Category: प्रवास

  • अधिवक्ता राजेन्द्र शर्मा मलेसियाकाे ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्समा सम्मानित

    अधिवक्ता राजेन्द्र शर्मा मलेसियाकाे ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्समा सम्मानित

    काठमाडौं । मलेसियामा आयोजित एक विशेष समारोहबीच अधिवक्ता राजेन्द्र शर्मा सम्मानित भएका छन् । चौथो ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्समा न्याय/कला सम्मानबाट राजेन्द्र शर्मा सम्मानित भएका हुन् ।

    अधिवक्ता शर्माले वैदेशिक रोजगार ठगी, मानव वेचविखन, हिंसा पीडित महिला, बालबालिका र जेष्ठ नागरिकको पक्षमा महत्वपूर्ण कानूनी योगदान पुर्याएवापत सम्मान गरिएको ग्लोबल आर्ट, कल्चर एन्ड टुरिजमका अध्यक्ष एवं अभिनेता श्रीदेव भट्टराईले जानकारी दिए ।

    यसैगरी राजेन्द्र शर्माले सामाजिक सद्भाव बढाउने खालका गीतहरु लेखी सांगीतिक क्षेत्रबाट पनि समाजलाइ योगदान गरेको भन्दै न्याय र कला सम्मान एकैपटकमा प्रदान गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

    लैंगिक न्याय सम्बन्धि कानूनी विशेषज्ञ शर्मा विगत २९ वर्षदेखि पीडित महिला तथा बालबालिकाको क्षेत्रमा कानुनी सहायता प्रदान गर्दै आएका छन् । पछिल्लो समय उहाँले काठमाडौंमा रहेर पीडितका लागि न्याय अभियान अन्तरगत हिंसा पीडित महिला तथा बालबालिकाको निःशुल्क कानूनी सहायता पनि प्रदान गर्दै आएका छन् ।

    यसैगरी, चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिजम कन्फ्रेन्समा कला सम्मानबाट बरिष्ठ कलाकार शिवहरि नेपाल (बैरागी), सङ्गित सम्मान वरिष्ठ गायक एवं सङ्गितकार नरहरि प्रेमी र कला सम्मान पवन प्रसाद खतिवडा (बाबा) सम्मानित भएका छन् ।

    कलाकारिता सम्मानबाट गोपाल ढकाल छन्दे, व्यावसाय सम्मान बिमान कार्कि, गायन सम्मान सिता देवी दुरा, शोभा क्षेत्री , राधिका खत्री(राधा), निर्माण र कला सम्मान राम सिहं तामाङ (प्रबल थिङ), समाज सेवि सम्मान सोभित उप्रेती प्रबिन घिसिङ र बद्री प्रसाद उप्रेती सम्मानित भए ।

    चौथो ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्स मलेसियाको क्वाललाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटेलमा भव्य रुपमा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

    आरसी एसिया प्यासिफिक एनआरएनएका प्रमुख हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कन्फ्रेन्समा मलेसिया स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत मोदिता बज्राचार्य, कलाकार, पत्रकार, समाजसेवी, शिक्षाविद, व्यवसायीहरू, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू लगायत नेपालबाट समेत करिब दुई दर्जन बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। साथै मलेसियामा रहेका विशिष्ट व्यक्तिहरू समाजसेवी एवं व्यवसायीहरूको समेत उल्लेखीय उपस्थित रहेको थियो ।

    नेपाली कला संस्कृति एवं पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशमा आयोजना हुँदै आएको उक्त कन्फ्रेन्सले मलेसियामा नेपालको पर्यटन र कला संस्कृतिको विकासमा योगदान रहनुका साथै कला क्षेत्रको विकासको लागि आफूले सहयोग गर्ने कार्यवाहक राजदूत मदिता बज्राचार्यले जानकारी दिनुभएको थियो। त्यसैगरी सम्बन्धित क्षेत्रका विज्ञहरुले आआफ्नो क्षेत्रका समस्या र समाधानका विषयहरु उठान गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि भट्टराईले आफू मलेसियामा करिब २५ वर्षदेखि रहँदै आएको धेरै नेपालीको साथ र सहयोग रहेको कार्यक्रममा जानकारी गराए । नेपाली कला, संस्कृति, पर्यटन व्यवसाय, भाषा, साहित्यको गहकिलो रुपमा मलेसियामा स्थापित गर्न चाहेको र यसको लागि आफूले सबैसँग सहकार्य गर्ने पनि बताए ।

    यस्ता कार्यक्रमले दुई देश बीचको मिठो सम्बन्ध रहनुका साथै कुनै पनि समस्या पर्दा नेपाली नेपालीबीच भाइचाराको अपनत्व रहने पनि उनको भनाइ थियो ।

     

  • ममता हत्या आरोपी नरेशले ६ महिना अघि छोडेका थिए अमेरिकी सेनाको जागिर, प्रहरीमा २२ दिन हाजिर

    ममता हत्या आरोपी नरेशले ६ महिना अघि छोडेका थिए अमेरिकी सेनाको जागिर, प्रहरीमा २२ दिन हाजिर

    काठमाडौं । नरेश भट्टले श्रीमती ममता काफ्लेलाई हत्या गरेर लाश बेपत्ता बनाएको आरोप छ । उनलाई अमेरिकी प्रहरीले लाश बेपत्ता बनाएको कसुरमा मुद्दा चलाइरहेको छ । सुदूरपश्चिम प्रदेशको कन्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकाका स्थानिय भट्ट २०७३ साउनमा अमेरिका उडेका थिए ।

    अमेरिका पुगेपछि उनी अमेरिकी सेनामा जागिरे भए । अमेरिकाका रैथानेहरुले सेनाका जागिर गर्न अनिच्छा देखाएसँगै अहिले आप्रवासीहरुलाई धमाधम लिन थालेको छ । त्यही मेसोमा भट्ट पनि अमेरिकी सेनामा प्रवेश गरेका हुन् । एमएसएन डटकमका अनुसार भट्ट सन् २०१७ जुनदेखि २०२४ फेबु्रअरीसम्म अमेरिकी सेनाको आर्मी रिजर्भको अटोमेटेड लजिस्टिक स्पेसिअलिस्ट (नाइन्टी टू ए)को रुपमा कार्यररत थिए ।

    झण्डै सात वर्ष अमेरिकी सेनामा काम गरेका उनले सैन्य जागिर छोड्ने कारण भने सार्वजनिकरुपमा खुलेको छैन । भट्टले प्रहरी रिक्रुटको रुपमा पनि काम गरेका थिए । उनले २२ दिनमात्रै अमेरिकाको फेयरफेक्स काउन्टी क्रिमिनल जस्टिस सिस्टमा जोडिएर काम गरेको एमएसएन डटकमले उल्लेख गरेको छ ।

    यस्तै अमेरिकी अखबार न्यूजविकले भट्टले लगाएको सैन्य पोसाक र हतियार बोकेको तस्बिर सार्वजनिक गरेको छ । प्रहरी र सेना दुवैको थोरबहुत अनुभव भएका भट्टले अमेरिकी प्रहरीको अनुसन्धानमा सहयोग नगरेको न्यूजविकले उल्लेख गरेको छ ।

     

  • हजुरआमाको काखमा पुगिन् ममता काफ्लेकी छोरी, नेपाली समूदायबाट साढे ३ कराेड संकलन

    हजुरआमाको काखमा पुगिन् ममता काफ्लेकी छोरी, नेपाली समूदायबाट साढे ३ कराेड संकलन

    काठमाडौं । अमेरिकामा वेपत्ता भएकी ममता काफ्लेको विषयमा प्रहरी अनुसन्धान जारी रहँदा नेपाली समूदायलाई उनकी एक वर्षकी छोरीको बारेमा चासो र चिन्ता छ ।

    ममताका श्रीमान नरेश भट्ट पक्राउ पर्दा उनकी छोरीलाई प्रहरी अधिकारीले ब्ल्यांकेटमा छोपेर सेफ हाउसतर्फ लगेका थिए ।

    खुशीको खबर के छ भने ‘मिनी ममता’ (प्रहरीले दिएको नाम) ले अहिले आफ्नी हजुरआमाको काख पाएकी छन् । ममताकी आमा र भाइ मंगलबार बिहान अमेरिका पुगेका थिए । पुगेलगत्तै उनीहरुले ‘मिनी ममता’ लाई जिम्मा लिएका हुन् ।

    ममताकी आमालाई अमेरिका ल्याउन पहल गरेकी इमिग्रेसन वकिल बन्दा शर्मा दाहाल उनीहरुलाई ‘प्राइभेसी’ दिन अपिल गरेकी छन् ।
    ‘उहाँहरु अरुसँग कुरा गर्ने अवस्थामा हुनुहुन्न, केही समय उहाँहरुलाई कुनै पनि दख्खल नदिन आग्रह गर्छु,’ उनले भनिन् ।

    दाहालका अनुसार हजुरआमा आउनुअघि ममताकी एक निकट साथीले उनको छोरीको हेरविचार गरिरहेकी थिइन् । ‘मिनी ममता’ लाई सबैले माया गरेको र उनी राम्रो अवस्थामा रहेको दाहाल बताउँछिन् ।

    ममताकी छोरीका लागि नेपाली समूदायले आर्थिक संकलन अभियान चलाइरहेका छन् । गो फन्ड मार्फत अहिलेसम्म २ लाख ६० हजार डलर संकलन भइसकेको छ । साढे दुई लाख डलरको लक्ष्य राखेर अभियान सुरु गरिएको हो । गो फन्ड मीमै अर्को अभियानमा ३० हजार डलर संकलन भएको छ । संकलित सबै रकम ममताकी छोरीको भविष्यका लागि हो ।

    ममताका श्रीमान नरेश प्रहरी हिरासतमा नै छन् । आज उनको ‘मोसन हियरिङ’ हुँदैछ । सुनवाइमा ममताकी आमा र भाइ अदालत नजाने बताइएको छ । उनीहरु मिडियासँग बोल्न सक्ने अवस्थामा छैनन् ।

  • अमेरिकामा नेपाली छात्रालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ

    अमेरिकामा नेपाली छात्रालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ

    काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेलाई हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् ।

    अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको हो ।

    बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेकव हो ।

    पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन । स्थानीय समय अनुसार शनिबार राति ९:४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।

  • मुना पाण्डेको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

    मुना पाण्डेको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

    काठमाडौं । प्रहरीले अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर सार्वजनिक गरेको छ ।

    नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्।

    होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया पाण्डेको आफ्नै घरमा हत्या गरिएको थियो । फुटेजमा देखिएको ती व्यक्ति मुनाका प्रेमी भने नरहेको बताइएको छ ।

    प्रहरीले अभियुक्त पहिचानका लागि चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।

    मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।

  • पौने ५ लाख खर्चेर दुबई पुगेका सन्तोष : काम माग्दा यातना, बोल्दा तातो दाल मुखमै झोसियो

    पौने ५ लाख खर्चेर दुबई पुगेका सन्तोष : काम माग्दा यातना, बोल्दा तातो दाल मुखमै झोसियो

    जनकपुरधाम । देशमा रोजगारी पाइँदैन । बाध्य भएर पढेलेखेका युवाहरू पनि जोखिम मोलेर खाडी मुलुक जान खोज्छन् । र, उनीहरू एजेन्टबाटै ठगिन्छन् ।

    एजेन्ट मोटो रकम मात्र ठग्ने गरेका छैनन्, चरम यातना पनि दिन्छन् । राम्रो काम खोजिदिने भनेर टुरिस्ट भिसामा विदेश लग्ने र काम नदिई यातना दिएर घर पठाउने गरेको घटना सार्वजनिक भएको छ ।

    एजेन्टबाट ठगिएका र चरम यातना खेपेका एक युवा नेपाल प्रेसको सम्पर्कमा आएका छन् । उनी हुन्- धनुषाको हँसपुर नगरपालिका ४ का २५ वर्षीय सन्तोष ठाकुर ।

    सन्तोष होटल म्यानेजमेन्ट पढेका छन् । नेपालमा काम पाउनै मुस्किल भयो । त्यसपछि उनी विदेश जाने सोच बनाए । राम्रो मान्छे (एजेन्ट) खोज्न थाले । सो क्रममा विदेश पठाउने काम गरिरहेका उनका आफ्नै छिमेकी जितन ठाकुरसँग सम्पर्क भयो ।

    जितनका भाइ सिकेन्द्र ठाकुर दुबई बस्छन् । सिकेन्द्रले दुबईबाट भिसा पठाउँछन् । र, सो भिसामै सिकेन्द्र मान्छे खोजेर दुबई पठाउँछन् ।

    जितन र सिकेन्द्र छिमेकी दाजुभाइ रहेकाले धोका नदिनेमा सन्तोष विश्वस्त भए । टुरिष्ट भिसामा दुवै जान पौने ५ लाख रुपैयाँ तिर्ने भनेर सन्तोष मौखिक सहमति गरे ।

    सबै प्रक्रिया पुरा भएपछि गत जेठ २५ मा सन्तोष दुबई पुगे । त्यहाँ पुगेपछि अब पैसा कमाउने दिन आयो भनेर उनले सोचेका थिए । तर कहिल्यै नसोचेको जति यातना झेले ।

    दुबई पुगेपछि एक सातासम्म सन्तोषलाई त्यतिकै कोठामा राखे । काम खोजिदिन आग्रह गरेपछि एजेन्ट सिकेन्द्रले एउटा कम्पनीमा इन्टरभ्यूका लागि पठाएको सन्तोषले सुनाए ।

    उनले नेपाल प्रेससँग भने, ‘इन्टरभ्यू दिएँ । त्यहाँ कमिसन माग्यो । तर एजेन्ट जितेन्द्रले कमिसन दिन मानेनन् । त्यसपछि काम पाइनँ ।’

    जितेन्द्रले अहिले पैसा छैन भनेपछि आफै २५/३० वटा कम्पनीमा पुगेको बताउँदै सन्तोषले भने, ‘इन्टरभ्यू दिन्थे, राम्रै भन्थ्यो । तर सबै ठाउँमा कमिसन माग्थ्यो । आफूसँग पैसा थिएन । कहाँबाट कमिसन दिनु ? कतै काम पाएनौँ ।’

    काम खोजेर भनेर बोलाएको अनि अहिले काम नखोज्दिने भनेर दबाब दिन थालेपछि जितेन्द्रले आफ्ना मान्छेबाट यातना दिन लगाएको सन्तोषको भनाई छ ।

    ‘साँझ बिहान मबाटै खाना पकाउन लगाउन थाल्यो’, सन्तोषले दुबईमा भोगेका यातनाबारे भने, ‘म सुतिरहेको थिए । जितेन्द्रका मान्छेले अचानक चेसबोर्ड लिएर मेरो आँखामै हिर्कायो । म अचेत भए । पछि होस् खुलेपछि जितेन्द्रलाई भने । उनले त उल्टै मेरो मोबाइल खोस्यो– घरमा फोन गरेर सबै कुरा भन्छन् भनेर ।’

    आँखामा चेसबोर्डले हानेको बिहानपल्ट जितेन्द्रकै मान्छेले सन्तोषको अनुहारमा तातो दाल मुखमै झोसिदिए । उनको अनुहार कुरूप भयो । लामो समय उपचार गराए । तर अझै दाग मेटिएको छैन ।

    सन्तोष भन्छन्, ‘मलाई जितेन्द्रले लगेको थियो । तर उनकै इशारामा मलाई यातना दिने काम भयो । यतिसम्म कि घरमा फोन गर्न दिइरहेको थिएन । मेरो पासपोर्ट पनि खोस्ने प्रयास गरियो ।’

    चरम यातना दिन थालेपछि सन्तोषले रिस्क मोलेर एकजनासँग मोबाइल मागेर घरमा फोन गरे । सबै पीडा सुनाए । त्यसपछि उनको घरबाट जितेन्द्रलाई घर फिर्ता पठाइदिन दबाब पर्‍यो ।

    अन्ततः गत साउन २० मा दुबईबाट घाउ बोकेर सन्तोष नेपाल फर्के । उनी भन्छन्, ‘पैसा कमाउने सोचेका साथ दुबई गएका थिए । तर कहिल्यै बिर्सिने दुःख, पीडा र घाउ बोकेर घर फर्किनुपरेको छ ।’

    अहिले उनी एजेन्ट जितेन्द्र र उनका भाइ जितनले ठगेको रुपैयाँ फिर्ताका लागि प्रहरी कार्यालय धाइरहेका छन् । उनले ठगेको रकम फिर्ता गराइदिन र एजेन्टलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

    चार लाख २६ हजार रुपैयाँ बैंकमार्फत् जितेन्द्रको परिवारलाई दिएको र जितेन्द्रका दाइ जितनले ४९ हजार रुपैयाँ नगद बुझेको सन्तोष बताउँछन् । उनका अनुसार दुबई जाने बेलामा काठमाडौंमै एक साता राखेर २०/२२ हजार रुपैयाँ खर्च गरायो । दुबईबाट फर्किन पनि ६० हजार रुपैयाँ जति खर्च भएको छ ।

    जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एक साता बित्न लाग्दा पनि अहिलेसम्म कुनै सुनवाइ नभएको उनको गुनासो छ ।

    ‘ऋण लिएर एजेन्टलाई पैसा दिएको थिए’, उनले भने, ‘तर आफ्नै मान्छे भएर पनि एजेन्टले मलाई बरबाद पारे । म दुबईबाट बाँचेर आएर त्यही ठूलो कुरा हो ।’

    मृत्युको मुखबाट फर्केर गाउँमा आएपछि पैसा फिर्ता गराइदिन समाजका कैयौँ व्यक्तिलाई गुहारे तर एजेन्टले कसैको नसुनेको सन्तोषले सुनाए ।

    उनले भने, ‘बाध्य भएर प्रहरीमा उजुरी दिए । प्रहरीले पनि केहि गर्न सकेका छैन । अब सिडिओ कार्यालय जाने सोचेको छु ।’

  • अमेरिकामा मुना निमोठिएपछि उजाडिइन् एकल आमा, अमेरिकी साथीमाथि शंका

    अमेरिकामा मुना निमोठिएपछि उजाडिइन् एकल आमा, अमेरिकी साथीमाथि शंका

    काठमाडौं । एक्लो सहाराको रुपमा रहेकी छोरी अमेरिकामा मारिएको खबरपछि अनिता अधिकारीमाथि अकल्पनीय बज्रपात परेको छ । उनको संसार नै एकाएक उजाडिएको छ ।

    पूर्वसैनिक श्रीमानसँग केही वर्षअघि डिभोर्स गरेर बसेकी अनिताकी एक्ली सन्तान थिइन् २१ वर्षीया छोरी मुना । फोटो स्टुडियो चलाएर उनले छोरीलाई एक्लै हुर्काइन् र ऋणपान गरेर अमेरिका पढ्न पठाइन् । तीन वर्ष अगाडि मुना अमेरिका उडेकी थिइन् । नर्सिङ अध्ययनरत मुना सानोतिनो काम पनि गर्थिन् । अब आफ्नो पढाइ एक वर्ष मात्रै बाँकी रहेको र त्यसपछि दुखका दिन सकिने भनेर आमालाई हौसला दिन्थिन् ।

    सविताका अनुसार तीन-चार दिनदेखि छोरीसँग उनको सम्पर्क भइराखेको थिएन । मुना निरन्तर अफलाइन हुँदा उनको छटपटी बढिरहेको थियो ।

    उनी भन्छिन्, ‘पहिले पनि कहिलकाहीँ घुम्न जाँदा दुई-तीन दिन मोबाइल लाग्दैन थ्यो । यसपाली पनि कतै घुम्न गएकी होली भन्ने सोचेँ ।’

    सोमबार बिहान अमेरिकाबाट फोन आयो । फोन छोरीको थिएन, छोरीकी साथीको थियो । अनिताको मनमा चिसो पस्यो । नभन्दै अकल्पनीय खबर सुन्नुपर्यो । केही बेरपछि अस्पतालबाट फोन आयो । शव अस्पतालमै रहेको र पैसा तिरेर जिम्मा लिन भनियो । अनिता कुनै जवाफ फर्काउने अवस्थामा थिइनन् ।

    अब उनको एउटै इच्छा छ, जसरी पनि अमेरिका गएर आफ्नो छोरीको हत्यारालाई सजाय दिलाउने । तर, सजिलो छैन । उनीको आर्थिक अवस्था नाजुक छ । यद्यपि, अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेकी छन् ।

    अनिताका अनुसार उनलाई श्रीमानले निरन्तर कुटपिट गर्ने गर्थे । सेनाको जागीरबाट रिटायर्ड भएपछि श्रीमानको टर्चर सहनै नसक्ने भएर छुट्टिनु परेको उनले बताएकी छन् । ८ वर्षअघि पढ्दै गर्दा उनीहरूको डिभोर्स भएको थियो । छोरीको जिम्मेवारी आमाले पाइन् । त्यसयता उनले एक्लै संघर्ष गरेर छोरीलाई पढाइन् ।

    अनिता भन्छिन्, ‘छोरी पेटमा हुँदादेखि नै मैले आधापेट खाएर संघर्ष गरेको हुँ । छोरीकै लागि सबै त्याग गरेँ । छोरी एकदमै साहसी थिइन् । हामीले सबैलाई केही गरेर देखाउनुपर्छ मम्मी भन्थिन् । म जसरी पनि गर्छु, हजुरले चिन्ता लिनुपर्दैन भन्थिन् ।’

    अनिताका अनुसार अमेरिकामा मुनाका एक केटासाथी थिए, जो अमेरिकी नागरिक हुन् । छोरीले ती साथीले आफूलाई फलो गर्ने गरेको र आफूलाई पनि मन परेको भनेर सुरूमा आमालाई बताएकी थिइन् । ती साथीसँग घुम्न गएका फोटो/भिडिओहरु पनि पठाउने गरेको अनिताको भनाइ छ ।

    उनले भनिन्, ‘अस्ति पुसमा एउटा बर्थ डे पार्टीमा उनीहरुको चिनजान भएको रहेछ । मलाई एकजनाले फलो गर्छ, प्रपोज गरेको छ भनेर सुनाएकी थिइन् । उसले एउटै फ्ल्याटमा बसौं, बिहे गरौं पनि भनेको रहेछ । मैले राम्ररी सोचविचार गरेर मात्रै गर्नु है भनेँ । फेरि बीचमा त्यो मान्छे अलिक व्यवहारिक रैनछ मामु भन्ने कुरा गरी । मैले त्यसो भए त्योसँग संगत नगर भनेकी थिएँ । पछि उनीहरूबीच बोलचाल पनि हुन छोडेको रहेछ । तर, छोरीले मलाई भनेकी थिइन । फेरि केही दिनदेखि बोल्न थालेका थिए रे । मलाई त्यही केटामाथि शंका छ ।’

  • अमेरिकामा नेपाली छात्राको हत्या, कोठाभित्रै गोली प्रहार

    अमेरिकामा नेपाली छात्राको हत्या, कोठाभित्रै गोली प्रहार

    काठमाडौं । अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत छात्रा मुना पाण्डेलाई उनी बस्ने अपार्टमेन्टमै गोली प्रहार भएको हो ।

    घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेन्ट’ को रूपमा २०२१ मा अमेरिका पुगेकी थिइन् । अमेरिकाबाट प्रकाशित हुने हिमालय खबर डटकममा प्रकाशित समाचार अनुसार उनी ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ‘अटस्पी’ (पोष्टमार्टम) का लागि शव अस्पताललाई जिम्मा लगाएको समाचारमा जनाइएको छ ।

    हिमालय खबरमा प्रकाशित समाचारमा उल्लेख गरिएका थप विवरण यसप्रकार छन् –

    सोमबार अपरान्ह अज्ञात नम्बरबाट अपार्टमेन्टमा फोन आएको र कोठाभित्र लास भएको जानकारी दिइएको थियो । त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरे । प्रहरीले अपार्टमेन्टमा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पार्‍यो ।

    मृतकको नेपालमा रहेकी आमा र परिवारलाई घटनाका बारेमा स्थानीय नेपाली समुदायका तर्फबाट खबर गरिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन् । नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार छोरीसँग चार दिनअघि कुराकानी भएको थियो । मुना उनको एउटै मात्र सन्तान रहेको समेत उनले बताइन् ।

    हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडिओ फुटेजहरू प्रहरीले लगिसकेका छन् । त्यसले गर्दा मुनाका हत्यारा पत्ता लगाउन सघाउ पुग्ने विश्वास समुदायले गरेको छ ।

    उनी केही समय अमेरिकी युवकसँग डेटिङमा रहेको र कोठाभित्र भेटिएका पुरूषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुष समेत बस्ने शंका गरिएको छ ।

    मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले जानकारी दिएअनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ । ती सञ्चालकले उपलव्ध गराएको भिडियो क्लिपले हत्याराले ओछ्यानमै गोली हानेको सहजै अनुमान गर्न सकिन्छ । ओछ्यानभरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्गन्ध आएकोले घटना शनिबारतिरै भएको हुनुपर्ने आशंका सो भिडियो क्लिप लिएका स्थानीय नेपालीले बताए ।

    मुनालाई तीनवटा गोली हानिएको थियो । ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ ।
    २१ बर्षिया मुनाको नेपालमा आमामात्र छिन् । माता-पिताको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ ।

    अमेरिकाको टेक्सासमा एक महिनाभित्र दोस्रो नेपालीको हत्या भएको हो । गत २९ जुलाईमा ३० वर्षिय दिपक वली मारिएका थिए ।

  • अमेरिकामा श्रीमती हत्याका अभियुक्त नरेश भट्टले पक्राउपूर्व ढुक्कसित दिएको त्यो अन्तर्वार्ता

    अमेरिकामा श्रीमती हत्याका अभियुक्त नरेश भट्टले पक्राउपूर्व ढुक्कसित दिएको त्यो अन्तर्वार्ता

    काठमाडौं । नेपालको काभ्रे जिल्लाकी चेली ममता काफ्ले (वर्ष २८) सात समुद्रपार अमेरिकामा करिब एक महिनादेखि बेपत्ता छिन् । उनको हत्या भइसकेको ठानिए पनि अमेरिकी प्रहरीले आधिकारिक पुष्टि गरेको छैन ।

    शंकाको घेरामा छन् ममताका श्रीमान नरेश भट्ट । घरभित्रै हत्या गरेर लास लुकाइएको हुनसक्ने प्रमाणहरु फेला परिसकेपछि भर्जिनियाको मनासास प्रहरीले भट्टलाई पक्राउ गर्‍याे । अदालतले जमानत दिन अस्वीकार गरेपछि उनी अहिले हिरासतमा छन् । अर्को सुनुवाइ २४ अक्टोबरलाई तोकिएको छ ।

    वासिङटन डीसी नजिक भर्जिनिया क्षेत्रको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पसअन्तर्गतको प्रिन्स विलियम अस्पतालमा नर्स जागिर गर्ने ममता गत जुलाई ३१ बाट बेपत्ता भएकी थिइन् । उनले काम गर्ने ठाउँबाट प्रहरीमा खबर गरिएको थियो । त्यसपछि प्रहरीले घरमा आएर श्रीमानसँग सोधपुछ गर्‍याे । श्रीमानले भने ५ अगस्तमा मात्रै आधिकारिक रुपमा प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

    ५ दिनसम्म उजुरी नदिँदा नेपाली समुदायमा श्रीमानप्रति शंका उब्जिन थालिसकेको थियो, तर नरेश भने निर्धक्कसँग घरमा एक वर्षकी छोरी हेरेर बसेका थिए । यतिमात्र होइन, उनले दर्जनौं मिडियालाई घरबाटै अन्तर्वार्तासमेत दिए । कसैलाई घरको ढोकामा उभिएर त कसैलाई भर्चुअल माध्यमबाट । अमेरिकी र नेपाली सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निर्दोष रहेको जिकिर गरिरहे । अमेरिकाका ठूला सञ्चारमाध्यमले समेत यो घटना कभर गरेका छन् ।

    प्रहरीले घरमा छापा मारेपछि भने ममताको हत्या गरेर लास लुकाइएको आशंका गर्‍याे र नरेशलाई तत्काल पक्राउ गर्‍याे । उनलाई दुई पटक अदालतमा पेश गरिएको छ । नरेशले आफूलाई अंग्रेजी नआउने भन्दै दोभासेको सहारा लिएका छन् । यद्यपि उनले केही अमेरिकी मिडियालाई अंग्रेजीमै अन्तर्वार्ता दिएका थिए । उनले अंग्रेजीमा बोलचाल राम्रैसँग गर्न सक्छन् ।

    नरेशका अन्तर्वार्तामध्ये सबैभन्दा विस्तृत कुराकानी सच्ची मैनालीले गरेकी थिइन् । अगस्त २० को राति उनले गरेको भर्चुअल अन्तर्वार्ता सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण भएको थियो । सो अन्तर्वार्तामा पनि नरेशले आफू निर्दोष रहेको दोहोर्‍याए, तर थुप्रै ठाउँमा लट्पटिएका छन् । अन्तर्वार्ताबाट श्रीमान र श्रीमतीबीच सम्बन्ध असहज अवस्थाबाट गुज्रिरहेको थियो भन्ने प्रस्ट हुन्छ । मानिसहरुलाई अल्मल्याउन केही ठाउँमा उनले श्रीमतीको प्रशंसा पनि गरेका छन् ।

    सो अन्तर्वार्ताका मुख्य अंशलाई यहाँ साभार गरिएको छः

    – तपाईंलाई अहिले कस्तो छ ?

    (ख्वाक्क खोक्दै) कुन हिसाबले भन्ने अब । नर्मली ठीकै छ भन्नुपर्‍याे ।

    – घटनापछि मानसिक रुपमा केही समस्या परेको छ कि ?

    त्यो त डेफिनेटली नोटिसेबल हिसाबले छ । आज मान्छे आएर पनि जानुभो ।

    – को आउनुभएको थियो ?

    देखिरहेको, चिनिरहेको मनोविद् हो । नाम सम्झिनसक्ने क्षमता नै कम भइसक्यो मेरो । दुई जना हुनुहुन्थ्यो । एक्लै बसालेर पनि कुरा भो ।

    – उहाँहरुले के भन्नुभयो ?

    त्यो अब उता हस्पिटलाइजको कुरा, त्यस्तो त्यस्तो टाइपको कुराहरु, मेडिकेसनका कुराहरु, काउन्सिलिङको कुराहरु गर्नुभएको छ ।

    – तपाईंलाई मानसिक डाक्टरको आवश्यकता छ भन्ने निचोड निकाल्नुभएको हो ?

    उहाँको भनाइबाट त्यस्तै बुझें ।

    – आफैंलाई गाह्रो भएको छ भने छोरीको हेरविचार गर्न सक्नुभएको छ त ?

    गरिराछु । मैले सकेको बेस्ट गरिरहेको छु ।

    – यसपछि म सक्दिन भन्ने प्वाइन्टमा पुग्नुभएको छ कि ?

    त्यस्तो छैन । जस्तो सकेको छु, त्यस्तो गरिरहेको छु ।

    – तपाईंले लेटर लेखेर माइती परिवारलाई बोलाउने कुरा थियो । त्यो के भएको छ ?

    मैले लेटर लेख्ने भनेको होइन, अरुले लेखेर मैले साइन गर्ने भन्या हो । म त वेट नै गरिराख्या छु । डिएस वान सिक्टी भरेर सकियो । त्यो लेटर कस्तो हो, कसको नाममा हो ? कसैले भइसक्यो भन्छ, मकहाँ कसैले पनि ल्याएको छैन ।

    – छोरीलाई अहिले कस्तो छ ?

    अस्ति पानीमा गएका थियौं छोरी र म । त्योपछि एक दिन जरो आयो । हिजो पनि मान्छेहरु आको आइ । फर्स्ट टाइम आज चैं वान्ता गर्‍याे । अहिले झोलिलो खुवाएर रेस्ट गराएको छु ।

    – छोरीले आमा कत्तिको खोज्छिन् ?

    जनावरको बच्चाले त आमा खोज्छ, उसले खोज्दैन होला त ? त्यो त कुरै भएन । मसित मान्ने चाहिँ मैले धेरै खेलाउँथें, तर म त आमा होइन नि ! आमाले दिनसक्ने म दिन सक्दिनँ । ऊ अर्कै कुरा, म अर्कै कुरा हो । उसले धेरै काम गर्ने हो छोरीको । आमा त आमा नै हो नि !

    – ममता हराउनुअघि उहाँले नियमित काम गरिरहनु भएको थियो ?

    हामी दुवैले काम गर्थ्याैं । ममताको एक महिना समथिङ भएको थियो ज्वाइन गरेको । म डिसेम्बरसम्म दुई वटा जब गर्थें । अहिले चाहिँ एउटामात्रै छ ।

    – तपाईं खासमा कस्तो स्वभावको मान्छे हो ?

    भन्न खोज्या कस्तो हो, मैल बुझिनँ ।

    – तपाईं रिसाहा हो कि शान्त हो कि कस्तो भनेको ?

    म इन्टोभर्ट र रिजर्भ छु ।

    – साथीभाइ धेरै छैनन् ?

    साथीभाइ त धेरै छन्, तर क्लोजनेस छैन । सबैसँग म उ गर्न जान्दिनँ । मैले सबभन्दा नजान्ने भनेको कुरा गर्न जान्दिनँ ।

    – तपाईंले चिनेको ममता कस्तो स्वभावको मान्छे हो ?

    उसको धेरै मान्छेमा नहुने गुण भनेको अरुलाई मोटिभेट गर्ने हो । आफू बाइ द वे हरेस खाए पनि अरुलाई मोटिभेट गर्ने मान्छे हो ।

    – बिहे गरेदेखि अहिलेसम्म कत्तिको घरझगडा भएको छ ?

    सामान्य सामान्य त… एउटा ‘पोजिटिभ वे’ को झगडा त भइ नै राख्थ्यो । हाम्रो खासै झगडा भाको भन्या चैं एकचोटि फेब्रुअरीतिर हो । एकचोटि चैं दुई तीन वर्ष पहिले हो । सामान्य कुराहरु… तैंले यति खर्च किन गरिस्.. यसो किन गरिस्… उसले भन्ने हो… त्यो मेरो लागि नै भन्ने हो ।

    – यो सँग किन बोलिस्, त्योसँग किन हिँडिस भन्ने खालको पनि हुन्थ्यो ?

    त्यस्तो स्पेसिफिक चैं कहिले पनि भएन । लास्ट आवरमा आउँदाखेरि चैं बाहिर भन्दा आफूलाई फोकस गर्ने हो भन्ने खालको हुन्थ्यो ।

    – फेब्रुअरीमा घरबाहिरै गएर बस्नु पर्ने गरी के कुरामा झगडा भएको थियो ?

    फेमिलियर कुरामा हो । उसलाई चैं… यत्रो दुःख गर्‍याैं । हामी दुई जनाबाट तीन जना भएका छौं । राम्रो गरे पनि तीन जनाले गर्ने हो, नराम्रो पनि तीन जनाले भन्ने टाइपमा थियो ।

    – फेब्रुअरीभन्दा अगाडि झगडा भएको थिएन ?

    त्योभन्दा अगाडि एक पटक चैं भाथ्यो । नर्मल राम्रोवाला झगडा भइराख्थ्यो । नराम्रोवाला झगडा चैं, हामी तीन जनामात्रै बस्नुपर्छ, तीन जनाबाहेक अरु हाम्रो फेमिली होइन भन्ने.. त्यस्तो नेगेटिभली होइन, पछि युनाइटेड फेमिली बसौंला …अहिले न्यूक्लियर भएर बसौं, सबैले यहाँ त्यही गरेका छन्… यो नेपाल होइन, भन्ने थियो मेरो ।

    – झगडा गर्दा हात हालाहाल पनि भएको थियो ?

    हात हालाहाल त भएको होइन । एकचोटि चैं मिस्टेकले भात मेरो टाउकोमा जानिजानी फाल्या पनि होइन, मिस्टेकली फाल्या पनि होइन । त्यस्तो सामान्य कुराहरु भएको हो ।

    – बिहेपछि एक्स्ट्रा मेरिटल अफेयर्सले त प्रोब्लम भएको होइन ?

    त्यस्तो त न उसको न मेरो । रिस उठेको बेला कसैले भन्यो भने पनि मुखले भन्ने कुरा हो । दुवै जनाको त्यस्तो छैन ।

    – घर बाहिर हुँदा फोन-म्यासेजमा कुराकानी कत्तिको हुन्थ्यो ?

    जेनरली त्यस्तो धेरै त हुने होइन । मेरो काममा मसित फोनै हुँदैन ।

    – एक जना घर ढिला आउँदा खोजीनीति हुँदेनथ्यो ?

    ढिला आएँ भने पनि किन ढिला आइस् भन्ने खालको होइन । म कामबाट कहिले नि त्यसरी.. बच्चा भएपछि आज यो लिएर आइज न भने पनि म सीधै आउँथें, उसले बरु म बच्चा नसुताइ राखिदिउला त भन्ने हो ।

    – ममता अहिले कहाँ छिन् होला ? केही गलत डिसिजन पो गरिन् कि जस्तो लाग्छ कि लाग्दैन ?

    त्यस्तो के लाग्छ भनौं । घरीघरी हो कि आउँछ कि जस्तो लाग्छ । शरीर जिरिङ हुन्छ, केही भन्नै सक्दिनँ । के आन्सर दिनु । शरीरमात्रै जिरिंग हुन्छ ।

    – नराम्रो केही गरिन् कि जस्तो लाग्छ ?

    हजार कुराहरु आउँछन् । दिमागले कहिले के भन्छ कहिले के भन्छ ।

    – सेफ छिन् जस्तो अपेक्षा गर्नुभएको छ ?

    चाहिएको त्यत्ति हो । अरु केही पनि चाहिएको होइन ।

    – गलत निर्णय गर्न सक्छिन् जस्तो लाग्छ कि लाग्दैन ?

    नगर्नुपर्ने हो ।

    – अस्ति तपाईंको सासूआमासँग कुरा गर्दा सबै कुरा ज्वाइँलाई थाहा छ भन्नुभयो । अरुलाई तपाईंले नै केही गर्नुभएको जस्तो पनि लागेको छ । तपाईंमाथि शंका हुनसक्छ ?

    शंका गरेको भन्दा पनि उ त मेरो फेमिली हो । म सँगसँगै बस्छ । त्यसैले मलाई थाहा छ भन्नुभएको होला । उहाँले कुन सेन्समा भन्नुभयो । मेरो दुवै परिवारका मान्छेहरु हाइली एजुकेटेड र बोल्न जान्ने कोही छैन । उहाँले कुन सेन्समा के कुरामा भन्नुभएको हो थाहा भएन । दुवै एउटै धरातलका फेमिली हुन् ।

    – ममताले यो कार्यक्रम हेरिरहेको भए के भन्न चाहनुहुन्छ ?

    तिमी आउने हो कि म आउँ लिन ? छिटो (गला अवरुद्ध) म निमालाई लिएर आउने हो कि ?

    – ममता फर्केर आइन् भने सजिलै एक्सेप्ट गर्नुहुन्छ होइन ?

    झगडा भएर गएको त होइन नि त ! हाम्रो पहिले तँ तँ र म म हुन्थ्यो, अहिले त्यस्तो पनि हुँदैन ।

    – कहिलेदेखि यस्तो राम्रो भएको ?

    हामी न्युक्लियर भइसकेपछि । अप्रिलतिरबाट झगडा हुन छोडेको हो ।

    – कसरी त्यस्तो भयो ? के आधारमा सम्झौता गर्नुभयो ?

    नयाँ घरमा आयौं । नयाँ बच्चा भयो । मेडिटेसनहरु, क्लासहरु त्यस्तो त्यस्तो गरिराख्या हुन्थ्यो । उसैले भन्यो, यो फेमिली मैले फोकस गर्छु अब । बुवाआमालाई बोलाएको पनि मैले पठाएको पनि मैले । मेरो तरिकाले फोकस गर्छु । दुवैले आउटिङ बन्द गर्नुपर्छ । तेरो यहाँ मेरो यहाँ । त्यसपछि नेटफ्लिक्स लगाएर प्रत्येक हप्ता एउटा फिल्म हेर्ने पनि गर्‍या थियौं, तीनै जना बसेर ।

    – ममता घरमा भएको अन्तिम दिन जुलाई ३१ मा के–के भएको थियो ?

    बुधबारको राति उसले ‘खोले साग’ ल्याएको हो । त्यही साग खाको हो । उसले पकाएको हो । खाना उसले नै पकाउने हो सधैँ । मैले चाउचाउ साउचाउमात्र पकाउने हो । मैले तारिफ त गर्न खोज्या होइन, उसको जस्तो खाना सबैले पकाउन सक्दैन ।

    – ममताको आमाले त्यस दिन भिडिओ कलमा कुरा गर्दा छोरीको अनुहार अँध्यारो थियो भन्नुभएको छ । तपाईंहरुबीच केही भएकै थिएन त ?

    आजकाल त एकदम फर्मली भइराको हो । (ठाकठुक) हुनुपर्ने त हो, हुनुपर्छ । त्यो कहिलेकाहीँ हुनुपर्ने, तर पनि हुन्थेन । त्यसलाई एकदमै राम्रो भएको त भन्न मिलेन । पहिले कहाँ जाने किन जाने ? यो सामान किन ल्याइस्, महँगोमा ल्याइस् भन्ने हुन्थ्यो । अहिले त त्यस्तो पनि थिएन ।

    – भनेको नर्मलभन्दा पनि राम्रो सम्बन्ध ?

    मलाई त्यस्तो त राम्रो लाग्दैन । मलाई अलिकति झगडा सगडा थोरथोरै भएकै मनपर्थ्याे । कहिलेकाहीँ रिसाएको पनि ठीक लाग्छ आफूलाई । ऊ चाहिँ धेरै किफायती मान्छे हो । एकदुई पेनी पनि तलमाथि भयो भने ऊ किन महँगोमा किनिस् भन्ने खालको हो ।

    – घरको खर्च तपाईंले गर्ने हुन्थ्यो सबै ?

    घरको सबै खर्च, ग्रोसरी मोर्गेज सबै कुराहरु मैले गर्थें । किनभने उसको बीचमा जब थिएन नि त !

    – त्यस राति तपाईंले अनुहारमा केही महसुस गर्नुभएको थियो त ?

    मैले त थिएन । बरु मेरो फेसियल एक्सप्रेसन रिड गर्न सकिन्छ । उसको चाहिँ सकिन्न । मैले चैं सक्दिनथें ।

    – अर्को दिन बिहान उहाँ काममा जानुभयो ?

    यस्तो हुन्छ… हाम्रो यता ठूलो कोठा छ । उता सानो–सानो अरु तीन कोठा छन् । बीचको यता कोठामा, यो कुरा भन्न मिल्छ कि मिल्दैन, ऊ चाहिँ महिनामा चारपाँच दिन, एउटा कोठामा ठूलो सोफा र सामानहरु राखिएको छ, त्यहाँ चार दिन सुत्ने हो । उताको छोरीको कोठा हो, त्यसको तल मन्दिर पर्छ । जनरली त्यहाँ कोही सुत्दैन । यताको कोठा छ, त्यहाँ जो काममा जाने हो, त्यो सुत्ने हो । जनरली कहिलेकाहीँ एउटै कोठामा सुतौं न त भन्ने पनि हुन्छ । काम जाने र नजाने भयो भने नजाने मान्छे भुईंमा सुत्ने र जाने बेडमा सुत्ने हो । एक दिन म अन्त थिएँ । छोरी खाटबाट लडिछन् । त्यसैले छोरीलाई भुईंमा सुताउन थालेको हो । ऊ साँझ नुहाउने हो, म बिहान नुहाउँछु ।

    – कामबाट कति बजेतिर आइपुग्थिन् ?

    ठ्याक्कै खाना खाने बेलातिर आउने हो । ७ बजेतिर बिदा हुन्थ्यो । घर आइपुग्दा ८ बज्थ्यो । जनरली ऊ पछि खाने हो । मैले पहिले छोरीलाई खुवाउने र छोरीसँगै खाने हो ।

    – अगस्त १ को राति उनी घर नआएपछि तपाईंले के गर्नुभयो ?

    पहिले फोन ट्राइ गरें…फोन… भ्वाइस मेलमा गयो । अनि एक जना छिमेकी साथी हुनुहुन्छ, उहाँको तिर हेरेर आएँ ।

    – छिमेकीले के भन्नुभयो ?

    भित्र गएर होइन, बाहिरैबाट हेरेको हो । सबै कुरा भन्न मिल्दैन, उनीहरुको नामसाम ।

    – बाहिरैबाट कसरी थाहा पाउनुभयो त ?

    उनीहरुको सबै कुरा नखोलौं, जे होस् ट्रान्सप्यारेन्ट छ । मैले भित्र मान्छे देखेथें, तर ममता देखिनँ ।

    – घर फर्केर के गर्नुभयो ?

    घर फर्केर कता हो के हो एकछिन सोचें । के हुनसक्छ ह्यानत्यान । छोरीलाई माथि सुताएँ । एकदुई चोटि फोन ट्राइ गरें । भ्वाइस मेलमा गयो । दूध तताएँ । खाना चाहिँ पकाएको होइन मैले । छोरी फेरि उठी । सुताएँ ।

    – ममताको थप खोजी गर्नुभएन ?

    अरु त्यस्तो केही गरिनँ ।

    – श्रीमती राति घर नआउँदा तपाईं त आत्तिनुपर्ने हो । तपाईं कसरी सुत्न सक्नुभयो ?

    मैले त्यसरी लिइनँ । पहिले पनि बाहिर बस्दा दुईतीन दिन उतैबाट काममा जान्छु भन्थी । मसित चैं भन्या हुन्थेन, अरुसँग चैं भन्या हुन्थ्यो ।

    – तर, अहिले त तपाईंहरुको सम्वन्ध राम्रो थियो, विनाजानकारी बाहिर बस्नुभयो होला भनेर कसरी सोच्नुभयो ?

    मेरो कन्सेप्टमा त्यस्तो आयो भनुम् न । मेरो कन्सेप्टमा त्यस्तो आइसकेपछि… भोलिपल्ट काममा नगएको रहेछ । पुलिसले ‘वेलनेस चेक’ भन्यो । त्यो प्वाइन्टमा गएपछि चाहिँ म सिरियस भएँ । जे भए पनि काम छोड्ने मान्छे त होइन । अनि पुलिसलाई म आफैंले बोलाएँ ।

    – तपाईंले १ तारिखको दिन पुलिस बोलाउनु भएन होइन ?

    अहँ । एक्कैछिन ल ।

    (कुराकानी गर्दागर्दै छोरी रोएको सुनेर भट्टले कन्भर्सेसन बन्द गर्छन् । छोरीलाई दूध खुवाएर केही बेरपछि फोन गर्छन् । आफूलाई प्रेसर फिल भएको तथा प्रश्नहरु नै चित्त नबुझेको बताउँछन् । अन्तर्वार्ता धेरै लामो भएको र अरु मिडियामा बोलिसकेका कुरा सोधिएको गुनासोसमेत गर्छन् । अन्तर्वार्ताकारको आग्रहमा फेरि अन्तर्वार्तालाई निरन्तरता दिन तयार हुन्छन्, तर छोरी आफ्नो छातीमा सुतिरहेको भन्दै अनुहार देखाउन मान्दैनन् ।)

    – उजुरी गर्न अगस्त ५ सम्म किन कुरेर बस्नुभएको ?

    २ तारिखमा बिहानपख पुलिस आएपछि…. भित्र आउँदैन रहेछ, सोध्नमात्रै आएको रहेछ । मैले सिरियस भएपछि त्यसलाई बोलाएँ । काम छोड्ने मान्छे होइन भनें । ल यस्तो यस्तो भयो, सबै हिस्ट्री पहिले पनि साथीकोमा बस्न गएको भनेर सुनाएँ । उसले त्यही भन्यो । तँ पहिले खोज । एक्जस्टेड भइस भने लेट अस नो । २० देखि ३० मिनेट कुरा भएपछि कार्ड दियो । फोन नम्बर कार्डमा लेख्या थ्यो । ल ठीक छ भनें । स्टेप बाइ स्टेप पुलिसलाई फलो गरेको छु । प्रत्येक मान्छेलाई फलो गर्न सक्दिनँ । एफआईआर फाइल गर्न पनि त रुल हुन्छ ।

    – तर, सहकर्मीबाट खबर भएपछि मात्रै तपाईंले प्रहरीलाई भन्नुभयो । आफैंले गर्न किन जरुरी ठान्नुभएन ?

    त्यतिञ्जेल म सिरियस थिइनँ । वेलनेस चेकको लागि भनेर प्रहरी आए । त्यसपछि म सिरियस भएको हो । म पनि नर्मल मान्छे हो । नर्मल सिचुयसनहरु थियो होला । एकछिनपछि पो आउँछ कि भन्दाभन्दै सुतें । जब काममा गएको छैन भने पछि चाहिँ म सिरियस भएँ ।

    – माइतीले पनि प्रहरीलाई खबर गर्न दबाब त दिएको रहेछ । न्यूयोर्कबाट सुनिता भण्डारी (ममताकी कजन) ले पनि भन्नुभएको रहेछ नि ?

    उहाँले म्यासेज छोड्नुभएको थियो । त्यतिञ्जेलसम्म थाहा छैन नि त ! सोसल मिडियाका कुराहरु दिदीले सिसाइड गर्नुभएको हो ।

    – तपाईंले गर्नुभएको पोस्ट पनि प्राइभेट रहेछ किन ?

    म मोबाइल हेर्ने अवस्थामा छैन । मलाई त्यो पब्लिक थियो कि प्राइभेट थाहै भएन ।

    – तपाईं छिमेकीको ढोका ढक्ढकाउन किन जानुभएन ?

    त्यस्तो त मिल्दैन यता । त्यस्तो नेपालमा चाहिँ गर्न सकिन्छ यहाँ सकिन्न । हजुरले अर्काको ढोकामा गएर भन्न सक्नुहुन्छ ?

    – तपाईं जानुभएको थियो रे भनेर मलाई एकजनाले भन्नुभएको थियो ।

    म गएको छैन । छिमेकी मान्छे नै मकहाँ आएको थियो । त्यही बेला मैले सोधेको हो । अर्को छिमेकीसित त टच नै छैन ।

    – अगस्त ५ मा उहाँको सिटिजनसीपको अन्तर्वार्ता थियो हो ?

    त्यो मलाई पनि थाहा भएन । फर्म चैं आफैंले भरेको हो । मैले भेरिफाइ गर्‍या हो । दुई तिन हप्ता अगाडिको कुरा हो ।

    – इमेल हेर्न सक्नुहुन्न ?

    छैन । उसकोमा एक्सेस छैन ।

    – उनीसँग कन्डिसनल ग्रीन कार्ड थियो र तपाईंले नियन्त्रित व्यवहार गर्नुहुन्थ्यो भन्नुभएको रहेछ ?

    कन्डिसन हटाएको ३-४ महिना भइसक्यो ।

    – तपाईंको कमाइ उनको भन्दा अलि धेरै नै छ ?

    त्यो त खै ।

    – उनले मेरो ग्रिनकार्ड हरायो भनेर फेसबुक ग्रुपहरुमा सहयोग मागेको रहेछ, तपाईंलाई थाहा छ ?

    हराएको भन्दा पनि मिस प्लेस हो । लास्ट टाइम हामी डीसीमा घुम्न गएका थियौं । हाम्रो भाइ आएको बेला घुमाउन तीनजना गएका थियौं । त्यतिबेला के भयो भने उसको आईडी कार्ड घरमा मिसप्लेस भएको रहेछ । टावर चढ्ने बेलामा आईडी माग्यो, तर उसले ग्रीन कार्ड दिएपछि भाइले किन ग्रीन कार्ड देखाउनुभएको भन्यो । जबमा जाँदाखेरि ब्यागमै रहेछ थाहा भएन भनेपछि मैले ग्रीन कार्ड किन बोकेर हिन्छौं भनें । त्यसपछि घरमा आएर उसले कतै राख्यो । मेरो कागजपत्र पनि उसले नै राख्ने गरेको हो । पुरानो घरबाट यहाँ मुभ भयौं । नभेटिएपछि मिसप्लेस भएको हो ।

    ग्रीन कार्ड हराएको होइन । एक्सपायर भएको हो । त्यसपछि एउटा पेपर आयो । नयाँ काम ज्वाइन गर्दा पुरानो पनि चाहिन्छ भन्ने भयो । दुवै जनाले खोजेको हो । नभेटिएपछि ग्रुपमा पोस्ट गरेको कुरा त मलाई पनि थाहा छैन । उसको आफ्नो नलेज मेरो आफ्नो नलेज हो ।

    – पछिल्लो अवस्थामा तपाईंहरुबीच डिभोर्सको कुरा थिएन नि ?

    त्यो त पहिले पनि थिएन । कहिलेकाहीँ दुवैले तर्साएकोमात्र हो । छुट्टिने मनसाय थिएन ।

    – झगडा हुँदा तपाईंले ज्वाइन्ट अकाउन्टबाट सबै पैसा निकालेको हो ?

    सबै पैसा भनेको कति पैसा ?

    – अकाउन्टमा जिरो ब्यालेन्स रहेको भनेर ममताले एकजना साथीलाई देखाएको रहेछ । त्यो साथीले अमाजोनबाट सेकेन्ड ह्यान्ड फोन दिएको रहेछ नि ?

    कसले के गर्‍याे, यस्ता कुरा नगरौं… मलाई थाहा भएअनुसार म्युचुअल साथीले किन्दिएको हो फोन । ज्वाइन्ट अकाउन्टमा ९ हजार समथिङ थियो अलरेडी । पैसा भइसके पछाडि… मेरो छुट्टै बैंक अकाउन्ट कुनै पनि छैन । कसले भन्यो निकाल्यो भनेर ?

    – अहिले सबै राम्रो छ भन्नुभयो, तर तपाईंले ममता हराइसकेपछि सुनिता भण्डारीलाई गरेको टेक्स्टमा हामी सम्मानपूर्वक छुट्टिने सोचमा थियौं भन्नुभएको रहेछ नि त ?

    (अकमकाउँदै) त्यो भन्या चाहिँ… होइन, अघि नै तपाईंलाई मैले भने…. यी कुराहरु भन्या सबै सिचुयसनल हो । कतिबेला तँ मरिहाल भनेर भनेको होला, मलाई मार्न खोज्या त होइन । सिचुयसनल कुरा हो ।

    – तर तपाईंले किन त्यस्तो टेक्स्ट गर्नुभयो ?

    त्यस्तो कुरा त थिएन । बरु हामी स्टेट मुभ हुने कि त्यो पनि दुवैकाे सल्लाहमा क्यालिफोर्निया मुभ हुने कि भन्ने थियो । मैले लेखेको सम्झना छैन ।

    – उहाँको टेक्स्ट नै मलाई उपलब्ध भएको छ, यो फेक हो र ?

    उहाँसित त्यो चिसो महिनामै हो । पहिलेकै कुरा हो । त्यो सन्दर्भलाई यता जोडे कि कसरी आयो त्यो कुरा । चिसो महिनाकै कुरा हो । सधैँ त त्यस्तो हुँदैन । त्यतिञ्जेल मेरो मेन्टालिटीमा के थियो ।

    – होइन मैले भर्खर अगष्टकै कुरा गरेको । अगष्ट २ मा उहाँलाई सबै कुरा ठीक छ भनेर पनि लेख्नुभएको रहेछ । किन लुकाउनुभयो ?

    हुन्छ नि त ! सबै कुरा सबैलाई भन्नुपर्ने पनि होइन ।

    – अस्ति आमालाई दुईतीन दिन काममै छिन् भनेर नखोजेको भन्नुभएको रहेछ । अहिले त उनी कतै पनि बाहिर बस्थिनन् र बस्ने कारण पनि थिएन नि होइन ?

    थिएन ।

    – अरु केही भन्नु छ तपाईंलाई आफ्नो कुरा राख्नुपर्ने ?

    त्यस्तो केही छैन । एउटै हो । हामी जस्तो जे हो त्यस्तै हुन चाहन्छौं ।

    – समुदायबाट के आशा छ भन्नुस ?

    के भन्ने ?

    – फाइनान्सियल असिस्टेन्स चाहिएको छ भन्नुभएको रहेछ ग्रुपमा, कस्तो सहयोगको आवश्यकता छ ?

    सबैले के छ समस्या भन्दाखेरि मात्रै भनेको हो मैले । मेन चाहना भनेको ममता भयो भने सबै समस्या आफैं सकियो । अरु कुरा चाहिँ यो यो गर्न सक्या छैन भन्या हो । सबै कुराहरु गर्न त सक्या छैन नि त । त्यति नै हो ।

    – कसैले भन्नुभो अमेरिकामा १८ दिनमै समस्या पर्ने के छ र ? दुई जना काम गर्ने, सिंगल घर, टेस्ला गाडी चढ्ने, बेसमेन्ट रेन्टमा छ, भेट्रानबाट पनि आउँछ होला भन्ने कुरा उठेको थियो । तपाईंकै मुखबाट आओस् भनेर सोधेको नि ?

    टेस्ला किनेर चढेको होइन, बैंकको हो । घर पनि बैंकको हो । तिर्नुपर्ने फाइभ मन्थ रन भइरहेको हुन्छ । धान्नै नसक्ने त अवस्था छैन । यो महिनाको ६-६ हजारको मोर्गेज तिर्नुपर्छ । ६ हजारको पे चेक कसैको पनि आउँदैन । के छ भन्दा रियल सिनारियोमा सिचुयसन त्यस्तै हो । इमोसनली फाइनान्सीयल्ली फिजिकल्ली एक्जस्टेड भएको अवस्था हो ।

    – अन्तिम तपाईं के भन्न चाहनुहुन्छ ?

    त्यत्ति नै हो । त्योबाहेक अरु कुनै मोटो पनि छैन । गोल पनि छैन । आउ… लिन आउनुपर्छ…. मान्छेलाई केही भन्दिनुपर्छ…. के गर्नुपर्छ । आइसकेपछि दुनियाँको हामीलाई सरोकार छैन । दुनियाँसँग ट्याकल गर्नुपर्दैन । जे गर्नुपर्छ भित्रै गरौंला ।

    अन्त्यमा सोध्छु, तपाईंले केही गर्‍या त होइन नि ममतालाई ?

    मैले केही पनि गर्‍या छैन । वादविवाद पनि भएको छैन ।

  • ममता भट्टका श्रीमानको गूगल सर्च- श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ ?

    ममता भट्टका श्रीमानको गूगल सर्च- श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ ?

    काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ ।

    काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो ।

    भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।

    प्रहरीले घटनास्थलमा हत्याका प्रमाणहरु नष्ट गर्न खोजिएका थुप्रै प्रमाण भेट्टाएको थियो । कार्पेटमा रगतको दाग देखिएको, वाथटवमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ । त्यसबाहेक भट्टले योजनावद्धरुपमा श्रीमतीको हत्या गरेको एउटा बलियो प्रमाण प्रहरीले पेश गरेको छ । त्यो हो, भट्टको गुगल सर्च हिस्ट्री । उनले अप्रिल २१ मा आफ्नो काम गर्ने कम्प्युटरबाट ‘how soon can a person get married after his wife dies’ श्रीमती मरेको कति दिनमा एउटा पुरुषले अर्को विहे गर्न सक्छ ?’ भनेर गुगल सर्च गरेका थिए ।

    उनकाे अर्को गुगल सर्च छ, ‘श्रीमतीको मृत्यूपछि उनले लिएको ऋण के हुन्छ ?’

    यसलाई पनि प्रमाणका रुपमा अदालतमा देखाइएको थियो ।

    नरेशका वकिलहरुले उनीविरुद्ध ठोस प्रमाण नभएको र कुनै अपराधिक पृष्ठभूमि नरहेकाले धरौटीमा छोडन अपिल गरेका थिए । नरेश स्वयम्ले भने केही पनि बोलेनन् ।

  • जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्ष कार्यसमितिको दुई तिहाइ बहुमतबाट निलम्बित

    जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्ष कार्यसमितिको दुई तिहाइ बहुमतबाट निलम्बित

    पोर्चुगल । जनप्रगतिशील मञ्च पोर्चुगलको अगस्ट २५ मा बसेको कार्य समितिको बैठकद्वारा गत फेब्रुअरीमा सम्पन्न सातौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष सीता ढकाल सुबेदीलाई कार्यसमितिको दुई तिहाइ बहुमतद्वारा निलम्बन गरिएको छ ।

    अध्यक्ष ढकालले मञ्चमा अराजकता सृजना गरेको, समितिका सदस्यहरुलाई गाली गलौच गर्ने, एकलौटी ढङ्गबाट सङ्गठन हित विपरीत क्रियाकलाप गरेको, सङ्गठनको गोपनीयता भङ्ग गरेको,आफू मञ्चको संयोजक हुँदादेखि समर्थक शुभेच्छुकहरूबाट संकलित आर्थिक हरहिसाब सङ्गठनमा पेस नगरी आर्थिक अपचलन गरेको लगायतका आरोप लगाउँदै बैठकले उनलाई सङ्गठनको सदस्यसमेत नरहने गरी कारबाही गरेको मञ्चले जनाएको छ ।

    बैठकले सङ्गठनको विशेष अधिवेशन ६ महिनाभित्र गर्नेगरी देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन गरेको छ ।

    जसमा सदस्यहरूमा रेशम बस्नेत, अनन्त तिवारी, दुर्गा पौडेल, सरिता शर्मा, युवराज खनाल, बुद्धि बरालीलगायत रहेका छन् ।

    बैठकले तत्काल समितिको बैठक बसी सङ्गठन बिस्तारका कार्यक्रमहरू सार्वजनिक गर्ने निर्णय गरेको छ ।

    मञ्चका वरिष्ठ उपाध्यक्ष रेशम बस्नेतको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव गोविन्द अधिकारीले गरेका थिए ।

  • युरोपमा हुनुहुन्छ ? फेसबुक ह्याक होला है !

    युरोपमा हुनुहुन्छ ? फेसबुक ह्याक होला है !

    भीएन । मेसेन्जरमा कुरा गरिरहेका साथी अचानक अफलाइन भए, पुन: कल गर्दा सम्पर्क भएन तर उनै साथीले ५ मिनेटपछि मोबाइल फोनमा फोन गरेर भने, ‘मेरो फेसबुक ह्याक भयो’ । शुरुमा ठट्टाजस्तो लागेपनि उनको फेसबुक खोलेर हेर्दा ५० हजार बिटक्वाइनमा लगानी गरेर ५ लाख पाएको स्ट्याटस र स्टोरी आइसकेको थियो । रिकभर गर्न अनेकौं प्रयास गर्दा पनि हामी सफल भएनौं, जसले ह्याक गरेको थियो उसले साथीको फेसबुकमा प्रयोग भएको इमेल र मोबाइल नम्बर परिवर्तन गरिसकेको थियो । युरोपमा बस्ने प्राय धेरै नेपालीहरू अहिले फेसबुक ह्याकको समस्याबाट पीडित छन् ।

    कसरी हुन्छ फेसबुक ह्याक र इमेल ?

    तपाईँलाई तपाईँको नजिक साथी, इस्टमित्र वा परिवारको सदस्यको नामबाट मेसेज आउन सक्छ, ‘म कुनै कम्पनीको ब्रान्ड एम्बास्डरमा भाग लिँदैछु, मलाई भोट गर वा तपाईँको फोन नम्बर पठाऊनुस् म इन्टरनेट फ्री पाउने लिंक पठाउँछु वा सीधै कुनै खेल जितेको वा अन्य लिंक आउँछ ।’ यस्ता लिंकलाई फिसिङ अट्याक (phising attack) भनिन्छ ।

    ‘फिसिङ’ भन्नाले प्रयोगकर्ताको नाम, पासवर्ड, क्रेडिट कार्ड नम्बर, बैंक खाता जानकारी वा अन्य महत्त्वपूर्ण डाटाको रूपमा प्रयोग गरी चोरी भएको जानकारीको प्रयोग वा बिक्री गर्नको लागि संवेदनशील जानकारी चोर्ने प्रयासलाई जनाउँछ । प्रलोभनपूर्ण अनुरोधको साथ एक प्रतिष्ठित स्रोतको प्रयोग गरेर, आक्रमणकारीले पीडितलाई छल गर्नको लागि प्रलोभन दिन्छ, जसरी माछा पक्रन माछा मार्ने चारा प्रयोग गर्दछ। यी आक्रमणहरू सामान्यतया इमेल वा तत्काल सन्देश मार्फत हुन्छन । यस किसिमको लिंक, थिच्दा मेसेजको जवाफ दिदा वा मेसेजमा भनेअनुसार काम गर्दा तपाइको फेसबुक ह्याक हुन्छ ।

    इमेल फिसिङबाट आफूलाई जोगाउने चार तरिकाहरू:

    1. सुरक्षा सफ्टवेयर प्रयोग गरेर आफ्नो कम्प्युटर सुरक्षित गर्नुहोस् । सफ्टवेयरलाई स्वचालित रूपमा अद्यावधिक गर्न सेट गर्नुहोस् ताकि यसले कुनै पनि नयाँ सुरक्षा खतराहरूको सामना गर्नेछ ।

    2. स्वचालित रूपमा अद्यावधिक गर्न सफ्टवेयर सेट गरेर आफ्नो मोबाइल फोन सुरक्षित गर्नुहोस् । यी अद्यावधिकहरूले तपाईंलाई सुरक्षा खतराहरू विरुद्ध महत्वपूर्ण सुरक्षा दिन सक्छ ।

    3. बहु-कारक प्रमाणीकरण (टू फ्याक्टर अथेन्टीकेसन) प्रयोग गरेर आफ्नो खाताहरू सुरक्षित गर्नुहोस् । केही खाताहरूले तपाईंको खातामा लग इन गर्न दुई वा बढी प्रमाणहरू आवश्यक गरेर अतिरिक्त सुरक्षा प्रदान गर्दछ । यसलाई बहु-कारक प्रमाणीकरण भनिन्छ । तपाईंले आफ्नो खातामा लग इन गर्न आवश्यक पर्ने अतिरिक्त प्रमाणहरू तीन चरणमा पर्छन्:

    तपाईंलाई थाहा छ- पासकोड, पिन, वा सुरक्षा प्रश्नको जवाफ जस्तै ।

    तपाईसँग भएको केहि चीज – जस्तै तपाईँले टेक्स्ट, इमेल, वा प्रमाणक एपबाट प्राप्त गर्नुभएको एक पटक प्रमाणीकरण पासकोड; वा सुरक्षा साँचो

    तपाईं केही हुनुहुन्छ – जस्तै तपाईंको औंठाछाप, तपाईंको रेटिना, वा तपाईंको अनुहारको स्क्यान

    बहु-कारक प्रमाणीकरणले स्क्यामरहरूलाई तपाईंको खाताहरूमा पासवर्ड पाउँदा पनि लग इन गर्न गाह्रो बनाउँछ ।

    4. आफ्नो डेटा ब्याकअप गरेर सुरक्षित गर्नुहोस् । बाह्य हार्ड ड्राइभ वा क्लाउडमा आफ्नो कम्प्युटरमा डाटा ब्याकअप गर्नुहोस् । आफ्नो फोनमा पनि डाटा ब्याकअप गर्नुहोस् ।

    फेसबुक ह्याक हुनबाट कसरी जोगिने ?

    आफ्नो पासवर्ड सुरक्षित गर्नुहोस:

    धेरै वेबसाइट वा एपहरूमा एउटै पासवर्ड पुन: प्रयोग नगर्नुहोस् । आफ्नो फेसबुक पासवर्ड अन्य कतै अनलाइन प्रयोग नगर्नुहोस्, र यसलाई अन्य व्यक्तिहरूसँग कहिल्यै नदिनुहोस । अनुमान गर्न गार्‍हो हुने पासवर्ड राख्नुहोस् । पासवर्डमा आफ्नो नाम वा सामान्य शब्दहरू समावेश नगर्नुहोस् । तपाईंका सबै खाताहरूको लागि फरक, बलियो पासवर्ड वा संकेत प्रयोग गर्नुहोस् ।

    दुई-कारक प्रमाणीकरण र अन्य सुरक्षा विकल्पहरू सेट अप गर्नुहोस

    दुई-कारक प्रमाणीकरणको प्रयोग गर्दा, तपाईँलाई प्रत्येक पटक एक विशेष लगइन कोड सोधिनेछ जब कसैले तपाईँको खाता ब्राउजर वा हामीले नचिनेको मोबाइल उपकरण चलाउने प्रयास गर्दछ । यदि तपाईँ कम्प्युटरमा फेसबुकमा लग इन हुनुहुन्छ भने, तपाईँको सुरक्षा सेटिङहरू समीक्षा गर्न वा दुई-कारक प्रमाणीकरण सेटअप गर्न सुरक्षा जाँच प्रयोग गर्न सक्नुहुन्छ । साथै तपाईं अपरिचित लगइनहरूको बारेमा अलर्टहरू पनि प्राप्त गर्न सक्नुहुन्छ ।

    आफ्नो लगइन जानकारी कहिल्यै कसैलाई नदिनुहोस्

    स्क्यामरहरूले फेसबुकजस्तो देखिने नक्कली वेबसाइटहरू सिर्जना गर्न सक्छन् र तपाईंलाई आफ्नो इमेल ठेगाना र पासवर्डको साथ लग इन गर्न सोध्न सक्छन् । तपाईंले आफ्नो लगइन गर्नुअघि सधैँ वेबसाइटको URL जाँच गर्नुहोस् । जब शंका लाग्छ, फेसबुकमा हेर्नको लागि आफ्नो ब्राउजरमा www.facebook.com टाइप गर्नुहोस् ।

    मेटाबाट अन्य व्यक्तिहरूलाई इमेलहरू फर्वार्ड नगर्नुहोस्, किनकि तिनीहरूसँग तपाईंको खाताको बारेमा संवेदनशील जानकारी हुन सक्छ ।

    तपाईंले नचिनेका व्यक्तिहरूको मित्र अनुरोधहरू नस्वीकार्नु होस् स्क्याम गर्नेहरूले फेसबुकमा साथीहरूलाई नक्कली खाताहरू बनाउन सक्छन्।स्क्याम गर्नेहरूसँग साथी बन्नुले उनीहरूलाई तपाइँको टाइमलाइन स्प्याम गर्न, तपाइँलाई पोष्टहरूमा ट्याग गर्न र तपाइँलाई दुर्भावनापूर्ण सन्देशहरू पठाउन सजिलो हुन्छ।

    तपाईँकै साथी वा तपाईँलाई चिनेको कम्पनीबाट आएको जस्तो देखिने, शंकास्पद लिंकहरू कहिल्यै नखोल्नुहोस् नगर्नुहोस् । फेसबुक (जस्तै पोष्टहरूमा), इमेल वा टेक्स्टहरू भएको लिंकहरू पनि सकेसम्म नखोल्नु होस् । मेटाले तपाईंलाई इमेलमा तपाईंको पासवर्ड माग्दैन ।

    यदि तपाईंलाई फेसबुकको लिंक शंकास्पद छ भन्ने, रिपोर्ट गर्नुहोस् । आफ्नो फोन वा आफ्नो कम्पुटर बाहेक का अन्य ठाउबाट लग इन गर्नु भयो भने काम सकिए पछि लग आउट गर्न नभुल्नुहोस् ।

  • कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

    कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

    पोर्चुगल । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ ।

    कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको छ ।

    प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले बताए।

    पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी हाल देखा परेको समस्यालाई मध्यनजर गरी परराष्ट्र मन्त्रालयसँगको समन्वयमा टोली पठाउने तयारी गरिएको राजदूत भट्टराईले बताए । टोलीले कन्सुलर विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायतका  कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलर सेवा प्रदान गर्ने उनले बताए ।

    राजदूत भट्टराईका अनुसार घुम्ती सेवाका लागि दूतावासका दुई जना कर्मचारी पोर्चुगल आउने तय भएको छ भने टोलीले करिब एक सातासम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने बताइएको छ ।

    गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको लिस्बनस्थित कार्यालयबाट प्रवाह गरिने घुम्ती सेवा सेप्टेम्बर ३ तारिखसम्म सञ्चालन हुने दूतावासले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको समन्वय र सहजीकरणमा घुम्ती सेवा सञ्चालन गर्न लागिएको हो ।

    टोली आउने भएपछि यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरु बढी लाभान्वित हुने भएका छन् ।

    दुई साताअघि मात्रै राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

     

  • नागरिकता खोइ ? अभियानले दबाबमूलक कार्यक्रम गर्ने

    नागरिकता खोइ ? अभियानले दबाबमूलक कार्यक्रम गर्ने

    काठमाडौं । विदेशमा बस्ने, त्यहीको नागरिकता लिएका र लिन चाहने नेपालीहरूले नागरिकताको निरन्तरताका लागि नागरिकता खोइ अभियानले नेपालमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।

    अभियानका लागि वासुदेव घिमिरेले अवसरका लागि विदेश गएका नेपालीहरूले नेपालको नागरिकताको निरन्तरताका लागि सरकारलाई दबाब दिने बताए ।

    उनले भने, ‘अवसरका लागि विदेशमा रहेका नेपाली सजिलोका लागि त्यहाँ नागरिकता लिएका छन् र लिन चाहेका छन्, तर, नेपाली नागरिकताको निरन्तरता नहुँदा चित्त बुझेको छैन त्यसैले सरकारलाई बुझाउन नागरिकता खोइ अभियानले दबाब मूलक कार्यक्रम गर्ने तयारी गरेको हो ।’

    नागरिकतालाई निरन्तरता दिँदा नेपाललाई नै ठूलो आर्थिक फाइदा हुने उल्लेख गर्दै उनले देश विकासका लागि पनि जरुरी रहेको बताए ।

    नागरिकता खोइ अभियान केही महिना अघि गठन भएको हो । विदेशमा बस्ने पाली यस अभियानमा जोडिन सक्ने उनले बताए ।

    नेपालको संविधानले दोहोरो नागरिकताको अवधारणालाई स्वीकार गरेर एनआरएन नागरिकता दिन थालेको छ । तर यसमा असन्तुष्टि रहेको उनले बताए ।

    एनआरएन नागरिकता लिनेले नेपाल जाँदा भिसा शुल्क समेत तिर्नुपर्ने तर आर्थिक र सामाजिक अधिकार उपयोग गर्न पाइने भनेपछि त्यसो हुन नसकेको उनले बताए ।

    एनआरएन नागरिकता लिनेलाई नेपालमा विद्यालय सञ्चालक समिति अध्यक्ष बन्न समेत अधिकार नदिएको उनले बताए । उनले चुनावमा मतदान गर्नेदेखि लिएर अरू अधिकार पनि दिनुपर्ने बताए ।

    नागरिकताको निरन्तरता दिँदा वार्षिक २०० अर्ब रुपैयाँ नेपाल भित्रिने उनले बताए ।

  • अमेरिकामा नर्स ममता काफ्लेको हत्या गरेको आरोपमा श्रीमान् नरेश भट्ट पक्राउ

    अमेरिकामा नर्स ममता काफ्लेको हत्या गरेको आरोपमा श्रीमान् नरेश भट्ट पक्राउ

    काठमाडौं । केहि हप्ताबाट हराएकी अमेरिकामा रहेकी नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेशले हत्या गरेको निचोडमा अमेरिकी प्रहरी पुगेको छ ।

    प्रहरीको पत्रकार सम्मेलन तथा भट्ट पक्राउसँगै यो कुरा सार्वजनिक भएको हो। नरेश भट्टलाई श्रीमती मारेको अमेरिकाको भर्जिनिया राज्यको मनासस प्रहरीले गिरफ्तार गरेको छ।

    भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र नवआमा काफ्लेले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन्।

    यो पनि पढ्नुहोस्- श्रीमानसँग खटपट भएकी नेपाली नर्स ममता काफ्ले अमेरिकामा बेपत्ता

    उनले सामाजिक सञ्जालको महिला समूहमा यो आग्रह गरेकी थिइन्। भट्ट पक्राउमा नेपाली समुदाय खुशी भएको छ ।

    सोही राज्यका एक नेपाली प्रसन्न सङ्ग्रौलाले टिप्पणी गरेका छन्, ‘कस्ता कस्ता नर पिचासहरूको जन्म हुन्छ यो दुनियाँमा !! स्वर्गीय ममता काफ्लेको आत्माले तब मात्र शान्ति पाउँछ जब यो नरपिचासलाई कानुनी रूपमा सदाका लागि काल कोठरीमा राखिनेछ।यस्तो दुखद घडीमा काफ्ले परिवारलाई हामी सबै मिलेर न्याय र राहत दिलाउन लागि पर्नुपर्छ ।’

