केही दिनयता सामाजिक सञ्जालका भित्ता रंगिएका छन्, कुनै उत्सवले होइन, पीडा र विद्रोहका रंगले ।
गायिका एलिना चौहान र समीक्षा अधिकारी, जसले सामाजिक सञ्जालमार्फत आफूमाथि निरन्तर भइरहेको अभद्र र अपमानजनक टिप्पणीकर्ताको पहिचान सार्वजनिक गर्न थालेका छन् । यो उनीहरूको व्यक्तिगत आक्रोश मात्र होइन, यो समाजविरुद्धको एउटा यस्तो विद्रोह हो, जसले आफ्नै छोरीलाई सफलताको उडान भर्न दिँदैन । यदि उनीहरू उड्न खोजे भने, शब्दका ढुंगाले हानेर खसाल्न खोज्छ ।
एलिना र समीक्षाले उठाएको यो कदमले हाम्रो समाजको कुरूप अनुहारलाई ऐना देखाइदिएको छ । त्यो अनुहार, जहाँ छोरीहरू सफल हुँदा ताली बजाउने हातभन्दा चरित्र हत्या गर्न चल्ने औंला बढी सक्रिय हुन्छन् । सामाजिक सञ्जालको पर्दापछाडि लुकेर बसेका यी ‘साइबर-दुर्वयवहारकर्ता’ जो महिलाको प्रगतिलाई सहजै पचाउन सक्दैनन् । उनीहरूका लागि एउटी महिला हाँस्नु, आफ्नो इच्छाअनुसार लुगा लगाउनु, गीत गाउनु वा आफ्नो विचार राख्नु ‘चरित्रहीन’ हुनुको प्रमाण हो ।
यो समस्या केबल दुई गायिकाको मात्र होइन । यो हरेक छोरीको कथा हो, जो आफ्नो सपना पूरा गर्न घरको चौघेराबाट बाहिर निस्कन्छे । समाजले उसको क्षमता र मिहिनेतलाई भन्दा पहिला उसको नैतिकताको मापदण्ड तयार पार्छ । उसले के लगाउँछे, कोसँग बोल्छे, कहाँ जान्छे ? यी सबै कुरामा समाजले आफ्नो अदृश्य सेन्सर लगाइदिन्छ । जब ऊ यी तथाकथित सीमा नाघ्छे, समाज उसलाई ‘ठेगान लगाउन’ शब्दहरूको हतियार लिएर जाइलाग्छ ।
आज एलिना र समीक्षाले जे गरिरहेका छन्, त्यो उनीहरूको सहने सीमा नाघेपछिको कदम हो । जब प्रणाली, समाज र कानूनले उनीहरूलाई सुरक्षा दिन सक्दैन, उनीहरूले ती दुर्व्यवहारकर्तालाई सार्वजनिक गरेर समाजलाई सोधिरहेका छन्, ‘के यही हो तिमीहरूले छोरीलाई दिने सम्मान ? के यही हो तिमीहरूको प्रगतिशील सोच ?’
अब समय आएको छ, हामीले मौनता तोड्नुपर्छ । सामाजिक सञ्जालमा हुने यस्ता घृणित टिप्पणीलाई सामान्य ‘ट्रोलिङ’ ठानेर बेवास्ता गर्नुहुँदैन । यो एक गम्भीर अपराध हो र यसका विरुद्धमा हामी सबैले आवाज उठाउनुपर्छ । घर-परिवारदेखि विद्यालयसम्म, हामीले हाम्रा छोरालाई महिलाको सम्मान गर्न सिकाउनुपर्छ र छोरीलाई बलियो भएर अन्यायविरुद्ध बोल्न हौसला दिनुपर्छ ।
सानै उमेरमा आइलागेको पीडालाई निडरतापूर्वक सामना गरेकी र अन्ततः आफैँले माफी दिएर सामाजिक जीवनमा फर्किन अवसर दिएकी समीक्षा हुन् वा आफूले अगाध प्रेम गरेको व्यक्तिसँग विवाह गरेपछि घुम्टोभित्रको त्यो क्रूरताले वैवाहिक जीवन तोडेकी एलिना, जसको पूर्ण कथा अझै शब्दमा व्यक्त हुन सकेका छैनन् । आफूले गरेको प्रेममा आफैंलाई दोषी ठानेर सामान्य जीवनबाट आफ्नो गायन पेशालाई निरन्तरता दिन संघर्षरत एलिनामाथिका छुद्र टिप्पणी सहने तहका छँदै छैनन् ।
यो घटनाले हामी सबैलाई एउटा गम्भीर प्रश्नको कठघरामा उभ्याएको छ । के हामी यस्तै समाज निर्माण गर्न चाहन्छौं ? जहाँ छोरीहरूलाई बाँच्नका लागि पनि हरेक दिन लड्नुपरोस्, एउटा उमेर र समयमा भोगिएका घटनाको शिकार बनेर घाइते जीवन बाँच्नुपर्ने ?
समाज हिजो पनि त्यस्तै थियो र आज पनि त्यस्तै छ । समय बदलियो, तर छोरीप्रतिको व्यवहार झन् निकृष्ट बनिरहेको छ । हिजो बोल्नै सक्दैनथे, छोरीहरूको घरबाहिरको संसार नै थिएन । आज विभिन्न क्षेत्रमा महिलाको गर्विलो उपस्थिति हुँदैछ, यो समाज छट्पटाइरहेको छ । जब महिला सफलताको सिँढी चढ्छन्, तब हाम्रो समाजका केही विकृत मानसिकता भएका पुरुष आफ्नो अस्तित्व नै संकटमा परेको महसुस गर्छन् । उनीहरूको मुस्कान खोस्न र खुशी लुट्न शब्दरूपी विध्वंसात्मक हतियारले प्रहार गर्न उद्दत देखिन्छन् । यो एक गम्भीर मानसिक विकृति हो ।
यस्ता तल्लोस्तरका हर्कतलाई ‘बेवास्ता गर’ भन्ने सतही सुझाव दिनु भनेको, यो समाजले अप्रत्यक्ष रूपमा महिलालाई तिमी सम्मानित भएर बाँच्ने अधिकार राख्दैनौँ’ भन्नु सरह हो । वास्तविकताभन्दा अनुमानको भरमा आत्मरतिमा रमाउने र अरूको पीडामा आनन्द लिने यस्तै परपीडक पात्रहरूका कारण आज सामाजिक सञ्जाल प्रदूषित मात्र छैन, यसले सिर्जना गरेको विषाक्त वातावरणले हरेक व्यक्तिको मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । परिणामस्वरूप, सत्य बोल्नेले डराउनुपर्ने र मौन बस्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको छ ।
यो परिस्थितिका लागि भाइरल हुने सस्तो रहरमा नैतिकताको मार्ग छाडेर छाडापन र अश्लीलतालाई अँगाल्नेहरू पनि जिम्मेवार छन् । त्यसैलाई मलजल गरेर आम्दानीको स्रोत बनाउने ध्याउन्नमा एउटा माइक र क्यामेरा बोकेर हिँडेका केही युट्युबर यो विकृतिका प्रमुख दोषी हुन् । आफ्नो कर्मले समाजलाई कता धकेलिरहेको छ भन्ने हेक्कासमेत नराख्ने उनीहरू र यस्ता सामग्रीलाई नै प्रोत्साहन गर्ने दर्शक तथा प्रयोगकर्ता अझ ठूला अपराधी हुन् ।
अब समय आएको छ, हामीले मौनता तोड्नुपर्छ । सामाजिक सञ्जालमा हुने यस्ता घृणित टिप्पणीलाई सामान्य ‘ट्रोलिङ’ ठानेर बेवास्ता गर्नुहुँदैन । यो एक गम्भीर अपराध हो र यसका विरुद्धमा हामी सबैले आवाज उठाउनुपर्छ । घर-परिवारदेखि विद्यालयसम्म, हामीले हाम्रा छोरालाई महिलाको सम्मान गर्न सिकाउनुपर्छ र छोरीलाई बलियो भएर अन्यायविरुद्ध बोल्न हौसला दिनुपर्छ ।
साइबर कानूनको प्रभावकारी कार्यान्वयन आजको सबैभन्दा ठूलो आवश्यकता हो, ताकि, पर्दापछाडि बसेर कसैको चरित्र हत्या गर्नेले सजायको भागीदार बन्नुपरोस् । अन्त्यमा, एलिना र समीक्षाहरूको यो लडाइँ उनीहरूको मात्र होइन, हामी सबैको हो । यो एउटा यस्तो समाज निर्माण गर्ने लडाइँ हो, जहाँ छोरी डराएर होइन, गर्वका साथ आत्मसम्मान लिएर बाँच्न सकून् ।
(लेखक नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी महासचिव हुन् ।)

Leave a Reply