माओवादी आन्दोलनको उत्थान र पतनमा प्रचण्ड प्रवृत्ति

पछिल्लोपटक विश्व इतिहासमै कम्युनिस्ट पार्टीको नाममा भएको क्रान्ति थियो- माओवादी जनयुद्ध । मुलुकमा स्वतन्त्र ढंगले कम्युनिष्ट आन्दोलनको बारेमा छलफल गर्ने मानिसले समेत माओवादी जनयुद्धबारे यही दृष्टिकोण अपनाउने गरेका छन् ।

तर, पछिल्लो समय माओवादी आन्दोलन एकपछि अर्को धक्का व्यहोर्दै कमजोर हुन थालेपछि आन्दोलनभित्रका दोस्रो र तेस्रो पुस्ताले पार्टीभित्र नीति, नेतृत्व र आन्दोलनबारेमा गम्भीरतापूर्वक समीक्षा गरेर यो आन्दोलनको पुनर्जागरण गर्ने अपेक्षा थियो । दुर्भाग्य, त्यस्तो देखिएन । बरु, यसबारे पार्टीभित्र छलफल गर्नेलाई क्रान्ति विरोधी तप्काको डण्डा वर्षाएर तर्साउने र घृणा फैलाउने धन्दामा लागेको इतिहास छ । त्यसकारण यसबारे ऐतिहासिक पक्षसहित चर्चा गर्न आवश्यक देखियो ।

यो आलेखको उद्देश्य माओवादी आन्दोलनको ऐतिहासिक महत्वलाई कमजोर पार्ने होइन, बरु यसलाई भविष्य बनाउने सकारात्मक प्रयत्न हो । त्यसकारण कोही पक्ष पनि उत्तेजित नभई गम्भीरतापूर्वक बहसमा उत्रिने अपेक्षासहित यो प्रस्तुत गरिएको छ ।

नेपालको वाम आन्दोलनमा पछिल्लोपटक श्रमजीवी वर्गले विश्वास गरेको माओवादी आन्दोलन पुनर्जागृत भएर मुर्छाएका सपनालाई पुनर्ताजगी गरोस् र माओवादी आन्दोलन अनन्तसम्म जीवित रहोस् । यसको नेतृत्व गर्ने नेतासमेत नायकको रूपमा अनन्त बाँचिरहुन् भन्ने ध्येयका साथ यहाँ ऐतिहासिक पृष्ठभूमिसहित केही विषय उठान गर्न खोजिएको मात्रै हो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा माओवादी धारको उद्गम थलो हो- चौम धार । यसको जन्मदाता र स्कुल मोहनविक्रम सिंह हुन् । निर्माल लामा, भक्तबहादुर श्रेष्ठ, चित्रबहादुर केसी, मोहन वैद्यजस्ता नेताले ३० को दशकमा यो पार्टीलाई देशकै सबभन्दा ठूलो कम्युनिष्ट पार्टीका रूपमा आन्दोलनलाई अघि बढाएका थिए ।

इतिहासको त्यो घडीमा देशको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी रहेको चौम धार ४० को दशक प्रारम्भ हुँदा छिन्नभिन्न हुन थाल्यो । यो समूह मोटो मशाल, पातलो मसाल र चौमको रूपमा विभाजित हुन पुग्यो । त्यो विभाजनको अन्तर्यमा वैचारिक, राजनीतिक कार्यक्रमको मौलिक पक्ष भन्दा मोहनविक्रम सिंहलाई पछारेको उन्मादसहित जन्मेको हो । पाँचौँ महाधिवेशनमा यही देखियो । विचार, राजनीतिक कार्यक्रम मोहनविक्रमकै बोकेर विजय उन्मादमा निस्केको राजनीतिक धारको अगुवाकर्ता मोहन वैद्य र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरू हुन् ।

प्रचण्डले नेपालमा दश वर्षे माओवादी क्रान्तिको अगुवाइ गरेको सत्य हो । यो क्रान्तिको अगुवाइ गरेर इतिहासमा उनले गरेको ऐतिहासिक कामलाई अवमूल्यन गर्नुहुँदैन ।

यो स्कुलको सोच्ने तरिका अधिनायकवादी रहेको माओवादी नेता एवं माक्र्सवादी चिन्तक राम कार्की (पार्थ) ले आफ्नो पुस्तक ‘विकल्प, समानता, समाजबाद र मुक्त दुनियाँ’ मा सविस्तार चर्चा गरेका छन् । यो स्कुलले जनवाद स्वीकार गर्दैन । नेतृत्वमा केन्द्रीकरण, प्राधिकार स्वेच्छाचारीता र अधिनायकवाद यो पक्षको मूल स्कुल रहन पुग्यो । आफूलाई माक्र्सवादी भन्नेहरू माक्र्सकै भावनाविपरीत विकृत कम्युनिष्ट नेताले प्रयोग गरेको वैचारिक संस्कारलाई बोकेर अघि बढे ।

९० को दशकपछि एमालेले आफूलाई कांग्रेस-राप्रपा भन्दा फरकपन नदेखाएपछि कम्युनिष्ट जनमतले माओवादीलाई बोक्न थाल्यो । जनयुद्धको त्यो समयमा पनि कम्युनिस्ट जनमतले माओवादीलाई विछट्टै माया गर्‍यो । आफू बलिदान दिन तयार भएर माओवादी नेता कार्यकर्ताको भौतिक रक्षा र भरणपोषण त्यतिबेलाको नेपाली कम्युनिष्ट जनमतले गरेकै हो ।

तर, माओवादी मूल नेतृत्वको नियत र कम्युनिष्ट जनमतको विश्वासबीच अन्तर्विरोध पैदा भयो । फलतः पहिलो संविधानसभामा देशकै ठूलो दल भएको माओवादी तीन वर्ष पुग्दानपुग्दै विघटनउन्मुख भयो । यसको अन्तर्यमा माओवादी आन्दोलनको नीति र नेतृत्वमा रहेको अन्तर्विरोध नै पहिलो कारण हो ।

माओवादी विद्रोह प्रारम्भ गर्दा सरकारलाई बुझाएको ४० सूत्रीय मागका ड्राफ्टकर्ता थिए, बाबुराम भट्टराई । त्यो माग हेर्दा त्यो कुनै कम्युनिस्ट क्रान्तिकारी माग होइन । मूलतः उदार लोकतन्त्रको मान्यता बोक्ने दलकै मुद्दा थिए । तर, संयोग नेपालमा कम्युनिस्ट पार्टीको राजनीतिक आर्थिक मुद्दाको रूपमा यो माग दर्ज हुन पुग्यो । माओवादी विद्रोहकालमा यसको अर्थराजनीतिक महत्वको चर्चा गर्ने वैचारिक अगुवा भट्टराईबाहेक अरु थिएन, देखिएन ।

माओवादी विद्रोह प्रारम्भ भएको केही वर्षभित्रै माओवादीभित्र मुख्यतः दरबार हत्याकाण्डपछि नयाँ ढंगले धु्रवीकरण चलेको देखिन्छ । ज्ञानेन्द्रको प्रत्यक्ष शासन प्रारम्भ भएपछि माओवादीभित्र एकथरि मानिस दरबारसँग सत्ता साझेदारी गर्ने तयारीमा लागे । यही तयारीको क्रममा उदार लोकतन्त्रवादी दलसँग लोकतान्त्रिक गणतन्त्रको मुद्दामा सहकार्य गर्ने पक्षधर नेता बाबुराम भट्टराईलाई कारबाही गरे ।

त्यो कारबाही दरबारको दबाबको र शर्तको रूपमा रहेको तत्कालीन अवस्थालाई नजिकबाट नियाल्नेहरू बताउँछन् । प्रचण्डलगायत उनका समूहका मानिस लोकतान्त्रिक गणतन्त्रको एजेण्डा दक्षिणपन्थी बुर्जुवा कार्यक्रम मान्थे र भट्टराईलगायत उनीपक्षीय नेतालाई क्रान्तिविरोधी तत्वको रूपमा तिरस्कृत गरिए । स्वयं भट्टराई बालबाल जोगिएको तत्कालीन उनीनिकट माओवादी नेताहरू बताउँछन् ।

२०६१ माघ १९ को शाही कदमको पूर्वसन्ध्यामा सिंगापुरमा वार्ता गर्न ढोरपाटनबाट हेलिकप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने प्रचण्डको सपनामा तुषारापात भएको त्यो समय रोल्पामा प्रचण्डसँगै रहेका उनका विश्वासपात्र बताउँछन् ।

अहिले माओवादीमै रहेका ती नेता यतिसम्म भन्छन्, ‘त्यतिखेर प्रचण्डसँग तीनजोर कोट थियो र कुन कोट लगाउँदा सुहाउँछ भनेर ऐना हेर्थे ।’ माघ १८ मा बाबुरामलाई कारबाही गरेपछि माघ १९ मा ज्ञानेन्द्रले चालेको कदम संयोगमात्रै भएको मान्न नसकिने जानकारहरू बताउँछन् ।

तर, तत्कालीन राजा ज्ञानेन्द्रको मुर्खताले माओवादी र उदार लोकतन्त्रवादी मिलेर उनीविरुद्ध लड्ने निधोमा पुगे । माघ १९ को उद्घोषपछि प्रचण्डहरू पछि हटेर चुनवाङ बैठकबाट लोकतन्त्रवादी दलसँग मिल्ने बाबुरामको लाइनमा आउन बाध्य भए ।

त्यही चुनवाङ बैठकले प्रचण्डबाट गलत बाटोमा गएको माओवादी आन्दोलनलाई सही दिशा दिएर ऐतिहासिक काम गर्‍यो । जसको परिणाम आज मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यसको गर्भमा लोकतान्त्रिक गणतन्त्र पक्षधर नेताले भोगेको अपमान, अभाव र घृणाको कुनै हिसाब नरहेको बाबुरामपक्षीय नेताहरूले सार्वजनिक रूपमै बताएका छन् ।

चुनवाङ कार्यनीतिकै कारण १२ बुँदे सम्झदारी हुँदै माओवादी सात दलको संयुक्त जनआन्दोलनमार्फत संविधानसभाको पहिलो निर्वाचनले देशमा लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । माओवादी आन्दोलनमा यसको श्रेय बाबुरामलाई नै जान्छ । पहिलो संविधानसभाको निर्वाचनका दौरान प्रचण्डलाई प्रथम राष्ट्रपतिको रूपमा भित्ते लेखन गरियो ।

मत परिणामपछि राजनीतिक शक्ति सन्तुलन खल्बलिएर माओवादी पहिलो शक्तिको रूपमा उदायो । तर, मिश्रित निर्वाचन प्रणालीको कारण उसले स्पष्ट बहुमत हासिल गर्न सकेन । शान्तिपूर्ण राजनीतिमा आउने नवीन खेलमा माओवादी नेतृत्व नराम्ररी चुक्यो । पार्टीभित्र एकथरी जडसूत्रवादी शक्तिलाई जनगणतन्त्रको मृगतृष्णा जाग्यो । जो लोकतान्त्रिक गणतन्त्रलाई दक्षिणपन्थी बुर्जुवा कार्यक्रम मान्थे, त्यो धारको अगुवाई मोहन वैद्य ‘किरण’ ले गर्थे ।

अर्को धार शान्ति र संविधानमार्फत अघि बढ्ने रह्यो, जसको अगुवाइ लोकतान्त्रिक गणतन्त्रका सूत्रधार र भाष्यकार बाबुराम भट्टराई थिए । जसले लोकतान्त्रिक गणतन्त्रको कार्यक्रम अघि सारेबापत युद्धकै समयमा कारवाहीसमेत भोगेका थिए ।

चुनवाङ बैठकको समयमा भारतीय जेलमा बन्दी जीवन व्यतित गरेका मोहन वैद्य ‘किरण’ पहिलो संविधानभामा समानुपातिक सदस्यबाट राजीनामा गरेर जनविद्रोहमार्फत् सत्ता कब्जा गर्ने कार्यनीतिलाई लागु गर्न कम्मर कसेर लागे । किरणको यो असम्भव र गलत कार्यनीतिको पक्षमा प्रचण्ड कुम हल्लाउँदै लागे । ६ दिने आम हड्ताल गरेर किरणको बालपनको पछि लाग्दा सत्ता कब्जा होइन, शहरमा माओवादी जनमतसमेत नराम्ररी गुम्न पुग्यो ।

शान्ति र संविधान पक्षधरले दृढताकासाथ यो गम्भीर गल्तीको प्रतिवाद गर्न सकेनन् । त्यसो गर्न नसक्नुका पछाडि आफ्नै आन्तरिक कारण थिए । किनभने, त्यसो गर्दा क्रान्तिविरोधी प्रतिक्रान्तिकारी अभियोगमा दण्डित हुनुपथ्र्यो । उनीहरू त्यस्तो दण्ड भोग्ने मानसिकतामा रहेनन् । आमहड्ताल असफलताको पराकाष्ठामा पुग्यो । तर, यस्तो असफल कार्यनीतिको नेतृत्व गर्ने प्रचण्ड र मोहन वैद्य ‘किरण’ पक्षले नैतिक जिम्मेवारी लिएनन्, बरु किरण पार्टी विभाजन गरेर हिँडे ।

प्रचण्ड र उनीपक्षीय नेता लाजै नमानेर शान्ति र संविधानका पक्षमा उभिए । आफैँले गलत भनेको लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्दा पनि प्रचण्ड महान भएको भाष्य निर्माण गरियो । जनविद्रोह असफलताको पराकाष्ठामा पुगेर शान्ति र संविधानको पक्षमा उभिँदा पनि महान क्रान्ति नायकको रूपमा प्रचण्ड देउता बनिरहे ।

माओवादी विद्रोह प्रारम्भ गर्दा सरकारलाई बुझाएको ४० सूत्रीय मागका ड्राफ्टकर्ता थिए, बाबुराम भट्टराई । त्यो माग हेर्दा त्यो कुनै कम्युनिस्ट क्रान्तिकारी माग होइन । मूलतः उदार लोकतन्त्रको मान्यता बोक्ने दलकै मुद्दा थिए । तर, संयोग नेपालमा कम्युनिस्ट पार्टीको राजनीतिक आर्थिक मुद्दाको रूपमा यो माग दर्ज हुन पुग्यो । माओवादी विद्रोहकालमा यसको अर्थराजनीतिक महत्वको चर्चा गर्ने वैचारिक अगुवा भट्टराईबाहेक अरु थिएन, देखिएन ।

घडीको पेण्डुलमझैँ हल्लिरहने प्रचण्डलाई देवत्वकरण गर्न मोहन वैद्य ‘किरण’ लगायतले गरेको मेहेनत प्रचण्डको ‘पुष्पकमल दाहाल’ मा पतन भएसँगै माओवादी आन्दोलनका वरिष्ठतम् नेता किरण रन्थनिए । चतुर बाबुराम भट्टराई आफ्नो राजनीतिको भारी अस्थीर र चञ्चल प्रचण्डको काँधमा बोकाइदिएर कम्युनिष्ट आन्दोलनबाटै बाहिरिए ।

राजनीतिक एजेण्डाको हिसाबले हेर्दा भट्टराई सफल पनि भए । किरण अहिले बढ्दो उमेरसँगै अस्वस्थ छन् । प्रचण्ड भने बाबुरामले बोकाइदिएको राजनीतिक भारी बोकेर अस्तित्व रक्षाका लागि मौलिक कार्यक्रम होइन, ‘मर्निङ वाक’ को केटाकेटीपनमा व्यस्त छन् । र, वरिपरि प्रशंसक राखेर आफ्नो लोकप्रियताले सगरमाथाको चुचुरो नाघेको भ्रममा परेर दंग छन् ।

माओवादी आन्दोलनको अस्तित्वरक्षाका खातिर प्रचण्ड भौँतारिनुको मूल कारण नीति र नेतृत्वको अन्तर्विरोधले हो । अर्कातिर दार्शनिक र राजनीतिक रूपमा माओवादी नेतृत्वमा जनवाद/लोकतन्त्र भन्दा अधिनायकवाद हावी छ । नेतृत्व केन्द्रीकरणको नाममा सम्पूर्ण प्राधिकार आफूमा राख्दै संगठन कब्जा गर्ने भन्दा अरु कुनै राजनीतिक कार्यक्रम र योजना प्रचण्डसँग छैन ।

आजको युगमा लोकतन्त्र/जनवाद प्रधान युग हो । यसले विधि, पद्धति, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व खोजेको हुन्छ । स्वयं माओत्सेतुङले खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर भन्छ । तर, माओवादी नेतृत्व बाहिरबाट हेर्दा ठ्याक्कै यसको विपरित देखिन्छ । प्रचण्ड छलछाम र षड्यन्त्रमात्रै गर्छन् । इतिहासमा निर्मल लामासँग लड्न बाबुराम र मोहन वैद्यहरूको काँधमा टेके । पछि आफ्नो सत्ता जोगाउन बाबुराम र मोहन बैद्य ‘किरण’ लाई जुधाए ।

किरण, बाबुराम बाहिरिएपछि जनार्दन र वर्षमानलाई जुधाए । कहिले बादल र महरा जुधाएर आफू सुप्रिमो बनिरहे । उनको यो अपारदर्शी र व्यक्तिवादी कार्यशैली र राजनीतिक चिन्तनविरुद्ध पार्टीभित्र लोकतन्त्रको मुद्दा उठाएबापत उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ लाई दण्डित गर्न उनले कुनै कसर बाँकी राखेका छैनन् ।

उनकै गृहजिल्ला रुकुम पश्चिम पुगेर पार्टी छोडेर गए पनि केही फरक नपर्ने उद्घोष गरे । प्रधानमन्त्री हुँदा बालुवाटारमै प्रचण्डले जनार्दनलाई ‘मलाई मेरो पार्टी चलाउन दिएर तपाईं आफ्नो आफ्नो पार्टी बनाउनुस्’ भने ।

नेपालको वाम आन्दोलनमा पछिल्लोपटक श्रमजीवी वर्गले विश्वास गरेको माओवादी आन्दोलन पुनर्जागृत भएर मुर्छाएका सपनालाई पुनर्ताजगी गरोस् र माओवादी आन्दोलन अनन्तसम्म जीवित रहोस् । यसको नेतृत्व गर्ने नेतासमेत नायकको रूपमा अनन्त बाँचिरहुन् भन्ने ध्येयका साथ यहाँ ऐतिहासिक पृष्ठभूमिसहित केही विषय उठान गर्न खोजिएको मात्रै हो ।

बाबुराम, किरण, बादल र सीपी गजुरेलजस्ता नेता पार्टीबाट अलग भएपछि आफू सर्वेसर्वा भएकोमा गर्व र घमण्ड गरेर गजक्क बसेका प्रचण्डले अहिले खेलिरहेको नीतिविहीन खेलले माओवादी आन्दोलन जोगाउने होइन, माओवादी आन्दोलनको विघटनलाई सुनिश्चित गर्नेछ । त्यसकारण त्यसो हुनबाट जोगाउन चाँडै महाधिवेशनमा गएर नीति र नेतृत्वको समीक्षा गर्न जरुरी छ ।

माओवादी आन्दोलनको नीति र नेतृत्वको समीक्षा गरेर त्यागको नमूना प्रस्तुत गर्नसके मात्रै माओवादीबीच नयाँ आधारमा एकताको वातावरण बन्न सक्नेछ । र, एकपटक माओवादी पंक्ति जुर्मुराउँदै उठ्नेछ । तर, मोहनविक्रम सिंहको राजनीतिक संस्कार बोकेर आफू एक्लै हिँड्ने प्रवृत्तिलाई देवत्वकरण गरिरहे माओवादी आन्दोलनको पतनलाई कसैले रोक्न सक्नेछैन । त्यसका लागि प्रचण्ड, बाबुराम र वैद्य सबै एकठाउँमा उभिएर अभिभावकको भूमिकामा बस्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने आँट गर्नुपर्छ ।

माओवादी आन्दोलन जोगाउने यही नै उत्तम बाटो हो । माओवादी आन्दोलनबाट अलगथलग भएका सबैले आ-आफ्नो भागको नैतिक जिम्मेवारी त लिनैपर्छ । आफ्नै जीवनकालमा आफैँले निर्माण गरेको भव्य इतिहास भत्किरहेको दर्दनाक दृश्यले सबैलाई दुखेको होला, दुख्नैपर्छ ।

प्रचण्डले नेपालमा दश वर्षे माओवादी क्रान्तिको अगुवाइ गरेको सत्य हो । यो क्रान्तिको अगुवाइ गरेर इतिहासमा उनले गरेको ऐतिहासिक कामलाई अवमूल्यन गर्नुहुँदैन ।

तर, शान्ति प्रक्रिया प्रारम्भ भएपछि माओवादी आन्दोलन विघटन हुँदै गएको नैतिक जिम्मेवारी पनि उनैले लिँदै आत्मसमीक्षा गरेर अभिभावकीय भूमिकामा बस्न तयार हुनुपर्छ । त्यसपछिमात्रै माओवादी आन्दोलनको एकताका लागि लागि ऐतिहासिक अपिल गर्नुपर्ने छ । यसले पुष्पकमल दाहालबाट उनलाई फेरि क्रान्ति नायक प्रचण्डको रूपमा सदासर्वदा जीवन्त बनाउनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *