Category: कलाप्रेस

  • दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातभित्र

    दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातभित्र

    काठमाडौं । दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकी आइडलको उत्कृष्ट सातभित्र प्रवेश गरेका छन् । गायन रियालिटी सोले अफिसियल ट्वीटरमार्फत उक्त जानकारी गराएको हो ।

    अघिल्लो १८ औं संस्करणमा दोस्रो बनेका पोखरेल पछिल्लो संस्करणमा भने उत्कृष्ट सातमा पसेका हुन् ।

    कोरोना महामारीका कारण अडिसन लगायतका कार्यक्रम प्रभावित भएपछि अमेरिकी आइडलले गतवर्षका १० जना प्रतिस्पर्धीलाई पुनः गायनको मौका दिएको हो ।

    नेपालमा जन्मिएका पोखरेलको गायकीलाई अमेरिकी आइडलका निर्णायकले रुचाउँदै आएका छन् ।

  • प्रियंकाको बेबी-बम्प भुँडी : टाइमलाइनमा एकैसाथ गाली र ताली !

    प्रियंकाको बेबी-बम्प भुँडी : टाइमलाइनमा एकैसाथ गाली र ताली !

    काठमाडौं । प्रियंका कार्की र कन्ट्रोभर्सी पर्यायवाची शब्द हुन् । सामाजिक संजालमा उनले गर्ने पोस्ट प्रायः चर्चामा आइरहन्छन् । भीडको ध्यान आफूतिर तान्न सक्ने खुबी भएकी प्रियंका पछिल्लो पटक बेबी–बम्पवाला तस्विरले चर्चामा छाएकी छिन् ।

    आइतबार बेलुका उनले इन्स्टाग्राममा पोस्ट गरेको एउटा बेबी–बम्पवाला तस्विरले सबैको ध्यान खिचेको छ । उनका श्रीमान आयुष्मान देशराज जोशीले पनि उनको तस्विर सेयर गरेका छन् ।

    जहाँ उनले गर्भवती भुँडीमा मेकअपसहित गिलासमा जुस पिलाइरहेको तस्विर पोस्ट गरेकी छिन् । उनले केही विदेशी बेबी-बम्प तस्विरहरुको नक्कल गर्दैै खिचाएको यो तस्विरले एकैसाथ गाली र ताली पाएको छ ।

    कतिपयले उनले स्वदेशी परम्परालाई भुलेर नेपालको सामाजिक मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन् भने कतिपयले तस्विर खिचाउन पाउनु उनको नीजि जीवन भएको भन्दै बचाउ गरेका छन् ।

    प्रियंकाले भने यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

  • नेपाली फिल्म ‘आप्पा’ निर्माता लेप्चाले जिते पश्चिम बंगालको चुनाव

    नेपाली फिल्म ‘आप्पा’ निर्माता लेप्चाले जिते पश्चिम बंगालको चुनाव

    काठमाडौं । नेपाली फिल्म ‘आप्पा’ निर्माता रुदेन सादा लेप्चाले भारतको पश्चिम बंगाल राज्यको विधान सभा चुनावमा दार्जिलिङको लोकसभा सिटमा चुनाव जितेका छन् ।

    उनले उक्त सिटमा कालिम्पोङ जिल्लाको प्रतिनिधित्व गर्छन् । भारतको निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारको हैसियतमा उनले जित हासिल गरेका हुन् ।

    उनले बीजेपीका शुभ प्रधानसहित अन्य ६ जना उम्मेदवारलाई पछि पारेका हुन् । उनी २२ औं नम्बरका उम्मेदवार थिए । उनले निकटतम प्रतिस्पर्धीलार्ई ४ हजार मतको अन्तरले पराजित गरेको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।

    सन् २०१९ मा रिलिज भएको फिल्म आप्पाका निर्माता रहेका लेप्चाले भारतको पश्चिम बंगालमा नेपाली फिल्मको विकासमा योगदान दिएका छन् । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म आप्पा नेपाल र भारतमा एकसाथ रिलिज भएको थियो ।

    लेप्चाको विजयीपछि उनका नेपाली फिल्म सहकर्मी एवं कबड्डी फिल्म निर्माता मणीराम पोखरेल, निर्देशक अनमोल गुरुङ, रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई लगायतले बधाइ समेत दिएका छन् ।

  • सिसनसँगको प्रेमबारे श्रृंखलाको जवाफ : ओपन सेक्रेट नै छौं !

    सिसनसँगको प्रेमबारे श्रृंखलाको जवाफ : ओपन सेक्रेट नै छौं !

    काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा पछिल्लो समय व्यक्तिगत कारणले पनि चर्चामा छिन् ।

    उनको प्रेम सम्बन्ध मिडियाका लागि चर्चाको विषय बन्ने गर्छ । भ्लगर सिसन बानियाँसँगको उनको प्रेम छिपेको छैन । यद्यपी यो जोडीले अहिलेसम्म सार्वजनिकरुपमा प्रेमलाई खुलाएको छैन ।

    तर, उनीहरुले ओपन-सेक्रेट ढंगले सम्बन्धलाई अघि बढाइरहेका छन् । हालै सार्वजनिक भएका केही तस्विर र भिडियो हेर्दा पनि उनीहरुले प्रेमलाई लुकाउन सकेका छैनन् ।

    शुक्रबार एक टेलिभिजन कार्यक्रममा श्रृंखलालाई सिसनसँगको उनको प्रेमबारे सोधिएको थियो । जवाफमा उनले समय आएपछि भन्छु भनिन् । ‘ बेला आएपछि भनिन्छ । त्यो भएपछि खोल्दा मजा आउँछ । नचाहँदा नचाहँदै पन खुलस्त भैदिन्छ । ओपन सेक्रेट नै राखिरहेको हो’ उनले भनिन् ।

    उनले प्रेम नभए जीवन खल्लो हुने बताउँदै जीवनमा सहयात्री चाहिने बताइन् । ‘सहयात्री विना हिँड्न सक्छु जस्तो लाग्दैन । थाकिसकेपछि सहयात्री भएसकेपछि आनन्द र ढुक्क लाग्छ । मायाप्रेम पनि भगवानले सोचेजर दिनुभएको हो । पे्रम भएन भने जीवन खल्लो हुन्छ’ उनले भनिन् ।

    उनी मिस नेपाल भएदेखि नै सिसनसँगको सम्बन्ध गाढा भएको हो । श्रृंखलाले ब्युटी विथ पर्पस प्रोजेक्टका लागि विश्व सुन्दरी प्रतियोगितामा पेश गरेको भिडियोको निर्माण सिसनले नै गरिदिएका थिए ।

  • ऋचा र प्रियंकाको प्रेगनेन्सी गफ : सन्तानको नामदेखि सम्धिनी बन्नेसम्मका कुरा !

    ऋचा र प्रियंकाको प्रेगनेन्सी गफ : सन्तानको नामदेखि सम्धिनी बन्नेसम्मका कुरा !

    काठमाडौं । संयोग नै भन्नुपर्छ- केही साताको फरकमा अभिनेत्रीद्धय प्रियंका कार्की र ऋचा शर्माले आफू गर्भवती भएको कुरा सार्वजनिक गरे । उनीहरुले सामाजिक संजालमा बेबी बम्पका तस्विर राखेर प्रशंसकमाझ सन्तानको पर्खाइमा रहेको बताए ।

    यी दुई समकालिन एक्ट्रेसले हालै एक युट्युव टकसोमा गर्भवती अवस्था र फ्यामिली प्लानिङबारे गफगाफ गरेका छन् । प्रियंकाको युट्युव च्यानल चपचप डायरिजमा उनीहरुले ‘डबल बेबी बम्प’बारे गफ गरे ।

    उनीहरुको भविष्यमा सम्धि–सम्धिनी’ बन्नेदेखि लिएर शिशुको नामाकरण गर्नेदेखि उनीहरुको रुचिसम्ममा केन्द्रित रहे । ‘के थाहा, भोलि हामी कतै सम्धिनी पनि बन्छौं कि’ प्रियंकाले भनिन्, ‘हो नि, उनीहरुको होमप्रोडक्सन बिनै सुपरस्टार पो बन्छन् कि ?’

    ऋचाले आउने सन्तानको लागि नामहरुको लिस्ट आइपुगको बताइन् । ‘छोराछोरी जे भएपनि नाम मिनिङफुल होस्’ ऋचा भन्छिन्, ‘यो सुन्दर संयोग हो । केही हप्ताको अन्तरमा हामी ममी बन्दैछौं ।’

    पहिलोपटक पे्रगनेन्सी परीक्षण पजेटिभ आउँदा आमालाई सम्झिएको ऋचाले सुनाइन् । ‘पजेटिभ आएपछि पहिलोपटक स्ट्रोङ फिलिङ भित्रैदेखि आउँदो रहेछ । केही किट्स लिएर राखेकी थिएँ । पजेटिभ देखिँदा सुरुमा विश्वास लागेन । भएपछि पहिलोपटक ममलाई मिस गरेँ । त्यसपछि हामी नाइस लन्चमा गयौं’ उनले सम्झिइन् ।

    प्रियंकाले पनि आफूलाई पहिलोपटक ममी बन्ने थाहा पाउँदा युनिक खालको महसुस भएको बताइन् ।

  • साम्राज्ञीले थालिन् अनलाइन फेसन बुटिक, नेपालमै उत्पादन हुने पहिरन विश्वभर डेलिभर हुने

    साम्राज्ञीले थालिन् अनलाइन फेसन बुटिक, नेपालमै उत्पादन हुने पहिरन विश्वभर डेलिभर हुने

    काठमाडौं । कोरोना महामारीले सेलेव्रिटीलाई वैकल्पिक अर्थोपार्जनका माध्यम अंगाल्न बाध्य तुल्याएको छ । धेरैको रोजाइमा इ-कमर्स व्यवसाय परेको छ । फिल्म गतिविधि प्रभावित बनेपछि उनीहरुले विभिन्न व्यवसायमा हात हाल्न थालेका छन् ।

    लकडाउनको कारण भौतिक उपस्थितीमा हुने व्यवसायमा संकट भएपछि सेलेव्रिटीले अनलाइन व्यवसाय सुरु गरेका हुन् ।

    फेसनमा रुचि राख्ने अभिनेत्री साम्राज्ञी शाहले ‘प्याप्ड’ नामक अनलाइन फेसन बुटिक संचालनमा ल्याएकी छिन् । महिलाका परिधान उपलब्ध हुने उनको यो अनलाइन बुटिकमार्फत विश्वभर डेलिभरी गर्न मिल्ने सुविधा छ । नेपालमै बनेका पहिरनलाई उपभोक्ताले विश्वभरबाट अर्डर गर्न सक्ने उनले जनाएकी छिन् ।

    मोटा युवतीलाई लक्षित गरि प्लस साइजका पहिरन पनि उपलब्ध हुने उनले जनाएकी छिन् । उनले इन्स्टाग्राम लगायतका सामाजिक संजालबाट आफ्ना उत्पादनको ब्रान्डिङ समेत गर्दै आएकी छिन् । उनको उत्पादनमा स्लिकका पहिरनहरु बढी उपलब्ध रहेका छन् ।

    अहिलेको लकडाउनअघि ‘रातो टीका निधारमा’ फिल्ममा देखिएकी साम्राज्ञीले फिल्म ‘तिम्रो मेरो साथ’ मा समेत काम गरेकी थिइन् । केही समयअघि उनले निर्देशकद्वय प्रवेश पौडेल र मिलन चाम्सको फिल्ममा पनि साइन गरेकी थिइन् ।

  • कोरोना निको भएर घर फर्किएका मदनकृष्णको आग्रह : कोरोनाप्रति संवेदनशिल बनौं

    कोरोना निको भएर घर फर्किएका मदनकृष्णको आग्रह : कोरोनाप्रति संवेदनशिल बनौं

    काठमाडौं । ८ दिनको अस्पताल बसाइपछि कोरोना निको भएर घर फर्किएका अभिनेता मदनकृष्ण श्रेष्ठले भिडियो सन्देश जारी गर्दैै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

    फेसबुकमार्फत जारी सन्देशमा उनले अहिलेको कोरोना निकै कडा रहेको र यसले आफूलाई गालेको बताउँदै संवेदनशिल भैदिन आग्रह गरेका छन् । उनले मास्कको अनिवार्य प्रयोग गर्न र साबुनपानीले हात धुन समेत भनेका छन् ।

    आफ्नो परिवारका पाँचैजना सदस्य कोरोनाले थलिएकाले हेरचाहमा कठिन भएको बताउँदै निको भएकोमा भाग्यमानी महसुस गरेको बताए । भिडियोमा मदनकृष्ण निकै थकित र गलेको मुद्रामा देखिएका छन् ।

    महामारीको बेला एकापसमा सहयोग गर्न आग्रह गर्दैै मदनकृष्णले सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

  • प्रकाश सपूतलाई कोरोना संक्रमण, गरे सचेत रहन आग्रह

    प्रकाश सपूतलाई कोरोना संक्रमण, गरे सचेत रहन आग्रह

    काठमाडौं । गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं मेडिकल कलेजमा नमुना परीक्षणका गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

    गायक सपूतले सम्पर्कमा रहेकाहरुले पीसीआर परीक्षण गर्न आग्रह गरे ।

    एकदमै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि पिसिआर टेस्ट गरेको प्रकाश सपूतले बताए ।

    उनले भने,‘ मेरो रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’ गायक सपूत अहिले होम आइसोलेशनमा बसेका छन् ।

    उनले कोरोना भाइरसलाई सामान्य नठान्न समेत आग्रह गरेका छन् । सपूतले भने,‘ कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’

    सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्नेर गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’

  • फिल्म ‘डाँडाको बर पीपल’को शीर्ष गीत रिलिज : गौरी, शिव र सलोन फिचर्ड

    फिल्म ‘डाँडाको बर पीपल’को शीर्ष गीत रिलिज : गौरी, शिव र सलोन फिचर्ड

    काठमाडौं । फिल्म ‘डाँडाँको वर पीपल’को शीर्ष गीत ‘रुन्छ नी मेरो मन’ इन्टरनेट रिलिज भएको छ । जसमा गायक राजेशपायल राई र गायिका सत्यकला राइको स्वर समावेश छ । नवराज गिरीको शब्द तथा शिव मुखियाको संगीत छ ।

    बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा तयार भएको यो फिल्मको गीतमा गौरी मल्ल, शिव श्रेष्ठ र सलोन बस्नेत फिचर्ड छन् ।

    शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा नवराज गिरीको लगानी, सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य निर्देशन छ ।

    कोरोनाको स्थिती साम्य भएपछि मात्र फिल्मलाई रिलिज गर्ने तयारी गरिएको जनाइएको छ ।

  • बियोन्सेलाई लिएर राजनराज शिवाकोटीले बनाए गीत ‘ल्यासे पाउ’ (भिडियो)

    बियोन्सेलाई लिएर राजनराज शिवाकोटीले बनाए गीत ‘ल्यासे पाउ’ (भिडियो)

    काठमाडौं । संगीतकार राजनराज शिवाकोटीले १२ बर्षअघि सृजना गरेको गीत ‘फुलबुट्टे सारी’ अहिले चर्चामा छ । मार्मिक लामाको स्वरमा रहेको गीत १२ बर्षपछि एकाएक चर्चामा आयो ।

    अनि चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए। फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन्। यी सबै भर्सका गीतले सफलता पनि प्राप्त गरेका छन् ।

    यहि गीतको कभर भर्सन गाएर यतिबेला चर्चामा छिन् युगान्डाकी गायिका बियोन्से। नेपाल घुम्न आएको बेला ट्रेन्डिङ गीतको रुपमा रहेर आफूले उक्त गीत गएको उनको भनाई छ ।

    उनै बियोन्सेलाई लिएर संगीतकार शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन्।‘ल्यासे पाउ’ बोलको गीतमा राजनराज शिवाकोटीसँग बियोन्सेले आवाज भरेकी छिन्। मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन्।

    राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से फिचर्ड छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

  • प्रदीप र रेणुको फिल्म ‘प्रकाश’को इन्ड-क्ल्याप : लकडाउन अघि नै सुटिङ युनिट राजधानीमा

    प्रदीप र रेणुको फिल्म ‘प्रकाश’को इन्ड-क्ल्याप : लकडाउन अघि नै सुटिङ युनिट राजधानीमा

    काठमाडौं । लकडाउन हुनुअघिको फुर्सदिलो समयलाई केही निर्देशकले फिल्म छायांकनमा लगाए । फिल्म प्रदर्शनको पक्ष खराब रहेपनि कोभिड-१९ को दोस्रो लहर सुरु हुनुअघि उनीहरुले फिल्मको इन्ड-क्ल्याप गरे ।

    निर्देशक दिनेश राउत उनै एक पात्र हुन् जसले विहिबारदेखि सुरु भएको लकडाउनअघि आफू निर्देशित फिल्म ‘प्रकाश’ सुटिङ सके । जुम्लामा ४२ दिनको सेड्युलमा फिल्म खिचेर फिल्म युनिट राजधानी आइपुगेको छ । उक्त फिल्मको मुख्य पात्रमा प्रदीप खड्का र रेणु योगी लिडमा छन् ।

    फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतले अभिनय गरेका छन् । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी छ ।

    राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा विकास सुवेदीको कथा, अनुप बरालको कास्टिङ निर्देशन छ ।

  • चलचित्र विपद् व्यवस्थापन कोष स्थापना, आर्थिक सहयोगका लागि आग्रह

    चलचित्र विपद् व्यवस्थापन कोष स्थापना, आर्थिक सहयोगका लागि आग्रह

    काठमाडौं । कोरोना कहरबाट प्रभावित फिल्मकर्मीलाई राहत प्रदान गर्न विपत व्यवस्थापन कोष स्थापना भएको छ । चलचित्र विकास बोर्डको रोहवरमा स्थापित कोषमा निर्माता, कलाकार, प्राविधिक, निर्देशक समाज संलग्न छन् ।

    आर्थिक संकट र विपतमा परेकालाई सहयोग गर्न स्थापना गरिएको कोषका लागि ती संघसंस्थाले देश तथा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    विकास बोर्ड अन्तर्गत रहेको कोषका लागि सिटिजन बैंकमा खाता खोलिएको निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले बताइन् । महामारीसँग सबै चलचित्रकर्मी एकजुट भएर लाग्न समेत निर्देशक समाजले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

  • भारतलाई सहयोग गर्न प्रियंका चोपडाको आग्रह, भन्छिन्- अहिले भारतलाई तपाईँको खाँचो छ

    भारतलाई सहयोग गर्न प्रियंका चोपडाको आग्रह, भन्छिन्- अहिले भारतलाई तपाईँको खाँचो छ

    दिल्ली । पछिल्लो महिना भारत कोरोनाभाइरसको हटस्पट बनिरहेको छ । दैनिक मृत्युदर ३ हजार नाघेको छ । अक्सिजन लगायतका स्वास्थ्य सामाग्री अभावले स्वास्थ्य प्रणालीलाई चुनौति दिइरहेको छ । यो परिस्थितीमा भारतको लागि सहयोगी अन्तर्राष्ट्रिय हात पनि जुटेका छन् ।

    यसैक्रममा भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो मुलुक भारतलाई सहयोग गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छिन् । सामाजिक सञ्जालहरुमा पोस्ट गरेको भिडियोमा उनले भारतको गम्भीर अवस्थाको वर्णन गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् ।

    उनी भन्छिन् – ‘म लन्डनमा छु । भारतको अस्पताल कोभिडका बिरामीले भरिभराउ भएको खबर सुनिरहेकी छु । आइसीयु खाली छैन । एम्बुलेन्स उस्तै अस्तव्यस्त छन् । अक्सिजन अभाव छ । अत्यधिक मृत्युले शव जलाउन हम्मेहम्मे परेको छ ।’

    ‘भारत मेरो घर हो र अहिले त्यहाँको अवस्था नाजुक छ’ उनले भिडियोमा भनेकी छिन् ।

    भारतको अहिलेको स्थितीप्रति विश्व समुदायले ध्यान दिनु जरुरी भएको चोपडाको भनाई छ । ‘किनभने त्यहाँ सहयोगको खाँचो छ । जबसम्म कोही सुरक्षित हुँदैन अरु पनि सुरक्षित हुन सक्दैनन् । त्यसैले आफ्नो स्रोत र शक्तिको प्रयोग गरेर यो महामारीलाई रोकौं’ उनले भनेकी छिन् ।

    ‘अहिले भारतलाई तपाईंको खाँचो छ’ उनले भनिन् ।

    भारतलाई सहयोग गर्न चाहनेका लागि उनले गिभ इन्डिया फन्ड पनि स्थापना गरेकी छिन् । ‘तपाईंको सानो सहयोगले ठूलो फरक पार्नेछ । ६३ लाख बढीले मलाई फलो गर्नुभएको छ । एक लाखले मात्रै १० डलर सहयोग गर्नुभयो भने १० लाख हुन्छ’ उनले इन्स्टाग्राममा लेखेकी छिन् ।

  • नेपाली डिजाइनरको पोशाक लगाएर उपराष्ट्रपति कमला ह्यारिस अमेरिकी संसदमा

    नेपाली डिजाइनरको पोशाक लगाएर उपराष्ट्रपति कमला ह्यारिस अमेरिकी संसदमा

    न्यूयोर्क । अमेरिकी संयुक्त सदनलाई राष्ट्रपति जो बाइडनले विहिबार सम्बोधन गरेका छन् । बाइडनले मञ्चबाट सम्बोधन गरिरहँदा उपराष्ट्रपति कमला ह्यारिस र सभामुख नेन्सी पेलोसी राष्ट्रपति बाइडेनको पछाडि उभिएका थिए ।

    अमेरिकी इतिहासमै पहिलोपटक राष्ट्रपतिले संसदलाई सम्बोधन गरिरहँदा सभामुख र उपराष्ट्रपति महिला उभिएका थिए । यी दुई महिला कार्यकारीहरुको पोशाक र गेटअपको निकै चर्चा भयो ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमले ह्यारिस र पेलोसीको फेसन स्टेटमेन्टको निकै चर्चा गरेका छन् । ह्यारिसले नेपाली फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन पहिरिएकी थिइन् ।

    ह्यारिसले गुरुङले डिजाइन गरेको डबल क्रिप क्रिम सुट र सिल्कको चार्मयुज लगाएकी थिइन् । प्रबलले यसलाई इतिहासकै शक्तिशाली क्षण भएको र आफूलाई खुशि लागेको प्रतिक्रिया दिएका छन् ।

    ह्यारिसले यसअघि पनि एक औपचारिक कार्यक्रममा गुरुङको डिजाइन लगाएकी थिइन् ।

     

  • इश्वरीको गीत ‘खानदानी छोरी’को टीजर रिलिज (भिडियो)

    इश्वरीको गीत ‘खानदानी छोरी’को टीजर रिलिज (भिडियो)

    काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’को टीजर सार्वजनिक भएको छ।

    गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे)को र्‍याप रहेको छ। भट्टको संगीत रहेको गीतका शब्द टुरिष्टजङग विकले लेखेका हुन्।

    गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन्। प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन्।

    चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टीकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय छ। म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ।

    इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो। भिडियोलाई सान थापाले निर्देशन गरेका छन्। गीतको पुरै भिडियो भने केहि दिनमा सार्वजनिक हुनेछ। गायिका बरालको यसअघि सार्वजनिक भएको ‘नरिसाउन होइ’ गीत चर्चामा छ।

  • दीपक र दीपाले लगाए कोरोनाविरुद्धको चिनियाँ खोप

    दीपक र दीपाले लगाए कोरोनाविरुद्धको चिनियाँ खोप

    काठमाडौं । अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाका परिवारले बुधबार कोभिड-१९ विरुद्धको चिनियाँ खोेप भेरोसेल लगाएका छन् ।

    ललितपुरस्थित अल्का अस्पतालमा पुगेर उनीहरुले खोप लगाएका हुन् । नेपाल प्रेससँग कुरा गर्दै दीपक र दीपा दुबैले ढुक्क साथ खोप लगाउन सर्वसाधारणलाई आग्रह गरे ।

    दुई परिवारका १० जना सदस्यले खोप लगाएका हुन् । चीनले अनुदानमा दिएको ८ लाख डोज सिनोफार्म खोप अहिले राजधानीका विभिन्न खोप केन्द्रबाट लगाइएको छ ।

  • लकडाउनले पुनः रोकियो फिल्म छायांकन : ‘कबड्डी’ चार र ‘तिमीसँग हुने मन छ’ले रोके सुटिङ

    लकडाउनले पुनः रोकियो फिल्म छायांकन : ‘कबड्डी’ चार र ‘तिमीसँग हुने मन छ’ले रोके सुटिङ

    काठमाडौं । विहिबारदेखि उपत्यकासहितका विभिन्न स्थानमा सुरु हुने कोभिड-१९ लकडाउनको कारण फिल्म छायांकन प्रभावित बनेको छ ।

    छायांकनमा जाने तयारीमा रहेका फिल्म रोकिएका छन् जसले गर्दा फिल्म गतिविधि पुनः अनिश्चित बनेको छ । निर्माताहरुले कोभिड साम्य भएपछि मात्र फिल्म सुटिङ हुने जनाएका छन् ।

    कबड्डीको चौथो श्रृंखला यसैसातादेखि फ्लोरमा जाने तयारीमा थियो । तर, पुनः लकडाउन हुने भएकाले आफूहरुले योजना स्थगित गरेको निर्माता मणीराम पोखरेलले जानकारी दिए ।

    ‘अहिलेको परिस्थितीको कारण फिल्म सुटिङ स्थगित गरेका छौं’ पोखरेलले भने, ‘कोभिड परिस्थिती साम्य भएपछि मात्र फिल्म सुटिङ सुरुआत गछौं ।’

    बैशाख ५ गतेदेखि छायांकन सुरु हुने भनिएको दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘तिमीसँगै हुने मन छ’को छायांकन पनि रोकिएको छ । रोहित सुचान्ती, दीपिका प्रसाइँ र नाजिर हुसेनले अभिनय गर्ने फिल्मले तत्कालका लागि सुटिङ रोकेको हो ।

    अन्य झन्डै एकदर्जन फिल्म पनि रोकिएका छन् ।

  • नायिका सुपुष्पा र फिल्म निर्माता कँडेलबीच इन्गेजमेन्ट !

    नायिका सुपुष्पा र फिल्म निर्माता कँडेलबीच इन्गेजमेन्ट !

    काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट र फिल्म निर्माता रौनकविक्रम कँडेलबीच बुधबार इन्गेजमेन्ट भएको छ ।

    सुपुष्पा चपली हाइट ३ र रणवीर फिल्मकी अभिनेत्री हुन् भने रौनकले कबड्डी १ र झोले २ फिल्म निर्माण गरेका छन् । उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

  • फिल्म दोखको ओएसटी ‘रातैले बुन्छ’ इन्टरनेट रिलिज (भिडियो)

    फिल्म दोखको ओएसटी ‘रातैले बुन्छ’ इन्टरनेट रिलिज (भिडियो)

    काठमाडौं । फिल्म ‘दोख’को ओरजिनल साउन्ड ट्रयाक रिलिज भएको छ । अनुप बराल निर्देशित यो सोसल ड्रामा फिल्मले गीत ‘रातैले बुन्छ’ सार्वजनिक गरेको हो ।

    गीतमा श्रवण मुकारुङको शब्द, पुष्प संगमको संगीत र झुमा लिम्बूको आवाज समावेश छ ।

    माओवादी सशष्त्र युद्धको पृष्ठभूमिमा दुई गाउँबीचको दुश्मनीको कथा फिल्मले प्रस्तुत गर्छ । कुटपिटको कुरालाई लिएर दुई गाउँबीच द्वन्द्व बढेपछि फुटबल खेलाएर छिनोफानो गर्ने निर्णय हुन्छ । यसैबीचमा गाउँको स्कुलमा नयाँ शिक्षक आइपुग्छ । यो शिक्षकले दुई गाउँको झगडा मिलाउन मद्दत गर्छ कि झगडा चर्कन्छ ? फिल्म यसै वरपर घुम्छ ।

    राजन कठेतले फिल्म लेखेका हुन् । शैलेन्द्र डी कार्कीले फिल्म खिचेका छन् । दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप, कमल देवकोटा, सजन थापामगरको मुख्य भूमिका छ ।

    फिल्मको प्रदर्शन मिति तय भैसकेको छैन ।

  • नितेशजंग कुँवर किन पलायन हुँदैछन् नेपाली संगीतबाट ?

    नितेशजंग कुँवर किन पलायन हुँदैछन् नेपाली संगीतबाट ?

    काठमाडौं । युवापुस्तामा लोकप्रिय गायक नितेशजंग कुँवरले आइतबार गरेको फेसबुक पोस्टले उनका प्रशंसकमाझ तरंग सिर्जना गरेको छ । स्टाटसमा उनले आइन्दा नेपाली गीत नगाउने संकेत गरेका छन् ।

    नितेशले लेखेका थिए- प्रिय साथीहरु ! मलाई लाग्छ, अब मेरो नेपाली संगीत यात्रा टुंगोमा पुगेको छ । यो उतारचढावपूर्ण शानदार करिअरमा साथ दिने सबैलाई हार्दिक धन्यवाद ।’

    उमेरले २६ वर्षमा हिँडिरहेका नितेशले छोटो समयमै किन विश्राम लिन खोजे त ? उनका फ्यानहरुमा कौतुहल छ । स्टाटसमा उनले केही कारण खुलाएका छैनन् ।

    स्रोतका अनुसार कुँवर संगीत क्षेत्रबाटै पलायन हुन खोजेका भने होइनन् । तर, अब नेपाली गीत चाहिँ नगाउने उनको मनसाय रहेको स्रोतको भनाइ छ । उनी अब अंग्रेजी गीतमा केन्द्रीत हुन चाहन्छन् ।

    केही महिनाअघि नितेशाले अंग्रेजी गीत सार्वजनिक गरेका थिए भने थप केही अंग्रेजी गीतहरु लन्चको तयारी गरेका छन् । ‘अंग्रेजी गीत पाइपलाइनमा भएकाले उनले यस्तो निर्णय गरेका हुन सक्छन्,’ उनी निकट स्रोतले भन्यो ।

    नितेशले केही महिना अगाडि आफ्नो अंग्रेजी गीत सार्वजनिक गरेका थिए, जसले औसत सफलता पाएको छ ।

    करिब पाँच वर्ष अगाडि ‘गेडाजस्तो जिन्दगी’ ले नितेशलाई चर्चामा ल्याएको थियो । उनको सर्वाधिक चर्चित गीत चाहिँ ‘हाम्रो नेपालमा’ हो, जसले यूट्यूवमा दुई करोडभन्दा बढी भ्यूज कमाएको छ । उनी सफ्ट मेलोडीका लागि चिनिन्छन् ।

  • अस्कर अवार्ड २०२१ : ‘नोम्याडल्यान्ड’ सर्वश्रेष्ठ फिल्म, क्ओल झाओ उत्कृष्ट निर्देशक (सूचीसहित)

    अस्कर अवार्ड २०२१ : ‘नोम्याडल्यान्ड’ सर्वश्रेष्ठ फिल्म, क्ओल झाओ उत्कृष्ट निर्देशक (सूचीसहित)

    लस-एन्जल्स । फिल्म ‘नोम्याडल्यान्ड’ले आज विहान सम्पन्न ९३ औं अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको छ ।

    क्ओल झाओ इतिहासमै अस्करको निर्देशन विधा जित्ने दोस्रो महिला निर्देशक बनेकी छिन् । यसअघि क्याथरिन बिगेलोले सन् २०१० मा ‘हार्ट लकर’बाट यो विधा जितेकी थिइन् ।

    फ्रान्सिस म्याकडरम्यान्ड यही फिल्मबाट उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । आर्थिक मन्दीमा सबथोक गुमाएकी एक ६० वर्षिया महिलाले पश्चिम अमेरिकी भूगोल हुँदै गरेको एक यात्राको कथा यसले भन्छ ।

    गतवर्षको निर्देशन विधामा जितेका दक्षिण एसियाली निर्देशक ‘बोङ जो होउ’ले झाओलाई ट्रफी प्रदान गरे । सोनी पिक्चर्सको क्लासिक फिल्म ‘द फादर’बाट एन्थोनी हप्किन्स उत्कृष्ट अभिनेता घोषित भए ।

    मिनारीबाट पहिलो अस्कर जित्ने कोरियाली अभिनेत्री बनिन् यु जोङ उन । नेटफिल्क्स ३६ विधामा मनोनयन भएपनि ७ विधामा मात्र अवार्ड जित्न सक्यो । हेर्नूहोस् पूर्ण सूची :

    फिल्म : नोम्याडल्यान्ड
    निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
    अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
    अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
    सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
    सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
    एडप्टेड पटकथा : द फादर
    मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
    कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
    ओरजिनल स्कोर : सउल
    एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
    डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
    अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
    ध्वनी : साउन्ड अफ मेटल
    प्रोडक्सन डिजाइन : म्यांक
    सम्पादन : साउन्ड अफ मेटल
    छायांकन : म्यांक
    भिजुअल इफेक्ट : टेनेट
    एनिमेटेड फिचर फिल्म : सउल
    मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
    ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)

  • कोरोना संक्रमित अभिनेता मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

    कोरोना संक्रमित अभिनेता मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौं । कोरोनाभाइरसबाट संक्रमित अभिनेता मदनकृष्ण श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ ।

    कलाकार हरिवंश आचार्यका अनुसार कमजोर महसुस भएपछि श्रेष्ठलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

    मदनकृष्णका परिवारका अन्य सदस्यलाई भने भर्ना गरिएको छैन । उनीहरु होम आइसोलेसनमा छन् । श्रेष्ठसहित उनको परिवारका पाँच सदस्यलाई भाइरस संक्रमण पुष्टि भएको थियो ।

    ‘निकै कमजोर महसुस भएपछि दाईलाई अस्पताल लगिएको हो । अहिले अवस्था ठीक छ’ हरिवंशले भने । उनका अनुसार अस्पतालले श्रेष्ठलाई केही दिनमा डिस्चार्ज गर्ने तयारी गरेको छ ।

  • ‘कबड्डी ४’ फिल्म शुभ-मुहूर्त, छायांकन कोरोनाको परिस्थितीमा निर्भर हुने

    ‘कबड्डी ४’ फिल्म शुभ-मुहूर्त, छायांकन कोरोनाको परिस्थितीमा निर्भर हुने

    काठमाडौं । शनिबार फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को शुभ मुहूर्त गरिएको छ । आगामी साता छायांकन सुरु हुने फिल्मको मुहूर्तमा कलाकार, प्राविधिक, निर्माता एवं निर्देशक सहभागि थिए ।

    दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया यात्री लगायत फिल्मका अन्य कलाकार मुहूर्तमा उपस्थित रहे । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मलाई मुस्ताङमा छायांकन गरिने भएको छ ।

    आउने सातादेखि छायांकन गर्ने भनिएपनि निधो चाहिँ कोभिड-१९ महामारीमा निर्भर हुने निर्माता मणीराम पोखरेलले जानकारी दिए । सरकारले बैशाख मसान्तसम्म फिल्म हलहरु बन्द गरेको छ ।

  • शेखर गोल्छाले लन्च गरे रोमान्टिक गीत, भन्छन्- कोरोनाले थलिएको फिल्म क्षेत्रलाई उकास्छौं

    शेखर गोल्छाले लन्च गरे रोमान्टिक गीत, भन्छन्- कोरोनाले थलिएको फिल्म क्षेत्रलाई उकास्छौं

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताएका छन् ।

    द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर…’ म्यूजिक भिडियोलाई शुक्रबार राजधानीमा सार्वजनिक गर्दै उनले पर्यटन र चलचित्र क्षेत्र कोरोनाका कारण नराम्ररी प्रभावित हुन पुगेको बताए ।

    “तङ्ग्रीन लागेको पर्यटन र चलचित्र क्षेत्र फेरी कोरोनाको मारमा परेको छ, पर्यटन र चलचित्र क्षेत्रमा परेको समस्या समाधानका लागि महासङ्घले पहल गर्छ”, उनले भने ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वास्थ्य मापदण्डलाई पालना गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताए । विगत १४ महिनादेखि नेपालको चलचित्र क्षेत्र अस्तव्यस्त बन्दै गएको उनको भनाई थियो ।

    नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं म्युजिक भिडियोका निर्माता आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकासका लागि वार्षिकरुपमा विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

    महासङ्घअन्तर्गतको चलचित्र क्षेत्रका संयोजकसमेत रहेकाअधिकारीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने उल्लेख गरे ।

    चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधान, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सापकोटा, उमा फिल्मस् प्रालिका अध्यक्ष उमा गिरी, नेपाली सेनाका मेजर डीबी खड्कालगायतले राष्ट्रप्रति आस्था र योगदान झल्केको उक्त म्यूजिक भिडियोलाई राष्ट्रिय महत्वको गीतमा समावेश गर्नुपर्ने बताए ।

    चलचित्र र पर्यटन क्षेत्रलाई जोडेर निर्माण गरिएको उक्त देशभक्ति गीत राराताल वरपर छायाङ्कन गरिएको थियो ।

  • नेपाल-अफ्रिका फिल्म फेस्टिभल काठमाडौंमा सुरु, ७ नेपाली र १० अफ्रिकी फिल्म देखाइँदै

    नेपाल-अफ्रिका फिल्म फेस्टिभल काठमाडौंमा सुरु, ७ नेपाली र १० अफ्रिकी फिल्म देखाइँदै

    काठमाडौं । ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल-२०२१’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । दुईदिने फेस्टिभल जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको हो ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फेस्टिभल उद्घाटन गरे । उनले नेपाल र अफ्रिकाको द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको बताउँदै फेस्टिभलले दुई मुलुकको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । फिल्म र सांस्कृतिजस्ता माध्यमले दुई मुलुकबीच द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुने ज्ञवालीको भनाई थियो ।

    कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गरेको फेस्टिभलको यो नवौं संस्करण हो । महोत्सवमा नेपाल र अफ्रिकाको फिल्म एवम् संस्कृतिको बारेमा बहस समेत हुने जनाइएको छ ।

    महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादीपलाई फिल्मको माध्यमबाट सांस्कृतिक रुपमा जोड्न र आपसी साँस्कृतिक आदानप्रदानका लागि विगत नौ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको बताइन् ।

    फेस्टिभलमा कोभिडले नेपाली र अफ्रिकी फिल्म बजारमा पारेको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ ।

    गत डिसेम्बरमा हुनुपर्ने यो फेस्टिभल कोभिड-१९ को प्रकोपको कारण वैशाखमा आयोजना गरिएको हो । फेस्टिभलमा नेपालबाट ७ फिल्म चयन भएका छन् । जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र छन् ।

    नेपालबाट चयन भएका फिल्ममा निर्देशक गणेश पाण्डेको ‘को-हज्बेन्ड’, निर्देशक हिमाल उप्रेतीको ‘आमा’, निर्देशक माधवराज खरेलको ‘दुर्गामान्डु’, गणेशजँग रावलको ‘सम्साया’, सजल लोप्चनको ‘गाईड’, पुरुषोत्तम बस्नेतको ‘सुरक्षा’, निपिल शर्माको ‘द फाईनल फेयर वेल’ र युनिषराज उप्रेतीको ‘बाटोमा’ छन् ।

    नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका ७० वटा फिल्म मध्येबाट महोत्सबको फिल्म निर्णायक समूहले जम्मा १८ वटा लामा छोटा फिल्म चयन गरेको छ । जसमा चलचित्र, लघू चलचित्र र बृत्तचित्र छन् ।

    महोत्सबमा अफ्रिकी मुलुकबाट चयन भएका चलचित्रमा जिम्वावेबाट गुड म्यान, थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राई हट समर, एक्जिट र द स्पारो किड्स छन् । निमिभियारब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँरचिनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् ।

     

  • कोरोना कहर छल्न मनाङ पुगे राजेश हमाल, तालगाउँमा रोपे धुपीसल्लाको बिरुवा

    कोरोना कहर छल्न मनाङ पुगे राजेश हमाल, तालगाउँमा रोपे धुपीसल्लाको बिरुवा

    चामे । राजेश हमाल पछिल्लो समय फुर्सदमा छन् । कोभिडको दोस्रो लहर सुरु भएसँगै उनी कोभिडको कहर छल्न काठमाडौं बाहिर घुम्न निस्किएका छन् ।

    अर्का अभिनेता प्रशान्त ताम्राकारलाई लिएर उनी हिमालपारिको जिल्ला मनाङ घुम्न निस्किएका हुन् । फुर्सदको समयलाई सदुपयोग गर्न आफू मनाङ पुगेको अभिनेता हमालले जानकारी दिए ।

    मनाङको साँघुरो र कठिन बाटोमा लङ-ड्राइभ गर्दा रोमाञ्चक अनुभव भएको बताउँदै उनले आफूलाई त्यहाँको प्राकृतिक सौन्दर्यले लोभ्याएको जानकारी दिए ।

    हमाल र ताम्राकारले पृथ्वी दिवसको अवसरमा विहिबार नासो गाउँपालिका-१ स्थित ताल गाउँस्थित निर्माणाधीन पार्कमा धुपी सल्लाको बिरुवा रोपेका थिए । वृक्षारोपणको माध्यमबाट पर्यावरण जोगाउनु आवश्यक रहेको उनले बताएका छन् ।

  • कोरोना निको भएपछि केकीको सुझाव : सबैले उच्च सतर्कता अपनाउन जरुरी

    कोरोना निको भएपछि केकीको सुझाव : सबैले उच्च सतर्कता अपनाउन जरुरी

    काठमाडौं । गतसाता अभिनेत्री केकी अधिकारी कोरोनाभाइरसबाट संक्रमित भइन् । उनी संक्रमित हुँदा उनले निर्माण गरेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ र अभिनित फिल्म ‘घिन्ताङ’ छायांकन पोस्टपोन्ड भए ।

    रोकिएका छायांकन कहिलेदेखि सुचारु हुन्छन् भन्ने कुरा टुंगो छैन । तर, दुई दिनमै केकी भाइरसबाट निको भएकी छिन् । पुनः परीक्षणमा पीसीआर रिपोर्ट नेगेटिभ आएको केकीले जानकारी दिइन् ।

    नतिजा नेगेटिभ आएपनि आफूले आफूलाई केही समयका लागि आइसोलेट गरेको उनले बताएकी छिन् । ‘नेगेटिभ देखिएपनि मैले आफूलाई अहिले आइसोलेट गरेकी छु’ केकी भन्छिन्, ‘हामी सबै उच्च सतर्कता अपनाउनु जरुरी छ ।

    केकीलाई कोरोना संक्रमण देखिएपछि अभिनेत्री करिश्मा मानन्धरले पनि आफूलाई आइसोलेट तुल्याएकी छिन् ।

  • मनीषाको फिल्म ‘इन्डिया स्वीट्ज एन्ड स्पाइज्’ ट्राइवेका फेस्टिभलमा मनोनित

    मनीषाको फिल्म ‘इन्डिया स्वीट्ज एन्ड स्पाइज्’ ट्राइवेका फेस्टिभलमा मनोनित

    काठमाडौं । विश्व फिल्मको प्रतिष्ठित फेस्टिभल ट्राइबेकाले वर्ष २०२१ संस्करणको लागि प्रतिस्पर्धी फिल्मको लाइनअप घोषणा गरेको छ । १२ दिन लामो फेस्टिभल जुन ९ देखि २० सम्म आयोजना हुँदैछ ।

    फेस्टिभलका अधिकांश स्क्रिनिङ र कार्यक्रम आउटडोर हुने जनाइएको छ । यसपटक न्यूयोर्कका पाँच विभिन्न स्थानमा फेस्टिभल हुने जनाइएको छ । कोरोना महामारीले गतवर्ष स्थगित भएको फेस्टिभल यसपटक हुन लागेको हो ।

    यसवर्ष विभिन्न २३ देशका ८१ जना फिल्ममेकरका ६४ वटा फिल्म प्रदर्शन हुँदैछन् । घोषित लाइनअपअनुसार विभिन्न ५४ वटा फिल्म विश्व प्रिमियर हुने जनाइएको छ ।

    ‘फिल्म गतिविधि ठप्प भएको एकवर्ष हामीले न्यूयोर्कवासीलाई पुनः निम्तो दिएर फिल्म देखाउन पाउँदा खुशि लागेको छ’ फेस्टिभल निर्देशक कारा कासुमानले भने ।

    फेस्टिभलको ‘स्पटलाइट न्यारेटिभ’ विधामा मनीषा कोइरालाको मुख्य भूमिका रहेको फिल्म ‘इन्डिया स्वीट्ज एन्ड स्पाइज्’ पनि मनोनित भएको छ । गीता मलिक लिखित एवं निर्देशित फिल्ममा सोफिया अली, अडिल हुसेन, दिप्ती गुप्ता र ऋषि शाहको पनि मुख्य भूमिका छ ।

    पहिलोपटक विश्व प्रिमियर हुन लागेको यो फिल्ममा पहिलोपटक कलेज अध्ययन गर्न जान लागेको एक विद्यार्थीले आफ्ना अभिभावकको मूल्यमान्यताको बाबजुद आफ्ना पहिचान र दृष्टिकोण निर्माणका लागि गरेको संघर्ष चित्रण गर्छ ।

  • सलमान र रणदीप स्टारर ‘राधे’ ट्रेलर रिलिज (भिडियो)

    सलमान र रणदीप स्टारर ‘राधे’ ट्रेलर रिलिज (भिडियो)

    काठमाडौं । सलमान खान अभिनित ‘राधे’ ट्रेलर विहिबार इन्टरनेट रिलिज भएको छ । आगामी बैशाख ३० गते इद पर्वको अवसरमा प्रदर्शन हुने फिल्मले पोस्टर र ट्रेलर लन्च गरेको हो ।

    सलमानसहित फिल्ममा दिशा पटानी, प्रभु देवा, रणदीप हुडा लगायतको मुख्य भूमिका छ । इदमा जी नेटवर्कको ओटीटी प्लेटफर्म र फिल्म हलहरुमा फिल्म प्रदर्शन हुने सलमान खान फिल्म्सले जानकारी दिएको छ ।

    ट्रेलरमा सलमान र रणदीपको एक्सन दृश्यहरु समावेश गरिएको छ । कोरोनाभाइरस महामारी रोक्न मुम्बईमा लगाइएको लकडाउनको अवधी लम्बिए राधे हलमा रिलिज हुने कुरामा भने शंका छ ।

    भाइरस महामारीले थलिएको फिल्म उद्योगलाई लयमा ल्याउन हलमा रिलिज गर्न लागेको सलमानले जनाएका छन् । यो फिल्मलाई ओटीटीमा चाहिँ दर्शकले निश्चित रकम तिरेर हेर्न पाउने भएका छन् ।

  • श्रीकृष्ण क्षेत्री र मेलिना राईको ‘राम हो झुमा हो’ सार्वजनिक (भिडियोसहित)

    श्रीकृष्ण क्षेत्री र मेलिना राईको ‘राम हो झुमा हो’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक श्रीकृष्ण क्षेत्री र गायिका मेलिना राईको स्वरमा रहेको ‘राम हो झुमा हो’ बोलको गीत सार्वजनिक भएको छ । बिदुर गिरीको शब्द तथा गायक स्वयम् श्रेत्रीको संगीत रहेको गीत छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक भएको हो । मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषय समेटिएको छ ।

    आफुले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दै मनाएको विषबस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुङगानाले अभिनय मार्फत उतारेका छन् । गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ ।

  • कफनमा बेरिएर ‘हवाईजहाज’मा फर्कनेको कथा‍‍…

    कफनमा बेरिएर ‘हवाईजहाज’मा फर्कनेको कथा‍‍…

    काठमाडौं । गत चैत्र २२ गते वैदेशिक रोजगारीमा मलेशिया गएका १२ नेपालीको शव नेपाल ल्याइयो ।

    विमानस्थल गएका पूर्व-प्रधानमन्त्री बाबुराम भट्टराईले परिवारको भावविह्लल अवस्था देख्न नसकेपछि आँसु थाम्न सकेनन् । ‘…आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’ उनले ट्वीटमा लेखे ।

    ऋणमुक्त बन्ने सपना देखेर दैनिक नेपाली खाडी लगायतका अन्य मुलुक विदेशिन्छन् । वर्षेनि दर्जनौं परिवार विमानस्थलमा आफन्तको लास पर्खन अभिशप्त छन् । यिनै परिवारको कठोर यथार्थ दर्शाउने गरी केही दिनअघि मात्र एउटा गीत ‘हवाईजहाज’ युट्युवमार्फत् सार्वजनिक भयो ।

    गीतले एउटा एकल परिवारको मनोभावना र अन्तरकथालाई प्रस्तुत गरेको छ ।

    ‘हवाईजहाज’को दृश्य
    स्कुले बालक आकाशमा हवाईजहाज उडेको देख्दा खुसी हुँदै औंलाले देखाउँछन् । तर, उनकी आमा हवाईजहाजदेखि तर्सन्छिन् । छोरालाई गाली गर्दै औंला पन्छाउन खोज्छिन् ।

    तर, छोरा रहरको हवाईजहाज उडाउन खोज्छन्, जुन उनको निम्ति अति प्रिय छ । आमा नचाहेरै छोराको त्यस क्रियाकलापप्रति अवरोध बन्छिन् । दृश्य हेर्दा निकै कारुणिक देखिन्छ । दृश्यसँगै कारुणिक कथा छ यसमा । कमाउन परदेश उडेका श्रीमान् फर्कँदा कफनले बेरिएर बाकसमा फर्कन्छन् ।

    के लिएर गाथ्यौ माया हवाईजहाजमा
    के लिएर आयौ माया हवाईजहाजमा

    अभावमा बाँचिरहेकी महिला आफ्नो श्रीमान् गुमाउनुको पीडा बिर्सन नसकेको दृश्यमा देखाइएको छ । पटक-पटक उही घाउ छोराको ‘हवाईजहाज मोह’ले बल्झाइरहन्छ ।

    गीतमा गायिका पवित्रा राईले स्वर दिएकी छन् । पछिल्लो समय रंगमञ्चमा समेत सक्रिय पवित्रा भिडियोको निर्देशन पनि स्वयम्ले गरेकी हुन् । गीतमा रुपेश ढुंगानाको शब्द र कम्पोज रहेको छ ।

    गीतको भिडियोमा आमाको चरित्र कलाकार संगीता थापाले निभाएकी छन् भने छोराको भूमिकामा सुमित तामाङ छन् । ‘जोखना’ नाटकबाट चर्चामा आएकी कलाकार संगीताको यस भिडियोमा प्रशंसायोग्य अभिनय देख्न पाइन्छ ।

  • ‘चिप्ल्याउने अंकल’ अहिले आफैं चिप्लिए !

