फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थालेका छन् ।

आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक रहेको मेयर शाक्यले बताए । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । त्यही कारण केही दिनदेखि पूर्णरूपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्रीसँगको भेटपछि शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्‍यौं । उहाँले त्यहीँबाट सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’

प्रमुख शाक्यले प्रधानमन्त्रीले बोलाएर भन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैंले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको भन्दै बाटो निर्माण हुनेबितिक्कै तुरुन्तै फोहोर उठाउन सकिने बताए । ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो ।’

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो ।

शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराएका छन् । सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन । जसका कारण उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *