जिल्लाका प्रतिनिधिसहित गणेश ठगुन्ना पुगे गुण्डु, केन्द्रीय सचिवमा दाबी

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना दार्चुला जिल्लाका प्रतिनिधिसहित अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

पार्टीको ११ औं महाधिवेशन नजिकिँदै गर्दा दार्चुलाका पूर्वसांसद तथा पूर्वमन्त्री समेत रहेका ठगुन्नासहित केन्द्रीय सदस्य हरदेव जोशी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत दार्चुलाका नेता कार्यकर्ताहरु गुण्डु पुगेका हुन् ।

अध्यक्ष ओलीसँगको भेटमा दार्चुलामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको विषयमा रिपोर्टिङ गर्नुका साथै दार्चुलाका प्रमुख माग मुद्दाहरुको बारेमा ध्यानाकर्षण गराइएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए ।

खासगरी पदाधिकारीसहित केन्द्रीय कमिटीमा दार्चुलाबाट तीन/चार जना नेताहरुलाई जिम्मेवारी प्रदान गरिनुपर्ने, दार्चुलामा मात्र बसोवास रहेका व्याँसी सौका समुदायबाट भूगोल मिलाउने क्रममा महाधिवेशन प्रतिनिधिमा प्रतिनिधित्व नभएकाले प्रतिनिधि मनोनीत गर्नुपर्ने माग उनले गरे । दार्चुलाबाट केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य हरदेव जोशी, जिल्ला कमिटी पूर्वअध्यक्ष रामदत्त जोशीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरिएको छ ।

यस्तै ठगुन्नाले आगामी महाधिवेशनबाट पार्टी पदाधिकारीका लागि आफ्नो दावेदारी पनि प्रस्तुत गरे । उनले पार्टीको केन्द्रीय सचिवमा आफ्नो दाबी रहेको ओलीलाई सुनाएका थिए । उनले भने, ‘महाविधेशन सन्दर्भमा एमाले दार्चुला एकढिक्का छ । लामो राजनीतिक अनुभव, योगदान र त्यागका आधारमा म पदाधिकारीको स्वभाविक दावेदार हुँ । दार्चुलाले व्यक्तिगत स्वार्थका लागि केही पनि माग्ने गरेको छैन । नेकपा माले हुँदै एमालेमा निरन्तर विभिन्न भूमिकामा रहि भूगोलमा सफलतापूर्वक काम गरेको अनुभव म सँग छ ।’

ओलीलाई भेट्न गएका सबै निर्वाचित प्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको संवेदनशीलतालाई समेत ध्यानाकर्षण गराउँदै दार्चुलाले पदाधिकारीसहित केन्द्रीय कमिटीमा सन्देशमूलक सहभागिता सुनिश्चित गरिनुपर्ने माग गरेका छन् ।

विद्यार्थी जीवनदेखि नेकपा माले हुँदै एमालेको राजनीतिमा होमिएका ठगुन्ना २०५० सालदेखि पटक पटक जिल्लाको पार्टी नेतृत्व सम्हाल्दै अहिले पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छन् ।

दार्चुला, कैलाली जिल्ला इन्चार्ज, सुदूरपश्चिम प्रदेश सहइन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका ठगुन्ना २०७१ सालदेखि केन्द्रीय राजनीतिमा सक्रिय छन् ।

२०५४ सालमा दार्चुला जिल्ला विकास समिति सभापति, २०७० सालमा दोस्रो संविधानसभा सदस्य, २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।

विकासवादी नेताको छवि बनाएका ठगुन्नाले राजनीतिक अनुभव र कार्यसम्पादनका आधारमा पार्टीको केन्द्रीय पदाधिकारीमा आफ्नो दावेदारी रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *