रामकुमारीलाई पार्टीबाट निष्कासित गर्नुपर्ने नेताहरूको धारणा, माधव नेपाल मौन

काठमाडौं । नेकपा एसको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध दिएको विस्फोटक अभिव्यक्तिले प्रवेश पाएको छ ।

बैठकमा अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै पार्टीबाटै निकाल्नुपर्ने नेतृत्वलाई दबाब दिएको स्रोतले बतायो ।

पार्टीनिकट युवाको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकी थिइन् ।

नेकपा एसकी उपाध्यक्ष जयन्तीकुमारी राईले झाँक्रीले बोलेको कुरालाई लिएर प्राय: सबै नेताले आपत्ति जनाएको बताएकी छन् ।

‘अधिकांशले अक्षम्य अभिव्यक्ति दिएको भन्दै कडा कारबाही गरेर जानुपर्ने कुरा उठाउनुभयो । थप निर्णय त बैठकले गर्ला नै’, उनले नेपाल प्रेससँग भनिन् ।

त्यस दिन कार्यक्रममै रहेका मेटमणि चौधरीले झाँक्रीले बोलेका धेरै कुरा सामाजिक सञ्जालमै भिडिओ आइसकेको ब्रिफिङ गरेका थिए ।

अध्यक्ष माधव नेपालले भने राजनीतिक विषयमा कुरा गरेको तर, यो विषयमा केही नबोलेको सहभागी एक नेताले बताए ।

बैठकमा पतञ्जली प्रकरणमा अध्यक्षमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा उपाध्यक्ष धर्मनाथ साह, राजेन्द्र राईलगायतले बोलेका थिए ।

महासचिव घनश्याम भुसालको स्वास्थ्य समस्या कारण देखाउँदै आजको बैठक स्थगित गरिएको छ । सचिवालय बैठक आइतबार (२२) गतेलाई बोलाइएको छ ।

आलोकनगर पुगेकी झाँक्रीले पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको विषयमा भने अनभिज्ञता जनाएकी थिइन् । उनले भनेकी छन्, ‘कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन ।’

पार्टी सचिवालय बैठकमा जवाफ दिन पाउनुपर्ने भन्दै झाँक्रीले भनिन्, ‘पार्टीका धेरै ठूला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नुभएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै । राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु ।’

उनले मिडिया र भर्चुअल प्लेटफर्ममा समेत आफूविरुद्ध राजनीतिक प्रतिशोधले व्यक्तिगत लाञ्छना लगाउँदै व्यक्तिगत स्वास्थ्य र बढीसेमिङ गरेर हिंसात्मक ढंगले बोलिरहेको भन्दै लिखित ध्यानाकर्षण गराएकी थिइन् ।

उनले सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र संगठन विभाग प्रमुख डा. बेदुराम भुसाललाई बोधार्थ दिई पार्टी अध्यक्षलाई लेखेको पत्र भने सचिवालयमा जानकारी गराइएको थियो ।

झाँक्रीले स्पष्टीकरण नसोधिएको बताइरहँदा नेताहरूले भने अनुशासन समितिले स्पष्टीकरण पत्र पठाएको जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *