Author: Anisha Tiwari

  • क्लासिक टेकका संस्थापक तथा सीइओ खरेललाई पितृशोक

    क्लासिक टेकका संस्थापक तथा सीइओ खरेललाई पितृशोक

    काठमाडौं । क्लासिक टेक प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेललाई पितृशोक भएको छ । उनका ८५ वर्षिय पिता विश्वनाथ खरेलको गत भदौ २१ गते निधन भएको थियो ।

    क्लासिक टेकले शुक्रबार शोक वक्तव्य जारी गर्दै खरेलको निधनप्रति दुःख व्यक्त गरेको छ । नेपालमा ठूलो नेटवर्क सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेकको स्थापना र कम्पनीको प्रगतिमा खरेलको योगदान रहेको कम्पनी सीइओ खरेलले बताएका छन् ।

    कम्पनीले खरेलको निधनको १३ औं दिनको पुण्यतिथिको अवसरमा समवेदना व्यक्त गरेको छ ।

  • काठमाडौं उपत्यकामा थपिए ३९७ संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ३९७ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार काठमाडौं उपत्यकामा ३९७ जनमा थप कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २७४ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ७० जना छन् ।

    उपत्यकामा हालसम्म ६,४४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंमा ३,५५२ जना, भक्तपुरमा १,०६८ जना र ललितपुरमा १,८२४ जना छन् ।

    काठमाडौं उपत्यकामा मात्र ३,२०९ जनाले ज्यान गुमाइसकेका छन् । उपत्यकामा एक सातादेखि संक्रमित हुनेको संख्या स्थिर छ ।

    एक साता अघि १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित थिए भने अहिले घटेर ११ वटा जिल्लामा मात्र छन् । २० जिल्लामा भने २०० भन्दा बढी संक्रमित कायमै छन् ।

  • शुक्रबार १५ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

    शुक्रबार १५ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १५ सय ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ३८५ वटा नमूना (पीसीआर ८,६६५ र एन्टीजेन ३,७२०) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जनाको मृत्यु भएको छ भने १३ सय ५१ जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा ६० हजार १५९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार १२ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३८६ जना, भेन्टिलेटरमा ११७ जना, होम आइसोलेशनमा २३,९५० जना, संस्थागत आइसोलेशनमा १,५४७ र क्वारेन्टाइनमा २३६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर १२.५ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.३ प्रतिशत छ ।

  • बाढीपहिरोले अवरुद्ध मेलम्चीका सडकखण्ड जोडिँदै

    बाढीपहिरोले अवरुद्ध मेलम्चीका सडकखण्ड जोडिँदै

    सिन्धुपाल्चोक । मेलम्चीबाट शाखा रुटमा बस सञ्चालन हुन थालेको छ । मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानमा जानका लागि सहज भएको छ ।

    गत साउन १६ गते आएको बाढीले क्षति पुर्‍याएको बाहुनेपाटी पुल बिहीबारदेखि सञ्चालनमा आएको मेलम्चीका इञ्जीनियर जीतबहादुर कार्कीले जानकारी दिए । त्यस्तै मेलम्ची पारी झोलुङ्गेपुलबाट पाँचपोखरीको माथिल्लो भेग भोताङ, मानेखर्क, गुन्सा, धाप, तिपेनीलगायत स्थानमा यातायात सञ्चालनमा आएको पाँचपोखरी थाङ्पालका अध्यक्ष टासी लामाले जानकारी दिए ।

    नेपालीहरूको महान् पर्व दशैँ नजिकिएसँगै व्यापारी केन्द्र र बजार क्षेत्रमा चहलपहल बढेको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा पनि अवरुद्ध सडक सञ्चालनमा आएको छ । बिहीबारदेखि हेलम्बुको इचोक, ग्रेटट्रेल, तार्तुङ, कुटुङसाङलगायत ठाउँमा यातायातका साधन चलाउन सकिने हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

    ‘मेलम्ची नगरपालिकाको न्वारखोलामा पहिरोले अवरुद्ध सडक खुलाएदेखि हेलम्बुका विभिन्न ठाउँमा यातायात सञ्चालन गर्न सकिने छ, रातो पुल भएको स्थानमा पनि पुल निमार्णका लागि बजेट छुट्टिसकेकाले अब छिट्टै मेलम्ची तिम्बु पनि गाडीमा जान पाइन्छ, त्यसका लागि गृहकार्य सुरु गरेका छौँ’, अध्यक्ष शेर्पाले भने ।

    त्यस्तै पाँचपोखरीका लागि पनि मेलम्ची क्षेत्रभित्र पर्ने सल्लेखोला नजिकै बाढीले कटान गरेको सडक निर्माण गरेमा काठमाडौँबाट सिधै भोताङ जान सकिने पाँचपोखरी थाङ्पालका सल्लाहकार विजय पौडेलले बताए ।

    आजदेखि बाहुनेपाटी पुल सञ्चालनमा आएको जनाउँदै अवरुद्ध सल्लेखोला छेउ र न्वारखोला छेउको बाटो खुलाउन पनि काम सुरु भएको मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए । अवरुद्ध सडक खुलाउन काम भइरहेको र कतिपय ठाउँमा काम सुरु भइसकेको जनाइएको छ । कतिपय ठाउँमा प्राविधिक अध्ययन भइरहेको छ । अब केही दिनमै अवरुद्ध सबै ठाउँको सडक सञ्चालनमा आउने धितालले जानकारी दिए ।

    गत असार १ गते र त्यसपछि आएको बाढीका कारण सडक सञ्जालमा क्षति पुग्दा मानिसलाई आवतजावतमा समस्या हुँदै आएको छ । चाडपर्व नजिकिएसँगै मोटरबाटो निमार्णको कामले तीव्रता पाउँदा र अवरुद्ध सडक सञ्चालनका लागि काम भइरहेको भन्ने खबरले स्थानीयवासी खुशी हुन थालेका छन् ।

    दुई पुल निर्माण हुँदै

    हेलम्बु गाउँपालिकाको चनौटेमा बेलीब्रिज जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउँमा बेलीब्रिज बन्ने भएको हो ।

    गृह मन्त्रालयलाई पत्र लेख्दै अर्थ मन्त्रालयले अनुमानित लागत रु ९० लाख ५३ हजारको सीमाभित्र रहि सडक विभागको विनियोजित बजेट भित्रैबाट खर्च गर्न र बजेट अपुग भएमा थप बजेट व्यवस्थापनका लागि लेखी पठाउन भनेको छ । अर्थले गृह मन्त्रालयअन्तर्गतको विपद् अध्ययन, जोखिम तथा पुनर्लाभ शाखालाई पत्र लेखेको हो । बाढीले रातोपुल बगाएपछि त्यहाँका नागरिक निकै कष्टकर जीवन बिताइरहेका छन् ।

  • त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सुरु

    त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएकाे  छ ।

    त्रिविले क्याम्पस, विभाग, स्कूलहरूमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न नेपाल सरकारका सरोकारवाला निकायहरूसँगको समन्वयमा निर्णय गरेको हो ।

    कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते सो निर्णय गरेको थियो ।

    त्रिविले जारी गरेको सुचनामा कोभिड – १९ को जोखिम कायमै भएकाले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रही सञ्चालन गर्न भनिएको छ ।

  • नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

    नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

    लन्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।

    बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख गरिएको छ ।

    बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महङ्गो खर्चमा होटलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ ।

    अधिकांशले कोभिडविरूद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ । अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायतमात्र रहेको हुँदा आफ्नो मागलाई यथोचितरूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ ।

    बिहीबार नै सङ्घले लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ ।

  • गुण एयरलाइन्सको उडान आजदेखि सुरु

    गुण एयरलाइन्सको उडान आजदेखि सुरु

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ ।

    आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ । आन्तरिकतर्फ नियमिति उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।

    नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो ।

    सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट जहाज थिए । त्यसमा थप पाँच जहाज खरिद गरी संख्या सात पु¥याइएको हो । गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँच जहाज खरिद गरेको थियो । गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन् । जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन् ।

  • ३९ जिल्लामा ८१ सुपथ मूल्य पसल सञ्चालन, खाद्य सामग्री २० प्रतिशतसम्म सस्तो (तस्बिरहरू)

    ३९ जिल्लामा ८१ सुपथ मूल्य पसल सञ्चालन, खाद्य सामग्री २० प्रतिशतसम्म सस्तो (तस्बिरहरू)

    काठमाडौँ । दसैं, तिहार जस्ता ठूला पर्वलाई अक्षित गरी ३९ जिल्लामा ८१ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । आजदेखि सञ्चालन सुरु भएका उक्त पसलमा तेल, दाल, चामललगायत खाद्य सामग्री २० प्रतिशतसम्म सस्तोमा पाइनेछ ।

    सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले ३८ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको हो । त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले पनि बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

    न्यौपानेका अनुसार सुपथ मूल्य पसलबाट दाल, चिउरा, चामल, दाल, चिउरा, पिठो र तेलमा ५ रुपैयाँ र मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिइनेछ ।

    काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन भएको छ ।

    त्यस्तै नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, बनेपा, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, डडेलधुरालगायत सहरमा पनि उक्त पसल सञ्चालन हुनेछ ।

    कम्पनीले यस वर्षको दसैंका लागि च्याङग्रा ल्याउने सम्भावना कम रहेको बताएको छ ।

    खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसनले देशैभर ४३ वटा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

    साल्ट ट्रेडिङले ग्याँस, चिनी, चामल र दाललगायतका बस्तुहरु बिक्री गर्ने साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

    ‘अन्य अन्य पसललेभन्दा १५ देखि २० प्रतिशत सस्तोमा खाद्यान्न बिक्री सुरु भएको छ । हामीसँग चिनी ३०० टन मात्रै छ । जुन प्रतिकेजी ७९ रुपैयाँ तथा प्रतिव्यक्ति २ किलोका दरले मौज्दात रहेसम्म बिक्री गरिनेछ’, भण्डारीले भने, ‘यसवर्ष भारतबाट चिनी आयात नभएकोले स्टक चिनी बिक्री हुनेछ ।’

    अघिल्लो वर्ष ट्रेडिङले २० मेट्रिक टन चिनी भारतबाट ल्याएको ल्याएको थियो ।

    सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

  • २० आरोही टोली धवलागिरि हिमालको बेस क्याम्प पुगे

    २० आरोही टोली धवलागिरि हिमालको बेस क्याम्प पुगे

    म्यागदी । यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

    विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् ।

    सेभेन समिट र पाइनर ट्रेकमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए । आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन् ।

    ‘बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्’, शेरचनले भने, ‘हिमालयन र डोल्मा ट्रेकमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।’ जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट ट्रेकबाट आएकी माया शेर्पाले बताइन् । उनीसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ ।

    ‘धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्’, उनले भने, ‘यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ ।”’ सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो ।

    ८३ वर्षमा प्रवेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आएका छन् । उनले गत यामसहित ११ औं पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गरेका थिए । पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको थियो । चालीस जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर ४२ लाख १० हजार रुपैयाँ सरकारलाई सलामी दस्तुर तिरेका विभागले जनाएको छ ।

    शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ ।

  • बाल मृत्युदर १० प्रतिशत र मातृ मृत्युदर २० प्रतिशतले घट्यो

    बाल मृत्युदर १० प्रतिशत र मातृ मृत्युदर २० प्रतिशतले घट्यो

    काठमाडौें । नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र २० प्रतिशत मातृ मृत्युदर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।

    परिवार कल्याण महाशाखाका प्रमुख विवेककुमार लालले नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेकाले मृत्युदर घटेको बताए । उनले गुणस्तरीय परिवार योजना सेवाको पहुँचले आमा र बच्चाको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा विकास क्षेत्रमासमेत सकारात्मक प्रभाव पारेको बताए । सरकारले परिवार योजनामा एक रुपैयाँ खर्च गर्दा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा ३.१ रुपैयाँ प्रतिफल हुने सरकारको परिवार नियोजन लागत कार्यान्वयन योजनाले प्रक्षेपण गरेको छ ।

    सरकारले सबै तहमा स्वास्थ्य सेवा केन्द्र तथा गैरसरकारी संस्थाद्वारा सञ्चालित क्लिनिक र औषधि पसलमा गर्भनिरोधका स्थायी/अस्थायी साधन र सेवा उपलब्ध गराउँदै आएको छ । असुरक्षित यौन सम्पर्कका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुने, यस्तो अवस्थामा असुरक्षित गर्भपतन र असुरक्षित सुत्केरी हुने सम्भावन बढ्छ । यसबाट मातृ तथा शिशुको रुग्णता र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ ।

    परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले कोभिड-१९ को महामारी र निषेधाज्ञाले परिवार नियोजन सेवाको पहुँच घट्न गई अनिच्छित गर्भ हुनेको संख्या बढेको बताए ।

    यही असोज २ गते ‘कोभिड–१९ को महामारी : परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन लागिएको छ । नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण–२०१९ अनुसार नेपालमा ४४ प्रतिशत मानिस परिवार नियोजन साधन प्रयोग गर्ने गर्दछन् । दिगो विकासको लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा ६० प्रतिशत साधन प्रयोग गर्ने संख्या पु¥याउनुपर्ने हुन्छ ।

    आधुनिक परिवार नियोजन साधनको प्रयोग दर सबभन्दा बढी ३५ देखि ४४ वर्ष उमेर समूहमा हुने गरेको छ । परिवार योजना ठिकसँग अपनाउन सकेको खण्डमा आमा, नवशिशु र बालस्वास्थ्यमा सुधार ल्याउन, आर्थिक सुधार गर्न, शिक्षा र रोजगारीको अवसर प्राप्त गर्न, एचआइभी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

    हाल नेपालमा नौ वटा आधुनिक परिवार नियोजनको साधन/विधी उपलब्ध गराइँदै आइरहेको छ । सन् १९७६ देखि २०१९ को बीचमा परिवार नियोजन सेवाको प्रयोग दर २.९ देखि ४७ प्रतिशत बढेको र कूल प्रजनन दर ६.३ बाट २.० मा घटेको पाइएको छ ।