रास्वपासँग थप एकता वार्ता नगर्ने उज्यालो नेपालको निष्कर्ष, राजनीतिक बेइमानी गरेको आरोप

काठमाडौं । रास्वपा र उज्यालो नेपालबीच पार्टी एकताको च्याप्टर क्लोज भएको छ ।

उनेपाको विहीबार बसेको केन्द्रीय समितिको ५औँ बैठकले रास्वपाले ‘राजनीतिक बेइमानी’ गरेको ठहरसहित अहिलेलाई एकताको सम्भावना सकिएको निचोड निकालेको हो ।

एक केन्द्रीय सदस्यले भने, ‘एकपछि अर्को शर्त थपेर रास्वपाले आफ्नो दुनोमात्र सोझ्याउने काम गरेको बैठकमा सबैजनाको एकमत रह्यो । अब अहिलेलाई कुनै छलफल नहुने पछि वार्ता गर्नैपरे सबै जिम्मेवारसहित कुलमानलाई नै अघि सार्ने अण्डरस्ट्याण्डिङ बनेको छ ।’

त्यो बैठकमा कुलमान पनि सहभागी थिए । रविले इन्गेज गरेर अलमल्याएको मात्र ब्रिफिङ गरेको स्रोत बताउँछ ।

‘रविले पछिल्लो समय जेलमा मान्छे बोलाउँदै भेट्ने र मिडिया ट्रायल गर्ने काम गरे । हामीलाई उपयोगमात्र गर्ने नीति लिएर भित्रभित्रै संगठन विस्तारमा लागे । वैकल्पिक शक्ति भन्ने तर अर्कालाई वैकल्पिक बन्न नदिनेतिर लागे । सहमति नजिक पुग्दा एकपछि अर्को अड्को थाप्ने काममात्र गरे’, ती नेताले दाबी गरे ।

अन्तिमसम्म प्रयास गर्दा पनि रास्वपा सहमतिमा नआएको निष्कर्षसहित अहिले उनेपा संगठन विस्तार अभियानमा होमिएको छ । कर्णाली हिँडेका नेता जिताराम लामाले अहिलेलाई संवाद प्रक्रिया स्थगित भएको स्वीकारे ।

उनले भने, ‘पछि पुन: कुराकानी हुनसक्छ । अहिलेलाई स्थगित भएको छ । हामी पार्टी निर्माण र संगठन विस्तारमा लागिसक्यौँ ।’

रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र पुकार बम साथै उनेपाबाट गणेश घिसिङ, तारा जोशी र जिता लामालगायतका नेता निरन्तर संवादमा थिए ।

उनेपाका नेता रवि लामिछानेलाई नै सभापति मानेर साथै घण्टी चिन्ह मानेरै एकता गर्न कुलमान तयार भएको बताउँछन् । तर, घिसिङले कार्यवाहक सभापतिमा अडान नछोडेको रास्वपा नेताको दाबी छ ।

‘कुलमानजी हदैसम्म लचक हुनुभएको थियो । रविजीलाई सभापति स्वीकार गरेर आफू सहसंयोजक बस्न तयार हुनुभएको हो । रविजी सभापति र कुलमानजी भावी प्रधानमन्त्री बन्ने गरी एकता गर्न रास्वपाकै थुप्रै साथीहरू पनि तयार हुनुहुन्थ्यो । तर, सहमति नजिक पुगेर पनि रास्वपाभित्रैबाट बिथोल्ने काम भयो’, उनेपाका नेता भन्छन् ।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले एकता गर्न नचाहेको ती नेताको आरोप छ । एकता गर्दा कुलमान हाबी हुने र आफू ओझेलमा पर्ने चिन्ताले गर्दा उनले सहमति अड्काएको उनले दाबी गरे ।

रास्वपाका एक नेता भन्छन्, ‘कुलमानजीलाई उपसभापति दिन पहिल्यैबाट तयार थियौँ । तर उहाँहरूबाट केही समयका लागि भए पनि कार्यवाहक नै चाहिन्छ भन्ने खालको कुरा आयो । एकताका नाममा पार्टी बुझाउन हामी तयार भएनौँ ।’

रवि जेलमा रहेकाले कुलमानले चुनावसम्म पार्टी कमाण्ड गर्न खोजेको ती नेताको जिकिर गरे । तर, चुनावी तालमेल हुनसक्ने सम्भावना भने जीवितै रहेको उनको भनाइ छ ।

काठमाडौंका मेयर बालेन साहले पनि रवि र कुलमानलाई मिल्न सुझाव दिँदै आफ्नो समर्थन रहने बताएका थिए । उनी आफैँ कुनै कमिटीमा नरहने आफ्ना कोर टीमका केही मान्छे पठाएर समर्थनको मेसेज दिने बताइसकेका थिए । कुलमान पनि बालेनले साथ दिनेमा विश्वस्त देखिन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *