नेपाली राजनीति फेरि एकपटक त्यही पुरानै मोडमा आइपुगेको छ, जहाँ सत्ताका विरोधीलाई टोक्ने कानून र मित्रलाई छोड्ने न्यायको प्रयोग हुँदैछ । आज जुन ढंगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ, त्यसले हाम्रो लोकतन्त्रको मेरुदण्डमाथि नै चोट पुर्याएको छ ।
यो केबल कानूनीप्रक्रिया होइन, यो एक राजनीतिक नाटक हो, जुन सत्ता समीकरण, प्रतिशोध र नियोजित बदला लिने यन्त्रको रूपमा प्रयोग गरिएको छ । अर्थात्, यो मुद्दा होइन, काल हो । सरकार काल पल्काइरहेको छ । आज सरकारले पल्काएको काल भोलि उसैमाथि खनिन्छ । माधव नेपालका त एक घटना होलान्, उनले सहने र व्यहोर्ने भनेर कानूनी प्रक्रिया अबलम्बन गरिसकेका छन् । तर, यो काल जसले पल्कायो, भोलि त्यो काल उहीमाथि खनिँदा निकै मुस्किल पर्ने निश्चित छ ।
तसर्थ, इतिहासले न्याय गर्नेछ । त्यो न्याय पाइएका दिन सबैका धुरीमा पाप कराउन थाल्नेछन् । आपराधिक चिन्तनका ती मानिस एक-एक गरेर ढल्ने छन् । यसप्रति सबै विश्वस्त भए हुन्छ ।
माधव नेपाल कुनै सामान्य राजनीतिज्ञ होइनन् । उनी लोकतन्त्रको अग्रगामी सेनानी, संविधान निर्माणका अगुवा र शान्ति प्रक्रियाका सेतु हुन् । सादा जीवन, पारदर्शी शासन र नीति र नैतिकतामा अडिग रहने नेता विरलै पाइन्छन् र उनी त्यही दुर्लभ उदाहरण हुन् ।
उनले न त प्रधानमन्त्री हुँदा आफन्तलाई लाभ दिलाए, न त सम्पत्ति आर्जनको लोभमा अनुशासन छोडे । बरु, उनले आफ्नो राजनीतिक जीवनको हरेक मोडमा निष्ठा, विवेक र संविधानप्रति विश्वास देखाए ।
अख्तियारको नियोजित चाल, सत्तानिकट प्रतिशोधको पाटो
आज जब देशमा वास्तविक घोटालाका अभियुक्त खुलेआम सत्ताको छायाँमा लुकेका छन्, अख्तियारले माधव नेपालमाथि कानूनीभन्दा बढी राजनीतिक उद्देश्यसहित मुद्दा दर्ता गर्नु न्यायिक संयन्त्रको पतन हो । अदालतलाई सत्ता स्वार्थको सिढीँ बनाइएको छ । न्यायाधीशका इजलासको आडमा सरकार अपराधिकरणतर्फ उन्मुख छ ।
न्यायको सम्पादन कानून र प्रमाणका आधारमा हुन्छ । त्यसले माधव नेपाललाई दोषी भन्दैन । तर, सरकार चाहन्छ, माधव नेपालको राजनीति यही बहानामा सिध्याइदिऔँ । हामी न्यायप्रति, अदालत र माननीय न्यायाधीशप्रति विश्वस्त छौँ कि, त्यहाँबाट सरकार चलाउनेहरुको गलत अभिष्ट पूरा हुने छैन । त्यसैले त विश्लेषकहरू, अधिवक्ता र नागरिक समाजका आवाज एकै स्वरमा भन्छन्, ‘यो मुद्दा प्रमाण नभएको, दुर्भावनाले भरिएको र पूर्वाग्रही छ ।’
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली भन्छन्, ‘माधव नेपालको पारदर्शी र सन्तुलित जीवनशैलीलाई हेर्दा यो मुद्दा कानूनभन्दा बढी सत्ताप्रेरित बदला हो ।’ एमालेभित्रका अरुण नेपाल, टंक कार्की, अर्जुन न्यौपानेलगायतका नेताले खुलेर भनेका छन्, ‘समकालीन राजनीतिमा यदि कोही नेता नैतिक, इमानदार र स्वच्छ छ भने त्यो माधवकुमार नेपाल नै हुन् ।’
सत्य बोल्ने र बुझ्नेहू माधव नेपाल गलत हैनन् भन्नेमा ढुक्क छन् । दुर्नियत बोकेका केही सत्ताधारी र त्यसका चाटुकारहरु अरु केही गर्दा कुनै सीप नचलेपछि माधव नेपालमाथि ‘भ्रष्टाचारी’ जस्तो कल्पनिक कथ्य बुनेर राजनीति सिध्याउने खेलमा लागेका छन् । यदि यसरी नै माधव नेपालको राजनीति सकिएछ भने आजका सत्ताधारीहरु कोही पनि बच्दैनन् । त्यो कालले पक्कै खान्छ ।
कानूनको धारामा अख्तियारको कमजोर दाबी
१. अख्तियारको अधिकार क्षेत्र र यसभित्रको सीमारेखा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ ले स्पष्ट पार्छ कि मन्त्रिपरिषद्को नीतिगत वा सामूहिक निर्णयमा अख्तियारले अनुसन्धान गर्न सक्दैन । प्रधानमन्त्री माधवकुमार नेपालको पालामा गरिएको मन्त्रिपरिषद्को निर्णय पूर्णरूपमा नीतिगत थियो । त्यसैले, अख्तियारको कारबाही कानूनी सीमाबाहिरको हस्तक्षेप हो ।
२. संविधान, २०७२ को स्पष्ट व्यवस्था
संविधानको धारा २३९ भन्छ, ‘सार्वजनिक पदधारीले कानूनबमोजिम आफ्नो कार्य गर्दा अख्तियारको हस्तक्षेप मान्य हुँदैन ।’ त्यस्तै, धारा ८२ अनुसार मन्त्रिपरिषद्को निर्णयमा न्यायालयले समेत हस्तक्षेप गर्न सक्दैन । यसले यो विषय पूर्णरूपमा असंवैधानिक अनुसन्धान हो भन्ने पुष्टी गर्छ ।
प्रतिशोधको राजनीति, सत्यमाथिको हमला
यो मुद्दा भ्रष्टाचार नियन्त्रणको नाममा विचार र व्यक्तित्वमाथिको हमला हो । माधव नेपालमाथि आरोप लगाउनु भनेको जनताको स्मृति र इतिहासप्रति अपमान गर्नु हो ।
राजनीतिक प्रतिद्वन्द्वीसमेत खुलेर भन्छन्, ‘यदि कुनै नेता अझै पनि सच्चा, नीतिगत र इमानदार छन् भने त्यो माधव नेपाल हुन् ।’
निष्कर्षः सत्य गुम्सिन्छ, हराउँदैन
यो मुद्दा माधव नेपालको होइन, लोकतन्त्रको असल प्रतिविम्ब र संविधानको आत्मामाथिको हमला हो । सत्यलाई क्षणिक रूपमा थिच्न सकिएला, तर सदासर्वदा लुकाउन सकिन्नँ । पर्दा झर्छ, नाटक सकिन्छ, तर सत्यको स्वर गुञ्जिरहन्छ ।
माधव नेपाल सत्ताको शिकार होइनन्, उनी विवेक, विचार र सच्चरित्र नेतृत्वको प्रतीक हुन् । र, इतिहासमा यस्तै नेता बाँकी रहन्छन्, बाँकी सबै धुलो बन्छन् ।
(लेखक अनेरास्ववियूका उपाध्यक्ष हुन् ।)

Leave a Reply