जुलाई ११ बाट भारत ‘एक्टरः टेक वान’, अदालतमा क्षतिपूर्ति दाबीसहित १५ लाखको चेक बदर माग

काठमाडौं । गत माघमा प्रदर्शन भएको चलचित्र ‘एक्टर : टेक वान’ भारतीय हलहरूमा प्रदर्शन हुने भएको छ । भारतमा रहेका नेपाली भाषी दर्शकहरूलाई लक्षित गर्दै नेपाली भाषामा चलचित्र प्रदर्शन हुन लागेको हो ।

भारतीय वितरक शान्ति ड्रिस्टिब्युटर्सले मुम्बाइ, चेन्नाइदेखि दार्जिलिङ, सिक्किमसम्ममा ‘एक्टरः टेक वान’ प्रदर्शन हुन लागेको निर्माता थमन कुमार भण्डारीले बताए । भण्डारीले भने, ‘नेपालमा प्रदर्शन भएको समयमै भारतमा पनि प्रदर्शन गर्ने तयारी थियो । तर, उता सेन्सर पास गर्न ढिलाइ भएपछि नेपालमा प्रदर्शन भएको छ महिनापछि प्रदर्शन हुन लागेको हो ।’

नेपालमै पनि ‘एक्टरः टेक वान’ले प्रदर्शनअघि अदालती प्रक्रियाको सामना गर्नु परेको थियो । गत माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रविरुद्ध अर्को चलचित्र ‘एक्टर’का निर्माता सम्राट थापाले नाम चोरीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले प्रदर्शन रोक्न आदेश दिएको थियो । पछि भण्डारी र थापाबीच आपसी सहमति भयो, भण्डारीले १५ लाखको चेक दिएपछि १८ गतेबाट चलचित्र प्रदर्शन भएको थियो ।

निर्माता भण्डारीका अनुसार तीन दिन प्रदर्शन रोकिँदा एइड्भान्स बुकिङ अन्तर्गत ४० लाख त नगद मात्रै घाटा भएको थियो ।

दुवै पक्ष सहमतिमा आएपछि १८ गतेबाट प्रदर्शन भएको चलचित्रले अपेक्षित व्यापार गर्न सकेन । चलचित्र विकास बोर्डको तथ्यंक अनुसार चलचित्रले एक करोड दुई लाख मात्रै ग्रस कलेक्सन गर्न सकेको छ । यो भनेको निर्माताको हातमा करिबकरिब ३५-४० लाख रुपैयाँ मात्रै हात पर्नु हो । जब कि आफूले साढे तीन करोड रुपैयाँ लगानी गरेको भण्डारीको दाबी छ । लगानीको आधारमा चलचित्र घरेलु बक्स अफिसमा पूर्ण रूपमा असफल भएको देखिन्छ ।

निर्माता भण्डारी यो सम्पूर्ण असफलताको दोष मुद्दा दा«यर गर्ने ‘एक्टर’का निर्माता थापालाई दिएका छन् । यही कारण उनले काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् । उक्त मुद्दाबारे भण्डारीले भने, ‘उहाँ (सम्राट थापा)ले त्यसवेला हामीलाई ट्र्यापमा पारेर हामीबाट अनुचित रूपमा लाभ लिनुभयो । १५ लाखको चेक माग्नुभयो । हामी अप्ठ्यारोमा परेका कारण उक्त चेक दिन बाध्य भयौँ । अहिले त्यही चेक अदालतले बदर गरिदिनुपर्‍यो भनेर मुद्दा हालेका छौँ । त्यसका साथै चलचित्रको क्षतिपूर्तिको सन्दर्भमा पनि मुद्दा हालेका छौँ ।’

क्षतिपूर्ति कसले दिनुपर्ने ? भन्ने प्रश्नमा भण्डारीले भने, ‘त्यो त अदालतले फैसला देला । चलचित्र विकास बोर्डले दिन्छ कि कसले दिन्छ ? हामीलाई ट्रयापमा पारियो, तीन दिन प्रदर्शन रोकियो । यही कारण हामी डुब्यौं ।’

क्षतिपूर्ति रकम भने वितरकहरूले हिसाब गरेर निकाल्ने भण्डारीले बताए । भारतमा प्रदर्शन गरेपछि अन्य देशहरूमा पनि प्रदर्शन गर्ने र भदौ वा असोजतिर नेपालमा पनि पुनः प्रदर्शन गर्ने योजना रहेको उनले बताए ।

चलचित्रमा प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला लगायत कलाकारको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *