Category: प्रवास

  • इजरायल रोजगारीका लागि १२ दिनमै करिव २० हजारको आवेदन

    इजरायल रोजगारीका लागि १२ दिनमै करिव २० हजारको आवेदन

    काठमाडौं । सरकारले इजरायल रोजगारीका लागि खुला गरेको आवेदनमा १२ दिनको अवधिमा झण्डै २० हजारले आवेदन दिएका छन् । आवेदन खुलेको २१ दिनसम्म आवेदन दिने सकिनेमा आइतबार साँझसम्म १९ हजार ९५ जना आवेदनकर्ताले युजर आइडी बनाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    प्राप्त आवेदनमध्ये तीन हजार आठ सय जनाले कागजपत्र पुर्‍याएको विभागको इजरायल शाखाका प्रमुख उपसचिव डम्बर सुनुवारले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आवेदन दिनेमा एक हजार ६ सय ५१ जना महिला र दुई हजार एक सय ६१ जना पुरुष रहेका छन् ।

    एक हजार श्रमिकका लागि साउन १२ गते आवेदन खुला गरिएकोमा १२ दिनको अवधिमा चार गुणा बढी आवेदन परेको विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले बताए । उनका अनुसार रोजगारीमा जान चाहनेले विभागको बेवसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । दुवै देशका सरकार-सरकार अर्थात जिटुजीमार्फत कामदार पठाउन भएको सम्झौताअनुसार आवेदन खुला गरिएको हो ।

    विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक करिब एक लाख ९३ हजार रुपैयाँ हुनेछ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने जनाइएको छ ।

    आवेदन दिएकामध्येबाट छनौट भइसकेपछि इजरायलमा ३० प्रतिशत अर्थात् तीन सय जना पुरुष र ७० प्रतिशत अर्थात् सात सय जना महिला गरी एक हजार जनाले रोजगारी पाउने छन् । इजरायल सरकारले पहिलो चरणमा केयर गिभर क्षेत्रमा मात्र नेपाली कामदार लिन खोजेको हो । यसपछि क्रमश कृषि, होटल, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा पनि इजरायल सरकारले नेपालीलाई रोजगारीको अवसर दिने जनाइएको छ ।

    यसअघि आकर्षक सेवा-सुविधासहित मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथी अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि जान रोक लगाइएको थियो । नेपाली श्रमिकका लागि इजरायलमा रोजगारी झण्डै ११ वर्षपछि खुलेको हो ।

  • एनआरएन बेलायतको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित

    एनआरएन बेलायतको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् । दीपक श्रेष्ठ र रोजिना प्रधानलाई पछि पार्दै मगरसहित उनको पूरै प्यानलले जित हासिल गरेको हो ।

    मगरले ४ हजार ५ सय ७४ मत पाउँदा उनका प्रतिस्पर्धी श्रेष्ठले २ हजार १ सय ९१ र प्रधानले २ हजार १ सय ४८ मत प्राप्त गरे । बिहीबार मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि विवादले नतिजा नेपाली समयाअनुसार शनिबार बिहान सार्वजनिक गरिएको हो । ५ दर्जन उम्मेदवार भएपनि गाहा मगरको समावेशी समूहले जित हासिल गरेको छ ।

    दुई उपाध्यक्ष पदमा सुनिलबाबु खड्का र गोविन्द खरेल विजयी भएका छन् । महिला उपाध्यक्षमा शकुन्तला गुरुङ विजय भइन् । नर्दन आयरल्यान्डबाट उपाध्यक्षमा नारायण कंडेल विजयी भए । स्कटल्यान्डबाट मोहन कार्कीले जिते ।

    ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् ।

    महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ, कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा, युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भएका छन् ।

    कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा ९दीपक० सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

  • ६० मुलुकमा एनआरएनको चुनाव सकियो, चारवटामा चुनाव हुन बाँकी (सूचीसहित)

    ६० मुलुकमा एनआरएनको चुनाव सकियो, चारवटामा चुनाव हुन बाँकी (सूचीसहित)

    काठमाडौं । ६० वटा मुलुकमा मात्र गैरआवासीय नेपालको संघ चुनाव सम्पन्न भएको छ । सन् २०२१ देखि २३ सम्मको लागि ती समन्वय परिषद्मा चुनाव भएको विवरण एनआरएनले पेश गरेको छ ।

    एनआरएन संजाल फैलिएको विश्वका ८४ मुलुकमध्ये बाँकी २० वटा परिषद् निस्क्रिय भएको समेत महासचिव हेमराज शर्माद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    उनका अनुसार निर्वाचन भएकामध्ये ४२ वटा समन्वय परिषद्मा निर्विरोध कार्यसमिति चुनिएको छ भने ११ वटा परिषद्मा अनलाइन तथा सातवटामा भौतिकरुपमा उपस्थित भएर सकिएको छ ।

    युएई, डेनमार्क, पोर्चुगल र स्लोभेनियाले नयाँ नेतृत्व चाँडै पाउने विज्ञप्तिमा उल्लेख छ । चारवटा समन्वय परिषद्मा कार्यसमिति चयन हुन बाँकी रहेको जनाइएको छ ।

    सूची :

    अफ्रिका क्षेत्र
    सर्वसम्मत तथा निर्विरोध : बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया
    निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : लेसोथो, लिविया, मालावी, दक्षिण सुडान

    अमेरिकाज् क्षेत्र
    सर्वसम्मत तथा निर्विरोध : मेक्सिको र कोस्टारिका
    अनलाइन : चिली र अमेरिका
    भौतिक : क्यानाडा
    निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : ब्राजिल

    एसिया प्रशान्त क्षेत्र
    सर्वसम्मत तथा निर्विरोध : कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।
    अनलाइन : चीन, जापान र दक्षिण कोरिया
    निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया

    यूरोप क्षेत्र
    सर्वसम्मत तथा निर्विरोध : बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड
    अनलाइन : साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके
    भौतिक : अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगल
    निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेन

    मध्यपूर्व क्षेत्र
    सर्वसम्मत तथा निर्विरोध : कुवेत, ओमान र कतार
    अनलाइन : बहराइन र साउदी अरेबिया
    निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन

    ओसेनिया क्षेत्र
    सर्वसम्मत तथा निर्विरोध : पपुवा न्यूगिनी र न्यूजिल्याण्ड
    अनलाइन : अष्ट्रेलिया
    निष्क्रिय राष्ट्रिय समन्वय परिषद् : भानुआटु

  • खोप लगाएकालाई प्रवेश दिने जापानको तयारी, १४ दिन क्वारेनटाइन बस्नुपर्ने

    खोप लगाएकालाई प्रवेश दिने जापानको तयारी, १४ दिन क्वारेनटाइन बस्नुपर्ने

    टोकियो । जापान सरकारले कोरोना विरुद्ध लगाएका सबैलाई जापान प्रवेश खुल्ला गर्ने तयारी गरेको छ । जापानको निजी संचार सस्था निक्केइले जनाएअनुसार प्रवेश प्रतिबन्ध लागेका मुलुकबाट पनि कोरोनाविरुद्धको खोप लगाएका सबैलाई प्रवेश दिने तयारी भएको हो ।

    समाचार अनुसार जापान र अमेरिका कोरोनाविरुद्ध खोप लगाएकाहरुलाई प्रवेश खुल्ला गर्न तयार भएका छन् । तर जापानले भने हाल लागु गरिएको १४ दिन क्वारेनटाइनको नियमलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेको छ ।

    जापान प्रवेशपछि स्वास्थ्य तथा श्रम मन्त्रालय, कानून मन्त्रालय अन्तर्गतको अध्यागमन विभाग र विदेश मन्त्रालयले आवश्यक व्यवस्थापन गर्नेछन् । अमेरिकाले भने चीन, बेलायत र ब्राजिल लगाएतका देशमाबाट तत्कालै प्रवेश खुल्ला नगर्ने बताइएको छ ।

    उता बेलायतले भने जापानसहित २० देशका नागरिकलाइ कोरोना नेगेटिभ देखिएको प्रमाणपत्र भए पनि प्रवेश दिने निर्णय गरेको छ । अमेरिकामा कोरोना खोपको पूर्ण डोज लगाएकाहरुलाई पनि कोरोना संक्रमण देखिएको भन्दै जापानले पूर्ण डोज खोप लगाए पनि कोरोना नियन्त्रणका लागि अपनाइएका विधिहरुलाई निरन्तरता दिनु पर्ने तर्क राख्दै आएको छ ।

    जापानमा कोरोना संक्रमणको दर अहिले पनि उच्च बिन्दुमा पुगेको छ । केही अघि देशभरका मेयरहरुको बैठकमा कतिपयले लक डाउन प्रस्ताब राखेका थिए । तर अमेरिकासहित युरोपियन देश र जापानसमेत पूर्ण डोज खोप लगाएकाहरुलाई प्रवेश खुल्ला गर्ने तयारीमा लागेका छन् ।

    यो निर्णयसँगै नेपालबाट अध्ययनका लागि जापान जान भिसा लगाएर बसेका र प्रक्रियामा रहेका विद्यार्थीहरुलाई जापान जानका लागि सहज हुने भएको छ ।

  • नेपाली डक्टर्स एसोसिएसन बेलायतको अध्यक्षमा अर्याल निर्वाचित

    नेपाली डक्टर्स एसोसिएसन बेलायतको अध्यक्षमा अर्याल निर्वाचित

    लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन् ।

    साधारणसभामा प्राध्यापक जोन डिनोल, डा स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ । कार्यक्रमा डा पालेश्वान लाखेले ग्यास्ट्रोइन्टेरोलोजीका बारे आफ्नो धारणा र डा अरुण बराललगायत चार चिकित्सकले ट्रेनी पेपर प्रस्तुत गरेको सहभागी डा सुनिल शाहले बताए ।

    वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा कोरोनाको जोखिम न्यून गर्न काठमाडौँमा रहेको राधास्वामी केन्द्रमा रहेको आइसोलेशन केन्द्रका लागि संस्थाले १० हजार पाउन्ड सहयोग गरेको र देशका विभिन्न ठाउँमा अन्य स्वास्थ सामग्री पठाएर सहयोग गरिएको वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    नेपालबाट भर्चुअलरूपमा सहभागी डा चिन्तामणि योगीले कठिन परिस्थितिमा आफूलाई कसरी मानसिकरूपमा सम्हालेर अघि बढ्न सकिन्छ भन्ने खालको प्रवचन दिएका थिए ।

  • यात्रा प्रतिबन्ध हटाउने युएईको निर्णय, बिहीबारदेखि नेपाली कामदार जान पाउने

    यात्रा प्रतिबन्ध हटाउने युएईको निर्णय, बिहीबारदेखि नेपाली कामदार जान पाउने

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ ।

    कोभिड-१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो ।यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् ।

    यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए)ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , “यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड-१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् ।” तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ ।

    मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन ।

    संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीको कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायीरूपमा रोक लगाइएको थियो । 

  • डा. विष्णुमाया परियार जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

    डा. विष्णुमाया परियार जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

    काठमााडौं । सामाजिक अभियान्ता डा. विष्णुमाया परियार अमेरिकास्थित न्यू जर्सी राज्यको जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त भएकी छन् । जर्सी सिटी शहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड (विविधता तथा समावेशी संचालक समिति) को पूर्व सल्लाहकार डा. परियार सन् २०२४ सम्मका लागि समितिको सदस्यमा नियुक्त भएकी हुन् ।

    जर्सी सिटी शहरको सिस्टर सिटीको लागि ईमिसरी (विशेषदूत) रहेकी डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबिच भगिनी सम्बन्ध (सिस्टर सिटी) कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएको थियो । नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा. परियारले झण्डोत्तोलनको लागि पहल गरेकी थिईन ।

    डा. परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकी संस्थापक अध्यक्ष पनि हुन् । ‘यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा परिषद सभापति रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीका लागि टिपिएस (अस्थायी सुरक्षित दर्जा) परिषद् प्रस्ताव पारित गरिएको नेपालिजम डटकमका प्रधान सम्पादक प्रदीप परियार थापाले जानकारी दिए ।

    उनका अनुसार अस्थायी सुरक्षित दर्जा .(टिपीएस) प्रस्ताव पारित गर्ने जर्सी सिटी (शहर) एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकी भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो ।

  • अस्ट्रेलियामा बस्ने नेपालीद्वारा बाढीपीडितलाई सहयोग

    अस्ट्रेलियामा बस्ने नेपालीद्वारा बाढीपीडितलाई सहयोग

    सिड्नी । अस्ट्रेलियामा बस्दै आएका नेपालीले मेलम्चीका बाढीपीडितलाई सहयोग गरेको छ । मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अस्टे«लियामा बस्दै आएका देवराज दुलालको सक्रियतामा सङ्कलित रकममध्ये रु दुई लाख ७५ हजार मेलम्चीका बाढीपीडितहरुलाई सहयोग गरिएको हो ।

    एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेशन असपाली ग्रुप तथा नेपालीहरुबाट सो रकम सङ्कलन गरी बाढीपीडितहरुका लागि पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चुडामणि दुलालले जानकारी दिए ।

    यसअघि नै एनआरएनएबाट नगरको राहत कोषमा जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी रु एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई सोमबार चुडामणि दुलाल र योगप्रसाद दुलालले सो सहयोग राशिको चेक हस्तान्तरण गरे ।

    सो अवसरमा प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गरे । बाँकी रकम घर पूर्ण क्षति भएकालाई प्रदान गरिने वितरणको संयोजन गरिरहनुभएका चुडामणि दुलालले जानकारी दिए ।

  • एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा गुरुङ निर्वाचित

    एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा गुरुङ निर्वाचित

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन् । महासचिवमा राजबाबु अधिकारी विजयी भएका छन् ।

    सचिवमा सन्ध्या शाह, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा राजकुमार नगरकोटी, युवा संयोजकमा बबिन मिश्र, महिला संयोजकमा मञ्जु मिश्र निर्वाचित छन् ।

    एनसीसी उपाध्यक्ष तथा अस्ट्रेलियन क्यापिटल क्षेत्रको संयोजकमा अशोक बस्नेत, न्यू साउथ वेल्सको संयोजकमा देवबहादुर गुरुङ, नर्दन क्षेत्रको संयोजकमा विष्णु चापागाईं, क्विन्सल्याण्डको संयोजकमा विनोद भक्त आचार्य, दक्षिण अष्ट्रेलियाको संयोजकमा रेनुका लामा र तास्मानिया संयोजकमा राकेश शाक्य विजयी भएका छन् ।

    भिक्टोरियाको संयोजकमा हरि खड्का र पश्चिम अष्ट्रेलियाको संयोजकमा दीपक बस्नेत निर्विरोध चयन भएका छन् । शनिबार राती चुनाव भएको थियो ।

     

  • एनआरएनए जर्मनीकाे अध्यक्षमा पन्त विजयी

    एनआरएनए जर्मनीकाे अध्यक्षमा पन्त विजयी

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पारेका थिए । निर्वाचन समितिका अनुसार नवनिर्वाचित पन्तले ८८२ र राईले ५७१ मत प्राप्त गरेका थिए ।

    उनीहरु दुवै निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत थिए । दुई खुला उपाध्यक्ष पदमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी भएका छन् । यसअघि महासचिव पदमा रहेका ढकालले अहिले उपाध्यक्ष पदमा ७५१ मत र यसअघि सचिव पदमा रहेकी त्रिपाठीले ५८४ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएकी हुन् ।

    महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई आफ्नो प्रतिष्पर्धी राजन देवी गौतमलाई १५८ मतान्तरले हराउँदै ७३२ मतका साथ विजयी भए । महासचिव पदमा राजेश सुनार ७७५ मतका साथ विजयी भए । उनी संस्थामा यसअघिका दुई कार्यकाल सचिव रहेका थिए । उनका प्रतिद्वन्द्वी सिजन दाहालले भने ५९९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस निकट जनसम्पर्क समितिकासमेतको प्रवक्ता रहेका छन् । सचिव पदमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला विजयी भएका छन् । उनीहरुले क्रमशः ९३६ मत र ५३१ मत प्राप्त गरे । दुई सचिव पदका लागि भएको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो ।

    यस्तै एक अन्तरर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आइसीसी) पदका लागि भएको निर्वाचनमा सर्वाधिक ९४३ मतका साथ शङ्कर डाँगी विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी विनोद अधिकारीलाई ५७४ मतको सर्वाधिक फराकिलो अन्तरले पछि पारेर आइसीसीको यात्रा तय गरेका हुन् ।

    कोषाध्यक्ष पदमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सांस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित भएका छन् ।

    एक हजार ५९५ पञ्जीकृत सदस्य रहेको जर्मनीमा एक हजार ४३३ जनाले विद्युतीय प्रणालीमार्फत मतदान गरेका थिए । कूल मतदातामध्ये ८९ दशमलव ८४ प्रतिशतले मतदानमा भाग लिएको प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमले जानकारी दिए ।

    अनलाइन भोटिङको जिम्मेवारी स्पेनको साइटल इलेक्सन टेक्नोलोजी नामक कम्पनीले लिएको थियो । स्पेनको सो कम्पनीले तीन लाख २६ हजार भन्दाबढी विद्युतीय निर्वाचन सम्पन्न गरिसकेको छ । यहि कम्पनीले स्पेनको एनआरएनए निर्वाचन पनि सम्पन्न गराएको थियो । रासस

  • अमेरिकामा नेपाली युवकको मृत्यु

    अमेरिकामा नेपाली युवकको मृत्यु

    काठमाडौं । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।

    विगत पाँच वर्षअघि मात्र अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए ।

    उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्द्रले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए ।

  • कोरोना महामारीबीच रोजगारीका लागि डेढ लाख नेपाली विदेशिए

    कोरोना महामारीबीच रोजगारीका लागि डेढ लाख नेपाली विदेशिए

    काठमाडौं । कोरोना महामारीबीच करिब डेढ लाख नेपाली युवा रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक लाख ६६ हजार छ सय ९८ जनाले पुनः तथा नयाँ श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७२ हजार ८१ नयाँ नेपाली कामदार विश्वका एक सय १६ मुलुकमा रोजगारीका लागि पुगेकाे विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए ।

    उनका अनुसार तीमध्ये ६१ हजार चार सय २८ जना म्यानपावर कम्पनीबाट र पाँच हजार तीन सय १७ जनाले व्यक्तिगत रुपमा श्रम स्वीकृती लिएका हुन् । यस वर्ष व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृत लिनेको संख्या भने ९४ हजार छ सय १७ छ ।

    यस वर्ष सबैभन्दा बढी साउदी अरेबीयामा २३ हजार तीन सय २४, कतारमा २२ हजार एक सय ३१, युएईमा ११ हजार छ सय ११, बहराईन तीन हजार एक सय ४६, रोमानीयामा एक हजार नौ सय १२ र ओमानमा एक हजार पाँच सय ५६ नेपाली कामका लागि गएका छन् ।

    विभागको तथ्यांक अनुसार ९४ हजार छ सय १७ जनाले व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएका छन् । जसमा सबैभन्दा धेरै कतारमा ३२ हजार सात सय ८४, युईएमा २८ हजार आठ सय ६६, साउदी अरेबीयामा २३ हजार छ सय ३६, बहराईनमा एक हजार सात सय ९४, ओमानमा एक हजार पाँच सय ७७, जापानमा एक हजार पाँच सय २६, मलेसियामा एक हजार २८ र कुवेतमा एक हजार १२ जनाले व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएका छन् ।

    यसअघि गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका पाँच हजार तीन सय ३६ जनाले पनि यस वर्ष श्रम स्वीकृती लिएर गएका छन् ।

    ८० हजार बढी अदक्ष कामदार बाहिरिए

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार विदेश गएकामध्ये ८० हजार तीन सय ८२ अदक्ष कामदार हुन् । ७० हजार चार सय २६ जना दक्ष कामदार बाहिरिएका छन् भने १५ हजार पाँच सय ८३ अर्धदक्ष दुई सय ४६ , पेशागत दक्ष र ६१ जना उच्च दक्ष बाहिरिएका छन् ।

  • एनआरएनए बेल्जियमको अध्यक्षमा केसी विजयी, कसले कति मत पाए ?

    एनआरएनए बेल्जियमको अध्यक्षमा केसी विजयी, कसले कति मत पाए ?

    ब्रसेल्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको अध्यक्षमा खड्कबहादुर केसी विजयी भएका छन् । केसीले ८५५ मत प्राप्त गरेर विजयी भएका छन् । चेतप्रसाद भट्टले ६०९ मत पाए भने अनुजा प्रधानले १६० मत प्राप्त गरेकी छिन् ।

    सोमबार मतदान सकिन अधि मतपेटिकामा तोडफोड हुँदा सोमबारदेखि मतगणना शुरु भएको थियो । अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यपदमा रोशन जोशी ९भीम०ले ७४४ मत प्रप्त गरे भने गंगाप्रसाद शर्माले ७१९ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा लालबहादुर गुरुङ्ले ७१८ मत प्राप्त गर्दै विजयी बने भने उपाध्यक्षमा नै तीर्थ धमला ६८६ मत ल्याउँदै निर्वाचित भए । युवा उपाध्यक्षमा राजेश केसी ८७१ मत, महासचिवमा रमेश कँडेल ७७६ मत, सचिवमा सुवास भट्ट ७३७ मत र जगदिश सापकोटा ६९७ मत प्राप्त गरे ।

    यस्तै कोषाध्यक्षमा पुष्प नेपाल ७२८ मत , सहकोषाध्यक्षमा बेनी ढुंगाना ५५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

  • एनआरएनए बेलायतको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी, शनिबार चुनाव हुँदै

    एनआरएनए बेलायतको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी, शनिबार चुनाव हुँदै

    लण्डन । एनआरएनए बेलायतको अध्यक्ष पदमा हुने चुनावमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । ३१ जुलाईमा हुने चुनावले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

    दुई खुल्ला उपाध्यक्षका लागि सुनिलबाबु खड्का, पवन शर्मा, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचन चुनावमा उठेका छन् भने वेल्सबाट चयन हुने उपाध्यक्षका लागि रामचन्द्र पोखरेल निर्विरोध भएका छन् ।

    स्कटल्याण्डबाट उपाध्यक्ष पदका लागि मोहन कार्की र छविलाल अर्याल, नर्दन आयरल्याण्डबाट नारायण कंडेल र नारायण कुंवरबीच प्रतिस्पर्धा हुने भएको छ। महिला उपाध्यक्षमा प्रसुना कंडेल, शकुन्तला गुरुङ र सरस्वती केसीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । महासचिवमा खुसी लिम्बु, जीत रानाभाट र मुकुन्द बाँस्तोलाले उम्मेदवारी दिएका छन् ।

    कोषाध्यक्षमा विष्णुप्रसाद खरेल र धनसरी राई तथा सह-कोषाध्यक्षमा हेम गुरुङ र सशांक शर्मा र युथ कोअर्डिनेटरमा तीर्थबहादुर मल्ल (अनिल) र चन्दन गुरुङ, महिला संयोजकमा मनिकला राई गुरुङ र विमला लिम्बुको उम्मेदवारी रहेको छ । २७ सदस्यीय कार्य समितिमा १३ सदस्य निर्वाचित हुने छन् । त्यसका लागि २० जनाको उम्मेदवारी परेको छ ।

  • नेपाल-अमेरिका पत्रकार संघको अध्यक्षमा न्यौपाने निर्वाचित

    नेपाल-अमेरिका पत्रकार संघको अध्यक्षमा न्यौपाने निर्वाचित

    काठमाडौं । नेपाल-अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा विकासराज न्यौपाने निर्वाचित भएका छन् । जुलाई २४ र २५ मा अमेरिकाको भर्जिनियाको स्यान्टिली शहरमा भएको सातौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

    नेजाबाट उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, कोषाध्यक्षमा प्रभात भट्टराई र सचिवमा कल्पना घिमिरे चयन भएका छन् । उक्त साधारणसभामा रसुवाकी पत्रकार अनु आचार्यलाई ‘नेजा ग्रामीण पुरस्कार’ प्रदान गर्ने घोषणा समेत गरेको छ ।

    सो अवसरमा नेजाले ग्रामीण पत्रकारितामा योगदान पुर्‍याएबापत रसुवाकी पत्रकार अनु आचार्यलाई ‘नेजा ग्रामीण पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशी २ लाख २२ हजार रुपैयाँ छ ।

  • एनआरएनए कोरियाको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पुन निर्वाचित

    एनआरएनए कोरियाको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पुन निर्वाचित

    सियोल । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन भएका छन् । निकै लामो चुनावी अभियानपश्चात् उनी पुनः सर्वसम्मतिमा चयन भएका हुन् ।

    गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चुनिएका छन् । वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षद्वयमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल र परी गुरुङ, कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एवं सदस्यमा डा रोशन शर्मा, सन्तोष खड्का, रमेश थापामगर, गङ्गा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धिप्रसाद नेपाल र गम्भीरमान श्रेष्ठ निर्वाचित भएका छन् ।

    अध्यक्षलगायतका सम्पूर्ण पदाधिकारी सहमतिले निर्वाचित भए पनि सचिव पदमा तीन जनाको दावी रहेपछि अनलाइन भोटिङमार्फत निर्वाचन सम्पन्न भएको थियो । भोटिङमार्फत गरिएको निर्वाचनमा परि गुरुङले बाजी मारेका थिए । गुरुङसँग प्रतिस्पर्धामा हरिप्रसाद भट्टराई, राजकुमार राई उत्रिएका थिए ।

    निर्वाचित पदाधिकारीलाई आगामी शनिबार अनलाइनमार्फत शपथ ग्रहण गराइने निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन समितिको अन्तिम निर्णयानुसार सचिव पदबाहेकका आइसिसी सदस्यलगायत सम्पूर्ण पदमा सर्वसम्मतिमै चयन भएका हुन् ।

  • इजरायलमा एक हजार नेपालीका लागि रोजगार खुल्यो, यस्ता छन् मापदण्ड र प्रक्रिया

    इजरायलमा एक हजार नेपालीका लागि रोजगार खुल्यो, यस्ता छन् मापदण्ड र प्रक्रिया

    काठमाडौं । इजरायलमा एक हजार नेपालीको रोजगारीका लागि आवेदन खोलिएको छ । वैदेशिक रोजगार विभागले मंगलबार आवेदन मागको सूचना जारी गर्दै औपचारीक रूपमा इजरायल रोजगार खोलेको जानकारी गराएको हो ।

    विभागका अनुसार इजरायलले केयरगिभर कामका लागि एक हजार नेपाली श्रमिक लैजान सूचना जारी गरेको हो । तीमध्ये ७० प्रतिशत अर्थात सात सय महिला र ३० प्रतिशत अर्थात तीन सयजना पुरुषले अवसर पाउनेछन् ।

    मासिक तलब करिब दुई लाख

    विभागको सूचना अनुसार इजरायलमा जाने कामदारको मासिक तलब एक लाख ९३ हजार नेपाली रूपैयाँ छ । ड्युटी आवर दिनको ६ घण्टा हुनेछ ।

    इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्ने सूचनामा उल्लेख गरिएको छ । एक पटक रोजगारमा जाने करार अवधि एक बर्षको हुने भए पनि करार थपिएर पाँच बर्षसम्म बस्न पाइने व्यवस्था गरिएको छ ।

    यस्तो छ मापदण्ड

    १. आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने ।

    २. आवेदकको उचाई कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ केजी हुनुपर्ने ।

    ३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्गसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने ।

    ४. आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तीमा ३ वर्ष बाँकी रहनुपर्ने ।

    ५. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने ।

    ६. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने ।

    ७. आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने ।

    लागत एक लाख ६५ हजार

    वैदेशिक रोजगार विभागले इजरायल जान चाहने कामदारका लागि लाग्ने लागतको बारेमा समेत स्पष्ट पारेको छ । खर्च शीर्षकमा राहदानी बनाउँदादेखि इजरायल जाँदासम्मको उल्लेख छ । हवाई भाडा आफैंले तिर्नुपर्ने हुँदा नेपाल-इजरायलको एकतर्फी हवाई भाडा करिव एक लाख ४० हजार लाग्नेछ । त्यस्तै बीमाको लागि पाँच हजार लाग्छ ।

    अनलाइनबाट आवेदन दिन सकिने

    इच्छुकले अनलाइनबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यसका लागि विभागको वेबसाइटमा गएर आवेदन दिन सकिने छ । सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा पाँच सय कामदार पठाउने समझदारी गरेको थियो ।

  • एनआरएनए बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड

    एनआरएनए बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नयाँ नेतृत्व चयनका लागि भएको चुनाव बिथोलिएको छ । एघारौं महाधिवेशन अन्तर्गत मतदान सकिन आधा घण्टा बाँकी रहँदा बेल्जियमको आन्तार्पेन बुथमा केही युवा प्रवेश गरी मतपेटिका तोडफोड गरेका थिए ।

    उक्त घटनापछि सामाजिक संजालमा जारी भिडिओहरुमा मतदानस्थल तोडफोडले भद्रगोल देखिएको छ भने केही महिलाहरु चिच्याइरहेको देख्न सकिन्छ ।

    तोडफोड हुने थालेपछि मतपत्रहरु भुइँमा छरिएका थिए । प्रत्यक्षदर्शी पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माका अनुसार नेपाली समुदायबाहिरका पाँचजना युवाहरु मतदान स्थल पुगेर तोडफोडमा सक्रिय भएका थिए ।

    तोडफोडमा संलग्न युवासँग केही नेपाली एनआरएन प्रतिनिधिले प्रतिकार गरेका थिए । कोषाध्यक्ष पदका उम्मेदवार लोकेन्द्र नेपाल र संघ बेल्जियमकी पूर्वध्यक्ष शारदा अर्याल, क्षेत्री समाजकी अध्यक्ष मुना केसीलाई चोट लागेको छ ।

    घटनापछि निर्वाचन समितिका सदस्य सचिव शिवकुमार बटुवालले वक्तव्य जारी गर्दै हलमा प्राप्त भिडिओका आधारमा समितिले कानूनी कार्वाहीका लागि बेल्जियम प्रहरीलाई जानकारी गराइसकेको उल्लेख छ ।

    निर्वाचन अनुगमन प्रतिनिधिको रोहवरमा मतपेटिका सुरक्षित ठाउँमा तालबन्दी गरी राखिएको जनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार अगाडि बढ्ने पनि जारी वक्तव्यमा उल्लेख छ ।

    प्रवासी नेपाल एकता मञ्च बेल्जियमका अध्यक्ष बोधराज पौड्यालले वक्तव्य जारी गर्दै घटनालाई सुनियोजित भएको बताउँदै आपत्ति व्यक्त गरेका छन् । निर्वाचत समिति संयोजक शालिक थपलियाले पनि वक्तव्य जारी गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।

    एनआरएन बेल्जियमको निर्वाचनमा जहिले पनि पार्टीगत आधारमा चुनाव हुने गरेको छ। यसपटक नेपालमा भएको गठबन्धन अनुसार नै सत्तारुढ गठबन्धन एकातिर र एमाले एकातिर भएर चुनाव लडेकोमा गठबन्धन पक्ष तोडफोडमा उत्रिएका आरोप एमाले पक्षले लगाएको छ ।

     

  • बेलायती प्रधानमन्त्रीको कार्यालयअघि गोर्खाहरुको रिले अनसन आजदेखि

    बेलायती प्रधानमन्त्रीको कार्यालयअघि गोर्खाहरुको रिले अनसन आजदेखि

    लन्डन । समान पेन्सन लगायतका अधिकार माग गर्दै गोर्खा समुदायले आज बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालय अघि रिले अनसन प्रदर्शन गर्ने भएका छन् ।

    ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले बुधबार विज्ञप्ति जारी गर्दै १३ दिने रिले अननसन लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । साथै समितिले आफ्ना अन्तर्राष्ट्रिय कानून व्यवसायीमार्फत अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिएको छ ।

    राष्ट्रसंघीय मानवअधिकार परिषद्को युनिभर्सल पिरियोडिक रिभ्यू तथा आइएलओ लगायतका निकायमा मुद्दा हाल्ने उसको चेतावनी छ । आजदेखि सुरु हुने रिले अनसनमा ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घले अनसनमा बस्दैछन् ।

    उनीहरुले अबको आन्दोलन निर्णायक हुने दाबी समेत गरेका छन् ।

  • साधारण सदस्यता लिएकालाई उम्मेदवारमा वञ्चित गराएपछि एनआरएनए कोरियामा विवाद

    साधारण सदस्यता लिएकालाई उम्मेदवारमा वञ्चित गराएपछि एनआरएनए कोरियामा विवाद

    सोल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको साधारण सदस्यताको विवाद उत्कर्षमा पुगेको छ । त्यहाँ साधारण सदस्यता लिएका विद्यार्थीलाई कार्यसमितिका पदमा उमेदवार हुन वन्चित गरिएकोप्रति उनीहरुले एनआरएनए अन्तरर्राष्ट्रिय परिषद्, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया र एनआरएनए एशिया प्रशान्त क्षेत्रको ध्यानाकर्षण समेत गराएका छन् ।

    विद्यार्थीको एनआरएनएमा संस्थागत आवद्धताका विषयमा छलफल गरी उचित निष्कर्ष निकाल्न माग गरिएको छ । विभेदकारी प्रक्रियाको अन्त्य नगरिए सदस्यता खारेज गरी सदस्यताका निम्ति बुझाएको रकम पनि फिर्ता गर्न माग गरिएको छ ।

    कार्यसमिति पदका लागि एनआरएनए कोरियाको अधिवेशनमा पटकपटक कुरा उठाए पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ । ‘विदेशमा रहेका नेपालीले निरन्तर उठाउँदै आएको ‘नोट चल्ने भोट नचल्ने’ आवाज जस्तै आज हामी कोरियामा अध्ययनरत विद्यार्थीले ‘भोट चल्ने तर उमेदवारी किन नचल्ने’ भन्ने प्रश्न राख्न बाध्य भएका छौँ, ‘नेपालीका निम्ति नेपाली’ भन्ने मूल नाराका साथ अगाडि बढेको गैरआवासीय नेपाली सङ्घले विद्यार्थी नेपाली नागरिकनै नभएको जस्तो व्यवहार गरेको छ र यस्तो व्यवहारमा हाम्रो गम्भीर आपत्ति रहेको छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

    त्यहाँ अध्ययनरत विद्यार्थीको एनआरएनए निम्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान रहेको जनाउँदै उनीहरुले संस्थागत हिनका लागि विद्यार्थीका हकमा विभेदकारी व्यहार गरेकामा आश्चर्य प्रकट गरेका छन् ।

    संस्थाको विभिन्न टास्क फोर्समा रहेर काम गर्न, सेमिनारलगायतका शैक्षिक गतिविधिमा काम गर्न विद्यार्थी चाहिने तर कार्यसमितिमा रहेर काम गर्नका निम्ति किन विद्यार्थीलाई वन्चित गरिएको भनी प्रश्न गरिएको छ । उनीहरुले संस्थालाई गतिशील बनाउनका निम्ति अप्ठ्यारो अवस्थामा विद्यार्थी संस्थामा आएर सम्पूर्ण कार्यभार समालेर एउटा विन्दुमा पुर्‍याइएको उदाहरण विगतका प्रायजसो कार्यसमितिमा देखिएको जनाएका छन् ।

    विद्यार्थीले साधारण सदस्य बन्न मिल्ने, मतदान प्रक्रियामा सामेल हुन पनि मिल्ने तर राहदानी प्रकारको कारण देखाएर उमेदवार बन्न नमिल्ने भनेर विद्यार्थीलाई पाखा लगाउने काम लगातार रूपमा भइरहेकामा चिन्ता व्यक्त समेत गरेका छन् । विद्यार्थीलाई आवश्यक पर्दा प्रयोग गर्ने साधन मात्र बनाइएको आरोप लगाएका छन् ।

    विदेशमा बस्ने नेपालीको हक र हितका निम्ति काम गर्ने संस्था भएको नाताले पनि विदेशी भूमिमा लामो समय बस्न सम्भावना रहेका विद्यार्थी साथीलाई संस्थागत आवद्धतामा वन्चित गरिनु न्यायोचित नभएको विद्यार्थीको तर्क छ ।

  • एनआरएनए मलेसियाको अध्यक्षमा थापा निर्विरोध निर्वाचित

    एनआरएनए मलेसियाको अध्यक्षमा थापा निर्विरोध निर्वाचित

    क्वालालाम्पुर । गैरआवासिय नेपाली संघ मलेसियाको अध्यक्षमा विनोदवहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रन्जितकुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध भएका छन् ।

    उनीहरु सहमतीमै निर्विरोध भएका हुन् । सदस्यमा वीरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध भएका छन् । आईसीसी सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास हुन बाँकी छ ।

    सहमतिको लागि प्रयास भैरहेको जनाइएको छ । अहिलेसम्म मलेसियामा एनआरएनको चुनाव भएको छैन । मलेसिया एनआरएनले निर्विरोध भएको पत्र केन्द्रमा पठाएपछि मात्र यसले वैधानिकता पाउने छ ।

    मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु छन् । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै हो ।

    थापाको काँधमा अव सबै एनआरएनलाई मिलाएर लैजानु, एनआरएनलाई मजदूरमुखी बनाउनु र दूतावाससँग समन्वय गर्दे नेपाली मजदूरका मुद्दालाई उठाउनुका साथै नेपालका लगानीको वातावरण मिलाउनुसम्मको चुनौती थपिएको छ ।

  • खोप लगाएका नेपाली श्रमिक साउन २५ गतेदेखि साउदी अरब जान पाउने, यात्रा प्रतिबन्ध पनि फुकुवा हुँदै

    खोप लगाएका नेपाली श्रमिक साउन २५ गतेदेखि साउदी अरब जान पाउने, यात्रा प्रतिबन्ध पनि फुकुवा हुँदै

    काठमाडौं । साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।

    साउदीको यो निर्णयपछि अब साउदीले अनुमति दिएको खोप लगाएर नेपालीहरु पनि त्यहाँ जान पाउने भएका छन् । साउदीले जोन्सन एन्ड जोन्सनसहित अस्ट्राजेनेका खोपलाई अनुमति दिएको छ ।

    यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।

    त्यहाँको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले कोभिडका विरुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो । साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही साउन २५ गतेदेखि (अगष्ट ९) बाट यो यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ ।

    यसअघि त्यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा सङ्क्रमितहरु देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको संख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौँ विदेशी उडानहरु पनि रोकिएको थियो ।

  • कोलकातामा २०८ औँ भानुजयन्ती मनाइयो

    कोलकातामा २०८ औँ भानुजयन्ती मनाइयो

    काठमाडौं । नेपाली जनकल्याण समिति, दासनगर-५, हावडा कोलकाताको आयोजनामा भएको २०८औंँ भर्चुअल भानुजयन्ती भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरी सम्पन्न भएको छ ।

    कार्यक्रममा कवि मायादेवी अर्याल(८९), प्रह्लाद पोखरेल, डा. बमबहादुर जिताली, शैलेन्दुप्रकाश नेपाल, खोलाघरे साहिँलो, मुरारी सिग्देल, देवेन्द्र केसी, वीरबहादुर लोहनी, ध्रुव पौडेल, सूर्यकुमार पण्डित, गिरिराज जोशी, टेकबहादुर लौडारी, चन्द्रमणि अधिकारी, सूर्यवदना पण्डितलगायतले भानुका रचना तथा आआफ्ना पद्य रचना एवं टीकारामगोपाल भित्रीकोटी, अनुपकुमार भेटुवाल, डा. किस्मत भण्डारी (क्यानडा), शिलु शर्मा, चित्रा पौडेललगायतले आ-आफ्ना गद्यकविता वाचन गरे । कवि राजेन्द्र गुरागाईँले बङ्गाली भाषामा भानुसम्बन्धी कविता वाचन गरे ।

    कवि ऋषभ घिमिरेले संयोजन गरेको सो कार्यक्रममा समितिका सल्लाहकार धर्मराज बरालले समितिले करीब २० वर्षदेखि भानुजयन्तीलगायत कार्यक्रम गरी नेपाल र भारत तथा नेपाली र भारतीय नेपालीलाई जोड्ने तथा एकता गराउने महत्वपूर्ण भूमिका खेलेको बताए ।

    समितिका अध्यक्ष बद्रीविक्रम थापा र महासचिव रामबहादुर कार्कीले समितिले कोलकातामा नेपाली समुदायबीच साहित्य, संस्कृति तथा मानवीय कार्य गरिरहेको जानकारी दिए । भानु प्रतिष्ठानका अध्यक्ष प्रा. डा. व्रतराज आचार्यले आदिकविको भूमिका तथा कोलकाता र नेपालको साहित्यिक सम्बन्धबारे प्रकाश पारे भने कवि एवं अनुवादक युयुत्सु आरडी शर्मा, रामायण धमला, तिलकराम शर्मा, मनबहादुर श्रेष्ठले कार्यक्रमलाई शुभकामना दिएका थिए ।

    समितिले संस्थागत रुपमा सन् १९९७ देखि भानुजयन्ती मनाउँदै आएको छ । संस्थाले वार्षिक रुपमा साहित्यिक ‘बिहानी’ पत्रिका पनि प्रकाशन गर्दै आएको छ । रासस

  • एनआरएनएको विश्व सम्मेलन कार्तिक ६ देखि ८ मा हुने

    एनआरएनएको विश्व सम्मेलन कार्तिक ६ देखि ८ मा हुने

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३-२५ (२०७८ कार्तिक ६-८) मा आयोजना गर्ने निर्णय गरेकोे छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

    अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ ।

    यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए ।

    बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।

  • देउवा सरकारसँग मिलेर एनआरएनले काम गर्ने, सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान तयारी

    देउवा सरकारसँग मिलेर एनआरएनले काम गर्ने, सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान तयारी

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले शेरबहादुर देउवा नेतृत्वको सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएको छ ।

    अध्यक्ष कुमार पन्तले शनिबार विज्ञप्ति जारी गर्दैै नवनियुक्त प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् । देउवाको कार्यकालमा संघ र सरकारबीचको सम्बन्ध प्रगाढ हुने आशा लिइएको छ ।

    महामारीविरुद्ध विभिन्न जिल्लाका अस्पताललाई ५५३ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरिएको जानकारी दिँदै संघले सातैवटा प्रदेशमा अक्सिजन प्लान्ट जडान गर्ने योजना रहेको पनि जनाएको छ ।

    मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउन देउवाको कार्यकाल सफल हुने आशा पनि एनआरएनले लिएको छ ।

  • हल्ट प्राइजमा प्रतिस्पर्धा गर्न युवा वैज्ञानिकहरू लन्डन जाँदै

    हल्ट प्राइजमा प्रतिस्पर्धा गर्न युवा वैज्ञानिकहरू लन्डन जाँदै

    लन्डन । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन जाने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो ।

    डल्ले च्याउ बनाउने मेसिन बनाएर प्रतिस्पर्धामा सहभागी भएका युवा वैज्ञानिकहरू शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोख्रेलको टोली अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म लण्डनमा हुन लागेको कार्यक्रमका लागि आउने तयारीमा छ । विश्वभरिबाट अन्तिम चरणका लागि पुगेका ६९ सहभागी हुने उक्त कार्यक्रममा नेपाली युवा वैज्ञानिक पनि सहभागी हुन लागेको चारमध्येका एक प्रतिस्पर्धी शिरिर पन्तले जानकारी दिए ।

    लण्डनमा सहभागी हुन आउन खर्च लाग्ने दुखेसो गरेपछि गैरआवसीय नेपाली स)घका पदाधिकारीले व्यक्तिगतरूपमा र संस्थागतरूपमा सहयोग गर्न पहलका लागि गो फण्ड परोपकारी सञ्जालमार्फत रकम सङ्कलनको अभियान चलाइएको एक सामाजिक अभियानकर्मीले जानकारी दिए । बस्न र खानका लागि बेलायतमा रहेका नेपाली व्यवसायीले सहयोग गर्ने बताए पनि आउने जाने खर्चका लागिसमेत रकमको समस्या रहेको हुँदा उक्त सहयोग अभियान सञ्चालन गरिएको हो ।

    घरेलु उद्योगका रूपमा विकास गर्न पनि सकिने र गृहिणीले आफ्नो बचेको समयमा यसैमा समय बिताए पैसा र पौष्टिक आहार दुवै हुने सोचका साथ विकास गरिएको मेसिनले कम खर्चमा डल्ले च्याउ उत्पादन गर्ने बताइएको छ । हाल व्यावसायिकरूपमा च्याउखेती गरिँदै आए पनि बढी खर्चिलो भएको हुँदा यो प्रविधिले थोरै रकमबाट पनि आर्थिक आयआर्जन गर्न सकिने र विदेशबाट आयात गरिने च्याउको मात्रामा समेत कमी आउने युवा वैज्ञानिकको भनाइ छ । रासस

  • अमेरिकामा एक नेपालीबाट अर्का नेपालीको गोली हानी हत्या

    अमेरिकामा एक नेपालीबाट अर्का नेपालीको गोली हानी हत्या

    काठमाडौं । अमेरिकामा एक नेपालीले अर्का एक नेपाली युवकलाई गोली प्रहार गरि हत्या गरेका छन् । न्युजर्सीको ग्यास स्टेसनमा नेपालीबाट नेपालीकै हत्या भएको हो । २४ वर्षिय मिलन घिमिरेले सोही स्टेसनमा काम गर्ने ५६ बर्षका फु छेवाङको गोली हानेका हुन् ।

    सोमबार राती पौने १० बजे गोली चलाएर उक्त हत्या गरिएको थियो । सोमबार राती घटनापछि प्रहरी केहीबेरमै घटनास्थल पुगेको थियो ।

    तर, प्रहरीले चाहिँ उक्त घटना ग्याँस स्टेसनमा नभई घरमा नै भएको जनाएको छ । घिमिरे आफैले घटनापछि प्रहरीलाई फोन गरेका थिए । उनले फोनमा भनेका थिए – ‘मैले एकजनालाई गोली हानें । मर्यो कि ज्यूदै छ थाहा भएन ।’

    प्रहरी घटनास्थलमा प्रहरी पुग्दा छेवाङ मृत भेटिएका थिए । गोली हानेका घिमिरे चाहिँ त्यहाँबाट भागेका थिए । घटनास्थलबाट घिमिरे मिसिसिपीको लाइसेन्स प्लेट भएको कालो क्राइस्लर गाडीमा भागेका थिए । घिमिरे र छेवाङ रुममेट समेत रहेको जनाइएको छ । छेवाङको शरिरमा धेरैपटक गोली चलाइएको पाइएको छ ।

  • दक्षिण कोरियामा नेपाली मजदूरको तलब न्यूनतम दुई लाख रुपैयाँ

    दक्षिण कोरियामा नेपाली मजदूरको तलब न्यूनतम दुई लाख रुपैयाँ

    सोल । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदूरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो ।

    सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ । यो रकम झण्डै नेपाली दुई लाख रुपैयाँ बराबर हो ।

    न्यूनतम ज्याला निर्धारण समितिमा नौ सदस्य रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ । सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो ।

    न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदूरका तर्फबाट प्रतिनिधित्व गर्नेले अहिलेको आठ हजार ७२० वनबाट १० हजार वन माग राखेका थिए भने व्यवसायीको तर्फबाट प्रतिनिधित्व गर्नेले भने आठ हजार ७२० नै कायम गर्नुपर्ने अडान लिएका थिए । कोरोना महामारीका कारण व्यवसाय धरापमा परेको भन्दै उनीहरुले ज्याला बढाउन नहुने तर्क गरेका थिए ।

    मजदूरका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच निष्कर्ष निस्किन नसकेपछि सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेले मध्यमार्गी बाटो सुझाएका थिए । उनीहरूले नै प्रतिघण्टा ४४० वन वृद्धि गर्न प्रस्ताव गरेका थिए र सहमति भएको थियो ।

    प्रतिघण्टा ४४० वनको वृद्धि भनेको पाँच दशमलव ०४६ प्रतिशतको वृद्धि हो तर न्यूनतम ज्याला निर्धारण समितिले औपचारिक प्रयोगका लागि ५.१ प्रतिशतको वृद्धि मानेको छ । कानूनीरूपमा न्यूनतम ज्याला निर्धारण समितिले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयले अगष्ट ५ मा ज्याला घोषणा गर्नेछ ।

    मजदूरका लागि महिनाको १० हजार वन पुर्‍याउने चुनावी लक्ष्य राखेका राष्ट्रपति मुनजे इन कार्यकालको अन्तिम अन्तिम चरणमा पुग्दा पनि सफल हुन सकेनन् । तैपनि मुन जे इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, सन् २०१९ मा १०.९ प्रतिशत, सन् २०१९ मा २।९ प्रतिशत तथा सन् २०२० मा अहिलेसम्मकै सबैभन्दा कम १.५ प्रतिशत तलब वृद्धि भएको थियो ।

