काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो नेपाली चलचित्रको ६० वर्षे इतिहासमा सबैभन्दा बढी आम्दानी गर्ने शीर्ष २५ चलचित्रको सूची सार्वजनिक गर्यो । उक्त सूचीको १३ औं नम्बरमा रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी’ पनि पर्यो । विकास बोर्डको रिपोर्ट अनुसार यस चलचित्रले १० करोड ३५ लाख कमाइ गरेको छ ।
तर, बोर्डले आज औपचारिक कार्यक्रम गर्दै प्रमाणपत्र वितरण गर्दा निर्माताको रुपमा आफ्नो नाम नलिएपछि रौनक विक्रम कँडेलले सामाजिक संजालमा दुखेसो पोखेका छन् । उनले लेखेका छन्, ‘कबड्डी कबड्डी सिनेमा आर्ट प्राइभेट लिमिटेडले निर्माण गरेको हो । तर, त्यसको निर्माता चाहिँ म रहेनछु, आज थाहा पाएँ । कार्यक्रममा निर्माण कम्पनी र निर्मातामा अरुकै नाम उच्चारण गरियो ।’
यो चलचित्रमा रौनकविक्रम कँडेल र सुनिलचन्द्र रौनियार निर्माताको रुपमा थिए । तर, कार्यक्रम संचालिकाले ‘कबड्डी कबड्डी’को नाम लिँदै निर्माण कम्पनीमा बाँसुरी फ्लिम्स र निर्माताको नाम रामबाबु गुरुङ भएको बताउँछिन् । जब कि रामबाबु गुरुङ यस चलचित्रको निर्देशक मात्रै हुन् ।
उनले आफू चलचित्र ‘दिमाग खराब’को निर्माताको रुपमा सम्मानित भए पनि ‘कबड्डी कबड्डी’को निर्माताको नाम अरुकै उच्चारण गरिएपटि दुखेसो पोखेका हुन् । उनले विकास बोर्डलाई ह्यासट्याग गर्दै लेखेका छन्, ‘तपाईंहरुको पारदर्शिता, इमानदारिता र सृजनात्मकता साँच्चै नयाँ उचाइमा पुगेको छ । कार्यक्रमको पर्दा पछाडि भएको अद्भूत जादुको जय होस् ।’
केही वर्षअघि आन्तरिक मदभेदका कारण रामबाबु गुरुङ र निर्माता रौनकविक्रम छुट्टिएका थिए । रौनकविक्रमले सिनेमा आर्ट लिएर गएका थिए भने रामबाबुले नयाँ कम्पनी बाँसुरी फिल्म्समार्फत् चलचित्र निर्माणको काममा सक्रिय भएका थिए ।
यसपछि रौनकविक्रमले ‘दिमाग खराब’ चलचित्र निर्माण गरेका थियो । यो चलचित्रले ८ करोड ९८ लाखको व्यापार गर्दै शीर्ष २५ को सूचिमा १६ नम्बरमा समावेश भएको छ ।


Leave a Reply