Author: Anisha Tiwari

  • एमालेका तीन प्रतिवेदनमाथि १० समूहमा छलफल, निष्कर्ष सुनाउन टोली नेता चुनिए

    एमालेका तीन प्रतिवेदनमाथि १० समूहमा छलफल, निष्कर्ष सुनाउन टोली नेता चुनिए

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ ।

    केही समूहमा भने छलफल जारी रहेको छ । एमालेका १९६ केन्द्रीय सदस्यहरुलाई प्रदेशगत आधारमा समूह विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराइएको हो ।

    भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको समूह बनाएर विधान मस्यौदा, राजनीतिक र सांगठानिक प्रस्तावमाथि छलफल भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

    समूहगत छलफलका निष्कर्ष एक एकजना टोली नेताले बैठकमा सुनाउनेछन् । प्रदेश १ बाट हिक्मत कार्की,प्रदेश २ बाट रामचन्द्र मण्डल,वागमतीबाट आनन्द पोखरेल,गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलवहादुर रानाले आ आफ्नो समूहको निष्कर्ष सुनाउनेछन् ।

    त्यस्तै कर्णालीबाट यमलाल कडेल, सुदूरपश्चिमबाट कर्ण थापा,उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले निष्कर्ष सुनाउनेछन् ।

    समूहगत निष्कर्ष र सुझावका आधारमा केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्नेछ । समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष केपी शर्मा ओली,महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख बिष्णु पौडेलले जवाफ दिने भएका छन् ।

  • अधिवेशनको उत्साहले पार्टीलाई बलियो बनाउँछ : सभापति देउवा

    अधिवेशनको उत्साहले पार्टीलाई बलियो बनाउँछ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गाउँ र नगर अधिवेशनमा देखिएको उत्साहलाई पार्टीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री एवं सभापति देउवाले पालिका अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागि हुन कार्यकर्ताहरुमा आग्रह समेत गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत देउवाले कांग्रेस कार्यकर्ताहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘तपाईहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु’, देउवाले भनेका छन् ।

    कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज अधिकांश जिल्लामा पालिका अधिवेशन भइरहेको छ ।

  • एमाले बैठक आज पनि जारी, बहिस्कारको हल्ला निराधार भएको रावलको भनाइ

    एमाले बैठक आज पनि जारी, बहिस्कारको हल्ला निराधार भएको रावलको भनाइ

    काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक आज दोस्रो पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तुत राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान मस्यौदा प्रस्तावमाथि छलफल हुँदैछ ।

    १० वटा समूहमा भएको छलफलपछि त्यसलाई टोली नेताले बैठकमा सुनाएर आवश्यक परिमार्जनपछि पारित गरिने कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

    यसैबीच १० बुँदे सहमति लागु नभएको भन्दै माधव नेपाल समूह छाडेका नेताहरुले बैठक बहिस्कार गर्ने भनेर चलाइएको हल्ला गलत भएको केन्द्रीय सदस्य झपट रावलले बताएका छन् ।

    उपाध्यक्ष भीम रावलसहित झपट रावल र भानुभक्त जोशीले शुक्रवार केन्द्रीय कमिटी बैठक शुरु हुनासाथ विशेषगरि सुदूरपश्चिममा १० बुँदे सहमति कार्यन्वयन नभएको भन्दै जवाफ मागेका थिए ।

    अन्य प्रदेशमा जसरी सहज रुपमा १० बुँदे सहमति पालना नहुँदा कार्यकर्तालाई रोक्न गाह्रो भएको नेताहरुको भनाइ थियो । उनीहरुको भनाइपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटी बसेर समस्याको समाधान गर्ने बताएका थिए ।

    तर बाहिर भीम रावलसहित १० स्थायी कमिटी सदस्य पक्षधर नेताहरुले बैठक बहिस्कार गर्न लागेको भनेर प्रचार गरिएकोमा त्यो सत्य नभएको अर्का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

    उनले भने– सुदूरपश्चिमको समस्याको कुरा राख्नुभयो,अध्यक्षले स्थायी कमिटी बसेर समाधान गर्ने भनिसक्नुभएको छ । आज हामी सबै बैठकमै जाँदैछौ । केन्द्रीय कमिटीले विधान महाधिवेशनका दस्तावेज पास गर्छ ।

    एमालेमा अन्य प्रदेशमा १० बुँदे सहमति लगभग पालना भए पनि सुदूरपश्चिममा समस्या देखिएको छ । त्यसको समाधान यो केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटीले समाधान गर्ने ओलीले बताएका छन् ।

  • लुम्बिनीका १२ मध्ये ९ जिल्लामा कांग्रेसको गाउँ-नगर अधिवेशन हुँदै, अधिकांश पालिका दुई समूहबीच प्रतिस्पर्धा

    लुम्बिनीका १२ मध्ये ९ जिल्लामा कांग्रेसको गाउँ-नगर अधिवेशन हुँदै, अधिकांश पालिका दुई समूहबीच प्रतिस्पर्धा

    रुपन्देही । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ९ जिल्लामा आज नेपाली कांग्रेसको गाउँनगर अधिवेशन शुरु भएको छ । प्रदेशका बाँके र गुल्मीमा भने विवादका कारण रोकिएको छ । कपिलवस्तुमा विवादका कारण रोकिएका वडा अधिवेशन नभएकाले आज पालिका अधिवेशन हुन नसकेको हो । बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको छ ।

    बर्दियाको विवाद भने केही दिनअघि हल गरिएको थियो । बाँकेमा क्रियाशील र गुल्मीमा आन्तरिक विवादले गाउँ–नगरको अधिवेशन रोकिएको कांग्रेस नेता अमर पुनले जानकारी दिएका छन् ।

    पुनका अनुसार बाँकी जिल्लामा शनिबार बिहानैबाट गाउँ–नगरको अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनका लागि गुटगत दुई प्यानल चुनावी मैदानमा छन् । लुम्बिनीका अधिकांश गाउँ–नगरमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो । दुवै समूहका प्रभावशाली नेताहरु आफ्नो समूहका नेताहरुलाई पालिकामा जिताउन मैदानमा पुगेका छन् ।

  • कांग्रेस नगर अधिवेशन : भक्तपुरमा सहमतिको प्रयास असफल, सिटौला प्यानलले पनि उम्मेदवारी दिने

    कांग्रेस नगर अधिवेशन : भक्तपुरमा सहमतिको प्रयास असफल, सिटौला प्यानलले पनि उम्मेदवारी दिने

    भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ ।

    आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । आज अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार मतदानका लागि कांग्रेसले तालिका तयार गरेको छ । भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका अधिवेशनस्थलमा बिहानैदेखि कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

    चारै नगरपालिकामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी दिने चर्चा अधिवेशन स्थलमा चलेको छ । अन्तिममा केन्द्रीय तहमा जस्तो नेताहरुको समूहको रुपमा नभइ स्थानीय परिस्थिति अनुसार नै प्यानल बनाएर उम्मेदवारी दर्ता हुने अधिवेशनस्थलमा उपस्थित जिल्लास्तरीय एक नेताले बताए । कांग्रेस भक्तपुरले यसअघि जिल्लाका ३८ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ ।

    नगर अधिवेशनमा नेतृत्व लिन नेताहरुको दौडधुप चलेको छ । नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने देखिन्छ । जिल्लाका शीर्ष कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् । मुख्य गरी सभापति दुर्लभ थापा र १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी अष्टकुमार कवेँको समूहबीच चारवटै नगरपालिकामा कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

    जिल्ला सभापति थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागत नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुपमा छन् । भक्तपुर नगरमा वर्तमान् सभापति रामप्रसाद कासुला र राजेन्द्र तमखु, मध्यपुरथिमिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापति, सूर्यविनायक नगरमा जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान उपसभापति रवि राणा तथा चाँगुनारायण नगरको सभापतिमा वर्तमान सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष शिवहरि केसी, गोपाल पौडेल, राजु पुरीले उम्मेदवारी दिने तयारी गरेका बताइएको छ ।

  • कोरोना अपडेट : शुक्रबार १४ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    कोरोना अपडेट : शुक्रबार १४ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४७६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ६९० वटा नमुना (१०५७५ पीसीआर र ५११५ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १५५० जना कोरोनामुक्त भएका छन् भने थप ९ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २० हजार २८७ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८९ हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९० हजार २८० पुगेको छ ।

    हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८१ पुगेको छ ।

  • त्रिशुलीमा बेपत्ताको ड्रोनमार्फत खोजी हुँदै

    त्रिशुलीमा बेपत्ताको ड्रोनमार्फत खोजी हुँदै

    चितवन । कार दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकाको खोजी गर्न ड्रोनसहितको टोली परिचालन हुने भएको भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति अनियन्त्रित भइ नदीमा खसेको थियो ।

    दुर्घटनामा परी ३ जना बेपत्ता छन् । कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता छन् ।

    पृथ्वीराजमार्गको मुग्लिन–नौविसे खण्डअन्तरगत इच्छाकामना–५ नाग्दी खोला नजिकै दुर्घटना भएको थियो । हालसम्म बेपत्ता फेला परेका छैनन् ।

    सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खाजी गर्दा समेत बेपत्ता नभेटिएपछि प्रहरीले प्रविधिको प्रयोग गर्न लागेको हो । चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले ड्रोनमार्फत बेपत्ताको खोजी गर्न लागिएको बताए ।

    नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको टोली काठमाडौंबाट आउँदै छ । कार दुर्घटनामा परी घाइते अवस्थामा कास्कीको पोखरा महानगरपालिका–१७ का रुद्रलाल सुवेदीको उद्वार गरेर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    कार अनियन्त्रित हुँदा सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूलीमा खोलामा खसेको थियो ।

  • म्युजिक भिडिओमा साम्राज्ञीको कमब्याक : यस्तो छ राज र देलविससँग हट फोटोसुट

    म्युजिक भिडिओमा साम्राज्ञीको कमब्याक : यस्तो छ राज र देलविससँग हट फोटोसुट

    काठमाडौं । कोरोनाभाइरस महामारीको कारण अहिले फिल्म गतिविधि ठप्पप्रायः छ । लामो समय फिल्म क्षेत्र बन्द हुँदा नाम चलेका स्टारहरु म्युजिक भिडिओ, सिरियल लगायतका अन्य माध्यममा व्यस्त छन् । यस्तोमा, ठूलो पर्दाकी हिट अभिनेत्री साम्राज्ञी शाह पनि सांगीतिक भिडिओमा व्यस्त भएकी छिन् ।

    अभिनय करियरमा खासै म्युजिक भिडिओमा नदेखिने अभिनेत्री साम्राज्ञी लामो समयपछि एउटा नयाँ म्युजिक भिडिओमार्फत पुनरागमन गर्दैछिन् । दर्शकले उनलाई एक नयाँ गीतको भिडिओमा देख्न पाउने भएका छन् । लामो समय हल बन्द हुँदा साम्राज्ञीलाई हेर्न नपाएका उनका प्रशंसक समेत यो खबरले खुशि हुनसक्छन् ।

    निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडिओलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् ।

    गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ ।

    गीतमा कोरियोग्राफी माइकल चन्दको रहनेछ । गीतको भिडिओ छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युव च्यानलमार्फत एक कार्यक्रमका बीच सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात छोटो प्रतिक्रिया दिदै अभिनेत्री शाहले गीत र मनपरेपछि आफूले म्युजिक भिडिओ गर्न सहमत भएको बताइन् ।

    ‘यसको शब्द संयोजन र अडियो भर्सन निकै मनपरेपछि भिडिओ गर्न राजी भएकी हुँ’ नेपाल प्रेससँग साम्राज्ञीले भनिन् । स्रोतका अनुसार यो म्युजिक भिडिओ अभिनय गरेबापत साम्राज्ञीले राम्रै अमाउन्ट समेत पाएकी छिन् । साम्राज्ञी फिल्ममा सर्वाधिक पारिश्रमिक लिने नेपाली अभिनत्री हुन् ।

    यो गीतका लागि साम्राज्ञीले फोटोसुट पनि गराएकी छिन् । हेर्नूस तस्बिरहरु :

        
  • भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर

    भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर

    काठमाडौं । बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण भोलि (शनिबार) देखि सुरु हुँदैछ । यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटरहरुले भाग लिँदैछन् ।

    कोरोनाभाइरसको महामारीले विश्वव्यापी लकडाउन नभएको भए ईपीएलको चौथो संस्करण झन् ‘धमाकेदार’ रुपमा दुई वर्षअघि नै सकिएको हुन्थ्यो । तर, कोरोनाभाइरसको महामारीका कारण आयोजनाको अन्तिम घडीमा आइपुगेर ईपीएल स्थगित भयो । यसले आयोजकको तयारी मात्रै खेर गएन, ईपीएलमा जोडिन आँटेका केही विश्वप्रख्यात खेलाडीहरु पनि पछि हटे ।

    विश्व क्रिकेटका चर्चित हस्तिहरु– क्रिस गेल, कोरी एन्डरसन, ड्वेन स्मिथ, पल स्टर्लिङ, हासिम अमला, मोहमद सहजाद लगायतका खेलाडी ईपीएल खेल्न आउने निश्चित भइसकेको थियो । एबी डिभिलियर्स जस्ता क्रिकेटरको चर्चा पनि चलिरहेको थियो । तर, कोरोनाभाइरसको महामारीले आयोजना सफल हुन नसकेर दुई वर्षपछि धकेलियो । त्यही संस्करण अन्ततः शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

    दुई वर्षअघि घोषित खेलाडीको अनुपस्थिति रहने भए पनि केही चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका उपल थरङ्गा, बंगलादेशका तमिम इकबाल लगायतका खेलाडीहरुलाई नेपाली दर्शकहरुले प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

    ईपीएलको यो संस्करणमा पूर्व घोषित खेलाडीहरू अनुपस्थित नहुनुको कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू पुनः सुचारु हुन पनि हो । तर, जिम्मावे, बंगलादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानका प्रतिष्ठित खेलाडीको उपस्थितिले नयाँ तरङ्ग पैदा गर्नेमा विश्वस्त हुन सकिन्छ ।

    यो वर्षको ईपीएलमा देखिने विदेशी अनुहार

    विराटनगर वारियर्स सन् २०१७ मा च्याम्पियन बनेको विराटनगरले गत संस्करणमा समूह चरण पार गर्न सकेन । पहिलो चरणका पाँच खेलमा तीन हार र दुई जितको नजिता निकालेको विराटनगर ६ मध्ये पाँचौं टोलीमा सीमित बनेको थियो ।

    पारस खड्काको कप्तानीमा रहेको विराटनगर यसपाली नयाँ नेतृत्वसहित मैदानमा उत्रिने निश्चित छ । र, आसन्न प्रतियोगिताका लागि विराटनगरले क्यानडियन रायन पठान, गुयानाका चन्दरपाउल हेमराज, जिम्वावेका सिकन्दर राजा र श्रीलंकाली दिलसान मुनाविरालाई टोलीमा अनुबन्ध गरेको छ ।

    यसअघिका दुई संस्करणमा उल्लेख्य नतिजा निकाल्न नसकेको पोखरा राइनोज यसपाली त्यो लय सुधार्ने तयारीमा छ । यसअघिका संस्करणमा शक्ति गौचनको कप्तानीमा ईपीएल खेलेको पोखराको नेतृत्व यसपाली विनोद भण्डारीले गर्ने बुझिएको छ ।

    पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेर पराजित भएको पोखरा दोस्रो सिजनमा प्रारम्भिक चरणमै सीमित भयो । गत सन् २०१९ मा हुने भनिएकै समयमा ईपीएल आयोजित हुन्थ्यो भने क्रिस गेललाई त्रिवि क्रिकेट मैदानमा दर्शकले हेर्न पाउँथे ।

    त्यो सम्भव नभएपछि आसन्न संस्करणका लागि श्रीलंकाका सहान अराचचिगे र असेला गुनारत्ने, दक्षिण अफ्रिकाका रिचार्ड लेभी, वेस्ट–इन्डिजका केसरिक विलियम्सलाई टोलीले अनुबन्ध गरेको छ ।

    राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेलाई उनकै जन्मदिनमा कप्तान घोषित गरेको काठमाडौंले उद्घाटन खेलमा ललितपुरको सामना गर्दैछ । पहिलो संस्करणको प्रारम्भिक चरण पार गर्न नसकेको काठमाडौंले दोस्रो सिजन क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । तर, त्यहाँ पराजित भएपछि पहिलोपटक फाइनल पुग्ने मौका गुमाएको काठमाडौंले यो सिजन टोलीमा विश्व परिचित खेलाडीलाई समावेश गरेको छ ।

    पकिस्तानका पूर्वकप्तान तथा चर्चित अलराउन्डर शाहिद अफ्रिदीसँगै सिंगापुरका जनक प्रकाश, जिम्बावेका रायन ब्रुल, अफगानिस्तानका रमानुल्लाह जुर्बाजलाई यो सिजनका लागि अनुबन्ध गरिएको छ ।

    गत सिजनको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै च्याम्पियन बनेको ललितपुरले पहिलो खेलदेखि नै यो सिजनको उपाधि रक्षा अभियान सुरु गदैछ । पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेको लतिलपुरले गत सिजनको फाइनलमा भैरहवालाई पराजित गर्दै उपाधि उचालेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने तयारीमा रहेको ललितपुरले आगामी सिजनका लागि अफगानिस्तानका अज्मतुल्लाह ओमरजाई, श्रीलंकाली ओशाडा फर्नान्डो, भुटानका मिक्यो दोर्जी र श्रीलंकाका शेनडन विराकोड्डीलाई टोलीमा समावेश गरेको छ ।

    चितवन टाइगर्सले हालसम्म इलिमिनेटर पार गर्न सकेको छैन । पहिलो सिजनमा पहिलो सिजनमा प्रारम्भिक चरण पार गर्न नसकेको चितवनले दोस्रो संस्करणमा इलिमिनेटरमा स्थान बनाएको थियो । तर, त्यहाँबाट अघि बढ्न सकेको थिएन । पहिलो पटक फाइनल यात्रा तय गर्ने सोचसहित यो सिजनको तयारी गरिरहेको चितवनले अफगानिस्तानका मोहम्मद शहजाद र करिम जनत, मलेसियाका विरनदीप सिंह, श्रीलंकाली सेकुगे प्रशन्नालाई टोलीमा अनुबन्ध गरेको छ ।

    लगातार दुई सिजन फाइनलमा पुगेर उपाधि जित्न असफल रहेको भैरहवा ग्लाडिएटर्स यसपटक त्यो खडेरी चिर्ने प्रयत्नमा छ । पहिलो संस्करणमा सोझै फाइनलमा पुगेको भैरहवा दोस्रो सिजनमा क्वालिफायर, इलिमिनेटर हुँदै फाइनलसम्म पुगेकोे थियो ।

    सन् २०१७ मा विराटनगर वारियर्ससँग पराजित भएको भैरहवा २०१८ मा ललितपुरसँग स्तब्ध हुनुपर्यो । दुई पटक उपाधि नजिक पुगेर असफल रहेको भैरहवाले यसपाली टोलीलाई अझ सशक्त बनाउन बंगलादेशका तमिम इकबल, मलेसियन सार्भिन मुनियान्दी, श्रीलंकाली उपल थरङ्गा र धमिका प्रसादलाई टोलीमा समावेश गरेको छ ।

     

  • वडादसैँको साइत सार्वजनिक

    वडादसैँको साइत सार्वजनिक

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

    असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

    असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए ।

    फूलपातीकै दिन तलेजु भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तलेजु भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

    असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

  • मिस नेपाल नम्रताले शुभारम्भ गरिन् यामहा एक्सचेन्ज मेला (तस्बिरहरु)

    मिस नेपाल नम्रताले शुभारम्भ गरिन् यामहा एक्सचेन्ज मेला (तस्बिरहरु)

    काठमाडौं । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले आजदेखि राजधानीको भृकुटीमण्डमा सुरु भएको यामाहा महा–एक्सचेन्ज मेला उद्घाटन गरेकी छिन् ।

    विश्व सुन्दरी प्रतियोगिताको तयारीमा रहेकी मिस नेपाल नम्रता यामहाकी ब्रान्ड एम्बेसडर समेत हुन् । यामहा हिडन ट्रेजरसँग विगत पाँचवर्षदेखि आबद्ध छ ।

    कार्यक्रममा यामाका मोटरसाइकल र स्कुटी प्रदर्शनीमा राखिएका थिए भने मिस नेपाल नम्रताले शुभारम्भसँगै विजेतालाई साँचो हस्तान्तरण समेत गरेकी थिइन् । प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।

    नेपाल प्रेससँग कुरा गर्दै नम्रताले आफू मिस वर्ल्डको तयारीमा जुटेको जानकारी दिइन् ।

    हेर्नूस तस्विरहरु :

     

  • चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहरमा

    चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहरमा

    भक्तपुर । चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहर भित्र परेको छ । अमेरिकाको न्युयोर्क विश्वविद्यालयमा आयोजना गरिएको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा चाँगुनारायण् उत्कृष्ट १० मा परेको हो ।

    नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा विश्वका ३८ वटा देशका नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका परेको नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले बताए ।

    उक्त प्रणालीमा नगरपालिकाले गरेको कामलाई वेबसाइटमा अपलोड गरिएको छ । वेबसाइटमा डाटा अपलोड गरिएको मूल्याङ्कनका आधारमा गत शुक्रबार उत्कृष्ट सहरभित्र पारिएको नगरपालिकाले बताएको छ ।

  • उज्यालोको खोजीमा चित्रकला प्रर्दशनी

    उज्यालोको खोजीमा चित्रकला प्रर्दशनी

    चितवन । नवलपुरको गैडाकोट–४ किसान आर्ट ग्यालरीमा आत्मदीपन सामूहिक चित्रकला प्रर्दशनी सुरु भएको छ । हामी कलाकार, त्रिवेणी साहित्य प्रतिष्ठान र कलावती आर्ट काउन्सिलको आयोजनमा भएको प्रर्दशनीको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलले उद्घाटन गरे । प्रदर्शनी असोज २२ गतेसम्म चल्नेछ । १७ चित्रकारका ५२ वटा कलाकृतिहरु प्रदर्शनीमा राखिएको छ ।

    मुख्यमन्त्री नेपालीले आर्थिक समृद्धिका लागि कला, संस्कृतिको भूमिका महत्वपूर्ण भएकाले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । ‘कला, संस्कृति संरक्षणका लागि प्रदेशले योजनाहरु बनाइरहेको छ’, उनले भने, ‘कलाकारलाई प्रोत्साहन गर्न तत्पर छौँ, योजनाहरु ल्याउनुस्, सहयोग गर्छौ ।’

    ‘हामी कलाकार’का अध्यक्ष भीम शर्माले गैडाकोटमा ग्यालरी बनाउने गरी सहयोग गर्न आग्रह गरे । गैडाकोट–५ नम्बर वडाले त्रिवेणी साहित्य प्रतिष्ठानलाई १७ धुर जग्गा भोगचलन गर्न दिइसकेको छ । सो जग्गामा छिटै सुविधासम्पन्न ग्यालरी बनाउने गरी डिजाइन भैरहेको उनले बताए ।

    शर्माले प्रजातन्त्र आएपनि कला विकास तथा विस्तारमा राज्यको चासो पुग्न नसकेको दुखेसो पोखे । कोभिड–१९ का कारण बनेका अधिकांश चित्रहरु बिक्री वितरणमा समस्या हुँदै आएका छन् । सौराहामा क्रियटिभ आर्ट ग्यालरी चलाउँदै आएका नेपाल ललितकला प्रतिष्ठान चितवनका अध्यक्ष डि बरालले चित्रकारहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

    प्रकाश आर्टस एण्ड सर्भिसेसका सञ्चालक प्रकाश थापाले प्रर्दशनीले चित्रको महत्व जनमासनमा पुर्याउने अपेक्षा व्यक्त गरे । प्रर्दशनीमा उनले बनाएका ३ चित्र छन् । सबै धर्म समान भन्ने भाव जनाउन उनले एउटै चित्रमा हिन्दू, बौद्ध, इसाई र क्रिचिश्यन धर्मावलम्बी झल्किने आकर्षक चित्र कोरेका छन् ।

    साहित्यकार गोविन्दराज विनोदीले प्रर्दशनीमा उज्यालोका खोजीमा रहेका बुद्धसम्बन्धी चित्रहरु राखिएको बताए । गैडाकोटका मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कँडेलले चित्रकारलाई हौसला दिन नगरपालिकाभित्रै चित्र संकलन केन्द्र बनाइने बताए ।

  • घरमा बस्ने व्यक्तिको विवरण टिपेर राख्न घरबेटीलाई काठमाडौं प्रहरीको आग्रह

    घरमा बस्ने व्यक्तिको विवरण टिपेर राख्न घरबेटीलाई काठमाडौं प्रहरीको आग्रह

    काठमाडौं । चाडपर्व नजिकिँदै गरेको बेला चोरी र लुटपाटका घटना बढ्न सक्ने  भन्दै प्रहरीले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरीय प्रहरी परिसरले बिहिबार एक सूचना जारी गर्दै डेरा गरेको व्यक्ती तथा घरमा काम गर्ने व्यक्तीको नाम, थर र वतन फोटोसहितको स्थाई ठेगाना टिपेर राख्न घरबेटीलाई आग्रह गरेको हाे ।

    अपराधसँग सम्बन्धित सूचना तत्काल प्रहरीलाई दिन सर्वसाधारणलाई आग्रह गरिएको छ । ‘चाडवाड नजिकिँदै गरेको हुनाले चोरी, डकैती, लुटपाट, डाँका र गुण्डागर्दी बढ्न सक्छन् । सार्वजनिक स्थानमा हिँडडुल गर्दा गर–गहना प्रयोग नगर्न, साथमा नगद नबोक्न र वहुमुल्य सामान घरमा नराख्न अनुरोध गरिएको छ’ प्रहरीले आग्रह गरेको छ ।

    हेर्नूस सूचना :

  • चीनद्वारा जी-२० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

    चीनद्वारा जी-२० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

    वेइजिङ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।

    मन्त्री वाङले (जी–२०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन। मन्त्री वाङले अफगानिस्तानमा जारी सङ्कटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनु पर्ने बताएका छन् ।

    चीनले अफगानिस्तानलाई ३०.८९ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउन लागेको उनले जानकारी दिए । मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई अफगानिस्तानमा जारी सङ्कटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।

    वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ।

  • काठमाडौं उपत्यकामा ४ सय जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा ४ सय जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४५, ललितपुरमा ५२ र भक्तपुरमा १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ५,११५ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा २,८२९, भक्तपुरमा ९१२ र ललितपुरमा १,३७४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

     

  • कोरोना अपडेट : बिहीबार १५ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

    कोरोना अपडेट : बिहीबार १५ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १२ सय ३९ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

    बिहिबार १५ हजार २४३ वटा नमुना पीसीआर ११६२९ र एन्टीजेन ३६१४ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा १३ सय २४ जना निको भएका छन् भने १३ जनाको कोभिड संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाभाइरस संक्रमण दर ८.१ प्रतिशत छ । हालसम्म २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । १९ हजार ४३७ जना होम आइसोलेसनमा छन् ।

    अहिलेसम्म मुलुकमा कूल संक्रमित संख्या ७ लाख ८८ हजार, निको हुने संख्या ७ लाख ५६ हजार र कूल मृत्यु ११ हजार ७२ रहेको छ ।

     

  • कोभिड प्रोटोकल पुरा गर्ने काठमाडौं महानगरका स्कुल खोल्ने तयारी, २७ बुँदे कक्षा संचालन मापदण्ड तयार

    कोभिड प्रोटोकल पुरा गर्ने काठमाडौं महानगरका स्कुल खोल्ने तयारी, २७ बुँदे कक्षा संचालन मापदण्ड तयार

    काठमाडौं । काठमाडौं महानगरपलिकाले स्वास्थ्य मापदण्ड पुरा गरेका विद्यालयलाई असोज १० गते देखि खुलाउने तयारी गरेको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको अधक्ष्यतामा बुधबार बेलुका बसेको बैठकले सो निर्णय गरेको हो ।

    मेयर शाक्यका अनुसार, २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न तयारी भएको छ । कक्षा सञ्चालन गर्नुअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन विषयमा समझदारी बनाएपछि मात्र विद्यालय खोल्न सकिने महानगरले जनाएको छ ।

    विद्यालय संचालन गर्दा स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्ने महानगरले जनाएको छ ।

    विद्यालय खोल्नुअघि विद्यार्थी, शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको हुनुपर्ने र खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क गरी खोप लगाउन सकिने समेत महानगरपलिकाले जनाएको छ ।

    कोरोना संक्रमणदर २५ प्रतिशत रहेका स्थानमा समेत विद्यालय खुला

    यसैबीच, कोरोनाभइरस संक्रमणदर उच्च भएपनि विद्यालयहरु खुल्न थालेका छन् । अहिले प्रदेश १ मा सरदर २५ प्रतिशत कोरोनाभाइरस संक्रमणदर छ । त्यहाँ कोरोनाभाइरस संक्रमणको उच्च जोखिम कायमै भएपनि विद्यालय धमाधम खुल्न थालेका छन् ।

    यस्तै पाल्पामा पनि कोरोनाभाइरसको सङ्क्रमण दर १५ प्रतिशतभन्दा माथि छ । पाल्पाका १० वटा स्थानीय तह मध्ये नौ वटाले विद्यालय सञ्चालन गरिसकेका छन् । चिकित्सकका अनुसार पााच प्रतिशतभन्दा बढी संक्रमणदर हुनु भनेको एकदमै जोखिम हो । स्वास्थ्य मापदण्ड पालना गराएर विद्यालय सञ्चालन गर्नुपरेको प्रधानाध्यापकहरुले बताएका छन् ।

  • सुर्खेतको ‘नमूना समाज’को आर्थिक हिनामिनामा स्थानीय तह पनि तानियो

    सुर्खेतको ‘नमूना समाज’को आर्थिक हिनामिनामा स्थानीय तह पनि तानियो

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘नमूना समाज’ नामक संस्थालाई दिएको दिएको रकमबारे स्थानीय तहमाथि पनि अनुसन्धान थालेको छ । विभिन्न जनचेतनामूलक कार्यक्रमका लागि स्थानीय तहसँग सम्झौता गरी समाजले करोडौं रकम लिएको थियो । तर, समाजले काम नगरी रकम हिनामिना गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

    समाजले रकम हिनामिना गरेको विषयमा परेको उजुरी गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयहुँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतसम्म आइपुगेको हो ।

    उजुरी आएसँग जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धानलाई तीव्र पारेको छ भने संस्थाका अध्यक्षसहित १६ जनालाई पक्राउ गर्न आवश्यक तयारी गरिरहेको छ ।

    नमूना समाजले सुर्खेतका विभिन्न स्थानीय तहसँग ‘उद्यमशीलता साझेदारी’ कार्यक्रम सञ्चालन गर्ने भन्दै पछिल्लो तीन वर्षको अवधिमा दुई करोड बढी रुपैयाँ लिएको छ ।

    संस्थाका अध्यक्ष भूमिसरा पुलामीसहित नौजना पदाधिकारी र संस्थाका कार्यकारी निर्देशक लालबहादुर जिएमसहित सातजना कर्मचारीलाई पक्राउ गरेर कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई निर्देशन दिइएको छ । त्यसबारेमा जनप्रतिनिधिसमेतलाई बुझ्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

    समाजले विभिन्न स्थानीय पालिकाहरुबाट २५ लाखदेखि ३५ लाख रुपैयाँ गरी तीन वर्षमा दुई करोड बढी रकम उठाएको पाइएको छ ।

    सुर्खेतका गुर्भाकोट नगरपालिका, चिंगाड गाउँपालिका र सिम्ता गाउँपालिकाले संस्थाविरुद्ध उजुरी दिएका थिए ।

    प्रशासन कार्यालयमा प्राप्त विवरणमा नमूना समाजले एक आर्थिक वर्षमा चिंगाड गाउँपालिकाबाट १२ लाख, गुर्भाकोट नगरपालिकाबाट २५ लाख, सिम्ता गाउँपालिकाबाट १८ लाख, पञ्चपुरी नगरपालिकाबाट २० लाख र भेरीगंगा नगरपालिकाबाट ३० लाख रुपैयाँ लिएको पाइएको छ ।

    सिंगापुर, अष्ट्रेलिया, अमेरिका, स्वीजरल्याण्ड, जापानलगायतका विकसित देशमा लागू भएको परियोजनालाई आफूले नेपालमा भित्र्याएको बताउँदै नमूना समाजले स्थानीय तहहरुसँग तीन वर्षे संझौता गरेको थियो । सम्झौताअनुसार स्थानीय तहहरुले ३० प्रतिशत र नमूना समाजले ७० प्रतिशत रकम व्यहोर्ने उल्लेख छ ।

    सुर्खेतको भेरीगंगा नगरपालिकाले नमूना गाउँ निर्माणका लागि समाजसँग २०७७ भदौ २३ गते संझौता गरेको थियो । कार्यक्रमअन्र्तगत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमूना समाजले दुई करोड १० लाख रुपैयाँ व्यहोर्ने उल्लेख छ ।

    भदौ २३ गते संझौता गरेर मंसिर २४ गते कार्यादेश दिएको नगरपालिकाले पुस २ गते पहिलो वर्षको ३० लाख रुपैयाँ एकमुष्ट नमूना समाजलाई उपलब्ध गराएको थियो ।

    रकम उपलब्ध भएपछि संस्थाले काम गर्न नसकेका कारण जनप्रतिनिधिको चर्को आलोचना भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत कनक शाहीले कारबाहीको आवश्यक प्रक्रिया सुरु भइसकेको बताए ।

  • तीन जिल्लामा कोरोनाको पूर्ण मात्राको खोप लगाइयो

    तीन जिल्लामा कोरोनाको पूर्ण मात्राको खोप लगाइयो

    काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसंख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिएका छन् ।

    यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएको छ । मुलुकभरि करिब १८ प्रतिशत जनसंख्याले पूर्णमात्राको खोप लगाएका छन् ।

    सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसंख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् ।

  • वर्षाले अवरुद्ध सडक तत्काल खुलाउन यातायात व्यवसायीको माग

    वर्षाले अवरुद्ध सडक तत्काल खुलाउन यातायात व्यवसायीको माग

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको संख्या बढ्दै जाने हुँदा यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पु¥याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेको हो ।

    “चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्ने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या हुने देखिन्छ”, अध्यक्ष कर्माचार्यले भने ।

    महासङ्घका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताए । “यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म लैजान सडक अवरुद्धले समस्या पर्ने भएकाले अग्रिम टिकट बुकिङ खोल्न समस्या देखिन्छ”, उनले भने । राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फीरूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासङ्घले सरकारसँग माग गरेको छ ।

  • असोज १५ गतेदेखि अन्नपूर्ण आधार शिविर खुल्ने

    असोज १५ गतेदेखि अन्नपूर्ण आधार शिविर खुल्ने

    काठमाडौं । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेबाट भ्रमणका लागि खुल्ने भएको छ । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेको हो। कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो ।

    कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना संक्रमणदर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताए ।

    ‘पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीयस्थल र तातोपानी कुण्ड औपचारिकरूपमा १८ महिनापछि खुलाउन लागिएको हो’, उनले भने, ‘गत माघ, फागुन र चैत महिनामा न्यून संख्यामा पाहुना आए पनि औपचारिक हिसाबले खुलाइएको थिएन ।’

    अन्नपूर्ण आधार शिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीयस्थलका बासिन्दा, होटल व्यवसायी र मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिइएको बताए । प्रमुख पर्यटकीयस्थल घोडेपानीका १८ वर्षमाथिका १४० जनालाई बुधबार कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

    तातोपानी, रातोपानीलगायत पर्यटकीयस्थलका बासिन्दालाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । अन्नपूर्णका पर्यटकीयस्थल पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए । करोडौँ लगानी गरेर होटल तथा लज खोलेका व्यवसायी पर्यटक नआउँदा समस्यामा परेका थिए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल व्यवसायीहरुले बताए ।

    पर्यटकीयस्थल बन्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष एक करोडभन्दा बढी आम्दानी गुमेको छ । तातोपानी र पुनहिलमा प्रवेश शुल्क तथा चमेनागृह सञ्चालनका लागि गत वर्ष ठेक्का लगाइएको थिएन ।

  • दुर्गा प्रसाई बने मोटिभेशनल स्पिकर : युवालाई विरोध र कुण्ठामा होइन श्रममा रमाउन दिए टिप्स

    दुर्गा प्रसाई बने मोटिभेशनल स्पिकर : युवालाई विरोध र कुण्ठामा होइन श्रममा रमाउन दिए टिप्स

    काठमाडौं । विवाद र चर्चामा आइरहने बिएण्डसी मेडिकल कलेका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाई अब मोटिभेशनल स्पिकरका रुपमा चिनिएका छन् ।
    बुधवार सुदूरपश्चिमको धनगढी पुगेका प्रसाईले सयौं युवाको भेलामा जीवनमा सफल हुने उपाय र आफ्नो सफतलाका कथाहरु युवालाई जीवनयोपगी हुने भन्दै सुनाए ।

    प्रसाईले भने, ‘आशावादी बनौं किनभने हजारौं निराशावादीको भिडले भन्दा एउटा आशावादी मान्छेले धेर काम गर्न सक्छ । निराशाले अनावश्यक आँशु दिन्छ, रुँदा एक्लै रुनुपर्छ । जसको कुनै अर्थ छैन ।’

    प्रसाईले आफ्नो गरिबीका दिनहरु सुनाउँदै अरुको विरोध गर्नुको साटो आफू मेहनत गर्दा सफल भइने टिप्स युवालाई सुनाए । आजका युवामा सामाजिक सन्जालबाट सिको गरेर आरिस, डाह र विरोध गर्ने प्रवृति विकास भएकोमा उनले चिन्ता व्यक्त गरे ।

    प्रसाईले भने, ‘मलाई श्रम गर्न कहिल्यै लाज लागेन । गाउँमा गाई भैंसी पालेँ, गोबर सोहोरेँ, पसलमा दूध बेच्न हिँडे । श्रमका कुनै सीमा हुँदैनन् तर मेरो श्रमलाई सम्मान गर्नेभन्दा मेरो परिश्रमको बैभवमा रिस गर्नेहरु धेरै छन् । यसले मलाई कति पनि विचलित बनाउँदैन ।’

    आफूले पढ्न नपाए पनि छोरा र छोरीलाई डाक्टर बनाएकोमा गर्व गर्दै उनले युवाहरुलाई जागिरे मानसिकता र इजी मनीतिर नलाग्न र श्रमको बलमा आफैं आत्मनिर्भर हुन सुझाए ।

    आफूले बिएण्डसी मेडिकल कलेज काठमाडौं शहरमा खोल्नुको साटो विर्तामोडमा खोल्नुको उद्देश्य दुर्गमका मान्छेलाई सेवा दिनु रहेको भन्दै उनले अरुको डाह र विरोध नगरी कर्ममा लागिरहँदा सफल हुने टिप्सहरु सुनाएका थिए ।

    प्रसाई अहिले मेडिकल कलेजबाहेक अन्य उद्यममा समेत लागेका छन् । शर्माले आफ्नो विरोध गर्नेहरुको कुभलो नचिताई उनीहरुको विरोध र कुण्ठाबाट अझ प्रगतितर्फ लाग्नुपर्ने सुझाव दिए ।

  • कोरोनाको खोप लगाउनेमा नेपाल दक्षिण एसियामा चौंथो स्थानमा

    कोरोनाको खोप लगाउनेमा नेपाल दक्षिण एसियामा चौंथो स्थानमा

    काठमाडौं । दक्षिण एसियामा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेमा नेपाल चौथो स्थानमा परेको छ । नेपालमा कूल जनसंख्यामध्ये झन्डै २० प्रतिशतले कोरोनाबिरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    नेपालमा हालसम्म ५६ लाख भन्दा बढीले दुबै मात्राको खोप लगाएका छन् भने ६२ लाख भन्दा बढीले पहिलो मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोभिसिल्ड, आष्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन गरी झण्डै सवा करोड डोज खोप वितरण भइसकेको छ ।

    भारतमा १४ दशमलव ५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाएका छन् भने पाकिस्तानमा ११ दशमलव ०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    बङ्गलादेशमा ८ दशमलव ८७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकको छभने दक्षिण एसियामा अफगानिस्तानमा १ दशमलव १३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ।

    यस्तौ माल्दिभ्समा ६२ दशमलव १६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाएका छन्। दक्षिण एसियाली मुलुकमध्ये भुटानमा कुल जनसङ्ख्याको सबैभन्दा धेरै अर्थात्‌ ६२ दशमलव ७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन् ।

     

  • काठमाडौंमा ४ सय जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौंमा ४ सय जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार काठमाडौं उपत्यकामा ४०२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २६१, ललितपुरमा ४३ र भक्तपुरमा ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ५,३९३ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३,०२८, भक्तपुरमा ९४७ र ललितपुरमा १,४१८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • मंगलबार १३ सय कोभिड संक्रमित थपिए, ५ जनाको मृत्यु

    मंगलबार १३ सय कोभिड संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार देशभर १३ सय ३० जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९६२६ तथा एन्टिजेन विधिबाट३९९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा थप १८ सय ३० जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ५५ हजार २४२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा २१ हजार ५२४ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ५३ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३३५ जना, भेन्टिलेटरमा १०७ जना, होम आइसोलेशनमा २०,१६४ जना, संस्थागत आइसोलेशनमा १,३६० र क्वारेन्टाइनमा २५० जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ९.७ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.९ प्रतिशत छ ।

  • कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

    कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

    काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खाती र कार्यवाहक भारतीय राजदूत नाम्गे खम्पाबीच द्धिपक्षीय सहायता आदानप्रदानबारे भेटवार्ता भएको छ ।

    भारतीय दूतावासका अनुसार कानूनी क्षेत्रमा द्धिपक्षीय सहायतालाई अघि बढाउनेबारे छलफल भएको थियो ।

  • कोरोना र निपाहा भाइरसबाट जोगिएर दशैं मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    कोरोना र निपाहा भाइरसबाट जोगिएर दशैं मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निपाह भाइरस र कोरोनाभाइरसको दोहोरो संक्रमण बढेको हुनाले दशैैं लगायतका चाडपर्वहरु मनाउँदा सर्तकता अपनाउन आग्रह गरेका छन् ।

    ट्वीटरमार्फत उनले स्वास्थ्य मापदण्ड अपनाउँदै चाडपर्व मनाउन पनि भनेका छन् । साथै कोभिड–१९का नयाँ संक्रमितहरूको संख्या केही कम भएपनि जोखिम कायमै भएको समेत बताएका छन् ।

    भारतमा निपाह भाइरस संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप सर्तकता अपनाउन आग्रह गरेको थियो ।

    हालसम्म नेपालमा १० वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • एमी अवार्ड रेडकार्पेटमा चम्किए विश्व स्टारहरु, नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोत्कृष्ट (तस्बिरहरु)

    एमी अवार्ड रेडकार्पेटमा चम्किए विश्व स्टारहरु, नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोत्कृष्ट (तस्बिरहरु)

    न्यूयोर्क । कारोना महामारीका कारण गतवर्ष स्थगित भएको एमी अवार्ड २०२१ यसवर्ष भौतिकरुपमै सम्पन्न भएको छ । अवार्डको ७३ औ संस्करण गएराति अमेरिकाको लस एन्जलल्समा खुलारुपमा भएको थियो जहाँ दर्शक र सेलेव्रिटी सहभागि रहे । एमीलाई विश्व टेलिभिजनकै सर्वोच्च अवार्ड मानिन्छ ।

    कोरोनाविरुद्धको खोप लगाएका दर्शकलाई प्रवेशको अनुमति दिइएको उक्त अवार्डमा नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोेत्कृष्ट ड्रामा सिरिज घोषित भयो । यो सोले बेस्ट ड्रामा सिरिज, बेस्ट एक्टर, बेस्ट सर्पोटिङ एक्टरको अवार्ड पनि प्राप्त गरेको छ ।

    यसका साथै यही सिरिजले सर्वोकृष्ट निर्देशकको अवार्ड समेत हासिल गरेको छ । यस ड्रामा सिरिजबाट ओलिविया कोलम्यान र ओकनरले उत्कृष्ट अभिनेत्री र सर्वश्रेष्ठ अभिनेताको उपाधि पाएका छन् ।

    यस वर्ष ‘टेड लास्सो’ कमेडि रियालीटी सोे १३ विधामा मनोनयन भएको थियो । यो सोले बेस्ट कमेडी सिरीजको अवार्ड समेत हासिल गर्‍यो । हन्ना वाडिंगमले यसबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् । एमीलाई विश्व टेलिभिजन क्षेत्रकै सर्वोच्च अवार्ड मानिन्छ ।

    एमी अवार्ड रेडकार्पेट यसको फेसनको कारणले पनि चर्चित मानिन्छ । यसपटक लस एन्जल्स र लन्डनको फेसन पर्सपेक्टिभ एमीमा देखिएको द भग म्यागजिनले जनाएको छ । द क्राउन सिरिजका कलाकारहरु रेडकार्पेटमा प्रस्तुत भएका थिए ।

            

     

     

     

  • नेपालमा चराको नयाँ प्रजाति भेटियो

    नेपालमा चराको नयाँ प्रजाति भेटियो

    काठमाडौं । नेपालमा पहिलो पटक युरोपेली रोलर नामको चराको नयाँ प्रजाति भेटिएको छ । नयाँ प्रजाति उक्त चरा माथिल्लो मुस्ताङ, लोमान्थाङ गाउँपालिका–५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७८१ मिटरको उचाइमा भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको हो ।

    संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गत अगस्ट २९ मा पहिलो पटक नयाँ प्रजातिको चराको फोटो खिचेका थिए। दोस्रो दिनपछि पनि पुनः उक्त चरा देखिएपछि उनले थप प्रमाणीकरणका लागि फोटो सम्बन्धित निकायमा पठाएको कोषले जनाएको छ ।

    कोषको अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङका प्रमुख ऋषि बरालले नयाँ चराको प्रजातिबारे पहिचान र प्रमाणीकरणका लागि प्रक्रिया अघि बढाएको थियो भने चराविद्हरू हेमसागर बराल, सोम जिसी, टिम इन्सकिप्प र करोल इन्सकिप्पको समूहले प्रमाणीकरण गरेका थिए । पछिल्लो थप भएसँगै संरक्षण क्षेत्रमा ५१९ प्रजातिका चरा रेकर्ड भएका छन् ।

  • अदालतले सजाय तोकेका २ जना ५ वर्षपछि पक्राउ

    अदालतले सजाय तोकेका २ जना ५ वर्षपछि पक्राउ

    कैलाली । कैलालीमा ५ वर्षदेखि फरार दुई जना पक्राउ परेका छन् । कैलाली जोशीपुर गाउँपालिका –१ का ३० वर्षीय रवि कुमार चौधरी र कैलारी गाउँपालिका १ का ५२ वर्षीय राजकर्ण कठरियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    चौधरीलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र २५ हजार जरिवाना तथा कठरियालाई वन मुद्दामा ५ महिना १० दिन कैद र २० हजार जरिवानाको सजाय सुनाइएको थियो।

    तर सजाय भुक्तान नगरी चौधरी २०७३ चैत्र २३ गतेदेखि र कठरिया ०७३ असोज १२ गतेदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    पक्राउ परेकाहरू मध्ये एकजनालाई सोमबार जिल्ला अदालत मर्मत कारागार चलाइन भइसकेको र थप एक जनालाई मंगलबार अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीक प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिस्टले जानकारी दिए ।

  • बालबालिकाले टीकटकमा ४० मिनेट मात्र बिताउन पाउने, चीनदेखि सुरु भयो नयाँ नियम

    बालबालिकाले टीकटकमा ४० मिनेट मात्र बिताउन पाउने, चीनदेखि सुरु भयो नयाँ नियम

    बेइजिङ। लोकप्रिय चिनियाँ एप टीकटकले अब बालबालिकाले आफ्नो प्लेटफर्मलाई ४० मिनेट मात्र चलाउन पाउने प्रावधान ल्याउने भएको छ । सो एपले ‘युथ मोड’ राखेर बालबालिकालाई बढी समय बिताउन नदिने जनाएको छ ।

    विश्वव्यापीरुपमा यो प्रावधान लागू गर्ने तयारीमा टीकटक रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । तर, यसको सुरुआत चाहिँ आफ्नै मुलुक चीनदेखि टीकटकले थालेको छ ।

    अबदेखि चीनमा १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टीकटक चलाउन पाउने छैनन् । कम्पनीले बालकालिकालाई रातको १० बजेदेखि विहान ६ बजेसम्म टीकटक हेर्नसमेत नपाउने बनाएको छ ।

    साथै टीकटक अकाउन्ट खोल्दा आधिकारीक विवरण राख्न कम्पनीले आग्रह समेत गरेको छ । कम्पनीले प्रयोगकर्ताको उमेरका आधारमा उक्त फिचर ‘अन’ गरिदिने छ र अभिभावकले पनि फिचर एक्टिभेट गर्नसक्ने छन् ।

    बालबालिकालाई टीकटकमा नियन्त्रण चिनबाट सुरु गरिएको छ । साथै यो फिचर अन्य देशमा पनि उपलब्ध गराउने कम्पनीले बताएको छ ।

  • यती एअरलाईन्स २४ वर्षमा प्रवेश, कल सेन्टरको शुभारम्भ

    यती एअरलाईन्स २४ वर्षमा प्रवेश, कल सेन्टरको शुभारम्भ

    काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो हवाई सञ्जाल भएको वायुसेवा कम्पनी यती एअरलाईन्स आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान शुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।

    नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एअरलाईन्सले आफ्नो भगिनी संस्था तारा एअरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए ।

    ‘यती एअरलाईन्स र तारा एअरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार सङ्घसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले यती एअरलाईन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दर्छौ’, सिईओ रिमालले भने ।

    २४ वर्षे यात्रासंगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसंग रहेको ५ वटा विमान बिक्री गरेको हो ।

    यती एअरलाईन्सले २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाईन्सले जनाएको छ ।

    एअरलाईन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झटरहीत यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एअरलाईन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाईमा पर्न सफल भएको बताए ।

    ‘विरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु महानुभाव, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखि सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याई सन्तुष्ट सेवा प्रदान गर्दै आएका छौँ’, उने भने ।

    यती एअरलाईन्स नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल एअरलाईन्स हो । वातावरण संरक्षणमा यती एअरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाको भनाइ छ ।

    यतीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायहरुको सहकार्यमा सगरमाथा सफाई अभियानमार्फत् सगरमाथा लगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर एअरलिफ्ट गरिसकेको छ । यस्तै, विभिन्न जिल्लामा दुई लाख ७२ हजार ६०० वटा विरुवा वृक्षारोपण गरिसकेको छ । वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथामिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ ।

    हवाई र पर्यटनमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि यतीको विशेष योगदान रहेको छ, विशेषगरी क्रिकेट, फुटबल र गल्फमा पनि यती एअरलाईन्सको प्रत्यक्ष योगदान रहेको छ ।

    कोभिड–१९ महामारीको चुनौतीमा समेत उच्च सुरक्षा सतर्कता अपनाउँदै प्रवाह गरेको सेवा प्रशंसनीय छ । अहिलेको अवस्थामा आफू स्वस्थ रही संक्रमणलाई नियन्त्रण राख्न सफल भयौं भने मात्र हाम्रा उद्देश्य र मूल्य मान्यता जोगाउन सफल हुनेछौं भन्ने मान्यताले गर्दा लाखौं यात्रुहरुलाई सुरक्षित यात्रा गराउन सफल भएका कम्पनीले जनाएको छ ।

    आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सृजना गर्ने, चार्टर उडान मार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याई हवाई सेवालाई परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने तथा सामाजिक उत्तरदायित्वहरुलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताए ।

    यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।

  • २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

    २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

    लन्डन । २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ।

    ‘स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा हामी विश्वस्त छौं’ घोषणापत्रमा भनिएको छ।

    सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सीप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ।

    समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष बद्री केसी, महासचिव हेम राज शर्मा, दक्षिण कोरियाका देवी बस्नेत लगायतका वक्ताले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए। पत्रकार भगीरथ योगी तथा दिनेश ज्ञवालीले अंग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए।

    सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सन्चालन गरिएका थिए। एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा। सञ्जीव सापकोटाले सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।

    बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसारभर छरिएका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए। उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए।

    कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा। मन कुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि, एनआरएनए एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर लगायतले शुभकामना दिएका थिए।

    सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा। पदम सिम्खडा तथा डा। बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए। सम्मेलनले​ एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय समेत गरेको छ ।

  • काठमाडौं उपत्यकामा सोमबार ३९६ जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा सोमबार ३९६ जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९८, ललितपुरमा ६३ र भक्तपुरमा ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ५,५३२ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३,१२२, भक्तपुरमा ९७० र ललितपुरमा १,४४० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा १० वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।