
हेटौँडा । तीन चिरामा विभाजित नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अन्तिम समयमा ९ वाम दलको एकतामा सरिक त भए । तर, उनका खासखास मान्छे अलमलमा मात्रै परेनन्, धेरैजसो घनश्याम भुसालको समूहमा र केही एमाले फर्किने तयारीमा छन् ।
एमाले फर्किने समूहको नेतृत्व गरेकी रामकुमारी झाँक्री आफैँ पनि पहिला झलनाथ समूहकै भनेर चिनिन्थिन् । यद्यपि, झाँक्री, किसान श्रेष्ठसहित एमाले फर्किने समूहमा खुलेका नेताहरूलाई घनश्याम समूहले रोकिरहेको उक्त पक्षले भन्ने गरेको छ ।
झाँक्री समूहले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर एमाले फर्किएको औपचारिक घोषणा गर्दैछ । त्यसैले घनश्याम समूहले झाँक्रीसँग कति जान्छन् भन्ने कुराको निक्र्यौल भएपछि मात्रै आफूपक्षका नेता, कार्यकर्तालाई खुलाउने नीति अपनाएको छ ।
शनिबार रातिको बैठकमा सहभागी घनश्याम पक्षका एक नेताले भने, ‘झलनाथ एमालेमा जानुभएको भए घनश्यामसँग २०-२२ जनामात्रै हुने रहेछन् ।’ उनका अनुसार खनाल माओवादीसहितको एकतामा गएपछि उनका मान्छे न एमालेमा जान सके, न त उनीसँगै गए । अरु त अरु, लामो समय झलनाथतिर रहेका नेता घनेन्द्र बस्नेतदेखि वामदेव गौतमको साथमा रहेका हरि पराजुली पनि अहिले घनश्याम समूहमै छन् ।
एमाले फर्किनका लागि १८ गते मध्यरात खनाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका थिए । त्यसबेला उनको र अहिले भुसालको पक्षमा रहेका एक नेताका अनुसार खनालले आफ्नो समूहका नेताहरूको व्यवस्थापनको ग्यारेण्टी माग गरेका थिए । तर, ओलीले स्वयं खनालको हकमा कुनै समस्या नरहेको, अन्यका हकमा पार्टीमा आइसकेपछि ‘उचित व्यवस्थापन’ गर्ने भनेका थिए ।
खनालले कम्तीमा एकजनालाई पदाधिकारी बनाउन माग गरेपछि कुरा नमिलेको हो । उनीसँगै गुण्डु गएका ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘तपाईं यसै पनि पार्टीको पूर्वअध्यक्ष, त्यसमाथि भूमिगतकालकै महासचिव, त्यसैले तपाईं स्वतः मभन्दा पछिको हैसियतमा भइहाल्नुहुन्छ, अरुको कुरा अहिले नगर्नुस्, आएपछि गरौँला ।’
यसरी खनालले ज-जसका लागि व्यवस्थापनको ग्यारेण्टी माग गरेका थिए, ती सबै नेता अहिले भुसाल समूहमा छन् । उनीहरू शनिबार रातिको जुम मिटिङमा सहभागी थिए । खनालले जीवनराम श्रेष्ठ, हरि पराजुली, नरेश शाही, उर्वादत्त पन्तलगायतका नेताको व्यवस्थानबारे कुरा चलाउन चाहेका थिए ।
ओलीले ‘अहिले नभन्नुस्, आएपछि भइहाल्छ’ भनेर कुरा टुंग्याएका थिए । उक्त भेटमा पार्टी, संगठनबाहेकका केही व्यक्तिगत कुराकानी पनि भएको ती नेताले बताए ।
भुसाललाई संयोजक तोकिएको जुम मिटिङका मुख्य सहभागीमध्ये अधिकांश झलनाथका भनेर चिनिने नेता थिए । जुम आईडीमा जोडिनेको संख्या ९३ थियो । त्यसमध्ये ६७ जनाले खुलेरै भुसालको नेतृत्वमा अगाडि जानुपर्ने राय दिएका थिए । कतिपयका आईडी खुलेका थिएनन्, मोबाइलको मोडलमात्रै एक्सपोज गरेका थिए ।
बैठकमा सहभागी ती नेताले नेपाल प्रेसलाई मुख्यमुख्य सहभागीको नाम यसप्रकार दिएका छन्-
घनेन्द्र बस्नेत
घनश्याम भुसाल
डा.विजय पौडेल
हरि पराजुली
जीवनराम श्रेष्ठ
उर्वादत्त पन्त
धर्मराज निरौला
रमा निरौला
महेश रेग्मी
भीम बस्नेत (शिक्षकका पूर्वअध्यक्ष)
भवानी खापुङ
दामोदर अर्याल
लक्ष्मण लम्साल
शेरबहादुर केसी
सीता पौडेल
भीमबहादुर बस्नेत (ज्येष्ठ कम्युनिष्ट मञ्च)
सुष्मा राई
जानुका श्रेष्ठ
निलम ढुंगेल
नन्द बञ्जाडे
चिरञ्जीवी भट्टराई
हर्कमान तामाङ
नरेश शाही
धनबहादुर कार्की (भूपूसेना-प्रहरी)
मोहन न्यौपाने
नीलमणि बराल
जलशेर राई
कृष्ण भुसाल
गौतम राई
डीएस महता
अमृतसागर केसीसहित ।

Leave a Reply