
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको निशानामा परेका प्रहरी सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श प्रदान गर्नका लागि एक दिने कार्यशाला आयोजना गरिएको छ ।
फ्री अ गर्ल डिटिजेट सुफासेक परियोजनाको सहयोगमा शक्ति समूहले काठमाडौं उपत्यकाभित्रका ३५ जना प्रहरी सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श उपलब्ध गराएको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीसँगको समन्वय तथा सहकार्यमा उपत्यकाभित्रका महिला तथा बालबालिका सँग सम्बन्धित विभागमा कार्यरत ३५ जना प्रहरीकर्मीलाई आघातपछिको सहजीकरण (ट्रमा इन्फर्म्ड र सेल्फ केयर) परामर्श दिइएको आयोजकले बताएका छन् ।
जेनजी आन्दोलनपछि कार्यक्षेत्रमा खटिएका प्रहरी सुरक्षाकर्मी र उनीहरूमा परेको मानसिक स्वास्थ्यको अवस्थालाई मध्यनजर गर्दै ट्रमा इन्फर्म्ड र सेल्फ केयर सम्बन्धी अभिमुखीकरणको सहजीकरण मनोचिकित्सक विपिन थापाले गरेका थिए ।
जेनजी आन्दोलपछि प्रहरीले सामना गरेको आघात,चिन्ता,डर लगायतको सामना गर्ने उपाय र यस्तो अवस्थाबाट बाहिर आउने तथा हेरचाहको बारेमा जानकारी गराएका थिए ।
शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले प्रहरी सुरक्षाकर्मीको मनोबल उच्च बनाउने उपायबारे अभिमुखीकरण आयोजना गरिएको बताइन् ।
शक्ति समूहकी प्रशासन प्रमुख सुशीला खकुरेलले सञ्चालन गरेको अभिमुखीकरणकोबारे परियोजना संयोजक गरिमा श्रेष्ठले प्रस्तुति दिएकी थिइन् ।
यस्तोखाले अभिमुखीकरणले फिल्डमा खटिएका प्रहरीको तनाव घटाएर मनोबल उच्च राख्ने कार्यक्रमका सहभागी प्रहरीले बताए । सो कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका अधिकृत शालिग्राम शर्माले धन्यवाद मन्तव्य दिएका थिए ।


Leave a Reply