
काठमाडौं । युएइमा जारी युनिटी कपमा नेपालले पहिलो म्याच वेस्ट इन्डिजलाई हराउँदै शानदार सुरुवात गर्यो । बाँकी दुई खेलमा कम्तिमा एक जित निकाले नेपालले टेस्ट राष्ट्रविरुद्ध सिरिज विजयको अभूतपुर्व उपलब्धी हासिल गर्ने छ ।
भोली र पर्सी हुने दुई म्याचमा नेपाली खेलाडीहरु उच्च मनोबलमा साथ उत्रिने छन् । तर, अहिले टीमका प्रमुख दुई बलरहरु सन्दीप लामिछाने र नन्दन यादवको विषयमा अन्योल देखिएको छ । फास्ट बलर नन्दन हिजो भएको पहिलो म्याचमा घाइते भएकाले १ ओभर मात्रै बलिङ गरे । सन्दीप भने टिममै परेनन् । बाँकी म्याचमा यी दुवै खेलाडीहरु उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने चासो र चिन्तामा समर्थकहरु छन् ।
प्रमुख प्रशिक्षक स्टुअर्ट लले नन्दनलाई ‘रिस्क’ लिएर बाँकी दुई म्याच नखेलाउने संकेत गरेका छन् । उनले हिजो पोस्ट म्याच प्रिजेन्टेसनमा बोल्दै नन्दनलाई विश्राम दिइन सक्ने बताए ।
उनले भने, ‘हामीले चाँडै टि २० विश्वकप छनोट खेल्नुपर्ने छ । उक्त प्रतियोगिताका लागि नन्दन एकदमै महत्वपूर्ण खेलाडी हुन् । त्यसैले वेस्ट इन्डिजविरुद्धको बाँकी खेलमा उनी छुट्न सक्छन् ।’
बुझिएअनुसार नन्दन हिजोको खेलअघि पूर्ण फिट थिएनन् । तर, पनि उनलाई टिममा राखिएको थियो । उनले आफ्नो प्रभाव पनि देखाए, पहिलो ओभरमै विकेट लिएर । तर, बलिङ गर्दै गर्दा उनी समस्यामा देखिएका थिए । बल्लतल्ल ओभर पुरा गरे पनि उनले थप बल फ्याँक्न सकेनन् ।
प्रशिक्षक ल भन्छन्, ‘उनी डेथ ओभरका लागि एकदमै राम्रा बलर हुन् । हामीलाई विश्वकप छनोटमा उनको उपस्थिति अपरिहार्य छ । अहिले हामी उनलाई जोगाउने पक्षमा छौं ।’
स्पिनर सन्दीप लामिछानेबारेमा भने प्रष्ट भएको छैन । प्रशिक्षक लले सन्दीपले व्यक्तिगत समस्याका कारणले नखेलेको बताएका थिए । तर, के समस्या हो भन्ने आफूलाई पनि राम्ररी थाहा नभएको उनको भनाइ छ ।
उनले भने, ‘सन्दीप केही व्यक्तिगत समस्यासँग जुझिरहेको छ, त्यसैले नखेल्ने निर्णय गर्यो । मलाई योभन्दा बढी थाहा छैन । यदि तपाइं जान्न चाहनुहुन्छ भने उसैलाई सोध्नु राम्रो हुन्छ ।’
सन्दीपले भने केही पनि बताएका छैनन् । उनले आज दिउँसो नेपालले वेस्ट इन्डिजलाई हराएकोप्रति खुशी व्यक्त गर्दै सबैलाई बधाइ दिएका छन् । तर, आफू नखेल्नुको कारणबारे मौनता साँधेका छन् ।
यस विषयमा क्यानका पदाधिकारीहरुसँग नेपाल प्रेसले सम्पर्क गर्दा पनि कुनै पनि जानकारी पाउन सकिएन । यद्यपि, क्यानले चाँडै औपचारिक धारणा ल्याउने बुझिएको छ ।नेपाली टिमले म्याच रेफ्रीलाई बुझाएको १५ सदस्यीय स्क्वाडमा नै सन्दीपको नाम नहुँदा कतै उनी प्रतियोगिताबाटै बाहिरिएका हुन् कि भन्ने आशंका पनि बढेको छ । यद्यपि, क्यानका म्यानेजर विनोद दास भने हिजो दिइएको १५ सदस्यको सुची एक म्याचका लागि मात्रै भएको बताउँछन् ।
यूएईमा रहेका उनले नेपाल प्रेससँग भने, ‘हामीसँग १६ जना खेलाडी छन्, तर १५ जनाको नाम मात्रै दिनुपर्ने प्रावधान रहेको छ । सम्भवतः सन्दीपले नखेल्ने पहिल्यै तय भएकाले उनको नाम स्क्वाडमा नराखिएको हुन सक्छ ।’

Leave a Reply