काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र विरविक्रम शाह हिजो २२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरे । उनले जन्मदिनको उत्सव तामझामले मनाएको कुनै तस्विर/भिडिओ सार्वजनिक भएन, बरु सार्वजनिक भयो हृदयन्द्रको एउटा भ्लग ।
Hri BB Shah नामको फेसबुक आइडी (सम्भवतः हृदयन्द्रको आधिकारिक) मा उनको भिडिओ हिजो अपलोड भएको हो । भिडिओलाई निकै रुचाइएको छ । राजावादीले मात्र नभएर गणतन्त्रवादीहरुले पनि सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । कमेन्ट बक्समा हृदयन्द्रको सरलता र विनम्रताको प्रशंसा गरिएको छ । कतिपय चाहिँ भिडिओको भ्वाइसओभरमा हृदयन्द्रले अंग्रेजीमा बोलेकोप्रति असन्तुष्ट देखिए ।
कहिल्यै मिडिया नआएका र सामाजिक सञ्जालमा पनि खासै गतिविधि नदेखिने पूर्वयुवराजप्रति जनचासो निकै छ । उनले आफ्नो पिता पारसभन्दा विपरित शालिन छवि बनाइरहेका छन् । अहिलेसम्म कुनै पनि विवाद वा स्क्यान्डलमा परेका छैनन् ।
युवायुवतीहरुमा हृदयन्द्रको निकै क्रेज छ तर, उनको वास्तविक स्वभाव र बोलिबचनबारे धेरैलाई थाहा छैन । १५ मिनेट २३ सेकेन्डको यो भिडिओले उनलाई जनमानसमा चिनाउन धेरथोर मद्दत गर्न सक्छ । भिडिओमा उनी जुम्लाका केही स्थानीय युवाहरुसँग मित्रवतरुपमा गफगाफ गरिरहेका देखिन्छन् ।
भिडियाे
पूर्व नवयुवराज हृदयन्द्र गत जेठ महिनामा आफ्नी आमा हिमानीसँग जुम्लाको भ्रमणमा गएका थिए । अमेरिकामा बसेर पढिरहेका उनी छुट्टिमा नेपाल आउँदा यो भ्रमणको चाँजो मिलेको हो । भ्रमणका केही गतिविधि हृदयन्द्रले आफ्नो भिडिओमा समेटेका छन् ।
पृष्ठभूमिमा एउटा जुम्ली गीतसँगै हृदयन्द्र एउटा नदिको बीचमा ढुंगामा बसिरहेको दृष्यबाट भिडिओ सुरुवात भएको छ । त्यसपछि हृदयन्द्रले भ्रमणबारे थोरै चर्चा गरेका छन् ।
उनी भन्छन्, ‘म अहिले जुम्लामा छु, जुन कर्णालीमा पर्छ । नेपालमा धेरै घुम्नलायक ठाउँमध्ये यो एउटा हो । यो यात्रामा मैले धेरै नयाँ कुराहरु सिक्ने मौका पाएँ ।’
स्थानीयहरुसँग हृदयन्द्र निकै आत्मीय रुपमा प्रस्तुत भएका छन् । उनी एउटा बेकरी सपमा छिर्छन् र मिल्क कफी अर्डर गर्छन् । कफी पिउँदै गर्दा बेकरी सपका सञ्चालकले उनलाई सोध्छन्– हजुरलाई कस्तो लाग्यो जुम्ला ?
हृदयन्द्रले मुस्काउँदै जवाफ दिन्छन्– राम्रो लागिरहेको छ, नाइस… फोटो चैं खिच्न पाएको छैन ।
भित्तामा टाँसिएको एउटा पोस्टर देखाउँदै हृदयन्द्र सोध्छन्– यो एनेमी (कार्टुन) तपाईंले नै टाँस्नुभएको हो ?
युवक हाँस्दै भन्छन्– हो, म हेर्ने गर्छु ।
हृदयेन्द्र– म पनि हेर्ने गर्छु ।
अर्को पोस्टर देखाउँदै युवक– यो वान पिसको पनि पहिलेदेखि हेर्ने भएर राखेको । तपाईं पनि हेर्नुहुन्छ ?
हृदयन्द्रले मुन्टो हल्लाउँछन् ।
युवकले आफू सानोदेखि नै काठमाडौं बसेको र व्यवसायकै लागि जुम्ला आएको जानकारी दिए । उनले बेकरीका सबै आइटम आफैँले बनाउने गरेको पनि बताए र हृदयन्द्रलाई चिज केक चाख्न अफर गरे । हृदयन्द्रले स्वीकारे ।

चिज केक चाख्दै हृदयन्द्रले भने : मिठो रहेछ । मेरो फेभरेट हो ।
निस्कने बेलामा युवकले आफ्नी श्रीमती र बच्चासहित हृदयन्द्रसँग सेल्फी खिचे ।
उनीसँगको भेटबारे हृदयन्द्रले भिडिओमा भनेका छन्, ‘धेरै युवाहरु रोजगारीका लागि विदेशिन्छन्, उहाँबाट केही सिक्नुपर्छ, जो व्यवसायकै लागि काठमाडौंबाट जुम्ला आउनुभयो ।’

हृदयन्द्र जुम्लामै रहेको कर्णाली प्राविधिक शिक्षालयको भ्रमणमा पनि गएका थिए । यो शिक्षालय हृदयन्द्रका जिजुबुवा स्व. राजा महेन्द्रले २०३७ सालमा स्थापना गरेका हुन् । त्यहाँ सिभिल इन्जिनियरिङ पढिरहेका उपाध्याय थरका युवकसँग पनि हृदयन्द्रको साक्षात्कार भएको थियो । उपाध्यायले हृदयन्द्रलाई शिक्षालयको भ्रमण गराउँदै सबै जानकारीहरु दिए ।

‘नेपालमा सबैभन्दा धेरै सरकारी जागिर खानेहरु यही शिक्षालयबाट उत्पादन भइरहेको छ,’ उपाध्यायले भने । हृदयन्द्रले प्रशन्नता व्यक्त गरे ।
हृदयन्द्र एउटा अग्लो डाँडामा रहेको गुम्बामा पुग्छन् । त्यहाँ एक स्थानीय युवतीसँग उनको मिठो भलाकुसारी भएको थियो । उनीहरुबीचको संवाद यस्तो छः
युवती : नमस्कार, हजुरलाई जुम्लामा स्वागत छ ।
हृदयन्द्रः धन्यवाद । तपाईंको नाम ?
युवतीः पञ्चकली बुढा । अनि हजुरको नाम ?
हृदयन्द्रः हृदयन्द्र वीरविक्रम शाह ।
पञ्चकलीः नाम चै. सुनेको हो । एकदमै खुशी लाग्यो, हजुरसँग भेट्न पाएँ । आजै आउनुभएको हो ?
हृदयन्द्र :आजै आएको हो ।
पञ्चकली : प्लेनमा आउनुभएको हो ?
हृदयन्द्र : हो
पञ्चकली : प्लेनमा हल्लाएन र ?
हृदयन्द्रः एकदम हल्लायो । अलि लास्टतिर । अलि टर्न भएपछि हल्लाउँदो रहेछ ।
पञ्चकलीले माथि डाँडाबाट कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान, काञ्जिरोवा हिमाल लगायत विभिन्न स्थानहरु देखाइन् । अनि उनले हृदयन्द्रलाई अनायास प्रस्ताव गरिन् : म हजुरलाई थोरै गीत गाएर सुनाउन सक्छु ?
हृदयन्द्रले पनि सहजै स्वीकारे । पञ्चकलीले मिठो स्वरमा कर्णालीको भाका गुन्गुनाइन्, हृदयन्द्र पुलकित देखिए । गीत सकिएपछि उनले ‘क्ल्याप’ पनि गरे ।
पञ्चकलीले सोधिन्– कस्तो लाग्यो ? बुझ्नुभयो र ?
हृदयन्द्रः निकै मिठो, तपाईंले आफैं लेख्नुभएको हो र ?
पञ्चकलीः शब्द आफैं लेखेको लय चै. होइन ।
हृदयेन्द्र : राम्रो गाउनुहुँदो रहेछ ।
पञ्चकलीः हजुरसँग भेट हुँदा गाउन मन लाग्यो ।

पञ्चकलीले आफ्नो घर भएको स्थान इशाराले देखाइन् । आएको बेला जुम्लाको सबैतिर घुम्न सुझाव दिइन् । हृदयन्द्रले तस्विरहरु खिचे ।
छुट्टिने बेलामा पञ्चकलीले फ्याट्ट सोधिन्ः हाम्रो नेपाल ककहिले समृद्ध हुन्छ होला ?
हृदयन्द्रः मान्छेहरु सबैले राम्रो काम गरे भने, सबै कुरा राम्रो भयो भने हुन्छ होला । अलिकति हामी पनि लाग्नुपर्यो । आँट गर्नुपर्यो । अनि हुन्छ होला ।
पञ्चकलीः हजुर नेपालमै बस्नुहुन्छ कि ?
हृदयन्द्र : म फिर्ता आउँछु, ब्याचलर मात्रै सक्काउन गएको हो ।
छुट्टिनुअघि पञ्चकलीले हृदयन्द्रसँग सेल्फी खिचिन् । दुवैले एकअर्कालाई अभिवादन गरेर विदा भए ।


Leave a Reply