भेडा–च्याङ्ग्राको व्यापार सुस्त, व्यापारी चिन्तित

बझाङ । दशैं–तिहारको अवसर पारेर बझाङका भेडा–च्याङ्ग्रा पोखरा हुँदै काठमाडौंका बजारसम्म पुगेका छन् ।

भेडा–च्याङ्ग्रा बिक्रीका लागि पोखरा पुगेका बझाङको साइपाल गाउँपालिकाका घुरन बोहराले भने, ‘हामी पोखरा एक ट्रक भेडा–च्याङ्ग्रा ल्याएर आएको एक हप्ता भयो, तर अहिलेसम्म बिक्री भएको छैन । अघिल्ला वर्षहरूमा ल्याएको भेडा–च्याङ्ग्रा तुरुन्तै सकिन्थ्यो, यसपटक भने अझै थन्किएको छ ।’

अघिल्ला वर्षहरूमा हिमाली जिल्लाबाट आएको भेडा–च्याङ्ग्रा भन्दै पोखरा र आसपासका उपभोक्ताले मरिहत्ते गरेर खरिद गर्ने गर्थे । तर यस वर्ष बझाङसहित विभिन्न हिमाली जिल्लाबाट ठुलो सङ्ख्यामा भेडा–च्याङ्ग्रा भित्रिएपछि व्यापारीहरूले ल्याएको बथान अझैसम्म बिक्री हुन नसकेको बताए ।

व्यापारीहरूका अनुसार उत्पादन घट्दा गाउँमै भेडा–च्याङ्ग्रा पाउन मुस्किल भएको छ । बोहराले भने, ‘हामी गाउँगाउँबाट बटुल्छौँ, तर खोज्दा पनि पाइन्न । नपाएपछि महँगो मूल्यमा खरिद गरेर ल्याउनुपर्छ । अहिले बजारमा उपभोक्ता मूल्य घटाउन खोजिरहेका छन्, हामी व्यापारी मारमा छौँ ।’

भेडा–च्याङ्ग्राको मूल्य यसपालि ह्वात्तै बढेको छ । व्यापारीहरूको अनुसार यातायात खर्च महँगो हुँदा थप समस्या भएको छ । गाडी भाडा असाध्यै महँगो छ । आफैँ घाटा खाएर कसरी सस्तोमा बेच्ने रु भेडा–च्याङ्ग्रा बिक्रीका लागि काठमाडौं पुगेका साइपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र धामीले केजीको ९ सयदेखि हजार रुपैयाँसम्ममा बेच्नुपरेको बताए ।

बजारमा आपूर्ति बढी भएको र उपभोक्ताले मूल्य घटाउन दबाब दिँदै गर्दा आफूहरू मारमा परेको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *