
काठमाडौं। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्र ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक भएको पोस्टरमा अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्।
यसअघि सार्वजनिक भएको यो चलचित्रको पोस्टरमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गरिएको थियो। यसपटक भने नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ।
चलचित्रको कथावस्तुबारे निर्माणपक्षले अहिलेसम्म केही खुलाएको छैन। परान ुघराना गोल्छा समूहु र ुप्रिज्मा समूहुको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको चलचित्र हो। दीपक आचार्यकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।
चलचित्रमा अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ।
यो चलचित्र कार्तिक १४ अर्थात अक्टोबर ३१ देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।

Leave a Reply