काठमाडौं । केही दिनदेखि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सुरू गरेको ‘प्रोफाइल सार्वजनिक अभियान’ को बिसर्जन भएको छ । चौहानले एक भिडिओ सन्देशमार्फत् उनले अभियान सकिएको घोषणा गरेकी हुन् ।
केही दिनदेखि यी दुई गायिकाले आफूहरूलाई कमेन्ट, म्यासेजमा अभद्र गाली गर्ने, अपाच्य शब्दहरु प्रयोग गर्ने प्रयोगकर्ताको फ्रोफाइल सार्वजनिक अभियान चलाएका थिए । उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने, व्यक्तिगत जीवनमा असर गर्ने र मानसिक स्वास्थ्यमै समस्या पर्नेगरी छुद्र शब्दहरूको प्रयोग गरेर गाली गर्नेहरूलाई सामाजिक सञ्जालबाटै धमाधम सार्वजनिक गरिरहेका थिए ।
उनीहरूले यसरी प्रयोगकर्ताको प्रोफाइल नै सार्वजनिक गर्न थालेपछि कतिपयले उनीहरूसँग माफीसमेत मागेका थिए ।
अहिले तेस्रो दिनमा आइपुगेर भने गायिका चौहानले यो अभियान समाप्त भएको बताएकी छन् । उनले आफूहरूको पक्षमा बोल्ने मिडियाहरूलाई पनि धन्यवाद दिँदै भनेकी छन्, ‘सबै मिडिया उस्तै हुँदैनन् भनेर प्रमाणित गरिदिनुभएको छ ।’
‘कतिपय कलाकार भएपछि यति सहन सक्दैन भन्दै हुनुहुन्थ्यो । सहन सकिन्छ, तर गल्ती छ भने मात्रै । हामी गाली खानलाई कलाकार भएको होइन, हाम्रो कला प्रस्तुत गरेर हजुरहरूलाई मनोरन्जन दिनलाई पो कलाकार भएको हो त,’ चौहानले भनेकी छन्, ‘तपाईंहरूको घरको फ्रस्टेसन, श्रीमतीसँगको फ्रस्टेसन पोख्ने ठाउँ हामी होइन । रक्सी खाएको बेला फ्रस्टेसन निकाल्ने ठाउँ हामी होइन । यदि हामीसँग तपाईंहरूलाई चित्त बुझ्दैन भने ब्लक गर्दा हुन्छ ।’
आफूहरूले ‘जस्तालाई तस्तै’ अभियान चलाएपछि कतिपयले ‘तिमीलाई मान्छे चाहिँदैन ?’ भनेर समेत सोधेको बताउँदै भनिन्, ‘यस्तो घाँस मान्छे चाहिँदैन । बरु थोरै मान्छे होस्, बुझ्ने मान्छे होस् । व्यक्तिगत जीवनलाई जज गर्ने मान्छे चाहिँदैन ।’
आफ्ना लागि आफ्नै लड्न सुरू गरेपछि यो अभियानले धेरै प्रभावकारी समेत भएको चौहानले बताएकी छन् । अब फेरि यति गर्दा पनि त्यस्ता खराब मान्छेहरु छाँटिएन भने कानुनीरूपमा अगाडि बढ्ने बाटो सधैँलाई खुल्ला रहेको समेत बताइन् । अब उजुरी गर्न प्रहरी चौकी जान नपर्नें, मेल गर्दा पनि हुने बताउँदै सबैलाई सचेत रहन सुझाव पनि दिइन् ।
दुई दिनअघि चौहानले फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’
साथै एक भिडिओ सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने समेत बताएकी थिइन् । थप कानूनी उपचारको लागि जाने समेत बताएकी थिइन् ।
अधिकारी र चौहानको यो हिम्मतको चौतर्फी प्रशंसा भइरहेको छ ।
अधिकारी र चौहानले झैँ यसअघि अभिनेत्री ऋचा शर्माले समेत आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिन सट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । टिकटकर तथा मोडल प्रिन्सी-प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक आईडी सेयर गरेका थिए ।
व्यक्तिगत र व्यावसायिक जीवनमै असर गर्ने गरी, मानसिक स्वास्थ्यमै असर गर्ने गरी तुच्छ शब्दहरू प्रयोग गरेर गरिएको कमेन्ट, म्यासेजविरुद्ध पछिल्लो समय कलाकारहरूले सामाजिक सञ्जालबाटै आक्रामक तवरले प्रतिक्रिया दिन थालेका छन् । योबाहेक भरपर्दो अन्य समाधानको बाटो केही नभएपछि सञ्जालबाटै बोल्न बाध्य हुनु परेको कलाकारहरूले बताउने गरेका छन् ।

Leave a Reply