
काठमाडौं । कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य सुरू गरेको ९ दिन बितिसक्दा पनि छापिएका लाइसेन्स यातायात व्यवस्था विभागमा आइपुगेका छैनन् । मन्त्रीले दैनिक करिब ५०० वटा लाइसेन्स छाप्ने बताए पनि अति आवश्यक परेका सेवाग्राहीहरू कहिलेबाट वितरण हुन्छ भनेर अझै अलमलमा छन् ।
यातायात व्यवस्था विभागमा नयाँ लाइसेन्स प्रिन्ट कहिलेबाट हुन्छ भनेर सोध्न आउने सेवाग्राहीलाई विभागले ‘१० दिनपछि हुनसक्छ’ भनेर पठाइरहेको छ । केन्द्रलाई छपाइका लागि दिएको ५०० लाइसेन्स विभागमा नआएपछि कहिलेबाट आउने हो भन्ने विभागका कर्मचारी नै अलमलमा रहेका छन् ।
छापिएका लाइसेन्सको ल्याब टेस्ट गरिरहेको जनाएको छ । नेपालको ल्याब टेस्टले नपुगेमा विदेश नै ल्याब टेस्टका लागि पठाउने केन्द्रले बताएको छ ।
मन्त्रीलाई लगेर लाइसेन्स प्रिन्टको आरम्भ गरेको केन्द्रले अहिले लाइसेन्सको ल्याब टेस्टको लागि काठमाडौं युनिभर्सिटी (केयू) मा पठाएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले नेपाल प्रेससँग बताए ।
उनले भने, ‘हामीले छपाइ गरेको लाइसेन्स केयूको ल्याब टेस्टको लागि पठाएका छौँ । नयाँ लाइसेन्सको टिकाउपनको जाँचका लागि विश्वविद्यालयको ल्याबमा पठाएका हौँ । प्रिन्टिङ कार्य सुरु भए पनि छापिएका नमुनाहरूको गुणस्तर जाँचका लागि पठाइएको हो ।’
ढुङ्गानाका अनुसार, आवश्यकता परेको खण्डमा विदेशमा पनि ल्याब टेस्टको लागि पठाउन सकिनेछ ।
‘प्रिन्टिङको टिकाउपन हेर्नका लागि धेरै वटा मापदण्डमा जाँच गरिनेछ । परीक्षणको क्रममा लाइसेन्सलाई पानीमा राखेर डुबाउने, तेलमा राखेर डुबाउने, डीप फ्रिजरमा राखेर समेत जाँच गरिनेछ । परीक्षणको मुख्य उद्देश्य लाइसेन्स कति वर्षसम्म नखुइलिने वा टिक्ने भन्ने कुराको ग्यारेन्टी गर्नु हो,’ उनले थपे ।
मन्त्रीले सार्वजनिक रूपमा स्याम्पल देखाएको अघिल्लो दिन नै प्रिन्ट गरेर परीक्षणका लागि पठाइएको थियो । हाल यातायात व्यवस्था विभागबाट थप डाटा उपलब्ध गराउन माग गरिएको ढुङ्गानाले बताए ।
यातायात व्यवस्था विभागले भने पहिलो चरणमा केन्द्रलाई दिएको ५०० प्रति लाइसेन्स छपाइ भएर नआएकाले थप तथ्याङ्क (डाटा) नदिएको जनाएको छ । आईटी डाइरेक्टर केशव खतिवडाले सुरुको चरणमा दिएको ५०० लाइसेन्स छपाइ भएर नआएकाले थप तथ्याङ्क दिन बाँकी रहेको बताए ।
उनले भने, ‘विभागले केन्द्रलाई सुरूमा ५०० लाइसेन्स छपाइको लागि तथ्याङ्क दिएको थियो । तर, करिब एक हप्ता बित्दा पनि त्यो लाइसेन्स छपाइ गरेर हामीलाई दिएको छैन ।’
खतिवडाका अनुसार, विभागको प्रणालीमा भएको तथ्याङ्क सिधै केन्द्रको प्रणालीले पढ्न (रिड गर्न) नसक्ने भएकाले त्यसलाई छुट्टै तथ्याङ्क बनाएर दिनुपर्ने हुन्छ । उनले भने, ‘पहिलो लटमा छपाइको लागि दिएको लाइसेन्स छापिएर आएपछि हामी पुनः अरू तथ्याङ्क दिने छौँ ।’
३० लाख लाइसेन्स छाप्न बाँकी
अति आवश्यक परेकालाई कहिलेबाट लाइसेन्स छपाइ गरेर वितरण गर्ने भन्ने टुङ्गो छैन । केन्द्रले लाइसेन्स छपाइ गरेर दिएपछि विभागले अति आवश्यक परेकालाई लाइसेन्स वितरण गर्ने बताएको छ ।
वैदेशिक रोजगारीमा जाने, विदेश अध्ययनका लागि जाने, मिसनमा जाने र नेपालमा पनि अति आवश्यक भएकालाई विभागले तत्काल लाइसेन्स प्रिन्ट गरेर दिन खोजेको थियो । हाल करिब ३० लाख लाइसेन्स प्रिन्ट गरेर दिन बाँकी रहेको छ ।
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बिच जी-टु-जी सम्झौता गरेर लाइसेन्स छाप्ने सहमति भएको थियो ।
सुरक्षण मुद्रण केन्द्रले प्रति लाइसेन्स छाप्दा कर बाहेक १९५.१७ पैसा शुल्क तोकेको छ । यातायात मन्त्रालयले लाइसेन्स छपाइको लागि २७ करोड ६० लाख बजेट दिएको थियो । त्यो बजेटले करिब १२ लाख लाइसेन्स छपाइ हुनेछ । ३० लाख लाइसेन्स छाप्न बाँकी भए पनि अहिले बजेट पर्याप्त नभएकाले १२ लाख मात्रै छपाइ गर्ने विभागको तयारी छ ।
विभागले छाप्दै आएको लाइसेन्समा भएको १९ वटा फिचरमध्ये ४ वटा फिचर मुद्रण केन्द्रको छपाइमा हुने छैनन् । विभागले छापेको लाइसेन्समा प्वाल जस्तो देखिने, छाम्दा अक्षर भएको अनुभव हुने र लेखाइमा फरकपन थियो । अब त्यो केन्द्रले छापेको लाइसेन्समा हुने छैन । यस्तै, चिप्सको ठाउँमा क्यूआर कोड प्रयोग हुनेछ ।

Leave a Reply