्री एवं जज माधुरी दीक्षित समेत समाइराकी प्रशंसक बनेकी छिन् ।

    माधुरीले धेरैपटक उक्त सोमा समाइरासहित नेपाल र नेपालीको समेत प्रशंसा गरेकी छिन् ।

  • धुर्मुस-सुन्तली फिल्म ‘म त मर्छु कि क्या हो’ एकैसाथ ६ ओटीटी प्लेटफर्ममा रिलिज हुने

    धुर्मुस-सुन्तली फिल्म ‘म त मर्छु कि क्या हो’ एकैसाथ ६ ओटीटी प्लेटफर्ममा रिलिज हुने

    काठमाडौं । कोरोनाभाइरस महामारीपछि नेपाली फिल्मले हाइव्रिड मोडेलको वितरण प्रणाली आत्मसात गरेको छ । यसो भन्नुको अर्थ फिल्म हल र डिजिटल प्लेटफर्ममा एकसाथ रिलिज हुनु हो ।

    सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली) फिल्म ‘म त मर्छु कि क्या हो’ आधादर्जन ओटीटी प्लेटफर्मबाट विश्वब्यापी रिलिज हुने भएको छ । फिल्मको डिजिटल अधिकार खरिद गरेको ए-८ फिल्मले एक महिनाभित्र फिल्मलाई रिलिज गर्न लागेको हो ।

    सेन्टी-भाइरसपछि धुर्मुस–सुन्तलीको यो अर्को फिचर फिल्म हो । यसको लेखन एवं निर्देशन र निर्माण पनि धुर्मुस सुन्तली गरेका हुन् । धुर्मुस-सुन्तलीको मुख्य भूमिका रहेको फिल्ममा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोलको अभिनय छ ।

    सामाजिक कथावस्तु समेटिएको फिल्मलाई एक महिनाभित्र सुविसी, ओहोमूभिज, वल्र्डलिंक, डिसहोम, नेपाल टेलिकम र एनसेलका प्लेटफर्ममा रिलिज गरिने भएको छ । भाइरस महामारीअघि धुर्मुस–सुन्तलीको सेन्टी भाइरस रिलिज भएको थियो ।

  • नेफ्टा अवार्डको डान्स रिहर्सलमा कलाकार (तस्विरहरु)

    नेफ्टा अवार्डको डान्स रिहर्सलमा कलाकार (तस्विरहरु)

    काठमाडौं । १० औं नेफ्टा फिल्म अवार्ड फागुन २९ गते काठमाडौंमा हुँदैछ । चलचित्र प्राविधिक संघको आयोजनामा हुने अवार्डमा गतवर्ष मनोनित फिल्मका विजेताले अवार्ड प्राप्त गर्नेछन् ।

    अवार्डलाई भव्य बनाउन कलाकारले नृत्य प्रस्तुति दिँदैछन् । राष्ट्रिय नाचघरमा कलाकारले डान्स रिहर्सल गरिरहेका छन् । सुरक्षा पन्त, प्रमोद अग्रहरि, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रुबिना थापा, जेविका कार्कीले नृत्य सिकिरहेका छन् ।

     
     
     
     
     
     
     

    नरेशविर सिंहले नृत्य निर्देशन गरिरहेका छन् । एलआइसी नेपालले प्रायोजन गर्ने अवार्ड सोल्टी क्राउन प्लाजामा हुनेछ । कोरोनाभाइरस महामारीपछि पहिलोपटक फिल्म अवार्ड हुन लागेको हो ।

    कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउन अवार्ड महत्वपूर्ण हुने आशा प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राखेका छन् । यसअघि विदेशमा हुँदै आएको अवार्ड यसपटक भने स्वदेशमै हुन लागेको हो ।

  • चीन ‘गरिबीमुक्त’ भन्ने आशंका खण्डन गर्न राजदूत यान्छीले रिलिज गरिन् फिल्म

    चीन ‘गरिबीमुक्त’ भन्ने आशंका खण्डन गर्न राजदूत यान्छीले रिलिज गरिन् फिल्म

    काठमाडौं । गतसाता चीनले सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गर्‍यो । चिनियाँ विशेषतासहितको मापदण्डअनुसार १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरिएको घोषणा राष्ट्रपति सी जिङपिङले गरेका थिए ।

    चिनियाँ संचारमाध्यमले यसलाई मानव इतिहासकै ठूलो काम भनिरहेका छन् । तर, पश्चिमा संचारमाध्यमले चाहिँ चिनियाँ मापदण्डको गरिबी निवारण्मा भने आशंका गरिरहेका छन् ।

    चिनियाँ नेतादेखि कुटनीतिज्ञ समेत अहिले चीन गरिबीमुक्त भएको पुष्टि गर्न सक्रिय भएका छन् । यो मामिलामा नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीसमेत सक्रिय छिन् । चीन अब गरिब नरहेको औचित्य पुष्टि गर्न यान्छीले बुधबार ५० मिनेट लामो एउटा डकुमेन्ट्री फिल्म सार्वजनिक गरेकी छिन् ।

    न्यू चाइना टिभीको उक्त डकुमेन्ट्रीमा चीनले कसरी गरिबी निवारण गर्न सक्यो भन्ने कुरा चित्रण गरिएको छ । राजदूत यान्छीले सेयर गरेको डकुमेन्ट्री यस्तो छ । हेर्नूस :

  • उपासनासहित मिस नेपाल टाइटल विजेताले शुभारम्भ गरे शैक्षिक परामर्श शाखा

    उपासनासहित मिस नेपाल टाइटल विजेताले शुभारम्भ गरे शैक्षिक परामर्श शाखा

    काठमाडौं– अभिनेत्री उपासनासिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखा शुभारम्भ गरेकी छिन् । ठकुरी यो एजुकेसन कन्सलटेन्सीकी ब्राण्ड एम्बेसडर समेत हुन ।

    काठमाण्डौको नयाँ बानेश्वरमा रहेको नयां शाखाको उपासनासहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले शुभारम्भ गरेका हुन ।

    उद्घाटन कार्यक्रममा अभिनेत्री ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा खुशि व्यक्त गरिन् ।

    ‘सस्थाको बिगतको कार्य सही लागेर एम्बेसडरको रूपमा काम गर्ने सहमति जनाएकी हुँ’, उपासनाले भनिन् । संस्थाका प्रमुख सुनील उप्रेतीले पछील्लो समय युवा दर्शकमाझ राम्रो क्रेज बनाउन सफल ठकुरीलाई ब्राण्ड दूतको रुपमा छनौट गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।

    मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले संस्थाको सफलताको शुभकामना ब्यक्त गरे ।

    ‘बिध्यार्थीको सन्तुष्टी नै आफ्नो संस्थाको लक्ष्य भएको कुरा बताउँदै नबराज प्रसाईँ , नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा एजुकेसन एण्ड माइग्रेसन कर्नर बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने बताए ।

  • अनुराग कश्यप र तपसी पन्नुको घरमा कर विभागको छापा

    अनुराग कश्यप र तपसी पन्नुको घरमा कर विभागको छापा

    मुम्बइ- भारतको कर विभागले अनुराग कश्यप, तपसी पन्नु, विकास बहलसहित बलिउडका ठूला हस्तीको घरमा छापा मारेको छ ।

    कर छलीको आरोपमा विभागले अन्य ३३ स्थानमा समेत छापा मारेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    साथै विभागको टोलीले फ्यान्टम फिल्मको कार्यालयमा समेत छापा मारेको जनाइएको छ । उनीहरुमाथि कर छली र स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ ।

  • गुरुङ फिल्मलाई हलमा चलाउन मुस्किल, पुनः च्यारिटीकै भर !

    गुरुङ फिल्मलाई हलमा चलाउन मुस्किल, पुनः च्यारिटीकै भर !

    पोखरा। हलमा नेपाली फिल्ममात्रै चल्ने तर, गैर नेपाली भाषी फिल्म सधैं च्यारिटीकै भर पर्नु परेको भन्दै गुरुङ फिल्म एसोसियसन (जिफान)ले माघदेखि गुरुङ भाषाका फिल्म नियमित रुपमा हलमा चलाउने घोषणा गर्‍यो ।

    सभागृहस्थित मिडटाउन ग्यालेरियामा माघ २३ गतेदेखि असार ५ गतेसम्म गुरुङ भाषाका विभिन्न फिल्म प्रदर्शन गर्ने एसोसियसन अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिएका थिए । त्यसअनुरुप दिउँसो १२ र २ बजेको समय तालिकासमेत सार्वजनिक भइसकेको थियो ।

    एसोसियसनले योजनाअनुरुप केही फिल्महरु पनि चलायो । तर, अपेक्षाबमोजिम दर्शकहरु आइदिएनन् । दर्शक अभावकै कारण फिल्म निर्माताको लगानीसमेत डुब्ने खतरा बढ्यो ।

    हलमा नियमित गुरुङ फिल्म सञ्चालन गर्ने घोषणा गरेको एक महिना नबित्दै जिफान पुनः च्यारिटी प्रदर्शनमै फर्किएको छ । हलमा नियमित फिल्म प्रदर्शन गर्दा दर्शक पनि नआउने र लगानीसमेत जोखिममा परेपछि फेरि पुरानै अवस्थामा फर्किनु परेको जिफान गण्डकी अध्यक्ष अध्यक्ष माओत्से गुरुङ बताउँछन् ।

    ‘हलमा अपेक्षित दर्शक आइदिएनन् । त्यसमाथि हामीले कोरोना महामारी नसकिँदै गुरुङ भाषाको फिल्म नियमित सञ्चालन गर्ने जमर्को गरेका थियौं,’ गुरुङ भन्छन्, ‘कोरोना महामारीपछि हलमा लागेका नेपाली फिल्मलेसमेत खुसी दिन नसकेको स्थिति छ ।’

    नेपाली फिल्ममा नेपाली भाषाको फिल्मपछि सबैभन्दा बढी लगानी गुरुङ फिल्ममा हुन्छ । तर, पर्याप्त दर्शकको साथ नपाउँदै च्यारिटी सोमै सीमित हुनुपरेको गुरुङ बताउँछन् । ‘गुरुङ फिल्मलाई गुरुङ समुदायले नै वेवास्ता गरे गुरुङ चलचित्रको पत्ता साफ हुनेछ,’ उनले चेतावनी दिए ।

    हलमा चलाउँदा महँगो भाडा तिर्नुपर्ने तर, सोही अनुसार दर्शकको अभाव हुने माओत्से सुनाउँछन् । ‘हलमा २–३ सय जनाका लागि महङ्गो भाडा रकम तिर्नुपर्छ तर पार्टी प्यालेस च्यारिटी सो गरे सजिलो पनि हुन्छ । लगानी पनि उठ्छ,’ उनले भने ।

    हलमा नियमित चल्न नसकेपछि गुरुङ फिल्म ‘शिरसुवा’ फागुन २२ मा विशेष च्यारिटी शो गरिने भएको छ । माओत्से गुरुङद्वारा निर्देशित ‘शिरसुवा’ फिल्म च्यारिटी प्रदर्शन गर्ने निर्माण पक्षले पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

    ब्रेज मेस्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा बनेको फिल्ममा करिब ३५ लाख रुपैयाँ लगानी छ । विश्वास गुरुङले फिल्ममा मुख्य अभिनेताको चरित्र चित्रण गरेका छन् । मुख्य कलाकारमा सुमन गुरुङ र प्रीति गुरुङ छन् ।

    अभिनेत्री प्रिती गुरुङले फिल्म आकर्षक रहेको बताइन् । ‘शिरसुवामा निकै मिहेनत गरेकी छु । फिल्ममा गाउँ तथा गुरुङ संस्कृतिलाई विशेष तरिकाले प्रस्तुत गरिएको छ,’ उनले भनिन् । यसअघि शिरसुवा घान्द्रुक र काठमाडौंमा विशेष प्रदर्शन भइसकेको छ । ८० प्रतिशत गुरुङ भाषा समेटिएको फिल्मको निर्माता तथा कथाकार विमल गुरुङ हुन् ।

  • पढाइमा सेलेव्रिटी : करिश्मा १२ कक्षा भर्ना, सपना कानून पढ्दै

    पढाइमा सेलेव्रिटी : करिश्मा १२ कक्षा भर्ना, सपना कानून पढ्दै

    काठमाडौं । वेवारिसे शव व्यवस्थापन गरेर विश्व चर्चित बनेकी सपना रोका मगर र अभिनेत्री करिश्मा मानन्धर अहिले पुनः मिडियाको हेडलाइनमा छन् ।

    आ-आफ्नो कर्मद्वारा लोकप्रिय बनेका यी दुई पात्रको पछिल्लो चर्चा भने ज्ञान आर्जन गर्ने कार्यसँग जोडिएको छ । उमेरले ४० कटेकी करिश्मा मानन्धर १२ कक्षा पढ्दैछिन् ।

    गोदावरी घर नजिकैको किटिनी कलेजमा करिश्मा पढ्छिन् र उनी बैशाखमा हुने परिक्षाको तयारीमा छिन् । उच्च शिक्षा पनि सोही कलेजबाट गर्ने करिश्माले नेपालप्रेसलाई बताइन् ।

    पूर्वमिस नेपाल श्रृंखलाले हावर्ड युनिभर्सिटीमा पढ्ने

    वेवारिसे शव व्यवस्थापन गरेर बीबीसीको सय प्रभावशाली महिलाको सूचिमा परेकी मगर चाहिँ बानेश्वरको हिमालयन ह्वाइट हाउस कलेजमा भर्ना भएकी छिन् । पूर्ण छात्रवृत्तिमा कलेजले उनलाई कानुन विषयमा भर्ना गराएको छ ।

    अध्ययनसँगै कामलाई पनि सँगै अघि बढाउने योजना रहेको सपनाले नेपाल प्रेसलाई बताइन् । सपनाले २०७३ सालदेखि पढाइ छाडेकी थिइन् । नेपाली समाजका यी दुई नारी पात्रको पढाइ प्रतिको लगावले अन्यलाई पनि प्रेरणा मिल्ने विश्वास गरिन्छ ।

    पूर्वमिस नेपाल श्रृंखला खतिवडा सहरी योजना विषय अध्ययनका लागि प्रतिष्ठित हावर्ड विश्विद्यालयमा भर्ना भएकी छिन् । जहाँ उनले स्नातकोत्तर अध्ययन गर्नेछिन् ।

  • शिवरात्रिकाे अवसरमा पृथ्वी खनालले ल्याए ‘शिव ताण्डव’ (भिडिओसहित)

    शिवरात्रिकाे अवसरमा पृथ्वी खनालले ल्याए ‘शिव ताण्डव’ (भिडिओसहित)

    काठमाडौं- गायक तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पृथ्वी खनालले ‘शिव ताण्डव स्तोत्र’को म्युजिक भिडियो युट्युव रिलिज गरेका छन् ।

    द भ्वाइस अफ नेपाल सिजन– २ बाट सांगीतिक आकाशमा उदाएका गायक खनालले फरक शैलीमा शिव ताण्डव म्युजिक भिडियो इन्टरनेट रिलिज गरेका हुन् । हिन्दू धर्मका भगवान शिवजीको ताण्डव नृत्य शैलीको कोरियोग्राफीमा स्तोत्र प्रस्तुत गरिएको छ ।

    मौलिक बाजागाजा प्रयोग गरिएको संगीतमा गायक खनालको स्वर र देवेश राईको कम्पोज समावेश छ । भिडियोमा पृथ्वी र स्वजन रघुवंशीलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

    पृथ्वीले भगवान शिवका पुजारीको भूमिका चित्रण गरेका छन् । ज्योति प्रोडक्सनले उत्पादन गरेको भिडियो ग्रीश्मा भट्टको निर्माण, पीटर गुरुङको छायांकन, विष्णुहरि तिमल्सिनाको सम्पादन र खनालको कथा एवं निर्देशनमा बनाइएको छ ।

  • राष्ट्रपतिद्वारा नातीकाजी राष्ट्रिय संगीत सम्मान प्रदान, ११ संगीतकर्मी सम्मानित

    राष्ट्रपतिद्वारा नातीकाजी राष्ट्रिय संगीत सम्मान प्रदान, ११ संगीतकर्मी सम्मानित

    काठमाडौंँ । गायक नातिकाजी श्रेष्ठको ९४औँ स्मृती दिवसको अवसरमा नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार प्रदान गरिएको छ ।

    राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित कार्यक्रममा संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरियो ।

    ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६’बाट गीतकार बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणी देवकोटा, संगीतकार राजु सिँह, सुनिल मास्के, मदनसिँह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाललाई सम्मानित गरियो ।

    सुगम पोखरेल, चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट पुरस्कृत भए । प्रतिभा पुरस्कार २०७६’बाट भने गायक सुरजकुमार थापा, गीतकार हर्क साउद र गायिका मेलीना राई पुरस्कृत भए ।

    संगीत संयोजक तथा वाद्य पुरस्कार वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार विकासनाथ योगी, राष्ट्रिय लोक संगीत पुरस्कार बद्री पंगेनी, राष्ट्रिय सम्मान नवराज केसीलाई प्रदान गरियो ।

    राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर सम्मान प्रदान गरे ।

    राष्ट्रपति भण्डारीले सम्मानित तथा पुरस्कृतलाई बधाई ज्ञापन गर्दै नेपाली संगीत आकाशका उज्वल नक्षत्र भन्दै नातिकाजीको चर्चा गरिन् ।

    समारोहमा संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न गायक गायिकाले नातिकाजीद्वारा संगीतवद्व गीत गाएका थिए ।

  • इन्टरनेटमा फिल्म पाइरेसी आरोपमा युवक पक्राउ, ‘डमरुको डन्डिबियो’ लगायत फिल्म लिक्ड

    इन्टरनेटमा फिल्म पाइरेसी आरोपमा युवक पक्राउ, ‘डमरुको डन्डिबियो’ लगायत फिल्म लिक्ड

    काठमाडौं । ‘डमरुको डन्डीबियोँ’ लगायतका फिल्म इन्टरनेटमा पाइरेसी गरेको आरोपमा प्रहरीले एक २५ वर्षे युवकलाई पक्राउ गरेको छ ।

    चलचित्र विकास बोर्डमा मंगलबार आयोजित प्रेसमिटमा प्रहरीले पक्राउ गरिएका युवक र घटनाबारे जानकारी दियो ।

    लमजुङको बेशीसहर घर भएका सुजन परियारलाई पक्राउ गरि मुद्दा चलाउने तयारी भैरहेको जानकारी उक्त प्रेसमिटमा दिइयो । परियारले सिनेमा घर एपबाट अनाधिकृतरुपमा केही फिल्म पाइरेसी गरि टेलिग्राम एपमा अपलोड गरेको जनाइएको छ ।

    अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलले संचालनमा ल्याएको उक्त सिनेमा घर एपबाट डमरुको डन्डीबियोँ, सरौतो लगायतका फिल्म पाइरेसी गरेको जनाइएको छ ।

    एप संचालक खरेलले कानुन बमोजिम कार्वाही हुने ढंगले परियारविरुद्ध मुद्दा चलाइने बताए । अभिनेता लामिछानेले पाइरेसीका कारण फिल्म उद्योगले मार खेप्नुपरेको बताउँदै पशुपतिप्रसाद फिल्म पाइरेसीको पीडा अहिलेसम्म भोगिरहेको स्मरण गरे ।

    उक्त अवसरमा अभियुक्तलाई भौतिकरुपमा उपस्थित नगराई प्रहरीका प्रतिनिधिले तस्विर र जानकारी सार्वजनिक गरेका थिए । परियारविरुद्ध इन्टरनेटमा अनाधिकृतरुपमा फिल्म पाइरेसी गरेको आरोप लगाइएको छ । परियारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरि टेकुस्थित महानगरीय प्रहरी परिसरमा राखेको छ ।

  • नेपाली फ्यानको उपचारमा बलिउड अभिनेता सोनु सुदले सहयोग गर्ने

    नेपाली फ्यानको उपचारमा बलिउड अभिनेता सोनु सुदले सहयोग गर्ने

    दिल्ली- कोरोनाभाइरस महामारी सुरु भएदेखि नै बलिउड अभिनेता सोनु सुद मानवीय कार्यमा सक्रिय छन् ।

    लकडाउनमा भारतीय मजदुरलाई आफ्नो ठाउँमा पठाउन यातायातको व्यवस्था गरेर होस् या, खानपिनको व्यवस्था गरेर । भारतमा उनको छवि फिल्मको भिलेन होइन, हिरोको रुपमा स्थापित भएको छ ।

    उनले ट्वीटरबाटै फ्यानको समस्यालाई सम्बोधन गर्ने गरेका छन् । जसले गर्दा उनले फ्यानबाट माया पनि पाएका छन् ।

    हालै, अभिनेता सुदलाई उनका एकजना नेपाली फ्यानले शल्यक्रियाका लागि रकम जुटाउनुपर्ने र त्यसका लागि सहयोग गर्न ट्वीटरमार्फत आग्रह गरे । लठ्ठीको सहयोगमा हिँडेको भिडियो पनि उनले पोस्ट गरेका छन् ।

    नेपाली प्रयोगकर्ता मधु पौडेलले आफू १० वर्षदेखि एङ्किलसिङ स्पोनडाइलिटिज (ढाड दुख्ने समस्या) बाट पीडित भएको र उपचारका लागि पैसा नभएको समस्या मेन्सन गरेका थिए ।

    जवाफमा सुदले ट्वीट गरे –अतिथि देवो भवः । हिन्दुस्तानबाट नेपाल विना लठ्ठी दौडँदै पुग्नेछौ । जय हिन्द ।’

  • पूर्वमिस नेपाल श्रृंखलाले हावर्ड युनिभर्सिटीमा पढ्ने

    पूर्वमिस नेपाल श्रृंखलाले हावर्ड युनिभर्सिटीमा पढ्ने

    काठमाडौं- पूर्वमिस नेपाल श्रृंखला खतिवडा इन्जिनियरिङ विद्यार्थी पनि हुन् । सौन्दर्यसँगै अध्ययनमा पनि यी सुन्दरी अगाडि छिन् । उनलाई चिन्नेहरु ‘ब्रेन विथ ब्यूटी’ पनि भन्छन् ।

    श्रृंखलाका प्रशंसकका लागि नयाँ खबर छ । विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय हावर्डमा स्नातकोत्तर अध्ययनका लागि श्रृंखला भर्ना भएकी छिन् । त्यहाँ उनले सहरी योजना विषयमा अध्ययन गर्नेछिन् ।

    मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले श्रृंखलालाई बधाइ दिँदै उनको उच्च शिक्षा अध्ययनका लागि शुभकामना व्यक्त गरेको छ । श्रृंखला सन् २०१८ की मिस नेपाल हुन् ।

    हावर्डमा अध्ययन गर्न पाउनु आफ्ना लागि अहिलेसम्मकै खुशिको कुरा भएको भन्दै श्रृंखलाले सामाजिक संजालमा उल्लेख गरेकी छिन् ।

  • मिलन चाम्सको ‘गोर्खा वारियर-२’ निर्माण घोषणा (तस्विरहरु)

    मिलन चाम्सको ‘गोर्खा वारियर-२’ निर्माण घोषणा (तस्विरहरु)

    काठमाडौं । निर्देशक मिलन चाम्सले गोर्खाली सैनिकको वीरतामा आधारित फिल्म ‘गोर्खा वारियर’का चार श्रृंखला निर्माणको घोषणा गरेका छन् ।

    मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा फागुन २७ गतेदेखि दोस्रो सिक्वेलको छायांकन सुरु हुने जानकारी दिइयो । पहिलो सिक्वेलको २० प्रतिशत छायांकन पुरा भएको र आउँदो वर्ष निर्माण सम्पन्न हुने घोषणा उनले गरे । सन् २०२२ मा रिलिज लक्ष्य राखिएको छ ।

    गोर्खा वारियर-२ मा रितेश चाम्स, रेविका गुरुङ र विजय लामाको मुख्य भूमिका हुनेछ । रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले र सारा राईको समेत मुख्य भूमिका हुनेछ ।

     

    ‘गोर्खाली सेनाको वीरता र योगदानमा फिल्म आधारित हुनेछ’ पटकथा लेखक समेत रहेका चाम्सले भने । उक्त अवसरमा चाम्सले बेलायती राजपरिवार, अमेरिकी राष्ट्रपति, सिंगापुर प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीको सुरक्षामा गोर्खा सैनिक खटिएको भिडियो प्रस्तुति गरेका थिए ।

    
     

    गोर्खा वारियर-२ मा एलिस कार्कीको संगीत, अर्जुन विसीको सम्पादन, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेनछ । निर्देशक चाम्स र गिरिराज घिमिरेले मिलेर पटकथा लेखेका हुन् ।

    
     

    लन्डन सिनेआइ प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले मिलेर फिल्म निर्माण गर्न लागेका हुन् । सुरेश राई र पूर्ण लिम्बु सह–निर्माता छन् । नेपालको सोलुखुम्बु, मलेसिया र बेलायतमा फिल्म सुटिङ हुनेछ ।

  • नेपथ्य गीत ‘जोमसोमै बजार’का गीतकारको अमेरिकामा निधन

    नेपथ्य गीत ‘जोमसोमै बजार’का गीतकारको अमेरिकामा निधन

    न्यूयोर्क । नेपथ्य ब्यान्डको चर्चित गीत ‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको हृदयघातका कारण अमेरिकामा निधन भएको छ ।

    गत शुक्रबार उनको निधन भएको जनाइएको छ । अमेरिकाको नर्थ क्यारोलिनामा उनले रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका थिए ।

    मुस्ताङमा जन्मिएका थकालीको ५१ वर्षको उमेरमा निधन भएको हो । रेष्टुरेन्टको काम सकेर उनी राती बाथरुम गएका थिए र धेरैबेरसम्म नफर्किएपछि उनी लडिरहेको अवस्थामा भेटिएका थिए ।

    नेपथ्यको यो चर्चित गीत अहिलेसम्म कालजयी मानिन्छ । १२ बजेपछि हावा चल्ने भएकाले जोमसोमको सौन्दर्यलाई परिकल्पना गरेर उनले जोमसोममै रहेर उक्त गीत लेखेका थिए ।

    मुस्ताङको घरपझोङ-४, जोमसोममा पुख्र्यौंली घर रहेका उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए । थकालीको मंगलबार अमेरिकामा अन्त्येष्ठी गरिने भएको छ ।

  • ‘परदेशी’ सिक्वेलमार्फत प्रेमराजा महतको अभिनयमा डेब्यु

    ‘परदेशी’ सिक्वेलमार्फत प्रेमराजा महतको अभिनयमा डेब्यु

    काठमाडौं । गायक प्रेमराजा महतले अभिनयमा डेब्यु गरेका छन् । अमेरिकामा छायांकन भैरहेको ‘परदेशी २’मा महतको अभिनयलाई हेर्न पाइने भएको छ ।

    अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका थलोमा छायांकन भएको फिल्ममा महतले दिलिप रायमाझी लगायतका कलाकारसँग स्क्रिन सेयर गरेका हुन् ।

    अमेरिकी अभिनेत्री तारा लिन्हर्ट र बाल कलाकार प्राज्ञी सुनारले पनि अभिनय गरेका छन् । नेपालपछि अमेरिकामा फिल्म छायांकन भएको हो । रायमाझी र निर्देशक नारायण रायमाझी अहिले बाल्टिमोरमै छन् ।

    आगामी दशैंमा फिल्म रिलिज लक्ष्य राखिएको छ । प्रशान्त तामाङ, केकी अधिकारी, प्रकाश सपुत, वर्षा शिवाकोटी, नीर शाह लगायत फिल्ममा छन् । प्रकाश सपुत र महतका लागि यो डेब्यु फिल्म हो ।

    राजेश वंशल र रायमाझीले मिलेर फिल्म निर्माण गरेका हुन् । यी दुईजनाले यसअघि ‘गोर्खापल्टन’ र ‘परदेशी’जस्ता फिल्ममा सहकार्य गरेका थिए । पूर्व इन्डियन आइडल तामाङले पनि गोर्खापल्टनदेखि अभिनयमा डेब्यु गरेका थिए ।

  • अस्मिताको गीतले राख्यो युट्युव रेकर्ड, १५ दिनमै करोड पटक हेरियो

    अस्मिताको गीतले राख्यो युट्युव रेकर्ड, १५ दिनमै करोड पटक हेरियो

    काठमाडौं । पछिल्लो समय भिडियो साझेदारी साइट युट्युवलाई सांगीतिक लोकप्रियताको मापन गर्ने सूचकको रुपमा लिन थालिएको छ ।

    संगीतकर्मीबीच युट्युव ट्रेन्डिङदेखि सर्वाधिक पटक हेरिने मापदण्डमा प्रतिस्पर्धा हुन थालेको छ । मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको ‘फुलबुट्टे सारी’लाई रिलिज भएको १८ दिनमा करोडभन्दा बढीले हेरे ।

    उक्त गीतलाई अब भने पल शाह र मलिका महतले अभिनय गरेको ‘टाढा भएपनि’ म्युजिक भिडियोले उछिनेको छ । १५ दिनमै यो गीतलाई एक करोडभन्दा बढी पटक हेरिएको छ ।

    गायिका अस्मिता अधिकारी ।

    अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युट्युवमा १५ दिनमै १ करोड पटक हेरिएको हो । अभिनेता शाहले आफू अभिनित गीतले रेकर्ड राखेको भन्दै सामाजिक संजालमार्फत खुशि व्यक्त गरेका छन् ।

    यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार पटक हेरिएको छ ।

  • धुर्मुसलाई हौसाउँदै हरिवंशले भने- तपाईं सालिकजस्तै मान्छे हो, देशले मूल्यांकन गर्नेछ

    धुर्मुसलाई हौसाउँदै हरिवंशले भने- तपाईं सालिकजस्तै मान्छे हो, देशले मूल्यांकन गर्नेछ

    काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले अर्को पुस्ताका हास्यकलाकार सिताराम कट्टेल धुर्मुसको प्रशंसा गर्दै उनलाई ‘सालिक’को संज्ञा दिएका छन् । धुर्मुसले अघि बढाएको सामाजिक अभियानलाई ईंगित गर्दै उनले यस्तो संज्ञा दिएका हुन् ।

    राजधानीमा आयोजित एक कार्यक्रममा हरिवंशले जनतासँग पैसा उठाउने काम अत्यन्त संवेदनशील हुने बताए । आफूहरुको अनुभव पनि सुनाउँदै उनले धुर्मुसको सहनशक्ति उच्च रहेको उल्लेख गरे ।

    ‘सामाजिक काम गर्दा एकदमै पोल्छ । जनतासँग पैसाका लागि हात थाप्दा त्यो पैसा होइन आगोजस्तो लाग्छ,’ हरिवंशले भने, ६२/६३ को आन्दोलनका क्रममा हामीले पनि आह्वान गरेर दुई करोड ५० लाख उठाएका थियौं । तर, त्यसमा सानो-सानो प्रश्न उठ्दा पनि रातभरि निद्रा लाग्दैनथ्यो । कोही नकारात्मक प्रवृत्तिका मान्छेले यत्तिकै पनि आरोप लगाइदिन्छन् । त्यसैले हामीलाई यति पोल्यो कि त्यो पैसा आफूसँग राख्नै सकेनौं । एउटा कमिटी बनाएर साइन पनि नगरी हस्तान्तरण गरिदियौं ।’

    हरिवंशले आफूहरूको भन्दा धुर्मुसको सहनशक्ति धेरै रहेको बताए ।

    उनले भने, ‘धुर्मुस भाइ, तपाईं अगाडि बढ्नुस् । तपाईं फलामको मान्छे हो । ढुंगाको मान्छे हो । मलाई त तपाईं एउटा सालिकजस्तै लाग्छ । सालिकलाई सानो ढुंगालो हानो भने ट्वाङ्ग आवाज आउँछ, केही हुँदैन । तपाईंको पनि सहनशक्ति त्यति धेरै छ । तपाईंको महान कामको मूल्यांकन पछि देशले गर्नेछ ।’

    चितवनमा धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालमा कसैको व्यक्तिगत पहलमा अघि बढेको सबैभन्दा ठूलो अभियान भएको हरिवंशले बताए ।

  • जयनेपाल सधैंका लागि बन्द, देशभरका १० प्रतिशत फिल्म हल संचालनमा नआउने

    जयनेपाल सधैंका लागि बन्द, देशभरका १० प्रतिशत फिल्म हल संचालनमा नआउने

    काठमाडौं । नेपाल चलचित्र संघले कोभिड कहरपछि मुलुकका १० प्रतिशत हल सधैंका लागि बन्द हुने जनाएको छ ।

    संघका कोषाध्यक्ष देवेन्द्र खड्गीका अनुसार सरकारले राहत उपलब्ध गराउन नसक्दा ती हल बन्द भएको बताए । महामारीपछि बन्द हुने हलमा मोफसलका अधिकांश एकल पर्दा छन् ।

    सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २० वर्ष पुरानो जयनेपाल फिल्म हल सधैंका लागि बन्द गरेको छ । क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले कोभिड महामारीपछि हललाई बन्द गरिएको बताए ।

    जयनेपालका सबै सामानहरु पनि विक्री भैसकेको उनले जनाए । नेपालमा अंग्रेजी फिल्म हेर्ने र मल्टिप्लेक्स संस्कृति सुरुआत गर्ने श्रेय जयनेपाललाई जान्छ । शहरिया सम्भ्रान्त वर्गलाई हलसम्म तान्ने कोसेढुंगाको रुपमा जयनेपालको योगदान छ ।

    क्वेस्ट इन्टरेनमेन्टले फिल्मले लय समात्दै गए कुमारी हललाई चाँडै संचालनमा ल्याउने तयारी गरेको छ । प्रमुख उद्दिनका अनुसार क्यूएफएक्सको बीरगंज आउटलेट पनि चाँडै संचालनमा आउनेछ । अहिले कर्मचारी कटौती गरेर क्यूएफएक्सले सीमित आउटलेटर्ला संचालनमा ल्याएको छ ।

    अहिले मुलुकमा १२० भन्दा बढी हल संचालनमा छन् ।

    महामारीपछि भारत र चीनका पनि दशौं हजार फिल्म हल बन्द भएका छन् र बन्द हुनेमा अधिकांश सिंगल थिएटर छन् ।

  • गोल्डेन ग्लोब्समा ‘नोमल्यान्ड’को दबदबा, सर्वोत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जित्यो

    गोल्डेन ग्लोब्समा ‘नोमल्यान्ड’को दबदबा, सर्वोत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जित्यो

    काठमाडौं- हलिउडमा अवार्ड सिजन सुरु भएको छ । सुरुआत चाहिँ सोमबार बिहान गोल्डेन ग्लोब्सदेखि थालनी भयो ।

    ७८ औं संस्करणमा सर्चलाइट स्टुडियोको ‘नोमल्यान्ड’ले सर्वोत्कृष्ट मोसन पिक्चर ड्रामा र चोल झाओले यही फिल्मबाट सर्वोत्कृष्ट निर्देशकको रुपमा जित हात पारे ।

    जितसँगै निर्देशक झाओ गोल्डेन ग्लोब्सको इतिहासमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जित्ने दोस्रो महिला बनेकी छिन् । साथै, निर्माताको रुपमा टाइटल जित्ने पहिलो एसियाली महिला बनेकी छिन् ।

    सर्चलाइटको ‘नोमल्यान्ड’ले गोल्डेन ग्लोब्स जितेसँगै आगामी अस्करको संस्करणमा पनि बाजी मार्ने अपेक्षा छ । निर्देशक, लेखक, निर्मात्री र सम्पादकको रुपमा एकै सिजनमा अवार्ड जित्ने व्यक्ति पनि बनेकी छिन् उनी ।

    नोमल्यान्डले अमेरिकी सपना पछ्याउँदै बाँच्न संघर्ष गरिरहेको आधुनिक मान्छेको जीवन यात्राको कथा भन्छ । हलिउड संचारमाध्यमले यसवर्षको अवार्डमा नोमल्यान्डको दबदबा हुने विश्वास गरेका छन् ।

    अवार्ड उचाल्दै निर्देशक झाओले आफ्ना लागि ‘नोमल्यान्ड’ दुःख र राहतको एउटा तीर्थयात्रा भएको बताइन् । ‘जीवनको कुनै बिन्दुमा यो महसुसबाट अघि बढेकाहरुको लागि अवार्ड समर्पित छ’ उनले भनिन् ।’

    नेटफिल्क्सको ‘द क्राउन’ले सर्वाधिक चार अवार्ड जित्यो । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चाहिँ ‘द युनाइटेड स्टेट्स भर्सेस बिल्ली होलिडे’बाट एन्ड्रा डेले जितिन् । म्युजिकल कमेडीतर्फ उत्कृष्ट अभिनेताको ट्रफी ‘बोरट सब्सिक्वेन्ट मूभिफिल्म’बाट साचा बारेन कोहेनले जिते ।

    म्युजिकल कमेडी विधातर्फको उत्कृष्ट फिल्मको अवार्ड चाहिँ बोरट सब्सिक्वेन्ट मूभिफिल्म’ले जित्यो । मोसन पिक्चरतर्फको उत्कृष्ट अभिनेताको अवार्ड चाहिँ ‘म राइनिज ब्ल्याक बटम’बाट चाडवीक बोसम्यानले जिते ।

    उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड चाहिँ अमेरिकी सपना पछ्याउँदै अमेरिकी सहर अर्कान्सस बसाइ सर्ने एक कोरियाली–अमेरिकी परिवारको कथा भन्ने फिल्म ‘मीनारी’ले जितेको छ ।

    यसपटक भर्चुअलरुपमा गोल्डेन ग्लोब्स आयोजना गरिएको थियो । हेर्नूस विजयी विधाको पूर्णसूचि :

  • फिल्म ‘चिसो मान्छे’ छायांकन सुरु, ग्वार्कोमा अर्पणको एक्सन-कट्

    फिल्म ‘चिसो मान्छे’ छायांकन सुरु, ग्वार्कोमा अर्पणको एक्सन-कट्

    काठमाडौं । सोसल ड्रामा फिल्म ‘चिसो मान्छे’ छायांकन सोमबारदेखि राजधानीमा सुरु भएको छ ।

    ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा मूहुर्त गर्दै फिल्मले ग्वार्कोदेखि छायांकन थालेको हो । ग्वार्को वरपरका सडकमा केही दृश्य खिचियो । राजधानीमा चार दिन फिल्म छायांकन हुनेछ ।

    पहिलो दिन अर्पण थापाको दृश्य खिचिएको निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए ।

    काठमाडौंपछि बाजुरामा फिल्म छायांकन हुने जानकारी खनालले दिए । काठमाडौंदेखि बाजुरासम्मको सडकमा फिल्म सुट गर्ने योजना छ ।

    पशुपतिप्रसाद, आमा फेम्ड निर्देशक खनालले स्वयम फिल्म खिचिरहेका छन् । यो फिल्ममा दीपेन्द्रको टाइटल निर्देशक, पटकथा लेखक र छायांकारको रुपमा रहनेछ ।

    डीएस डिजिटल ब्यानरमा शर्मिला पाण्डेले फिल्म निर्माण गरेकी हुन् । यसअघि फिल्म आमामा पनि शर्मिला र दीपेन्द्रले सहकार्य गरेका थिए । फिल्मलाई भदौ ११ गते रिलिज गर्ने योजना छ ।

  • उपराष्ट्रपति पुनद्वारा नेपाली फिल्मले लय समात्ने विश्वास, पुनरुत्थानमा एकजुट हुन आह्वान

    उपराष्ट्रपति पुनद्वारा नेपाली फिल्मले लय समात्ने विश्वास, पुनरुत्थानमा एकजुट हुन आह्वान

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाले थलिएको नेपाली फिल्म उद्योगले चाँडै लय समात्ने विश्वास व्यक्त गरेका छन् ।

    चलचित्र प्राविधिक संघको डेलिगेसन टोलीसँग भेट गर्दै पुनले कोभिडको कारण समस्या भोगेको फिल्म क्षेत्रलाई लयमा ल्याउन सबै क्षेत्र एकजुट हुनुपर्ने खाँचो औंल्याए ।

    उपराष्ट्रपतिसँगको भेटपछि नेपाल प्रेससँग कुरा गर्दै संघ अध्यक्ष पुष्कर लामाले भेटमा पुनले फिल्म क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

    प्राविधिक संघले आउँदो शनिबार आयोजना गर्ने नेफ्टा अवार्डमा उपराष्ट्रपति पुन प्रमुख अतिथिका रुपमा सहभागि हुँदैछन् । भाइरस महामारीले रोकिएको नेफ्टा अवार्ड यसपटक स्वदेशमै हुन लागेको हो ।

  • ‘ब्युटी पेजेन्ट अफ दी इयर’को उपाधि मिस युनिभर्स नेपाललाई

    ‘ब्युटी पेजेन्ट अफ दी इयर’को उपाधि मिस युनिभर्स नेपाललाई

    काठमाडौं । मिस युनिभर्स नेपालले वर्ष २०२० को ब्युटी पेजेन्ट अफ दी इयर अवार्ड जितेको छ । राजधानीमा आयोजित एक समारोहमा पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठले ट्रफी ग्रहण गरिन् ।

    अवार्ड प्राप्त गर्दै पूर्व मिस नेपाल युनिभर्स समेत रहेकी श्रेष्ठले मिस युनिभर्सको आउँदो विश्व प्रतिस्पर्धामा नेपाल बलियो दाबेदार रहेको बताइन् । ‘नेपालले मिस युनिभर्सको फाइनल जित्दैछ’ उनले भनिन् ।’

    ड्रीम सर्च एजेन्सीले सातौं वर्षगाँठको अवसरमा अवार्ड आयोजना गरेको हो । यसैवर्षदेखि मिस युनिभर्स नेपालले टाइटल सुरु गरेको हो । यसअघि यो लाइसेन्स मिस नेपाल आयोजक हिडन ट्रेजरसँग थियो ।

    अनिष्का शर्मा मिस नेपाल युनिभर्स २०२० की विजेता बनेकी थिइन् ।

  • कमेडी च्याम्पियन हिमेश भन्छन्- हराएको छैन, छिटै फिल्ममा देखिन्छु

    कमेडी च्याम्पियन हिमेश भन्छन्- हराएको छैन, छिटै फिल्ममा देखिन्छु

    कैलाली । कमेडी च्याम्पियन हिमेश पन्त बुधबार धनगढीमा देखिए । उनलाई देख्नेवित्तिकै सेल्फी खिच्ने, अटोग्राफ लिने र टिकटक बनाउनेको भीड लाग्यो । हिमेश केहीबेर व्यस्त भए ।

    कमेडी च्याम्पियन बनेपछि चर्चामा आएका हिमेश अचेल गुमनाम जस्तै छन् । तर, उनी भन्छन्– म हराएको छैन ।

    हिमेशको जीवन संघर्ष उत्प्रेरक छ । २०५३ साल पुस ३ गते धादिङको थाक्रेमा जन्मिएका उनी बाल्यकाल देखिनै प्रतिभाशाली थिए । उनी सानैदेखि अरुलाई हँसाउन रुचाउँथे ।

    गाउँमै पनि उनी अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गर्थे । जुन धेरैले मन पराएका थिए ।

    उनले १० कक्षासम्म गाउँकै सेती देवी उच्च माध्यमिक बिद्यालययमा अध्ययन गरे । ७ कक्षा पढ्दासम्म उनी कहिल्यै कक्षामा अघिल्लो भागमा बसेनन् । ‘त्यो बेला मैले एक विषयमा कक्षा टप गरेपछि धेरै सम्मान पाएँ, पढ्दा पनि सम्मान पाइने रहेछ भन्ने लाग्यो । त्यसपछि कहिल्यै पछि बसिनँ’ उनले सुनाए ।

    ८ कक्षामा उनी दोस्रो र ९ कक्षा प्रथम । एसएलसीमा त्यो क्षेत्रमा सहरकारी विद्यालयबाट डिस्टिक्सन ल्याउने उनी मात्रै थिए ।

    १० पछि अध्ययनकै लागि काठमाडौँ हानिए । इन्जिनियरिङ पढ्ने रुचि लिएर गएका उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आवेदन दिए । त्यो बेला करिब १५ हजारको आवेदन थियो । उनको नाम ४ हजारमा आयो ।

    ‘जम्मा छनोट हुने ४ सय थियो । मेरो नाम ४ हजारमा आयो’ उनले भने ‘स्कलरसिप बिना के इन्जिनियरिङ पढ्नु भन्ने लाग्यो र त्यो बाटो बन्द भयो ।’

    इन्जिनियरिङको बाटो बन्द भएपछि हिमेशको लागि कमेडीको बाटो फराकिलो भयो । उनले त्यसपछि कमेडीमा थप समय दिन पाए ।

    विद्यालय स्तरबाटै कमेडी गर्न रुचाउने हिमेशलाई काठमाडौँ प्रवेशपछि थप बल मिलेको थियो । बाल्यकालमा अरूको आवाज निकालेर हँसाउने मात्रै कमेडी हो भन्ने बुझेका उनले काठमाडौं छिरेपछि कमेडीमा कन्टेन पनि चाहिने रहेछ भन्ने बुझे ।

    कसरी बने च्याम्पियन ?

    कमेडीसँगै उनले पढाउन थाले । कलंकीको इन्सिच्युटहरुमा उनले ३ वर्ष पढाए । त्यही बेलादेखि स्ट्यान्डअप कमेडी सुरु भयो । त्योमध्ये एउटा थियो ‘कमेडी सर्कल’ । जसमा हिमेश पनि थिए ।

    ‘सुरु देखिनै निकै चर्चा भयो’ उनी भन्छन् ‘ती भिडियोहरू ट्रेन्डिङमा आउन थाले । त्यसको १ वर्षपछि कमेडी च्याम्पियन आयो ।’

    कमेडी च्याम्पियनमा जाने कि नजाने भन्ने विषयमा उनले निर्णय लिन सकेनन् । दोधारमा परे ।

    ‘युथहरूमा म परिचित हुँदै थिएँ । फोटोहरू पनि खिचाउन आउँने गरेका थिए’ ती पल सम्झँदै उनले भने ‘कमेडी च्याम्पियनमा गएर म फालिएँ भने मेरो भएको चर्चा पनि सेलाउँछ भन्ने डर थियो ।’

    युट्युव भन्दा टेलिभिजनबाट बढी चर्चित हुने आशमा उनलाई कमेडी च्याम्पियनमा गए । उनले लहैलहैमा भिडियो पठाए र छानिए ।

    कमेडी च्याम्पियनमा छानिएपछि हिमेशले थप मेहनत गर्न थाले । उत्कृष्ट १० भित्र परे पनि चित्त बुझाउने सोचसहित कमेडी च्याम्पियनमा प्रवेश गरेका हिमेशले हजारौँ डिजिटल प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बने ।

    जब विवादमा परे

    योबीचमा उनी विवाद पनि परे । ‘धर्ममा व्यङ्ग्य गरेको भन्दै धेरै आलोचना भयो’ उनी भन्छन् ‘त्यो विषय सबैलाई देखाएर गरेको थिएँ । प्रसारणपछि त्यस्तो विरोध होला भन्ने कल्पना पनि गरेको थिइनँ ।’

    उनलाई त्यसपछिको प्रस्तुति बिग्रिएको लाग्छ । ‘त्यो बेला मलाई रवि लामिछाने दाइले पनि फोन गर्नु भएको थियो । गाली मलाई पनि आउँछ तपार्इं मेरो फेब्रेट प्रतिस्पर्धी हो भने पछि मलाई छुट्टै ऊर्जा मिल्यो’ उनले सुनाए ।

    त्यसपछिको प्रस्तुति भने निकै राम्रो भएको उनलाई लाग्छ । उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पर्फमर अफ द राउन्ड घोषित हुँदै उनी उत्कृष्ट ३ अर्थात् फाइनलमा प्रवेश गरे ।

    कमेडी च्याम्पियनमा आदर्श मिश्र, सजन श्रेष्ठ उनलाई आफ्नो सबै भन्दा ठूलो प्रतिस्पर्धी हो जस्तो लाग्थ्यो । सुमन कार्कीले चलचित्रको विषयमा दिएको प्रस्तुतिले उनी पनि प्रतिस्पर्धी बनेका थिए ।

    तर, सबैलाई हराएर हिमेशले उपाधि हात पारेका थिए ।

    अबको यात्रा

    हिमेशले कमेडी च्याम्पियनको उपाधि हात पारेको एक वर्ष पूरा भएको छ । तर, उनी जुन रूपमा चर्चामा हुनुपर्ने हो त्यो रूपमा नभएको स्वीकार्छन् ।

    अहिले आफू हराएको जस्तै आभास हुन्छ उनलाई । ‘म हराएको जस्तै भएको छु तर, हराएको छैन’ उनी भन्छन् ‘अब केही महिना भित्र फेररि चर्चामा हुनेछु ।’

    अब आफू चलचित्र क्षेत्रमा देखा पर्ने उनी बताएका छन् ।

    ‘अब चलचित्रतिर हुन्छु’ उनले भने, ‘हुतुतु चलचित्रमा मेरो भूमिका छ । के भूमिका छ त्यो पछि नै थाहा होला ।’

    उक्त चलचित्रको संवाद लेखनीमा पनि संलग्न रहेको बताउँछन् ।

  • मिलनलाई फकाउँदै बद्री पँगेनी (भिडियोसहित)

    मिलनलाई फकाउँदै बद्री पँगेनी (भिडियोसहित)

    काठमाडौं । बद्री पँगेनी र मिलन नेवारद्वारा स्वरबद्ध गीत ‘बिर्सियौं’ इन्टरनेट रिलिज भएको छ ।

    प्रेमीप्रेमिकाको भाव व्यक्त गर्ने म्युजिक भिडियोमा सुनिल क्षेत्री र प्रिया अधिकारी फिचर्ड छन् । यो लोक दोहोरी गीतमा प्रेमीले मायालुलाई फकाउन गरेको प्रयत्नलाई चित्रण गरिएको छ ।

    प्रायः गीतमा देशप्रेम र असमानताविरुद्धको सन्देश प्रवाह गर्ने गायक पँगेनीले यो गीतमा चाहिँ मायामा इमान्दारिताको खोजी गरेका छन् । म्युजिक कम्पोज र शब्द पँगेनीकै छ ।

    हेर्नूस गीत :

  • कबड्डी ४ : दयाहाङ, सौगात, बुद्धि र विजय मात्र फाइनल

    कबड्डी ४ : दयाहाङ, सौगात, बुद्धि र विजय मात्र फाइनल

    काठमाडौं । कबड्डी सिरिजको चौंथो श्रृंखलाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल मात्र तय भएको निर्माताले जनाएका छन् ।

    निर्माता मणिराम पोखरेलका अनुसार राई र मल्लसहित बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले मात्र फाइनल छन् । निश्चल बस्नेत चौंथो सिक्वेलमा नहुने निर्माता पोखरेलले बताए ।

    रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मको नाम ‘कबड्डी ४ : द फाइनल म्याच’ राखिएको छ । निर्माता पोखरेलले चाहिँ अन्तिम सिक्वेल नभएको बताए । ‘अन्य कलाकार तय छैनन्’ उनले भने, ‘हिरोइनमा चाहिँ नयाँ लिने सम्भावना छ ।’

    रिस्मा गुरुङ सिक्वेलमा नहुनेतर्फ उनले संकेत गरे । आगामी दशैंलाई रिलिज लक्ष्य राखिएको छ । कबड्डी श्रृंखला निकै रुचाइएको नेपाली फिल्म हो ।

  • ‘कबड्डी ४’ निर्माण घोषणा, अन्तिम सिक्वेल हुने, रिलिज आउँदो वर्ष

    ‘कबड्डी ४’ निर्माण घोषणा, अन्तिम सिक्वेल हुने, रिलिज आउँदो वर्ष

    काठमाडौं । चर्चित नेपाली फिल्म सिरिज ‘कबड्डी ४’ निर्माण घोषणा भएको छ । निर्माता एवं निर्देशक रामबाबु गुरुङले अन्तिम सिक्वेलको रुपमा ‘कबड्डी ४’ घोषणा गरेका हुन् ।

    फिल्मको रिलिज चाहिँ २०७८ सालमा हुनेछ ।

    फेसबुकमार्फत गुरुङले कबड्डीको चौंथो सिक्वेल घोषणा गरेका हुन् । चौंथो सिक्वेलको नाम चाहिँ ‘कबड्डी ४ : द फाइनल म्याच’ राखिएको छ । फिल्म आउँदो वर्ष छायांकनमा जाने र आउने वर्ष नै रिलिज हुने भएको छ ।

    बाँसुरी फिल्मसले प्रोडक्सनले फिल्म निर्माण गर्नेछ । गुरुङको उक्त पोस्टबाट केही कुरा खुलासा हुन्छ । जस्तो : फिल्मको टाइटल, अन्तिम श्रृंखला र रिलिज मिति ।

    नेपाल प्रेससँग कुरा गर्दै अभिनेता दयाहाङ राईले पनि कबड्डी चार बनाउने तय भएपनि रिलिज टुंगो नलागेको बताएका थिए । उनले स्क्रिप्टमा काम हुँदै गरेको जनाएका छन् ।

    कबड्डी श्रृंखला निकै रुचाइएको नेपाली फिल्म हो ।

  • कुटपिट गरेको आरोपमा पल शाहमाथि प्रहरीमा उजुरी

    कुटपिट गरेको आरोपमा पल शाहमाथि प्रहरीमा उजुरी

    धरान- मोडल तथा नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनी अहिले म्युजिक भिडियो सुटिङका लागि धरानमा छन्।

    आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै फिल्मकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । उजुरी परेपछि दुवैपक्षलाई प्रहरीले छलफलका लागि बोलाएको छ।

    प्रधानको निवेदन परेपछि शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।

    कुटपिट अघि दुव्यर्वहार गरेका साहले होटल ज्वाई खानामा रहेका बेला ८/१० जनाको टोली नै बोलाएको प्रधानले बताए । ‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दुव्र्यवहार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८/१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । साहको निर्देशनमा जोसीले आक्रमण गरे ।’

    आफूमाथि आक्रमण भएपछि उजुरी गरेको उनले बताए । ‘म्युजिक भिडियोको सुटिङका लागि आउनुभएको थियो, लोकेसन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आक्रमण भएपछि उजुरी दिए ।’

    यता, पल शाहले भने खाना खाने क्रममा अरुण प्रधान लगायतले आफूलाई दुब्र्यहार गरेको बताएका छन् । सोही क्रममा भनाभन भएपछि म्यानेजर जोशी र अरुणबीच धकेलाधकेल भएको समेत पलले जनाए । म्यानेजरसँग कुरा गर्नूस भन्दा अरुणले आफूलाई घमण्ड देखाएको आरोप लगाएको समेत पलले जनाए ।

  • अभिनेत्री मनीषा कोइरालाद्वारा ब्यूटी सैलुन शुभारम्भ

    अभिनेत्री मनीषा कोइरालाद्वारा ब्यूटी सैलुन शुभारम्भ

    ‘अनानिक ब्युटी सलोन एण्ड स्पा’ को पाँचौं शाखाको ओपनिङ बौद्धमा गरिएको छ। सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले यो सँगै नेपालमा पाँच वटा शाखा खोल्न सफल भएको हो ।

    २०१३ मा बानेश्वरबाट सुरुवात भएको अनानिकको दरबारमार्ग, पोखरा, लाबिम मलसँगै अब बौद्ध शाखाबाट पनि सेवा सुरु भएको छ । बौद्ध शाखाको ओपनिङ अभिनेत्री मनीषा कोइरालाले रिबन काटेर गरिन् ।

    ओपनिङमा सांसद शान्ता चौधरी, अभिनेता विजय लामा, दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठलगायत सहभागी थिए ।

    अभिनेत्री कोइरालाले अनानिक टिमलाई बधाई र सफलताको शुभकामना दिइन् ।

  • स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्ममा अनुबन्धित

    स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्ममा अनुबन्धित

    काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा अनुबन्धित भएकी छिन् । विहिबार काठमाडौंमा रहेको निर्माता टोली र स्वस्तिमाबीच लिखित सम्झौता भयो ।

    निर्माणमा दक्षिण भारतीय फिल्म निर्माण कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको अनन्या फिल्मस्ले सहकार्य गरेको छ । स्वस्तिमा अनुबन्धित हुँदाको क्षणमा दुवै निर्माण कम्पनीका प्रतिनिधि सहभागी थिए ।

    फिल्ममा स्वस्तिमाको भूमिकालाई गोप्य राखिएको छ । अनन्या फिल्मस्का सरोज न्यौपानेका अनुसार फिल्मको ७० प्रतिशत छायांकन नेपालमा हुनेछ । काठमाडौं र मुस्ताङमा फिल्मांकन हुने जनाइएको छ ।

    आगामी मार्चदेखि छायांकन सुरु हुने जनाइएको छ । राजिव सेठ्ठीले निर्देशन गर्ने फिल्ममा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगटीको मुख्य भूमिका छ ।

  • सदीक्षालाई मनोज गजुरेलको सन्देश : तिम्रो साहसलाई सलाम छ !

    सदीक्षालाई मनोज गजुरेलको सन्देश : तिम्रो साहसलाई सलाम छ !

    वरिष्ठ हास्यकलाकार मनोज गजुरलले आफ्नो दाजुको शंकाष्पद मृत्यूपछि न्यायका लागि लडिरहेकी उर्लाबारीकी चेली सदीक्षा बाँस्तोलाको प्रशंसा गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्वन्धित निकायसँग आग्रह गरेका छन् ।

    उर्लाबारीका युवा प्रविण बाँस्तोला दुई महिना अगाडि मृत अवस्थामा भेटिएका थिए । अमेरिकामा बिमान चालकको तालिम गरिरहेकी सदीक्षा दाजुको निधनपछि नेपाल आएकी थिइन् । त्यसयता उनले न्यायका लागि प्रहरी–प्रशासनको ढोका निरन्तर ढक्ढकाइरहेकी छन् ।

    नेपाल प्रेसले हिजो यस घटनाबारे विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो । त्यसलाई साभार गर्दै गजुरेलले फेसबुकमा स्टाटस लेखेका हुन् । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन उर्लाबारीका जनता, जनप्रतिनिधि र जिल्ला प्रशासनसँग आग्रह गरेका छन् ।

  • बीबीसी मास्टरसेफका पहिलो रनरअप सन्तोष शाहलाई काठमाडौंमा भव्य स्वागत

    बीबीसी मास्टरसेफका पहिलो रनरअप सन्तोष शाहलाई काठमाडौंमा भव्य स्वागत

    काठमाडौं । बीबीसीको चर्चिट रियालिटी सो मास्टरसेफ यूकेमा फस्ट रनरअप उपाधि हासिल गरेका सन्तोष शाह काठमाडौं आइपुगेका छन् । विहिबार विहान त्रिभुवन विमानस्थलमा उनको भव्य स्वागत भयो ।

    बाजागाजा र कुकको पोशाकमा सहभागिले उनलाई एयरपोर्टमा स्वागत गरेका थिए । मास्टरसेफमा कोदोको खीर लगायतका नेपाली परिकार बनाएपछि उनको चर्चा चुलिएको थियो ।

    नेपाली खानालाई विश्वभर चिनाउने ‘वर्ल्ड रोडम्याप’ बनाएर आफू काठमाडौं आइपुगेको उनले विमानस्थलमा बताए । नेपालका पाँचवटा मौलिक परिकारलाई विश्वब्यापी बनाउने आफ्नो योजना रहेको उनले बताए ।

    यसबारे आफूले पुस्तक लेखिरहेको र अनुसन्धानका लागि नेपाल आएको उनले जनाए । पाँचवटा भाषामा एकलाख प्रति पुस्तक प्रकाशन हुने उनले बताए । लन्डन र नेपालमा एकसाथ रेष्टुरेन्ट खोल्ने योजना रहेको उनले सुनाए । आउने पाँचवर्षमा ५० वटा सन्तोष जन्मने भन्दै उनले नेपाली पुर्खाको सम्मान गर्नुपर्ने बताए ।

    सिराहमा जन्मिएका सन्तोष लामो समयदेखि बेलायतमा बस्दै आएका छन् ।

  • अञ्जु पन्त र प्रेमी थीर विहे बन्धनमा, पाटनको चर्चमा गरे विहे

    अञ्जु पन्त र प्रेमी थीर विहे बन्धनमा, पाटनको चर्चमा गरे विहे

    काठमाडौं । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइरालाबीच आज विहे भएको छ । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो ।

    बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् ।

    विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ । दशक अगाडि अञ्जुको गायक मनोजराजसँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् ।

    भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । अञ्जु र थीरलाई वैवाहिक जीवनको शुभकामना !

  • आलिया स्टारर ‘गंगुबाइ’ टीजर ट्रेलर रिलिज, भन्सालीसँग पहिलोपटक टीमअप

    आलिया स्टारर ‘गंगुबाइ’ टीजर ट्रेलर रिलिज, भन्सालीसँग पहिलोपटक टीमअप

    काठमाडौं । संजयलीला भन्साली निर्देशित प्रतीक्षित फिल्म ‘गंगुबाइ काठियावडी’को टीजर ट्रेलर इन्टरनेट रिलिज भएको छ । आलिया भाट र भन्सालीले पहिलोपटक सहकार्य गरेका हुन् ।

    मुख्य भूमिकामा आलिया देखिएकी छिन् । पहिलो टीजरमा गंगुबाइको दृश्य र सेटिङ चित्रण गरिएको छ । गंगुबाइको भूमिकामा आलिया चित्रित छिन् ।

    हुसेन जैदीको बेस्टसेलिङ उपन्यास ‘माफिया क्वीन्स अफ मुम्बइ’मा फिल्म आधारित छ । कोरोनाभाइरस महामारीले गर्दा फिल्मको रिलिजमा ढिलाइ भएको हो ।

    ११ सेप्टेम्बर, २०२० को पूर्वनिर्धारित रिलिज मितिबाट फिल्म सन् २०२१ ३० जुलाइमा पुगेको छ । टीजरमा आलियाले आफूलाई चन्द्रमाको रुपमा चिनाउँछिन् र दृश्यमा पनि चन्द्रमाको उज्यालो लागेको रात चित्रण गरिएको छ ।

    हेर्नूस टीजर :