भंगालमा पत्रकारसँग विद्या भण्डारीकाे डेढ घन्टा- आवाज नरम, सन्देश गरम

काठमाडौं । आफ्नो सदस्यता र पार्टीमा फर्किएको घोषणापछि एमाले र राष्ट्रिय राजनीतिमै तरंग ल्याइरहेको बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले आज भंगालस्थित निवासमा आफ्ना कुरा थप प्रष्ट पारेकी छन् ।

राष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टीमा फर्काउन हुन्छ कि हुन् भनी च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा गरमागरम बहस भइरहेको बेला उनले पत्रकारमाझ खुलेर र स्पष्टसाथ आफ्ना कुरा राखिन् । उनकाे आवाज जति नरम थियाे, अभिव्यक्तिले दिएकाे सन्देश त्यति नै कडा ।

आफू राजनीतिमा फर्किने कुरा अहिलेको नभएको भन्दै पार्टीमा नेतृत्वको ‘बेमौसमी बाजा’ बजाइएको भण्डारीको टिप्पणी छ ।

‘पहिले त महाधिवेशनको मिति तोकिनुपर्ने होला । अध्यक्षका आकांक्षी को-को हुन् ? न मिति फिक्स भएको छ न केही छ । पार्टी संस्थागत हुनुपर्छ नि ! अहिले नै हारजीतको कुरा किन आइरहेको छ ?’, उनको प्रश्न छ ।

भण्डारीले थपिन्, ‘मैले राष्ट्रियसभाबाटै ओपन कुरा गरिसकेको छु । पार्टीको सदस्यतामात्रै नवीकरण गरेको हो । कुनै जिम्मेवारी त मागेको छैन नि ! सदस्य भइसकेपछि मलाई अहिले नै पुग्दो जिम्मेवारी छ ।’

पार्टी पोल्टिक्समा फर्किने सन्दर्भमा ओलीसँग पहिलेदेखि नै सल्लाह हुँदै आएको उहाँको असहमति कहिल्यै नसुनिएको उनको भनाइ थियो ।

ओलीसँग वान टु वा वार्ताअघि नेताहरूसँग विद्या ।

‘मैले राष्ट्रपतिको कार्यकाल सकेपछि लगत्तै ७२ देखिकै सदस्यता रिन्यू गरेँ । भावी नेतृत्वबारे कार्यकर्ता चिन्तित छन् भन्दा मलाई कहिल्यै नेगेटिभ कुरा गर्नुभएन । तर, अहिले मेरो सार्वजनिक हुर्मत लिने हिसाबले । म गिडगिडएकोजस्तो गरी कुराहरू आइरहेको छ’, उनले असन्तुष्ट व्यक्त गरिन् ।

गत वर्ष आफूलाई ‘गणतन्त्र गौरव’ को सम्मानको कुरा लिएर आउँदा नै ‘दैलो त छेक्न खोज्नुभएको हैन नि भन्दै ठट्यौलीसमेत भएको उनको भनाइ छ ।

राष्ट्रपति भइसकेको व्यक्तिले आउनुहुन्न भनेर पार्टीमा चलाइएको बहसलाई उनले खारेज गरेकी छन् ।

भण्डारीले भनिन्, ‘दल चाहिँ अनैतिक अखडा हो र ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि ! कि मलाई भन्नुपर्‍यो योयो गलत गरिस् भनेर ।’

उनले एमालेको आफ्नो सदस्यता राजीनामा, स्थगित केही नभई पार्टीले नै विशेष कामका लागि राष्ट्रपतिमा पठाएको र त्यो जिम्मेवारी पूरा गरेर अब पार्टी काममै फर्किन खोजेको बताइन् ।

‘अहिले कुनाकुनाबाट हल्ला गर्नेहरू पनि दीदी के गर्नुहुन्छ भन्ने सोध्थे । अहिले यी कुरा आउन हुन्नथ्यो । त्यहाँ के खिचडी पाक्दैछ मलाई थाहा छैन’, भण्डारीले भनिन् ।

च्यासलमा के भयो कुराकानी ?

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमबाट पोलिटब्युरोले आफ्नो सदस्यता ‘पेण्डिङ’ को निर्णय गरेको भनी समाचार आएलगत्तै उनले फोन गरेर जिज्ञासा राखेकी थिइन् ।

‘मैले यसअघि राष्ट्रियसभाबाटै ओपन गरेको कुरो । तपाईँलाई पनि थाहा भएको विषय । किन अहिले यस्तो मेरो हुर्मत लिनेगरी कुराहरू आइरहेका छन् ? भनेर सोधेँ । उहाँले यस विषयमा बसेर छलफल गरौं भनेपछि च्यासल पुगेकी हुँ’, उनले भनिन् ।

उक्त वार्तामा ओलीले सम्मानित ठाउँमा बसेको मान्छे त्यही मर्यादामा रहनू, यहाँ (पार्टी) मा अनेक टिप्पणी र गालीगलौज आउँछन् भन्ने कुरा गरेकी थिइन् ।

पार्टी सदस्यता राजनीतिक विषय भएको र यसलाई संस्थागतरूपमा पार्टीले नै टुंग्याउने बताएका थिए ।

‘मैले सदस्यता नवीकरण गरिसकेको कुरा तपाईँलाई थाहा भइसकेको विषय हो । मेरा लागि यही हो ठूलो जिम्मेवारी । काम त मलाई प्रशस्त छँदैछ नि । म सक्रियरूपमा अघि बढिसकेँ । अब फर्किने अवस्था छैन ,’ च्यासलमा भएको कुरा भण्डारीले सुनाइन् ।

‘ओली आफ्नो विचारबाट आफैँ असहमत’

पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ‌ओली अहिले आफ्नै विचारबाट पछाडि फर्केको टिप्पणी गरेकी छन् ।

विगतका महाधिवेशनमा पार्टी लोकतान्त्रिकरणको विचार राखेपनि अहिले आएर ७० वर्षे उमेर हद र दुई कार्यकालको निर्णय उल्टाएको उनको भनाइ थियो ।

बल्खुको १८ दिन चलेको केन्द्रीय कमिटी बैठकमा प्रदीप ज्ञवाली, शंकर पोखरेल र आफू तीनजनामात्र ओलीको पक्षमा डटेर सामना गरेको प्रसंग पनि कोट्याएकी छन् ।

उनले भनिन्, ‘उहाँ त टावर पर्सनालिटी हो नि ! आफ्नो विकल्प कोही छैन । मभन्दा बाहेक सबै भुराभुरी केही जान्दैनन् जस्ताे गर्नुहुन्छ’।

मलाई उहीबेलादेखि आँखाको कसिंगर ठानियो

आफूलाई उतिबेलै पहिले सभामुख र पछि राष्ट्रपतिको अफर आएको क्षण सम्झिँदै उनले भनिन्,

‘सुवासजीको लामो समय भयो भनेर मलाई भनियो । मैले त्यो दैनिक ८ घण्टा लगातार सभामुखको कुर्सीमा सभामुख बस्न सक्दिनँ भनेको थिएँ । पछि पनि राष्ट्रपतिमा २/३ दिनअघि प्रस्ताव आयो अनिच्छुक हुँदाहुँदै, देश र जनताका लागि धेरै काम गर्नुपर्छ । सेरेमोनियल पदमा गएर केही गर्न सकिन्न भनिरहेका थिए । तर, लोकतान्त्रिक गणतन्त्रपछिको वामपन्थी आन्दोलन, जबजको स्कुल अफ थट, महिला प्याराडाइज सिफ्टको हिसाबले आफूले आफैँलाई कन्भिन्स गरेँ ।’

भण्डारीले त्यसताका ईश्वर पोखरेलको नाम आइरहेको प्रसंग उप्काउँदै आफू पनि तयारी अवस्थामा रहेको बेला नेताहरूले प्रतिस्पर्धीको रुपमा आँखाको कसिंगर ठानेको बताइन् ।

‘पार्टीभित्रको मिलनका लागि पनि राष्ट्रपतिमा गएँ । आफूले गरेको काममा कुनै गल्ती गरेको छैन । त्यो ठोकुवासाथ भन्छु । संसद विघटनको कुरामा मैले आफ्नो काम गरेँ । अदालतले आफ्नो काम गर्‍यो । देशको अहित हुने काम गरिनँ । तर, पार्टी सञ्चो होला भनेको भएन’, भण्डारीको भनाइ थियो ।

ओली चिढिनु कारण

उनले पछिल्लो समय प्रधानमन्त्री ओली आफूसँग चिढिनुमा गत वैशाख १ को लिखित वक्तव्य रहेको केही संकेत गरेकी छन् । च्यासल वार्तामा पनि ओलीले त्यो विषय उठाएको उनको भनाइ थियो ।

नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमा भण्डारीले मुलुकले अझै मदन भण्डारीको सपना पूरा गर्न नसकेको भन्दै पुनः अठोट गर्नुपर्ने बेला आएको बताएकी थिइन् ।

देशको सामाजिक-आर्थिक रूपान्तरणका लागि विगतका प्रयास पर्याप्त हुन नसकेको र जनताले अझै समस्या सामना गर्नुपरिरहको भन्दै भण्डारीले शुभकामना सन्देशमा अबका दिनमा सरकार र समाजले विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताएकी थिइन् ।

मदनको हिरक जयन्ती मनाउने सन्दर्भमा पनि उनले खुलाइन् ।

हेर्नुस् विद्याको नयाँ वर्षको सन्देश- आत्मचिन्तनको समयः मदनको सपना पूरा गर्न कसले रोक्यो ?

उपाध्यक्षहरूबाट सिनियर कसैलाई संयोजक बनाउने आफूले प्रस्ताव राखेेकाे भन्दै भनिन्, ‘पार्टीका मान्छे सबै बिजी छन् भनेर भन्नुभयो । उपाध्यक्षमध्येबाट सिनियर कसैलाई बनाउँ । जनवर्गीय संगठनका अध्यक्षहरूलाई पनि राखौ भन्दा आ-आफ्नै काममा बिजी छन् भन्नुभयो । त्यसपछि  डोरमणिजीलाई राख्ने कुरा उहाँको नोटिसमा भएकै छ । त्यही भएर जिम्मेवारीमा भएका, पाखामा पारिएकालाई काममा त लगाउनुपर्‍यो नि !’

पार्टी विचारले बन्छ

आफूले सुरूदेखि नै पार्टी जीवन लोकतान्त्रिकरणको कुरा गरेको, गुटबन्दी र जडता नहोस् साथै पुस्तान्तरणको कुरा उठाएको विद्याले बताएकी छन् ।

उनको भनाइ थियो, ‘२ कार्यकाल, उमेर हदको कुराले मान्छे फिल्डमा खटिन्छ । पार्टी सत्ताको दुरूपयोग हुँदैन । नेतृत्वका लागि तयार हुन्छ । अहिले सबैजसो नेता  ७० को नजिक भएकाले बाध्यताले बोल्नुपरिरहेको होला ।’

विचारमा कमजोर भएर पार्टी नबन्ने भन्दै उनकाे भनाइ थियाे ।

‘विचार भयो भने जस्तोसुकै हुरिबतासले नि कसैलाई ढाल्न सक्दैन आउँदा पनि णल्न सक्दैन । नयाँ पुस्ताले मदनको जबज जान्नुपर्‍यो, नीति कार्यक्रम, दर्शन केहो भनेर बुझाउन जरुरी छ । त्यहीअनुसार काम गर्नुपर्छ हामीले त्यही शिक्षा दिनुपर्छ । म त जबजको ‘, उनले भनिन् ।

पार्टीमा कसैको प्रतिस्पर्धीको रूपमा नभई सुशासन, आर्थिक समृद्ध, शिक्षा, स्वास्थ्यजस्ता यावत् विषयमा काम गर्ने समय आएको उनले बताइन् ।

खुट्टा कमाउँदिनँ, कार्यकर्तामाथिको आतंक बन्द होस्

पूर्वराष्ट्रपति भण्डारीले अहिले नेतृत्वबाटै गुटबन्दी गर्ने काम भएको हुनाले संस्थागत ढंगबाट सोच्नुपर्ने औंल्याएकी छन् ।

उनी भन्छिन्, ‘जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको छ । यो बोल भन्ने टेरर गर्ने बोल्न नदिने यस्तो पनि हुन्छ र !’

उनले आफू भोजपुरको यशोधरा, विद्योदय मावि पढ्दैदेखि ३५/३६ सालदेखि वाईएल (योङ लिग) बाट अनेरास्ववियु हुँदै संगठन हाँकेर आएको, ६२/६३ मा नेताहरू सुस्ताएको बेला महिलाहरूको जुलुसको अगुवाइ गरेको प्रसंग सुनाउँदै प्रश्न गरिन्, ‘ म संगठक हैन, पार्टी काम गरेको छैन ?’

आफू माझ किराँतमा जन्मी हुर्की पञ्चायती शासकविरुद्ध लड्दै हुर्किँदै त्यो परिस्थितिबाट सक्रिय हुँदै लड्दै भिड्दै आएको भन्दै उनले भनिन्, ‘खुट्टा कमाउँदिन ।’

पार्टीले त तपाईँबारे आजै निर्णय गर्नेगरीको तयारी छ । बाटो बन्द गर्‍यो भने के गर्नुहुन्छ ? भन्ने पत्रकारको जिज्ञासामा भण्डारीले कुनै पनि कुरामा आफूले हतारिएर प्रतिक्रिया नदिने, निर्णय नलिने बताइन् ।

‘अहिले केही भएकै छैन । त्यसपछिको कुरा त्यतिखेरै भइहाल्छ नि !’, उनले भनिन् ।

यो पनि पढ्नुहोस्- विद्याको प्रष्टोक्ति- म पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्

Comments

3 responses to “भंगालमा पत्रकारसँग विद्या भण्डारीकाे डेढ घन्टा- आवाज नरम, सन्देश गरम”

  1. Narayan Poudel Avatar
    Narayan Poudel

    विद्धयाजी, तपाईमा शालिनता छ, त्यो कायम रहोस । ओलीजीको बिकल्प निर्माण गर्न पनि तपाई पार्टीमा फर्कनु जरूरी छ, शुभकामना ।।

  2. ksp pyl Avatar
    ksp pyl

    नेपालका पत्रकार र मिडिया दलालअंमा बाँचेका छन् । विद्यालाई अघि बढाउन पाए ओलिलाई तह लगाउन पाईन्थ्यो भन्ने एकमात्र कुत्सित मनसायले यस्ता समाचार बनाउँदछन् । एउटा दलालले गर्ने फेरि त्यत्ति मात्र हो । असल पत्रकार हुन्थ्यो भने राष्ट्रपति भैसकेको मान्छे राजनीतिमा आउन लाज छैन भनेर त्यहि अनुसार समाचार बनाउथ्यो । एमालेले नैतिकहिनहरूलाई पार्टीमा स्थान पटक्कै दिनु हुँदैन ।

  3. रुद्र प्रसाद निरौला Avatar
    रुद्र प्रसाद निरौला

    नैतिकता को आफ्नै खडेरी लाग्ला जस्तो अवस्थामा अरुलाई नैतिक बनाउँछु भनेर सोचिरहेको अवस्था हो भने त्यो गलत सावित हुने छ।वेट नघटाएको राम्रो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *