Category: कलाप्रेस

  • निषेधाज्ञा खुकुलो भएपछि ‘कमेडी च्याम्पियन’ र ‘सक्किगो नि’ प्रसारण आजदेखि सुरु हुँदै

    निषेधाज्ञा खुकुलो भएपछि ‘कमेडी च्याम्पियन’ र ‘सक्किगो नि’ प्रसारण आजदेखि सुरु हुँदै

    काठमाडौं । निषेधाज्ञाले रोकिएका ‘कमेडी च्याम्पियन सिजन २’ र ‘सक्किगो नि’ आजदेखि पुनः प्रसारण हुने भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर ती टेलिभिजन कार्यक्रम संचालन गर्न लागिएको जनाइएको छ ।

    सामाजिक दूरी पालना गर्दै कमेडी च्याम्पियनलाई निर्माण गरिएको शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए । कार्यक्रममा सेलेव्रिटी जजको रुपमा करिश्मा मानन्धर र रेखा थापालाई प्रस्तुत गरिएको छ भने नियमित जजको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई ऋचा शर्मा छन् ।

    आइतबारदेखि प्रसारण हुने गरि ९ वटा एपिसोडहरु तयारी अवस्थामा छन् । निषेधाज्ञाले रोकिएका सिरियलहरु ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् ।

    हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ । बिहीबारदेखि नयाँ कथामा प्रसारण हुने टेलिसिरियलका निर्देशक एवम कलाकार कुमार कट्टेलले जानकारी दिए ।

  • सुपुष्पा र रौनकले गाँसे लगनगाँठो, बधाई दिन गोकर्णमा सेलेव्रिटीको ताँती

    सुपुष्पा र रौनकले गाँसे लगनगाँठो, बधाई दिन गोकर्णमा सेलेव्रिटीको ताँती

    काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट र फिल्म निर्माता रौनकविक्रम कँडेलबीच आज विहे भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित वैवाहिक समारोहमा दुईबीच लगनगाँठो कसिएको हो ।

    दुई महिनाअघि इन्गेजमेन्ट गरेको यो जोडी केही समयदेखि प्रेममा थियो । ‘रणवीर’ डेब्यु अभिनेत्री सुपुष्पाले चपली हाइट ३ र छ माया छपक्कैमा अभिनय गरेकी छिन् ।

    रौनकले कबड्डीको पहिलो सिक्वेल र झोले २ फिल्म निर्माण गरेका छन् । गोकर्ण रिसोर्टमा आयोजित वैवाहिक समारोहमा फिल्म क्षेत्रका सेलेव्रिटीसहित उनीहरुका आफन्त सहभागि थिए ।

  • विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई साउन १ गतेदेखि एकलाखको स्वास्थ्य बीमा

    विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई साउन १ गतेदेखि एकलाखको स्वास्थ्य बीमा

    काठमाडौं । सरकारले विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई १ लाखसम्मको स्वास्थ्य बीमा गर्ने भएको छ । साउन १ गतेदेखि लागु हुने गरि उक्त व्यवस्था हुन लागेको चलचित्र विकास बोर्डले जनाएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै बोर्ड अध्यक्ष दयाराम दाहालले आगामी आर्थिक वर्षको सुरुआतसँगै स्वास्थ्य बीमा लागु हुने बताए । सरकारबाट विशिष्ठ श्रेणीको परिचयपत्र लिएकाले यो सुविधा लिन पाउनेछन् ।

    अहिलेसम्म ३८ जनाले सरकारबाट परिचयपत्र लिएपनि थप वितरण हुँदै जाँदा डेढसय सम्म पुग्ने अनुमान छ । ‘उपचारका लागि औषधि खान पैसा नपुग्न सक्छ, राहत होस् भनेर स्वास्थ्य बीमा गर्न लागेका हौं’ दाहालले भने ।

    यसैगरि, चलचित्रकर्मीलाई मरणोपरान्त राष्ट्रिय सम्मान प्रदान गर्ने तयारी समेत भएको छ । बोर्ड अध्यक्ष दाहालका अनुसार कुनै ख्यातीप्राप्त कलाकारको असामयिक निधन भए सरकारले राष्ट्रिय सम्मान प्रदान गर्ने जनाइएको छ । यसको अन्तिम तयारीमा बोर्ड जुटेको उनले जनाए ।

    तस्विर : तत्कालिन संचारमन्त्री शेरधन राई र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको कार्यकालमा परिचयपत्र वितरण भएको थियो ।

  • कांग्रेसले भन्यो : चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान !

    कांग्रेसले भन्यो : चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान !

    काठमाडौं । राजधानीको एक भित्तामा कोभिड-१९ महामारीविरुद्ध अग्रपंक्तीमा खटिएकाको सम्मानमा कोरिएको चित्र मेटाउने काठमाडौं नगरपालिकाको कदमलाई लिएर चौतर्फी विरोध व्यक्त भएको छ ।

    विपक्षी दलले बिहीबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त कार्य निन्दनिय रहेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा फ्रन्टलाइनरको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको उल्लेख छ ।

    सम्मानमा चित्र बनाइँदा बधाइ नभएर अपमान गरिनु सभ्य र सुसंस्कृति समाजको विरुद्ध भएको समेत कांग्रेसले जनाएको छ ।

    कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले दुई साताअघि सामूहिक चित्र बनाएर काठमाडौंको पर्खालमा पोतेका थिए ।

  • अदालतद्वारा गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अस्वीकार, उनका बुबा नै उनको संरक्षक कायम रहने

    अदालतद्वारा गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अस्वीकार, उनका बुबा नै उनको संरक्षक कायम रहने

    न्यूयोर्क । बाबुलाई आफ्नो संरक्षकबाट हटाउनुपर्ने गायिका ब्रिट्नी स्पियर्सको आग्रहलाई अदालतले अस्वीकार गरेको छ । अघिल्लो वर्ष स्पियर्सका वकिलले अमेरिकाको लस–एन्जल्सको एक अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउनुपर्ने रिट दायर गरेका थिए ।

    गतसाता अदालतमा निवेदकको तर्फबाट बयान दिँदै गायिका स्पियर्सले आफूलाई तत्काल बाबुको संरक्षणबाट मुक्त गर्न अदालतलाई आग्रह गरेकी थिइन् । आफूले विहे गर्न चाहेको र बच्चा जन्माउन चाहेको बताउँलै स्पियर्सले बाबुको कारण आफ्ना भविष्य जोखिमपूर्ण भएको बताएकी थिइन् । साथै, स्पियर्सले अदालतलाई आफूलाई लागु औषधि दिइएको, इच्छा विपरीत सांगितिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन्। सन् २००८ देखि स्पियर्सका पिताले उनलाई एकल संरक्षकको रुपमा अभिभावकत्वको भूमिका निर्वाह गर्दै आएका छन् ।

    बुधवारको उक्त अदालती निर्णय नोभेम्बरमा गरिएको अनुरोधसँग मात्रै सम्बन्धित छ। न्यायाधीशले जेमी स्पियर्सलाई हटाउन अस्वीकार गरे पनि स्पियर्सले प्रस्ताव गरेको निजी सम्पत्ति व्यवस्थापन कम्पनी बेस्सेमर ट्रस्टलाई सह–संरक्षक बनाउन भने स्वीकृति दिएकी छन्। जेमी स्पियर्सका वकिलहरूले भने अदालतलाई गायिकाको दुर्व्यवहार आरोपको अनुसन्धान गर्न माग गरेका छन्।

    अदालतमा स्पियर्सको बयानपछि विश्व मिडिया र मनोरञ्जन जगत तरंगित बनेको मात्र छैन । अभिभावकत्वको भूमिकाबारे सार्वजनिकरुपमा बहस र टिका टिप्पणी पनि भैरहेको छ ।

  • अस्करमा छानिने फिल्मलाई ८ लाख र कान्सलाई २ लाख अनुदान दिने सरकारको निर्णय (सूचीसहित)

    अस्करमा छानिने फिल्मलाई ८ लाख र कान्सलाई २ लाख अनुदान दिने सरकारको निर्णय (सूचीसहित)

    काठमाडौं । सरकारले विश्व फिल्म फेस्टिभल र अवार्डमा मनोनित हुने फिल्मलाई अनुदान राशीको घोषणा गरेको छ । चलचित्र विकास बोर्डले कार्यविधि जारी गर्दै अस्करसहितका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट हुनेलाई ट्राभल ग्रान्ट उपलब्ध गराउने घोषणा गरेको छ ।

    बोर्डको २१ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष दयाराम दाहालले कार्यविधि लागु भएको जानकारी दिए । ‘यो कार्यविधिले विदेशी प्लेटफर्ममा नेपाली फिल्मको सहभागितालाई थप प्रोत्साहन गर्छ’ नेपाल प्रेससँग दाहालले भने, ‘यसले फिल्ममेकरलाई पनि सजिलो हुनेछ ।’

    ती फेस्टिभल र अवार्डमा भाग लिन जाने फिल्ममेकरलाई बोर्डले भ्रमण खर्च लगायतमा सहजीकरण पनि गर्ने भएको छ । छोटो र फिचर फिल्मको रुपमा वर्गीकरण गर्दै बोर्डले फेस्टिभल र अवार्डमा मनोनयन भए सोहीअनुसार ग्रान्ट उपलब्ध गराइने घोषणा पनि भएको छ ।

    कार्यविधिअनुसार अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित अथवा विजयी हुने फिचर फिल्मले ८ लाख र छोटो फिल्मले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डेन ग्लोब्समा मनोनित हुने फिचरलाई २ लाख र छोटो फिल्मलाई १ लाख दिने भनिएको छ ।

    कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम फेस्टिभलमा छानिने फिचरले २ लाख ५० हजार ग्रान्ट र छोटो फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ । अन्य विभिन्न फेस्टिभलअनुसार पनि ग्रान्ट रकम तोकिएको छ । अर्थ र कानून मन्त्रालयबाट कार्यविधि पास भएसँगै लागु भएको अध्यक्ष दाहालले जानकारी दिए । हेर्नूस सूची :

  • दीपिका र दिवाकरले सुरु गरे सहकारी व्यवसाय, महामारी साम्य भएपछि सुटिङ थाल्ने

    दीपिका र दिवाकरले सुरु गरे सहकारी व्यवसाय, महामारी साम्य भएपछि सुटिङ थाल्ने

    काठमाडौं । कलाकारहरु अभिनयसँगै अन्य पेशामा पनि सक्रिय हुन थालेका छन् । महामारीको कारण कतिपयले वैकल्पिक व्यवसाय पनि अँगाल्न थालेका छन् ।

    यही मेसोमा फिल्म क्षेत्रको जोडी अभिनेत्री दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईले वित्तिय सहकारी व्यवसाय थालेका छन् । विहिबार ललितपुर कुमारीपाटीमा सहकारीको आउटलेट शुभारम्भ गरियो ।

    पछिल्लो समय फिल्म ‘तिमीसँगै हुने मन छ’मा व्यस्त दिवाकर र दीपिका महामारी सामान्य भएपछि छायांकनमा जाने तयारीमा छन् । अहिले प्रि-प्रोडक्सन सकिएको उक्त फिल्म छायांकन गर्ने तयारीमा छ ।

    ‘फिल्मसँगै सहकारीको पेशालाई पनि अगाडि बढाउने उद्देश्यले खोलिएको हो’ नेपाल प्रेससँग निर्देशक भट्टराईले भने, ‘अब फिल्म र व्यवसायमा समय मिलाएर अघि बढ्नेछौं ।’

    छायांकन सुरु नभएसम्म दीपिका र दिवाकर उक्त सहकारीमा व्यस्त हुने भएका छन् । दिवाकरको निर्माण एवं निर्देशन हुने उक्त फिल्म छायांकनमा जाने तयारीमा भएको बेला निषेधाज्ञा सुरु भएको थियो ।

  • कलाकारलाई निजी संस्थाबाट उपाधि वितरण : महानायकदेखि रियल हिरोसम्म !

    कलाकारलाई निजी संस्थाबाट उपाधि वितरण : महानायकदेखि रियल हिरोसम्म !

    काठमाडौं । पछिल्लो समय कलाकारलाई निजी क्षेत्रका केही संस्थाले उपाधि दिने चलन बढ्न थालेको छ । मिडिया हुँदै केही संस्थाले महानायक भन्दाभन्दै राजेश हमाल अहिले महानायक कहलिएका छन् ।

    उनी महानायक हुन् वा होइनन् भन्ने कुराको बहस सामाजिक संजालमा पटक-पटक छेडिने गरेको छ । धेरैपटक उनको महानायकत्वबारे सामाजिक संजाल पनि तातेको छ ।

    केही वर्षपहिले चलचित्र प्राविधिक संघले राजेश हमाललाई महानायकको उपाधि दियो । त्यस्तै, हमालकी समकालिन अभिनेत्री करिश्मा मानन्धरलाई पनि उक्त संस्थाले महानायिकाको उपाधि दियो । नेफ्टाले नै मलेसिया अवार्डमा नीर शाहलाई अभिनय शिरोमणी उपाधिबाट सम्मानित गरेको थियो ।

    यसैसाता निजी क्षेत्रको एक संस्था र अभियानले अभिनेता पल शाहलाई रियल हिरो उपाधिसहित सम्मान प्रदान गरेको छ । टेलिभिजन होस्ट प्रकाश सुवेदीले संचालन गरेको रजतपटले पललाई उक्त सम्मान दिएको छ । यसबारे चलचित्र क्षेत्र पनि विभाजित छ । कतिपयले यसलाई सकारात्मकरुपमा लिनुपर्ने पनि बताउँछन् ।

    तर, समीक्षक र आलोचक चाहिँ अभिनयभन्दा कलाकारलाई पदरी गुथाइनु सहि नभएको तर्क गर्छन् । फिल्म निर्देशक नवीन सुब्बा कलाकारलाई पदवी दिइनु शक्तिपूजा बाहेक अन्य नहुने तर्क गर्छन् ।

    सरकारले पनि राष्ट्रपतिमार्फत कलाकारलाई बेला-बेलामा विभूषण र तक्मा प्रदान गर्ने गरेको छ । केही वर्षपहिले वरिष्ठ र अति विशिष्ठ कलाकारभन्दै तत्काल संचारमन्त्री मीनेन्द्र रिजालले वर्गीकरणसहित कलाकारलाई पदवी दिएपछि आलोचना भएको थियो ।

  • प्रियंका र गरिमाको बेबी-बम्प अवतार : हेर्नूस कुन नायिका हट र स्टाइलिस ?

    प्रियंका र गरिमाको बेबी-बम्प अवतार : हेर्नूस कुन नायिका हट र स्टाइलिस ?

    काठमाडौं । पछिल्लो समय नायिकाबीच गर्भास्थालाई लिएर सेलिव्रेसन गर्ने ट्रेन्ड बढ्न थालेको छ । केही वर्षदेखि नायिकाले बेबी-बम्पका तस्विर सामाजिक संजालमा सेयर गर्न थालेका छन् ।

    उनीहरुको बेबी-बम्प तस्विरलाई लिएर सामाजिक संजालमा निकै चर्चा हुने गरेको छ । बेबी बम्प तस्विरलाई हेर्ने दृष्टिकोणमा समाज अझै विभाजित हुने गरेपनि यो चलन अहिले सामान्य बन्दै जान थालेको छ ।

    जस्तै, गत महिना प्रियंका कार्कीका केही तस्विर निकै भाइरल रहे । नायिकाले बेबी-बम्प फेसन पनि अनुशरण गर्न थालेका छन् । बुधबार पनि प्रियंकाले नयाँ तस्विर सेयर गर्दै लेखेकी छिन् – मेरो अहिलेको फेसन स्टाइल । मलाई लाग्छ, म अझै फिट छु ।’

    अभिनेत्री गरिमा पन्त पनि अहिले गर्भवती छिन् । अहिले युरोपमा रहेकी गरिमाले पनि सामुन्द्रीक किनारमा खिचाएका बेबी बम्पका स्टाइलिस फोटो सेयर गर्ने गरेकी छिन् ।

    नायिकाको यस्तो प्रवृत्तिलाई कतिले सकारात्मक भन्ने गरेका छन् भने कतिपयले सामाजिक मर्यादा पालना नगरको रुपमा । यद्यपी, समाज उदार बन्दै जाँदा फेसन पनि उदार हुँदै जानु नौलो होइन ।

  • निषेधाज्ञा खुकुलिएसँगै सिरियल र म्युजिक भिडिओ छायांकन सुरु, रोकिएको ‘जुठे’ आजदेखि प्रसारण हुँदै

    निषेधाज्ञा खुकुलिएसँगै सिरियल र म्युजिक भिडिओ छायांकन सुरु, रोकिएको ‘जुठे’ आजदेखि प्रसारण हुँदै

    काठमाडौं । निषेधाज्ञाले रोकिएका टेलिफिल्म र म्युजिक भिडियो छायांकन पुनः सुचारु हुने थालेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै निर्माताहरुले छायांकनको योजना बनाइरहेका छन् । बुधबारदेखि लोकप्रिय टेलिसिरियल जुठे प्रसारण हुँदैछ ।

    निषेधाज्ञाले छायांकन रोकिएपछि दुई साता सिरियलको प्रसारण रोकिएको थियो । टेलिसिरियल लेखक, निर्देशक एवं कलाकार मरिचमान श्रेष्ठका अनुसार अबदेखि नियमितरुपमा सिरियल प्रसारण हुन्छ ।

    यो सिरियलको छायांकन पोखराको माछापुच्छ्रे गाउँपालिकामा हुँदै आएको छ । गाउँमा छायांकन गर्नुपर्ने भएकाले एकैपटक अन्य एपिसोडको पनि छायणंकन गर्ने गरिएको उनले जनाए । उनका अनुसार अहिले एकैपटक ६ भाग छायांकन हुँदैछ ।

    ‘हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रसारण हुँदै आएको सिरियलको आज १४ औं एपिसोड प्रसारण हुँदैछ । सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, युनिश ढुंगाना लगायतले अभिनय गर्दै आएका छन् ।

    मरिचमानले भने, ‘सबैको सल्लाह र सुझावलाई मध्यनजर गर्दै ‘जुठे’लाई थप परिस्कृत गर्दै लैजाने छौं ।’ सिरियललाई राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्दै आएका छन् भने रविन भट्टले सम्पादन गर्ने गर्छन् ।

    साथै, रोकिएका म्युजिक भिडियो छायांकनका गतिविधि पनि सुचारु हुन थालेका छन् । म्युजिक भिडियो निर्देशक सुव्रत आचार्यले निषेधाज्ञा खुकुलिएसँगै आफूहरु पुनः छायांकनमा जान लागेको बताए । सामाजिक दूरी कायम र सानो समूहमा छायांकनको कार्य गर्ने उनको भनाई छ ।

  • निषेधाज्ञा खुकुलो भएसँगै फिल्म ‘तिम्रो मेरो साथ’को डबिङ सुरु : साम्राज्ञी र पुष्प डबिङमा व्यस्त

    निषेधाज्ञा खुकुलो भएसँगै फिल्म ‘तिम्रो मेरो साथ’को डबिङ सुरु : साम्राज्ञी र पुष्प डबिङमा व्यस्त

    काठमाडौं । निषेधाज्ञा खुकुलो भएपछि फिल्मका गतिविधि हुन थालेका छन् । सामाजिक दूरीका नियम पालना गर्दै फिल्मकर्मीले काम अघि बढाएका छन् । जस्तो, फिल्म तिम्रो मेरो साथले राजधानीमा डबिङ सुरुआत गरेको छ । रेड स्टुडियोमा अहिले कलाकारद्धय साम्राज्ञी शाह र पुष्प खड्का स्वरांकन गर्दैछन् ।

    रमेश एम के पौडेलको निर्माण तथा निर्देशन रहेको यो फिल्मका लेखक तथा कार्यकारी निर्मातामा सवीर श्रेष्ठ छन् भने छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने हुन ।

    यो फिल्म नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने छ भने महामारी सामान्य भएको अवस्थामा नेपालमा दशैँ र तिहारको बीचको समयमा रिलिज गरिने जानकारी दिइएको छ ।

  • एफ-नाइन फिल्मद्वारा महामारीयताकै सर्वाधिक कमाइको हलिउड रेकर्ड

    एफ-नाइन फिल्मद्वारा महामारीयताकै सर्वाधिक कमाइको हलिउड रेकर्ड

    लस एन्जल्स । हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखला ‘एफ-९’ले कोरोनाभाइरस महामारीयताकै सर्वाधिक कमाइको रेकर्ड राखेको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार फिल्मले पहिलो सप्ताहन्त उत्तर अमेरिकी बक्सअफिसमा ७० मिलियन डलरको ओपनिङ गर्‍यो ।

    सन् २०१९ को डिसेम्बर १९ मा प्रदर्शन भएको ‘स्टार वार्स : द राइज अफ स्काइवाकर’ रिलिजयता एफ-९ ले उक्त कमाइ गर्न सकेको हो । भीन डिजेल स्टारर यो फिल्मको यो कमाइलाई महामारीकै बीचमा हलिउड र सिनेमा घरको विजयको रुपमा हेरिएको छ ।

    सन् २०१९ मा रिलिज भएको प्रिक्वेल ‘हब्स एन्ड स’को पहिलो सप्ताहन्तको ६० मिलियन डलर कमाइलाई समेत सजिलै एफ-९ ले उछिन्यो । तर, सन् २०१७ को ‘फेट अफ दी फ्युरियस’को ९८.८ मिलियन डलरको कमाइलाई पनि यसले छुन सकेन ।

    महामारीले थलिएको बक्सअफिसमा लयमा फर्कँदै गर्दा हासिल भएको यो कमाइलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । आइतबारसम्म जस्टिन लिन निर्देशित यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा ४०५ मिलियन डलर कमाइ गरेको छ ।

    २२५ मिलियन डलरमा निर्माण भएको एफ-९ ले अझै ६०० मिलियन डलरभन्दा बढीको आँकडालाई पार गर्ने अनुमान गरिएको छ ।

  • आकाश र पूजाबीच ‘दरार’, पूजा भन्छिन् : लाग्छ मेरो मित्रता एकोहोरो थियो

    आकाश र पूजाबीच ‘दरार’, पूजा भन्छिन् : लाग्छ मेरो मित्रता एकोहोरो थियो

    काठमाडौं । फिल्मी पर्दामा पछिल्लो समय रुचाइएका जोडी हुन् पूजा शर्मा र आकाश श्रेष्ठ । यी दुईको केमेस्ट्री र सम्बन्ध पर्दाबाहिर पनि उत्तिकै चर्चित छ । यी दुईले विहे गर्न लागेको गाइँगुइँ पनि चलेको थियो ।

    सम्हालिन्छ कहिले मन, पोइ पर्‍यो काले, सम्झना बिर्सजाजस्ता फिल्ममा सँगै काम गरेपछि उनीहरुको निकटता रियल लाइफमा पनि उत्तिकै हुन थाल्यो । तर, यी दुईले प्रेम सम्बन्धलाई सार्वजनिकरुपमा कहिल्यै खुलाएनन् ।

    झगडा परेमा उनीहरु केही हप्ता बोलचाल बन्द गर्थे । मन शान्त भएपछि पुनः बोलचाल सुरु हुन्थ्यो । ‘यो मित्रताको कहिल्यै अन्त्य हुँदैन’ उनीहरुले धेरैपटक मिडियासँग भनेका छन् ।

    तर, बोली खस्न नपाउँदै यो जोडीको सम्बन्धमा दरार सिर्जना भएको छ । सम्बन्धमा पूर्णविराम भन्न त नमिल्ला तर, पछिल्लो परिस्थिती हेर्दा यी दुईजनाको सम्बन्धमा पक्कै खाडल सिर्जना भएको छ ।

    कारण हुन् भिजे प्रकाश सुवेदी । टेलिभिजनमा फिल्मी कार्यक्रम होस्ट गर्ने सुवेदी र पूजाबीच यसअघि एक अन्तर्वार्तालाई लिएर मनमुटाव छ । गतसाता राजधानीको एक बाल आश्रममा सुवेदीले संचालन गरेको अभियानमा खाना लिएर आकाश सहभागि भएका थिए ।

    अभिनेता सुलेमान शंकर इकुले संचालन गरेको बाल आश्रममा गतसाता आकाशले खाद्यान्न सहयोग वितरण गरे । उक्त कुरा मिडियामा आएपछि पूजालाई झसंग भइन् । पत्रकार ऋषि धमलासँगको हालैको एक अन्तर्वार्तामा पूजाले भनेकी छिन्, ‘फोटो देखेपछि जसरी म विवादको बेला तर्सिएको थिएँ, त्यसैगरि तर्सिएको थिएँ । मलाई त्यो घटनाले नै टर्चर भएको थियो । एकसाथ धेरै फिल्म र म्युजिक भिडियोमा काम गरेकाले म उसँग नजिक छु । तर, हामीबीच कहिल्यै प्रेम सम्बन्ध थिएन । तर आकाशले त्यो पनि नसोचेको देखेपछि मेरो मित्रता एकतर्फी रहेछ भन्ने महसुस भयो । उसँग व्यवसायिक सम्बन्ध मात्र रहेछ । दर्शकले हाम्रो जोडी चाहिँ मनपराउनुभएको हो । तर, आकाशसँग लभ गर्छु र विहे गर्छु भनेर कहिल्यै सोचिन ।’

    यो घटनापछि के आकाश र पूजाबीच व्यक्तिगत सम्बन्धमा पूर्णविराम लागेको हो ? यसबारे अहिल्यै भन्नु हतारो हुनेछ किनभने यसअघि पटक-पटक झगडा भएपनि उनीहरु पुनः मिलेका छन् ।

  • दीपाश्री र स्वस्तिमाले रोपे धान (तस्वीरहरु)

    दीपाश्री र स्वस्तिमाले रोपे धान (तस्वीरहरु)

    काठमाडौं । आज असार १५ गते मुलुकभर धान दिवस मनाइँदैछ । कृषिप्रधान मुलुकको रुपमा धान दिवसको विशेष महत्व छ । फिल्म र म्युजिक भिडिओको पर्दामा समेत धान रोपाइँलाई चित्रण गर्ने गरिएको छ ।

    मनसुन सुरु भएसँगै किसानलाई रोपाइको चटारो छ । काठमाडौं उपत्यकासहित अन्य भूभागमा रोपाइँ सुरु भएको छ । सेलेव्रिटी पनि यो बेला फुर्सदमा छन् ।

    धान दिवसको अवसरमा काठमाडौंमा अभिनेत्रीद्धय दीपाश्री निरौला र स्वस्तिम खड्काले धान रोपेका छन् । फेसन डिजाइनर सुरविन बान्तवा र स्वस्तिमासँग दीपाश्रीले धान रोपेकी छिन् । उनीहरुले हिलोमा पसेर बाउँसो पनि लगाए ।

    दीपाश्रीले फेसबुकमा लेखेकी छिन्, ‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना । अन्य कलाकारले समेत धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

  • बरिष्ठ गायक मणिकरत्नलाई अजर अमर सम्मान प्रदान

    बरिष्ठ गायक मणिकरत्नलाई अजर अमर सम्मान प्रदान

    काठमाडौं । नेपाली सुगम र पाश्र्वगायनका बरिष्ठ गायक एवं संगीतकार मणिकरत्न स्थापित नेपाल संगीतकार संघले प्रदान गर्ने अजर अमर सम्मानबाट सम्मानित भएका छन् ।

    पछिल्लो समय अस्वस्थ भएका गायक स्थापितलाई संघका संरक्षक शम्भुजित बाँस्कोटा लगायतले उनको निवास ललितपुर खुमलटार पुगेर सम्मान प्रदान गरेका हुन् ।

    सम्मानको राशी एकलाख ११ सय ११ रुपैयाँ रहेको छ । महामारी साम्य भएपछि कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरिने भएको छ ।

  • थप दुई फिल्म स्क्रिप्ट लेखनको तयारीमा निर्देशक किरण विक

    थप दुई फिल्म स्क्रिप्ट लेखनको तयारीमा निर्देशक किरण विक

    काठमाडौंं । गतवर्ष कार्तिकमा लामो समयको लकडाउनपछि फिल्म ‘भाँडाकुटी घोषणा गरिएको थियो । सोही वर्षको फागुनमा फिल्म ‘भाँडाकुटी’ छायांकनमा जाने भनिएको थियो ।

    अस्ट्रेलियामा रहेका निर्माताको सिंगो परिवारलाइ नै कोरोनाले छोएपछि फिल्म छायांकन स्थगित भएको थियो । त्यसपछि जेठमा छायांकन गर्ने भनिएको थियो । तर, गत बैशाखमा निषेधाज्ञा लागु भएपछि अहिले निर्माताहरु अन्योलमा छन ।

    यसरी फिल्म क्षेत्र नै ढिलो सुरु हुने भएपछि निर्देशक किरण बिक भने अरु थप स्क्रिप्ट लेख्न तिर लागेका छन । उनले फिल्ममा जोडिन अरु प्रोड्युसरलाई आग्रह गर्दा उनीहरुले भाँडाकुटीमा संलग्न नहुने बरु अरु फिल्म एक्लै बनाउने भनेपछि निर्देशक बिकले अन्य फिल्म बनाउने मनस्थिती बनाएका हुन् ।

    प्रोड्युसरसँगको पहिलो चरणको कुराकानी पछि हाल उनले एकैपटक दुई स्क्रिप्ट लेखिरहेका छन । प्रोडक्सन म्यानेजर मनहरी पौडेलका अनुसार एउटा फिल्म लभ ड्रामा हो भने अर्को आर्ट ड्रामा हो । कोरोना महामारी साम्य भएपछि प्रि–प्रोडक्सन सुरु गरिने तयारीमा निर्देशक छन् ।

  • हाम्रो टिमका अभियन्ता पक्राउ परेपछि पल शाहको आग्रह : चाँडै रिहा गरियोस्

    हाम्रो टिमका अभियन्ता पक्राउ परेपछि पल शाहको आग्रह : चाँडै रिहा गरियोस्

    काठमाडौं । सरकारी जग्गा कब्जा गरेको आरोपमा पक्राउ परेका १८ जना अभियन्तालाई रिहा गर्न अभिनेता पल शाहले आग्रह गरेका छन् ।

    हाम्रो टीम नेपाल नामक सामाजिक अभियानका सदस्य समेत रहेका शाहले सामाजिक संजालमार्फत उक्त आग्रह गरेका हुन् । उनले अभियन्तालाई पक्राउ गरेर सरकारले दमन गरेको आरोप समेत लगाएका छन् ।

    चाँडोभन्दा चाँडो सबैजनालाई रिहा गर्न पहलको आग्रह छ । लोकप्रिय अभिनेता पल यही अभियानअन्तर्गत रहेर केही महिनायता सामाजिक कार्यमा सक्रिय छन् ।

    हाम्रो टीम नेपाल अभियानले कोरोना महामारीको बेला सर्वसाधारणलाई निःशुल्क खाना खुवाउँदै आएको थियो भने विभिन्न स्वास्थ्य संस्थामा अक्सिजन उपकरण लगायतका सामग्री पनि उपलब्ध गराएको थियो ।

  • मिस वर्ल्डका लागि नम्रताको तयारी सुरु, धादिङमा झोलुंगे पुल बनाइदिने

    मिस वर्ल्डका लागि नम्रताको तयारी सुरु, धादिङमा झोलुंगे पुल बनाइदिने

    काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठको पहलमा धादिङस्थित नीलकण्ठ नगरपालिकामा झोलुंगे पुल निर्माण हुने भएको छ ।

    यसवर्षको विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्यूटी विथ अ पर्पसको लागि उक्त पुल बनाउन लागिएको हो । झन्डै ५५ लाख खर्च लाग्ने उक्त पुल केही महिनामा तयार हुने भएको छ ।

    शनिबार छिरिन पुुछार झोलुंगे पुल नामाकरण गरिएको उक्त पुलको शिलान्यास समेत भएको छ । स्पोन्सरहरु जुटाएर पुल निर्माणका लागि बजेट संकलन थालिएको द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले जानकारी दिए ।

    संस्थागत पहलमा सुरु गरिएको पुल निर्माणमा गच्छेअनुसार सहयोग गर्न पनि नम्रता र हिडन ट्रेजरले आग्रह गरेका छन् । ‘हामी सहायताका लागि सबैजनालाई आग्रह गर्छौं’ कंशाकारले नेपाल प्रेसलाई भने ।

    पुल निर्माणका लागि विभिन्न ब्रान्डहरुले पनि हातेमालो गरेका छन् । साथै अर्थ संकलनका लागि नम्रता श्रेष्ठको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता पनि खुलेको छ । खाता नम्बर १८७०१०००००४१५०१० रहेको छ ।

    आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुने भनिएको विश्व सुन्दरी प्रतियोगिताको तयारी सुरु भएको छ । हिडन ट्रेजरले यसबारे चाँडै जानकारी समेत गराउने भएको छ ।

  • यो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    यो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    काठमाडौं । यो साता (शनिबारदेखि आजसम्म) युट्युवमा सर्वाधिक हेरिने नेपाली गीतको सूचीमा ‘चौका दाउ’ शीर्षस्थानमा रहेको छ ।

    रुटिन अफ नेपाल बन्दले तयार पारेको साप्ताहिक सूचीमा बाबुकृष्ण र शान्तिश्री परियारको स्वरमा रहेको गीत शीर्षस्थानमा रहेको हो । यो गीतलाई अहिलेसम्म २ करोड ४७ लाखले हेरेका छन् ।

    दोस्रो स्थानमा नवराज कलौनी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘घुम्तीमा रेल’ छ । यो गीतलाई अहिलेसम्म ४० लाखभन्दा बढीले हेरेका छन् ।

    तेस्रो स्थानमा फिक्का, चौंथोमा फुलबुट्टे सारी, पाँचौमा टाढा भएपनि र क्रमशः मायालुलाई भेटेसी, आँखामा आउने, धादिङ गजुरी, को होला त्यो र माया बिरानी छन् ।

    हेर्नूस सूची :

  • शिव र एलिनाको ‘निष्ठुरी भयौ रे’ रिलिज (भिडियो)

    शिव र एलिनाको ‘निष्ठुरी भयौ रे’ रिलिज (भिडियो)

    काठमाडौं । शिवसागर खड्का र एलिना चौहानद्वारा स्वरबद्ध गीत ‘निष्ठुरी भयौ रे’ इन्टरनेटमा रिलिज भएको छ । यो प्रेमिल गीतमा स्वयम गायक खड्काले संगीत भरेका छन् ।

    विशाल नेपालीको निर्देशन तथा शब्द रहेको गीतलाई कर्णप्रिय लाग्छ । सँगै जिउने र सँगै मर्ने कसम खाएको जोडीबीच हुने बिछोडको भाव गीतले पेश गर्छ ।

    पुरुषोत्तम न्यौपानको एरेन्जिङ, अमृत चापागाइँको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन बिग नेपाली फिल्म्सले गरेको हो । हेर्नूस गीत :

  • दीप श्रेष्ठ अस्वस्थ भएपछि भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई

    दीप श्रेष्ठ अस्वस्थ भएपछि भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई

    काठमाडौं । गायन रियालिटी सो भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राईले कार्यभार सम्हालेका छन् । अर्का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट कोच चुनिएका हुन् ।

    कोरोनाभाइरस संक्रमण निको भएर घरमै स्वास्थ्य लाभ गरिरहेका दीप श्रेष्ठले केही समय आराम गर्नुपर्ने भएकाले राईलाई कोचमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।

    भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् । कोचको कुर्सी गह्रौं हुने भएकाले नडराइकन निर्णय पनि उनले भनेका छन् ।

    कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

  • नाट्यकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग

    नाट्यकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग

    काठमाडौं । नाट्यकर्मीको छाता संस्था नाट्यकर्मी महासंघले नाट्यकर्मीका लागि कोभिड-१९ विरुद्धको खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ ।

    महासंघले विज्ञप्ति जारी गर्दै नाट्यकर्मीलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन आग्रह गरेको छ । महासंघ अध्यक्ष राजेन्द्र रिमालले स्वास्थ्य नागरिकको संविधानप्रदत्त अधिकार भएकाले खोप उपलब्ध गराउन आग्रह गरे ।

    महासंघले नेपाली नाट्यकर्मीहरुले हरेक विपतमा राज्यलाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै खोप उपलब्ध गराउन भनिएको हो ।

    महामारीको कारण बन्द गरिएका नाट्यशालालाई अन्य क्षेत्रहरुलाई जस्तै स्वास्थ्य सावधानी अपनाएर सञ्चालन अनुमति प्रदान गर्न समेत माग गरिएको छ । महासंघले भनेको छ : पेशागत रुपमै नाटकमा आबद्ध नाट्यकर्मी लामो समयदेखि पेशा खोसिएर बस्नुपरेको छ जसले जीवनयापनमा नै कठिनाई उत्पन्न भएको छ ।’

  • सरोज खनालको प्रश्न : फुर्सदमा पनि राजेश र करिश्मासँग बोलचाल हुन छोड्यो, यस्तो किन हुन्छ ?

    सरोज खनालको प्रश्न : फुर्सदमा पनि राजेश र करिश्मासँग बोलचाल हुन छोड्यो, यस्तो किन हुन्छ ?

    काठमाडौं । राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धरबीच एउटा समानता छ : यी तीनैजना हिट समकालिन कलाकार हुन् । वृद्धवृद्धादेखि बालबालिकासम्म यी तीन नामहरु लोकप्रिय छन् ।

    कुनैबेला यी सुपरहिट कलाकारहरु पछिल्लो समय अभिनयसँगै अन्य कार्यमा समेत व्यस्त छन् । सरोजले शुक्रबार बेलुका एउटा मर्मस्पर्शी र अर्थपूर्ण स्टेटस फेसबुकमा पोस्ट गरे ।

    उनी लेख्छन् : कुनै बेला नेपाली चलचित्रका ब्यस्त कलाकारहरु मध्यका हामी तीन महानायक राजेश हमाल जि, महानायिका करिष्मा मानन्धर जि र म व्यस्तताको बाबजुद पनि बेलाबखत समय निकालेर भेटघाट गर्थेम , भलाकुसारी गर्थौ तर आजको दिन फुर्सदै फुर्सद छ र पनि वर्षौं वर्ष हाम्रो भेटघाट त परै जावस बोलचालसम्म हुँदैन । यस्तो किन हुन्छ ?

    पक्कै पनि सरोजको यो प्रश्न निकै अर्थपूर्ण छ । सरोजको यो अभिव्यक्तिलाई करिश्मा र राजेशले कसरी लिन्छन्, यो कुरा जान्नु निकै महत्वपूर्ण हुन आउँछ ।

  • बलिउडमा शाहरुखको २९ वर्ष : काठमाडौं आउँदा गरेका थिए नेपाली सौन्दर्यको प्रशंसा

    बलिउडमा शाहरुखको २९ वर्ष : काठमाडौं आउँदा गरेका थिए नेपाली सौन्दर्यको प्रशंसा

    मुम्बई । नेपालमा बलिउड अभिनेता शाहरुख खानको फ्यान क्रेज निकै उच्च छ । वृद्धवृद्धादेखि पछिल्लो छिमलका अभिनेताहरु समेत यहाँ छन् । २९ वर्षदेखि बलिउड फिल्ममा सक्रिय शाहरुखलाई पछ्याउने नेपालीहरुको संख्या बढी नै छ ।

    यसबीच शाहरुखले पटक-पटक नेपाल भ्रमण पनि गरे । उनी आफ्ना व्यवसायिक ब्रान्ड प्रवद्र्धन गर्नदेखि फिल्म छायांकनलाई पनि नेपाल आएको इतिहास छ ।

    केही वर्षअघि नेपाल आउँदा विमानस्थलदेखि उनी बसेको होटलसम्म फ्यान क्रेज देखिएको थियो । काठमाडौं एयरपोर्टमा उनलाई स्वागत गर्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।

    हायात रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै खानले नेपाली नागरिक र नेपालको प्राकृतिक सौन्दर्यको गुणगान गाएका थिए । उनले चाँडै आफू नेपाल घुम्न आउने समेत बताएका थिए ।

    २९ वर्षअघि ऋषि कपुर र दिव्या भारतीय स्टारर फिल्म ‘दिवाना’बाट बलिउडमा अभिनय करियर थालेका शाहरुख यो उमेरमा पनि लोकप्रिय छन् । उनका प्रशंसकले शुक्रबार सामाजिक संजालमार्फत शाहरुखको तीस वर्षलाई सेलिव्रेसन समेत गरेका छन् ।

    शुक्रबार झन्डै तीस वर्ष पुगेको छेकोमा ट्वीटरमार्फत शाहरुखले आफूलाई साथ दिने र माया गर्नेहरुलाई पनि आभार व्यक्त गरेका छन् ।

  • कलाकारहरुद्वारा संचालित सिन्धु सहयोग कोषमा पहिलो दिनमै २२ लाख संकलन

    कलाकारहरुद्वारा संचालित सिन्धु सहयोग कोषमा पहिलो दिनमै २२ लाख संकलन

    काठमाडौं । बाढीप्रभावित सिन्धुपाल्चोकका बासिन्दालाई सहायता उपलब्ध गराउन कलाकारहरुले स्थापना गरेको सिन्धु सहयोग कोषमा पहिलो दिनमै २२ लाख रुपैयाँ संकलन भएको छ ।

    बिहीबार राजधानीको बत्तीसपुतलीमा भेला भएर कलाकारहरुले सहायता कोष स्थापनाको घोषणा गर्दै रकम सहयोगका लागि आह्वान गरेका छन् ।

    पहिलो दिनमै झन्डै २२ लाख संकलन भएको कलाकारद्वारा संचालित सिन्धु सहयोग कोषका संयोजक एवं बरिष्ठ अभिनेता कृष्ण मल्लले जनाए । ‘पहिलो दिनमै उपलब्ध भएको सहयोगलाई हेर्दा हामी उत्साहित छौं’ मल्लले नेपाल प्रेसलाई भने ।

    संकलन भएको उक्त रकम बैंकमा खाता खोलेर राखिने र थप सहायताका लागि आह्वान गरिने मल्लले बताए । अहिलेको स्थितीमा हेलम्बु, पाँचपोखरी र मेलम्चीका पीडितलाई सहयोग गरिने तयारी भएको छ ।

    बस्ती निर्माणका लागि कर्पोरेट घरानालाई पनि आग्रह गरिने र निर्माण सुरु हुने बेला रकम झिक्ने तयारी भएको छ । कलाकारहरुले आफ्ना प्रशंसक र शुभेच्छकुलाई समेत कोषमा रकम संकलन गर्न आह्वान गरेका छन् ।

    बिहीबारको भेलामा नेपाली फिल्मका कलाकारहरु सहभागि थिए । शनिबार पुनः सचिवालयको बैठक बसेर थप योजना बनाउने तयारी छ । गतसाता मल्ल संयोजक र करिश्मा मानन्धर सह संयोजक रहेको समिति गठन भएको थियो ।

  • फ्यानलाई राजेश हमालको जवाफ : स्वस्थ भएर कपडा खोल्न सकिन्छ

    फ्यानलाई राजेश हमालको जवाफ : स्वस्थ भएर कपडा खोल्न सकिन्छ

    काठमाडौं । अभिनेता राजेश हमाल अहिले फुर्सदमा छन् । फुर्सदिलो भएकैले उनको अधिकांश समय अहिले सामाजिक संजालको प्रयोगमा बित्ने गरेको छ । उनी फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टीकटकमा निकै व्यस्त हुन्छन् ।

    स्टेटस र अपडेट पनि उनी दिन बिराएर पोस्ट गरिरहेका हुन्छन् । वर्कआउट गरेका तस्विरहरु, पत्नी मधुसँग रोमान्टिक बनेका भिडियोहरु उनी पोस्ट गर्छन् । निषेधाज्ञा अवधिभर उनी मानसिक र शरिरको ख्याल गर्न टिप्सहरु पनि दिन्छन् ।

    महानायक भएर पनि महामारी र बिपद्मा सहयोग नगरेको आरोप उनीमाथि कतिपयले लगाउन गरेका छन् । तर, उनी यसबारे मौन छन् । उनले बिहीबार केही तस्विर पोस्ट गर्दै स्वस्थ रहन उपाय सुझाए । तस्विर आउने वित्तिकै उनका प्रशंसकले उनलाई भने, ‘स्वस्थ रहन कपडा खोलेर देखाउनुपर्छ हो सर ?’

    ती फ्यानलाई हमालले जवाफ दिए, ‘स्वस्थ भएर कपडा खोल्न सकिन्छ ।’ हमालको तस्विरसँग मिल्ने तस्विरहरु फ्यानले कमेन्ट बक्समा पोस्ट गरेका छन् । यसैसाता बर्थडे मनाएका राजेश हमालले निषेधाज्ञा खुले युवाहरुलाई लक्षित गरेर मोटिभेसनल दौडाहामा निस्कने तयारीमा छन् ।

  • ऋतिकले घोषणा गरे बलिउड सुपरहिरो ‘कृष ४’, टाइम ट्राभलको कथामाथि फिल्म बन्ने

    ऋतिकले घोषणा गरे बलिउड सुपरहिरो ‘कृष ४’, टाइम ट्राभलको कथामाथि फिल्म बन्ने

    मुम्बई । बुधबार ऋतिक रोशनसँग आफ्ना प्रशंसकलाई सुनाउन एउटा निकै चर्चित खबर थियो । फिल्म कृषको १५ औं वर्षगाँठको छेकोमा बलिउडका यी सुपरहिरोले नयाँ घोषणा गरे । त्यो हो ‘कृष ४’ को नयाँ सिक्वेल निर्माण गर्ने ।

    ऋतिकले निकै रुचाइएको फिल्मको सिक्वेल बनाउने घोषणा गरे लगत्तै भारतीय मिडियाले यसको पात्र र चरित्र चित्रणबारे केही खुलासा गरेका छन् ।

    कृषको १५ औं एनिभर्सरीमा हृतिकले ट्वीट गरेका छन्- विगत गैसक्यो, अब हेरौं, भविष्यले के लिएर आउनेछ ।’ हृतिकले ट्वीट गरेपछि धेरैले कृष ४ को भविष्यलाई लिएर अड्कलबाजी सुरु गरेका छन् । स्रोतका अनुसार कृष ४ को कथावस्तु टाइम ट्राभल (समय यात्रा)लिएर आधारित हुनेछ ।

    कृषमै एलियन्सको रुपमा चर्चित बनेको पात्र जाडु पनि चौंथो सिक्वेलमा देखिने भएको छ । बलिउड वेबसाइट पिंकभिल्लाले टाइम ट्राभलको कथावस्तुमा फिल्म बन्न लागेको जनाएको छ ।

    कोइ मिल गया र कृषको सेटिङमा कृष ४ बन्ने चर्चा समेत उक्त वेबसाइटले उल्लेख गरेको छ । यसबाहेक आगामी वर्ष ऋतिक विक्रम भेदाले निर्देशन गर्ने ‘द नाइट म्यानेजर एन्ड फाइटर’मा व्यस्त हुनेछन् । साथै, फिल्म रामायणमा उनको मुख्य भूमिका हुनेछ ।

  • न्यायाधीशलाई ब्रिट्नीको आग्रह : म विहे गर्न चाहन्छु, बच्चा जन्माउन चाहन्छु

    न्यायाधीशलाई ब्रिट्नीको आग्रह : म विहे गर्न चाहन्छु, बच्चा जन्माउन चाहन्छु

    लस-एन्जल्स । झन्डै १३ वर्षको मौनतापछि गायिका ब्रिटनी स्पियर्स पुनः चर्चामा आएकी छिन् । केही दिनयता यी बेलायती गायिका विश्व मिडियाको हेडलाइनमा छिन् ।

    उनले यसपटक चाहिँ आफ्ना बुबाको संरक्षणबाट मुक्ति चाहेको बताएकी छिन् । बुबाको कारण आफ्नो जीवन तहसनहस भएको र आफू डिप्रेसनमा पुगेको भन्दै ब्रिट्नी अदालतमा आफूले बाबुको संरक्षणबाट अन्त्य चाहेको बताएकी छिन् ।

    अदालतसामु भर्चुअल बयान दिँदै ब्रिटनीले आफूले जतिसक्दो चाँडो बुबाको संरक्षणबाट मुक्ति चाहेको उल्लेख गर्दै विहे गरेर आफू आमा बन्न चाहेको समेत उल्लेख गरेकी छिन् ।

    न्यायाधीशसामु ब्रिट्नीले आफू डिप्रेसनमा गैसकेको र कुनै दासको जस्तो महसुस गरेको बताएकी छिन् । आफ्नो भविष्य, रुचि र चाहनामा बुबाले नियन्त्रण गरेको बताउँदै ब्रिट्नीले आफ्नो इच्छाबिना गर्भवती बन्न रोक्न दबाब दिएको उनले बताएकी छिन् ।

    ‘मेरो इच्छाबिना मलाई पिल्स चक्की र औषधि प्रयोग गर्न दबाब दिइयो’ उनले भनिन् ‘कुनै मूल्यांकनबिनै म यो नियम अन्त्य भएको चाहन्छु । म मेरो जीवन चाहन्छु । यसले मेरो जीवनलाई हानी पुर्‍याएको छ ।’ लस-एन्जल्सको उच्च अदालतकी न्यायाधीश ब्रेन्डा पेनीसँग ब्रिट्नीले यस्तो बयान दिएकी हुन् ।

    सन् २००८ मा ब्रिट्नीले आफ्नै शरिरलाई असर पार्ने र पापाराजीलाई आक्रमण गर्नेजस्ता व्यवहार प्रदर्शन गरेपछि उनलाई पुनस्र्थापना केन्द्र लगिएको थियो । रिहाबबाट फर्किएपनि निको नभएको भन्दै उनका बुबाले उनको संरक्षणको जिम्मा लिएका थिए ।

  • राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत ५ कविता

    राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत ५ कविता

    नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष गर्दै आइरहेको ‘राष्ट्रिय कविता महोत्सव’मा यसपालि पाँच कविका कविता पुरस्कृत भए । भोजपुरकी कवि कविता राईको कविता ‘देशको नक्सा’ प्रथम भएको थियो । धादिङकी  कवि अमृता स्मृतिको कविता ‘डढेलोपछि पनि वसन्त आउँछ’ दोस्रो, ताप्लेजुङकी कवि सविता बरालको  ‘आमा म आएँ अब’, बर्दियाकी कवि निरञ्जनाकुमारी चन्दको ‘युगिन प्रतिध्वनि ‘र नुवाकोटका कवि प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ तृतीय भए । महोत्सवमा पुरस्कृत भएका कविहरूको पाँच वटा कविता : 

    देशको नक्सा
    कविता राई

    म कोरिरहेकी छु
    देशको सग्लो नक्सा ।

    खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
    जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
    आफ्नी आमाको मुहारचित्र ।

    अनायस करेसाको डिल भत्किन्छ
    पर्खाल उठाउँछु
    सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
    कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु
    र मेट्छु धाँजाहरू !

    विषाक्त हावा बोकिआउने आँधी
    उडाउनै खोज्छ मलाई
    बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
    बगाउन खोज्छ मलाई
    छानाबाट झरेका पानीका तप्कनाले समेत
    शिरदेखि पैतालासम्मै भिजाउँछ
    तर पनि म उभिइरहन्छु पहाडजसरी
    घरको मूल खाँबो समातेर
    र कोरिरहन्छु सहस्र रेखाहरू !

    ओ ! सिमाना काटिजाने चराहरू
    पहाड भत्काएर बगिजाने खोलाहरू
    देवल उठाइरहेका पौरखी धमिराहरू
    माटोको दरबार उठाइरहेका कमिलाहरू
    सुन,
    भूगोलका यिनै मसिना रेखाहरूले त
    जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
    जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
    र लटरम्म खुसीको घाम फल्छ !

    छामिहेर त
    आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
    हो, धड्किरहेको छ त्यहाँ
    छुटेका भूगोलसँगै छुटेका मनहरू
    एकाकार भएको
    स्वाधीन देशको सग्लो नक्सा ।

    000

    डढेलोपछि पनि वसन्त आउँछ
    -अमृता स्मृति

    हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
    मगमगाउँथे हार्दिक भावहरू
    झमझमाउँथे प्रेयसीका पाउजु
    र घिस्रिरहन्थ्यो बुढो लौरी
    आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
    घन्किरहन्थ्यो आदिवासी धुन
    ती सबै–सबै कहाँ गए ?
    विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
    पिँढीको गुन्द्री बिर्सिएर
    कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
    भोलि यही बाटोमा भेटिएला÷नभेटिएला
    आमाका पैतालाका डोबहरू !

    न कुनै आहत
    न कुनै पदचाप
    समय आफैं मलामी आफैं मुर्दा बनेर लम्पसार छ
    ए ! छिरिङ
    ए ! खान
    चित्र प्रर्दशन गर्न
    किलोको आड चाहिए जस्तै
    देशलाई चाहिएको छ
    हाम्रा पाखुराहरूको आड
    हाम्रा चेतनाहरूको आड
    मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ
    यो देशको घारमा महको चमक !

    झुल्किन्छ-झुल्किन्छ
    हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
    पर्दा बनेको यो कैदी समयमा पनि
    तराई, भावर, चुरे र पहाडमा
    महाभारत, हिमाल र भोटमा
    कुन–कुन जातका फुल फक्रिसके होलान् ?
    जङ्गलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन् ।
    जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।

    000

    युगीन प्रतिध्वनि
    -निरन्जना कुमारी चन्द ‘निरू’
    अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै
    भस्मासुर र भाइरसका पटकपटकका विश्वयुद्घहरू
    र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका
    युगीन त्रासदीहरूमा
    छातीमा अड्याएर जीवन
    पिइदिऊँ घामका लप्काहरू
    छाइदिऊँ शीतलता
    सँगालेर जूनका टुक्राहरू
    लाइदिऊँ माला
    उनेर गुराँसका थुँगाहरू।

    विशाल हृदयहरूको खानी
    विश्वभूगोलको एक टुक्रा मेरो देश
    धावा दिएर गाउँछ गीत वीरताको
    र उचालेर चन्द्रसूर्य
    म लगाउँछु सिँदुर
    भुइँको एक चिम्टी माटो उठाइ
    गाउँछु गीत सगरमाथा उचाइको।

    छोडेर विध्वंसका अस्त्रहरू
    आत्मज्ञान विस्फोट गराई कोहिनुर उज्यालामा
    गरिदिऊँ बीजारोपण शान्तिका सम्बोधी आँखाहरूको
    विश्वब्रह्माण्डभर गुन्जाएर बुद्घका मन्त्रध्वनिहरू
    उडाइदिऊँ सेता परेवाका जोडीहरू
    रोग भोग शोक अनेक सन्नाटाहरू मेटाएर
    छरिदिऊँ मानवताका सम्यक् बीजहरू।

    आऊ श्रमका पुजारीहरू!
    पौरखी जिजीविषा फुलाएर
    फिजाइदिऊँ दायित्वका नवरङ्ग आकाशभरि
    समृद्घिका आशातीत रङ्गहरू इन्द्रेणीमा
    पोतिदिऊँ धर्तीमा झिकाएर
    चिहानबाटै जुरमुराएर
    बिहानबाटै ब्यँुझिएर
    रोपिदिऊँ समानताका सुन्दर बोटहरू।

    जीवनका अफ्ठ्यारा आँधीहुरीहरूमा
    मैदानबाट दौडिँदै चुचुराबाट गर्जिँदै
    खेलिदिऊँ पौँठेजोरी सतिसाल भएर।

    उठ ए झुपडीका ताता मान्छेहरू!
    सल्काइदिऊँ चिराक मूच्र्छना जगाएर
    जाग ए किनारीकृत निन्याउरा मान्छेहरू!
    बुलन्द गराइदिऊँ दबाइएका आवाज
    पुरिदिऊँ गहिरा खाडलहरू।

    000

    आमा म आएँ अब
    -सविता बराल

    हाँस्छन् शैल,मनुष्यपल्लवित छन्,बोल्छन् शिलागौरव
    इन्द्रेनीमयजात,धर्म, थरलेछर्छन् सुधा सौरभ
    यस्तो सृष्टिकला अमूल्यनिधिको बोकीमहासागर
    थोपो खोज्न कतै म जान्नँजननीआएँ म आएँअब

    मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
    मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर
    रोदी,मादल,धाननाच, जितियाबन्धुत्वका रक्षक
    गाऔँगान‘सयौँ थुँगा…’ सँगसँगै आमा मआएँअब

    टोपी, बक्खु तयार छन्, सडकमा नाङ्गा नरोउन् कतै
    किंकर्तव्यविमूढ बन्ननपरोस्भोकाहरूले अझै
    यार्चागुम्बु,चिराइतो कलुषतानिर्मूल पार्दै सब
    बाँच्ने विश्वबचाउने रहरले आऊ, मआएँअब

    मेरा पाउ समृद्ध छन्,शिर उँचो, छाती खुलानिर्मल
    सीमामाबलभद्रकाकलमले गर्दैछु हस्ताक्षर
    साझालक्ष्यविकासकोमुलुकमा मेची र कालीसँग
    नौलाद्वार सुशान्तिका,प्रगतिकाखोलेरआएँअब

    बोकीमाथ म विश्वसाथ नउठे के काम यो शैलको
    कोसीझैँ अविश्रान्तबग्ननसके के अर्थ यो सैरको
    मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब
    आफ्नै आँगनमानिचोर्न पसिनाआमा म आएँ अब

    000

    बोधिसत्व खोप
    -प्रकाश सिलवाल

    कुनै जादुगरले
    कागजका पानाहरूलाई
    चपाई चपाई स्वाट्ट निलेर
    ह्वालह्वाल्ती पानी निकाले झैँ
    किन चटक हेर्न
    विवश छन्
    स्वयम्भूका आँखाहरू ?

    घरी कर्ममौरीहरुलाई
    डकैतीले झैँ घेर्न खोज्छ
    घरी आफँैलाई
    जिउँदै जलाएको सपना देख्छ
    र आफ्नै मलामीको जुलुसलाई
    घन्टौँ कर्कश सम्बोधन गर्छ !

    यो कस्तो सङ्क्रमण हो
    जसले,
    लालीगुराँसको सुगन्धमा बाँचिरहेको
    डाँफे चरीको
    श्वासथैलीलाई
    चलमलाउन दिँदैन
    प्राणवायु प्रवाह हुने
    कोषिकापत्रलाई नै
    कुनै समय नेपालको मानचित्रबाट
    कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
    अलप गराइए झैँ
    क्षणभरमै अलप गराइदिनसक्छ
    रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
    चैतमासको खहरे झैँ सुकाइदिएर
    आनन्द लिन चाहन्छ
    अशान्ति र पृथकतावादका सूत्रधारहरुलाई
    रानीमहलका जोडीले झैँ
    असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !

    यतिबेला म
    आधुनिक धन्वन्तरी भएर
    समृद्धिको धरहरालाई सम्झिएर
    एउटा त्यस्तो मेसिन बनाउँदैछु
    जसले तुरुन्तै पत्ता लगाउनेछ–
    यो भयानक भाइरसका कारण र असरहरु
    प्रिय बुद्धभूमिविरुद्धका
    घातक कुण्ठा
    र तुच्छ स्वार्थका बीजहरु…

    सुन !
    म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
    जसले पहिलो मात्रामै
    परास्त गर्नेछ–
    सगरमाथा हाँस्दा रमाउन नसक्ने
    विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरु !

    000

  • १५ दिनभित्र कर बुझाउन चलचित्र विकास कम्पनीलाई निर्देशन

    १५ दिनभित्र कर बुझाउन चलचित्र विकास कम्पनीलाई निर्देशन

    काठमाडौं । १५ दिनभित्र कर दाखिला गर्न निर्देशन दिँदै आन्तरिक राजस्व कार्यालयले चलचित्र विकास कम्पनीको नाममा सूचना जारी गरेको छ ।

    आर्थिक वर्ष ०७३/०७४ वर्षयताको सबै कर चुक्ता गर्न निर्देशन दिइएको र समयमा कर नबुझाए कानून अनुसार अघि बढ्ने तयारी राजस्व कार्यालयको छ ।

    कार्यालयको बालाजु शाखाका सूचना अधिकारी राजु विश्वकर्माले सूचना जारी गरिएको र कर विवरण नबुझाए प्रक्रिया अनुसार अघि बढ्ने बताए । ‘उहाँहरु सम्पर्कमा नआउनु भएपछि असार ७ गते सूचना जारी गरेका हौं’ उनले भने ।

    सरकारले असार २५ गतेसम्म चालु आर्थिक वर्षको कर तिर्न सबैलाई भनेको छ । तर, चलचित्र विकास कम्पनीलाई लिएर केही वर्षयता तीव्र विवाद छ ।

    २०४८ सालपछि सरकारले चलचित्र विकास कम्पनीलाई लिजमा दिएको थियो । सरकारले २७ रोपनी जग्गा उपलब्ध गराएपनि अहिले ६.७५ रोपनी क्षेत्रफलमा जग्गा खुम्चिएको छ ।

    हराएको २० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै पछिल्लो वर्ष कम्पनी विवादमा मुछिएको छ । कम्पनी निर्देशकको रुपमा पछिल्लो समय बरिष्ठ फिल्म निर्माता उद्धव पौडेल छन् ।

    कर तिर्न पटक-पटक आग्रह गरिएपनि पौडेलसहित कम्पनीका पदाधिकारी सम्पर्कमा नआएको जनाइएको छ । चलचित्र विकास कम्पनी निजीकरण भएको पहिलो सरकारी संस्थान थियो । तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाले सरकारी जग्गालाई व्यक्तिगत बनाउनेलार्ई पानी मुनी गएर कार्वाही गर्ने बताएका थिए ।

    चलचित्र विकास कम्पनीको भवन र जग्गालाई अहिले गोपिकृष्ण मूभिज र केही फिल्म कलेजले उपभोग गरिरहेका छन् ।

  • फिल्म निर्माता दाजुभाईको हत्यापछि ‘फरार’ भारतीय गुण्डा नाइके पोखरामा पक्राउ

    फिल्म निर्माता दाजुभाईको हत्यापछि ‘फरार’ भारतीय गुण्डा नाइके पोखरामा पक्राउ

    काठमाडौं । भारतको कन्नाडा फिल्म उद्योगका दाजुभाई निर्माता उमापाथी र दीपक ग्वादाको हत्याको आरोप लागेका त्यहाँका गुण्डा नाइके करिया राजेश यसैसाता पोखराबाट पक्राउ परेका छन् ।

    भारतीय संचारमाध्यमका अनुसार हत्याको घटनापछि फरार भएका उनलाई पोखराको होटलबाट प्रहरीले पक्राउ गरेको हो । ३७ वर्षे राजेशलाई नेपाल प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । उनको पक्राउबारे भारतीय संचारमाध्यमले प्रमुखताका साथ समाचार प्रकाशन गरेका छन् ।

    ती फिल्म निर्माता दाजुभाईको हत्याको आरोप राजेशमाथि लागेको थियो । प्रहरीले खोजी सुरु गरेपछि उनी नेपाल पसेका थिए । प्रहरीको अनुसन्धानमा राजेशको मिलेमतो दाउद इब्राहिमको ग्याङका सार्पसुटर सदस्य रसिद मालबारीका दाहिने हात मानिने बम्बे रविसँग पाइएको थियो ।

    डिसेम्बर २०२० मा कन्नाडाको बिग बजेटको चर्चित फिल्म ‘रोबर्ट’ निर्माण गरेका उमापाथाी र ग्वादाको हत्या भएको थियो । चाँडै हिन्दी भाषामा स्वरांकन हुने तयारीमा रहेको उ क्त फिल्म कन्नाडा र तेलेगुमा रिलिज भएको थियो । अभिनेता दर्शन मुख्य भूमिकामा थिए । मार्च ११, २०२१ मा उक्त फिल्म रिलिज भएको थियो ।

    पोखराको होटलमा रहेर उनले फिल्म निर्माणका लागि पैसा जुटाउन विभिन्न व्यापारीसँग फिरौती माग्ने गरेको प्रहरीले जनाएको छ । लकडाउनपछि रिलिज भएको फिल्म रोबर्टले राम्रो कमाइ गरेपनि अर्को बिग बजेटको फिल्मले उत्साहप्रद कमाइ गरेन । ती दाजुभाईको हत्यामा फिल्मको व्यापार मुख्य कारण रहेको प्रहरी छानविनबाट खुलेको छ ।

    द हिन्दू अखबारका अनुसार राजेश र रविले मृतक दाजुभाई फिल्म निर्माताबाट ३० लाख भारु मागेका थिए । पैसा मागेपछि उनीहरुले नदिएको समेत जनाइएको छ । घटनामा आरोपित अन्य ११ जनालाई प्रहरीले पक्राउ गरेपनि बम्बे रवि र राजेश फरार थिए । रविले भारत छाडेर भागेको र राजेश नेपालमा रहेको प्रहरीले सुइँको पायो ।

    पक्राउपछि राजेशलाई भारतीय प्रहरीको जिम्मा लगाइएको जनाइएको छ ।

  • दीपकराज गिरीको विश्लेषण : युरो २०२० जर्मनी र कोपा ब्राजिलले जित्न सक्छन्

    दीपकराज गिरीको विश्लेषण : युरो २०२० जर्मनी र कोपा ब्राजिलले जित्न सक्छन्

    काठमाडौं । यतिबेला फुटबलको समेत मौसम छ । युरोपियन च्याम्पियनसिप र कोपा अमेरिकाजस्ता विश्व चर्चित फुटबल प्रतियोगिता आयोजना भैरहेको छन् । सर्वसाधारणदेखि सेलेव्रिटीसम्ममा फुटबलको क्रेज छ ।

    अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरी फुटबल क्रेजी सेलेव्रिटी हुन् । विश्वकपमा अर्जेन्टिना र युरो २०२० मा इटाली उनका मनपर्ने टीम हुन् । अहिलेका दुबै प्रतियोगिता नछुटाइ उनी हेरिरहेका छन् ।

    समय मिलेसम्म दीपकले सबै गेमहरु हेरिरहेका छन् । फुटबललाई विश्लेषण गर्न सक्ने थोरै सेलेव्रिटीमध्ये उनी पर्छन् । उनको विचारमा यसपटक युरो २०२० निकै प्रतिस्पर्धात्मक बनिरहेको छ ।

    ‘निकै कम्पिटिसन छ युरोमा यसपटक । एकसे एक टीमहरु छन् । कसले जित्छ भनेर यसै भन्न मुस्किल छ’ दीपक भन्छन्, ‘मनदेखि इटालीले जित्नुपर्छ जस्तो लाग्छ । तर, अस्तिमको गेम हेर्दा जर्मनीले जित्ला जस्तो लाग्छ ।’

    दक्षिण अमेरिकामा चलिरहेको कोपा अमेरिकामा समेत प्रतिस्पर्धा भैरहेको उनको भनाई छ । मनदेखि अर्जेन्टिनाले कोपा जितोस् भन्ने चाहने दीपक ब्राजिलले उपाधि जित्न सक्ने बताउँछन् । ‘यसपटक कोपामा ब्राजिल बलियो देखिएको छ’ उनी भन्छन् ।

    निषेधाज्ञाको फुर्सदमा रहेका दीपक फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन् । केही स्क्रिप्ट लेखन सकिए अर्को वर्ष फिल्म छायांकनमा जान सकिने उनको बुझाइ छ । दीपक यो वर्ष दहचोकमा आफ्नै लगानीमा फिल्म स्टुडियो निर्माणमा सक्रिय हुनेछन् ।

  • निशा घिमिरेको स्वास्थ्यमा सुधार : ह्विल चेयरमा बस्न सक्ने भइन्

    निशा घिमिरेको स्वास्थ्यमा सुधार : ह्विल चेयरमा बस्न सक्ने भइन्

    काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो ।

    अस्पतालले मंगलबार वक्तव्य जारी गर्दै सोमबारदेखि निशा ह्विल चेयरमा बस्न थालेको जनाएको छ । उनको उपचारमा संलग्न डा. पंकज जलानले निशाको स्वास्थ्यमा सुधार आइरहेको बताए । चिकित्सकले ह्विलचेयर र म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेका छन् । सबै विकल्प प्रयोग गरेर उनको उपचार गरिरहेको जलानले जनाएका छन् ।

    निशाले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ ।डाक्टर जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ ।

    ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’ जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिज प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

    निशाको अवस्थालाई उनले ‘जनरल कन्डिसन इम्प्रुभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

    काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा घिमिरेको लगातार थेरापी गरिएको थियो ।

    नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । मिडियामा समाचार आउन थालेपछि नर्भिक अस्पतालले उनको उद्धार गरेको थियो ।

  • सिउँदोमा सिन्दूर लगाएकी अनुलाई प्रश्न : सविनसँग विहे भएकै हो ?

    सिउँदोमा सिन्दूर लगाएकी अनुलाई प्रश्न : सविनसँग विहे भएकै हो ?

    काठमाडौं । अभिनेत्री अनु शाह फिल्मभन्दा निजी जीवनले चर्चित छिन् । लामो समयदेखि उनी को-स्टार सविन श्रेष्ठसँग अफेयरमा छिन् । यो जोडीले अफेयरलाई सार्वजनिकरुपमा नस्वीकारे पनि मायालाई भने लुकाउन सकेको छैन ।

    उनीहरुबीचको निकटता प्रशंसकदेखि फिल्म उद्योग सबैलाई थाहा भएको कुरा हो । अनुले गर्धनमा सविनको नामको ट्याटु पनि खोपाएकी छिन् । उनीहरुले विशेष अवसरमा एकअर्काप्रति माया पनि व्यक्त गर्ने गरेका छन् । उनीहरुबीच विहे भैसकेको हल्ला पनि नचलेको होइन ।

    उनीहरुले टीकटकमा थुप्रै रोमान्टिक भिडियो पनि बनाएका छन् । यसैसाता, टीकटक भिडियोमा अनुको सिउँदो सिन्दूरले भरिएको देखियो । कतै अनु र सविनसँग विहे भैसकेको त होइन भन्ने आशंकालाई उक्त भिडियोले पनि बल पुर्‍याएको छ ।

    को होला त्यो बोलको फिमेल भर्सनको गीतमा अभिनयको टीकटक भिडियोमा उनले सिन्दूर लगाएको देख्न सकिन्छ । यो भिडियो देखेपछि अनुलाई धेरैले विहे गरेको हो भनेर प्रश्न सोधेका छन् । अनुले जवाफ फर्काएकी छिन् । धेरैले यो भिडियो हेरेपछि सविन र अनुलाई शुभकामना पनि दिएका छन्

  • नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘जुलुङ्गो’ सर्वोत्कृष्ट (सूचीसहित)

    नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘जुलुङ्गो’ सर्वोत्कृष्ट (सूचीसहित)

    काठमाडौं । भाइरस महामारीको कारण भर्चुअल रुपमा आयोजित यसवर्षको नेपाल-अमेरिका फिल्म फेस्टिभलको संस्करण सोमबार सम्पन्न भएको छ ।

    फेस्टिभलमा राजेशप्रसाद खत्रीले निर्देशन गरेको जुलुङ्गो (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जितेको छ । लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको फिल्म चलचित्र ‘ग्रामर्सी’ले पनि अवार्ड हात पारेको छ ।

    महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ । जितपछि खुशि व्यक्त गर्दै निर्देशक कदावल्लुरले फिल्ममार्फत मानवताको बेलामा बोल्ने बेला आएको बताए ।

    त्यस्तै सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ ।

    उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ ले प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘मदर आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ ले हात पारेको छ ।

    लेमोह्याङ जेरिमाया मोसेजद्धारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त जितेको छ ।

    नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा फिल्म प्रदर्शन भएका थिए । चार दिन चलेको फेस्टिभल अवधिभर निःशुल्क फिल्म प्रदर्शन गरिएको थियो ।

    फेस्टिभलको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।

    फेस्टिभल निर्देशक पूर्णसिंह बराइलीले जुरी, पत्रकार लगायत सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अमेरिकाको मेरिल्यान्डमा वर्षेनी आयोजना हुने फेस्टिभल यसपटक भर्चुअलरुपमा सम्पन्न भएको हो ।