लामो समय रोकिएको धुलिखेल-खावा सडक निर्माण आजदेखि, पहिलो चरणमै कालोपत्रे

सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डको ४ किलोमिटर भागको निर्माण कार्य आजदेखि पुनः सुरु हुने भएको छ। लामो समयदेखि रोकिएको सडक निर्माण कार्य नयाँ ठेक्का सम्झौतासँगै अघि बढ्ने भएको हो।

२२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतासहित अघि बढाइएको अघिल्लो ठेक्का समयमा काम सम्पन्न नहुँदा गत फागुनमा डिभिजन सडक कार्यालय भक्तपुरले सम्झौता रद्द गरेको थियो। त्यसपछि नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको हो।

‘हामीले ठेक्काको सम्पूर्ण प्रक्रिया पूरा गरेर आजदेखि साइट ठेकेदारलाई हस्तान्तरण गरेका छौं,’ डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले भने।

नयाँ सम्झौता अनुसार सीएम एवान काली कन्स्ट्रक्सनले ३१ करोड ५६ लाख रुपैयाँमा चार किलोमिटर सडक निर्माणको जिम्मा पाएको छ । सम्झौता अनुसार एक वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रमुख योगेशका अनुसार प्रारम्भिक चरणमै कालोपत्रेको काम सुरु गरिनेछ। ‘कालोपत्रे गरेपछि धुलो उड्न कम हुन्छ र अन्य संरचनात्मक काम गर्न पनि सहज हुन्छ,’ उनले भने, ‘चैतदेखि कालोपत्रेको काम सुरु हुन्छ।’

उनका अनुसार यसपटक सम्झौतामा अघिल्ला समस्या दोहोरिन नदिन कडा शर्तहरू राखिएका छन्।

‘अघिल्लो ठेकेदारबाट ठूलो धोका पाएका थियौं, त्यसैले यो पटक जिम्मेवारी र गुणस्तर दुवैमा सम्झौतामा कडाइ गरिएको छ,’ प्रमुख योगेशले बताए।

अघिल्लो पटक गौरी पार्वती निर्माण प्रालिसँग २०७९ चैत १९ गते सम्झौता गरिएको थियो। ३० करोड ७८ लाख रुपैयाँमा २२ महिनाभित्र काम सम्पन्न गर्ने सहमति भए पनि काम नगरेपछि २०८० चैतमा ठेक्का तोडिएको थियो।

ठेक्का तोडिएपछि डिभिजन सडक कार्यालयले अस्थायी रूपमा सडकमा गाभ्रेल भराइ गरी सुधार गरेको थियो, जसका कारण यस वर्ष यात्रुहरूलाई आवागमनमा केही सहजता भएको थियो ।

प्रमुख योगेशका अनुसार अहिले सम्झौतामा एक वर्षको समय तोकिए पनि त्यसअघि नै काम सक्ने गरी योजना बनाइएको छ । ‘कार्यालय र ठेकेदार दुबै पक्ष यसलाई समयमै सम्पन्न गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *