Author: Shyamkrishna Dahal

  • माधव-प्रचण्ड पक्षतिर उपराष्ट्रपतिको कित्ता प्रष्ट

    माधव-प्रचण्ड पक्षतिर उपराष्ट्रपतिको कित्ता प्रष्ट

    काठमाडौं । राष्ट्रपतिसमेतको उपस्थितिमा भएको विभिन्न निकायका ३८ पदाधिकारीको सामूहिक शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन अनुपस्थित रहे । उपराष्ट्रपतिले यसरी राज्यको कुनै औपचारिक कार्यक्रम अघोषित बहिष्कार गरेको यो दुर्लभ घटना हो । यसलाई संवैधानिक परिषद्‍द्वारा गरिएको नियुक्तिप्रति उनको असन्तुष्टिका रूपमा हेरिएको छ ।

    आफू कार्यक्रममा उपस्थित नहुने विषयमा पुनले सरकार वा राष्ट्रपति कार्यालयलाई औपचारिक-अनौपचारिक कुनै जानकारी गराएका थिएनन् । यस विषयमा उपराष्ट्रपति कार्यालयले अहिलेसम्म कुनै प्रष्टीकरण पनि दिएको छैन । यसर्थ यो घटनाले आगामी दिनमा सरकार र उपराष्ट्रपतिबीचको सम्वन्ध चिसिन सक्ने देखिएको छ ।

    पुन तत्कालीन माओवादी केन्द्रको कोटाबाट उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनी पहिले राजनीतिकभन्दा फौजी व्यक्तिका रूपमा चिनिन्थे । जनयुद्धकालमा माओवादी जनसेनाका कमाण्डर रहेका उनले माओवादी शान्ति प्रक्रियामा आएपछि आफ्नो गतिलो राजनीतिक स्पेस बनाउन सकेका थिएनन् । संविधानसभाको दोस्रो चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट हारेपछि उनको राजनीति थप समस्यामा परेको थियो ।

    तत्कालीन एमाले र माओवादीबीच भागबण्डाका क्रममा उपराष्ट्रपति माओवादीको भागमा परेपछि पुनले त्यसमा इच्छा देखाएका थिए । इच्छा मात्रै नदेखाएर उनले पार्टीमा चर्को वार्गेनिङ नै गरेका थिए । अन्ततः चुनाव हारेका पुनलाई माओवादीले देशको दोस्रो वरियताको पदमा उम्मेदवार बनाएको थियो ।

    संसद विघटनपछि नेकपा विवाद उत्कर्षमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्दासम्म उपराष्ट्रपति आफ्नो नियमित भूमिकामा थिए ।

    जनसेनाको कमाण्डरजस्तो फौजी पृष्ठभूमिका पुनले उपराष्ट्रपतिजस्तो पूर्णरूपमा सेरेमोनियल पदमा चित्त बुझाए । त्यही पदको मागअनुसार उनले आफूलाई बदले पनि । तत्काल आफ्नो पार्टीको सदस्यता त्यागे भने यसबीचका कुनै पनि राजनीतिक विवादहरूबाट टाढा बसे । बरु राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आफ्नो पुरानो पार्टी र गुटप्रति वफादारी निभाइरहेको आरोप लाग्दै आयो, तर उपराष्ट्रपतिले यस्तो आरोप खेप्नुपरेन । संविधानले कुनै भूमिका नदिएकाले पनि उनलाई विवादबाट टाढा बस्न सजिलो भयो ।

    अहिले सत्तारुढ पार्टी नेकपामा अनौपचारिक विभाजन आएपछि भने उपराष्ट्रपतिले आफ्नो राजनीतिक पक्षधरता देखाएका छन् । प्रचण्ड-माधव पक्षतिर उनको कित्ता क्लियर भएको छ । राष्ट्रपति र उपराष्ट्रपति पार्टीगत राजनीतिभन्दा माथि हुनुपर्ने मान्यतालाई चिर्दै उनले विभाजित पार्टीको एउटा ढिक्कातर्फ आफ्नो वफादारी पेस हुन् । केही दिनअघि प्रचण्ड र डा. बाबुराम भट्टराईले पुनलाई उपराष्ट्रपति कार्यालयमै पुगेर भेटेका थिए । त्यही भेटको नतिजाका रूपमा आजको अनुपस्थितिलाई सरकारी पक्षले अर्थ्याएको छ ।

    बालुवाटार स्रोत भन्छ, ‘खुमलटारको निर्देशनमा उहाँले आजको कार्यक्रम बहिष्कार गर्नुभएको हो भन्ने प्रष्ट छ । योभन्दा अगाडि यस्तो पक्षधरता देखाउनुभएको थिएन । आज किन बुद्धि बिगार्नुभयो थाहा भएन । यस्तै सभा-समारोहमा उपस्थित हुनेबाहेक उपराष्ट्रपतिको अरु काम नै केही हुँदैन । यसमा पनि उपस्थित नहुने हो भने राज्यले त्यत्रो सेवा-सुविधा दिएर किन पाल्ने भन्ने प्रश्न उठ्छ ।’

    संसद विघटनपछि नेकपा विवाद उत्कर्षमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्दासम्म उपराष्ट्रपति आफ्नो नियमित भूमिकामा थिए । उनले मन्त्रीहरूको शपथग्रहण समारोहमा भाग लिएका थिए । त्यसो त सभामुख अग्नि सापकोटासमेत मन्त्रीहरुको शपथग्रहणमा पुगेका थिए । त्यसयता भएका विकासक्रमले भने उनीहरु दुवैलाई आफ्नो माउपार्टीप्रतिको वफादारिता पेस गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ ।

    सभामुख आजको कार्यक्रममा अनुपस्थित हुनु चाहिँ अपेक्षित नै थियो । उनले अस्ति मात्रै संवैधानिक परिषद्ले गरेको नियुक्तिसम्वन्धी पत्र सरकारलाई फिर्ता पठाएर आफ्नो असन्तुष्टिको जनाउ दिइसकेका थिए ।

    संविधानविद् भिमार्जुन आचार्यले उपराष्ट्रपति र सभामुख संवैधानिक अंगमा भएका नियुक्तिको प्रक्रियामा असन्तुष्‍ट रहेको आजको अनुपस्थितिबाट बुझ्‍न सकिने प्रतिक्रिया दिए । उनले नेपालप्रेससँग भने, ‘उहाँहरूको अनुपस्थितिभन्दा ठूलो विषय संवैधानिक परिषद्‍ले गरेको नियुक्ति विधि र प्रक्रिया अनुकुल छ या छैन भन्‍ने हो ।’

    उपराष्ट्रपतिको अनुपस्थितिले चाहिँ सरकार पनि अचम्ममा परेको छ । यस विषयमा उपराष्ट्रपति कार्यालयको प्रतिक्रिया बुझ्न पुनका प्रेस सल्लाहकार मनोज घर्तिमगरलाई बारम्बार सम्पर्क प्रयास गर्दा उनले फोन उठाएनन् ।

  • प्रचण्ड-माधव पक्षद्वारा आमहड्तालको घोषणा

    प्रचण्ड-माधव पक्षद्वारा आमहड्तालको घोषणा

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले बिहीबार देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

    संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

    आकस्मिक रूपमा सार्वजनिक गरिएको संघर्षको नयाँ कार्यक्रमअनुसार बुधबार साँझ देशभर मसाल जुलुस र बिहीबार आमहड्ताल तय गरिएको छ । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल आफूहरूको बाध्यता भएको बताए ।

    देशव्यापी आह्वान गरिने आमहड्तालमा अत्यावश्‍यक सेवामा भने कुनै रोक नलगाउने श्रेष्ठले जानकारी दिए ।

  • काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली

    काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली

    काठमाडौं । नेकपा ओली पक्षनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ ।

    शुक्रबार तय गरिएको जनसभाको तयारीका लागि मोटरसाइकल र्‍याली निकालिएको आयोजकले जनाएको छ । ललितपुरको बालकुमारी पुलबाट मध्यान्ह शुरू भएको मोटरसाइकल र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमल, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेको थियो ।

    वागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली पक्षले नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा जनसभाको तयारी गरेको छ ।

                
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
     
    

     

  • आज मसाल जुलुस र भोलि आमहड्ताल गर्ने प्रचण्ड-माधव पक्षको निर्णय

    आज मसाल जुलुस र भोलि आमहड्ताल गर्ने प्रचण्ड-माधव पक्षको निर्णय

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले बिहीबार (भोलि) आमहड्ताल गर्ने भएको छ ।

    पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले बुधबार साँझ देशभर मसाल जुलुस र बिहीबार आमहड्ताल गर्ने निर्णय गरेको समितिका एक सचिवालय सदस्यले नेपाल प्रेससँग बताए । ‘संसद विघटनको असंवैधानिक कदमको सडकमा आवाज उठिरहेको बेला त्यसलाई बेवास्ता गरेर पेलेरै लाने सरकार रबैया देखिएकोले थप खबरदारीको जरुरी भएर यो निर्णय गरिएको हो’, उनले भने ।

    आकस्मिक डाकिएको बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त तथा शपथ गरेको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

    केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर संघर्षका कार्यक्रमको औपचारिक घोषणा हुनेछ ।

  • आमहड्तालको घोषणा गर्ने प्रचण्ड-माधव पक्षको तयारी

    आमहड्तालको घोषणा गर्ने प्रचण्ड-माधव पक्षको तयारी

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ।

    केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।

    पत्रकार सम्मेलनअघि केन्द्रीय संघर्ष समितिको बैठक समेत बोलाइएको छ । बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त गरेको विरोधमा आमहड्ताल गर्ने निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

    केन्द्रीय संघर्ष समितिको बैठकले आमहड्तालको निर्णय गरेपछि आकस्मिक रूपमा बोलाइएको पत्रकार सम्मेलनमा त्यसको घोषणा गरिने बताइएको छ ।

    नेकपाको अ‍ोली पक्षले शुक्रबार राजधानीमा आमसभा गर्दै छ। ओली पक्षकै आमसभाकै पूर्वसन्ध्यामा प्रचण्ड-माधव पक्षले आमहड्तालको तयारी गरेको छ ।

  • रामकुमारीले जंगिँदै भनिन्: चित्त दुख्‍नेको दुखोस्, म आफ्नो मिसनमा छु

    रामकुमारीले जंगिँदै भनिन्: चित्त दुख्‍नेको दुखोस्, म आफ्नो मिसनमा छु

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विभिन्न लाञ्छना लगाएर विवादमा मुछिएकी नेतृ रामकुमारी झाँक्री अझै पनि क्षमायाचनाको मुडमा छैनन् । नेपालप्रेससँगको कुराकानीमा उनले चर्को भाषामा आफ्नो अभिव्यक्तिको बचाउ गरिन् ।

    फोन सम्पर्कमा हामीले उनलाई सोधेका थियौं, ‘तपाईंले आफ्नो भाषणमा राष्ट्रपतिलाई बालकोट जानु भन्दा एकल महिलाको चरित्रहत्या भएन र ?’

    जंगिदै झाँक्रीले भनिन्, ‘बालकोट भनेँ त के भयो ? मैले बानेश्वर, कोटेश्वर पनि त भनेकी छु । क-कसको कुन-कुन ठाउँमा के-के सम्बन्ध छन्, सूची बनाएर दिनुस्, अनि ती ठाउँको नाम नलिउँला ।’

    आफूले राष्ट्रपतिलाई चुनाव लड्नका लागि बानेश्वर, कोटेश्वर वा बालकोट छान्न सुझाव दिएको उनले दाबी गरिन् ।

    राष्ट्रपतिका छोरीहरूमाथि पनि झाँक्रीले आक्रमण गर्न बाँकी राखिनन् । राष्ट्रपतिपुत्री उषाकिरणले चित्त दुखाएर फेसबुकमा स्टाटस लेखेको विषयमा उनले रुखो प्रतिक्रिया दिइन् ।

    ‘(चित्त) दुख्छ त, राजनीति गर्न आएपछि दुख्छ । अझै दुख्छ । दुख्न बाँकी छ । मदन भण्डारीको ब्याज कति पुस्तासम्म खाइरहने हो उनीहरूले ? हामीले कति तिरिरहने हो ?’

    झाँक्रीले अझै थपिन्, ‘उनीहरु र मेरो उमेरमा त्यति फरक छैन । मदन भण्डारीको हत्यापछि उनीहरुले रोजीरोजी सुविधासम्पन्न स्कूलमा पढे । हामी यो देशमा परिवर्तनका लागि संघर्षमा होमियौं । यो व्यवस्था हामीले ल्याएको हो । उनीहरूले इमोसनल कुरा गरेर राजनीतिमा भात खाइरहन मिल्दैन ।’

    रामकुमारीको अभिव्यक्तिलाई लिएर नेकपा ओली समूहले मात्रै आपत्ति जनाएको छैन, वैचारिकरूपमा तटस्थ व्यक्तिहरूले समेत विरोध गरेका छन् । खासगरि महिला अधिकारको क्षेत्रमा क्रियाशीलहरूले उनीप्रति खेद व्यक्त गरिरहेका छन् । झाँक्री महिला अधिकारवादीमाथि पनि खनिइन् ।

    ‘महिलावादको नाममा अपराध गर्न पाइन्छ ? हामीले ल्याएको व्यवस्थाको चीरहरण गर्न पाइन्छ ? महिला भएको कारणले अपराध स्वीकार गर्न सकिन्छ ? अपराध जसले गरे पनि अपराध हो ’, उनले उत्तेजित बन्दै भनिन् ।

    फेरि थपिन्, ‘के यो देशका सबै एकल महिला राष्ट्रपति छन् ? विद्या भण्डारी एकल महिला भनेर होइन, राजनीतिमा आउनलाई त्यो सहारा लिएको कारणले गलत भनेको हो । मेरी आमा पनि एकल महिला हो । यत्तिकै अर्थ लगाएर हुन्छ ?’

    ‘तपाईंले दिएको अभिव्यक्ति क्षणिक उत्तेजना वा आवेशमा थियो कि सोचविचार गरेर बोल्नुभएको थियो त ?’ हाम्रो प्रश्न ।

    उनले हाकाहाकी भनिन्, ‘उत्तेजनामा होइन, विवेकपूर्वक सोचविचार गरेर, भन्नैपर्ने भएकाले भनेको हो । हाम्रो लोकतन्त्रमाथि, संविधानमाथि केपी ओलीले धावा बोलेको र विद्या भण्डारी त्यसको प्रत्यूत्पादक भएकाले बोलेको हो ।’

    ‘तर, राजनीतिक विवादमा बोल्दा यसरी व्यक्तिगत आक्षेप नलगाएको भए हुन्थ्यो कि ?’

    झाँक्रीले भनिन्, ‘मैले बोलेको कुरा व्यक्तिगत होइन, वैचारिक हो ।

    ‘सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्नुभएको होला, गल्ती महसुस भएको छैन ?’

    ‘म त राजनीति गर्ने मान्छे, कसले के प्रतिक्रिया दिन्छ के मतलब । म आफ्नो मिसनमा हिँडेको छु, हिँडिरहन्छु ।’

    उनले आफ्नो मिसन प्रतिनिधिसभाको पुन:स्थापना भएको बताइन् ।

    पढ्नुहोस्- राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा

  • नेकपा विभाजनको असर, उपराष्ट्रपतिद्वारा शपथग्रहण समारोह बहिष्कार

    नेकपा विभाजनको असर, उपराष्ट्रपतिद्वारा शपथग्रहण समारोह बहिष्कार

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संवैधानिक निकायका प्रमुख र सदस्यहरुको शपथग्रहण समारोह बहिष्कार गरेका छन् ।

    आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन सहभागी भएनन् । पुन पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका थिए । उनको निवासमा केही दिनअघि प्रचण्ड र बाबुराम भट्टराईबीच वार्ता भएको थियो ।

    प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति शपथग्रहण समारोहमा सहभागी नभएको स्रोतले जनाएको छ ।

    सभाभुख अग्नि सापकोटाले पनि शपथग्रहण समारोह बहिष्कार गरेका थिए ।

  • संवैधानिक अंगका पदाधिकारीहरूले लिए शपथ, सभामुखद्वारा बहिष्‍कार

    संवैधानिक अंगका पदाधिकारीहरूले लिए शपथ, सभामुखद्वारा बहिष्‍कार

    काठमाडौं । संवैधानिक परिषद्को सिफारिशमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाएका हुन् ।

    त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले शपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी थिए ।

    नियुक्तिप्रति नै असहमति जनाएका सभामुख अग्नि सापकोटाले भने शपथग्रहण समारोह बहिस्कार गरेका छन् । सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएको निर्णयको सक्कल प्रति फिर्ता गरेका थिए । उनी सिफारिस हुने बैठकमा पनि सहभागी भएका थिएनन् ।

    मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो ।

    त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर,निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधरलगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो ।

    सरकारले उनीहरुको संसदीय सुनुवाईका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो । सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो । संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन मंगलवार पुगेकाले उनीहरुको नियुक्ति भएको हो ।

  • लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    जनकपुरधाम । जनता समाजवादी पार्टीका एक प्रमुख नेता  उपेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने प्रस्ताव राखेका छन् ।

    तत्कालीन संघीय समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राउतलाई हटाउने उपेन्द्रको प्रस्तावले जसपामा नयाँ बहस सिर्जना गरेको छ ।

    यादवले नै मुख्यमन्त्री बनाएका राउतलाई हटाउने कुरा बाबुराम भट्टराईले अहिले रोकेका छन् । भट्टराईले मुख्यमन्त्री परिवर्तन गर्ने हो भने पनि पहिले पार्टी र सरकारको नेतृत्व टुंगो लगाउनुपर्ने भनेर ‘होल्ड’ गरेको उनीनिकट स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो, ‘उपेन्द्रजीले मुख्यमन्त्री परिवर्तन गर्ने प्रस्ताव पहिले नै राख्नुभएको हो । बाबुरामले प्रदेशमा पार्टीको नेतृत्व साविक जसपा र समाजवादीमध्ये एउटाले गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने मोडालिटीमा सहमति गरौं भनेर रोकिएको हो ।’

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएको ९ महिना बितिसक्दा पनि प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयन गरिएको छैन । मुख्यमन्त्री राउत अहिले पनि तत्कालीन समाजवादी पार्टीको दलको नेताको हैसियतमा छन् ।

    दलको नेता चयन प्रक्रियामै विवाद भएकाले मुख्यमन्त्री फेर्ने उपेन्द्रको प्रयासले मूर्तरूप भने पाएको छैन । प्रतिनिधिसभा विघटनपछि पार्टी आन्दोलनमा केन्द्रित रहेकाले दलको नेता चयनमा ढिलाइ भएको जसपाका सांसद विन्देश्वर यादवले बताए ।

    नेपालप्रेससँग कुरा गर्दै यादवले भने, ‘मुख्यमन्त्रीले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् उनलाई हटाउनुपर्छ भन्ने कुरा हो । तर, संसद विघटनका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको छ । पहिले यसलाई बचाउनुपर्छ । त्यसैले यसतर्फ केन्द्रित भएपछि मुख्यमन्त्री फेर्नुपर्ने छलफल पनि बन्द भएको हो ।’

    दलको नेता राउत नै बन्न सकेनन् भने मुख्यमन्त्री फेरिने निश्चित छ । संसदीय दलको नेता चयन गर्नका लागि पार्टीले पाँच सदस्यीय समिति समेत बनाएको छ । समितिमा सांसदहरू मनिष सुमन, रामाशिष यादव, रानी शर्मा तिवारी, उपेन्द्र महतो र परमेश्वर साह छन् । समितिलाई विधान बनाउन जिम्मेवारी तोकिएको थियो ।

    तर, मनिष सुमनले एक्लै विधान बनाएर मुख्यमन्त्री राउतलाई बुझाए । समितिमा रहेका अन्य चार सांसदसँग सल्लाहसमेत नगरी सुमन एक्लैले विधान बनाएपछि समिति निस्क्रिय रहेको समितिका सदस्य रामाशिषले बताए ।

    पार्टी एकता भए पनि प्रदेशसभामा अहिले राजपा र समाजवादी अलग-अलग दल अस्तित्वमा छन् । १०-१५ दिनपछि दलको नेता चयन प्रक्रिया शुरू हुने मनिष सुमनले बताए ।

    संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसद मनिष सुमनलगायतको नाम चर्चामा छ ।

    मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टी र मन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेता हुन् । उपेन्द्रले भने राउतलाई हटाएर विजय यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।

    राउत पार्टीभित्रको पछिल्लो विवादमा इस्तियाक राई पक्षमा लागेको बुझाइ उपेन्द्रको छ । रेणु यादव, इस्तियाक राईलगायतका नेताहरूले गत वैशाखमा समाजवादी पार्टी फुटाएर अलग दल दर्ता गर्न खोजेका थिए ।

    त्यसका लागि सहज बनाउन प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेशसमेत ल्याएका थिए । तर, चौतर्फी विरोधपछि अध्यादेश फिर्ता भएर सांसदको संख्या समेत गडबड भएपछि उनीहरूको प्रयास असफल भएको थियो ।

  • संवैधानिक इजलासलाई छायाँमा पार्ने सडक इजलास, भिडियोमा हेर्नुस् कसले के भने ?

    संवैधानिक इजलासलाई छायाँमा पार्ने सडक इजलास, भिडियोमा हेर्नुस् कसले के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अहिले एउटा मुद्दाका वादी प्रतिवादी हुन् भने दुवैजनाले अदालतको अवहेलना मुद्दा एक्ला-एक्लै झेलिरहेका छन् ।

    संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि चलिरहेको वकिलहरुको बहसभन्दा सडकमा ओली र प्रचण्डको वहस रोचक छ । सडक बहसकै कारण दुवै नेताले अवहेलना मुद्दा खेपिरहेका छन् ।

    केही दिनअघिसम्म ओली र प्रचण्डको दोहोरी ब्याटल ‘नाटकै हो, नौटंकी नै हो’ भन्ने क्यारिकेचरमा पुगेको थियो । अब यी नेता त्यतिमा मात्र सीमित छैनन् ।

    प्रचण्डले बारम्बार प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापना नगरे अदालतभन्दा ठूला जनता हुन् भन्दै चुनौतीको भाषा बोलिरहेका छन् । उनले पछिल्लोपटक विराटनगर पुगेर एक कदम अघि बढ्दै अदालतले पुनःस्थापना नगरे सभामुखमार्फत संसद बैठक बोलाउने चेतावनी समेत दिए ।

    प्रचण्डले बारम्बार भन्ने गरेका दुई कुरा छन्- पहिलो, अदालतप्रति विश्वास छ तर जनताको शक्ति नै ठूलो हो, पुनःस्थापना गरेन भने जनताले फैसला गर्छन् ।

    दोस्रो चाहिं अदालतमा केपी ओलीको सेटिङको सन्दर्भ उनले बारम्बार उठाउने गरेका छन् । उनका भाषणहरूमा अदालतप्रति भरोसा भन्दा पनि भय र संशय देखिन्छ ।

    प्रचण्ड :

    काठमाडौंमा पुस १४ गते भएको प्रचण्ड-नेपाल पक्षीय भेलामा संबोधन गर्दै प्रचण्डले भने, ‘एकजनाको सनकमा संसद भङ्ग, सनकमा चुनावको घोषणा । संसद भङ्ग भएको छैन, अदालतले हाम्रो पक्षमा फैसला गर्छ । अदालतलाई हामीले सम्मान गर्ने हो सम्मान बाहेक केही गर्न मिल्दैन । हामी गर्दैनौं पनि ।’

    ‘हामी आशा गर्छौं, अदालतले यो कदमको छिटोभन्दा छिटो यो असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउने छ भनेर भरोसा गर्छौं । तर, हाम्रो सबभन्दा ठूलो भरोसा नेपाली जनतामाथि नै हो । जनताले मात्र यो सच्याउन मद्दत गर्न सक्छन् र हाम्रो अन्तिम भरोसा जनतामाथि नै छ’, उनले भनेका थिए ।

    केपी ओेली :

    ‘केही तर्क रहेनछ उहाँहरूसँग । अनि उहाँहरुले भन्नुभएछ, मन्त्रिपरिषदले गरेको निर्णयमा संविधानको धारा खुलाइएको छैन । मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाँदा धारा खुलाएर गर्नुपर्छ भन्ने कुन संविधानमा, कुन कानूनमा छ ? त्यतिसम्म कमसेकम सर्वोच्च अदालतसम्म बहस गर्न जानेहरूलाई थाहा हुनुपर्छ नि ।’

    प्रचण्डले संसद पुनःस्थापाना हुने आशा मारेका छैनन् । तर ओलीले अदालतमा सेटिङ गरिसके भन्ने उनमा भय देखिन्छ ।

    प्रचण्ड भन्छन्, ‘यो सेटिङ डरलाग्दो शब्द छ । यो केपीका मान्छे र केपीले नै भनेका छन् । केपीले अदालतलाई जे भन्यो मान्नुपर्छ, पोल्टिकल डिसिजन गर्नुपर्छ भनेका छन् । म सम्मानित सर्वोच्‍च अदालतलाई शंका गर्न चाहान्न तर केपीको सेटिङलाई त शंका गर्नुपर्‍यो नि ।’

    जवाफमा प्रधानमन्त्री ओली भन्छन्, ‘हाम्रो अदालत असली चार्ली च्याप्लिन कुन् हो भन्ने छुट्याउन नसक्ने अवस्थामा छैन । अदालतले जुँगा हेरेर चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ, अनुहार हेरेर, कुम हल्लाएको हेरेर चिन्छ । चार्ली च्याप्लिन चिन्न हाम्रो अदालतले गलत गर्दैन । हाम्रो न्याय निरुपण गर्ने निकायहरुले गल्ती गर्दैनन् ।’

    माघ १६ गते शुक्रबार विराटनगरमा नेकपाको प्रचण्ड-माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जरुरी पर्‍यो भने हामी संसद बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं । संविधानले हामीलाई संसद बैठक बस्ने अधिकार दिएको छ । केपी ओलीलाई विघटनको अधिकार दिएको छैन ।’

    प्रचण्डले सभामुखले संसद बैठकको आयोजना गर्ने र हामी उपस्थित भएर केपीलाई कारबाही गर्न सकिने बताए । तर, फेरि सर्वोच्‍चकै कुरा ल्याउँदै प्रचण्डले भने, ‘म फेरि के भन्छु भने सर्वोच्‍चले सही फैसला गर्छ भन्ने विश्वास छ । फैसला सही गर्छ त्यसैले संसद बैठक अहिले नै बसिएको छैन ।’

    प्रधानमन्त्री ओलीलाई बालुवाटारमा संवैधानिक इजलासमा रहेका न्यायाधीशले भेटेको समाचार केही मिडियामा आयो । कतैबाट पुष्टि नहुने र हुँदै नभएको समाचार प्रवाह भएको पछि सम्बन्धित मिडियाले नै माफी मागेपछि प्रष्ट भयो ।

    ओलीले सोही सन्दर्भमा दिएको वक्तव्य पनि प्रचण्डप्रति नै लक्षित थियो, त्यो खबर नै प्रचण्डबाट प्रवाह भएको बुझिने गरी ।

    ओलीले भने, ‘उहाँहरूसँग कुनै तर्क रहेनछ । झुट, बैमानी र फरेबीको सहारा लिएर फलानो, फलानो न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए । यति बजेदेखि यति बजेसम्म । यो भन्दा झुट, योभन्दा बेइमानी के हुन्छ ? उहाँहरु यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ? ती नाम गरेका न्यायाधीशहरुलाई मैले भेटेको त के चिनेको पनि छैन ।’

    प्रतिनिधिसभा विघटनपछि अदालतमा विचराधीन मुद्दामा प्रतिपक्षी कांग्रेस पनि विभाजित छ । नेताहरूमध्ये अदालतको बारेमा कुनै टिप्पणी नगर्नेमा शेरबहादुर देउवा देखिन्छन् । उनी अदालतको फैसला जे आउँछ त्यसलाई कांग्रेसले पालना गर्ने बताउँछन् ।

    सभापति देउवाले संसद विघटनको बारेमा आफ्नो धारणा राख्दै एक कार्यक्रममा भने, ‘अदालतले विवेक पुर्‍याउने हो । संविधानको मूल्य र मान्यता अनुसार काम गर्ने हो । अदालतमा भएको मुद्दामा हामीले यही गर भनेर अदालतलाई दबाब दि‌दैनौं । अदालतले चुनाव गराउने फैसला गरे हामी अब चुनावको तयारीमा लाग्नुपर्छ । जनता नै हाम्रो लागि सर्वोच्‍च अदालत भन्दा पनि ठूलो अदालत हो । जनतामा जाने मौका आयो भने कांग्रेस भाग्नुहुँदैन ।’

    कांग्रेस नेता गगनकुमार थापाले शहीद दिवसको एक कार्यक्रममा देउवाप्रति कटाक्ष गरे ।

    अदालतको कदमबारे कांग्रेसले असंवैधानिक भनेर बोलिसकेको भन्दै उनले अदालतले यो भन्दा दायाँ-बायाँ गएर फैसला गर्न नसक्ने बताए ।

    उनले भने, ‘अदालतमा कहिलेकाही‌ चिन्ता व्यक्त गरेको सुनिन्छ, बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउन मन नलाग्यो भने के गर्ने ? हामीले श्रीमानलाई भनेका छौं बहुमत प्राप्त प्रधानमन्त्री खुरुक्क घर जाने । घर बस्न मन नलागे वन जाने ।’

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई चलिरहेका बेला सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशले संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्रीको कदम सच्याउन अदालतलाई दबाब दिए ।

    चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको जवाफ

    प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चारजना पूर्व प्रधानन्यायाधीशहरूलाई पनि ओलीले मिलाएर जवाफ दिएका छन् ।

    उनी भन्छन्, ‘म उहाँहरुलाई भन्न चाहन्छु सर्वोच्‍च अदालतको सर्वोच्‍च ठाउँमा पुगिसकेका मान्छेहरूले सर्वोच्‍चलाई गलत ढंगले प्रभावित पार्ने, गुमराहमा पार्ने, अल्मल्याउने र धम्क्याउने खालका कुनै पनि काम उहाँहरूलाई गर्न सुहाउँदैन । उहाँहरू जे भन्नुहुन्छ त्यै फैसला हुने भए अदालत किन चाहियो ?’

    प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता शम्भु थापाप्रति पनि कटाक्ष बाँकी राखेका छैनन् ।

    सर्वोच्च अदालतमा अहिले ओली, प्रचण्ड, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू विरुद्ध अवहेलना मुद्दा चलिरहेको छ । तर, पनि सडकबाट आ-आफ्ना अनुकूल बहस गर्ने क्रममा नेताहरुले आफ्नो जिम्मेवारी समेत भुल्न थालेका छन् ।

    यो पनि हेर्नुहोस् :

    १) ओली भर्सेस प्रचण्ड-माधवको दोहोरी ब्याटल, दर्शक दीर्घामा देउवा-पौडेल जुहारी (भिडियो रिपोर्ट)

    २) ओली-प्रचण्ड दोहोरी ब्याटल अब क्यारिकेचरतिर (भिडियोमा हेर्नुहोस्)

    ३) ओली-प्रचण्ड दोहोरी ब्याटल अब क्यारिकेचरतिर (भिडियोमा हेर्नुहोस्)

    ४) ‘ब्याटल ग्राउण्ड’मा प्रचण्ड–म युद्ध लडेको कमाण्डर हुँ, अब केपी सिद्धिए (भिडियो रिपोर्ट)

  • समितिमा विवरण बुझाउन गण्डकी सामाजिक विकास मन्त्रालयको अटेर

    समितिमा विवरण बुझाउन गण्डकी सामाजिक विकास मन्त्रालयको अटेर

    पोखरा । गण्डकी प्रदेशको प्रदेश मामिला समितिले मागेको कामको प्रगति विवरण सामाजिक विकास मन्त्रालयले बुझाएको छैन ।

    अघिल्लो आर्थिक वर्षको बुझाएपनि चालु आर्थिक वर्षको प्रगति विवरण नबुझाएको समितिका सभापति कृष्णबहादुर थापाले बताएका छन् । गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिले आफ्नो मातहतका ३ मन्त्रालयसँग कार्य प्रगति विवरण मागेकोमा मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला मन्त्रालय बुझाएपनि सामाजिक विकास मन्त्रालयले भने नबुझाएको समितिले जनाएको छ ।

    समितिको असोज ७ गते बसेको बैठकले कार्य प्रगति विवरण माग गरेको र लामो समय भइसक्दा पनि मन्त्रालयले नबुझाएको सभापति थापाले बताए । उनले भने, ‘तीनवटै मन्त्रालयको नाममा हामीले पत्राचार गरेर विवरण माग गरेका थियौं । तर, अझैसम्म प्राप्त भएको छैन ।’समितिको मंगलबार बसेको ३० औं बैठकमा उक्त कुरा उठेको छ । बैठकमा सभापति थापाले मन्त्री नरदेवी पुनमगरसँगको प्रत्यक्ष भेटमा पनि आफूले विवरण माग गरेको सुनाए । मन्त्री पुनमगर समितिकै पदेन सदस्यसमेत हुन् ।

    सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले आफू मन्त्रालयमा नयाँ भएको र यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले नेपालप्रेससँग भने, ‘म भर्खरै यहाँ आएको छु । यसबारे मलाई धेरै थाहा भएन । बुझ्नुपर्छ ।’

    बैठकमा समितिका सदस्य सचिव विष्णुप्रसाद पौडेलले समितिले नै ताकेता नगरेकाले पनि कार्य प्रगति विवरण नआएको हुन सक्ने बताए । ‘पत्र पठाएपछि फोन त गरेका छौं । तर, आधिकारिक रुपमा पत्रै पठाएर ताकेता गरेका छैनौं,’ उनले भने, ‘बीचमा कोभिडका कारण समितिको नियमित बैठक बस्न नसक्दा पनि ताकेता गर्न नसकेका हौं ।’

    पौडेलले आफूहरूले पहिलो पत्र पठाउँदा समयावधि नतोकेकाले पनि ढिलाइ हुन गएको हुन सक्ने बताए । उनले आगामी बैठकमा मन्त्रीलाई नै डाकेर प्रगति विवरण माग गर्ने बताए । ‘आउँदो बैठक मन्त्रीज्यूसँगै बस्ने निर्णय भएको छ । त्यही बैठकमा कुरा राखेपछि केही सजिलो होला नि !’ उनले भने ।

    बैठकमा उपस्थित हुँदैनन् सदस्य

    समितिको पदेन सदस्यमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विकासमन्त्री नरदेवी पुनमगर छन् । तर, उनीहरू समितिको बैठकमा अनुपस्थित भइरहेको सदस्य कृष्ण थापाले बैठकमा कुरा राखे ।

    ‘उहाँहरू पनि यो समितिको पदेन सदस्य हुनुहुन्छ । समितिले गर्ने निर्णय कार्यान्वयन गर्ने उहाँहरुले नै हो, फाइदा पनि सरकारलाई नै हुने हो,’ सदस्य थापाले भने, ‘समितिले बोलाएको बैठकमै नआउने भएपछि यो त अलोकतान्त्रिक प्राक्टिस भो ।’

    पदेन सदस्य बैठकमा सहभागी नभएको प्रति भने समिति सचिव विष्णुप्रसाद पौडेलले बचाउ गरे । उनले मन्त्रीहरुलाई आधिकारिक रुपमा पत्राचार गर्न नसक्दा कमजोरी हुन गएको स्वीकारे । ‘मन्त्रीज्यूहरु व्यस्त हुनुहुन्छ । जनरल बैठकहरुमा खासै फोर्स गरेर बोलाएका छैनौं,’ उनले भने, ‘म्यासेज त पठाउँछौं । तर, पत्र पठाएका छैनौं ।’

  • जनतासँग जोडिन संघले हामीबाट सिक्‍यो : सभामुख शाही

    जनतासँग जोडिन संघले हामीबाट सिक्‍यो : सभामुख शाही

    सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णालीका जनताको चाहना बमोजिमको कानून निर्माणका लागि प्रदेशसभा प्रतिनिधिसभाभन्दा अगाडि रहेको दाबी गरेका छन् ।

    प्रदेशसभाको दोस्रो उत्सवका अवसरमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा उनले प्रदेशसभामा आएका विधेयकलाई जनतामाझ लिने अभ्यास प्रतिनिधिसभाले प्रदेशसभामार्फत सिकेको जिकिर गरे ।

    ‘हामीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयकलाई कर्णालीका विभिन्न जिल्लामा लियौं, जनताको राय लियौं र त्यही अनुसारको ऐन निर्माण गरेका छौं ’उनले भने, ‘सकेसम्म प्रदेशसभालाई खुला सांसदको रुपमा विकास गर्न हामी लागेका छौं । प्रदेशसभमा जनताको पहुँच बढाउन हामीले विभिन्न प्रयास गर्दै आइरहेका छौं ।’

    बुधबार पर्ने दोस्रो वार्षिकोत्सव समारोहको पूर्वसन्ध्यामा प्रदेशसभाले विभिन्न कार्यक्रमको आयोजना गरेको उपसचिव तेजप्रकाश जोशीले बताए । उनका अनुसार व्याडमिन्टन, कुर्सी दौड र घैंटो फोड्ने प्रतियोगिताको आयोजना गरिएको छ ।

  • राजनीतिक माग राख्दै डा. केसीद्वारा २०औं अनशन बस्ने घोषणा

    राजनीतिक माग राख्दै डा. केसीद्वारा २०औं अनशन बस्ने घोषणा

    काठमाडौं । राजनीतिक माग राख्दै डा. गोविन्द केसीले २०औं अनशन बस्ने घोषणा गरेका छन् । आफ्नो माग पूरा नभए आगामी १२ फागुनबाट अनशनमा बस्ने उनको घोषणा छ ।

    मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीले दुई सूत्रीय माग राखेका  छन् । उनको पहिलो माग ‘प्रधानमन्त्रीद्वारा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने’ रहेको छ । अदालतमा मुद्दा विचाराधीन भएकाले उनले खुलेर संसद पुन:स्थापना भनेका छैनन् ।

    यसैगरी उनले विधि र प्रक्रिया मिचेर अवैध रुपमा संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरिएको भन्दै त्यसलाई रद्द गर्नुपर्ने माग गरेका छन् ।

    विज्ञप्तिमा उनले लेखेका छन्, ‘ केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।’

    नागरिकका हैसियतले शान्तिपूर्ण रुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको केसीले उल्लेख गरेका छन् । संविधान विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई सबै नागरिकहरुले निकटतापूर्वक निगरानी गरिरहेको भन्दै उनले देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्ने आशा व्यक्त गरेका छन् ।

  • इजलास बस्‍न नभ्याएपछि प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुन सकेन

    इजलास बस्‍न नभ्याएपछि प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुन सकेन

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा इजलास बस्न नभ्याएपछि आज हेर्न नभ्याइनेमा परेको छ । सो मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको थियो । सो मुद्दामाथि सम्भवतः भोलि सुनुवाइ हुनेछ ।

    प्रचण्डविरुद्ध अवहेलना मुद्दा चलाउन अधिवक्ता समिर हायुले दिएको निवेदन सोमवार दर्ता भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ भइरहेका बेला न्यायाधीशहरूलाई धम्क्याउने र कथित जनअदालतबाट फैसला गर्नेजस्ता उत्तेजक अभिव्यक्ति दिएको भन्दै हायुले अवहेलना मुद्दा लगाउन माग गरेका हुन् ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दा पनि शर्माकै इजलासमा परेको थियो । सबै विपक्षीलाई बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

  • नेकपाको आधिकारिकता दाबी: विवाद शुरू भएको दिन कहिलेदेखि मानिएला ?

    नेकपाको आधिकारिकता दाबी: विवाद शुरू भएको दिन कहिलेदेखि मानिएला ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा अन्ततः औपचारिक रूपमा आधिकारिकता दाबीसहितको कानूनी प्रक्रिया शुरू भएको छ। प्रचण्ड-माधव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको धारा ४३ र ४४ बमोजिम दाबी पेश गरेपछि नेकपाको कानूनी विभाजन पनि शुरू भएको हो ।

    २७५ जना केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर लिएर मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेर आधिकारिकताका लागि औपचारिक रूपमा दाबी पेश गरेका हुन् ।

    विवाद शुरू भएको दिन

    राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित आधिकारिकताको दाबी पेश गर्नुपर्ने उल्लेख छ ।

    आयोगमा आधिकारिकताको दाबी मंगलबार परे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको दिनदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा राजनीतिक विभाजन शुरू भइसकेको छ ।

    यस्तोमा निर्वाचन आयोगले विवाद प्रारम्भ भएको दिनको निर्धारण कुन दिनदेखि मान्ला भन्ने प्रश्न छ । आयोग पनि यसमा खासै प्रष्ट छैन्। ‘उहाँहरूको विवाद कहिले भयो भन्ने हामी ‘कट अफ टाइम’ तोक्दैनौं’ आयोगका आयुक्त ईश्वरी पौडेल भन्छन्, ‘उहाँहरूले आधिकारिक निर्णयसहित हाम्रो विवाद यो हो भनेर कसरी आउनुहुन्छ त्यो हेरेर मात्रै हामी कानून विज्ञहरूसँग छलफल गरेपछि टुंगो लाग्छ ।’

    आधिकारिकता टुंग्याउन समय लाग्ने

    नेकपाको आधिकारिकता विवादको टुंगोमा पुग्न आयोगलाई धेरै समय लाग्ने भएको छ। राजनीतिक दल सम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा विवाद निरूपण गर्न आयोगलाई कम्तीमा पनि ४५ दिन लाग्ने देखिन्छ।

    यस्तोमा वैशाख १७ र २७ मा तोकिएको निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको छ । प्रचण्ड-माधव पक्षले नेकपा विवाद निरूपण नगरी निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताएको छ।

    वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता सम्बन्धी दाबी बल्ल शुरू भएको बताए। ‘हामी दलीय व्यवस्थामा छौं’ खनालको भनाइ छ, ‘दलहरूको बारेमा निरूपण नभइकन कुनै पनि चुनावहरू सम्पन्न हुन सक्दैनन् । दलहरू नै निर्वाचनका मुख्य खेलाडी हुन् । ती खेलाडीलाई तयार नपारिकन कुनै निर्वाचन हुँदैन।’

    एकातिर निर्वाचन आयोगले नेकपाको विवाद निरूपण नगरी चुनावी तालिका अगाडि बढाउन कठिन हुने देखिन्छ। अर्कोतिर, आयोग नेकपा विभाजन नभएको मानेर अगाडि बढेमा सूर्य चिन्ह र नेकपाको प्रयोग कसले गर्ला भन्ने प्रश्न पनि छ।

    आयोगलाई लाग्ने समय

    दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताको दाबी पेश भएमा निर्वाचन आयोगले अर्को पक्षलाई दाबीबारे लिखित जवाफ पेश गर्न १५ दिनको सूचना दिनु दिनुपर्नेछ।

    दाबीका सम्बन्धमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी अर्को पक्षलाई पन्ध्र दिनको सूचना दिनुपर्नेछ। १५ दिनभित्र जवाफ पेश गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेश गर्न आयोगले १० दिन म्याद थप गर्न सक्नेछ।

    आयोगले विवादका सम्बन्धित पक्षहरुलाई आपसी सहमति बमोजिम विवाद निरूपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ। र, दुवै पक्षका प्रमाण हेरेर कुनै एकलाई आधिकारिकताको निर्णय दिनेछ।

    कानूनमा यस्तो छ व्यवस्था :- 

  • थप २२ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

    थप २२ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । लोक सेवा आयोगले कार्यक्षमताका आधारमा थप २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यको संयोजकत्वमा गठित बढुवा समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बढुवाका लागि सिफारिस गरेको हो ।

    सिफारिस हुनेमा १ नम्बरमा मनोजकुमार आचार्य र २२ नम्बरमा तुलसीनाथ गौतम छन् । त्यस्तै, १९ औं नम्बरमा गृह मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव प्रेमलाल लामिछाने परेका छन् भने गृह मन्त्रालय मातहतकै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थपन प्राधिकरणका प्रवक्तासमेत रहेका उपसचिव जर्नादन गौतम २० नम्बरमा परेका छन् ।

    समितिले सोमबार सिफारिस गरेपछि मन्त्रालयले मंगलबार बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना गरेको छ । कसैले उजुरी नगरे २२ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानबिन गर्नेछ ।

    लोक सेवा आयोगका अध्यक्षले तोकेको सदस्यको संयोजकत्वमा ५ सदस्यीय बढुवा समिति बनेको छ । समितिमा आयोगका अर्का एक सदस्य, मुख्यसचिव र एक जना विज्ञ सदस्य रहने व्यवस्था छ । मन्त्रालयका सचिव समितिका सदस्य सचिव हुने प्रावधान छ ।

    कम्तीमा ५ वर्ष उपसचिव भएर सेवा गरेका १ सय २५ जनाले सहसचिव बढुवाका लागि दरखास्त दिएका थिए । जसमा २२ जनाको नाममात्र अन्तिम बढुवा सूचीमा परेको छ । ५ दिन अघि मात्रै २२ जना उप-सचिवको पनि सहसचिवमा बढुवा भएको थियो ।

  • न्यायाधीश हरिकृष्ण कार्कीको प्रश्‍न-हामीले कानून हेर्ने कि जुलुस ?

    न्यायाधीश हरिकृष्ण कार्कीको प्रश्‍न-हामीले कानून हेर्ने कि जुलुस ?

    सुर्खेत । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पछिल्लो समयमा न्यायाधीशमा त्रासको वातावरण सिर्जना भएको बताएका छन् ।

    ‘अहिले अदालतमा कुनै मुद्दा आउँदा त्यसको पक्ष/विपक्षमा जुलुस र प्रदर्शन हुन्छ, ‘उनले भने, ‘न्यायाधीशले मिसिल हेर्ने कि, कानून हेर्ने कि जुलुस हेर्ने ? कसरी न्याय दिने ?’

    न्यायपालिकामा विकृति र अनियमितता तथा विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरुको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिका संयोजकसमेत रहेका कार्कीले कतै आफ्नो बारेमा गलत समाचार आउने हो कि भन्ने डर न्यायाधीशलाई लाग्न थालेको महसुस भएको बताए ।

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै न्यायाधीश कार्कीबारे संवैधानिक इजलासमा सहभागितामाथि प्रश्न उठाएका थिए । त्यसपछि कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए ।

    न्यायालयलाई प्रभावित गर्नेतर्फ नभई सचेतना दिने काम गर्न र न्याय दिलाउन आवश्यक सल्लाह दिन कार्कीको आग्रह छ ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाबारे भने सर्वोच्चमा विचाराधीन रहेकोले आफूले बोल्न नमिल्ने उनले बताए । न्यायाधीश कार्कीले भने, ‘अदालत संविधानको व्याख्याता मात्र हो । हाम्रो संविधानमा सबै क्लियर छ । क्लियर नभएको हकमा अन्यत्रको अभ्यासलाई आधार बनाएर फैसला हुनसक्छ । यसको मतलब संविधानमा लेखिएका बाहेक शब्द थप्ने/हटाउने काम अदालतले गर्दैन टेक्ने काम मात्र गर्छ ।’

  • राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

    राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

    काठमाडौं । विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट धरासायी बनेको पर्यटन क्षेत्रको समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउँदै पर्यटन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

    पर्यटन क्षेत्रका व्यवसायीले काठमाडौं नक्सालस्थिति भाटभटेनी अगाडि प्रदर्शन गरेका छन् । लकडाउनका कारण व्यापार ठप्प भएको समयमा बैंकहरूले समेत केही सहुलियत नदिई उल्टै जरिवाना लिएकोमा उनीहरूको आपत्ति छ ।

    महामारीपीडित पेसा व्यवसायी संघर्ष समितिको आव्हानमा मंगलबार र बुधबार व्यवसायीहरूले धर्ना कार्यक्रम तय गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायमा राहत प्याकेजका लागि अनुरोध गर्दापनि बेवास्ता गरिएको व्यवसायीको गुनासो छ ।

           
  • कृषि क्षेत्रमा वैदेशिक लगानीको किन हुँदैछ विरोध ?

    कृषि क्षेत्रमा वैदेशिक लगानीको किन हुँदैछ विरोध ?

    काठमाडौं । सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खोलेसँगै विरोधका स्वरहरू सुनिएका छन् । केही कृषि उद्योगी तथा किसानहरूले चरणबद्ध आन्दोलनसमेत गरिरहेका छन् जसको सुनुवाइ सरकारले गरेको छैन ।

    त्यसो त नेपालको कृषि क्षेत्रमा विदेशी लगानी आउन थालेको २९ वर्ष भयो । दुई वर्ष अगाडि रोकिएको थियो, जुन अहिले खुला गरिएको हो । उद्योग विभागको तथ्यांकअनुसार २९ वर्षमा नेपालको कृषि क्षेत्रमा ३६ देशबाट २९० वटा उद्योगमा साढे ७ अर्ब लगानी भएको छ । अहिले सरकारले कृषिमा ५० करोड रुपैयाँभन्दा बढीका विदेशी लगानी खुला गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार नयाँ उद्योगले ७५ प्रतिशत वस्तु निकासी गर्नुपर्नेछ ।

    कहाँबाट कति लगानी ?

    उद्योग विभागको तथ्यांकअनुसार विश्वभरका विभिन्न ३६ वटा देशबाट कृषि तथा वन पैदावर क्षेत्रमा लगानी भित्रिएका छन् । ती देशबाट साना तथा मझौला उद्योगमा लगानी भित्रिएका हुन् । नेपालको कृषि क्षेत्रमा लगानी गरेका ३६ देशमध्ये सबैभन्दा बढी चीनबाट १०९ वटा उद्योग विभागमा दर्ता भएका छन् । यूरोपका १५ वटा देशबाट उल्लेख्य लगानी आएको छ । ती १५ देशमा फिनल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड, स्वीडेन, युक्रेन, फ्रान्स, जर्मनी, डेनमार्क, बेलायत, इटाली, रूस, बेल्जियम, स्पेन, नेदरल्याण्ड्स र स्लोभानिया छन् ।

    चीन, टर्की, बंगलादेश, इरान, युएई, सिरिया, जापान, भारत, ताइवान, कोरिया, मलेशिया, सिंगापुर, फिलिपिन्स र उज्वेकिस्तानसहित १४ वटा मुलुकबाट लगानी आएको विभागको तथ्यांकमा रहेको छ । त्यस्तै अस्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, आइसल्याण्ड र अर्जेन्टिनाबाट पनि लगानी आएको छ ।

    दक्षिण कोरियाबाट ३० वटा, अमेरिकाबाट २८ वटा, जापानबाट १५ र भारतबाट १२ वटा कृषि तथा वन पैदावार उद्योगमा लगानी आएको छ । त्यस्तै, बेलायतबाट १० वटा, फ्रान्सबाट ९ वटा, जर्मनीबाट ८ वटा, नेदरल्याण्ड्सबाट ७ वटा, क्यानडाबाट ६ वटा, अस्ट्रेलियाबाट ५ वटा र डेनमार्कबाट चार वटा नेपालको कृषि उद्योगमा लगानी भित्रिएको छ । अन्य २२ देशका लगानीकर्ताबाट ४६ वटा कृषि उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ ।

    हालसम्म नेपालमा विभिन्न ३६ वटा देशबाट कुल ७ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ लगानी आएको उद्योग विभागले जानकारी दिएको छ । २९० वटा उद्योगमा उक्त लगानी आएको हो ।

    सबैभन्दा धेरै चीनबाट ४ अर्ब ९७ करोड रुपैयाँको लगानी आएको छ । चीनपछि भारतबाट ५८ करोड ९७ लाख, अमेरिकाबाट २५ करोड ८८ लाख, दक्षिण कोरियाबाट २४ करोड ९४ लाख, जापानबाट १२ करोड ४८ लाख, ताइवानबाट ११ करोड, युएईबाट नौ करोड ५५ लाख, फ्रान्सबाट आठ करोड ९४ लाख तथा डेनमार्कबाट ८ करोड ९० लाख रुपैयाँ बराबरको लगानी आएको छ ।

    किन भयो विरोध ?

    नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले नेपालको कृषि क्षेत्रमा सरकारले छलफलविना नै विदेशी लगानी ल्याउने निर्णय गरेर गल्ती गरेको बताए ।

    उनले भने, ‘नेपाल अण्डा, कुखुराको मासु र दुग्धमा आत्मनिर्भर भइसकेको छ । अब माछालगायतका कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने क्रममा रहेका बेला सरकारले एक्कासी कृषिमा विदेशी लगानी खुला गरेपछि नेपालीको लगानी जोखिममा परेको छ ।’

    राजभण्डारीका अनुसार नेपालीहरूले कृषिजन्य उद्योगमा डेढ अर्ब (१ खर्ब ५० अर्ब) लगानी गरिसकेका छन् । नेपालीले गरेको लगानी जोखिममा पर्ने अवस्था आएकोले नेपाली उद्योगीहरूले विरोध गरेको उनले बताए ।

    ‘संसदले कृषिमा लगानी रोकेको थियो । तर अहिले आएर मन्त्रिपरिषद्ले कृषिमा लगानी खुला गरिदिएको छ । ६०१ जना सांसदले गरेको निर्णय मन्त्रिपरिषदले उल्टाउन मिल्छ ?’ उनले प्रश्न गरे ।

    विदेशी लगानी आउँदा नेपालमा प्रविधि र मेसिनको प्रयोग हुन्छ । प्रविधिको बढी प्रयोग हुँदा नेपालमा बेरोजगार संख्या बढ्ने र युवाहरू विदेश पलायन हुनुपर्ने राजभण्डारी बताउँछन् । विदेशी कम्पनी स्थापना हुँदा पनि नेपालको भन्दा विदेशको नै कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने भएकाले नेपालको उत्पादनले समेत बजार नपाउने उनको भनाइ छ ।

    सरकार भन्छः विदेशी लगानी आवश्यक

    कृषि मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे भने नेपालको कृषि क्षेत्रमा विदेशी लगानी आवश्यक भएको बताउँछन् । निश्चित मापदण्ड र सीमा तोकेर लगानी खुला गरिएको यसले नकारात्मक प्रभाव नपर्ने उनको भनाइ छ ।

    ‘विदेशी लगानी खुला हुनु आफैंमा नराम्रो हैन । त्यसका पनि नीति, नियम र निर्देशिकाहरू हुन्छन् । मन्त्रालयले निर्देशिकामार्फत नेपालका साना कृषिलाई समस्यामा नपार्ने र नेपालका कृषि उद्योगहरू सञ्चालन भएको ठाउँमा उद्योग स्थापना गर्न नपाउने नियम बनाउनेछ’, उनले भने ।

    नेपाली उद्योगीहरूले कृषिमा गरेको लगानीको संरक्षण गर्दै विदेशी लगानी नेपाल ल्याइने घिमिरे बताउँछन् । कृषिमा विदेशी लगानी आउनासाथ नेपालीले कृषिमा गरेको लगानी जोखिममा नपर्ने उनको भनाइ छ ।

    अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी खुला गर्दा कुन-कुन क्षेत्रमा लगानी गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताए ।
    उनले भने, ‘नेपालमा कृषिको कुन-कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो भनेर अध्ययन गरी आवश्यक भएको क्षेत्रमा प्रविधिसहित विदेशी लगानी भित्र्याउन सकिन्छ’, उनले भने ।

    विश्व बजारलाई पनि हेरेर विदेशी लगानीकर्तालाई कृषि उद्योगमा लगानी गर्न दिनुपर्नेमा अधिकारीको जोड छ ।

    ‘विदेशीले लगानी गर्ने उद्योगमा नेपाली कृषिको सहभागिता, नेपालमा नयाँ प्रविधिको प्रयोग र कृषिको यो-यो क्षेत्रमा मात्रै लगानी गर्न पाउने भनेर शर्त राख्न आवश्यक छ’, उनले भने ।

  • प्रचण्ड-माधव पक्षले भन्यो-नेकपा विवाद निरुपण नगरी निर्वाचन प्रक्रिया अघि बढ्न सक्दैन

    प्रचण्ड-माधव पक्षले भन्यो-नेकपा विवाद निरुपण नगरी निर्वाचन प्रक्रिया अघि बढ्न सक्दैन

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले नेकपाको आधिकारिकता टुंगो नलगाई निर्वाचन सम्बन्धी कुनै प्रक्रिया अघि बढाउन नमिल्ने बताएको छ ।

    राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार नेकपाको आधिकारिता दाबी गर्दै आयोग पुगेका नेताहरुले पहिले नेकपा विवादको निरुपण हुनुपर्ने बताए ।

    आयोग पदाधिकारीलाई पत्र बुझाएर फर्किने क्रममा वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता सम्बन्धी दाबी बल्ल शुरू भएको बताए । उनले आयोगले कानूनबमोजिम अब प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिनुपर्ने बताए ।

    नेकपा नेता राजेन्द्र पाण्डेले २७५ जना केन्द्रीय कमिटी सदस्यको संख्या आयोगमा पेस भएको बताए । आयोगले ६४ प्रतिशत जनमत बोकेको पार्टी नेकपाको आधिकारिकता टुंगो नलगाई कुनै पनि निर्वाचन प्रक्रिया अघि बढाउन नसक्ने उनको भनाइ छ ।

    निर्वाचन आयोगमा प्रचण्ड पक्षले केपी ओलीलाई साधारण सदस्य र विष्णु पौडेललाई महासचिवबाट हटाएको जानकारी समेत दिएको अर्का नेता लिलामणी पोखरेलले बताए ।

  • संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

    संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

    अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ । बैठक स्थगनको सूचना संवैधानिक परिषद्का सदस्यहरुलाई पठाइएको छ ।

    प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा हाल परिषद् सदस्यको हैसियतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना छन् ।

  • निर्वाचन आयोग पुगेर प्रचण्डले भने- केपी ओली प्रथम अध्यक्ष होइनन्

    निर्वाचन आयोग पुगेर प्रचण्डले भने- केपी ओली प्रथम अध्यक्ष होइनन्

    काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओली पार्टीको प्रथम अध्यक्ष नरहेको दाबी निर्वाचन आयोगसमक्ष गरेको छ । प्रचण्डसहितका नेताहरू मंगलबार निर्वाचन आयोग पुगेर ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भइसकेको बताएका हुन् ।

    आयोगमा दलको आधिकारिकता दाबी गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्न आफूहरुले गरेको बताए ।

    पाण्डेले भने, ‘निर्वाचन आयोगले केपी ओलीलाई प्रथम अध्यक्ष मानेको छ । उहाँहरुले केही प्रश्न उठाउनुभएको छ । त्यसलाई हामीले भ्रम निवारण गर्ने र केपी ओली प्रथम अध्यक्ष होइन भनेका छौं । विधानमा जसले अध्यक्षता गरेको छ उही प्रथम हुने व्यवस्था गरेको कुरा बताएका छौं ।’

    आफूहरुसँग नेकपाको मौजुदा केन्द्रीय कमिटीको दुई तिहाई संख्या रहेकोले आधिकारिकता पाउनुपर्ने जिकिर प्रचण्ड-माधव पक्षको छ । मंगलबार आयोगमा २७५ जनाको हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।

    आयोगले माघ १२ गते नेकपाका दुवै अध्यक्षलाई पत्र लेखी पुस ५ गतेयता दुवै पक्षले गरेको निर्णय अवैध भन्दै केपी ओली पहिलो अध्यक्ष रहेको र अध्यक्षको परामर्शमा महासचिवले बोलाएको बैठकमात्रै वैधानिक हुने जनाएको थियो ।

  • नख्खु जेलभित्र मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

    नख्खु जेलभित्र मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् ।

    आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले नेपालप्रेससँग पुष्टि गरे ।

    तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणी थापा र हेमन्तप्रकाश ओलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्णरूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको बताइएको छ ।

    प्रधानमन्त्रीले केही दिनअघि असन्तुष्ट समूहहरुलाई वार्तामार्फत मूलधारमा ल्याउने बताए लगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लब समूहसँग सम्पर्कमा जुटेका थिए । यसबीचमै विप्लव समूहका अर्का नेता धमेन्द्र वास्तोला पक्राउ परेका छन् । उनीसँग पनि सरकारको तर्फबाट संवाद चलिरहेको स्रोतले जनाएको छ । विप्लव पनि आफूमाथिको प्रतिबन्ध हटोस् भनेर वार्तामा लचक बनेका छन् ।

  • नेकपा र सूर्य चिह्न दाबी गर्दै प्रचण्ड-माधव निर्वाचन आयोगमा

    नेकपा र सूर्य चिह्न दाबी गर्दै प्रचण्ड-माधव निर्वाचन आयोगमा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिह्न दाबी गर्दै विभाजित नेकपाका अध्यक्ष प्रचण्ड माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

    प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटी बैठकले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ बमोजिम दलको मान्यता पाउन पत्रसहित जाने निर्णय गरेको थियो ।

    आफूहरुसँग नेकपाको मौजुदा केन्द्रीय कमिटीको दुई तिहाई संख्या रहेकोले आधिकारिकता पाउनुपर्ने जिकिर प्रचण्ड-माधव पक्षको छ ।

    आयोगले पुस ५ अघिको केन्द्रीय कमिटीलाई मान्यता दिएकोले सो कमिटीको बहुमत आफ्नो पक्षमा रहेको नेता लिलामणी पोखरेलले बताए ।
    ऐनको उक्त दफामा दलको नाम, छाप, झण्डा वा चिह्न सम्बन्धी विवाद टुंगो लगाउनु त्यस्तो आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नुपर्ने व्यवस्था छ ।

    सोही व्यवस्थामा टेकेर प्रचण्ड-माधव पक्ष आयोग समक्ष गएको हो । यद्यपी विवाद प्रारम्भ भएको भने डेढ महिना पुगिसकेको छ । यसअघि नेकपाका दुवै पक्षले आ-आफ्नो निर्णय अद्यावधिक गर्न आयोगलाई पत्र पठाएकोमा दुवैको दाबी नपुग्ने निर्णय भएको थियो ।

  • जघन्य अपराधमा युवाको संलग्‍नता बढ्दो

    जघन्य अपराधमा युवाको संलग्‍नता बढ्दो

    विराटनगर । विराटनगर महानगरपालिका-१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सीताराम चौहानको उनकै दुई छोराहरूले हत्या गरे । पैसा मागेको भन्दै मदिराको सुरमा फरुवाले हानेर हत्यापछि बाबुको शव आफ्‍नै घरभित्रै खाल्डो खनेर पुरेका थिए ।

    सुनसरीको इटहरी उपमहानगरपालिका स्थायी घर भई विराटनगर महानगर मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको आफ्नै पत्नी मीना श्रेष्ठले ४ जेठ २०७७ राति योजना बनाएर घरभित्रै हत्या गराइन् ।

    पाथीभरा फार्मेसीका सञ्चालक पति देवीप्रसाद सिरहाको लहान घर भई विराटनगर बस्दै आएका २१ वर्षीय ब्रह्मदेव साह र सुनसरी इटहरीका २० वर्षीय सोनु साहले ओछ्यानमै हत्या गरेका थिए ।

    सोलुखुम्बु महाकुलुङ गाँउपालिका-४ का १९ वर्षीय कुवेर राईलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले ३० जेठमा पक्राउ गरेको छ । २९ जेठ बिहीबार बेलुका साढे ८ बजे घरायसी विषयमा भएको विवादलाई लिएर छोरा कुवेरले बाबु ५७ वर्षीय सन्तकुमार राईलाई आगो फुक्ने ढुंग्रोले घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए । छोराको प्रहारबाट बाबु सन्तकुमारको घटनास्थलमानै मृत्यु भएको थियो ।

    तेह्रथुममा एक दम्पतीले छोराबाट ज्यान गुमाएका छन् । घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिका-ईसिबु बस्ने २० वर्षीय कञ्चन लिम्बूले ४२ वर्षीय बाबु रुपहादुर लिम्बू र ३५ वर्षीया आमा रुपेनी लिम्बूलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।
    बुबा खेतमा काम गर्न गएको बेला घरभित्र रहेकी आमालाई छोरा कञ्चनले बञ्चरोले टाउकोमा हानेर हत्या गरेका थिए । आमाको हत्या गरी घरबाट बाहिर निस्कँदा आगाडि बुबालाई देखेपछि उनले फेरि त्यहीँ बञ्चरोले बुबाको पनि हत्या गरी फरार भएका थिए । फरार रहेका उनलाई केही समयभित्रै प्रहरीले पक्राउ गर्‍यो ।

    यी घटनाहरूमा अभियुक्त देखिएकाहरू सबै युवा छन् । उनीहरूको उमेर २८ वर्षभन्दा कम छ। गएको साउनयता प्रदेश १ मा भएका यी घटना प्रतिनिधि प्रतिनिधि मात्र हुन् । तीमध्ये केहीले प्रेम, केहीले तत्कालीन आवेग थेग्न नसक्दा त केहीले आर्थिक लेनदेनका कारण जघन्य अपराधको बाटो रोजेको प्रहरीले बताएको छ ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्याङ्कमा पछिल्ला वर्ष अपराधमा युवाहरूको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७मा जघन्य प्रवृत्तिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । प्रहरीको अभिलेखअनुसार ८ हजार ३ सय १६ आपराधिक घटना प्रदेशभरि घटेका थिए । जसमा १ हजार ६ सय २३ जघन्य अपराधका घटना भएका छन् । ती घटनामा संलग्न १ हजार ४ सय ११ जना १६ देखी २५ वर्ष उमेर समूहका छन् ।

    त्यसैगरी २०७५/७६ को अभिलेखअनुसार जघन्य प्रवृत्तिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ। गत आर्थिक वर्षमा १ नम्बर प्रदेशका १४ जिल्लामा ७ हजार ६ सय ९१ वटा आपराधिक घटना घटेका थिए, जसमध्ये जघन्य अपराधका घटना ९ सय ९८ वटा छन् ।

    प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिलासमेत गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो ।

    प्रदेश प्रहरीको अभिलेखअनुसार जघन्य अपराधमा १ हजार ८१ जना पक्राउ परेकामध्ये ३ सय २६ जना १६ देखी २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४ सय ८७ जना, ३६ देखि ४५ वर्ष उमेरका १ सय ९० जना छन् । ४६ देखि ६० वर्षका ७४ जना, ६० वर्षमाथिका १ जना र १६ वर्षमुनिका ३ जना रहेको देखिन्छ ।

    यस प्रदेशमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागू औषधमा संलग्नहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संख्या बढी छ ।

    आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा कर्तव्य ज्यानका १ सय ३८ मुद्दामध्ये १ सय ४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता पाइएको थियो । जबर्जस्ती करणीमा पनि चालू आर्थिक वर्षमा १ सय ६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवाहरू संलग्न छन् ।

    यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रवक्ता डिएसपी विपिन रेग्मीले जानकारी दिए । हातहतियार खरखजना र लागुऔषध ओसारपसारमा पनि १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता बढी छ ।

    महेन्द्र मोरङ क्याम्पस समाज शास्त्रका उपप्राध्यापक चन्द्र उपाध्याय सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताउँछन् । ‘किशोरहरू अचानक स्वभाव परिवर्तन भै रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानीले गलत बाटो अबलम्वन गरिरहेका छन्’, उनले भने ।

    कोशी अस्पतालका मानसिक रोग विषेशज्ञ डा. नितेशराज भण्डारीका अनुसार युवा अवस्थामा एक्लै बस्न रुचाउँछन् वा ढोका थुनेर बस्ने बानीप्रति अभिभावन सचेत हुन जरुरी रहेको बताउँछन् ।

    प्रहरीले खुन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागुऔषध, अपहरण, हातहतियार तथा खरखजना, मानव बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी र विष्फोटक पदार्थजस्ता ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ । छन् । डाँकाचोरीबाहेक सबै किसिमका अपराध बढेको तथ्यांकले देखाउँछ ।

    ६ महिनामा जघन्य अपराधका ४ सय ५५ घटना

    चालु आर्थिक बर्षको ६ महिनामा प्रदेशभरिका १४ जिल्लामा ३ हजार ३ सय १४ अपराध भएका छन् । त्यसमध्ये जघन्य अपराधमा ४ सय ५५ घटना छन् । जघन्य अपराधका घटनामा प्रहरीले ४ सय ८० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा १६ देखी २५ वर्ष उमेर समूहका ३ सय ७ जना छन् ।

    परिवारका सदस्यबाट हत्या बढ्दो

    अधिकांश हत्यामा परिवारका सदस्यनै संलग्‍न रहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । प्रदेश प्रहरीको अभिलेख अनुसार गएको ६ महिनामा कर्तव्य ज्यानका घटनामा अधिकांश घरभित्रकै सदस्यबाट भएको उल्लेख छ ।

    साउनयता पुससम्म भएको जघन्य अपराध कुल ४ सय ५५ मध्ये १ सय २३ घटना घरभित्रकै परिवारबाट भएको छ ।

  • प्रचण्डविरुद्धको अवहेलना मुद्दा पनि न्यायाधीश मनोज शर्माकै इजलासमा

    प्रचण्डविरुद्धको अवहेलना मुद्दा पनि न्यायाधीश मनोज शर्माकै इजलासमा

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ ।

    प्रचण्डविरुद्ध अवहेलना मुद्दा चलाउन अधिवक्ता समिर हायुले दिएको निवेदन सोमवार दर्ता भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ भइरहेका बेला न्यायधीशहरुलाई धम्क्याउने र कथित जनअदालतबाट फैसला गर्ने जस्ता उत्तेजक अभिव्यक्ति दिएको भन्दै हायुले अवहेलना मुद्दा लगाउन माग गरेका हुन् ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दा पनि शर्माकै इजलासमा परेको थियो । सबै विपक्षीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

  • प्रचण्ड-माधव पक्षको चेतावनी-आन्दोलनकारीमाथि कारबाही गर्नेलाई ‘नोटिस’ मा राख्‍छौं

    प्रचण्ड-माधव पक्षको चेतावनी-आन्दोलनकारीमाथि कारबाही गर्नेलाई ‘नोटिस’ मा राख्‍छौं

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षीय अनेरास्वियूले सोमबार काठमाडौंको बानेश्वरमा गरेको विरोध कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई प्रहरीले कुटपिट गरेको छ ।

    प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार विरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरीले कुटपिट गरेको हो ।

    प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको बताइएको छ। भट्टराईले प्रहरी दमनको निन्दा गरेका छन्। ‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौं,’ विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘आन्दोलनकारीहरूमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितिले नोटिसमा राख्ने जानकारीसमेत गराउँदछौं।’

    त्यस्तै नुवाकोटमा भएको प्रदर्शनमा पनि अनेरास्ववियूका सहसंयोजक विनोद कोइरालालगायतका आधा दर्जन विद्यार्थी गम्भीर घाइतेको भएको बताइएको छ ।

    अनेरास्ववियूका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतका अनुसार नुवाकोटमा पनि शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले कुटपिट गरेको हो ।

  • कांग्रेस नेता सिंहको टिप्पणी – प्रधानमन्त्री ओली ज्ञानेन्द्रपथमा

    कांग्रेस नेता सिंहको टिप्पणी – प्रधानमन्त्री ओली ज्ञानेन्द्रपथमा

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र पथमा रहेको आरोप लगाएका छन् ।

    कांग्रेसको भ्रातृ संस्थाहरूले सोमबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले भने, ‘अहिले ओली पनि ज्ञानेन्द्रको पथमा हिँडेर सरकारी स्रोतसाधन दुरुपयोग गरेर जिल्ला-जिल्ला भ्रमण गरिरहेको छ ।’

    प्रधानमन्त्री ओलीलाई साहस भए प्रतिनिधिसभामा गएर विश्वास लिन सक्नुपर्ने बताए । ‘उसले सोचे जस्तै सबैले सोच्नुपर्ने, कस्तो हो ? उसमा साहस भए त प्रतिनिधिसभामा गएर विश्वास लिन सक्नुपर्थ्यो,’उनले भने ।

    आमजनताले सडकबाट नै असंवैधानिक कदम ठहर गरिसकेपछि ओलीको होस खुल्ने उनले बताए । ‘ज्ञानेन्द्रको होस् राजदरबार छाड्दा खुलेको थियो,’ सिंहले भने, ‘ओलीले बालुवाटार छाडेर जाने दिन आउँदैछ । के यो २१ औं शताब्दी तानाशाहको जमाना हो र ?’

  • एकै खेलमा सावित्राले गरिन् १२ गोल

    एकै खेलमा सावित्राले गरिन् १२ गोल

    काठमाडौं । महिला फुटबलमा दुर्लभ कीर्तिमान राख्दै स्ट्राइकर सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गरेकी छन् । काठमाडौंमा जारी महिला राष्ट्रिय लिगमा उनले एपीएफबाट खेल्दै चौदन्डी नगरपालिकाविरुद्ध गोल वर्षा गरेकी हुन् ।

    एपीएफले चौदन्डीविरुद्ध २२-० को जित हात पारेको छ । एपीएफबाट अनु लामा र अनिता बस्नेतले पनि ह्याट्रिक गरेका थिए ।

    एन्फा कम्प्लेम्समा भएको एकपक्षीय खेलमा कप्तान अनु लामाले ५ गोल र अनिता बस्नेतले तीन गोल गरे । यस्तै सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए । पहिलो हाफमा एपीएफले १२-० को अग्रता लिएका थियो भने दोस्रो हाफमा १० गोल थपेको थियो ।

    सावित्राले पाँचौ मिनेटमा गोलको खाता खोलेकी थिइन् । त्यसपछि उनले एक-एक मिनेटको अन्तरमा लगातार तीन गोल गरिन् । ३२ औं, ३३ औं र ३४ औ मिनेटमा उनले लगातार गोल गरेकी थिइन् ।

    मध्यान्तरअघि ३८ औं मिनेटमा गोल गर्दै उनले व्यक्तिगत गोलसंख्या पाँच पुर्‍याइन् । मध्यान्तरपछि पनि सावित्राको गति थामिएन । मध्यान्तरपछिको दोस्रो मिनेटमा नै डबल ह्याट्रिक पूरा गरेकी उनले ५५ औं,६२ औं, ६३ औं, ७२ औं, ७९ औं र इन्जुरी टाइममा गोल गरिन् ।

  • प्रधानमन्त्री ओलीले भने -काम गर्न नदिनेहरू साइड लागे, पार्टी शुद्धीकरण भयो

    प्रधानमन्त्री ओलीले भने -काम गर्न नदिनेहरू साइड लागे, पार्टी शुद्धीकरण भयो

    जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिएर अस्थिरता ल्याउन खोजिएपछि संसद विघटन गरेको बताएका छन् ।

    शहीद स्वर्गीय हेमनारायण यादवको स्मृति दिवसलाई सिरहामा सम्बोधन गर्दै ओलीले भने, ‘काम गर्न नदिनेहरू साइड लागे । पार्टी शुद्धीकरण भयो ।’

    उनीहरूले बिगार्ने र भत्काउने काममात्र गरे । हामी देश बनाउने दिशामा अगाडि बढेका छौं । हिमाल, पहाड, तराई सबै ठाउँमा एकनासले विकास हुन्छ ।

    संसद विघटन संवैधानिक भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘चुनाव हुन्छ, समयमै हुन्छ । निर्वाचन आयोग र अदालतलाई धम्क्याउने काम भइरहेको छ । तर, ढुक्क हुनुस् संसद पुन:स्थापना हुँदैन । चुनावमा अस्थिरता ल्याउनेलाई तह लगाउनुपर्‍यो तपाईंहरूले ।’

    प्रचण्ड-माधव पक्षको आन्दोलनप्रति लक्षित गर्दै ओलीले अब आन्दोलनमा कोही नअलमलिने बताए । उनले भने, ‘अस्ति प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेछन् । चिकेन चिल्ली खान खोज्या हो ?’ अब नरभक्षी आन्दोलन गर्ने अवस्था छैन, गर्न पनि दिंदैनौं ।’

  • शेखरको दाबी : संसद पुनःस्थापना हुन्छ हुन्छ

    शेखरको दाबी : संसद पुनःस्थापना हुन्छ हुन्छ

    इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संसद पुनःस्थापना भएरै छाड्ने दाबी गरेका छन् ।

    आज इटहरीमा बोल्दै कोइरालाले संविधानमा संसद विघटन गर्ने कुरा नभएकोले सर्वोच्चले न्याय गर्ने बताए । कोइरालाले अहिलेको सरकारले ज्ञानेन्द्रको माघ १९ को जस्तै कदम चालेको टिप्पणी गरे । उनले भने,’देश फेरि एकपटक द्वन्द्वतर्फ जान सक्छ ।’

    संविधानलाई ट्र्याकमा ल्याउन संसद पुनःस्थापना हुनुपर्ने कोइरालाको तर्क छ । उनले भने, ‘संसद पुनःस्थापनाको माग गर्नु चुनावसँग डराएर होइन । कांग्रेस चुनावको लागि सधैँ तयारी अवस्थामा हुन्छ।’

  • प्रचण्ड-माधव पक्ष नेकपाको आधिकारिकता माग्दै निर्वाचन आयोगमा जाने

    प्रचण्ड-माधव पक्ष नेकपाको आधिकारिकता माग्दै निर्वाचन आयोगमा जाने

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले केपी ओलीलाई पार्टीको साधारण सदस्यताबाट र विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ ।

    कार्की पार्टी प्यालेसमा सोमवार बसेको केन्द्रीय प्रचण्ड अध्यक्षताको बैठकले सो निर्णय गरेको हो ।

    यसअघि प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश भएको हो । बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै पत्रसहित निर्वाचन आयोगमा जाने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    नेकपाका दुवै पक्षले यसअघि आआफ्नो निर्णय अभिलेखीकरणका लागि पत्र पठाएका थिए । दुवैको दाबी नपुगेको निर्णय आयोगले गरेपछि प्रचण्ड-माधव पक्ष दलको आधिकारिकता मागेर आयोग जान लागेको हो ।

  • गणेश तिमिल्सिनाले भने-सभामुखले राष्ट्रियसभा नै छैनजस्तो गरे (भिडियो)

    गणेश तिमिल्सिनाले भने-सभामुखले राष्ट्रियसभा नै छैनजस्तो गरे (भिडियो)

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संवैधानिक परिषद्ले गरेका नियुक्ति सिफारिसलाई फर्काएर सभामुखले गल्ती गरेको बताएका छन् ।

    सोमबार पत्रकार सम्मेलन गर्दै संसद सचिवालयमा दर्ता भएको संसदीय सुनुवाइका लागि पठाइएका पदाधिकारीहरूको नामको निर्णय सक्कल फिर्ता गर्दा आफूसँग सल्लाह नभएको उनले बताएका छन् ।

    ‘संघीय संसद एकवटा सदन मात्र होइन । प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर संघीय संसद भनेको हो । संसदीय सुनुवाइ समिति संयुक्त हो । यसले गरेका कुराहरूमा म र सभामुख बराबर हो’, तिमिल्सिनाले भने, ‘राष्ट्रियसभा नै छैनजस्तो गरेर हिजोका पत्राचार र भाषाका कुरा आएकोले मैले प्रष्ट पारेको हुँ ।’

    ‘म दलीय स्वार्थले संविधान, संघीय संसदको ऐन, कार्यव्यवस्था नियमावली र मूल्यमान्यताभन्दा दायाँबायाँ कहिल्यै जाँदिन । संघीय संसदका दुई प्रमुखहरू बोलीचालीमा एकजनालाई अगाडि भनिएला त्यो अलग हो । चेयर गर्नुपर्दा एकजनाले गरौं दुईजनाले किन भन्दा चेयर भनेका हुन् । तर, त्यो कुनै पार्टीको संगठनजस्तो सर्वाधिकार प्रयोग गर्ने भन्ने कहिँ छैन’, उनले भने ।

    सभामुख सापकोटाले आइतबार नेपाल सरकार र संवैधानिक परिषद्लाई पत्र लेखेर नियुक्ति सिफारिस फिर्ता गरेका थिए । नियुक्ति सिफारिस फिर्ता पठाउनुको कारणमा प्रतिनिधिसभा विघटन भइसकेकाले संसदीय सुनुवाइ आवश्यक नपर्ने उल्लेख गरिएको छ।

  • सभामुखले संवैधानिक परिषद्को सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको असहमति

    सभामुखले संवैधानिक परिषद्को सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको असहमति

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदको निर्णय फिर्ता पठाउने सभामुख अग्नि सापकोटाको कदमप्रति असहमति जनाएका छन् ।

    संघीय संसद सचिवालयमा दर्ता भएको संसदीय सुनुवाइका लागि पठाइएका पदाधिकारीहरूको नामको निर्णय सक्कल फिर्ता गर्दा आफूसँग सल्लाह नभएको उनले बताएका छन् ।

    सोमवार पत्रकार सम्मेलन गरेर अध्यक्ष तिमिल्सिनाले सभामुख सापकाटोले एकल निर्णयका आधारमा संवैधानिक परिषदको सिफारिस फिर्ता गरेको बताए । उनले संघीय संसद सचिवालय भनेपछि आफू पनि त्यसको हिस्सा भएको बताए ।

    ‘दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित रहेको छैन, अध्यक्ष तिमिल्सिनाले भने, ‘अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति हो । संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसदको माथिल्लो सदन संलग्नता नरहेको जानकारी गराउँछु ।’