
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ महाधिवेशनमा छुट्टै राजनीतिक र सांगठानिक प्रस्ताव ल्याउने भएका छन्। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै छुट्टै दस्ताबेज ल्याउने तयारी गरेका हुन्।
अध्यक्ष केपी ओलीसहित संस्थापन पक्षका नेताहरूले यो महाधिवेशनबारे नीतिबारे कुनै छलफल नहुने, नेतृत्व चयन मात्रै गर्ने बताइरहेका बेलामा पोखरेलले फरक कित्तामा उभिएका छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा अध्यक्षमा ओलीसँग भिड्न लागेका पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘महाधिवेशन समक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्ताबेज निकट भविष्यमा सार्वजनिक गर्नेछु । सबैको साथ र सुझावको अपेक्षा गर्दछु ।’
वक्तव्यमा उल्लेख भएको उनको भनाइ जस्ताको तस्तै-
भ्रष्टाचारको अन्त्य र सुशासनको पवित्र माग सहित भदौ २३ गते नवयुवाहरूको आह्वानमा भएको आन्दोलनप्रति सम्मान व्यक्त गर्दछु । तर भदौ २३ गतेकै दिउँसोबाट जेनजीहरुको आन्दोलनमा भएको घुसपैठ तथा भदौ२४ गते भएको विध्वंसको घोर निन्दा गर्दछु । दुवै दिनका घटनाका बारेमा निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषी उपर कारबाही गर्न माग गर्दछु ।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले हाम्रो सामुन्ने संविधानलाई लिकमा ल्याउनुपर्ने र लोकतान्त्रिक प्रक्रिया पुनर्बहाली गर्नुपर्ने अभिभारा आइलागेको छ । विघटित प्रतिनिधिसभाको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उचित फैसला हुने अपेक्षा गर्दछु । सँगै, सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनावको वातावरण निर्माण गरोस् भन्ने मेरो आग्रह छ ।
देशको यस्तो असाधारण परिस्थिति बिचमा यही २०८२ मंसिर (२७-२९) मा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ । गत २०८२ भदौ (२०-२२) मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको राजनीतिक तथा सांगठानिक प्रतिवेदन र विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हामीलाई स्मरण नै छ । तर भदौ २३ पछिको अवस्था र २२ भदौ अघिको परिस्थितिमा ठुलो भिन्नता आएको हामीले बुझ्नु पर्दछ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक छ ।
मार्क्सवादीहरू वस्तुवादी हुने गर्दछन्। मनोगत आग्रहले क्षणिक सन्तुष्टि त दिन सक्ला, तर वस्तुगत यर्थाथ बिनाको निष्कर्षले झन ठुलाे सङ्कट तथा अन्योलमा पुर्याउँछ । तसर्थ सबैलाई वस्तुवादी भएर परिस्थितिलाई बुझ्न र सही निष्कर्षका साथ नेपाली समाजलाई दिशानिर्देश गर्न आग्रह गर्दछु ।
मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गरेको हाम्रो पार्टी नेकपा (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा विधान महाधिवेशन पश्चात् उत्पन्न असाधारण परिस्थितिको बस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न, नयाँ चुनौतीको सामना गर्न सक्षम हुने गरी पार्टी सङ्गठनको पुनर्गठन गर्न, बलियो राष्ट्रिय शक्ति निर्माणमा सही तरिकाले अगुवाइ गर्ने नेतृत्व निर्माण गर्न उच्च विवेक, अटल आत्मविश्वास र क्रान्तिकारी आशावादका साथ सक्रिय सहभागिताका लागि सिङ्गो पार्टीपंक्तिलाई आह्वान गर्दछु ।

Leave a Reply