Category: कलाप्रेस

  • २८ लागेकी वर्षाको यस्तो रह्यो जन्मदिन : तस्विरहरु

    २८ लागेकी वर्षाको यस्तो रह्यो जन्मदिन : तस्विरहरु

    काठमाडौं । गत मंगलबारदेखि अभिनेत्री वर्षा शिवाकोटी २८ वर्षमा प्रवेश गरिन् । पछिल्लो समयकी व्यस्त नायिका वर्षा फिल्मसँगै नीजि जीवनले पनि बेला-बेलामा चर्चामा आइरहिन्छन् ।

    उनको प्रेम सम्बन्धको पनि चर्चा हुने गर्छ । समिक्षात्मक र व्यवसायिक रुपमा हिट फिल्म ‘पशुपति प्रसाद’ले उनलाई निकै उचाइ दिलायो । ‘नाइँ नभन्नू ल २’बाट अभिनय करियर सुरु गरेकी वर्षाले गत साता ‘ए साथी सुन’को छायांकन सकिन् ।

    उनी अभिनित फिल्म ‘श्री’ शुक्रबारदेखि देशभर रिलिज हुँदैछ । उनले यसैसाता सेलेव्रिटीको गेट-टुगेदरबीच जन्मदिन सेलेव्रेट गरिन् । उनलाई केक चखाउन नेपाली फिल्मका केही परिचित व्यक्ति उनको बर्थडे सेरेमोनी पुगेका थिए ।

  • महामारीमै नेपालमा बढी कमाउने फिल्म बन्यो ‘रुही’

    महामारीमै नेपालमा बढी कमाउने फिल्म बन्यो ‘रुही’

    काठमाडौं । बलिउडको कमेडी हरर फिल्म ‘रुही’ महामारीमै नेपाली फिल्म हलहरुमा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ ।

    यो फिल्मले मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा प्रदर्शनको चौंथो सातासम्म २८ लाख ग्रस रुपैयाँ कमाएको छ । अन्य हलहरुको कमाइ जोड्दा फिल्मको कूल ग्रस ४० लाख रुपैयाँ झन्डै हुन आउँछ ।

    फिल्मले लगानी उठाएको मात्र छैन, वितरकलाई लाभांश पनि दिलाएको छ । राजकुमार राव, जान्हवी कपुर र वरुण शर्मा स्टारर फिल्म मार्च ११ मा काठमाडौंमा रिलिज भएको थियो ।

    दक्षिण भारतको अर्को फिल्म ‘मास्टर’ महामारीयता बढी कमाउने दोस्रो फिल्म बनेको छ । पुस १० गते हल खुलेयता यी दुईबाहेक अन्य फिल्महरुको कमाइ खराब रह्यो । मुम्बई सागाको कमाइ सुखद मात्र छ । अन्य नेपाली र हलिउड फिल्मको कमाइ सुखद छैन ।

    पुनः कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाली फिल्म हलहरुमा दर्शक पातलिएका छन् । धमाधम सोजहरु स्थगित मात्र भएका छैनन्, अधिकांश सोज हातको औंलामा गन्न सकिने दर्शकीय संख्याले मात्र चलिरहेका छन् ।

  • म्यान्मारको जुन्ता सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

    म्यान्मारको जुन्ता सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

    यांगुन । म्यान्मारको जुन्ता सरकारले सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ ।

    ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन । उनी म्यान्मार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन् । उनले पछिल्लो समयमा म्यान्मारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए । अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन् ।

    उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ । यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ ।

    त्यसका विरुद्धमा म्यान्मारमा शुरुदेखि नै विरोध भइरहेको छ । सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन् ।

    उनी म्यानमारको याङ्गुनबाट दक्षिणी शहरमा बस्दै आएका थिए । आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ ओटा सैनिकका ट्रकमा करिब ५० जना सेना आएका थिए । ती कलाकारकी बहिनी थिथि लिविनले सो समाचार फेसबुकमा पोष्ट गरेकी बताइएको छ । उनलाई बिहीबार बिहानै निवासमै आएर सेनाले पक्राउ गरी लगेको थियो । ती कलाकार विरामी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ लगेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन् ।

  • युगाण्डाकी गायिकासँग मदनकृष्णले युगल गीत गाउने

    युगाण्डाकी गायिकासँग मदनकृष्णले युगल गीत गाउने

    काठमाडौं । ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियाेन्स फर्मासीले भेट्रान अभिनेता मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउने भएकी छन् ।

    गायनमा समेत पोख्त श्रेष्ठले ‘फुलबुट्टे सारी’ को लिजेन्ड भर्सन गाएका थिए, जसले यूट्युवमा ५० लाख भ्यूजको आँकडा पार गरिसकेको छ ।

    श्रेष्ठले फेसबुकमार्फत आफूहरुले युगल गीत रेकर्ड गराउने तयारी गरेको जानकारी गराएका हुन् । पेशाले सिभिल इन्जिनियर बियाेन्सले फुलबुट्टे सारीको कभर गाएपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको महसुस भएको उनले उल्लेख गरेका छन् ।

    बियोन्ससँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘बियोन्सका तरुनी स्वरसँग मेरो बुढो स्वर मिल खाला कि नखाला खै…!’

    बियोन्सले गाएको फुलबुट्टे सारीको कभरले यूट्यूवमा तहल्का पिटिरहेको छ । यूट्यूवमा अपलोगड भएको १८ दिनसम्ममा ६१ लाख भ्यूज कटाएको यो कभर गीतले चाँडै अब केही दिनमै एक करोडको आँकडा छुन सक्ने देखिन्छ । मदनकृष्णले यो गीतलाई लिएर फेसबुकमा बियाेन्सको  तारिफ गरेका थिए ।

  • फिल्म हलमा पुनः कडाइ गर्न सरकारको निर्देशन, नयाँ कोरोनाबाट सतर्क हुन आग्रह

    फिल्म हलमा पुनः कडाइ गर्न सरकारको निर्देशन, नयाँ कोरोनाबाट सतर्क हुन आग्रह

    काठमाडौं । कोरोनाको बेलायती प्रजाति फैलिएको भन्दै सरकारले फिल्म हल, सपिङ मल लगायतका भीडभाड हुने ठाउँमा कडाइ गर्न पुनः निर्देशन दिएको छ ।

    स्वास्थ्य मन्त्रालयको बुधबारको बैठकले फिल्म हल लगायतका ठाउँमा जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्न सरोकार निकायलाई निर्देशन दिएको हो ।

    फिल्म हल, नाचघर, सपिङ मल, स्वीमिङ पुल लगायतका थलोमा कोभिड प्रोटोकलमा कडाइ गर्न सरकारले भनेको हो । मन्त्रालयले विज्ञप्ती जारी गर्दै बेलायती भेरिएन्टको संक्रमण फैलन नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ र त्यसको अनुगमन गर्न स्थानीय निकायलाई निर्देशन दिएको हो ।

    उसैपनि, लगभग शून्य अकुपेन्सीमा फिल्म हल प्रदर्शन भैरहेका छन् र दर्शकीय उपस्थिती पनि न्यून छ । सरकारले आगामी जेठ पहिलो साता संक्रमण दर उचाइमा पुग्ने बताइसकेको छ ।

    गत पुस १० गते खुलेका फिल्म हलहरु अहिले न्यून अकुपेन्सीमा चलिरहेका छन् भने कतिपय फिल्मको सुटिङ र रिलिज प्रभावित भएको अवस्था छ ।

     

  • किम कार्दासियन पनि अर्बपति सूचीमा, सम्पत्ति १.८ बिलियन डलर पुग्यो

    किम कार्दासियन पनि अर्बपति सूचीमा, सम्पत्ति १.८ बिलियन डलर पुग्यो

    न्यूयोर्क । अमेरिकी रियालिटी स्टार किम कार्दासियन अर्बपतिको सूचीमा सामेल भएकी छिन्् । विश्वप्रसिद्ध फोब्र्स म्यागजिनले प्रकाशित गरेको धनाढ्य सूचीमा कार्दासियन २,७५५ स्थानमा छिन् ।

    उनको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर रहेको म्यागजिनले जनाएको छ । कस्मेटिक र कपडाको ब्यापार गरेर धनी भएकी कार्दासियनको सम्पत्ति टेलिभिजन विज्ञापनसहित विभिन्न ब्रान्ड इन्डोर्स गरबापत उछाल भएको जनाइएको छ ।

    उनले कस्मेटिक व्यवसाय गरेरै १ बिलियन डलर आम्दानी गरेको फोब्र्सले उल्लेख छ । अमेजन मालिक जेफ बेजोस् १८८ बिलियन डलरसहित सूचीको पहिलो स्थानमा छन् ।

    कार्दासियनका पति केनी वेस्ट चाहिँ १.८ बिलियन डलरसहित यसअघि नै अर्बपतिको सूचीमा थिए तर, उनकी बहिनी केली जेनरले गत मे महिनामा उनलाई सूचीबाट विस्थापित गरेकी थिइन् ।