  • अमेरिकाका तीन राज्यमा गौरा महोत्सव आयोजना हुने

    अमेरिकाका तीन राज्यमा गौरा महोत्सव आयोजना हुने

    अमेरिका । अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त २५) का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् ।

    राज्यस्तरमा स्थापना भएका सुदूरपश्चिम नेपाली समाजको आयोजनामा हुन लागेको गौरा महोत्सवको आवश्यक तयारी गरिएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक चाड हो ।

    सुदूरपश्चिम प्रदेशमा साताव्यापी रुपमा मनाउने गरिए पनि अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा एक दिन उत्सवका रुपमा मनाउन लागिएको मेरिल्यान्डका समाजसेवी तथा समाजका पूर्वअध्यक्ष दमनविक्रम शाहले  बताए ।

    आयोजकका अनुसार गौरा महोत्सवका दिन सुदूरपश्चिमको प्रमुख बाजा दाइन, दमाहा, झ्यालीसहित सांस्कृतिक झाँकीहरुको प्रदर्शनी, डेउडा, छलिया, हुड्केली तथा गौरा नाचका साथै सुदूरपश्चिमका चर्चित कलाकारको प्रस्तुति रहने छ ।

    नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास राज्यमा भौगोलिक बनावटअनुसार ड्यालस र अस्टिन गरी दुई स्थानमा गौरा उत्सव कार्यक्रमको आयोजना गरिने छ ।

    सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीका अनुसार गौरा महोत्सवमा गौरादेवीको पूजाआजा, विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शनी, डेउडा खेल, छलिया तथा हुड्केली नाच तथा सुदूरपश्चिमका चर्चित कलाकार नन्दकृष्ण जोशी, शङ्करसिंह विष्ट लगायतका कलाकारहरुको प्रस्तुति रहनेछन् ।

    सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशेष पर्व भएकाले सुदूरपश्चिमेलीहरुले जहाँ भए पनि गौरा पर्वलाई महत्वका साथ मनाउँदै आएका छन् ।

    अमेरिकामा विभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीलाई एकै स्थानमा जम्मा गरेर गौरा पर्व मनाउँदा सांस्कृतिको संरक्षण हुने सुदूरपश्चिमेली अगुवाको धारणा छ । प्रवासमा गौरा पर्व मनाउँदा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा टेवा पुग्नाका साथै अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण हुने सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्वअध्यक्ष रामबहादुर देउवा बताउनुहुन्छ ।

    महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ । गौरा विसर्जन गरिने मठमन्दिरमा भाद्र सङ्क्रान्तिका दिन पुरुष जम्मा भएर देवीदेवताको ठाडो (डेउडा_ खेल लगाउँदै गौरा पर्व सुरु भएको सन्देश दिने गरिन्छ ।

    पञ्चमीका दिन महिलाले सामूहिक रुपमा बिरुडा (पाँच प्रकारका अन्न मिसाएर बनाइने) स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवा र नाउलामा गौरा पुज्ने तथा अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने चलन छ । एक साता मनाइने गौरा पर्व धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व भएको टेक्सासको अस्टिनका समाजसेवी भोजराज भट्टको धारणा रहेको छ ।

    “एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छभने अर्कोतिर नेपाल एकीकरणका वीरगाथा डेउडाका रूपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ, सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि पर्वको महत्व जोडिएको छ”, उनले भने, “रामायणकाल, महाभारतकाल र आधुनिक कालखण्डलाई जोड्ने गौरा पर्वले विगतलाई सम्झिने, वर्तमान र भविष्यलाई सुखद बनाउने लक्ष्यअनुरूप मनाउने गरेको पाइन्छ ।”

    रासस

  • अष्ट्रेलियाबाट लिङ्देनको प्रश्न- ३५ वर्ष शासन गरेका ठूला दललाई देश बनाउन कसले रोक्यो ? (भिडिओ)

    अष्ट्रेलियाबाट लिङ्देनको प्रश्न- ३५ वर्ष शासन गरेका ठूला दललाई देश बनाउन कसले रोक्यो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ०४६ सालको राजनीतिक परिवर्तनपछि राजा ज्ञानेन्द्रले १८ महिनामात्रै प्रत्यक्ष शासन चलाएको बताएका छन् । त्यो १८ महिनाबाहेक कांग्रेस, एमाले र माओवादीले नै निरन्तर ३५ वर्ष शासन गरेको भन्दै तर पनि देशमा थुप्रै समस्या रहेको उनको जिकिर छ ।

    प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया राज्य समितिले एडिलेडमा आयोजना गरेको अनुतरक्रिया कार्यक्रममा लिङदेनले भने, ‘यहाँ आएर पनि हामी राजालाई गाली गर्छौँ । ०४६ सालको राजनीतिक परिवर्तनपछि राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाएको १८ महिनाबाहेक बाँकी समय नेपालमा भएका ठूलो दल र तीनै नेताहरूले देश चलाएको होइन ?’

    ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रमा तपाईंहरूले नै भगवान् मानेका कांग्रेस एमालेले देश चलाएको होइन ?’ उनको प्रश्न थियो ।

    लिङदेनले थपे, ‘कांग्रेस, एमालेले शासन चलाएको साढे तीन दशक चानचुने समय होइन । यो अवधिमा हाम्रा युवाहरूले दुबई, कतार, मलेसिया बनाए । तर, हाम्रो देश बन्न सकेन । अब राजालाई गाली गरेरमात्रै पुग्छ त ? कांग्रेस, एमाले, माओवादीले देश बनाएकै हो त ? एकचोटि सम्झनुस् । विमानस्थलमा ताली लागेर देश छाड्ने युवायुवतीहरू देखिन्छन्, यो ३५ वर्षमा कांग्रेस, एमाले, माओवादीलाई देश बनाउन कसले रोक्यो ?’

    पानस अष्ट्रेलियाको अधिवेशनका लागि अष्ट्रेलिया पुगेका लिङेनसँगै राप्रपा कोशी संसदीय दलका नेता भक्ति सिटौला, राप्रपा विदेश विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजंग कार्की पनि पुगेका थिए ।

  • क्यानडा पढ्न जाने नेपाली विद्यार्थी र अभिभावकलाई दूतावासका ७ सुझाव

    क्यानडा पढ्न जाने नेपाली विद्यार्थी र अभिभावकलाई दूतावासका ७ सुझाव

    काठमाडौं । क्यानडामा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई दूतावासले सात बुँदे सुझाव दिएको छ ।

    एक सूचना जारी गर्दै दूतावासले आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदीका बारेमा पर्याप्त खोजी गर्न सुझाएको छ ।

    यस्तै अध्ययनका लागि आउनुपूर्व क्यानडामा रहेका आफन्त, साथीहरू, विद्यार्थीहरूको सोसल मिडिया नेटवर्क, सम्बन्धित शहरका गैर आवासीय नेपाल संघ लगायत संघसंस्थाहरुलाई आफू आउन लागेको ठाउँ, खर्च, रोजगारीको सम्भावनाका बारेमा बुझेर जानकारी लिएर मात्रै आउन सुझाव दिएको छ ।

    क्यानडा जानासाथ रोजगारी पाइन्छ भनने भ्रमले धेरै विद्यार्थीहरू समस्या पर्ने गरेको स्मरण गराउँदै दूतावासले सम्पूर्ण आवश्यक खर्चको यथोचित प्रबन्ध गरेर मात्रै आफ्ना छोराछोरीलाई पठाउन अभिभावकहरूलाई सुझाव दिएको छ ।

  • श्रीमानसँग खटपट भएकी नेपाली नर्स ममता काफ्ले अमेरिकामा बेपत्ता

    श्रीमानसँग खटपट भएकी नेपाली नर्स ममता काफ्ले अमेरिकामा बेपत्ता

    काठमाडौं । हालसालै आमा भएकी अमेरिका निवासी एक नेपाली महिला बेपत्ता भएकी छन् ।

    उनी अमेरिकाको वासिङटन डीसी नजिकैको भर्जिनिया क्षेत्रको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पस अन्तर्गतको प्रिन्स विलियम अस्पतालमा नर्स जागिर गर्ने ममता गत जुलाई ३१ बाटा बेपत्ता भएको भन्दै मिनासास क्षेत्रका स्थानियले प्रहरीमा उजुरी गरेका छन् ।

    मिनाासास पार्क क्षेत्रको प्रहरीले पनि ममता हराएको सूचना सार्वजनिक गरेको छ । अमेरिकी मिडियाहरु वासिङटन पोस्टदेखि विभिन्न संचारमाध्यमहरुमा ममता हराएको सूचना समाचार भएका आएका छन् । २८ वर्षकी ममताको श्रीमानसँग खटपट भएको सूचना सामाजिक संजाालबाट सार्वजनिक भएको छ ।

    सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया नामक फेसबुक पेजमा केही समय अगाडि ममताले श्रीमानसँग खटपट भएको संकेत गरेकी थिइन् ।

    उनले लखेकी थिइन्, ‘हाई म ६ महिने बच्चाकी आमा हो । म श्रीमानसँग अलग हुन खोजिरहेको छु । म हप्ताको दुई दिन काम गर्छु । तर, मेरा श्रीमानले मलाई बच्चालाई हेर्न साथ दिएका छैनन् । म अलग भएपछि उनले बच्चालाई बाल कस्टडीमा राख्छु भन्छन् । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारेमा सहयोग चाहियो । मलाई सामाजिक कार्यकर्ताबबाट सहयाोग र केही सल्लाह चाहियो ।’

  • पेरिस र काठमाडौंबाट गएको टोलीको पोर्चुगलमा राहदानी शिविर, ३८ सय बढी नवीकरण

    पेरिस र काठमाडौंबाट गएको टोलीको पोर्चुगलमा राहदानी शिविर, ३८ सय बढी नवीकरण

    काठमाडौं । ५० हजार बढी नेपाली बसोबास गरेको पोर्चुगलमा नेपाल सरकारले घुम्ती राहदानी शिविर सञ्चालन गरेको छ ।

    गत अगस्ट २ बाट १३ सम्म राजधानी लिस्बनमा भएको शिविरमा परराष्ट्र मन्त्रालय काठमाडौं र फ्रान्सको पेरिस्थित नेपाली राजदूतावास कार्यालयबाट गएको टोलीले शिविर सञ्चालन गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    नाबालक, नवीकरण र हराएका गरेर ३८२९ राहदानी नवीकरण भएको छ । त्यसबाट ४ लाख ९१ हजार ५८० राजस्व उठेको छ ।

    पछिल्लो समयमा युरोप छिर्ने गेट वेको रूपमा नेपालीहरू पोर्चुगल ठूलो सङ्ख्यामा गएका छन्। तर, नेपाली राजदूतावास खोल्ने निर्णय भने हालसालै मात्र भएको हो ।

    २०८० कात्तिक २३ गते नेपालले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेको छ ।

  • प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अधिवेशन तय, लिङ्देन जाने

    प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अधिवेशन तय, लिङ्देन जाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अष्ट्रेलियाको मेलबर्न जाने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौ अधिवेशनका लागि एक सातापछि उनी जाने भएका हुन् ।

    प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लिङ्देनले त्यहाँ रहेका नेपाली समूदायसँग अन्तरक्रिया गर्नेछन् ।

    लिङ्देनसँगै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला पनि जाने तय भएको छ । मेलबर्नपछि एडिलेडमा एक कार्यक्रममा सहभागी भएर लिङ्देन सिड्नीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् ।

    प्रवासी एकता समाजमध्ये अष्ट्रेलियाको संस्था राप्रपाको बलियो संस्था मानिन्छ ।

  • शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

    शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

    वासिङ्टन, डिसी । इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।

    यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो ।

    सरकारको निर्देशनअनुसार समय–समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।

    सोही राज्यको कार्वोण्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी बालकोट भक्तपुरकी राजती दाहालले शिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त भएकामा प्रसन्नता प्रकट गरिन् ।

    यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उनले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरिन् ।

  • लेबनानमा भएका नेपालीको सुरक्षाको लागि पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सरकारलाई आग्रह

    लेबनानमा भएका नेपालीको सुरक्षाको लागि पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सरकारलाई आग्रह

    काठमाडौं । इजरायल र हेजबुल्लाको युद्ध हुनेतर्फ संकेत गर्दै पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारलाई नेपालीको सुरक्षामा काम गर्न आग्रह गरेका छन् ।

    सामाजिक सञ्जाल एक्स (साविकको ट्विटर) मा ज्ञवालीले लेखेका छन्, ‘इजरायल र हेजबुल्लाको तनाव बढिरहेको र आमनेसामने हुने देखिएकोले लेबनानमा कार्यरत नेपाली नागरिकहरूको अवस्था संवेदनशील भएको छ । उनीहरूको सुरक्षाको लागी सरकारलाई आवश्यक सहकार्य र सतर्कताको लागि आग्रह गर्दछु ।’

  • पर्वतका नेपालीको कोरियामा वनभोज (तस्बिरहरु)

    पर्वतका नेपालीको कोरियामा वनभोज (तस्बिरहरु)

    काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कोरिया पुगेका पर्वतेहरुले वनभोज खाएका छन् । पर्वत समाजले गर्मी विदाको अवसर पारेर सांस्कृतिक कार्यक्रम तथा वनभोज आयोजना गरेको हो ।

    थेसंग्री योग नजिकै आयोजित वनभोजमा करिब २०० जनाको सहभागीता रहेको थियो । कोरियामा सबै नेपालीहरु आआफ्नो काममा व्यस्त रहने भएकाले एउटै जिल्लाका भए पनि नियमित भेटघाट हुन पाउँदैन । यस्तोमा यो कार्यक्रम निकै भावनात्मक र मनोरञ्जक बनेको थियो । सहभागीहरुले पर्वत नै पुगेको महसुस गरे ।

    हाल कोरियामा रहेका फोटोपत्रकार श्रीधर पौडेलले वनभोज कार्यक्रमका केही तस्विरहरु हामीलाई उपलब्ध गराएका छन् ।

  • प्रवासी श्रमिकहरूको समस्याबारेमा प्रमुख तीन दलका नेताहरूको छलफल

    प्रवासी श्रमिकहरूको समस्याबारेमा प्रमुख तीन दलका नेताहरूको छलफल

    काठमाडौं । आप्रवासी श्रमिकको रूपमा विभिन्न मुलुकमा पुगेका नेपालीहरूको समस्याबारेमा तीन प्रमुख दलका नेताहरूले छलफल गरेका छन् ।

    नेपाली कांग्रेसका नेता धनराज गुरुङ, नेकपा एमालेका नेता राजन भट्टराई र नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले छलफल गरेका छन् ।

    भेटबारेमा नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने, ‘आजको बसाइँमा प्रवासमा रहेका विशेष गरी खाडी मुलुकहरू र मलेसिया, कोरिया, जापान लगायतका देशमा रहेका श्रमिकहरूका समस्याहरू र तिनको समाधानका लागि राज्य तर्फबाट के कस्ता नीतिगत र कार्यक्रमिक सुधारहरू गर्नुपर्ने हुन सक्छन् यिनै विषयमा केन्द्रित रहेर छलफल गरियो ।
    यस खालको छलफललाई निरन्तरता दिने र आवश्यक पर्दा अन्य सरोकारवाला र विज्ञहरूसँग समेत सामूहिक छलफल अगाडि बढाउने र छिटो भन्दा छिटो समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरूलाई विषयहरू अवगत गराई समाधानका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता साथ उठियो ।’

  • साथीको हत्या आरोपमा यूएईमा जेल परेका पहलमान नेपाल फर्किए, ५५ लाख बुझाएका थिए ब्लड मनी

    साथीको हत्या आरोपमा यूएईमा जेल परेका पहलमान नेपाल फर्किए, ५५ लाख बुझाएका थिए ब्लड मनी

    काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईमा साथीको हत्या अभियोगमा ५ वर्ष जेल परेका पहलमान थापा मगर नेपाल फर्किएका छन् । सारजाह जेलमा कैदी जीवन बिताइरहेका नेत्रवती गाउँपालिका-४ धादिङका मगर बुधबार बिहान नेपाल फर्किएका हुन् ।

    पहलमानलाई सन् २०१९ को जुन ३ मा मध्यविन्दु नगरपालिका-११ नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो । सोही हत्या आरोपमा पहलमानसहित चिसंखुगढी-३ ओखलढुंगाका भुवन श्रेष्ठ पनि संलग्न भएको भन्दै यूएईको उपल्लो अदालतले आजीवन काराबाससँगै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो ।

    श्रेष्ठ गत बिहीबार नेपाल फर्किएका थिए । एउटै मुद्दामा सँगै जेल परेका दुईमध्ये श्रेष्ठ अगाडि नै फर्किए पनि पहलमानको पासपोर्टको म्याद सकिएकाले सँगै फर्किन पाएनन् । सारजाह जेल र नेपाली दूतावासको समन्वयमा एकतर्फी यात्रा अनुमति पत्र बनाएर पहलमान बुधबार नेपाल फर्किएको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

    हत्या आरोप लागेका भुवन र पहलमानलाई प्रतिव्यक्ति १ लाख ५० हजार युएई दिराम ( जम्मा ३ लाख दिराम ) पीडित परिवारलाई नेपालमा दिने तथा ५ वर्षको जेल सजाय सारजाहको उपल्लो अदालतले फैसला सुनाएको थियो । जेल सजाय भुक्तान गरिरहेका उनीहरूको उद्धारका लागि नेपालमा अभियान सञ्चालन गरी आर्थिक संकलन गरी पीडित परिवारलाई बुझाइएको थियो । पहलमानलाई नेपाल मगर संघ केन्द्र तथा नेपाल मगर संघ यूएईका पूर्वअध्यक्ष भुवन मगरले विमानस्थलमा स्वागत गरे ।

    हत्या आरोपमा जेल जीवन बिताइरहेका भुवन र पहलमानको उद्दारका लागि संसारभरका नेपालीले पैसा संकलन गरेर सहयोग रकम जुटाएका थिए ।

    स्थानीय प्रशासनद्वारा अनुसन्धान गरी यूएईका अदालतमा पेश भएका कागजात अनुसार श्रेष्ठ र मगरले मदिरा सेवन गरी आफ्नै साथी नवलपुरका बाबुराम आलेमगरको छुरा प्रहार गरी हत्या गरेको उल्लेख छ ।

    आफ्नो श्रीमान बाबुरामको हत्या हुँदा उनकी श्रीमती नरिमा आलेमगर पनि वैदेशिक रोजगारिकै क्रममा यूएईमा भएको र उनैले किटानी जाहेरी दिएकी थिइन । सुनुवाइका क्रममा नेपाली दूतावास आबुधावीका स्थानीय जनसम्पर्क अधिकृत पीआरओ इरफान आलम पनि सहभागी थिए ।

    यूएईको अदालतले ब्लडमनीको फैसला गरेपनि सो फैसलालाई तोडमोड गरी दिनगन्ती गर्दै भुवन र पहलमानलाई यसअघि मृत्‍युदण्ड दइन लागेको भन्दै सामाजिक सञ्जालको प्रयोग गरी अनधिकृतरूपमा केही व्यक्तिहरूले रकम असुलेको पाइएको थियो ।

    त्यसपछि भुवन श्रेष्ठको बुवा यमनारायण र पहलमानका लागि मगर संघको नेतृत्वमा खाता खोलिएको थियो ।

    पीडितलाई बुझाउन संकलन गरिएको ब्लडमनी नेपालमै बुझाए पनि झण्डै ८ लाख रकम पुनः अपुग भएको भन्दै यूएई अदालतले कागजात फर्काएको र पूर्ण रकम लिएको र दिएको कागजात सहित पुनः नेपाली दूतावास अवुधावीका श्रम काउन्सिलर दीनबन्धु सुवेदी स्वयम् आफैँले समन्वयव गरी सारजहाको उपल्लो अदालत, विभिन्न निकाय पुगेर भुवनलाई नेपाल फिर्ता पठाउन पहल गरेका थिए ।

    पछिल्लो समय धेरै नेपाली यूएईका जेलमा रहेको र धेरै जसोको मुद्दा लागुऔषधसँग सम्बन्धित रहेको पाइएको भन्दै यहाँको दूतावासले सामाजिक संघसंस्थासँग मिलेर सचेतनामूलक कार्यक्रम गर्न लागेको जनाएको छ ।

  • युरोपमा समस्या भोग्दै नेपाली श्रमिक र विद्यार्थी

    युरोपमा समस्या भोग्दै नेपाली श्रमिक र विद्यार्थी

    भियना । पछिल्लो समय श्रमिकको रुपमा युरोप छिर्ने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । प्रक्रियागत रुपमा वैधानिक बाटोबाट युरोप छिर्ने नेपाली श्रमिकहरुले कूटनैतिक समस्या भोग्नुपरेको बताएका छन् ।

    नेपालबाट विभिन्न विज्ञापन गरेर म्यानपावर कम्पनी, दलाल र बिचौलियाहरुले युरोप छिराएका नेपाली श्रमिकहरुले पाउने सिजनल भिसा ६ देखि ८ महिनाको हुन्छ । जुन समयमा उनीहरुले सामान्यतया खेतबारीमा काम गर्छन् ।

    तर युरोप आउने नेपाली श्रमिकहरुले म्यानपावर कम्पनी, दलाल र बिचौलियाहरुलाई १२ देखि १८ लाखसम्म बुझाउने गरेका छन् । युरोपमा ६ देखि ८ महिनाको श्रमिक सिजनल भिजामा आउनेले बढीमा ८ हजार युरो अर्थात् ११ लाख नेपाली रुपैयाँ कमाउन सक्छन् । जुन खर्चभन्दा कम हो ।

    म्यानपावर कम्पनी, दलाल र बिचौलियाहरुले उनीहरुलाई सिजनल भिसा परिवर्तन हुने, श्रम स्वीकृति पाउने, भिसा आफैं थपिने, यति वर्षपछि परिवार लैजान पाउने जस्ता अनेकौं आश्वासन दिने गरेको श्रमिकहरु बताउछन् ।

    युरोपमा विद्यार्थी भिसामा आउनेहरुको समस्या पनि श्रमिकहरुको जस्तै छ । सरकारी विश्वविद्यालयहरुमा तेस्रो मुलुकबाट आउने विद्यार्थीले शुल्क तिर्नपर्दैन वा एकदम न्यून शुल्क तिर्नुपर्छ, तर भर्ना प्रक्रिया केही लामो र झन्झटिलो छ ।

    सरकारी विश्वविद्यालयहरुमा भर्ना पाएका विद्यार्थीहरुले भिसा पाउने सम्भावना बढी हुन्छ । विश्वविद्यालयहरुमा भर्ना पाउन विनाएजेन्ट नै आवेदन दिन सकिन्छ । भर्ना प्रक्रियाको बारेमा हरेक विश्वविद्यालयले आवश्यक जानकारी प्रस्टसँग आफ्नो वेबसाइटमा राखेको हुन्छ । सोसम्बन्धी जानकारी दिने कर्मचारीहरु हुन्छन्, सम्पर्क व्यक्तिको इमेल ठेगाना हुन्छ, तर विद्यार्थी भिसामा युरोप पठाउने एजेन्टहरु सरकारीभन्दा निजी विश्वविद्यालयहरुमा विद्यार्थी पठाउन जोड गर्ने गरेका छन् ।

    युरोपमा अधिकांश निजी विश्वविद्यालय विदेशी लगानीमा खुलेका हुन्छन्, उनीहरु बढीभन्दा बढी विद्यार्थी भर्ना गरेर आफ्नो व्यापार बढाउने र लगानी उठाउने सोचमा हुने हुँदा भर्ना प्रक्रिया खुकुलो राख्छन् । विद्यार्थीले भर्ना त सजिलै पाउँछ, तर भिसा प्रक्रिया गाह्रो अनि लामो पनि हुन्छ । विश्वविद्यालयको शुल्क पनि महँगो हुन्छ । विद्यार्थीलाई काम गर्न सरकारले लगाएको बन्देजले पनि युरोप आएका नेपाली विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन् ।

    युरोप आएका श्रमिक र विद्यार्थीहरुले भोग्ने अर्को ठूलो समस्या हो ई-पासपोर्ट नवीकरण । जसरी नेपालीहरु संसारका विभिन्न देशमा पुगिरहेका छन्, निश्चय पनि ती सबै देशमा नेपाली दूतावास छैन । नेपालको कूटनीतिक सम्बन्ध १८२ देशमा विस्तार भएको छ । नेपालमा विश्वका ३१ देशका दूतावास, ६ वाणिज्य दूतावास र १ अन्य कूटनीतिक प्रतिनिधि छन् । त्यस्तै नेपालले हाल विश्वभर करिब ३९ वटा कूटनीतिक प्रतिनिधित्व राखेको छ ।

    युरोपमा नेपालीहरुको बाक्लो उपस्थिति रहेका देशहरु पोर्चुगल, साइप्रस, माल्टा, रोमानिया, क्रोएसियालगायतका देशहरु गरी झन्डै १६४ वटा देशहरुमा दूतावास वा वाणिज्य दूतावास छैनन् । आर्थिक र अन्य हिसाबले संसारभर दूतावास वा वाणिज्य दूतावास खोल्न सम्भव नहोला, तर पछिल्लो समय नेपाली श्रमिकहरुको लोकप्रिय गन्तव्य बनेका देशहरु पोर्चुगल, साइप्रस, माल्टा, रोमानिया, क्रोएसिया जस्ता देशहरुमा दूतावास नहुँदा नेपालीहरुले दुःख पाउने गरेका छन् ।

    छोटो समयको लागि श्रमिक भिसामा आएका नेपालीहरुलाई काम गर्न आएको कम्पनीले कामबाट निकालिदिने र यसैबीचमा पासपोर्टको समय सकिएर नवीकरण गर्नुपर्ने वा युरोप आएर सबै कुराको व्यवस्थापन नहुँदै पासपोर्टको समय सकिएर नवीकरण गर्नुपर्ने जस्ता समस्या नेपाली श्रमिकहरुले भोगिरहेका छन् ।

    आफू काम गर्न वा पढ्न आएको देशमा नेपालको कूटनैतिक सेवासुविधा हुँदा त श्रमिक वा विद्यार्थीहरुलाई केही समस्या हुँदैन, तर पासपोर्ट नवीकरण गर्न अन्य देशमा जानुपर्दा ट्राभल डकुमेन्ट नबन्ने अवस्थाले नेपालीहरु मारमा परेका छन् ।

    नेपाल सरकारले घुम्ती टोली पठाएर पासपोर्ट नवीकरणको समस्या समाधान गर्न त खोजेको छ, तर ठूलो संख्यामा नेपाली रहेका देशहरुमा घुम्ती टोली सेवा पर्याप्त छैन । सेवाग्राही नेपालीहरुले भोगे जस्तै समस्या नेपाली दूतावासका कर्मचारीहरुले पनि भोगिरहेका छन् । पासपोर्ट नवीकरणमा सम्बन्धित सेवाग्राही स्वयं उपस्थित नभई बिचौलियामार्फत काम गर्न लगाउने गरेको दूतावासका कर्मचारीहरुकाे भनाइ छ ।

  • प्रवासी नेपाली मञ्च कुवेत राष्ट्रिय कमिटीको सम्मेलन सम्पन्न

    प्रवासी नेपाली मञ्च कुवेत राष्ट्रिय कमिटीको सम्मेलन सम्पन्न

    काठमाडौं । प्रवासी नेपाली मञ्च कुवेत राष्ट्रिय कमिटीको चौथो राष्ट्रिय सम्मेलन कुवेत सिटीमा सम्पन्न भएको छ ।

    शनिबार आयोजित सम्मेलनको उद्घाटन नेकपा एमाले स्थाई कमिटीका सदस्य, प्रवास इन्चार्ज तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले गरेका थिए ।

    सो सम्मेलनले रुपेन विक्रम हमालको नेतृत्वमा कुवेत राष्टिय कमिटीको चयन गरेको छ ।

    नेपाली पञ्चैबाजा र नेपालका कलाकारहरुको प्रस्तुतीसहित आयोजना गरिएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भट्टराईले सम्मेलन सफलताको शुभकामना दिनुका साथै नेकपा एमालेका अध्यक्षको नेतृत्वमा बनेको वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने, अर्थतन्त्रलाई सकारात्मक दिशामा चलायमान बनाउने र सुशासनको प्रत्याभूति दिलाउन लाग्ने बताए ।

    प्रवासमा काम गर्ने श्रमिकहरुको हितमा वर्तमान सरकारले प्राथमिकताका साथ काम गर्ने र श्रमिकको हक, हित र सुरक्षाका लागि देशको कानुन र नीतिमा अवश्यकता अनुसार परिवर्तन गर्ने र कुवेत लगायत विभिन्न मुलुकहरुसँग श्रम सम्झौताका लागि पहल गर्नेछ भनी विश्वास दिलाए ।

    उक्त समारोहलाई कुवेतका लागि नेपाली राजदुत घनश्याम लम्साल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, कुवेतस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए। नेपाली श्रमिकहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा सहयोगी संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

  • साथीकाे हत्या गरेर यूएईमा ५ वर्षदेखि जेल जीवन बिताइरहेका भुवन नेपाल फर्किए, पहलमान पनि छिट्टै फर्किने

    साथीकाे हत्या गरेर यूएईमा ५ वर्षदेखि जेल जीवन बिताइरहेका भुवन नेपाल फर्किए, पहलमान पनि छिट्टै फर्किने

    दुबई । संयुक्त अरब इमिरेट्स युएईमा ५ वर्षदेखि जेल जीवन बिताइरहेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् ।

    युएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका चिशखुगढी ३ ओखलढुंगाका भुवन श्रेष्ठ बिहीबार बिहान नेपाल फर्किएका हुन् ।

    श्रेष्ठलाई सन् २०१९ को जुन ३ मा मध्यविन्दु नगरपालिका ११ नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो ।

    सोही हत्या आरोपमा नेत्रवती गाउँपालिका– ४ धादिङका पहलमान थापा पनि संलग्न भएको भन्दै युएईको उपल्लो अदालतले आजीवन कारावास हुँदै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो । पहलमान अहिलेपनि युएईको सारजाह जेलमा छन् ।

    हत्या आरोप लागेका भुवन र पहलमानलाई प्रतिव्यक्ति १ लाख ५० हजार युएई दिराम (जम्मा ३ लाख) दिराम पीडित परिवारलाई नेपालमा दिने तथा ५ वर्षको जेल सजाय सारजाहको उपल्लो अदालतले फैसला सुनाएको थियो ।

