काठमाडाैं। गैरआख्यान कृति ‘छालबाटो’का सर्जक रमेश भुसालले आफूले पाउने सम्पूर्ण पुरस्कारको आधार रकम विपन्न र अभिभावकविहीन बालिकाकाे पढाइमा खर्च गर्ने घोषणा गरेका छन् । हिजो मात्रै ५० हजार राशीको साहित्यपोस्ट गैरआख्यान पुरस्कार पाएपछि यस्तो घोषणा गरेका हुन् ।
भुसालले नेपालप्रेससँग कुरा गर्दै भने, ‘म आफैं पनि गर्भमै टुहुरो भएको थिएँ । त्यसैले मैले पाएको पुरस्कारको आधा रकम २५ हजार विपन्न र अभिभावकविहीन बालिकाको पढाइमा खर्च गर्ने घोषणा गरेको हुँ ।’
पुरस्कार कसलाई दिने भनेर यकिन चाहिँ भइनसकेको भुसालले बताए ।भुसालले ‘छालबाटो’ पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा गराएका छन् ।
वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् । छालबाटो उनको पहिलो पुस्तक हो ।

Leave a Reply