    फोब्र्सका अनुसार ४० वर्षे कार्दासियनको सम्पत्ति गत अक्टोबरमा ७८० मिलियन डलरबाट बढेर १ बिलियन डलर पुगेको थियो । ब्यूटी कस्मेटिक व्यापार र सेपवेयर कम्पनीको हिस्साले उनको सम्पत्तिमा वृद्धि भएको जनाइएको छ ।

  • सन्दीप क्षेत्री स्टारर ‘श्री’ चैत २७ गते हल र ओटीटीमा रिलिज हुने

    सन्दीप क्षेत्री स्टारर ‘श्री’ चैत २७ गते हल र ओटीटीमा रिलिज हुने

    काठमाडौं । ७२ घण्टामै छायांकन सकिएको फिल्म ‘श्री’ आउने शुक्रबार रिलिज हुने भएको छ । कोरोनाभाइरसको दोस्रो लहर सुरु हुने त्रासको बीचमा एभरेस्ट सूर्य बोहोरा निर्देशित फिल्म प्रदर्शन हुन लागेको हो । मुलुक लकडाउनमा भएको बेला बोहोराले आफ्नै निर्माण एवं निर्देशनमा फिल्म तयार पारेका थिए ।

    नयाँं बर्ष छेकोमा दर्शकमाझ आउन लागेको फिल्ममा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा लगायतको अभिनय छ ।

    साथै फिल्ममा कमलजंग बोहरा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले समेत अभिनय गरेका छन् ।

    ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भएपनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ लागेर आफैले पहल गरेको बितरक करण श्रेष्ठले जानकारी दिए । ‘कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीबृद्धिमा ‘श्री’ ले ठूलो योगदान गर्ने बिश्वास मैले लिएको छु’ उनले भने ।

    फिल्मका मुख्य पात्र क्षेत्रीले यो फिल्म आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । ‘मैले अहिलेसम्म अभिनय गरेका फिल्ममध्ये ‘श्री’ उत्कृष्ट छ । मैले मेरा सन्ततिलाई तिम्रो बाबुको फिल्म हो भनेर गर्वका साथ देखाउन सक्छु,’ उनले भने, ‘त्यस्तो बिषम परिस्थितिमा पनि सूर्य दाईले आँट गरेर फिल्म बनाउनु भयो । अहिले यस्तो अबस्थामा करणजीले प्रदर्शन गर्दै हुनुहुन्छ । यसमा मलाई निकै गर्व लागेको छ ।’

    अभिनेता भोला सापकोटाले ‘श्री’ मा आफूले निर्वाह गरेको भूमिकाका साथै समग्र फिल्मको चर्चा गरे । उनले बिषम परिस्थितिमा समेत हिम्मतका साथ फिल्म निर्माण गरि प्रदर्शन गर्न लागीएकोमा खुशी प्रकट गरे । फिल्मकी निर्मात्री तथा अभिनेत्री सबिता गुरुङले चलचित्र प्राबिधिकलाई राहत स्वरुप ‘श्री’ निर्माण गरिएको स्मरण गर्दै अब यसले हललाई पनि राहत दिने बिश्वास ब्यक्त गरिन् ।

    अहिले अमेरिकामा रहेका निर्देशक बोहराको भनाइ छ, ‘जम्मा छ दिनमा कुल ७२ घण्टा क्यामेरा रोल भएको यो फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ ।’

    निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको फिल्मलाई शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर छ । यो फिल्म ओटीटी र हलमा एकसाथ रिलिज हुनेछ ।

  • ‘हिमानी’ छाडेर वाग्लेले निर्देशन गर्ने भए ‘विवेक’, बिपिन र स्वस्तिमा जोडी बाँध्दै

    ‘हिमानी’ छाडेर वाग्लेले निर्देशन गर्ने भए ‘विवेक’, बिपिन र स्वस्तिमा जोडी बाँध्दै

    काठमाडौं । केही समयअघि माधव वाग्लेले फिल्म ‘हिमानी’ निर्माण एवं निर्देशन गर्ने चर्चा थियो । अहिले भने उनले यो फिल्मलाई तत्काल निर्माण नगर्ने भएका छन् ।

    सुपरहिट फिल्म ‘लुट’ निर्माता समेत रहेका वाग्लेले बिपिन कार्की र स्वस्तिमा खड्कालाई लिएर ‘विवेक’ निर्माण एवं निर्देशन गर्ने भएका छन् । यो फिल्मको अडिसन शनिबार जनकपुरमा हुँदैछ र सोही ठाउँमा फिल्म सुटिङ हुने भएको छ ।

    बैशाख पहिलो सातादेखि फिल्म सुटिङ सुरु हुने र मुख्य भूमिकामा बिपिन तथा स्वस्तिमा हुने जानकारी उनले दिए । मधेशी युवाको यथार्थ कथामा निर्माण हुने फिल्मको पटकथा लोकनाथ कोइरालाले लेखेका हुन् ।

    वाग्लेले फिल्मको अडिसन पोस्टरमा बिपिन कार्की चित्रण गरिएको टीजर पोस्टर पनि लन्च गरेका छन् । फिल्म विवेक निर्माण भएपछिमात्र पूर्वनिर्धारित फिल्म हिमानी निर्माण सुरु हुने जानकारी उनले दिए ।

  • १४ वर्षिय किशोरले गरेका थिए दिपाश्री र सरोज खनालको फेसबुक ह्याक !

    १४ वर्षिय किशोरले गरेका थिए दिपाश्री र सरोज खनालको फेसबुक ह्याक !

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले प्रयोग गर्दै आएको सामाजिक संजाल फेसबुक आइडी ह्याक गरेर रकम मागेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । उनी केवल १४ वर्षका छन् । 

    साइबर ब्यूरोेले पर्सा बहुदरमाई नगरपालिका -५ बस्ने १४ वर्षीय बालकलाई सोमबार पक्राउ गरेको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

    उनले भने, ‘बालकले मैले नै ह्याक गरेको हो भनेर भनिसकेको छ । यसमा आफू मात्रै सलंग्न रहेको भनिरहेको छ । थप अनुसन्धान भइरहेको छ ।’

    जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीको सहयोगमा बालकलाई नियन्त्रणमा लिएको हो । अर्यालकाअनुसार बालकलाई प्रहरी नियन्त्रणमा लिएर उक्त घटनामा को को सलंग्न छन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

    कलाकार दिपाश्री निरौला र सरोज खनालले आफ्नो फेसबुक ह्याक भएको भन्दै केही समयअघि ब्यूरोमा निवेदन दिएका थिए । अभियुक्त बालकले कलाकार निरौला र खनालको फेसबुक ह्याक गरेर फेसबुकमा भएका साथीहरूसँग पैसा माग्ने गरेको थियो ।

    उनलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

  • सरकारसँग फिल्मकर्मीका १० बुँदे माग : विदेशी मुलुकसँग सह-निर्माणदेखि फिल्म फेस्टिभलसम्म

    सरकारसँग फिल्मकर्मीका १० बुँदे माग : विदेशी मुलुकसँग सह-निर्माणदेखि फिल्म फेस्टिभलसम्म

    काठमाडौं । नेपाली फिल्मकर्मीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने फिल्म निर्माणसहितका १० बुँदे सरकारसँग राखेका छन् ।

    उनीहरुले सोमबार चलचित्र विकास बोर्डलाई ती मागपत्र पेश गरे । फिल्मकर्मीले कोभिड-१९ पछिको परिस्थितिमा नयाँ नीति बनाउन सकेमात्र फिल्म उद्योगले गति लिने भन्दै बोर्डलाई प्रस्ताव गरेका हुन् ।

    उनीहरुले राज्यको सहयोगविना नेपाली फिल्मको विकास हुन नसक्ने समेत बताएका छन् । प्रस्तुत १० बुँदे मागमा नेपालले सह–निर्माणका लागि आवश्यक सन्धि गर्नुपर्ने, नेपाली फिल्म निर्माणलाई एकद्धार प्रणालीमा लैजानुपर्ने, पर्ने, अनुसन्धान तथा विकास विभाग खोल्नुपर्ने माग छन् ।

    साथै, बक्सअफिस प्रणालीलाई रियल टाइमको तथ्यांक दिनुपर्ने, सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना गर्नुपर्ने, स्टोरी बैंकको बजेट बढाउनुपर्ने, फिल्म दर्तामा विभिन्न संस्थाको अनिवार्य सिफारिस बन्द गर्नुपर्ने, सेन्सरको ग्रेडिङ प्रणाली पालना गर्नुपर्ने लगायत माग गरेका छन् ।

    ३४ जना फिल्ममेकरको हस्ताक्षर रहेको ज्ञापनपत्रमा छिरिङरितार शेर्पा, दीपक रौनियार, रामकृष्ण पोखरेल, मीनबहादुर भाम, अविरल थापा, प्रज्वल शमशेर जबरा, सुवर्ण थापा, प्रविण कार्की, सरोज शर्मा सापकोटा, नवनिधि दाहाल, जीतेन्द्र खतिवडा, गोविन्द पराजुली आदिले हस्ताक्षर गरेका छन् ।

  • रिश्मा र बुद्धिको लभस्टोरी फिल्म ‘क्रसरोड’  सुटिङ सुरु, नेपाल र भारतमा छायांकन हुँदै

    रिश्मा र बुद्धिको लभस्टोरी फिल्म ‘क्रसरोड’ सुटिङ सुरु, नेपाल र भारतमा छायांकन हुँदै

    काठमाडौं । लभस्टोरी ड्रामा ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । अर्विन्दराज गुरुङ निर्देशक हुन् ।

    नेपालसहित भारतका दार्जिलिङ, सिक्किम र कोलकत्तामा छायांकन हुनेछ । फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ ।

    अर्विन्दराज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेले निर्माणमा सहकार्य गरेका छन् । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी रहेकी यान्की योल्मोले पनि अभिनय गर्दैछिन् ।

    ‘कबड्डी’ फेम्ड अभिनेत्री रिश्मा गुरुङले कथा मनपरेकाले फिल्म खेलेको बताइन् ।

  • स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना

    स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना

    मुम्बइ : कोरोनाभाइरसबाट संक्रमित बलिउड अभिनेता अक्षयकुमारलाई सोमबार अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएको बलिउड संचारमाध्यमले जनाएका छन् ।

    आज बिहान उनलाई मुम्बइको हिरानंदानी अस्पतालमा भर्ना गरिएको छ । उनले ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले फ्यानलाई सम्बोधन गर्दै चाँडै घर फर्कने पनि बताएका छन् ।

    आइतबार कोरोना पजेटिभ देखिएपछि आफूले कोभिड प्रोटोकल पालना गरेको र आइसोलेसनमा बसेको जनाएका थिए । अक्षयको आगामी सूर्यवंशी पनि मुम्बई लकडाउनको कारण पोस्टपोन्ड भएको छ ।

  • ‘कबड्डी ४’ हिरोइनमा मिरुना र गौमाया फाइनल, सुटिङअघि कलाकारको पीसीआर परिक्षण हुँदै

    ‘कबड्डी ४’ हिरोइनमा मिरुना र गौमाया फाइनल, सुटिङअघि कलाकारको पीसीआर परिक्षण हुँदै

    काठमाडौं । लोकप्रिय फिल्म ‘कबड्डी ४’को लिड अभिनेत्रीमा मिरुना मगर फाइनल भएकी छिन् । मिरुनासँगै फिल्ममा अर्की अभिनेत्री गौमाया यात्री पनि फाइनल भएकी छिन् ।

    स्रोतका अनुसार यी दुबै अभिनेत्री फिल्ममा अनुबन्धित भैसकेका छन् । ती दुबै अभिनेत्री दुईसाता अघि बेलायतबाट काठमाडौं आएर क्वारेन्टिनमा बसेका थिए ।

    गौमाया चर्चित नेपाली भ्लगर हुन् । उनी पछिल्लो समय भ्लगिङमार्फत विश्वका विभिन्न मुलुकमा नेपाली संस्कृति र भाषा प्रवद्र्धनमा सक्रिय छिन् । यसअघि दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि गुरुङ, पुष्कर गुरुङ, कविता आले तय भैसकेका थिए ।

    बैशाख पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । फिल्मको नाम ‘कबड्डी ४ : द फाइनल म्याच’ राखिएको छ ।

    असोज १५ गते रिलिज तयारी गरिएको छ । छायांकनमा जानुअघि सबै कलाकारको पीसीआर परिक्षण गरिने भएको छ । कोरोना नेगेटिभ देखिए मात्र छायांकन सुरु हुने जनाइएको छ ।

  • गीतिएल्बम ‘सेवान्ने’ बजारमा

    गीतिएल्बम ‘सेवान्ने’ बजारमा

    काठमाडौं ।  दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक भएको छ । एल्बममा सातवटा गीत छन् ।

    एल्बमभित्र समावेश तीन गीतमा राजन मुकारुङको शब्द रहेको छ भने दुई गीतमा हाङ्युग अज्ञातको शब्द छ । एल्बममा दुई गीतलाई महिला र पुरुष दुवै संस्करणको स्वरमा समावेश गरिएको छ ।

    एल्बमका दुई गीत, राजन मुकारुङको शब्दमा ‘हुरुक्कै भएँ म’ र हाङ्युग अज्ञातको शब्दमा ‘मैले फूललाई माया गरेँ’लाई राजेशपायल राईले स्वर दिएका छन् ।

    मुकारुङकै शब्द रहेको ‘मनको मैलो’लाई सुनिता थेगिमले र ‘भरोसा छैन कसैको’लाई अशोक मुकारुङले स्वर दिएका छन् । हाङ्युग अज्ञातको शब्द रहेको ‘औंशीमा’लाई झुमा लिम्बुले स्वर दिएकी छिन् । ‘मनको मैलो’को पुरुष संस्करणमा ज्वाला राईले स्वर दिएका छन् भने ‘मैले फूललाई माया गरेँ’लाई मिलन नेवारले महिला संस्करणमा गाएकी छिन् ।

    गीतिएल्बम ‘सेवान्ने’भित्र समावेश गीत ‘मैले फूललाई माया गरेँ’को म्युजिक भिडियो पनि शनिबारै सार्वजनिक भएको हो । विज्ञान राईले निर्देशन गरेको म्युजिक भिडियोमा दिवाहाङ बान्तवा र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।

  • लकडाउनसँगै ‘सूर्यवंशी’ पोस्टपोन्ड, मुख्यमन्त्रीले गरे बलिउडसँग छलफल

    लकडाउनसँगै ‘सूर्यवंशी’ पोस्टपोन्ड, मुख्यमन्त्रीले गरे बलिउडसँग छलफल

    मुम्बइ । अक्षयकुमार स्टारर फिल्म ‘सूर्यवंशी’ औपचारिकरुपमा पोस्टपोन्ड भएको छ । मुम्बइमा सोमबारदेखि कर्फ्यु र लकडाउन सुरु भएसँगै उक्त फिल्म अप्रिल ३० मा प्रदर्शन नहुने निश्चित भएको हो ।

    लकडाउन लागुु गर्नुपूर्व मुख्यमन्त्री उद्धव ठाकेरले फिल्म निर्देशक रोहित सेठ्ठी र मल्टिप्लेक्स चेन पीभीआरका प्रमुख लगायतसँग छलफल गरेका छन् । फिल्म पोस्टपोन्ड गर्ने साहसिक निर्णय गरेबापत मुख्यमन्त्री ठाकरेले सेठ्ठीलाई धन्यवाद समेत दिए ।

    महाराष्ट्र सरकारले अप्रिल ३० सम्म सिनेमा घरसहित भीडभाड हुने सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री ठाकरले लकडाउनबाट सबैभन्दा बढी प्रभावित फिल्म क्षेत्र भएपनि अहिले आफ्ना लागि जनताको जिउ जोगाउनु प्राथमिकता हुने जनाएका छन् ।

    पीभीआर सीइओ कमल जियानचाँदनीले कोभिड रोकथामका लागि सरकारले गरेको प्रतिबन्धका नियमलाई फिल्म क्षेत्रको समर्थन रहेको जनाएका थिए । भर्चुअल छलफलमा मुम्बइका फिल्म उद्योगीले मुख्यमन्त्रीसँग कोभिडको दोस्रो लहरपछि के फिल्म हल शतप्रतिशत चल्छन् त भन्ने प्रश्न गरेका थिए ।

    संक्रमण दर वृद्धि हुँदै जाँदा सलमान खानको आगामी फिल्म ‘राधे’ पनि पोस्टपोन्ड हुने तयारीमा छ ।

  • चलचित्र निर्देशक समाजद्वारा हेमबहादुर लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान

    चलचित्र निर्देशक समाजद्वारा हेमबहादुर लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान

    काठमाडौं- बरिष्ठ फिल्म निर्देशक एवं निर्माता हेमबहादुर लामालाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । चलचित्र निर्देशक समाजको आइतबार राजधानीमा सम्पन्न १३ औं साधारण सभामा लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिएको हो ।

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लामालाई सम्मान प्रदान गरे । सम्मानित निर्देशक लामाले नीजि क्षेत्रबाट फिल्म बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।

    अभिनेता विजय लामाले यही फिल्मबाट डेब्यू गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, अंशुमाला शाही, कलाकार उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले यही फिल्मबाट ब्रेक पाएका थिए ।

    ‘आदर्श नारी’मा लामाकै कथा, पटकथा तथा संवाद पनि थियो । बुबा हेमबहादुरले दीर्घकालीन सम्मान प्राप्त गर्दा अभिनेता लामा भावुक बनेका थिए ।

    ‘चलचित्र जगतले हेम लामा को हो भनेर बिर्सिसकेको थियो । कहिल्यै पनि कुनै फिल्मको कार्यक्रममा उहाँलाई निमन्त्रणा आएको मलाई थाहा छैन’, विजय लामाले आफूलाई ती कार्यक्रममा निमन्त्रणा आउँदा पनि उनी नजाने गरेको बताए ।

    ‘जसले मलाई विजय लामा बनाउनुभयो, उहाँलाई नै त्यो ठाउँमा स्थान छैन भने म गएर के काम भन्ने लाग्थ्यो,’ उनले गुनासो गरे ।

    साथै उक्त अवसरमा फिल्म निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई सम्मान गरियो । युवा फिल्म निर्देशक सम्मान निर्देशक ऋषि लामिछाने तथा र दीपाश्री निरौलालाई प्रदान गरियो ।

    समारोहमा संस्थाको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरिएको थियो भने स्रष्टाहरुलाई रेडकार्पेटमा स्वागत गरिएको थियो । समारोहमा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ ।

    कार्यक्रममा निर्देशक समाजका सदस्यहरुलाई सदस्यता लिने बित्तिकै दुर्घटना बिमा हुने कार्यक्रमको घोषणा गरिएको थियो ।

    फिल्म निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरेबापत चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष घनश्याम खतिवडा तथा मिडियाकर्मी दिनेश डिसीलाई दोसल्ला सम्मान प्रदान गरियो ।

  • पहिलो डिजाब्लिटी क्वीन-२०२१ को उपाधी रजनी र रुपालाई (तस्विर र भिडियोसहित)

    पहिलो डिजाब्लिटी क्वीन-२०२१ को उपाधी रजनी र रुपालाई (तस्विर र भिडियोसहित)

    काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन-२०२१ आयोजना भयो ।

    ग्रीन आर्ट्स मिडियाको आयोजनामा भएको प्रतिस्पर्धामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिएका थिए । दुई विधामा आयोजना भएको प्रतिस्पर्धामा मिस डिजाब्लिटी क्वनीको उपाधी खोटाङकी रजनी राई र मिसेज डिजाब्लिटी क्वनीको क्राउन  सिन्धुलीकी रुपा पहाडीले जिते । दुबैले क्राउनसहित १५-१५ हजार रुपैयाँ जिते ।

    फस्ट-रनरअप सरिता कोइराला र सेकेन्ड रनरअप डीना खत्री घोषित भए । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल अंग नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिएका हुन् । उक्त अवसरमा प्रतियोगीले नृत्य लगायत सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।

    ‘शारीरिकरुपमा अपांग भएपनि उनीहरुको बौद्धिक क्षमता र भित्री सौन्दर्यलाई निखार्ने उद्देश्यले पेजेन्ट गरेका हौं’ इभेन्ट संयोजक एलिना शाक्य तुलाधरले नेपाल प्रेसलाई भनिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रविन्द्रप्रताप शाह प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागि थिए । 

                
    
    
    
    
  • ‘अनन्त’मा पहिलोपल्ट बाँधियो कार्म र लक्ष्मीको जोडी, शनिबारदेखि सुटिङ सुरु

    ‘अनन्त’मा पहिलोपल्ट बाँधियो कार्म र लक्ष्मीको जोडी, शनिबारदेखि सुटिङ सुरु

    काठमाडौं । अभिनेता कार्म र लक्ष्मी बर्देवाको जोडी पहिलोपटक पर्दामा एकसाथ देखिने भएको छ । रंगमंचको पृष्ठभूमिबाट आएका दुवैले फिल्म ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् ।

    शनिबार नै यो फिल्मको भक्तपुरमा सुटिङसमेत सुरु भएको छ । एक अर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ फिल्म गर्ने रहरले आएको प्रस्ताव सकारेको बताए ।

    कार्मले भने, ‘म थिएटरको समयदेखिकै लक्ष्मीको प्रशंसक हुँ । तर, पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममा पनि उत्तिकै राम्रो काम गरिरहनुभएको छ । यो फिल्ममा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’

    उता लक्ष्मीले पनि कार्मसँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताइन् । ‘यो लकडाउनको समयमा मैले कम्तीमा दसवटा जति स्क्रिप्ट पढेँ ।

    केहीमा पैसामा कुरा नमिलेर गरिन, कति भूमिका । यसको कथा र टीम मन परेर गर्ने निर्णय गरेकी थिएँ । यही फिल्ममा कार्मसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्, ‘ किनकि उहाँसँग काम गर्ने मेरो ठूलो रहर थियो ।’

    टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्म कलेजबाट ग्राजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

    ‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही नै हो तर यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं,’ जेसनले भने । जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउँदै उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै ‘अनन्त’ लेखेको जानकारी गराए ।
    २० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्मलाई बबिन दुलालले खिचेका हुन् । फिल्मलाई नवविजय श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

    उनलाई निर्माणमा सह-निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहनेछन् ।

    रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् । जीवन अधिकारीको समेत अभिनय रहने फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । फिल्म कृपालय प्रडक्सनको ब्यानरमा बन्न लागेको हो ।

  • आक्रमणविरुद्ध फेसन डिजाइनरको प्रदर्शन : प्रबल गुरुङदेखि फिलिप ल्हामसम्म सडकमा

    आक्रमणविरुद्ध फेसन डिजाइनरको प्रदर्शन : प्रबल गुरुङदेखि फिलिप ल्हामसम्म सडकमा

    न्यूयोर्क । एसियाली समुदायमाथि आक्रमणका घटना बढ्न थालेपछि अमेरिकास्थित एसियाली फेसन डिजाइनर प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनमा नेपाली फेसन डिजाइनर प्रबल गुरुङदेखि विश्व फेसन जगतका हस्तीहरु फिलिप लाम, डाओ वी चो सहभागि छन् ।

    ‘मेनस्ट्रिम मिडियाले हामीलाई स्थान दिएन र हामीले प्रतिक्षा गर्ने अवस्था पनि रहेन’ प्रबलले भने, ‘एसियालीविरोधी अपराधका पीडितलाई न्याय दिने र अर्थ सहयोग गर्ने कुरामा हामी एकजुट भएका हौं ।’

    एट्लान्टामा ६ जना एसियाली महिलासहित आठजनाको ज्यान जाने गरि भएको घटनापछि एसियाली फेसन डिजाइनरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सामाजिक संजालमा एसियाली अमेरिकनमाथिको आक्रमण रोक्न माग गरेका छन् ।

    एसियाली समुदायबाहेकका नेताहरुले पनि आफूहरुको प्रदर्शनमा सहभागिता जनाएको गुरुङले जनाए । ब्ल्याक लाइभ्स म्याटर प्रदर्शनका दुईजना अगुवा कोफी र पावर पनि आफूहरुको प्रदर्शनमा सहभागि भएर सहानुभूति व्यक्त गरेको उनले जनाए ।

    पछिल्लो समय अमेरिकामा एसियाली समुदायमाथि आक्रमणका घटना बढिरहेका छन् ।

     

  • बेनिशाले साइन गरिन् ‘प्रेमगञ्ज’, भ्यालेन्टाइनमा फिल्म रिलिज हुने

    बेनिशाले साइन गरिन् ‘प्रेमगञ्ज’, भ्यालेन्टाइनमा फिल्म रिलिज हुने

    काठमाडौं । लकडाउनपछि व्यस्त हुने नायिकमध्ये पर्छिन् बेनिशा हमाल । उनले केही समयअघि फिल्म ‘भाँडाकुटी’ साइन्ड गरेकी थिइन् ।

    फागुनदेखि सुरु हुने भनिएको सो फिल्म अहिले पि-प्रोडक्सनमै अड्किएको छ । उक्त फिल्म सुटिङमा ढिलाइ हुने भएपछि बेनिशाले नयाँ फिल्म साइन गरेकी छिन् ।

    परिच्छेद सेनले निर्देशन गर्ने फिल्म ‘प्रेमगञ्ज’मा बेनिशा फिमेल लिड हुनेछिन् । डेब्यु ब्वाइ तेज गिरीसँग बेनिशाले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ ।

    सञ्जय लामाले खिच्ने यो फिल्म लभस्टोरी हो । त्रिकोणात्मक कथावस्तुमा बन्ने फिल्ममा सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, आयुषी ढकाल लगायतको अभिनय हुनेछ ।

    चलचित्र चौतारीको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, जिरी र काभ्रेमा हुने जनाइएको छ । २५ वर्षदेखि प्राविधिकको रुपमा कार्य गरेका राजु फुयाँल यसका निर्माता हुन् ।

    बैशाख १ गतेदेखि छायांकन हुने निर्देशक सेनले जानकारी दिए । उनका अनुसार आउने भ्यालेन्टाइन्स डेमा फिल्म रिलिज हुनेछ ।

  • सलमानको ‘राधे’ पोस्टपोन्ड हुने, मुम्बइका फिल्म हल सोमबारदेखि बन्द हुँदै

    सलमानको ‘राधे’ पोस्टपोन्ड हुने, मुम्बइका फिल्म हल सोमबारदेखि बन्द हुँदै

    काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरको कारण एकपछि अर्को गरि बलिउडका ठूला फिल्मको रिलिज पोस्टपोन्ड हुने क्रम बढेको छ ।

    अक्षयकुमार स्टारर ‘सूर्यवंशी’ अनिश्चितकालका लागि पोस्टपोन्ड हुने निधो भएको दुई दिनमै सलमान खानको ‘राधे’ पनि पोस्टपोन्ड हुने टुंगो लागेको छ । यसको औपचारिक घोषणा केही दिनमै हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

    भाइरसबाट प्रभावित बलिउड राजधानी मुम्बईमा आगामी सोमबारदेखि सिनेमा घरहरु बन्द गरिने जनाइएको छ । मुम्बइमा आगामी सातादेखि रात्रीकालिन कर्फ्युदेखि सार्वजनिक स्थानमा भेला हुन रोक लगाइने सम्मका नियमहरु लागु हुनेछन् ।

    हलमै रिलिज हुने भनिएको सलमानको राधे पोस्टपोन्ड हुने निश्चित भएपछि ओटीटीमा जाने वा नजानेबारे बहस सुरु भएको छ । तर, सलमानले चाहिँ कोरोनाले थलिएको बलिउडलाई लयमा ल्याउन हलमै रिलिज गर्ने बताएका थिए ।

    आउँदो इदमा रिलिज हुने भनिएको राधेको रिलिज सर्ने निश्चित भएपछि त्यस पछाडिका अन्य फिल्मको सम्भावित रिलिजलाई लिएर टाउको दुखाइ सुरु भएको छ । बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले अन्य फिल्महरु पनि रिलिज नहुने जनाएका छन् ।

    किनभने ठूलो फिल्मको ब्यापक बजारीकरण गर्न कम्तीमा एक महिना लाग्छ । यसका लागि आगामी १५ दिनभित्र भाइरस नियन्त्रणमा आइसकेको हुनुपर्छ । भाइरस संक्रमणको तथ्यांक हेर्दा यति दिनभित्र नियन्त्रण हुने सम्भावना छैन । यसको सीधा असर बलिउडलाई पर्ने देखिएको छ । अहिले भारतबाट कोरोनाको दोस्रो लहर सुरु भएको छ र दैनिक संक्रमण संख्या नै ७२ हजारभन्दा माथि पुगेको छ ।

  • आमा बन्दै प्रियंका, फेसबुकमा लेखिन् : अब सोध्न छाड्नूस !

    आमा बन्दै प्रियंका, फेसबुकमा लेखिन् : अब सोध्न छाड्नूस !

    काठमाडौं । आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरिदिएकी छिन् । परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।

    उक्त तस्विरलाई आधार मान्दै उनी गर्भवती भएको गसिप पनि चलेका थिए । तर, प्रियंका स्वयमले सामाजिक संजालमार्फत आफू प्रेगेनेन्ट भएको पुष्टि गरेकी छिन् ।

    पति आयुष्मानसँग खिचाएको गर्भवती भएको तस्विर उनले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् । जहाँ उनले लेखेकी छिन्– मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ ।’

    आमा बन्ने पुष्टि भएसँगै प्रियंकालाई बधाइको ओइरो आउन थालेको छ । सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र आयुष्मान विहे बन्धनमा बाँधिएका थिए ।

  • अजयको जन्मदिनमा ‘बाहुबली’ निर्देशकको यस्तो गिफ्ट, ‘आरआरआर’ पोस्टर रिलिज

    अजयको जन्मदिनमा ‘बाहुबली’ निर्देशकको यस्तो गिफ्ट, ‘आरआरआर’ पोस्टर रिलिज

    मुम्बइ । शुक्रबार बलिउड अभिनेता अजय देवगणले जन्मदिन सेलिव्रेट गरे । यही मेसोमा बाहुबली फेम्ड निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’को पात्र लुक्स पनि रिलिज भयो ।

    जसमा केमियो भूमिका निर्वाह गरेका अभिनेता देवगणको पात्र दृश्य थियो । मोसन पोस्टरमा अजयलाई एक लडाकुको रुपमा देख्न सकिन्छ ।

    जन्मदिन पारेरै राजामौलीले अजयको मोसन पोस्टर सार्वजनिक गरेका हुन् । अजयका लागि यो भन्दा राम्रो बर्थडे गिफ्ट अर्को हुन पनि सक्दैन ।

    मोसन पोस्टरमा अजयलाई दुस्मनहरुले घेरिएको दृश्यमा देख्न सकिन्छ । यसअघि पनि आलियाको बर्थडेमा राजामौलीले उनको क्यारेक्टर लुक्स आउट गरिदिएका थिए ।

    कोरोनाभाइरस महामारीको प्रभाव नभए आगामी अक्टोबर १३ मा आरआरआर रिलिज हुने जनाइएको छ ।

  • पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

    पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

    काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ । आगामी शनिबार ललितपुरमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन नेपाल आयोजना हुन लागेको हो ।

    ग्रीन आर्ट्स मिडियाको आयोजनामा हुने सौन्दर्य प्रतियोगितामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिँदैछन् । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिन लागेका हुन् ।

    ‘शारीरिकरुपमा अपांग भएपनि उनीहरुको बौद्धिक क्षमता र भित्री सौन्दर्यलाई निखार्ने उद्देश्यले पेजेन्ट गर्न लागेका हौं’ इभेन्ट संयोजक एलिना शाक्य तुलाधरले नेपाल प्रेसलाई भनिन् ।

    सुरुमा ह्विल चेयरमा बस्नेको लागि प्रतिस्पर्धा गर्ने तयारी गरेपनि अन्य अपांगलाई पनि समेटेर प्रतिस्पर्धा गर्न लागिएको हो । ‘मुलुकमै पहिलोपटक यस्तो अवधारणामा गर्न लागेका हौं र उत्साहित पनि छौं’ तुलाधरले भनिन्, ‘अहिले दुईवटा विधामा मात्र पेजेन्ट गर्नेछौं ।’

  • दीपकराज गिरीको टिप्पणी : नेता र दलले हामीलाई सँधै ‘अप्रिल फुल’ बनाए

    दीपकराज गिरीको टिप्पणी : नेता र दलले हामीलाई सँधै ‘अप्रिल फुल’ बनाए

    काठमाडौं । वर्षेनी अप्रिल १ तारिखलाई विश्वभर ‘मूर्ख दिवस’को रुपमा मनाउने चलन छ । पश्चिमा मुलुकमा व्याप्त यो चलन पछिल्लो समय नेपालसहितका एसियाली मुलुकमा समेत झाँगिदै गएको छ ।

    सेलेव्रिटीले समेत अप्रिल फुलबारे आ-आफ्नै टिप्पणी गरिरहेका छन् । अप्रिल फुल स्टेटसमार्फत उनीहरुले वर्तमान राजनीतिप्रति वितृष्णा पोखेका छन् । यस्तो विचार व्यक्त गर्नेमा अभिनेता एवं निर्माता दीपकराज गिरी अगाडि छन् ।

    प्रत्येक दिन नेता र दलले अप्रिल फुल मनाएको टिप्पणी गर्दै दीपकले अप्रिल फुल नेपालीका लागि नभएको बताए । उनी फेसबुकमा लेख्छन् -आज अप्रिल फस्ट, अरुलाई मूर्ख बनाउने दिन । गोराहरुको लागि यो हो । हाम्रा लागि होइन ।

    ‘हामी नेपालीलाई त हरेक दिन हाम्रा नेता र पार्टीहरुले अप्रिल फुल बनाइरहेकै छन् । शुभदिन !’

  • रजनीकान्तलाई दादा साहेब फाल्खे अवार्ड दिने भारत सरकारको निर्णय

    रजनीकान्तलाई दादा साहेब फाल्खे अवार्ड दिने भारत सरकारको निर्णय

    काठमाडौं । अभिनेता रजनीकान्तलाई ५१ औं दादा साहेब फाल्खे अवार्ड प्रदान गर्ने घोषणा भारत सरकारले गरेको छ ।

    विहिबार आयोजित पत्रकार सम्मेलनमा भारतको केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावेदकरले यस्तो जानकारी दिएका हुन् ।

    भारतीय फिल्मको सर्वोच्च र प्रतिष्ठित अवार्ड मानिने यो सम्मानको तय चाहिँ त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले गर्छ ।

    रजनीकान्त पछिल्लोपटक सन् २०२० मा रिलिज भएको एक्सन–थ्रीलर दरबारमा देखिएका थिए । ४ दशकदेखि रजनीकान्त भारतीय फिल्ममा सक्रिय छन् ।

  • फिल्म क्षेत्रमा कोरोनाको दोस्रो धक्का, सुनसान हुने भो न्यू इयर

    फिल्म क्षेत्रमा कोरोनाको दोस्रो धक्का, सुनसान हुने भो न्यू इयर

    काठमाडौं । नेपालीहरुको नयाँ वर्ष नजिकिएको छ । सामान्य अवस्थामा भए नयाँ वर्षको छेकोमा नयाँ फिल्म रिलिज गर्न हानाथाप हुन्थ्यो । तर, गत वर्ष र यस वर्ष माहोल अर्कै छ ।

    कोरोनाले थलिएको फिल्म क्षेत्र चल्मलाउन खोज्दै थियो । फिल्मकर्मीहरु नयाँ फिल्म निर्माणको लागि तात्तिँदै थिए । कलाकारहरु काम फर्किन तम्सिँदै थिए । तर, फेरि कोरोनाको दोस्रो लहरको हल्लाले फिल्म क्षेत्रलाई सुताइदिएको छ । नयाँ रिलिजहरु भटाभट ‘पोष्टपोन्ड’ भएका छन् ।

    नेपाली चलचित्रको पछिल्लो चहलपहल यस्तो छः

    • मल्टिस्टारर ‘लप्पन छप्पन’ को दोस्रो श्रृंखला र ‘मनसँग मन’ ले पूर्वनिर्धारित नयाँ वर्षको रिलिज योजना स्थगित गरे । सोही मितिमा आउने भनिएको ‘कृष्णलीला’ पनि स्थगित भएको छ ।
    • मिलन चाम्सको ‘गोर्खा वरियार–२’ को दोस्रो चरणको छायांकन कहिले सुरु हुन्छ टुंगो छैन । कोरोना महामारीको अन्यौलको बीच ‘कबड्डी’को चौंथो श्रृंखला बैशाख पहिलो सातादेखि जाने तयारीमा छ । सुटिङमा जाने मनस्थिती बनाएका केही निर्माताले तत्काल छायांकन सुरु नगर्ने मूड बनाएका छन् । 
    • फिल्म हल खुलेको तीन महिनासम्म पनि नेपाली फिल्म हलको  ‘अकुपेन्सी ‘औसत १० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन । बितरकले उच्च लगानीमा हलिउड र बलिउडका ठूला फिल्म ल्याउन सकेका छैनन् । ठूलो लगानीमा फिल्म ल्याउँदा लगानी नउठ्ने जोखिम कायमै छ । यो साता प्रदर्शन हुने भनिएको  ‘गोडजिला भर्सेस कङ’ यही समस्याले रिलिज हुन सकेन ।

    लकडाउनले १० महिना बन्द रहेका हलहरु पुस १० गतेबाट खुलेका थिए । व्यवसायीले एकपक्षीय रुपमा हल खोलेपछि सरकारले पुस २६ गतेको मन्त्रिपरिषद् बैठकबाट केही सर्तसहित फिल्म गतिविधि सञ्चालन गर्न अनुमति दियो । संक्रमण दर बढेमा पुनः हल बन्द गर्ने, जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्ने सरकारका सर्त थिए । यिनै सर्तका आधारमा तीन महिना फिल्म हल सञ्चालन त भए तर, न्यून अकुपेन्सीमा ।

    फिल्म र मनोरञ्जन क्षेत्र बिस्तारै लयमा फर्कँदै गर्दा कोरोनाभाइरस महामारीको सम्भावित दोस्रो लहरको जोखिम सुरु भएको छ । छिमेकी मुलुक भारतमा भाइरसको दोस्रो लहर मात्र सुरु भएपछि नेपालमा जोखिम बढेको हो । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै सभा, जुलुस, बैठक, भेला र भीडभाडजन्य व्यवसाय नगर्न आग्रह गरेको छ । चैत लागेयता नेपालको संक्रमण दर पनि सयबाट उकालो लाग्न थालेको छ ।

    स्वास्थ्य मन्त्रालयको विज्ञप्ती र जनस्वास्थ्यका मापदण्डमा कडाइ हुन लागेसँगै पुनः नेपाली फिल्म प्रभावित भएको हो । भाइरसको सम्भावित दोस्रो लहरको त्रासको कारण ‘लप्पन छप्पन-२’ र ‘मनसँग मन’ फिल्मले रिलिज स्थगित मात्र गरेनन्, अन्य फिल्म पनि नयाँ मिति घोषणा नगर्ने मनस्थितीमा छन् । छायांकनमा जाने तयारीमा बसेका निर्माताले पनि तत्कालै नजाने मुड बनाएका छन् र वितरकले ठूला फिल्मको वितरण अधिकार खरिद गर्न रुचि देखाएका छैनन् ।

    यी अवस्थामा नेपाली फिल्मको निकट भविष्य सहज हुने छाँटकाँट देखिँदैन । किनभने, भाइरस संक्रमण उकालो लाग्दो छ, खोप अभियान प्रभावित बनेको छ र जनस्वास्थ्यविद् आगामी सय दिन संक्रमणको हिसाबले निकै संवेदनशिल हुने बताउँदैैछन् । छिमेकी मुलुक भारतमा दैनिक ६० हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् । संक्रमित हुनेहरुमा भाइरसको नयाँ भेरिएन्ट भेटिएको जनाइएको छ ।

    बितेको तीन महिना फिल्मलाई लयमा ल्याउन निकै प्रयत्नहरु भए । चलचित्र विकास बोर्डले पुनरुत्थानका लागि कोभिड राहतको घोषणासमेत गर्‍यो र आउँदो ६ महिनाभित्र रिलिज हुने फिल्मलाई प्राथमिकतासहित ५ लाख दिने निर्णय गर्‍यो । तर, रिलिज भएका फिल्म फ्लप मात्र भएपछि सरकारी निर्णय प्रभावकारी बन्न सकेन ।

    अघिपछि भारतीय फिल्मको बिरोध गर्ने फिल्मर्की यसपटक भने बलिउडको ठूलै फिल्म रिलिज पर्खाइमा बसे । ठूलै विदेशी फिल्म रिलिज नभए दर्शक हलसम्म नजाने आफ्नो फिल्म डुब्ने उनीहरुको बुझाइ रह्यो ।

    तामझामसहित माघ १ गते रिलिज भएको शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ व्यवसायिक र समीक्षात्मक दुबै कोणबाट असफल बन्यो । त्यसयता रिलिज भएका ‘गोर्खे’ लगायत केही हलिउड र बलिउड फिल्म पनि असफल बने । दर्शक ढुक्क साथ हलमा पुग्ने वातावरण नबन्दा फिल्म व्यवसाय लयमा फर्किन सकेन ।

    भाइरसको दोस्रो लहर सुरु हुने सम्भावित जोखिमको कारण निर्मातामा चिन्ता थपिएको छ । लकडाउनका कारण प्रदर्शन हुन नसकेका २२ फिल्मले हल खुलेको तीन महिना बितिसक्दा पनि रिलिज डेट घोषणा गरेनन् । अघिपछि भारतीय फिल्मको बिरोध गर्ने फिल्मर्की यसपटक भने बलिउडको ठूलै फिल्म रिलिज पर्खाइमा बसे । ठूलै विदेशी फिल्म रिलिज नभए दर्शक हलसम्म नजाने आफ्नो फिल्म डुब्ने उनीहरुको बुझाइ रह्यो ।

    लकडाउनले रोकिएका चिसो मान्छे, ए मेरो हजुर ४, परदेशी २ लगायतका फिल्मले तीन महिनाभित्र सुटिङ सके । ‘२ नम्बरी’ लगायतका फिल्म भने अझै फ्लोरमा जान सकेका छैनन् । लकडाउनले सुटिङमा जान नपाएका १४ भन्दा बढी फिल्म चैत दोस्रो सातासम्म पनि जाने तयारीमा छैनन् बरु, परिस्थिती साम्य हुने पर्खाइमा उनीहरु छन् । कतिपय जनस्वास्थ्यका मापदण्ड पालना गरेरै फिल्म सुटिङमा जाने तयारीमा छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै ‘कबड्डी’का निर्माता मणीराम पोखरेलले कोरोनाको अन्यौलका बीच आफूहरु सुटिङमा जाने तयारीमा रहेको बताए । वैशाख पहिलो साता मुस्ताङमा हुने सुटिङका लागि सबै कलाकार र प्राविधिकको पीसीआर परिक्षण गर्ने र सुटिङ सेटमा बाहिरी मान्छेलाई जान नदिने उनीहरुको तयारी छ । कबड्डी फिल्मकै लागि बेलायत लगायतका मुलुकबाट आएका कलाकार अहिले क्वारेन्टिनमा रहेको जानकारी दिँदै निर्माता पोखरेलले आफूहरु भाइरस संक्रमणबाट कास्ट एन्ड क्रूलाई नै जोगाउन लागिपरेको बताए ।

    ‘राजनीतिक दलले सभा, जुलुस गर्न मिल्ने तर, हामीले सामाजिक दूरी कायम गरेर सुटिङ गर्छौं भन्दा नमिल्ने भन्ने हुँदैन’ पोखरेल भन्छन् ।

    निर्देशक एवं निर्माता मिलन चाम्सले दुई सातामा आफ्नो प्रतीक्षित फिल्म ‘गोर्खा वारियर-२’को पहिलो चरणको छायांकन सम्पन्न गरे । दोस्रो चरणको छायांकन सुरु हुनुअघि उनी कोरोना संक्रमणको अवस्था सामान्य हुने पर्खाइमा छन् । कोरोना साम्य भएपछि मात्र आफू सुटिङका लागि बेलायत जाने उनको तयारी छ ।

    नेपालको परिस्थिती भारतको संक्रमण दरमा निर्भर हुने भएकाले यहाँको मनोरञ्जन क्षेत्र (फिल्म, संगीत र गतिविधि) तत्काल लयमा फर्कने सम्भावना देखिँदैन ।

    बितेको तीन महिनामा मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा दर्शकको औषत अकुपेन्सी २० प्रतिशत रह्यो । सरकारले निर्धारण गरेको ५० प्रतिशतलाई शतप्रतिशत मान्दा यो सुखद पनि हो तर, पुनः कोरोनाको जोखिम बढेपछि भने फिल्म हेर्न हलमा जाने दर्शक संख्या शुन्यप्रायः छ ।

    क्यूएफएक्स सीइओ रोशन अडिगाका अनुसार हलमा नयाँ रिलिज फिल्म नहुनु र कोरोनाको हल्लाको कारण दर्शक संख्या न्यून भएको हो । क्यूएफएक्सले विगतका सुपरहिट र ब्लकबस्टर फिल्मलाई पुनः रिलिज गरेपनि दर्शकले त्यसमा खासै रुचि देखाएनन् ।

    हलिउडको नेपाल वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठ कोरोनाको त्रास पुनः बढ्न सक्ने भयले हलिउड कम्पनीले ठूला फिल्म नेपाललाई नदिएको बताउँछन् ।

    ‘कोरोना त्रासकै कारण ठूला हलिउड फिल्म पनि पछिल्लो समय आउन सकेका छैनन् । आएपनि ठूला फिल्म ल्याउन ठूलै लगानी गर्नुपर्छ । लगानी उठाउने सवाल पनि हुन्छ’ उनी भन्छन्, ‘यद्यपी हामीले प्रयास गरिरहेका छौं ।’ काठमाडौंस्थित बलिउड फिल्म वितरण कम्पनी ब्यांकटेस मूभिजका मनोज राठी पनि कोरोनाकै कारण फिल्म ल्याउन अन्यौल भइरहेको बताउँछन् ।

    विश्वव्यापी प्रभाव

    नेपालमा मात्रै नभएर भारतीय चलचित्र उद्योगको पनि उही अवस्था छ । बलिउडमा पुनः फिल्म पोस्टपोन्ड र रिलिज स्थगनको सिलसिला सुरु भएको छ । कोरोनापछि लयमा फर्कन संघर्ष गरिरहेको बलिउडलाई अहिले भाइरसको सेकेन्ड-वेभले धक्का दिएको छ ।

    मंगलबार मात्र अमिताभ बच्चन र इमरान हासमी स्टारर ‘चेहेरे’ को रिलिज स्थगित गरियो । गत साता ‘बन्टी और बब्ली-२’ र ‘हाथी मेरे साथी’ पनि पोस्टपोन्ड भएका छन् ।

    अन्यौलकै बीच अक्षय कुमार र कट्रिना क्याफ स्टारर ‘सूर्यवंशी’को स्ट्रिमिङ अधिकार नेटफिल्क्सले खरिद गरेको थियो । यो फिल्मको पनि रिलिज डेट अनिश्चितकालका लागि स्थिगित भएको छ ।

    जनस्वास्थ्यविद् एवं फिल्म निर्देशक डा. सचिन घिमिरे अझै केही समय फिल्म लगायतको क्षेत्र सामान्य भैहाल्ने सम्भावना नरहेको बताउँछन् ।फिल्मकर्मीलाई हतार नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न उनको सुझाव छ ।

    भेराइटी म्यागजिनका अनुसार महामारीको कारण हलिउड फिल्म छायांकनमा अहिलेसम्मकै ठूलो गिरावट आएको छ । सन् २०१९ मा ३६ हजार ५४० फिल्म सुटिङ भएका थिए । तर, सन् २०२० मा त्यसमा ४८ प्रतिशत गिरावट आएर १८ हजार ९९३ मात्र सुटिङ भए । भेराइटीले हलिउडमा फिल्म छायांकनको यो २५ वर्ष यताकै न्यून आँकडा भनेको छ । लस-एन्जल्स फिल्म उद्योगका अध्यक्ष पौल एड्लीले फिल्म निर्माणमा अभूतपूर्व गिरावट आएको बताए ।

    हलिउडमा अघिल्लो वर्षको तुलनामा सन् २०२० मा फिचर फिल्म निर्माणमा ५६ प्रतिशत कमी आएर जम्मा १,६४१ फिल्म मात्र सुटिङ भएका थिए । भाइरसले लस-एन्जल्सलाई प्रभावित बनाएपछि अहिले हलिउड फिल्म निर्माताको ध्यान छायांकनको लागि उत्तरी छिमेकी क्यानडातर्फ सोझिएको छ । हलिउड स्टुडियो र स्ट्रिमिङ कम्पनीहरु भ्यानकुभर लगायतका क्यानेडेली सहरमा फिल्म र टेलिभिजन सिरिज निर्माणमा केन्द्रित भएका छन् ।

    युरोप र अमेरिकामा भाइरसको तेस्रो लहर सुरु भैसकेको छ र खोप अभियान सुरु भएपनि संक्रमण दर बढिरहेको छ । नेपालको परिस्थिती भारतको संक्रमण दरमा निर्भर हुने भएकाले यहाँको मनोरञ्जन क्षेत्र (फिल्म, संगीत र गतिविधि) तत्काल लयमा फर्कने सम्भावना देखिँदैन । जनस्वास्थ्यविद् एवं फिल्म निर्देशक डा. सचिन घिमिरे अझै केही समय फिल्म लगायतको क्षेत्र सामान्य भैहाल्ने सम्भावना नरहेको बताउँछन् ।

    फिल्मकर्मीलाई हतार नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न उनको सुझाव छ । उनी परिस्थितीलाई सामान्य बनाउनको लागि चलचित्र विकास बोर्डको भूमिका महत्वपूर्ण हुने बताउँछन् ।

    ‘बोर्डले कोभिड पुनरुत्थानका लागि राहत ल्याउने र अबको जोखिमलाई न्यूनीकरण गर्नेतर्फ कदम चाल्नुपर्छ,’ घिमिरेको सुझाव छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार सोमबारसम्म नेपालमा कोरोनाभाइरस संक्रमित संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ भने मृत्यु ३,०२७ पुगेको छ । १७ लाख ५८ हजारलाई कोभिडविरुद्धको खोप लगाइसकिएको छ ।

  • कोरोना त्रासले ‘कृष्णलीला’ पनि पोस्टपोन्ड, नयाँवर्षको लाइनअप रित्तो

    कोरोना त्रासले ‘कृष्णलीला’ पनि पोस्टपोन्ड, नयाँवर्षको लाइनअप रित्तो

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिमको कारण फिल्म ‘कृष्णलीला’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै निर्देशक दीपक ओलीले चैत २७ गते फिल्म प्रदर्शन नहुने बताए । ‘भीडभाड नगर्नु भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशनको कारण फिल्म रिलिज रोकेका हौं’ उनले भने ।

    भाइरस संक्रमणको परिस्थिती साम्य भएपछि मात्र नयाँ रिलिज मिति घोषणा गरिने जानकारी उनले दिए । यसअघि चैत २७ गतेको मितिबाट फिल्म ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’को रिलिज मिति पनि पोस्टपोन्ड भैसकेको छ ।

    तीनवटै फिल्मको रिलिज मिति पोस्टपोन्ड भएपछि नयाँवर्षको लाइनअप रित्तो भएको छ । यी तीन फिल्म रोकिँदा नेपाली फिल्मलाई लयमा ल्याउने प्रयासमा ठूलो धक्का लागेको छ ।

  • नेपालले पाएन ‘गडजिला भर्सेस कङ’ रिलिज अनुमति, हलिउड स्टुडियोले रोक्यो थ्रीडी संस्करण

    नेपालले पाएन ‘गडजिला भर्सेस कङ’ रिलिज अनुमति, हलिउड स्टुडियोले रोक्यो थ्रीडी संस्करण

    काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रोजले फिल्म ‘गडजिला भर्सेस कङ’को थ्रीडी संस्करण नेपाललाई उपलब्ध नगराउँदा प्रदर्शन रोकिएको छ ।

    वितरण स्रोतले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार कारण नखुलाइकनै वार्नर ब्रोजले थ्रीडी फिल्म रोकेको हो । भारतमा भने गतसाता नै रिलिज भएको फिल्मले पहिलो साता झन्डै ३५ करोड भारु नेट कमाएको छ ।

    ‘प्रिन्ट तयार छैन भनेर हामीलाई फिल्म दिइएन’ स्रोतले भन्यो, ‘यसअघि दिन हुने तर, अहिले रोकिएको छ । हामी अचम्मित छौं ।’ गडजिलाको अघिल्ला प्रिक्वेल भने थ्रीडी मै नेपालमा रिलिज भएका थिए । थ्रीडी रोकिएपनि वितरकले टुडी भर्सनमै फिल्म मगाउने प्रयास थालेका छन् ।

    भारतमा भने थ्रीडीमै फिल्म प्रदर्शन भैरहेको छ । कोभिड महामारीकै बीचमा यो फिल्मले त्यहाँ उधुम कमाइ गरेको हो । नेपालमा गडजिला सिरिजका प्रशस्तै दर्शक छन् ।

    एडम विंगर्ड निर्देशित फिल्ममा राक्षसको राजा र विश्वको आठौं आश्चर्य नामक दुई पात्रको लडाइ चित्रण गरिएको छ । अमेरिकामा भने यो फिल्म आजदेखि रिलिज भएको छ । हलसँगै एचबीओ म्याक्समा फिल्म रिलिज हुने तयारीमा छ ।

    वार्नर ब्रोज र लिजेन्ड्री एन्टरटेनमेन्टले उत्तर अमेरिकाका ३ हजार हलमा फिल्म रिलिज तयारी गरेका छन् । क्रिस्टोफर नोलनको साइन्स फिक्सन टेनेटभन्दा बढी हल गडजिलाले प्राप्त गरेको छ ।

  • रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आजदेखि

    रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आजदेखि

    काठमाडौं । रेडियो नेपाल स्थापनाको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आज शुरु भएको छ ।

    प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पु¥याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे ।

    रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, सङ्गीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पुर्‍याउँदै आएको बताए ।

    संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीतसङ्गीत प्रस्तुत गर्दै आएको बताए। प्रतियोगितामा ३१ वटा गीतसङ्गीत प्रस्तुत गरिनेछ । रेडियो नेपालको वार्षिकोत्सव यही चैत २० गते हुँदैछ ।

  • अन्ततः कोरोना त्रासमा पोस्टपोन्ड भयो ‘सूर्यवंशी’, बलिउडलाई अर्को धक्का

    अन्ततः कोरोना त्रासमा पोस्टपोन्ड भयो ‘सूर्यवंशी’, बलिउडलाई अर्को धक्का

    मुम्बइ । अन्ततः कोरोनाभाइरसको दोस्रो लहरको त्रासमा प्रतीक्षित बलिउड फिल्म ‘सूर्यवंशी’ अनिश्चितकालका लागि पोस्टपोन्ड भएको छ ।

    बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले पोस्टपोन्डको पुष्टि गरेका छन् । औपचारिक पोस्टपोन्डबारे जानकारी दिने तयारी छ । उनका अनुसार अक्षय कुमार स्टारर फिल्म २९ अप्रिलमा रिलिज हुनेछैन ।

    भारतमा कोरानाको दोस्रो लहर सुरु भएपछि यसअघि तीनवटा फिल्म पोस्टपोन्ड भैसकेका छन् जसमा चेहेरे, बन्टी और बब्ली २ र हाथी मेरे साथी छन् ।

    सूर्यवंशी यसअघि दुईपटक पोस्टपोन्ड भैसकेको छ ।

  • ‘थ्री इडियट्स’ फिल्मका सोनम वाङ्चुक काठमाडौंमा, महावीरसँग सहकार्य गर्ने

    ‘थ्री इडियट्स’ फिल्मका सोनम वाङ्चुक काठमाडौंमा, महावीरसँग सहकार्य गर्ने

    काठमाडौं । भारतको लद्दाखका इन्जिनियर सोनम वाङ्चुक शैक्षिक अभियन्ता पनि हुन् । सन् २०१८ मा उनले एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसे पनि जितेका थिए ।

    उनै सोनम अहिले नेपाली राजधानी आइपुगेका छन् । उनले मंगलबार काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्र पुगेर नेपाली रोमन म्यागासेसे विजेता महावीर पुनसँग भेट गरे ।

    महावीर र सोनमले आविष्कारको क्षेत्रमा सहकार्य गर्ने बताएका छन् । आमिर खानले अभिनय गरेको फिल्म ‘थ्री इडियट्स’ सोनमकै जीवनबाट प्रभावित छ । ‘थ्री इडियट्स’कै कारण सोनम निकै चर्चित भएका थिए ।

    सोनमसँगको भेटपछि पुनले भिडियो जारी गरेका छन् । जहाँ सोनमले आविष्कार भन्ने कुरा न्यूयोर्क र दिल्लीबाट आउने नभई माटो सुहाउँदो तरिकाले हुनुपर्ने बताएका छन् ।

  • २७ लागे अनमोल, भुवन-निरुताले चखाए केक (तस्विरहरु)

    २७ लागे अनमोल, भुवन-निरुताले चखाए केक (तस्विरहरु)

    काठमाडौं । अभिनेता अनमोल केसी मंगलबार २७ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । ‘होस्टेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोल पछिल्लो छिमलका लोकप्रिय एक्टर हुन् ।

    जन्मदिनमा उनलाई बाबु अभिनेता भुवनले शुभकामना दिँदै चाहना र सपना पुरा गर्न आशिर्वाद दिएका छन् । ‘प्यारो छोरा, तिम्रो जति उमेर बढेपनि हामीलाई जहिल्यै प्यारो र स्मार्ट लाग्छ । जन्मदिनको शुभकामना’ भुवनले फेसबुकमा लेखेका छन् ।

    अनमोलले पुरानो बानेश्वरस्थित घरमै जन्मदिन सेलिव्रेट गरे । भुवन, निरुता सिंह, जिया केसी उपस्थितीमा उनले केक काटे । अनमोल अभिनित जेरी, ड्रीम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ हिट रहे । उनी अभिनित ए मेरो हजुर ४ छायांकनमै छ ।

  • नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

    नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

    काठमाडौं । फिल्म छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको रुपमा नेपाल सूचीकृत भएको छ । हलिउड इन्साइडर म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पारेको छ ।

    जसमा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया समावेश छन् । म्यागजिन सम्पादक डेभिड सिनसेजले हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेको लेखेका छन् ।

    सांस्कृतिक र भौगोलिक विविधताको साथै नेपालीको आतिथ्य संस्कारको कारण फिल्म छायांकन अझै सजिलो हुने उल्लेख छ । नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै म्यागजिनले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न अनुरोध गरेको छ ।

    ‘नेपालमा छायांकन गर्नको लागि हामी सुझाव दिन्छौं’ म्यागजिनले लेखेको छ । चलचित्र विकास बोर्डका अनुसार अहिलेसम्म ३१ विदेशी फिल्म नेपालमा छायांकन भएका छन् । जसमध्ये हलिउडको डक्टर स्ट्रेन्ज र एभरेस्ट थ्रीडी ठूला फिल्म हुन् ।

    तस्विर : हलिउड फिल्म एभरेस्ट छायांकन सगरमाथा आधार शिविरमा । तस्विर –हलिउड रिपोर्टर

  • ६ वर्षपछि अकेशाको कमब्याक, फिल्म ‘लाइफ इन एलए’ बन्ने

    ६ वर्षपछि अकेशाको कमब्याक, फिल्म ‘लाइफ इन एलए’ बन्ने

    काठमाडौं । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली चित्रण गर्ने फिल्म ‘लाइफ इन एलए’ निर्माण हुने भएको छ । अमेरिकी सहर लस-एन्जल्समा छायांकन सुरु हुने फिल्मलाई सूर्य श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।

    निर्माताले पोस्टर टीजर पोस्टर सार्वजनिक गरेका छन् । अप्रिल पहिलो साताबाट लस-एन्जल्समा फिल्म छायांकन हुने जनाइएको छ । अमेरिकासहित नेपालको पर्यटकीय नगरी पोखरामा समेत फिल्म सुटिङ हुनेछ ।

    बाश इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण हुने फिल्ममा अकेशा बिष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र बिशाल ढकालको अभिनय हुने जनाइएको छ । ६ वर्षअघि रिलिज भएको ‘जिन्दगी रक्स’ अभिनेत्री विष्ट यो फिल्मबाट कमब्याक हुँदैछिन् ।

    ‘जिन्दगी रक्स’ रिलिजपछि अकेशा अमेरिका हानिएकी थिइन् । फिल्मका अन्य कलाकार पनि अमेरिकामै बसोबास गरिरहेका छन् । कार्यकारी निर्माता संसार सुवेदी हुन् ।

    राजेन्द्र ठकुराठी निर्माता रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् । फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन रहनेछ ।