    ‘चिप्ल्याउने अंकल’ अहिले आफैं चिप्लिए !

    काठमाडौं । केही समययता रंग पत्रकार प्रकाश सुवेदी नेपाली चलचित्रकर्मीमाझ ‘आतंक’ का पर्याय बन्दै आएका छन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममार्फत सिलसिलेवाररूपमा एकपछि अर्का कलाकारलाई बदनाम गर्न खोजेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

    पछिल्लो समय सुवेदीले एपी वान टेलिभिजनमा दुईवटा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएका थिए । ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ नामका दुवै कार्यक्रम विवादित बनेपछि टेलिभिजनले ‘सस्पेन्ड’ गरिदिएको छ । कार्यक्रममार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै नायिका शिल्पा पोखरेलले टेलिभिजनमा उजुरी गरेकी थिइन् ।

    सुवेदी र उनको कार्यक्रममाथि उजुरी परेको यो पहिलो घटना होइन । केही समयअघि नायिका पूजा शर्माले पनि आफ्नो विषयमा गरेको भद्दा टिप्पणीलाई लिएर उजुरी गरेकी थिइन् । त्यसबेला सुवेदी माफी मागेर उम्केका थिए । तर, अहिले भने उनको जागिर धरापमा परेको छ । उनले यूट्युवमार्फत आफ्नो कार्यक्रमलाई निरन्तरता दिन सक्छन् । वा, अर्को टेलिभिजनमा बसाइ सर्न सक्छन् । तर यस प्रकरणले उनको पत्रकारिता करिअरमा गम्भीर घाउचोट लागेको छ ।

    त्यसो त सुवेदी पहिल्यैदेखि विवादित छविका पत्रकार हुन् । लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका उनी यतिबेलासम्म ‘लिजेन्ड’ भइसक्नुपर्थ्यो, तर नेपाली चलचित्रलाई माथि उकास्नेभन्दा तल गिराउन उनी बढी तल्लीन रहे । कलाकारहरूलाई कन्ट्रोभर्सीमा पारेर भ्यूज बटुल्ने शैलीले उनलाई दिग्गज पत्रकारबाट ‘भाइरल यूट्युवर’ को स्तरमा झारिदिएको छ । टिकटकमा छाउनुलाई सफलताको मानक ठानिरहँदा उनले आफ्नो सार्वजनिक प्रतिष्ठा गुमिरहेको पत्तै पाएनन् ।

    पछिल्लो समय धेरै कलाकारहरू सुवेदीको कार्यक्रममा जानै डराउँछन् । खासगरी मुलधारका नायिकाहरू । सुवेदीसँग व्यक्तिगत घनिष्ठता भएका कलाकारहरू पनि उनको शैलीसँग सन्तुष्ट छैनन् । फलस्वरूप उनी सामाजिक सञ्जालमा भाइरल भएका नयाँ पात्रहरूमाथि निर्भर भइरहेका छन् । यस्ता पात्रहरूलाई ल्याएर उनले भ्यूज बटुल्न त सफल भएका छन्, तर उनको साख चाहिँ दिनप्रतिदिन गिर्दो छ ।

    कलाकार पनि पानीमाथिका ओभाना चाहिँ छैनन् । बिनातयारी जसलाई पनि अन्तर्वार्ता दिन जाने, जुनसुकै विषयवस्तुमा पनि बोल्न तयार हुने, चर्चाका लागि अन्टसन्ट बोलिदिने, अनि जब गालीगलौजको वर्षा हुन थाल्छ, अनि रोइलो गर्ने कलाकारहरू यहाँ धेरै छन् । कलाकारको यही कमजोरीको फाइदा सुवेदीजस्ता पत्रकार/यूट्यूवरहरूले उठाएका हुन् ।

    निरुतादेखि पूजासम्म

    सुवेदी दुई दशकभन्दा बढी समयदेखि रंग पत्रकारितामा छन् । उनले कान्तिपुर टिभीबाट शुरू गरेको ‘रजतपट’ कार्यक्रम पछि प्राइम टेलिभिजन हुँदै एपी वानमा पुगेको हो । कान्तिपुरमा छँदादखि नै उनको प्रस्तुतिमा समस्या थियो । धेरै कलाकारहरू त्यतिबेलैबाट उनीसँग चिढिएका थिए । नायिका निरुता सिंहले उनीसँग झगडै गरेकी थिइन् ।

    ऋषि धमलाको प्राइम टिभीमा आएपछि उनी ‘भाइरल कन्टेन्ट’को पछि दौडिन थाले । कलाकारहरूलाई बोलाउने र सकेसम्म विवादित कुरा ओकल्न लगाउने उनको प्रयास हुन्थ्यो । उनको यस्तो प्रयासको सबैभन्दा ठूलो शिकार दिपाश्री निरौला बनिन् । ‘राजेश हमाल महानायक हुन् र ?’ भन्ने अभिव्यक्तिले दिपाश्रीलाई चरम विवादमा पार्यो । राजेश हमालका फ्यानहरुबाट उनी चर्को गालीगलौजको शिकार बनिन् ।

    नायिका स्वस्तिमा खड्कामाथि पनि सुबेदीले छुद्र टिप्पणी गरेका थिए । स्वस्तिमाले सामाजिक सञ्जालमा हालेको श्रीमानसँगको एउटा तस्वीरलाई लिएर उनले टेलिभिजनबाटै भनेका थिए, ‘काम साम छैन, बुढो बोक्यो हिँड्यो ।’

    प्रकाशलाई अन्तर्वार्ता दिएर नायिका पूजा शर्मा पनि कन्ट्रोभर्सीमा परिन् । उनलाई सुवेदीले कार्यक्रममा अन्तर्वार्ताका लागि बोलाएर सामान्य ज्ञानका प्रश्न सोधेका थिए, जसमा उनी कमजोर थिइन् । सहज प्रश्नको पनि जवाफ दिन नसकेपछि पूजा निकै ट्रोल भइन् । प्रकाश भने हौसिदै गए ।

    पछि उनै पूजामाथि सुवेदीले टेलिभिजन कार्यक्रममै भद्दा टिप्पणी गरे । पूजालाई लक्षित गर्दै उनले कार्यक्रममा बोलेका थिए, ‘यत्रा-यत्रा दाह्रा निस्केकाहरूलाई हामीले महानायिका बनाइदिनुपर्ने !’

    उक्त टिप्पणी भने सुवेदीका लागि निकै महंगो सावित भयो । धेरै कलाकारहरूले खुलेर उनको विरोध गरे । पूजाले धेरै ठाउँ उजुरी गरिन् । अन्ततः सुबेदीले टेलिभिजनबाटै माफी माग्न बाध्य भए । तर, त्यसपछि पनि उनको शैली फेरिएन ।

    शिल्पामाथि आक्रमण

    पछिल्लो समय उनी नायिका शिल्पा पोखरेलमाथि खनिएका छन् । शिल्पाले एक विवाहित व्यक्तिसँग अफेयर चलाएर उनको घर बिगारेको आरोप उनले लगाएका थिए । सो आरोपको शिल्पा र अन्य सम्वन्धित व्यक्तिहरूले खण्डन गरेका छन् ।

    सुवेदीले शिल्पा र उनका पूर्वपति छवि ओझा बीचको विवादलाई पनि अहिले निकै उछालेका छन् । उनीहरूको डिभोर्स सम्वन्धी अदालतमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने गरी एकतर्फी रिपोर्टहरू उनले प्रसारण गरेपछि टेलिभिजनले चेतावनी दिएको थियो । गत २ वैशाखमा टेलिभिजनको बोर्ड वैठकले उनलाई यो विषयमा थप रिपोर्ट नबनाउन चेतावनी दिएपछि त्यसको अटेर गर्दै सुवेदीले अर्को एपीसोडमा छवि ओझाको अन्तर्वार्ता प्रसारण गरे ।

    छविसँग प्रकाशको पुरानो घनिष्ठता छ । त्यही घनिष्ठताका आधारमा प्रकाशले छविलाई साथ दिँदै आएका छन् । यसो गर्दा उनले पत्रकारिताको आधारभूत सिद्धान्तलाई कुल्चिन पुगे । अर्कोतर्फ एक महिला कलाकारको विगतलाई उछालेर वर्तमानमा विवाद पैदा गर्नु पनि कुनै गतिलो पत्रकारिता होइन । दाम्पत्य जीवनमा शिल्पाबाट पनि गल्ती भएका होलान् । त्यो उनीहरुको निजी मामला हो । अहिले अदालतमा मुद्दा विचाराधीन रहेकाले पनि मिडियाले यसमा धेरै टाउको दुखाइरहनु आवश्यक छैन ।

    चिप्लाउने अंकल आफैं चिप्लिए !

    कमेडी च्याम्पियनमा एक प्रतियोगीले हालै प्रकाश सुवेदीको ‘चिप्ल्याउने पत्रकारिता’ माथि व्यंग्य गरेका थिए ।

    उनको प्रस्तुति यस्तो थियोः

    ‘नमस्ते आदरणीय दर्शकवृन्द । यो कार्यक्रम चिप्लेटी । म कार्यक्रमको सारथी चिप्ल्याउने अंकल । यी दुई कलाकारको त डिभोर्स भइसक्यो । बाहिर आउन मात्रै बाँकी हो । मैले आउट गरिदिएँ, है त ।’

    सुवेदीको पत्रकारिता ठ्याक्कै यही हो । अरुलाई सँधै कलाकारलाई चिप्ल्याएर आफू हिट खोजे, तर, अहिले आफैं चिप्लेका छन् । अब चाहिँ उनको चिप्ल्याउने पत्रकारितामा बिराम लाग्ला कि ?

  • सलमानको ‘राधे’ बैशाख ३० मा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने

    सलमानको ‘राधे’ बैशाख ३० मा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने

    काठमाडौं । सलमान खान स्टारर बलिउड फिल्म ‘राधे’ बैशाख ३० गते हाइव्रिड मोडेलमा रिलिज हुने भएको छ । बुधबार सलमान खान फिल्मसले विज्ञप्ती जारी गर्दै उक्त मितिमा फिल्म हल र ओटीटी प्लेटफर्ममा फिल्म प्रदर्शन हुने जानकारी गराएको हो ।

    कोरोनाभाइरस महामारीको कारण फिल्म पोस्टपोन्ड हुने अपेक्षा गरिएको थियो । तर, हाइव्रिड मोडेलमा फिल्म प्रदर्शन हुने निश्चित भएको हो । जी नेटवर्क र डीटीएच अप्रेटरका ओटीटी प्लेटफर्ममा शुल्क तिरेर दर्शकले फिल्म हेर्न पाउने भएका छन् ।

    भारतको महाराष्ट्रमा अप्रिल अन्त्यसम्म लकडाउन लागु गरिएको छ । यदि लकडाउन लम्बियो भने फिल्मको हल रिलिज प्रभावित हुन सक्ने ठानिएको छ । फिल्मले विहिबार अफिसियल ट्रेलर रिलिज गर्ने भएको छ ।

  • करिश्मा मानन्धर पनि आइसोलेसनमा, कोरोनाबाट बच्न दिइन् यस्तो टिप्स

    करिश्मा मानन्धर पनि आइसोलेसनमा, कोरोनाबाट बच्न दिइन् यस्तो टिप्स

    काठमाडौं । पछिल्लो समय सेलेव्रिटीहरु पनि कोभिड-१९ बाट संक्रमित हुन थालेका छन् । कलाकार संक्रमित हुन थालेपछि फिल्म र टिभी छायांकन प्रभावित हुन थालेका छन् ।

    यसैसाता अभिनेता मदनकृष्ण श्रेष्ठ र अभिनेत्री केकी अधिकारी संक्रमित भए । यी दुई कलाकारलाई भेटेका अन्य सेलेव्रिटीले पनि आफूलाई आइसोलेट गर्न थालेका छन् ।

    अभिनेत्री करिश्मा मानन्धरले बुधबार आफूलाई आइसोलेट गरेको जनाएकी छिन् । मदनकृष्ण र केकीलाई भाइरस संक्रमण भएपछि आफूलाई एकान्तवासमा राखेको उनले जनाएकी छिन् ।

    करिश्माले मदनकृष्ण र केकीलाई स्वास्थ्य लाभको कामना समेत गरेकी छिन् । दिनमा दुईपटक तातोबाफ लिन सुझाउँदै करिश्माले भाइरसबाट बच्न सुरक्षा विधि अपनाउन पनि भनेकी छिन् ।

  • महेश बाबुको कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक

    महेश बाबुको कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेशबाबु तिमल्सिना लिखित कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ प्रकाशित भएको छ । नेपाली तथा अंग्रेजी भाषामा रहेको कविता संग्रहलाई मदन पुरस्कार विजेता कविद्धय गोपाल पराजुली र दिनेश अधिकारीले सार्वजनिक गरे । सार्वजनिक गरे ।

    कार्यक्रममा संग्रह भित्रका कविता वाचन गर्नुका साथै कवितामाथि बनाइएको भिडियोसमेत देखाइएको थियो । सोही अवसरमा लेखक महेशबाबुको रचना रहेको र रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको भिडियो प्रदर्शन गरियो ।

    निकेश खड्का निर्देशित भिडियोमा अजर जंगमको संगीत छ । पुस्तक सार्वजनिकीकरणपछि बोल्दै वक्ताहरुले कविता संग्रहमा विश्वबोध, युगबोध र समाजबोधका बाछिटा महसुस गर्न सकिने धारणा राखेका थिए ।

    संग्रहका कवितामाथि टिप्पणी गर्दै प्राध्यापक लक्ष्मण गौतमले भने, ‘ कविताले व्याख्या गर्दैन, संकेत गर्छ । यस मानेमा कविता संग्रहमा देशकाल परिस्थिति अभिव्यक्त गर्ने संकेत जताततै भेट्न सकिन्छ ।’

    पुस्तकमाथि कवि महेश पौड्यालले भने कविताको अंग्रेजी सम्पादनमा हतार गरिएका लक्षण भेटिने बताउँदै समग्रमा भने कविता संग्रहमा चोटिला कविताको वर्चस्व रहेको बताएका थिए ।

    ‘कविमा आदर्शवादको प्रभाव अलि बढी देखिन्छ । यो पाटो बिर्सने हो भने संग्रहमा धेरै घत लाग्ने कविता छन्’ पौडेलको भनाइ थियो ।
    कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले भने सर्जकको पहिचान पृथकता हुने धारणा राख्दै कविको रुपमा महेशबाबुका कवितामा बेग्लै शिल्प र शैली देख्न सकिने धारणा राखेका थिए ।

    कवि दिनेश अधिकारीले अक्षरको आयु लामो हुने बताउँदै अरु जे पेशा व्यापार गरे पनि अक्षरको साधना गरेकोमा कविलाई धन्यवाद दिएका थिए । त्यसैगरि उनले समालोचकको कुरालाई तौलेर मात्र ग्रहण गर्न पनि सुझाव दिएका थिए ।

    कवि तिमल्सिनाले भने आफूले सरल भाषामा मनका भाव व्यक्त गर्ने प्रयास गरेको बताउँदै ती भाव कविता हुन् कि होइनन् भनेर निक्र्योल गर्ने काम पाठकको जिम्मामा छाडेको बताएका थिए । नेपालीमा लेखिएका कवितालाई मुक्तिनाथ घिमिरेले अुनुवाद गरेका हुन् । दुई खण्डमा संग्रहित कविता संग्रहलाई कंगारु क्रिएसन्सले प्रकाशन गरेको हो ।