
काठमाडौं । राष्ट्रिय युवा संघले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउनेमा संलग्न भनेर पक्राउ परेका धुम्बाराही क्षेत्रका टोले गुण्डा सोनम थेबे युवा संघको सदस्य भनी गरिएको प्रचारको खण्डन गरेको छ ।
युवा संघका प्रवक्ता निरोज पौडेलले वक्तव्य जारी गर्दै उनी राष्ट्रिय युवा संघको कुनै पनि तह वा जिम्मेवारीमा नरहेको प्रष्ट पारेका छन् । उनी र उनको परिवार ताप्लेजुङमा पहिलेदेखि नै कांग्रेसमा क्रियाशील रहेको बताइएको छ ।
पौडेलले वक्तव्यमा भनेका छन्- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउने घटनासँग सम्बन्धित भई, सामाजिक सञ्जालमार्फत सोनाम थेबे राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता भएको भनी गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ।यस सन्दर्भमा स्पष्ट पार्न चाहन्छु कि सोनाम थेबे राष्ट्रिय युवा संघ नेपालको कुनै पनि तह वा जिम्मेवारीमा रहेका व्यक्ति होइनन्।
थेबे महाराजगन्ज, धुम्बाराही र कपन क्षेत्रका पटके अपराधी हुन् । उनले विभिन्न व्यवसायीलाई धम्क्याएर असुली गर्ने र आफू चक्रे मिलन समूहको भन्ने गरेका छन् । तर चक्रेले उनी आफूसँग सम्बन्धित नरहेको बताउने गरेका छन् ।
जेनजी आन्दोलनको दोस्रो दिन उनी जेनजी अभियन्ता रविकिरण हमालसँगै देखिएका थिए । प्रहरीले संकलेन गरेको भिडिओमा उनी रविकिरणसँग हेलमेट लगाएर उभिएका छन् ।

Leave a Reply