
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक स्रोत–साधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने जानकारी गराइन् । उनले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सरोकारवालासँग निरन्तर परामर्श र सहकार्य गरिने बताउँदै आयोगलाई तयारीका सम्पूर्ण कार्य तत्काल अघि बढाउन आग्रह गरिन् ।
त्यस क्रममा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने मतपेटिकासहितका सामग्री मौज्दातमा रहेको जानकारी दिँदै अभाव हुने सामग्री स्वदेशमै उत्पादित वस्तुलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक ढंगले खरिद गरिने बताए । उनले राजनीतिक दल, नागरिक समाज तथा सञ्चारजगतसहित सबै सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । साथै निर्वाचन सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइदिन सरकारसँग आग्रह गर्दै आयोगलाई नेपाल सरकार, राजनीतिक दल र आम नागरिकको सहयोगका अपेक्षा रहने विश्वास व्यक्त गरे ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो । आयोगको तर्फबाट आयुक्त डा।जानकी तुलाधर र सगुन शमशेर जबरा तथा सचिव महादेव पन्थ सहभागी थिए ।

Leave a Reply