डोटीका कुनै पनि पालिकामा बनेनन् आधारभूत अस्पताल

डोटी । डोटीको केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालका लागि भवन निर्माण गर्न २०७७ साल मंसिर १५ गते सिलान्यास भयो । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको गाउँपालिकाका पुष्पराज भट्टले जानकारी दिए ।

भ्याट सहित आठ करोड १५ लाख ७८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र केएस–तेडी–मनिलेक जेभीबीच २०७८ साल असार २३ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले कुल सम्झौता रकमको १८ प्रतिशत भुक्तानी लिएको छ ।

गाउँपालिकाले उक्त ठेक्का म्याद तीन पटक थप ग¥यो । तर भवन निर्माणमा कुनै प्रगति देखिएन । पछिल्लो पटक थप भएको म्यादको अवधी पनि गत असार २३ गते समाप्त भएको छ ।

गाउँपालिकाले अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले लिएको पेश्की फिर्ता गर्न पत्राचार गरिएको जानकारी दिएको छ । निर्माण कार्यमा अझै ढिलासुस्ती भएमा कानुन बमोजिम प्रक्रिया अगाडि बढाईने गाउँपालिकाको भनाई छ ।

यो समस्या के आई सिंह गाउँपालिकाको मात्रै हैन, जिल्लाका सात स्थानीय तहमा बन्नु पर्ने आधारभूत अस्पताल अझै बनेका छैनन् । नेपाल सरकारले तीन सय ९६ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण गर्ने भन्दै २०७७ साल मंसिर १५ गते एकसाथ सिलान्यास गरेको थियो ।

सोही दिन डोटीका सात स्थानीय तह (दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका बाहेक) मा अस्पतालको सिलान्यास भएको थियो । तर कुनै पनि स्थानीय तहमा हालसम्म आधारभूत अस्पताल सञ्चालनमा आएको छैन ।

बोगटान फुड्सिल गाउँपालिकाको वडा नं. २ केदारआखडामा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पतालको भवन पनि अल्पत्रै छ । भवन निर्माणका लागि गाउँपालिका र सिएम–प्रसन्न जेभीबीच २०७८ साल असार १८६ गते सम्झौता भएको थियो ।

२०७९ साल असार २९ गते निर्माण भईसक्नु पर्ने भवनको हालसम्म १५.६३ प्रतिशत मात्रै काम भएको छ । भ्याट सहित १६ करोड ८५ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएकोमा निर्माण व्यवसायीले हालसम्म पेश्की दुई करोड ९० लाख लिईसकेका छन् ।

गाउँपालिकाले पटक पटक ताकेता गर्दा समेत निर्माण व्यवसायीले लापरवाही गरेको गाउँपालिकाका अध्यक्ष कमलवहादुर गड्सिला बताउँछन् ।

बडीकेदार गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल स्थापना गर्नका लागि २०७७ साल मंसिर १५ गते सिलान्यास भएको भवनको हालसम्म ४५ प्रतिशत मात्रै काम भएको छ ।
भवन निर्माणका लागि धुलिखेल एलबी एण्ड एबी जयश्री बालाजी जेभीसंग २०७८ साल असोज ४ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार भवनको निर्माण कार्य २९ मंसिर २०७९ मा सम्पन्न भईसक्नु पर्ने थियो तर निर्माण भएन । ठेक्का सम्झौताको म्याद २०८० पुष मसान्तसम्म थप भएपनि काम भने ३५ प्रतिशत मात्रै काम गर्यो ।

उक्त भवन निर्माणका लागि गाउँपालिकाले तीन पटक म्याद थप गरेको छ । पछिल्लो पटक थप गरेको म्यादको अवधी कात्तिक मसान्तसम्म रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

भ्याट सहित सात करोड २६ लाख १९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म निर्माण व्यवसायीले कुल ठेक्का सम्झौताको ५७ प्रतिशत रकम भुक्तानी लिएको गाउँपालिकाले उपलव्ध गराएको सूचनामा उल्लेख छ ।

जोरायल गाउँपालिकाको आधारभूत अस्पतालको दशाँ पनि उस्तै छ । २०८० साल असार मसान्तमा निर्माण भईसक्नु पर्ने यस गाउँपालिकाको १५ शैयाको अस्पतालको भवनको हालसम्म ११ प्रतिशत मात्रै काम भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले दिएको जानकारी अनुसार भवन निर्माणका लागि वराह डेभलपर्स प्रालि (साविकको राजेन्द्र निर्माण सेवा) संग २०७८ साल साउन १९ गते सम्झौता भएको थियो ।

भ्याट सहित ११ करोड २१ लाख ५८ हजार रुपैयाँमा सम्झौता भएकोमा हालसम्म एक करोड ९६ लाख रुपैयाँ निर्माण व्यवसायीलाई पेश्की दिईएको छ । भवन निर्माणका लागि पटक पटक म्याद थप गर्दा समेत निर्माण व्यवसायीले काम गरेको छैन । पछिल्लो पटक थप भएको म्याद समेत साउन १९ गते समाप्त हुँदैछ, तर काम हुने कुनै सम्भावना छैन ।

२०८१ साल साउन ३० गते सम्पन्न हुनु पर्ने सायल गाउँपालिकाको आधारभूत अस्पतालको भवनमा हालसम्म भवन निर्माण स्थलमा माटो सम्याउने काम वाहेक अरु केही भएको छैन ।
गाउँपालिकाले दिएको जानकारी अनुसार उक्त भवन डौड स्वास्थ्य चौकी नजिक वन्नु पर्ने थियो ।

१० शैयाको आधारभूत अस्पताल सञ्चालन हुने गरी निर्माण हुने भनिएको उक्त भवनको टिडिआर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । भ्याट सहित आठ करोड ४६ लाखमा निर्माण गर्ने भनी २०७८ साल साउन ३० गते ठेक्का सम्झौता भई निर्माण व्यवसायीलाई ८४ लाख रुपैयाँ पेश्की समेत लिएका थिए ।

ठेक्का सम्झौताको म्याद समाप्त भई दुई पटक म्याद थप गर्दा समेत कार्य प्रगति नभएको गाउँपालिकाले जानकारी दिएको छ । पछिल्लो पटक थप गरिएको म्याद समेत असार मसान्तमा सकिएको छ ।

शिखर नगरपालिकाको १५ शैयाँको अस्पतालको भवन पनि निर्माण भएको छैन । २०८० असार १४ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने शर्त सहित २०७८ साल बैशाख २१ गते नगरपालिका र निर्माण व्यवसायी कम्पनी केएस कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको थियो ।

१० करोड ३० लाख सात हजारमा सम्झौता भएको उक्त भवनमा हालसम्म ९० प्रतिशत काम भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र शाहले जानकारी दिए । उनले पछिल्लो पटक म्याद थप भएको सम्झौता अवधी असार मसान्तमा सकिएको वताए । भवन निर्माणका लागि स्रोत व्यवस्थापन नभएकाले निर्माणमा ढिलाई भएको नगरपालिकाको भनाई छ ।

पूर्वीचौमा भवन बन्यो तर अस्पताल सञ्चालन भएन

पूर्वीचौकी गाउँपालिकामा भने आधारभूत अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाका सूचना अधिकारी गगन भण्डारीले दिएको सूचना अनुसार १० शैयाको अस्पतालका लागि भवन निर्माणको कार्य सम्पन्न भएपनि अस्पताल भने सञ्चालनमा आएको छैन । दक्ष जनशक्ति र उपकरणको अभावले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग जनशक्ति र आवश्यक सामग्रीहरु सहयोगका लागि माग गरेका छौं, उक्त सामग्री प्राप्त भएमा अस्पताल चाँडै सञ्चालनमा आउनेछ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *