राष्ट्रिय राजनीतिमा ओलीको स्थान विशिष्ट रहेको रेशम लामाको भनाइ

बनेपा। एमाले केन्द्रीय सदस्य रेशम लामाले राष्ट्रिय राजनीतिक परिदृश्यमा एमाले र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट स्थान बनाएको बताएका छन्। काभ्रे जिल्ला कमिटीद्वारा बनेपामा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै लामाले त्यसो भनेका हुन् ।

सीमासम्बन्धी विवाद, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय कूटनीतिका संवेदनशील मुद्दामा ओलीले सधैँ राष्ट्रिय हित सर्वोपरि राख्ने नीति अपनाउँदै आएका भन्दै लामाले उनका निर्णयलाई पार्टी कार्यकर्ताले केवल राजनीतिक रणनीति नभई नेपालको स्वतन्त्रता र दीर्घकालीन विकासको ग्यारेन्टीको रूपमा मूल्याङ्कन गर्ने बताए । ‘एमालेले लामो समयदेखि नेपाली राजनीति र विकास प्रक्रियामा स्थिरता कायम गर्दै आएको छ’, उनले भने, ‘पार्टीको संगठनात्मक क्षमता, नीति कार्यान्वयन र अनुशासनले यसलाई केवल राजनीतिक संस्था नभई राष्ट्रिय नीतिनिर्माणमा प्रभावशाली शक्तिको रूपमा प्रस्तुत गरेको छ।’

ओलीको नेतृत्वमा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय दृष्टिकोणले आधुनिक पूर्वाधार, स्वावलम्बी अर्थतन्त्र र राष्ट्रिय एकताको भावना मजबुत बनाएको उनको भनाइ थियो। ‘चुनौतिका बाबजुद पनि राष्ट्रहितमा अडान लिन सक्ने क्षमता उनको प्रमुख पहिचान मानिन्छ’, उनले भने ।

एमालेको राष्ट्रवाद केवल भावनात्मक नारामात्र नभई यसले नेपालका स्वाधीनता, समानता र दीर्घकालीन विकासमा आधारित रणनीतिक दृष्टिकोण प्रस्तुत गरेको लामाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *