Author: Shyamkrishna Dahal

  • निर्वाचन आयोगको निर्णयले केपी ओलीको अडानलाई बल पुगेको छ : पोखरेल

    निर्वाचन आयोगको निर्णयले केपी ओलीको अडानलाई बल पुगेको छ : पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष) का नेता ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीको अडानलाई बल पुगेको बताएका छन्।

    वागमती प्रदेश कमिटीले धुम्वाराहीस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोगको निर्णयलाई सकारात्मक रुपमा लिने पोखरेलले बताए । ‘निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्छौं, सकारात्मक ढंगले लिन्छौं,’ पोखरेलले भने, ‘शुरुदेखि नै केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको तर्फबाट जे अडान राखिएको थियो, त्यो अडानलाई बल पुग्ने स्थिति हामीले देखेका छौं ।’

    निर्वाचन आयोगले प्रचण्ड-माधवपक्षीय नेकपाले गरेको निर्णयलाई भने मान्यता नदिएको उनको जिकिर थियो । उनको भनाइ छ-पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबाट जे कुरा भइरहेको थियो । त्यो कुरालाई ‘रिक्गनाइज’ गरिएको छैन् । उहाँहरुले यसबीचमा जे-जे कुरा गर्न खोज्नुभयो । ती कुनै पनि कुरालाई आयोगले मान्यता दिएको छैन ।’

    उनले आफ्नो पक्षीय नेकपाबाट भएका निर्णयलाई भने राजनीतिक भने । ‘केपी शर्मा ओलीले प्रथम अध्यक्षका रुपमा गरेका निर्णयहरू राजनीतिक हुन । कानुनी रुपमा जरुरत पर्दा हामी यथोचित रुपमा प्रस्तुत हुन्छौं,’ पोखरेलको भनाइ छ ।

    पोखरेलले प्रचण्ड-माधव पक्षले ओलीमाथि लगाएको अभियोग फिर्ता गरे र तोकिएको निर्वाचनमा जान तयार भए पार्टी एकता कायम रहने बताए । ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ,’ उनको भनाइ छ, ‘कार्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को अध्यक्ष सम्माननीय प्रधानमन्त्री ज्यूलाई जुन गम्भीर अभियोग लगाउनु भएको छ, त्यो अभियोग पत्र फिता लिनुपर्छ । घोषित भएको निर्वाचनमा सहभागी हुनका लागि तयार भएर आउनुपर्छ ।

  • बादलको दाबी- निर्वाचन आयोगले ओलीको नेतृत्वलाई आधिकारिकता दियो

    बादलको दाबी- निर्वाचन आयोगले ओलीको नेतृत्वलाई आधिकारिकता दियो

    कालिकोट । गृहमन्त्री रामवहादुर थापा (बादल)ले निर्वाचन आयोगको निर्णयले केपी ओली नेतृत्वको पार्टीलाईनै आधिकारिक मानेको दाबी गरेका छन् ।

    उनले अदालतले पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा चाँडो किनारा लगाइदिए निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सकिने बताएका छन् ।

    कालिकोटमा सोमवार आयोजित ओली पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अदालतले फैसला दिन ढिलो गरे निर्वाचनको मिति वैशाख १७ र २७ बाट केही पर सर्न सक्ने बताए ।

    बादलले भने-निर्वाचन आयोगले हिजो निर्णय दिएको छ,केपी ओली नेतृत्वको पार्टीनै आधिकारिक हो,हामीले कसैलाई हटाएका छैनौं र पार्टी फुटाएका छैनौं । अब सूर्य चिह्नको विवाद पनि रहेन हाम्रै हुन्छ । अदालतले ढिला गर्दा चुनाव केही पछि सर्न सक्छ ।

    प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने भन्दै उनले पुनःस्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् भने । विप्लब समूहलाई पनि चुनावमा भाग लिने गरि आउन प्रधानमन्त्रीले आग्रह गरिसकेको बादलले बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले विप्लब समूहलाई चुनावमा आउनुस मिलेर जाउँ नयाँ सरकारमार्फत तपाईहरुका राजनीतिक कार्यक्रम लागू गरौंला भनिसक्नुभएको छ । यो जिल्लामा पनि विप्लबको प्रभाव छ, म आग्रह गर्छु- आउनुस् बलियो कम्युनिस्ट पार्टीमार्फत तपाईहरुका राजनीतिक माग पूरा गरौं ।’

  • इजलासमा शम्भु थापाको बहस फाइल हराएपछि…

    इजलासमा शम्भु थापाको बहस फाइल हराएपछि…

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाको फाइल हराएको छ ।

    रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दागर्दै बहसको फाइल हराएपछि केहीबेर समय लिएका छन् । इजलासमा ब्रेक भएको छ।

    ‘कति समय लिनु हुन्छ ?’ भनी न्यायाधीशले सोध्दा थापाले ‘अहिलेलाई २० मिनेट । त्यसपछि आवश्यक पर्‍यो भन्ने थप्छु । मलाई धेरै भन्नु छैन नयाँ कुरा केही गर्नु छैन । संविधानको व्याख्या थुप्रै अधिवक्ताहरुले गर्नुभएको छ । मैले पनि त्यही कुरा भन्ने हो, प्रधानमन्त्रीजस्तो मेरो लागि नयाँ संविधान छैन ।’ भनि बताएका थिए । बहस किताब मिसप्लेस भएको र भेटिसकेको बताइएको छ । बहस केही बेरपछि शुरू हुनेछ ।

  • बालुवाटारअघि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मीहरू पक्राउ (फोटो/भिडियो)

    बालुवाटारअघि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मीहरू पक्राउ (फोटो/भिडियो)

    काठमाडौं । संसद विघटनविरुद्ध बालुवाटारमा अधिकारकर्मीहरूले सोमबार प्रदर्शन गरेका छन् ।

    प्रदर्शनको क्रममा प्रहरीले मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण पहाडीसहित करिब २ दर्जनलाई पक्राउ गरेको छ ।

    प्रदर्शनकोक्रममा अदालतलाई प्रभावमा पार्न खोजिएको, राज्य संयन्त्रले अधिकारको दुरुपयोग गरेको लगायतका नारा लगाइएको थियो ।

     

  • माधव नेपालको रमाइलो भाषणः सोझा प्रचण्ड जालझेल बुझ्‍नुहुन्‍न, हामी त भुक्तभोगी (भिडियो)

    माधव नेपालको रमाइलो भाषणः सोझा प्रचण्ड जालझेल बुझ्‍नुहुन्‍न, हामी त भुक्तभोगी (भिडियो)

    काठमाडौं । विभाजित नेकपाका ‘अध्यक्ष’ माधवकुमार नेपाल रसिलो भाषण गर्नेमा चिनिँदैनन् । प्रायः खस्रा भाषण गरेर सहभागीलाई उँघ्न वाध्य पार्ने नेपालले सोमबारको पत्रकार सम्मेलनमा भने केहीबेर हँसाए ।

    त्यसो त उनको भाषण आज पनि केपी ओलीमाथि नै केन्द्रित थियो । तथापि, अलिक फरक शैलीमा उनी प्रस्तुत भए । ओलीलाई ‘धर्तीकै बेइमान मान्छे’ को संज्ञा दिएका नेपालले प्रचण्डलाई भने जालझेल नबुझ्ने सोझो नेताका रुपमा चित्रित गरेका थिए ।

    नेपालले गरेको छोटो सम्वोधनका केही अंश उनकै शब्दमा :

    केपी ओली त प्रशंसाको भोको, आलोचना सुन्नै नचाहने मान्छे हो । उहाँ भन्नुहुन्छ मलाई राम्रो काम गर्न दिइएन । मेरा हात खुट्टा बाँधे । घेराबन्दी गरे । तर, हामीले राम्रो काम गर्न कहाँ रोकेका छौं ? राम्रो काम गर्नुस्, राम्रो काम गर्नुस् भनिरहेका छौं ।

    हामीले ओम्नी, यती प्रकरणजस्ता अनेक खालका भ्रष्टाचारजन्य कुराहरूको सन्दर्भमा सत्य, वास्तविकता के हो छलफल गरौं भनेर आवाज उठायौं । उहाँले छलफलै गर्न नचाहने । अहिले त सबैतिरबाट केपी ओली एक्लिएका छन् । नागरिक समाज उनको साथमा छैनन् । मिडिया उनका पक्षमा छैनन् । पूर्वन्यायाधीश उनका पक्षमा छैनन् । उनी पूरै एक्लिएका छन् ।

    यो प्रतिनिधिसभा भंग गर्ने आधारै छैन । सर्वोच्च अदालत जस्तो सम्मानित संस्थाका सम्मानित न्यायाधीशले अन्यथा निर्णय गर्नुहुन्छ भनेर हामी कसरी सोच्न सक्छौं ?

    केपी ओलीको चुनाव-सुनाव गर्ने इच्छै छैन । चाहनै छैन । उहाँ तीन महिनामा चुनाव गराएर बालकोट जानुहुन्छ त ? अहँ होइन । उहाँ त पाँच वर्ष, अर्को पनि पाँच वर्ष बस्छु भन्नेमा हुनुहुन्छ । दिएनन् भने सबै भंग गर्दिन्छु, त्यसपछि संकटकाल लगाएर, तानाशाही लादेर भए पनि सत्तामा टाँसिएर बस्छु भन्ने चाहना हो उहाँको । कसलाई थाहा छैन ?

    उहाँका प्रत्येक कुरा नक्कली हुन्छन् है, विश्वास नगर्नुस । उहाँको भन्ने कुरा एउटा र भित्री कुरा अर्कै हुन्छ । हाम्रो प्रचण्ड कमरेडले विश्वास गर्नुभएछ, कागजमा सही गर्नुभएनछ । निर्वाचन आयोगले लेखेर पठाएछ, दुईवटा अध्यक्षको हुनुपर्नेमा तपाईंको खोई भने । उहाँले फकाउनु भयो होला । केही छैन, मैले गरे हुन्छ भन्नुभयो होला । केपी ओलीको जालसाँझी हेर्नुस त । प्रचण्ड कामरेड सोझो हुनुहुन्छ, जालझेल बुझ्नुहुन्न । हामी पूर्वएमालेका त भुक्तभोगी । कामरेड जेएन खनाल पनि भुक्तभोगी, म त महा-भुक्तभोगी ।

    म त एउटा-एउटा घटना थाहा पाउँछु । कामरेड माओत्सेतुङले भन्नुभएको छ नि, कसौंडीमा भात पाको कि पाकेन भनेर एउटा सिता निकालेर छाम्दा थाहा हुन्छ । हो त्यस्तै, कोही मान्छे इमान्दार कि बेइमान छ भन्ने एउटै घटनाबाट थाहा भइहाल्छ । म त दुईवटा घटनाले चेतिसकेको छु । एउटा उहाँ (प्रचण्ड) लाई प्रधानमन्त्रीको निम्ति वचन दिएको घटना । हामी सबै साक्षी छौं त्यहाँ हेर्नुस् । कामरेड प्रचण्डलाई केपी ओली प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्री बनाउने (कुरा भएको थियो) ।… कतिखेर बनाउने ? भन्दा नीति-कार्यक्रम पास भइसकेपछि । बजेट पास भइसकेको भोलिपल्टै.. नीति-कार्यक्रम पास भयो, बजेट पास भयो । केपी दिनेवाला छैनन् ।

    विचरा उहाँ (प्रचण्ड) जानुहुन्छ, कहिले दिने भनेर । पख्नुस् न, अब अर्को हप्ता भनेर फर्काइन्छ । अर्को हप्ता बित्यो, फेरि पख्नुस् । अलि पछि त तपाईंलाई प्रधानमन्त्री चाहिने ? रे । अब हेर्नुस् त । अपमान गरेर पठाइसकेपछि उहाँ (प्रचण्ड) ले भन्नुभयो, ल यो सरकारमाथिको समर्थन म फिर्ता लिन्छु ।

    आफू कुर्सी छोड्नुपरेपछि केपी ओलीले कुर्सी नै भाँच्नुभयो । कामरेड प्रचण्ड प्रधानमन्त्री भएको भए त्यसबेला एमाले सरकारमा सामेल हुन्थ्यो । वामपन्थी सरकार नै बन्थ्यो । एमाले र माओवादीको संयुक्त सरकार । के बिग्रिन्थ्यो ? बरु उहाँले विपक्षी नै होस भनेर पूर्व एमालेलाई भाँच्नुभयो, एउटा पनि मान्छे मन्त्री बन्न सकेनन् । थाहा छ नि तपाईंलाई । म उहाँको पहिलो पहिलो कार्यकालको कुरा गर्दैछु ।

    दोस्रो घटना एउटा स्थाई समितिको सदस्य राख्नुपर्ने ठाउँ थ्यो । रघुजी पन्तको नाममा सहमति भएको थियो । निर्णय गरौं न भन्यो । गर्ने, गरिहाल्र्ने । अहिले ढिलो भयो, माइन्यूट पछि गर्ने भन्नुहुन्छ । पछि गर्ने भन्यो, वैठकै बस्दै बस्दैन । तीन महिना बित्यो, बैठकै बस्दैन । ६ महिना बित्यो बस्दैन । डेढ वर्षसम्म बैठक बसेन हेर्नुस । डेढ वर्षपछि मैले रघुजीलाई राख्नुपर्यो नि भन्दा कहिले भएको थ्यो सहमति पो रे । अब रेकर्ड छैन । लिखितम छैन् ।

    यस्तो बेइमान मान्छे हेर्नुस । म त यो दुईवटा घटनाले गर्दा केपी ओलीभन्दा बेइमान मान्छे यस धर्तिमै अर्को छैन भन्ने निस्कर्षमा पुगेँ हेर्नुस ।
    त्यसो हुनाले मान्छेलाई व्यवहारबाट जाँचिन्छ । गल्ति हुन सक्छ स्वीकार गरे भो नि । मैले भनेको थिएँ, तर गाह्रो पर्यो भन्दा बुझिन्छ नि । तर झूटो बोल्नुहुन्न । तपाईंहरुलाई पनि भन्न चाहन्छु झूटो नबोल्नुहोला है । बरु बोल्दै नबोल्नुस । हुन्छ भने हुन्छ भन्नुस । हुन्न भने हुन्न भन्नुस । निर्णय लिन नसके विचार गर्छु भन्नुस । कहिलेकाहीँ भुलभुलैयामा राख्नु छ भने पनि विचार गर्छु भन्ने हो । तर, झूटो नबोल्नुस । सम्भव हुने कुरा मात्रै गर्नुस् ।

  • प्रचण्ड-माधव पक्षले सार्वजनिक गर्‍यो आन्दोलनका नयाँ कार्यक्रम

    प्रचण्ड-माधव पक्षले सार्वजनिक गर्‍यो आन्दोलनका नयाँ कार्यक्रम

    काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षले संसद विघटनविरुद्धको विरोध आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।

    केही बेरअघि पत्रकार सम्मेलनमार्फत माघ १३ देखि माघ २८ गतेसम्मको १५ दिने विरोधको कार्यक्रम घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले दुई चरणको संघर्ष सफलतापूर्वक सञ्‍चालन भइसकेकोले संसद विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष जारी राख्ने बताए ।

    घोषित कार्यक्रममा सिठ्ठी जुलुसदेखि धर्ना, र्‍याली, विरोध प्रदर्शन र सभा रहेका छन् । माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गरिने भनिएको छ ।

    माघ १४-२१ सम्म संविधान सभा सदस्य, विघटित प्रतिनिधिसभाका सांसद साथै प्रदेशसभा सदस्यहरूले माइतीघरमा धर्ना दिने, १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभाको तय गरिएको छ ।

    यस्तो छ आन्दोलनको नयाँ कार्यक्रम

  • आज कति छ सुनचाँदीको भाउ ?

    आज कति छ सुनचाँदीको भाउ ?

    काठमाडौं । सुनको मुल्य सोमबार २ सय रूपैयाँ घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला २ सय घटेर ९१ हजार ९ सय तोकिएको छ ।

    चाँदीको मूल्य भने यथावत रही प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • ओली समूहलाई सान्त्वना, प्रचण्ड-माधव समूहलाई चोट

    ओली समूहलाई सान्त्वना, प्रचण्ड-माधव समूहलाई चोट

    काठमाडौं । निवार्चन आयोगले गरेको निर्णयलाई लिएर विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्षमा फरक-फरक मनोभाव देखिएको छ । ओली पक्षले आयोगको निर्णयलाई स्वभाविकरुपमा लिएको छ भने प्रचण्ड-नेपाल पक्ष असन्तुष्ट देखिन्छ ।

    दुवै पक्षले आयोगको निर्णय सम्बन्धमा छलफल गरेर आधिकारिक धारणा बनाइसकेका छैनन् । तर, ओली पक्षका नेताहरु यो निर्णयमा सकारात्मक देखिएका छन् । प्रचण्ड-नेपाल पक्ष भने प्रतिवादको तयारीमा छ । दुवैले आजै पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्दैछन् ।

    निर्वाचन आयोगको पछिल्लो निर्णयले पार्टी विभाजन नभएको प्रष्ट पारेको बताउँछन्, ओलीपक्षीय नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङ ।

    ‘हामीले के भनेका छौं भने नेकपा विभाजन भएको छैन,’ नेपाल प्रेससँगको कुराकानीमा उनले भने, ‘हामीले निर्वाचन आयोगलाई दिएको जवाफमा पनि नेकपा विभाजन भएको छैन भनेर पठाएका छौं । आयोगले हामीले केही थपेका कुरालाई अमान्य भन्यो । तर, अरु कुरा त जम्मै मान्यो । जहाँ केपी ओली र विष्णु पौडेल हुन्छन्, त्यो ठाउँ हो आधिकारिक ।’

    ‘आयोगले हामीले केन्द्रीय समितिमा गरेको थपघटलाई अमान्य भन्यो । तर, अरु जम्मै मान्यो । जहाँ केपी ओली र विष्णु पौडेल, त्यो ठाउँ आधिकारिक हो भन्ने स्थापित भएको छ ।’ -सुवास नेम्वाङ

    आयोगको निर्णयले सन्तुष्ट देखिएको ओली पक्ष आफूहरुले गरेको निर्णयलाई लिएर थप दावी÷विरोधमा नजाने मनस्थितिमा छ । नेम्वाङ भन्छन्- हाम्रो दावीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । हाम्रो अध्यक्ष केपी ओलीलाई निष्कासन गर्ने र अर्को कमरेडलाई अध्यक्ष नियुक्त गरेको भन्ने जुन चर्चा हामीले सुनेका थियौं, त्यसलाई निर्वाचन आयोगले अमान्य भनेको छ । यस्तो अवस्थामा समग्रमा निर्वाचन आयोगले ठीक निर्णय गर्‍यो । निर्वाचन आयोग यो विषयमा निर्णय गर्ने अधिकारप्राप्त सक्षम निकाय हो ।

    प्रचण्ड-माधव पक्ष भन्छः निर्णय प्रशासनिक मात्रै

    प्रचण्ड-माधव पक्षले भने आयोगको निर्णयप्रति असन्तोष प्रकट गरेको छ । प्रचण्ड-माधव पक्षीय नेकपाको प्रमुख सचेतक समेत रहेका नेता देव गुरुङले आयोगको निर्णय ‘प्रशासनिक तहको’ मात्रै भएको बताए ।

    उनी भन्छन्- विधिका हिसाबले अहिले आयोगले प्रशासनिक तहको निर्णय मात्रै गरेको छ । यस अवस्थामा न्यायिक निरुपणको दृष्टिकोणले प्रयोग गनुपर्ने दफाहरू प्रयोग भएको देखिँदैन ।

    विधिका हिसाबले अहिले आयोगले प्रशासनिक तहको निर्णय मात्रै गरेको छ । न्यायिक निरुपणको दृष्टिकोणले प्रयोग गनुपर्ने दफाहरू प्रयोग गर्न नै बाँकी छन् । – देव गुरुङ

    आयोगले विवाद निरुपणसम्बन्धी दफाहरू प्रयोग गर्न नै बाँकी रहेको उनको दावी छ । ‘अहिले दफा ५१ अनुसार राजनीतिक दलको विवरण अद्यावधिक मात्रै गरिएको छ,’ नेपाल प्रेससँग गुरुङले भने, ‘अद्यावधिक विवरण फरक परेको र बाझिएको अवस्थामा दुवै पक्षलाई बोलाएर आधिकारिक गराउनुपर्छ । दुवै पक्षले त्यही नै हो नभनेको अवस्थामा विवाद निरुपणसम्बन्धी दफाहरू प्रयोग गर्नुपर्ने हुन्छ । त्यो भनेको राजनीतिक दलसम्बन्धी दफा ४३, ४४, ४५, ४६ का प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।’

    अबको कदम कदम के ?

    ओली पक्ष आयोगले गरेको निर्णयको पूर्ण विवरण आएपछि त्यसको अध्ययन गर्नेबाहेक बाँकी प्रक्रियामा नजाने देखिन्छ ।

    तर, असन्तुष्ट जस्तो देखिएको प्रचण्ड-माधव पक्षले अब के गर्ला ? भन्ने प्रश्न छ । स्थायी कमिटी सदस्य लिलामणि पोखरेल आयोगको औपचारिक पत्र हेरेर मात्रै औपचारिक निर्णय गर्ने बताउँछन् । ‘आयोगको निर्णय हामीले औपचारिक रुपमा हेरेपछि मात्रै प्रतिक्रिया जनाउँछौं,’ संचारमाध्यममा आएका कारणले मात्रै अहिले हामीले टिप्पणी गर्नु उपयुक्त हुँदैन ।’

    पोखरेलको भनाइको सार पनि आयोगको निर्णय प्रारम्भिक खालको भन्ने छ । ‘निर्वाचन आयोगको यो अन्तिम निष्कर्ष हो कि बाँकी प्रक्रियाहरू पनि बाँकी छ ? त्यो पनि हेर्नुपर्छ,’ पोखरेल भन्छन्, ‘दलसम्बन्धी विविध दफाहरू छ । आयोगले कुन दफा प्रयोग गर्‍यो भनेर हेरेपछि मात्रै थप टिप्पणी हुन्छ ।’

    प्रचण्ड-माधव पक्षले विश्लेषण गरेजस्तो निर्वाचन आयोग थप प्रक्रियामा जान नमानेको अवस्थामा के होला ? भन्ने प्रश्न उब्जिन्छ । यसबारे गुरुङ भन्छन्, ‘त्यो चाहिं पार्टीले निर्णय गर्ने विषय पर्‍यो । निर्वाचन आयोगले प्रशासनिक तहमा भएको निर्णयलाई न्यायिक अथवा आयोगको तहमा लैजानुपर्‍यो ।’

    अदालतमा जान सकिने सम्भावनाबारे उनको भनाइ छ, ‘आयोगले न्यायिक तहमा छानविन गरेर नगर्दासम्म त यो निर्वाचन आयोगको क्षेत्राअधिकार भित्रकै विषय हो ।’

  • प्रदेश १ मा ३५ हजार फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप दिइने

    प्रदेश १ मा ३५ हजार फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप दिइने

    विराटनगर । प्रदेश १ सरकारले पहिलो चरणमा ३५ हजारलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । प्रदेशमा झण्डै ३७ हजार खोप आज आउँदैछ ।

    १४ माघबाट प्रदेशका १४ वटै जिल्लाका ३५ हजार फ्रन्टलाइनरलाई खोप लगाउने गृहकार्य थालिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईंले बताए ।

    १० दिनभित्र स्वास्थ्यकर्मीलाई खोप लगाइसक्ने तयारीका साथ स्थानीय तहहरूबाट खोप लगाइनेहरूको विवरण संकलन भइरहेको उनले जानकारी दिए । त्यस्तै कोरोना भाइरस संक्रमण नियन्त्रण कार्यमा खटिएका सफाइकर्मी र सुरक्षाकर्मीलाई पनि खोप दिइनेछ । पहिलो चरणमा खोप लगाएकाहरूले एक महिनापछि दोस्रो डोज लगाइनेछ ।

    विराटनगरस्थित क्षेत्रीय स्टोरमा भ्याक्सिन भण्डारण गरिनेछ । त्यहाँ करिब ७० हजार भ्याक्सिन राख्न सक्ने क्षमता छ ।

  • नेपाल प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

    नेपाल प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका एसएसपीहरुको सरुवा र पदस्थापन भएको छ । २९ पुसमा बढुवा सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ६ जनाको सरुवा तथा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सरुवा र पदस्थापन भएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको विवरण यसप्रकार छ ।

     

     

  • नेकपामा अघोषित भागबण्डाः धुम्बाराही ओलीको, पेरिसडाँडा प्रचण्ड-माधवको

    नेकपामा अघोषित भागबण्डाः धुम्बाराही ओलीको, पेरिसडाँडा प्रचण्ड-माधवको

    काठमाडौं । गत महिना पुस ९ गते बबरमहलस्थित कार्की पार्टी प्यालेसबाट केपी ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको घोषणा गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाललगायतका नेता तत्कालीन एमाले मुख्यालय बल्खु पुगे ।

    मदन भण्डारीको सालिकअघि उभिएर मुठ्ठी कस्दै उनीहरूले कसम खाए- पार्टीलाई एकढिक्का बनाएर लैजानेछौं ।

    ओलीलाई कारबाही गरेलगत्तै नेतात्रय त्यहाँ पुग्नुको भित्री आशय चाहिँ मदन र तत्कालीन नेकपा एमालेको सम्पत्तिको स्वामित्वमाथि दाबी गर्नु थियो । अर्थात् विभाजनपछिको आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफूहरूकै भएको र पार्टीको सम्पत्तिमाथि पनि आफूहरूकै हक लाग्छ भन्ने सन्देश दिन खोजेका थिए उनीहरूले ।

    सग्लो नेकपाको पनि मुख्यालय बनाउने भनिएको बल्खुमै रहँदा नेताहरूले पार्टी कार्यालयको पुनर्निर्माणको काम चाँडै थाल्ने पनि बताएका थिए । त्यसपछिको विकासक्रम भने नेता त्रयले चाहे झैं भएन ।

    विभाजित नेकपाको ओली पक्षले हालको पार्टी मुख्यालय धुम्बाराहीमा कब्जा जमायो । उपत्यकाबाहिरका तत्कालीन एमाले पार्टी कार्यालय बनाइएका भवन पनि एकपछि अर्को गर्दै ओली पक्षले आफ्नो पकडमा लिन थाल्यो ।

    त्यसपछि आफू नै ‘ओरिजिनल एमाले’ भन्ने नेता नेपालले लगातार असन्तुष्टि जनाइरहेका छन् । आधिकारिक नेकपा नै आफूहरू भएकाले पूर्व माओवादीको मात्रै होइन पूर्व एमालेका सबै भवन र सम्पत्ति आफ्नै हुने दाबी उनले निरन्तर गरिरहेका छन् ।

    धुम्बाराही मुख्यालय र जिल्ला पार्टी कार्यालयहरूमा ओली पक्षले जमाएको पकडलाई उनले बलजफ्ती भनेका छन् । केही दिनअघि याक एण्ड यती होटलमा सम्पादकहरूसँगको छलफलमा पनि नेपालले धुम्बाराहीमा जान नपाएपछि पेरिसडाँडालाई केन्द्रीय कार्यालय बनाइएको बताएका थिए ।

    माथिका सबै सन्दर्भले पार्टीको आधिकारिकता मात्रै नभई, पार्टी सम्पत्तिलाई लिएर पनि विभाजित नेकपाका दुई पक्षबीच पेचिलो लडाइँ हुने संकेत गर्छन् ।

    पूर्व समूह अनुसार कार्यालय

    पार्टी कार्यालय र सम्पत्तिलाई लिएर दाबी भइरहे पनि अहिले विभाजित नेकपाका दुवै पक्षले दुई फरक ठाउँबाट गतिविधि संचालन गरिरहेका छन् ।

    ओली पक्षले पूर्व एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीबाट र प्रचण्ड-माधव पक्षले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट काम गरिरहेको छ । पार्टी विभाजनपछि एक पटक पनि प्रचण्ड-माधव पक्ष धुम्बाराही पुगेको छैन । ओली पक्ष पनि पेरिसडाँडा पुगेको छैन । ओली पक्षले पेरिसडाँडासहित पूर्व माओवादीको कुनै पनि चल–अचल सम्पत्तिमा दाबी नगर्ने बताइसकेको छ ।

    पार्टी कार्यालय मात्र होइन संसदीय दलको कार्यालय पनि ओली पक्षले तत्कालीन एमालेको प्रयोग गरिरहेको छ भने प्रचण्ड–माधव पक्षले तत्कालीन माओवादी दलको कार्यालय प्रयोग गरेको छ ।

    ‘हाम्रो सबै पार्टी कार्यालय र सम्पत्तिमा दाबी छ । दाबी मात्रै होइन, हाम्रै हो । हाम्रो बहुमत छ, सबै हाम्रै हुन्छ । अहिले संघर्षका कार्यक्रमहरू भएकाले हामीले यतैबाट संचालन गरिरहेको मात्रै हो ।’ –  श्रीराम ढकाल ( पेरिसडाँडा पार्टी कार्यालय सचिव)

    तत्कालीन एमाले दलको कार्यालयमा दलको नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीको नेमप्लेट झुण्डिएको छ । उता तत्कालीन माओवादी केन्द्रको संसदीय कार्यालय रहेको भवन अहिले प्रचण्ड-माधव पक्षले उपयोग गरिरहेको छ । संसदीय दलका नेता प्रचण्ड, प्रमुख सचेतक देव गुरुङलगायतको कार्यालय त्यतै छ ।

    ओलीपक्षीय नेकपाका नेता महेश बस्नेत पूर्व माओवादीका पार्टी कार्यालयहरू प्रचण्ड–माधव पक्षको हुने र साविक एमालेका कार्यालय र सम्पत्ति आफूहरूको हुने लगभग सहमति जस्तै बनिरहेको बताउँछन् ।

    बस्नेतले नेपाल प्रेससँग भने- पहिलेको एमालेको लिगेसी स्वाभाविक रूपमा केपी ओलीसँग हुनेभयो । त्यसो हुनाले स्वाभाविक रूपमा साविक एमालेका कार्यालय र सम्पत्ति केपी ओलीको पक्षमा छ । उहाँहरूले सहज रूपमा छोड्नुभएको छ । उहाँहरूको बनिबनाउ बुझाइ के छ भने माओवादीको पेरिसडाँडादेखि हिजोको माओवादीको सम्पत्ति र कार्यालयहरू उहाँहरूको हुन्छ र हिजोको एमाले केपी ओलीको हुन्छ । यसमा एउटा सहमति जस्तै भएको छ ।

    के होला बल्खु ?

    प्रचण्ड-माधवपक्षीय नेकपाका नेता अमृतकुमार बोहोरा बल्खुस्थित कार्यालयसँग भावना जोडिएको बताउँछन् । ‘बल्खुसँग हाम्रो भावना जोडिएको छ’ उनी भन्छन्, ‘मैले पनि त्यहाँ लामो समय बिताएँ । माधव कमरेडले पनि लामो समय महासचिव रहँदा त्यहीं बिताउनुभयो । त्यसैले हाम्रो भावनासँग जोडिएको स्थानलाई छाड्ने भन्ने हुँदैन ।’

    हाल प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्ष रहेको नेपालले पनि पटक-पटक यस्तै प्रसंग उठाउने गरेका छन् ।

    ७ रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन एमालेको पार्टी कार्यालय १२ वैशाख २०७२ मा आएको भूकम्पले भत्किएपछि त्यसलाई भत्काएर नयाँ भवन बनाउने योजना एमालेको थियो । दुई पार्टी एकीकरण (३ जेठ २०७५) पछि बनेको नेकपाले पनि बल्खुमै मुख्यालय बनाउने निर्णय गरेको थियो ।

    माघ १५-१९ (२०७६) मा बसेको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले कार्यसम्पादन गर्न अनुकूल हुने गरी तीन महिनाभित्र पार्टी कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गरेको थियो । त्यस्तै २९ मंसिरदेखि ६ पुस (२०७६) सम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयको स्वागत गर्दै तीन महिनाभित्रै शिलान्यास गर्ने निर्णय गरेको थियो ।

    योजना अनुसारै काम भएको भए बल्खुमा नेकपाको नयाँ मुख्यालय भवन शिलान्यास भई केही संरचना बनिसकेको हुनेथियो । तर, नयाँ मुख्यालय भवन बनाउने कुरामा शून्य प्रगति छ । भवन भन्नुअघि नै पार्टीमा विभाजन आइसकेकाले त्यो अलपत्र पर्ने अवस्था छ ।

    भाडाको साँघुरो घरमा बस्नु पर्दा काममा कठिनाइ उत्पन्न भइरहेको र मनोवैज्ञानिक सन्देश समेत राम्रो नगएको उतिबैले नेकपाले ठहर गरेको थियो ।

    ‘पार्टीको केन्द्रीय कार्यालय भाडाको घरमा सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ उत्पन्न भइरहेको छ’ स्थायी कमिटी बैठकपछि १० पुसमा जारी ७ बुँदे ‘अन्तरपार्टी निर्देशन-३’ मा भनिएको छ, ‘देशको प्रमुख राजनीतिक दलको आफ्नै कार्यालय भवन नहुँदा मनोवैज्ञानिक सन्देशसमेत राम्रो जान सकिरहेको छैन।’

    तत्कालीन एमालेले बल्खुमा कार्यालय निर्माणका लागि २०४८ देखि पार्टीका सांसद र सर्वसाधारणबाट चन्दा संकलन गरेर जम्मा भएको एक करोडभन्दा बढी रकमले सात रोपनी जग्गा किनेको थियो । त्यही जग्गामा २०५० मा करिब एक करोड ५० हजार रुपैयाँ खर्च गरेर भवन बनाइएको थियो ।

    मदन नगरमा आधुनिक र सुविधासम्पन्न पार्टी कार्यालय बनाउने योजना नेकपाको थियो । त्यसै अनुसार तत्कालीन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति समेत बनाइएको थियो।

    नेकपाले आफ्नो भवन निर्माण गर्न ‘पार्टीका सम्पूर्ण सदस्यहरूलाई न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिल खोलेर सहयोग गर्न’ अपिल पनि गरेको थियो ।

    धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन भने भाडाको हो । नेकपाले मुख्यालयको रूपमा प्रयोग गरेको उक्त भवनको मासिक भाडा रु.१ लाख ८० हजार तिर्ने गरेको छ । त्यस्तै, पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको मुख्यालयलाई जनवर्गीय संगठनको कार्यालयको रूपमा प्रयोग गरिएको थियो ।

    ‘एमालेका जति जम्मै यतातिर हुनुहुन्छ । महाधिवेशनबाट निर्वाचित आधिकारिक अध्यक्ष को हो ? अनि सम्पत्ति कसको हुन्छ भन्ने कुरा प्रष्ट छैन र ?’ – ईश्वरी रिजाल (धुम्बाराही कार्यालय सचिव)

    आफ्ना नेता मदन भण्डारीको नाममा मदननगर नामकरण गरेको तत्कालीन एमाले पक्ष उक्त ठाउँमा पार्टी कार्यालय बनाउने कुरालाई भावनात्मक रूपमा लिन्छ ।

    साविक एमाले दुई पक्षमा विभाजित भइसकेको अवस्थामा कसले त्यो पाउने भन्ने विषय पनि पेचिलो हुने देखिएको छ । तर, ओली पक्षीय नेता बस्नेत माधव नेपाललगायतलाई भाइ अंश पनि नलाग्ने बताउँछन् ।

    उनको तर्क छ- भाइ अंश लाग्ने गरी विभाजन भएन । साविक एमालेभित्रको द्वन्द्वमा प्रचण्डले खेल्नुभयो । मैले कतिपय ठाउँमा उदाहरण पनि दिने गरेको छु– हाम्रो चेलीलाई लिएर जानुभयो । त्यसो गर्दा हाम्रो गोत्र र थर त लिन पाइँदैन । प्रचण्ड कमरेडसँग माधव कमरेड गएको भनेको चाहिं प्रचण्ड कमरेडको माओवादी लिगेसीसँग जोडिन जानुभएको हो । त्यसैले साविक एमालेभित्र उहाँहरूले धेरै ¥याल चुहाउनु र आँखा गाड्नु चाहिं स्वाभाविक नहोला ।

    आधिकारिकता जसको सम्पत्ति त्यसकै हुने दाबी

    ओली पक्षले भाइ अंश समेत नलाग्ने बताइरहेका बेला प्रचण्ड–माधव पक्षले आफूहरू बहुमतमा रहेको दाबी पेश गर्दै आफ्नो पार्टीले आधिकारिकता पाउने र सबै सम्पत्ति पनि आफ्नै हुने जिकिर गरिरहेको छ । शीर्ष नेताहरू समेत यसबारे मुखै खोलेर बोलिरहेका छन् ।

    पेरिसडाँडा पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य श्रीराम ढकाल आफ्नो बहुमत भएकोले सम्पत्ति पनि आफूहरूकै हुने दाबी गर्छन् । ‘हाम्रो सबै पार्टी कार्यालय र सम्पत्तिमा दाबी छ’ उनी भन्छन्, ‘दाबी मात्रै होइन, हामै्र हो । हाम्रो बहुमत छ, सबै हाम्रै हुन्छ । अहिले संघर्षका कार्यक्रमहरू भएकाले हामीले यतै (पेरिसडाँडा) बाट काम संचालन गरिरहेको मात्रै हो ।’

    उनी निर्वाचन आयोगले गर्ने फैसलाका आधारमा पनि यो विषय टुंगिने बताउँछन् । ढकाल भन्छन्- यो विस्तारै मिल्ला । निर्वाचन आयोगले के गर्छ अनि टुंगिन्छ सबै ।

    धुम्बाराही कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजाल भने एमालेजति सबै आफूतिर भएको दाबी गर्दै सम्पत्ति पनि आफूहरूकै तर्क गर्छन् । ‘एमालेका जति जम्मै यतातिर हुनुहुन्छ’ उनको भनाइ छ, ‘महाधिवेशनबाट निर्वाचित आधिकारिक अध्यक्ष को हो ? अनि सम्पत्ति कसको हुन्छ भन्ने कुरा प्रष्ट छैन र ?’

  • मुख्यमन्त्री राईले कसे लगनगाँठो (फाेटाे फिचर)

    मुख्यमन्त्री राईले कसे लगनगाँठो (फाेटाे फिचर)

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहबन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो ।

    राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।

    विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।

  • कोरोना संक्रमणका कारण विदेशमा थप ९ नेपालीको मृत्यु

    कोरोना संक्रमणका कारण विदेशमा थप ९ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ९ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो ।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको सङ्ख्या ३२७ पुगेको छ ।

    स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५३ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो ।

    यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा संक्रमण देखिएको छ ।

    राससबाट

  • कांग्रेसभित्र उब्जेको प्रश्‍न : आफ्नै कमजोरी खोतलेर विरोधीलाई मसला दिने ?

    काठमाडौं । प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ भने पनि नेपाली कांग्रेस आन्तरिक रुपमा निर्वाचनको तयारीमा छ । सभापति शेरबहादुर देउवाको आशय बुझेर कांग्रेस केन्द्रीय कार्यालय र विभागहरुले निर्वाचन केन्द्रित कामहरू सुरु गरिसकेका छन् ।

    नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको पुस २८ गते बसेको बैठकले पार्टीको चुनावी रणनीति निर्माणमा सहायक हुनेगरी विभिन्न निर्णयहरु गर्‍यो । विभागले पार्टीको १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका बनाउने जिम्मा प्रवक्ता विश्वप्रकाश शर्मालाई दिएको छ । त्यस्तै पार्टीको नेतृत्वमा भएका उपलब्धिदेखि आफ्नो शासनकालमा भएका कमजोरी अध्ययन गर्नसमेत कार्यदल बनाइएको छ ।

    कांग्रेस प्रचार विभागका उपप्रमुख डा. सुरेश आचार्यको संयोजकत्वमा ‘नेपाली कांग्रेसले शासन सम्हालेका समयमा भएका कमी-कमजोरी अध्ययन कार्यदल’ निर्माण गरिएको हो । कार्यदलले माघ भित्रमा अध्ययन प्रतिवेदन विभागमा बुझाउनेछ । सामान्यतः राजनीतिक दलहरु आफ्ना ‘राम्रा काम’ हरुको सूची बनाएर प्रचारमा उत्रने गर्छन् । तर कांग्रेसले किन आफै शासनकालका कमजोरीको खोजी गरिरहेको छ ? कांग्रेसवृत्तमा चासोको विषय बनेको छ ।

    नेपाली राजनीतिमा संघर्ष र सत्ता दुवैको स्वाद पर्याप्त चाख्ने पार्टी कांग्रेस हो । २००७ सालको क्रान्ति लगत्तै मोहन शमशेर नेतृत्वको सरकारमा सहभागी भएसँगै कांग्रेसको सत्तायात्रा सुरु हुन्छ ।

    कमजोरी अध्ययन कार्यदलका संयोजक आचार्य पार्टीका कमजोरी केलाउन कार्यदल बनेको बताउँछन् । ‘पार्टीले आन्तरिक रुपमा कहाँनेर करेक्सन गर्न आवश्यक छ भनेर पहिचान गर्नका लागि अध्ययन थालिएको हो । यसले पार्टीलाई सुदृढ बनाउन मद्दत गर्नेछ’, आचार्यले भने ।

    यद्यपी पार्टीका कमजोरी खोजी-खोजी प्रतिवेदन बनाउँदा प्रतिस्पर्धीलाई ‘मसला’ बन्न सक्ने चिन्ता कांग्रेसजनभित्रै छ । शासनमा रहेका बेला कांग्रेसलाई संसदीय राजनीतिमा विकृति भित्राएको, भ्रष्टाचारलाई संरक्षण गरेको, सरकारी संस्थानहरु कौडीको भाउमा नीजिकरण गरेको लगायतका आरोप लाग्ने गरेका छन् । त्यस्तै पजेरो काण्ड, लाउडा काण्ड, धमिजा काण्डजस्ता चर्चित काण्डहरु कांग्रेसकै शासनकालमा चर्चामा आएका थिए ।

    कांग्रेसको कमजोरी खोतल्ने कार्यदलले यस्ता आरोपलाई स्वीकार गर्छ त ? अध्ययन कार्यदलका संयोजक आचार्य विरोधीले लगाउने आरोप खपतका लागि मात्रै हुने बताउँछन् । ‘त्यस्ता आरोप त विरोधीले राजनीतिक खपतका लागि लगाएका हुन् । हामीले त शासनकालमा भएका व्यवस्थापकीय कमजोरी लिपिबद्ध गरेर पार्टीलाई दिन्छौ’, आचार्यले भने । आचार्यका अनुसार जनतामाझ फैलाइएका भ्रम चिर्ने र आवश्यकता परे कमजोरीका लागि क्षमायाचनासमेत गरेर जान अध्ययनले मद्दत गर्नेछ ।

    ‘आफ्नै कमजोरी खोतलेर नाङ्गिएर जान खोजेको होइन । आफूले गरेका कमजोरी सुधार्दै जाने हो’, आचार्यले भने ।

    ‘जसरी हरेक फुटबल टिमले खेलपछि आफ्नो खेलको समीक्षा गरेर अर्को खेलमा सुधार गर्छ त्यसरी नै राजनीतिक दलले आफ्ना कमजोरीको पहिचान गरेर सुध्रन सक्नुपर्छ’- प्रवक्ता शर्मा

    प्रचार विभागले कार्यदल गठनको औचित्य जसरी व्याख्या गरे पनि कांग्रेसभित्र यस्तो कार्यदल गठनबारे असन्तुष्टि चुलिँदो छ । पार्टीका कमजोरीबारे प्रतिवेदन बनाउने काम ‘आत्मघाती’ हुने टिप्पणी आलोचकहरुको छ ।

    ‘अन्तरघात गरेर किसुनजीलाई चुनाव हराएकोदेखि पजेरो संस्कृति भित्राएको, सरकारी कम्पनी बेचेको र भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पार्टीलाई लाग्दैआएको छ । के त्यसैलाई स्वीकार्न र कम्युनिष्टहरुलाई मसला दिन अध्ययन गर्ने हो ?’ कार्यदल गठनप्रति असन्तुष्ट एक नेताले नेपाल प्रेससंग भने । ती नेताका अनुसार आफ्नै कमजोरीको दस्तावेज बनाउने कुरा राजनीतिक दलका लागि आत्मघाती हुनसक्छ ।

    प्रचार विभागको प्रमुखसमेत रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने कमजोरी सुधार्ने प्रयास आत्मघाती नहुने दाबी गर्छन् । पार्टीको आन्तरिक सुधारका लागि आन्तरिक रुपमा अध्ययन गर्ने विषय स्वाभाविक रहेको उनको भनाइ छ ।

    ‘जसरी हरेक फुटबल टिमले खेलपछि आफ्नो खेलको समिक्षा गरेर अर्को खेलमा सुधार गर्छ त्यसरी नै राजनीतिक दलले आफ्ना कमजोरीको पहिचान गरेर सुध्रन सक्नुपर्छ’, शर्माले भने ।

    उनले कांग्रेसको शासनकालमा भएका कमजोरी अध्ययन कार्यदलबाट प्राप्त हुने प्रतिवेदन ‘कन्फिडेन्सियल’ रहने र बाहिर सार्वजनिक नहुने बताए । ‘हाम्रा कमजोरी केलाएर कम्युनिष्टलाई मेटेरियल बनाइदिन खोजेको होइन । यो प्रचण्डले केपी ओलीलाई लेखेको पत्र झै सार्वजनिक विषय होइन । पार्टीले बाहिर सार्वजनिक गर्दैन । यो आन्तरिक दस्तावेजका रूपमा रहन्छ,’ शर्माले भने ।

    आफ्नै कमजोरी केलाउने कुरा नेपाली समाजमा पचाउन गार्‍हो विषय भएको शर्माको स्वीकारोक्ति छ । ‘यो नयाँ प्रयास भएकाले कतिपयलाई पचाउन गार्‍हो भएको छ । यसले कांग्रेसलाई हानि गर्दैन । हामीले पार्टीका राम्रा कामको पनि प्रचार गर्न सकेका छैनौ । अब कमजोरी पहिचान गरेर सुधार्छौ र राम्रा कामको प्रचार गर्छौ’, शर्माले भने ।

    शासनमा कांग्रेस : १५ पटक नेतृत्व, बारम्बार सत्तामा

    नेपाली राजनीतिमा संघर्ष र सत्ता दुवैको स्वाद पर्याप्त चाख्ने पार्टी कांग्रेस हो । २००७ सालको क्रान्ति लगत्तै मोहन शमशेर नेतृत्वको सरकारमा सहभागी भएसँगै कांग्रेसको सत्तायात्रा सुरु हुन्छ । प्रजातन्त्र पुनःस्थापनापछिको ‘राणा सरकार’ मा कांग्रेसबाट वीपी कोइराला गृहमन्त्री, सुवर्णसम्शेर जबरा अर्थमन्त्री र गणेशमान सिंह उद्योग मन्त्री बनेका थिए । राणा र कांग्रेस सम्मिलित यो सरकार ९ महिनाभन्दा टिक्न सकेन । सरकारमा सहभागि कांग्रेसले शासनकै नेतृत्व गर्ने जिम्मा पायो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने । कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेका कारण यो अवधिमा कांग्रेस विभाजन मात्रै भएन मूल कांग्रेस छाडेका नेताहरु निरन्तर सत्तामा रही रहे ।

    २०१४ साल कात्तिक २९ गते राजा महेन्द्रले प्रत्यक्ष शासन हातमा लिँदै २०१५ फागुन ७ गते आमनिर्वाचन गर्ने घोषणा गरे । २०१५ सालकै जेठ २ गते नेपाली कांग्रेसका तत्कालीन सभापति सुवर्णसम्शेरको अध्यक्षतामा अन्तरिम मन्त्रिपरिषद् गठन भयो । सुवर्ण नेतृत्वको सरकारले गराएको निर्वाचनमा दुई तिहाई हासिल गरेपछि नेपाली कांग्रेसले पहिलो जन निर्वाचित सरकारको नेतृत्व पायो । वीपी कोइराला प्रधानमन्त्री बने ।

    राजा महेन्द्रले २०१७ साल पुस १ गते संसद विघटन गरेर निर्दलीय पञ्चायती शासन सुरु गरे । कांग्रेस सत्ताबाट सिधै संघर्षको मैदानमा उभियो । ३० वर्ष लगातार आन्दोलन गरेपछि २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भयो । कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । यो सरकारले नेपालको संविधान २०४७ निर्माण गर्नुका साथै आमनिर्वाचन गरेर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण समेत गर्‍यो ।

    केपी शर्मा ओली निर्वाचित प्रधानमन्त्री बने भने कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रह्यो । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस पुनः सत्ता आरोहणको राजनीतिक ‘अभियान’ मा केन्द्रित छ ।

    २०४८ को आमनिर्वाचनमा बहुमत हासिल गरेपछि कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । संसद पुनःस्थापना पश्चात नेपाली राजनीतिमा ‘संसदीय विकृति’ देखा पर्न थाल्यो । आफ्नै पार्टीको बहुमत रहेको सदनमा ‘छत्तीसे र चौहत्तरे’ को विभाजनपश्चात कोइरालाले संसद विघटन गरे । मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रो भयो । एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनायो । नौ महिनामै यो सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो ।

    कांग्रेस नेतृत्वकै कुरा गर्ने हो भने २०५५ साल बैशाख २ गते पुनः गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । २०५६ को आमनिर्वाचनमा बहुमत ल्याएपछि कांग्रेसका कृष्णप्रसाद भट्टराई २०५६ जेठ १७ गते दोस्रोपटक मुलुकको प्रधानमन्त्री बने । आफ्नै नेतृत्वको बहुमतको सरकारलाई अप्ठ्यारोमा पार्न सफल भएपछि २०५६ चैत ९ गते गिरिजाप्रसाद कोइराला तेस्रोपटक मुलुकको प्रधानमन्त्री बने ।

    होलेरी काण्डमा सेनाले असहयोग गरेको भन्दै कोइरालाले २०५८ साउन ११ गते राजीनामा दिए । लगत्तै शेरबहादुर देउवा दोस्रो पटक प्रधानमन्त्री बने । पार्टीभित्रको आन्तरिक किचलोकै बीच देउवाले संसद विघटन गरेर निर्वाचनको घोषणा गरे । निर्वाचन गर्न असफल भएपछि राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए । नेपाली कांग्रेस विभाजित भयो र देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भयो ।

    २०६१ जेठ २१ मा राजा ज्ञानेन्द्रले पुनः देउवालाई नै प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिए । ‘प्रतिगमन आधा सच्चिएको’ देउवा नेतृत्वको सरकारमा नेकपा एमालेसमेत सहभागि भयो । कोइराला नेतृत्वको नेपाली कांग्रेस आन्दोलनमै रह्यो । २०६१ साल माघ १९ मा देउवलाई अपदस्थ गरी राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनको नेतृत्व गरे । सात राजनीतिक दलको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएपछि संसद पुनःस्थापना भयो । २०६३ साल बैशाख १२ गते कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले चौथोपटक प्रधानमन्त्रीको सपथ लिए ।

    २०६४ सालको संविधानसभा निर्वाचनदेखि २०७० सालमा अर्को संविधानसभाको निर्वाचन नहुँदासम्म कांग्रेस सरकारको नेतृत्वमा रहेन । २०७० सालको संविधानसभाको निर्वाचनबाट पहिलो पार्टी भएपछि कांग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्री बने । संविधान निर्माण भएलगत्तै उनले प्रधानमन्त्रीबाट राजीनामा दिए । नेकपा माओवादी केन्द्रको समर्थनमा २०७४ साल जेठमा कांग्रेस सभापति शेरबहादुर देउवा चौथोपटक मुलुकको प्रधानमन्त्री बने । देउवाको नेतृत्वमा भएको आमनिर्वाचनबाट वामगठबन्धले बहुमत ल्यायो । केपी शर्मा ओली निर्वाचित प्रधानमन्त्री बने भने कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रह्यो । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस पुनः सत्ता आरोहणको राजनीतिक ‘अभियान’ मा केन्द्रित छ ।

  • बेहुलो बन्दा यस्ता देखिए मुख्यमन्त्री राई

    बेहुलो बन्दा यस्ता देखिए मुख्यमन्त्री राई

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन् । उनको वैवाहिक समारोह आज राजधानीको एक पार्टी प्यालेसमा जारी छ ।

    मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी करिब ३५-४० जना मात्रै विवाहमा सहभागी छन् । मिडियालाई प्रवेश दिइएको छैन ।

    आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए ।

    विवाहपछि आजै बेलुकी रिसेप्सन आयोजना गरिँदै छ । रिसेप्सनमा भने राष्ट्रपति-प्रधानमन्त्रीलगायत भीआइपीहरुलाई पनि निम्ता छ ।

  • प्रधानन्यायाधीशको प्रश्‍न- बाहिरका कुरा सुनेर क-कसलाई जम्मा गर्ने ?

    प्रधानन्यायाधीशको प्रश्‍न- बाहिरका कुरा सुनेर क-कसलाई जम्मा गर्ने ?

    काठमाडौं । संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा बोलेको विषय प्रवेश भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बाहिरका कुरा लिएर नआउन भनेका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको ठाडो अवहेलना भएको र व्यक्तिको मानमर्यादामा आँच पुगेको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए । उनले प्रधानमन्त्री केपी ओलीविरुद्ध अवहेलना मुद्दा चलाउनुपर्ने जिकिर गरेका थिए ।

    संवैधानिक इजलासका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश राणाले बाहिर बजारमा आएका हल्लाको पछि लाग्ने हो भने क कसलाई इजलासमा जम्मा गर्ने भन्दै यस्ता विषय लिएर नआउन त्रिपाठीलाई सचेत गराए ।

    राणाको भनाइ थियो- अहिलेका पूर्वका सबैका कुरा सुन्ने हो भने सबैलाई ल्याउनुपर्ने स्थिति हुन्छ । बजारमा आएका हल्लाका भरमा जाने हो भने क कसलाई जम्मा गरेर साध्य हुन्छ ? कसले के गरे, कसले के भने भन्नेतिर नजाउँ ।

  • राजपत्रको विषयलाई लिएर संवैधानिक इजलासमा वकीलहरूको बाझाबाझ

    राजपत्रको विषयलाई लिएर संवैधानिक इजलासमा वकीलहरूको बाझाबाझ

    काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना राजपत्रमा छापिएको सन्दर्भमा त्यसको आधिकारिकता जाँच हुनुपर्ने विषय उठेपछि संवैधानिक इजलासमा केहीबेर पक्ष र विपक्षका वकीलहरुबीच बाझाबाझ भएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका लागि इजलास शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सरकारले ब्याकडेटमा राजपत्र प्रकाशित गरेर वेबसाइटमा राखेको भन्दै त्यसको आधिकारिकता जाँच हुनुपर्ने बताएका थिए ।

    त्यसको लगत्तै महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता सुशील पन्तले सबै प्रक्रिया कानुनबमोजिम भएको भन्दै राजपत्रको बारेमा अनावश्यक हौवा खडया गर्न खोजिएको भन्दै प्रतिवाद गरेका थिए । त्यसक्रममा दुवै पक्षका वकिलहरुबीच केहीबेर बाझाबाझकै अवस्था देखिएको थियो ।

    यसैबीच रिट निवेदकको तर्फबाट तीन पेज लामो निवेदन इजलासमा पेश भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक विघटित प्रतिनिधिसभाका सदस्यहरु देव गुरुङ, कृष्णभक्त पोखरेल,शशी श्रेष्ठ र रामकुमारी झाँक्री सहितले राजपत्रको आधिकारिकता जाँच होस् भनेर निवेदन पेश गरेका छन् ।

    उनीहरु चारैजना इजलासमा उपस्थित भएका छन् ।

  • कर्णालीका १० जिल्लालाई करिब १२ हजार कोभिड-१९ खोप

    कर्णालीका १० जिल्लालाई करिब १२ हजार कोभिड-१९ खोप

    कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० डोज कोरोनाविरुद्धको खोप आउने भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काका अनुसार ती खोप आइतबारनै (आज) आइपुग्नेछ ।

    पहिलो चरणमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने खड्काले जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयले कर्णालीमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई खोप अभियानको संयोजक तोकेको छ ।

    सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशमा खोप लगाउन खोप केन्द्र, भण्डारणलगायत व्यवस्थापकीय काम गरिसकिएकोले छिट्टै अभियान शुरू गर्ने बताए ।
    राससबाट

  • शेयर कारोबारमा ‘टी प्लस टू’ लागू

    शेयर कारोबारमा ‘टी प्लस टू’ लागू

    काठमाडौं । आजदेखि शेयर कारोबारमा ‘टी प्लस टू’ लागू भएको छ । सीडीएस एन्ड क्लियरिङले माघ ११ गतेदेखि ‘टी प्लस टु’ लागू गर्न निर्देशन दिएसँगै आजदेखि नयाँ व्यवस्था लागू भएको हो ।

    ‘टी प्लस टू’ लागू भएपछि शेयर कारोबार गरेको अर्को दुई दिनभित्र कारोबार राफसाफ गर्नुपर्नेछ । यो प्रणाली लागू भएपछि शेयर खरिदकर्ताले छिटो रकम भुक्तानी गर्नुपर्नेछ भने खरिद गरेको शेयर लगानीकर्ताको खातामा छिट्टै नै आउने छ ।

    यसअघि ‘टी प्लस थ्री’ को राफसाफ चक्र कायम थियो । नेपाल धितोपत्र बोर्डले अनुमतिपछि सीडीएस एन्ड क्लियरिङले माघ ११ गते ‘टी प्लस टू’ मा झार्न सरोकारवालालाई निर्देशन दिएको हो ।

  • मुख्यमन्त्री राईको विवाह आज, रिसेप्सनमा राष्ट्रपति-प्रधानमन्त्री जाने

    मुख्यमन्त्री राईको विवाह आज, रिसेप्सनमा राष्ट्रपति-प्रधानमन्त्री जाने

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाँधिदैछन् । राजधानीको एक पार्टी प्यालेसमा उनको वैवाहिक कार्यक्रम शुरू भइसकेको छ ।

    ४९ वर्षीय राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पालाई जीवनसाथी रोजेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । जाङ्मु सन् २०१८ कि ‘मिस मंगोल’ हुन् ।

    स्रोतका अनुसार शेरधन र जाङ्मुको विवाह सानो समारोहमा हुँदैछ । विवाहमा राई निटकस्थ करिब दुई दर्जन व्यक्तिलाई मात्र जन्ति जाने निम्तो छ ।

    आजै हुने रिसेप्सनमा भने राष्ट्रपति-प्रधानमन्त्रीलगायतका भीभीआईपीहरूलाई पनि निमन्त्रण गरिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रिसेप्सनमा सहभागी हुने वचन दिएका छन् । स्रोतका अनुसार कोरोनाका कारण रिसेप्सनमा पनि धेरै मान्छे निम्त्याइएको छैन ।

    वैवाहिक कार्यक्रममा सामाजिक दूरी र कोरोनाविरुद्धका स्वास्थ्य सतर्कताहरू अपनाइने राईनिकट स्रोतको भनाइ छ ।

  • ओलीको विशेष परिपत्र-यस्तो छ माघ १५ र फागुन मसान्तको डेडलाइन

    ओलीको विशेष परिपत्र-यस्तो छ माघ १५ र फागुन मसान्तको डेडलाइन

    काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले प्रतिनिधिसभाको निर्वाचनका लाागि जुट्न र मतदाता नामावली अद्यावधिक गर्न तथा आगामी चुनावको घोषणापत्रमा समेट्नुपर्ने विषय लिखित रुपमा पठाउन मातहत कमिटीलाई परिपत्र गरेको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले तल्ला कमिटीमा पठाएको परिपत्रमा प्रतिनिधिसभाको आगामी वैशाखमा हुने निर्वाचनका लागि जारी हुने घोषणापत्रमा समेट्नुपर्ने विषय सबै कमिटी, सदस्य तथा जनतासँग छलफल गरि फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रबाट पठाउन निर्देशन दिएका छन् ।

    त्यस्तै निर्वाचन आयोग आयोगको पत्र अनुसार देशभरीका सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली माघ १५ गते प्रकाशित हुने भएकाले प्रकाशित नामावलीमा त्रुटी भए सच्याउने र हटाउनुपर्ने नामहरुको उजुरी दिएर हटाउने काममा जुट्न सर्कुलर गरिएको छ ।

    ओलीले नेकपाका सबै तहका कमिटीलाई निर्वाचनको तयारीमा जुट्न र चनाखो हुन निर्देशन दिएका छन् ।

     

  • सातै प्रदेशमा आज कोरोनाविरुद्धको खोप पुग्दै

    सातै प्रदेशमा आज कोरोनाविरुद्धको खोप पुग्दै

    काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप आइतबार सातवटै प्रदेशमा पुग्दैछ ।

    शनिबारदेखिनै खोप पठाउन थालिएको बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले सबै प्रदेशका भण्डारण केन्द्रमा आज खोप पुर्‍याइने जानकारी दिए ।

    भारतबाट जहाजमार्फत बिहीबार ल्याइएको खोप त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट सीधै टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । प्रवक्ता गौतमका अनुसार प्रदेशमा पठाइएको खोप आवश्‍यकताको आधारमा ७७ वटै जिल्ला अस्पतालमा वितरण गरिनेछ ।

    पहिलो चरणमा उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइने सरकारको तयारी छ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

    उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, संक्रमितको मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

    दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ। खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने डा. गौतमले बताए ।

    भारत सरकारले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

    सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

    कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।

  • निर्वाचन आयोगको बैठक दुई दिनभित्रै, नेकपा विभाजनले कानुनी मान्यता नपाउने !

    निर्वाचन आयोगको बैठक दुई दिनभित्रै, नेकपा विभाजनले कानुनी मान्यता नपाउने !

    काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव रहेको नेकपालाईनै आधिकारिक मानेर विभाजित नेकपाका दुवै पक्षले गरेका पछिल्ला निर्णय अस्वीकार गर्ने सम्भावना बढेको छ ।

    कानुनअनुसार नेकपाको विभाजन नभएको र दुवै पक्षले विधान बमोजिम निर्णयका कागजपत्र पेश गर्न नसकेको अवस्थामा दल विभाजनलाई कानुनी मान्यता दिन आयोग बाध्य नहुने भएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपाको विधान र राज्यको कानुन ऐन र संविधान हेरर आयोगले उपयुक्त समयमा उपयुक्त निर्णय दिने बताए । उनले यसबारेमा सबै विषयको अध्ययन भइरहेकाले थप प्रतिक्रिया दिन चाहेनन् ।

    आयोग स्रोतले भने दुवै पक्षले दोस्रो पटक पेश गरेका कागजपत्र आयोगले मागे बमोजिम नभएकाले नेकपा विभाजनलाई कानुनी मान्यता दिन नसकिने बतायो । दुवै पक्षले आ आफ्ना बैठकले गरेका निर्णय आयोगलाई बुझाएका छन्,जुन विधिसम्मत नभएको आयोगको निष्कर्ष छ ।

    आयोगको बैठक मंगलवारसम्म बस्ने जानकारी प्राप्त भएको छ । त्यसअघि कानुन महाशाखाका कर्मचारीले रुजु गर्दैछन् । निर्वाचन आयोगमा नेकपा एकीकरणको बेला प्रस्तुत गरेको विधान,अध्यावधिक गरिएका निर्णयहरु पनि हेरिदैछ ।

    आयोग स्रोतले भन्यो–उहाँहरुले बालुवाटार र कार्की पार्टी प्यालेसमा बसेर के निर्णय गर्नुभयो भन्नेसँग आयोगको सरोकार रहन्न । उहाँहरुलेनै आयोगमा पेश गरेको विधान, माइन्युट र पदाधिकारी तथा केन्द्रीय समितिको विवरण अनुसार केपी ओली र प्रचण्ड अध्यक्ष हुन्, विष्णु पौडेल महासचिव हुन् ।

    नेकपाका दुवै पक्ष विभाजित भयौं भनेर नआउने र आयोगलाई अप्ठेरो पार्ने अवस्था आए दुवै पक्ष अदालत जानसक्ने आयोग स्रोतको भनाइ छ । दुवै पक्षले पार्टीको दर्ता कितावमा आ-आफ्ना निर्णय अध्यावधिक गर्न दबाब दिएका छन् ।

    आयोग स्रोतले भन्यो–एउटा पक्षले केपी ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष बनाएको दावी पनि आयोगले विधिसम्मत देखेको छैन, अर्को पक्षले केन्द्रीय समिति विस्तार र विधान संशोधन गरेको दावी पनि विधिसम्मत देखिएन । उहाँहरुकै विधान र राज्यको कानुन हेर्ने हो हामीले ।

  • सृष्टि बन्दैछिन् एक दिनको मुख्यमन्त्री, रिलमा होइन रियलमा

    सृष्टि बन्दैछिन् एक दिनको मुख्यमन्त्री, रिलमा होइन रियलमा

    काठमाडौं । हिन्दी फिल्म नायक नहेर्ने कमै मान्छे होलान्, जुन फिल्ममा अनिल कपुर एक दिनको लागि मुख्यमन्त्री बन्छन् र त्यो प्रदेशको कायापलट गर्छन् । सन् २००१ मा रिलिज भएको नायक फिल्ममा मात्र देखिएको त्यो दृष्य २० वर्षपछि आज भारतको उत्तराखण्डमा वास्तविकतामा पनि देखिँदैछ ।

    हरिद्वार जिल्लाको दौलतपुर गाउँकी १९ वर्षीया सृष्टि गोस्वामी आज एक दिनको लागि उत्तराखण्डको मुख्यमन्त्री बन्दैछिन् । राष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई एक दिनको मुख्यमन्त्री बनाउन लागिएको बीबीसीले जनाएको छ ।

    उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । प्रतिकात्मकरूपमा हुने यो कार्यक्रम बाल विधानसभा सत्रमा उनले मुख्यमन्त्रीका रुपमा सरकारको र अन्य विभागहरुको कामको बारेमा जानकारी लिनेछिन् ।

    यसक्रममा उनलाई मुख्यमन्त्रीकै रुपमा मानेर सरकारका विभागीय प्रमुखहरुकाले आ-आफ्नो कामको प्रस्तुति दिनेछन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यस कार्यक्रममा सहभागी हुनेछन् ।

    उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसाार उत्तराखण्ड सरकारको तर्फबाट सृष्टिलाई एक दिनको मुख्यमन्त्री बनाउने पहल भएको हो र यसको उद्देशइ किशोरीहरुको सशक्तिकरणका लागि जागरुकता फैलाउनु हो ।

    सृष्टिले सामाजिक सन्जालमार्फत आफूलाई एक दिनको मुख्यमन्त्री बन्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफूले बालिकाको सुरक्षाका सन्दर्भमा महत्वपूर्ण सुझाव दिने बताएकी छन् ।

    कृषि विषयमा स्नातक गरिरहेकी सृष्टीका पिता गाउँमा सामान्य पसल चलाउँछन् ।

  • लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाउन सातै प्रदेश तयार

    लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाउन सातै प्रदेश तयार

    रुपन्देही । लुम्बिनीको विकास र प्रवर्द्धनका लागि सातवटै प्रदेश सरकारले प्रतिवद्धता जनाएका छन् ।

    तीन वर्षको कामको समीक्षा गर्न शुक्रबार लुम्बिनी प्रदेश मुकाममा जुटेका कानुनमन्त्री मन्त्री तथा सचिवहरूले शनिबार लुम्बिनीको अध्ययन भ्रमणपश्चात यस्तो प्रतिवद्धता गरेका हुन् । सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री, मन्त्रालयका सचिव तथा महान्यायाधीवक्ताहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्यले स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा जानकारी गराए ।

    आन्तरिक मामिला तथा कानुनमन्त्रीहरू लुम्बिनीका कुलप्रसाद के.सी, गण्डकीका हरिबहादुर चुमान, प्रदेश १ का हिक्मतकुमार कार्की, कर्णालीका नरेश भण्डारीले सहकार्य र एकताको प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    कार्यक्रममा सहभागी भएका प्रदेश मन्त्री र सचिवहरूले संघीय सरकार मातहत रहेको लुम्बिनीको विकास र उत्थानका लागि प्रदेश सरकारहरू सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । उनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर सातै प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्नेगरी कार्यक्रमसमेत बनाउन तयार रहेको जानकारी गराए ।

    लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बुद्धिज्मको बारेमा जानकारी दिए । प्रदेशका मन्त्री, सचिव र महान्याधिवक्ताहरुले अध्ययन अवलोकन भ्रमण गरेको कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

  • असन्तुष्‍टिबारे नारायणकाजी भन्छन् : विधि र पद्धति अनुसार पार्टी सञ्‍चालन गर्नु चुनौती

    असन्तुष्‍टिबारे नारायणकाजी भन्छन् : विधि र पद्धति अनुसार पार्टी सञ्‍चालन गर्नु चुनौती

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबारको विरोध प्रदर्शनमा आफ्नो असन्तुष्‍टिबारे जवाफ दिएका छन् ।

    अहिले सामाजिक सञ्जालमा नारायणकाजीको भिडियो भाइरल छ । सामाजिक सञ्‍जालमार्फत श्रेष्‍ठले विधि र पद्धति अनुसार पार्टी सञ्‍चालन गर्नु चुनौती भएको लेखेका छन् ।

    आन्दोलन परिचालन कमिटीका संयोजकसमेत रहेका श्रेष्ठ कार्यक्रम अवधिभर चरम असन्तुष्ट देखिएका थिए । यतिसम्म कि सभाको औपचारिक विसर्जन गर्नसमेत उनी तयार भएनन् ।

    ‘हाम्रो कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही विषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्वनिर्धारित योजना संघर्ष समितिको जानाकारीबिना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैन थियो’, श्रेष्‍ठले लेखेका छन्, ‘संस्थागत कार्य प्रणालीकोबारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।’

    विधि, पद्धतीकोको उपेक्षा र अवज्ञा हुन नपाओस् भन्नेमा शुरूदेखि सशक्त संघर्ष गर्नुपर्नेमा उनको जोड छ ।

  • केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि निर्वाचनको निर्णय : मन्त्री ज्ञवाली

    केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि निर्वाचनको निर्णय : मन्त्री ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको ज्ञवालीले बताए ।

    गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनको भर्चुअल उद्‍घाटन कार्यक्रममा मन्त्री ज्ञवालीले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताए । ‘अहिले केही असहमति देखिए पनि देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले यसलाई उत्पन्न हुन आएको परिस्थितिका रूपमा बुझ्न आग्रह गर्छु । सम्मानित अदालतले यसबारेमा फैसला गर्छ नै सोही अनुसार अघि बढ्नु पर्छ ।

    जनताको अधिकार संस्थागत गर्ने दिशामा नै सरकार अघि बढेको मन्त्री ज्ञवालीले प्रष्‍ट्याएका छन् ।

    एक अर्को प्रसंगमा उनले गैरआवासीय नेपालीलाई नेपालको विकास र समृद्धिको सहयात्री बन्न आग्रह गरे । ‘नेपाल लगानी अनुकूल वातावरण भएको मुलुक भएको चिनारी विश्वलाई दिन गैर आवासीय नेपालीलाई त्यो अनुरूपको भूमिका खेल्न आग्रह गर्दछु’, उनले भने ।
    राससबाट

  • उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्‍चिमी वायुको सामान्य प्रभावले केही स्थानको मौसमलाई असर परेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र सुदूरपश्‍चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    केही पहाडी तथा हिमाली भेगमा हिमपात साथै तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र सतर्क रहन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

  • प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बस्दै, ओलीलाई निष्कासनको एजेण्डा

    प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बस्दै, ओलीलाई निष्कासनको एजेण्डा

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि आइतबार बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    श्रेष्‍ठका अनुसार शनिबारको छलफलमा काठमाडौंमा शुक्रबारको विरोध सभाको समीक्षा र आन्दोलनका आगामी कार्यक्रमबारे छलफल गरिएको छ । आइतबार बस्ने बैठकले थप एजेण्डासहित नयाँ कार्यक्रम तय गर्ने बताइएको छ ।

    आइतबारको स्थायी कमिटी बैठकले ओली पक्षका प्रदेश पदाधिकारी हटाएर आफ्नो पक्षकालाई समायोजन गर्ने तयारी छ । सोही बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

    यसअघि प्रचण्ड-माधव पक्षले केही दिन अगाडि तीन दिनको समय दिएर सोधेको स्पष्टीकरणपत्र बालुवाटार गेटमा बुझाएको थियो ।

  • विश्‍वमा कोरोना : ७ करोड १३ लाखभन्दा बढी संक्रमणमुक्त

    विश्‍वमा कोरोना : ७ करोड १३ लाखभन्दा बढी संक्रमणमुक्त

    काठमाडौं । विश्‍वमा कोरोना भाइरस संक्रमणको पुष्‍टि भएकाको संख्या ९ करोड ९२ लाख ८३ हजार ७१२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ६० हजार १७० संक्रमित थपिएका छन् ।

    अहिलेसम्म विश्‍वमा २१ लाख २८ हजार ५०५ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । तीमध्ये १३ हजार ५७३ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो ।

    संक्रमण देखिएकामध्ये ७ करोड १३ लाख ४० हजार ४९० जना कोरोनामुक्त भएका छन् ।

    अहिले विश्‍वमा २ करोड ५८ लाख १४ हजार ७१७ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख १० हजार ८६३ जना गम्भीर बिरामी छन् ।

  • दाइजो दिन लिएको ऋणले देवकिसानको बिचल्ली

    दाइजो दिन लिएको ऋणले देवकिसानको बिचल्ली

    जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका- ६ का देवकिसन कापरले छोरीको बिहेमा दाइजो दिन र घर बनाउन साहुसँग ३६ लाख ऋण लिएका थिए । तीन वर्षअगाडि सयकडा ३ रूपैयाँ ब्याजमा ऋण लिएका उनले पैसा साहुको नाममा २६ कठ्ठा ५ धुर जग्गा पास गरिदिए ।

    कापरले ऋण त चुक्ता गरे । तर, साहुले जग्गा फिर्ता गरेका छैनन् । ‘जग्गा फिर्ता गर्ने भनेर साहुले धेरैपटक ढाँटे । अहिले अर्कैलाई पो जग्गा बेचिदिएछन्’, उनले गुनासो गरे । अहिले कापर जग्गा फिर्ताको हारगुहार गर्दै न्यायको लागि भौतारिरहेका छन् । शुक्रवार उनले जनकपुरमा पत्रकार सम्मेलन गरी आफ्नो पीडा पोखेका छन् ।

    गणेशमान चारनाथ-११ रघुनाथपुरका सतिश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहीदनगर नगरपालिका-२ चोरा कोयलपुरकी समुन्द्री देवीसँग कापरले २०७३ भदौमा ७ लाखका दरले २१ लाख ऋण उठाए । उक्त रकममध्ये १८ लाख खर्चेर कापरले कान्छी छोरी पूनमको बिहे गरे ।

    दाइजो दिएर उब्रिएको ३ लाखले पक्की घर बनाउन शुरू गरे । त्यतिले नपुगेपछि ७३ सालकै असोज ६ गते उनले पुनः समुन्द्री र सतिशबाटै (७ लाख ५० हजारका दर) ले १५ लाख ऋण लिए ।

    छोरीको बिहे र घर निर्माण सकेपछि साढे १७ लाखमा १० कट्ठा १४ धुर जग्गा बेचेर समुन्द्री र सतिशबाट लिएको १५ लाख ऋण चुक्ता गर्न कापर साहुको घर पुगे । चार दिनभित्र जग्गा फिर्ता गरिदिने वचन पाएका कापर सतिशबाट अर्कैको हातमा जग्गा पुगेको थाहा पाएपछि छाँगाबाट खसेजत्तिकै भएका छन् । उनले भने, ‘विश्वास गरेर औंठा छाप लगाइदिएको थिए । तर साहुले मेरो घाँटी नै काट्यो ।’

    १५ लाख ऋण लिन कापरले पत्नी विद्या कामतीको नाममा रहेको साविक तेजनगर ६ (क) का कित्ता नम्वर १२ का १५ कट्ठा १० धुर र कित्ता नम्वर ८२४ का ३ कट्ठा १५ धुर जग्गा साहु समुन्द्री र सतिशको नाममा रजिष्ट्री पास गरिदिएका थिए । दुवै कित्ताको १९ कट्ठा ५ धुर जग्गा उनीहरूले कापरलाई फिर्ता नगरी बिक्री गरेर बेइमानी गरेका छन् ।

    ऋण तिरेपछि जग्गा फिर्ता गर्ने सहमति भएपनि साहुले जग्गा बेचेपछि उनी प्रहरी र प्रशासनमा दिनहुँ धाइरहेका छन् । ऋण लिन जग्गा दृष्टिबन्धक पास गर्ने चलन भएपनि रजिष्‍ट्रि नै पास गरेका कापरमाथि विश्‍वासघात भएको छ ।

    सतिश, नन्दकिशोर र समुन्द्रीबाट कैयौं ठगिएको गुनासो बढेको छ । जग्गा पास गरेर कपाली गरेपछि मात्र उनीहरूले ऋण दिन्छन् । सँगै ३६ प्रतिशत ब्याज पनि असुल्छन् । तिनैजना रकम लगानी गर्ने बिजनेश पार्टनर हुन् । उनीहरुविरुद्ध धेरै उजुरी परेपनि कारबाही गर्ने निकाय मौन बसिरहेको पीडितहरूले बताए ।

    तीनैजनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले संरक्षण गरेको कापरले बताएका छन् । पीडित कापर भन्छन्, ‘लिएको ऋण तिरेर जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलाए । हिसाब गरेर उनले ६८ लाख तिर्नुपर्ने सुनाए । म सहमत भए । तर, ऋण तिर्न जग्गा बेच्न लाग्दा बिगार्ने काम उनैले ।’ मेयर यादवको संरक्षण पाएर उनीहरु (साहु) ले आफूमाथि अन्याय गरेको उनको भनाई छ ।

  • देउवाले भने- जसले मुख्यमन्त्री दिन्छ उसैसँग मिल्ने, इन्द्र बानियाँलाई काठमाडौं बोलाइयो

    देउवाले भने- जसले मुख्यमन्त्री दिन्छ उसैसँग मिल्ने, इन्द्र बानियाँलाई काठमाडौं बोलाइयो

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले वागमती प्रदेशमा जसले मुख्यमन्त्री कांग्रेसलाई दिन्छ उसैलाई सहयोग गर्ने बताएका छन् ।

    आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा प्रस्तुत हुँदैछ ।

    नेकपाको प्रचण्ड माधव पक्षले पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेसको धारणा तय गर्न आफ्नै निवास बूढानीलकण्ठमा बसेको अनौपचारिक बैठकमा देउवाले जुन पक्षले मुख्यमन्त्री कांग्रेसलाई दिन्छ उसैलाई साथ दिने बताएका हुन् ।

    बैठकमा सहभागी एक नेताले नेपालप्रेससँग भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेल सहित वागमतीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुको परामर्श बैठक हो । शुरुमै सभापतिले जसले मुख्यमन्त्री हामीलाई दिन्छ उसैलाई सघाउने हो भन्नुभयो तर यो निर्णय नै चाहिँ होइन ।’

    उनका अनुसार पहिले अविश्वास प्रस्ताव टेबुल होस त्यसपछि थप छलफल गर्ने सहमति भएको छ । प्रदेशभित्रको अवस्था बुझ्न प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाइएको छ ।

    बैठकमा रामचन्द्र पौडेल,रामशरण महत,गगन थापा,नविन्द्रराज जोशी लगायतका नेता सहभागी थिए ।

  • महिला लिगमा पुलिसको शानदार जित

    महिला लिगमा पुलिसको शानदार जित

    काठमाडौं । रेखा पौडेल र सिर्जना खड्काको दुई गोल प्रेरित नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा चौदण्डिगढी नगरपालिकालाई ६-० को नतिजामा पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनेटमा गोल गर्दै रेखाले विभागीय टोली पुलिसलाई अग्रता दिलाएकी थिइन् । चौदण्डिगढी नगरपालिकाको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसका लागि ४१औं मिनेटमा अम्रिता जैसीले दोस्रो गोल गरेकी थिइन् । त्यसको ४ मिनेट नबित्दै सिर्जना खड्काले पुलिसका लागि तेस्रो गोल गरिन् त्यसको दुई मिनेट नबित्दै निर्मला बिकले पहिलो हाफको इन्जुरी समयमा पुलिसका लागि चौथो गोल गरेकी थिइन् ।

    पहिलो हाफमा ४-० को अग्रता बनाएको पुलिसले निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा पाचौँ गोल थप्यो । खेलको पहिलो गोल गरेकी रेखाले ८९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन् । पुलिसको आक्रमक शैलीविरुद्ध सम्हालिन नसकेको चौदण्डिगढीका लागि सिर्जनाले खेलको इन्जुरी समयमा छैठौं तथा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् ।

    जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको पुलिसको प्रतियोगितामा यो नै पहिलो जित हो । प्रतियोगितामा पहिलो खेल खेलेको चौदण्डिगढीले सुरुआतमा आधा दर्जन गोल खाएको हो ।

  • जाममा परेर हिँडिन् मन्त्री

    जाममा परेर हिँडिन् मन्त्री

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले शुक्रबार गरेको शक्ति प्रदर्शनले राजधानीको जनजीवन नै प्रभावित भयो।

    राजधानीका बिभिन्न ९ ठाउँबाट निस्केको जुलुसका कारण ‘कोर एरिया’ को सार्वजनिक यातायत नै प्रभावित भयो। धेरै सर्वसाधारण सवारीसाधन नचलेका कारण हिँड्न पनि बाध्य भए।

    त्यस्तै बाध्यतामा परिन् कृषि तथा पुशपन्छी विकासमन्त्री पद्मा अर्याल। भृकुटीमण्डअघि आयोजना हुने सभाका लागि करिब ११ बजेतिर नै जुलुस शुरु भएको थियो । मन्त्री निवास पुल्चोकबाट सिंहदरबार आउँदै गरेकी मन्त्री अर्याल पनि जुलसका कारण सिर्जना भएको अवरोधमा परिन्।

    मन्त्री अर्यालकी प्रेस संयोजक देवीका घर्तीमगरका अनुसार ललितपुरतिरबाट आइरहेको जुलुसका कारण मन्त्री थापाथली चोकबाट थापाथली इन्जिनियरिङ क्याम्पससम्म हिँडेरै आइन। मन्त्री बिहान साढे एघार बजेतिर थापाथली चोक आइपुगेकी थिइन, जुनबेला प्रायः सबैतिरबाट जुलुस शुरु भइसकेका थिए।

    ‘थापाथली आउँदा ललितपुरबाट आउने जुलुसले नै जाम भयो,’ घर्तीले नेपाल प्रेससित भनिन्, ‘अनि यता माइतीघरमा पनि जाम भएपछि गाडी ‘ब्लक’ भयो । मन्त्रीज्यू त्यसपछि थापाथली चोकबाट इन्जिनियरिङ कम्याम्पससम्म हिँडेर आउनु भएको हो । जाम पर्‍यो भने मन्त्रीज्यू बेला-बेला हिँड्नु हुन्छ।’