  • कार दुर्घटनामा अमेरिकामा नेपाली युवती गम्भीर घाइते, उपचारका लागि आर्थिक संकलन हुँदै

    कार दुर्घटनामा अमेरिकामा नेपाली युवती गम्भीर घाइते, उपचारका लागि आर्थिक संकलन हुँदै

    टेक्सस । अमेरिकाको टेक्सासमा कार दुर्घटना हुँदा १९ वर्षिया नेहा भुसाल गम्भीर घाइते भएकी छन् । बुटवल घर भएको नेहा अहिले अमेरिकाको टेक्सासमा बसोबास गर्दै आइरहेकी छिन् ।

    उनी गम्भिर घाइते भएकाले हाल आईसीयूमा उपचार भइरहेको मिसिगनबाट विपिन श्रेष्ठले जानकारी दिए । उनको गोडामा गम्भीर चोट लागेको छ ।

    बीमाबापत पनि उपचारको लागि खर्च धान्न नसक्ने भएकाले सहयोगको लागि गोफण्डमा अभियान चलाइएको छ । संकलित सबै रकम नेहाको सर्जरी, औषधी र मेडिकल बिलमा खर्च गरिने जनाइएको छ । संकलन हुने रकम उनको उपचारमा सहयोग गरिने भएको छ ।

  • बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

    बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

    सिन्धुपाल्चोक । सेवा समाज-यूएई, सिन्धुपाल्चोक समाज-दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज-कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिए ।

    पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग सुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिए । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का ९ परिवारलाई ५-५ हजार रुपैयाँका दरले सहयोग सुरु गरिएको हो ।

    आर्थिक सहायता प्रदान गर्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट पाँच लाख ४० हजार रुपैयाँ, सिन्धुपाल्चोक सेवा समाज-दुवईबाट एक लाख २६ हजार र सिन्धुपाल्चोक सेवा समाज-कुवेतबाट दुई लाख ४० हजार रुपैयाँ सङ्कलन भएको यूएईका सचिव हरि दुलालले जानकारी दिए ।

    वडा नं १ का प्रभावितलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ भने वडा नं २ का प्रभावितलाई प्रदान गर्नका लागि वडाध्यक्ष छिरिङग्याल्बु लामालाई रकम हस्तान्तरण गरिएको छ ।

    वडा नं ३ का प्रभावितका लागि प्रदान गर्न वडासदस्य दमैसिं तामाङलाई रकम हस्तान्तरण गरिएको छ । इस्ट पोइन्ट एकेडेमीका प्रधानाध्यापक दामोदर भारतीलाई शनिबार नै सहयोग रकम हस्तान्तरण गरिएको छ ।

  • जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व

    जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व

    काठमाडौं । नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानाले ७४ मत ल्याए । सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए ।

    कांग्रेसको महासमिति सदस्य समेत रहेका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

  • कतार प्रवेश गर्ने नेपालीका लागि संशोधन भयो स्वास्थ्य मापदण्ड

    कतार प्रवेश गर्ने नेपालीका लागि संशोधन भयो स्वास्थ्य मापदण्ड

    काठमाडौं । कतार सरकारले कतार प्रवेश गर्ने नेपाली यात्रुहरुका लागि प्रचलित मापदण्डमा परिवर्तन भएको छ । भोलिदेखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुको लागि संशोधनसहितको मापदण्ड लागू गर्न लागेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

    कतार प्रवेश गर्ने यात्रुका लागि स्वास्थ्य मापदण्डमा परिवर्तन भएको छ । अब कतार जाने यात्रुले दुवै खोप लगाएका छन् भने क्वारिन्टिनमा बस्नु नपर्ने भएको छ । साथै, कतारमा मान्यता दिएका खोपको मात्रा कुनै देशमा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका यात्रुले समेत क्वारिन्टिन बस्नु नपर्ने भएको छ ।

    यसैगरी, कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुलेसमेत क्वारिन्टिन बस्नु नपर्ने भएको छ । खोपका मात्रा पूरा नगरेका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्यरूपमा ‘डिस्कोभर कतार’ वेबसाइटमा गई बुकिङ गरी १० दिन होटल क्वारिन्टिन वा १४ दिन मेखाइनिस क्वारिन्टिन बस्नुपर्नेछ ।

    हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड-१९ नेगेटिभ पीसीआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइनेछ । माथि उल्लेखित खोपको मात्रा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका व्याक्तिका लागि पारिवारिक भ्रमण, व्यवसाय तथा पर्यटक भिसा जारी गर्न सकिने छ ।

  • एनआरएनए जापानको अध्यक्ष पदमा पौडेलको उम्मेदवारी घोषणा

    एनआरएनए जापानको अध्यक्ष पदमा पौडेलको उम्मेदवारी घोषणा

    टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्‍याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताए ।

    एनआरएनए जापानको यही जुलाई २५ देखि २७ सम्म महाअधिवेशन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ ।

    आगामी दुई वर्षे कार्यकालका लागि पौडेल जस्तै आधा दर्जन व्यक्तिले अध्यक्षको प्रत्यासीका रुपमा आफूलाई अगाडि सारेका छन् । पौडेलले २५ बुँदे लामो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

  • एनआरएनए बेलायतको अध्यक्ष पदमा रोजिनाको उम्मेदवारी घोषणा

    एनआरएनए बेलायतको अध्यक्ष पदमा रोजिनाको उम्मेदवारी घोषणा

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतकोे अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन् । भर्चुअल पत्रकार सम्मेलनमार्फत उनले उम्मेदवारी घोषणा गर्दे ९ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेकी छन् ।

    घोषणापत्रमा बेलायतप्रति पारदर्शी, प्रविधिमैत्री र एकताका लागि प्रतिबद्धता लगायत उल्लेख छन् ।

    गोर्खा सैनिक आन्दोलनमा साथ, सानाठूला तथा सामूहिक लगानी प्रवर्धन, पर्यटन प्रवद्र्धन र व्यापार, आपतकालिन कोष स्थापना, नेपाली भाषा संस्कृति, भेषभूषाको प्रर्वधन, आर्थिक स्थायित्व, एनआरएनए यूके सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, स्मार्ट एनआरएनए, निःशुल्क सदस्यता– स्थायी सचिवालय स्थापना लगायत छन् ।

  • लन्डनमा मनाइयो भानुजयन्ती

    लन्डनमा मनाइयो भानुजयन्ती

    लन्डन । बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा परिषद्का पदेन संरक्षक एवं बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको समृद्धिका लागि परिषद्लाई सहयोग गरिने जानकारी दिए ।

    परिषद् नेपाल शाखाका सल्लाहकार प्राडा देवीप्रसाद सुवेदीले आदिकवि भानुभक्तले रामायणमार्फत भाषिक एकता कायम गरेको बताए । परिषद्का संस्थापक अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण तथा सर्जकलाई प्रोत्साहन गर्न परिषद्ले काम गरिरहेको जानकारी दिए । परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले भानुभक्तले तत्कालीन समाजमा साहित्यिक जागरण अभियान शुरु गरेको जानकारी गराए । रासस