श्रद्धेय पूर्वराष्ट्रपतिज्यू,
अभिवादन ।
यो पत्र तपाईँसम्म नपुग्न सक्छ, तर यसको मर्म सिङ्गो जनतामा गुन्जिएको आवाज हो । म तपाईँलाई आज राजनीतिक दलको पार्टीको कार्यकर्ता, कुनै प्रचारक भएर होइन एउटा आम नागरिकको हैसियतले लेख्दै छु । तपाईँको विगतप्रति सम्मान छ, वर्तमानप्रति चिन्ता छ र भविष्यप्रति आग्रह छ, ‘इतिहास बनाउने तपाईँ, गरिमा गुमाउने पात्र नबन्नुहोस् ।’
हामीले जानेको तपाईँको परिचय एक संघर्षशील नेता, एक ऐतिहासिक व्यक्तित्व हो । तपाईँ नेपाली राजनीतिमा एउटा असाधारण पात्रको रूपमा परिचित हुनुहुन्छ । महिला आन्दोलनको जगबाट उठेर राजनीतिमा प्रवेश गर्नुभयो, एमालेको महिला नेतृत्वमा स्थापित हुनुभयो, तपाईँका राजनीतिक भाषण, सांगठानिक क्षमता र विचार स्पष्टतामा सबैले तपाईँलाई सशक्त नेतृत्वको रूपमा उभ्यायो ।
तपाईँ सधैँ स्व. मदन भण्डारीसँग जोडिएर मात्र चिनिनुभएन, आफ्नो आत्मछाँयाबाट बाहिर निस्कन सक्ने सामर्थ्य राख्नुभयो । मदनको निधनपछि तपाईँले न राजनीतिलाई त्याग्नुभयो, न जनताको साथ छोड्नुभयो । बरु बढी निष्ठाका साथ अघि बढ्नुभयो । यही साहसले तपाईँलाई २०७२ सालको संविधान जारी भएपछि नेपालको पहिलो महिला राष्ट्रपति बनायो ।
देखे–भोगे अनुसार केपी शर्मा ओली तपाईँको राजनीतिक यात्रा र उचाइको प्रमुख सहयोगी हुनुहुन्छ भन्न हामीलाई कुनै सकस छैन । कसैले नचाहे पनि तपाईँको उचाइसँग जोडिएका पात्र हुन् केपी शर्मा ओली । तपाईँ स्वयं बुझ्नुहुन्छ कि, तपाईँको राजनीतिक यात्रामा सहयोगी मात्र होइन, सारथीका रूपमा कमरेड ओली जोडिएको भूमिकालाई नजरअन्दाज गरियो भने न्याय हुँदैन ।
तपाईँलाई ओलीले साथ दिनुभयो भन्ने मात्रै हैन, तपाईँले पनि ओलीलाई साथ दिनुभयो । तपाईँहरू एक अर्काको सहयोगले नै नेकपा (एमाले) पार्टी आजको देशको मुख्य शक्तिको रूपमा बलियोसँग स्थापित भयो । व्यक्तिगत रूपमा पनि तपाईँ दुईमध्ये एक जना राष्ट्रप्रमुख बन्न सफल हुनुभयो भने, अर्को सरकार प्रमुख हुनुभयो । तपाईँ दुई नेताकै साहसपूर्ण कदमका कारण एकताका नाममा गुमिसकेको एमाले सर्लक्क सुरक्षित राख्न सम्भव भयो । संसदको विघटनलाई नियम, कानूनले के भन्छ ? त्यो अर्को कुरा थियो । मुख्य कुरा एमाले जोगाउनु थियो, तपाईँहरूकै साहसका कारण जोगियो भन्नलाई कुनै आइतबार कुर्नुपर्ने छैन ।
वि.स. २०७२ मा एमाले—माओवादीको सहमति र एमालेको सशक्त प्रस्तावमा तपाईँ राष्ट्रपतिमा पुग्नुभयो । यो परिस्थित तयार गर्नका लागि पनि ओलीले अहम भूमिका खेलेको कुरा हामीले बिर्सेका छैनौँ । ओलीको अडान र एमालेजनको सद्भाव नजोडिएको भए यो निर्णय हुने अवस्था थिएन । ओली र एमालेको प्रष्ट अडान र भरोसाका कारण त्यो निर्णय भएको हो ।
राजनीतिक रूपमा तपाईँ जति योग्य हुनुहुन्थ्यो, त्यति नै जब्बर रूपमा नेपाली राजनीतिमा पुरुष वर्चस्व हाबी थियो, अद्यापि छ । तर, ओलीले तपाईँप्रति देखाएको विश्वासले तपाईँलाई त्यो गरिमा दिलायो, जुन तपाईँ आफैँले पनि भनिरहनुहुन्छ, ‘मदन भण्डारीको सपना साकार गर्ने यात्रामा म राष्ट्रप्रमुख बनेँ ।’
ओलीको प्रधानमन्त्रीत्वकालमा तपाईँको र उहाँको सम्बन्ध निकै घनिष्ठ देखियो । हिजोको दिनमा कैयौँ पटक राष्ट्रपतिको कार्यालय ‘बालुवाटारको राजनीतिक सहयोगी केन्द्र’ जस्तै बन्यो भन्दै सत्तोसराप गर्नेले अहिले तिनै ओलीको विरुद्ध तपाईँलाई ‘प्रयोग’ गर्ने उद्यममा छन् । मदन भण्डारी फाउन्डेसनको उछित्तो काढ्नेहरू अहिले त्यही मञ्चमा रमाइरहेका छन् ।
यस्तो किन भयो होला ?
कसले कुन स्वार्थका लागि यो सबै गरिरहेको छ भन्ने कुरा तपाईँले बुझ्नुभएको छैन त म भन्दिनँ, तर हामीजस्ता सामान्य नागरिकले समेत याद राखेको यो विषय तपाईँलाई किन महसुस भइरहेको छैन ?
तपाईँ सक्रिय राजनीतिमा फर्कने नाममा कतै एमालेलाई नै कमजोर बनाउन त ‘प्रयोग’ भइरहनुभएको छैन ? हिजो नेकपा फुटाउँदै एमाले चोइट्याउँदा गौरव गर्नेहरू जो थिए, तिनै गौरव गर्नेमध्येका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले, ‘बमबार्ड दी हेडक्वार्टर’ गरे झैँ एमालेमाथि आक्रमण गर्न सफल भएको भन्दै बोलेको भिडियो अहिले पनि अर्काइभमा सुरक्षित छ । तपाईँको राजनीतिक सक्रियता माथिको समर्थन र उक्साहटलाई अहिले फेरि त्यस्तै प्रकृतिको ‘बमबार्ड’ का लागि छर्रा तयार हुनसक्ने पो हो कि भनेर चिन्ता गर्ने कि नगर्ने ?
सामान्य नागरिकले पनि बुझ्ने कुरा के हो भने, राष्ट्रपतिको गरिमा राजनीतिक खिचातानी भन्दा धेरै माथि छ । विधिमा राजनीति होला, तर राष्ट्रपतिको पद राजनीतिक होइन, संविधानको संरक्षक हो । संविधानको धारा ६१ (५) ले भन्छ, ‘राष्ट्रपति राष्ट्रको एकताको प्रतीक हुनुहुनेछ ।’
यो पद केवल कार्यकालको लागि होइन, यो व्यक्तिको सम्पूर्ण जीवनलाई समेट्ने स्थायी सम्मान हो । तपाईँ राष्ट्रपतिको हैसियतले सेनाको परमाधिपति बन्नुभयो । प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त गर्नुभयो । अदालत र संविधानको बीचमा सन्तुलन कायम राख्नुभयो । सबै संवैधानिक निकायका प्रतिवेदन तपाईँले नै बुझ्नुभयो ।
यी सबै भूमिका तपाईँले लिइरहँदा देशले तपाईँलाई उदार, संयम र गम्भीर राष्ट्रपति भनेर सम्झिरहेको छ । त्यसैले अब तपाईँ फेरि कुनै एउटा दलको सदस्यताका लागि यत्तिको उक्साहटमा लागिरहनुभएको छ ?
अहिले तपाईँ विभिन्न सार्वजनिक कार्यक्रममात्र होइन, राजनीतिक फोरममा पनि देखिन थाल्नुभएको छ । राजनीतिक कार्यकर्ता र नेतासँग भेटघाट, नेताप्रति प्रशंसा, आफूलाई राष्ट्रप्रमुख बनाएको दलका प्रमुखको टिप्पणी र राजनीतिक धारणा दिने प्रयास भइरहेका छन् । के यो राष्ट्रप्रमुख भइसकेको मान्छेको जीवनका लागि सुहाउँदो बाटो हो ?
पूर्वराष्ट्रपतिहरू विश्वभर सेवा निवृत्त भएपछि शिक्षा, अनुसन्धान, मानव सेवा वा राष्ट्रका लागि मार्गदर्शन दिने भूमिकामा रहन्छन् । उनीहरू फेरि दलगत राजनीतिमा फर्केर चुनाव लड्दैनन्, पक्ष लिँदैनन् । किनकि, उनीहरू व्यक्तिको होइन, राष्ट्रको प्रतिनिधि बन्न सफल भएका हुन्छन् । केही देशका दृष्टान्त देखाएर तपाईँ किन नफर्किने ? ओलीको सेखी झार्नुपर्छ भनेर उकास्नेहरूबाट नै तपाई उकासिन मिल्छ ?
तपाईँ राजनीतिमा फर्कनुभयो भने अझै पेचिला प्रश्नको सामना गर्नुपर्ने हुन्छ ।
राजनीतिमा कुन हदसम्मको तल झर्ने गरिन्छ भन्ने कुरा त तपाईँले पनि पक्कै देख्नुभएको र भोग्नुभएकै होला । हामी तपाईँको गरिमा सस्तो भएको हेर्न चाहदैनौँ, सक्दैनौँ । राजनीतिप्रतिको तपाईँको मोहले तपाईँले बोकेको राष्ट्रपतिको गरिमामा धक्का लाग्छ कि लाग्दैन, कृपया एक्लै बसेर ठन्डा दिमागले सोच्नुहोला ।
तपाईँसँग मेरा थप प्रश्न पनि छन् –
– सक्रिय राजनीतिमा तपाईँ आउँदा तपाईँको विगतका निर्णयप्रति निष्पक्षताको सन्देह बढ्छ कि बढ्दैन ?
– तपाईँले एमाले समर्थक राष्ट्रपति भनेर गरिएको आलोचना पुष्टि हुन्छ कि हुँदैन ?
– तपाईँ संविधानको संरक्षण गर्ने होइन, उपयोग गर्ने पात्रमा रूपान्तरित भएको दाग लाग्छ कि लाग्दैन ?
– यो केवल तपाईँको नाममाथिको असर होइन, भविष्यका राष्ट्रपतिको नैतिक उदाहरणमाथिको खतरा हो कि होइन ?
एउटा आदर्शको रूपमा मानेको राष्ट्रप्रमुखले सामान्य नागरिकलाई स्पष्ट भनिदिनुस्, तपाईँ आफ्नो गौरवमय इतिहासलाई बचाउन चाहनुहुन्छ कि विवादको भूमरीमा रुमल्लिन ?
मलाई लाग्छ, मानिसको सबैभन्दा बलियो सल्लाहकार ऊ स्वयं हो । आफ्नो कमजोरी र बलियो विशेषताको जानकार र साक्षी पनि स्वयं हो । आफूले गरिरहेको कर्मको विश्लेषक पनि स्वयं नै हो । त्यसैले अनुरोध गर्दछु, आफैँमाथि निर्मम समीक्षा गरिदिनुहोला । तपाईँले जसरी राष्ट्रपतिको गरिमा सम्हाल्नुभयो, त्यसले हामी आम जनता, अझ विशेष गरी महिलालाई प्रेरणा दियो । आज त्यो गरिमा तपाईँ आफैँले राजनीतिक लालचका लागि प्रयोग गर्नुभयो भने त्यो इतिहासका लागि खतरनाक त छँदैछ, आम महिलालाई नेतृत्वमा पुग्नुअघि प्रश्न गर्ने बाटो बन्छ कि बन्दैन ?
मान्नुस् कि, तपाईँ एमालेमा फर्किनुभयो, आवधिक निर्वाचन लड्नुभयो र कुनै एउटा मामुली पार्टीको नेतासँग चुनाव हार्नुभयो, पार्टीको चुनावमा हार्नुभयो । सोच्नुस्, त्यतिबेला तपाईँलाई सारा दुनियाँले के भन्ला ? जितेको राजनीति र पाएको उपल्लो सम्मान सबै धूलिसाथ हुन्छ कि हुँदैन ?
त्यसैले तपाईँ सबैको मार्गदर्शक हो, निरन्तर बनिरहनुहोस् बन्ने अपेक्षा राख्न सक्छौँ । तपाईँ राजनीतिमा नफर्किनुहोस् भन्ने अधिकार त हामीलाई हुन्न । त्यो तपाईँको व्यक्तिगत स्वेच्छा र नैतिकताको सवाल हो । तर, तपाईँले गर्ने राजनीति अब मार्गदर्शनको हुनुपर्छ नयाँ पुस्तालाई बाटो देखाउने, मूल्य र आदर्शको राजनीति सिकाउने स्तरको हुनुपर्छ भन्न हामी सक्छौँ ।
अन्त्यमा, तपाईँ एकपटक सोच्नुस् त, लोकसेवाका वस्तुगत प्रश्नमा, हाजिरी जवाफका प्रश्नमा कैयौँ पछाडिसम्म पनि सोधिने प्रश्न हो, ‘नेपालको प्रथम महिला राष्ट्रपति को हुन् ?’ त्यसको एक मात्रै सही जवाफ हुनेछ, विद्यादेवी भण्डारी ।
यो क्षण, उपलब्धि र गौरव केवल तपाईँका लागि मात्रै प्राप्त भएको छ । अब कोही पनि देशको पहिलो महिला राष्ट्रपति हुने छैन । त्यसैले सगरमाथाको उँचाइभन्दा पनि अग्लो गरिमालाई मानिसहरूले अपमान गर्ने क्षणतिर लैजान हुँदैन । निकै कम मात्रै मानिसको जीवनमा आउने यो दुर्लभ कीर्तिमानलाई बचाउनुस् । सारा देशको राष्ट्रको अभिभावक बन्नुस् । कुनै अमुक दल वा कुनै गुटको नेता बन्ने रहर र मोह त्याग्नुस् । यो तपाईँको इज्जत र गरिमाका लागि सुहाउने विषय हुनै सक्दैन ।
विनम्रतासहित,
राधेश्याम खतिवडा
चितवन
(लेखक नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष र हाल बागमती प्रदेशका महासचिव हुन् ।)

Leave a Reply