    जेल सजाय भुक्तान गरिरहेका उनीहरूको उद्धारका लागि नेपालमा अभियान सञ्चालन गरी आर्थिक संकलन गरी पीडित परिवारलाई बुझाएपछि भुवन बुधबार साँझ सारजाह रिहाई भई राती एयर अरबिया मार्फत नेपाल फर्किएका हुन् ।

    हत्या आरोपमा जेल जीवन बिताइरहेका भुवन र पहलमानको उद्धारका लागि संसारभरका नेपालीले पैसा संकलन गरेर सहयोग रकम जुटाएका थिए ।

    संकलित रकम नेपालमै रहेको पीडित परिवारलाई बुझाई परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग मार्फत नेपाली दुतावासमा कागजपत्र पठाएपछि नेपाली दुतावास अवुधावीले कानुनी प्रकृया पुरा गरेर भुवनलाई नेपाल पठाएको हो ।

    एकैजनाको हत्या आरोपमा भुवन र पहलमान संलग्न भएपनि पहलमानको पासपोर्टको म्याद सकिएको र अन्य कागजी प्रकृया बाँकी रहेकाले छिट्टै नेपाल फर्किने नेपाली दुतावास आबुधाबीले जनाएको छ ।

    स्थानीय प्रशाशनद्वारा अनुसन्धान गरी युएईको अदालतमा पेश भएका कागजात अनुसार श्रेष्ठ र मगरले मदिरा सेवन गरी आफ्नै साथी नवलपुरका बाबुराम आलेमगको छुरा प्रहार गरी हत्या गरेको र आफ्नो कसुर पीडितहरुले स्विकारेका आधारमा ब्लडमनीको फैसला सुनाएको हो ।
    आफ्नो श्रीमान बाबुरामको हत्या हुँदा उनकी श्रीमती नरिमा आलेमगर पनि बैदेशिक रोजगारीकै क्रममा युएईमा भएको र उनैले किटानी जारीसहित अनुसन्धानका लागि निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी अनुसन्धान गरी अदालतमा सुनुवाई भएको थियो । सुनुवाईका क्रममा नेपाली दुतावास आबुधावीका स्थानीय जनसम्पर्क अधिकृत पीआरओ इरफान आलम पनि सहभागी थिए ।

    युएईको अदालतले ब्लडमनीको फैसला गरेपनि सो फैसलालाई तोडमोड गरी दिनगन्ती गर्दै भुवन र पहलमानलाई यस अघि मृत्‍युदण्ड दिइन लागेको भन्दै बिभिन्न सामाजिक सन्जालको प्रयोग गरी अनाधिकृत रुपमा केही व्यक्तिहरुले रकम असुलेको समेत पाइएको थियो ।

    त्यसो नगर्न सरोकारवालाहरुले सुझाएपछि ब्लडमनी संकलनका लागी भुवन श्रेष्ठको बुवा यम नारायण श्रेष्ठको नाममा राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर रकम संकलन अभियान सुरु गरिएको स्थानीय वार्ड अध्यक्ष भीष्म श्रेष्ठले जानकारी दिए ।

    पीडितलाई बुझाउन संकलन गरिएको ब्लडमनी नेपालमै बुझाए पनि झण्डै ८ लाख रकम पुनःअपुग भएको भन्दै युएई अदालतले कागजात फर्काएको र पूर्ण रकम लिएको र दिएको कागजातसहित पुनः नेपाली दुतावास अवुधावीका श्रम काउन्सिलर दीनबन्धु सुवेदी स्वयम् आफैले समन्वयव गरी सारजहाको उपल्लो अदालत , विभिन्न निकायहरुमा पुगेर भुवनलाई नेपाल फिर्ता पठाउन पहल गरेका थिए ।

    नेपाली दुतावास आबुधाबीले पीडितको तर्फबाट बहस पैरवी गर्न दुतावासका स्थानीय जनसम्पर्क अधिकृत इरफान आलमलाई खटाएको थियो ।

     

  • विदेश जाने सोचाईमा हुनुहुन्छ ? यी देशहरू हुन् परिवारसहित बस्न उपयुक्त

    विदेश जाने सोचाईमा हुनुहुन्छ ? यी देशहरू हुन् परिवारसहित बस्न उपयुक्त

    पोर्चुगल । तपाईं पनि विदेश जाने सोचाई राखिराख्नु भएको छ । यदि छ भने यो पनि विचार गर्नु जरूरी छ है, आफू मात्र गएर पनि भएन परिवार पनि लैजान पर्यो । परिवारसहित जान र बस्नको लागि परिवार पुनर्स्थापना प्रतिवेदनले सार्वजनिक गरेको यो रिपोर्ट पनि हेर्नुहोस् ।

    प्रतिवेदनले बालबालिकाको हेरचाह लागत, काम गरेको औसत वार्षिक घण्टा र शैक्षिक उपलब्धि जस्ता विभिन्न सम्बन्धित कारकहरू मूल्याङ्कन गरेर संसारभरका कुन देशहरूमा परिवारसँग विदेशमा बस्नको लागि उत्तम अवस्थाहरू छन् भनी खुलासा गरेको हो।

    वैदेशिक यात्राले तपाईको जीवनमा धेरै परिवर्तनहरू ल्याँउछ । क्यारियर र जीवनको गुणस्तरमा फरकपना त ल्याउछ नै परिवार ल्याउँदा के गर्ने भन्ने सम्म सोच्न बाध्य बनाउँछ । त्यसैले आफू गएको देशले के कस्तो सेवा र सुविधा दिएको छ बुझ्न जरूरी छ ।

    पक्कै पनि देश छोडेर विदेशमा बस्न सजिलो छैन। परिवारलाई कहाँ राख्ने, भाषाको समस्या, स्वास्थ्य बीमा जस्ता महत्त्वपूर्ण वित्तीय कुराहरू व्यवस्थापन गर्न जरूरी छ ।

    यी र यस्ता कुराहरूले गर्दा कुन देश बस्नलायक छ भन्ने कुरा नेपालबाट हिड्नु अघि नै सोच्न जरूरी छ । विश्वका केही देशहरूले आप्रवासीहरूको लागि पनि धेरै सेवासुविधाहरू दिने गरेको छ ।

    शीर्ष १० उत्कृष्ट देशहरू:
    पोर्चुगल
    स्वीडेन
    इटाली
    स्पेन
    फिनल्याण्ड
    लाटभिया
    हंगेरी
    जापान
    फ्रान्स
    इस्टोनिया

    प्रतिवेदनले पोर्चुगललाई पहिलो स्थानमा राखेको छ । पोर्चुगलमा बालबालिकाको लागि उत्तम हुने प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै प्रतिवेदनले स्विडेनलाई दोस्रो नम्बरमा राख्दै अन्य देशहरूको तुलनामा राम्रो काम(जीवन सन्तुलनलाई राख्ने जनाएको छ ।

    न्यानो भुमध्यसागरिय देश इटाली जुन लोकप्रिय छुट्टीको गन्तव्य पनि हो, त्यसलाई प्रतिवेदनमा तेस्रो देशमा छनोट गरेको छ ।विश्वस्तरीय विश्वविद्यालयहरू समेत रहेको इटालीमा तपाईको बालबच्चाले भविष्यमा धेरै अवसरहरू पाउने उल्लेख छ ।

    यो प्रतिवेदन बालबालिका हेरचाह लागत, शीर्ष विश्वविद्यालय, आमा बुबाको विदा, औसत काम गर्ने घण्टा, एकतर्फी उडानको लागत, सहरको केन्द्रभित्र र बाहिर भाडा मूल्य र औसत उपयोगिता मूल्यको आधार लिएर सर्वेक्षण गरिएको थियो ।

  • ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

    ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

    काठमाडौं । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यम हुँदै ती विद्यार्थीले ब‌ंगलादेश छाडेका हुन्  ।  उनीहरुले नेपाल प्रस्थान गरेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

    उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो । गत जेठबाट सुरु भएको आन्दोलनमा कम्तिमा १५० को ज्यान गएको छ भने बङ्गलादेशमा सैन्य कर्फ्यू लागु गरिएको छ ।

    इन्टरनेट सेवा बन्द गरिएको छ । यस अगाडि ढाकास्थित नेपाली राजदूतावासले साह्रोगाह्रो परेकालाई सहयोग गर्न एक सूचना प्रकाशन गरेर नम्बर सार्वजनिक गरेको थियो।

    याे पनि

    बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि नेपालीहरूलाई काम बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

    जागिरमा आरक्षणकाे विराेध गर्दै बंगलादेशमा जागेकाे विद्यार्थी आन्दोलन (पाँच प्रश्नोत्तरसहित)

     

  • एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कतारमा, प्रवासी नेपाली मञ्चको कार्यक्रममा सम्बोधन

    एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कतारमा, प्रवासी नेपाली मञ्चको कार्यक्रममा सम्बोधन

    दोहा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रवासी नेपाली मञ्च कतारलाई सम्बोधन गरेका छन् ।

    सातौँ अधिवेशनको पूर्वसन्ध्यामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमालेको संगठन विश्वको ३७ ओटा देशमा फैलिएको बताए । यो देशभित्रको कमिटीजस्तो सहज नरहेको पोखरेलले बताए ।

    उपाध्यक्ष पोखरेलले प्रवासमा संगठन निर्माण चुनौतीपूर्ण रहेको बताए छन् ।

    पोखरेलले भने ‘हाम्रो पार्टीमा नीति र नेतृत्वमा विवाद छैन । नेतृत्वमा छलफल गर्नुहोस् पार्टी निर्माणमा जोड दिनुस् । प्रतिकूल देशमा बसेर संगठन निर्माण गर्दा सर्वसम्मतिमा गर्नुस् । नेताहरू रेफ्रीको भूमिकामा रहनुपर्नेमा आफैं गोल हान्न खोज्दा समस्या हुन्छ ।’

    देशमा राजनीतिक स्थायित्व नभएकाले स्थायित्व कायम गर्न एमालेले मिसन ०८४ को नीतिअघि सारिएको पोखरेलले बताए । त्यसको लागि १५ हजार प्रवास कमिटी सदस्य बनाउन जरुरी रहेको बताए ।

    मञ्चका संयोजक अफ्सर खानको अध्यक्षतामा बसेको बैठकमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मञ्चका मध्यपूर्व संयोजक प्रकाश कोइरालालगायतले सम्बोधन गरेका थिए ।

    प्रवास मञ्चको अधिवेशन दुई दुई वर्षमा हुने गरेको छ । प्रवासी मञ्चमध्ये कतार एमालेको बलियो संगठन रहेको क्षेत्र हो ।

  • दुबईमा भएको सडक दुर्घटनामा मोरङकी अनिताको मृत्यु

    दुबईमा भएको सडक दुर्घटनामा मोरङकी अनिताको मृत्यु

    दुबई । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको ज्यान गएको छ ।

    दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा सडकमा हुइकिएको भ्यानले ठक्कर दिँदा सोही कम्पनीमा कार्यरत मोरङकी अनिता पाख्रिनको ज्यान गएको हो।

    मोरङ पथरीकी २८ वर्षीय अनिता ३ वर्ष पहिले युएई आएकी हुन् ।

    साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा भ्यानको ठक्करले घटनास्थलमै ज्यान गएको कम्पनीले जनाएको छ ।

    पारिवारिक समस्याका कारण ३ सन्तानको पेट पाल्नैका लागि दुबई पुगेकी अनिताको सपना तुहिएको छ ।

    मृतकको शव अहिले दुबईको स्थानिय अस्पतालमा राखिएको र कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने कम्पनीले जनाएको छ ।

    दुर्घटनामा परी नेपाली महिलाको ज्यान गएको बारे नेपाली दुतावासलाई अनौपचारिक जानकारी प्राप्त भएको दुतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले जानकारी दिए ।

    मृतक अनिताको शव नेपाल पठाउने सम्बन्धमा कम्पनीसँग समन्वय गरेर कानुनी प्रकृया पुरा गरी शव नेपाल पठाउने अबुधावीमा रहेको नेपाली दुतावासले जनाएको छ ।

  • बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि नेपालीहरूलाई काम बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

    बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि नेपालीहरूलाई काम बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

    काठमाडौं । बंगलादेशमा कोटा विरोधी आन्दोलन चर्किएसँगै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सुरक्षित हुन काम पर्दा बाहेक नजान दूतावासले आग्रह गरेको छ ।

    बंगलादेशको लागि नेपाली दूतावासले आज जारी गरेको सूचनामा बंगलादेशको शिक्षा मन्त्रालयले अर्को सूचना जारी नहुन्जेलसम्म सबै सरकारी, नीजि विश्वविद्यालयहरू तथा कलेजहरू बन्द हुने सूचनाको पनि जानकारी दिएको छ ।

    यस्तै कलेजले बसेको स्थान भन्दा अन्तै जाँदा कुनै असुरक्षा भएको महसुस भएमा दूतावासका अधिकारीहरू योजना बम्जन र रिया क्षेत्रीको नम्बर सूचनामै सार्वजनिक गरिएको छ ।

    यो पनि पढ्नुहोस्- सरकारी जागिरमा आरक्षण लागू गरिएपछि बंगलादेशको राजधानीमा प्रदर्शन

    सूचनामा भनिएको छ, ‘राजदूतावासले विकसित घटनाक्रमहरुलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरूको शान्ति, सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरू एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

  • नेपालीसहितका आप्रवासीले भेटे पोर्चुगलका राष्ट्रपति, आप्रवासन नीति सच्याउन माग

    नेपालीसहितका आप्रवासीले भेटे पोर्चुगलका राष्ट्रपति, आप्रवासन नीति सच्याउन माग

    लिस्बन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले विशेष गरी पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति सच्याउन माग गरेको थियो ।

    टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले भेटवार्तामा टोलीले पोर्चुगल सरकारले हालै परिवर्तन गरेको आप्रवासनसम्बन्धी नीतिनियमका कारण आप्रवासीमा देखापरेका समस्या र कठिनाइका विषयमा राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको बताए।

    आप्रवासनसम्बन्धी नीतिनियमका कारण लाखौँ आप्रवासी प्रभावित भएको जनाउँदै सो विषयमा पुनःविचार गरी संशोधन गर्न आग्रह गरिएको उनले बताए । सदस्य थापाले टोलीले आप्रवासीलाई कडाइ नगर्न आप्रवासी प्रतिनिधिहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेको बताए ।

    उहाँका अनुसार आप्रवासी प्रतिनिधिले राखेको आप्रवासनसम्बन्धी परिवर्तन भएको नीति र आप्रवासीका समस्याका विषयमा राष्ट्रपति सौसाले विशेष चासो व्यक्त गर्दै आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । सो अवसरमा टोलीले आप्रवासीका समस्या र कठिनाइका विषयमा ५१ आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्र राष्ट्रपति समक्ष हस्तान्तरण गरेको थियो ।

    सोही अवसरमा सदस्य थापाले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले प्रकाशन गरेको ‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिका राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । गत महिना पोर्चुगल सरकारले आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै आप्रवासीका लागि कडाइ गरेपछि आप्रवासीहरू प्रभावित भएका छन् । सरकारले यहाँको आवास अनुमतिका लागि आवेदन दिने प्रकिया नै बन्द गरेपछि आप्रवासीहरू प्रभावित भएका हुन् ।