अब विदेशी लगानीकर्ताले नेपाली मुद्रामा खाता खोलेर लगानी ल्याउन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीकर्ताहरूलाई अब नेपाली मुद्रामा खाता खोलेर लगानी ल्याउन सक्ने व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

उक्त विनियमावलीको ११क मा विदेशी लगानीकर्ताले खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धी व्यवस्था गर्दै भनिएको छ, ‘विदेशी लगानीको स्वीकृतिप्राप्त विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी रकम नेपाली बैंक तथा वित्तीय संस्थामा परिवर्त्य विदेशी मुद्रा वा नेपाली रुपैयाँको खाता खोली जम्मा गर्न सक्नेछन् ।’

विदेशी लगानी बापत आर्जित रकम र लगानी फिर्ताको रकम सम्बन्धित विदेशी लगानीकर्ताको नेपाली बैंक वित्तीय संस्थामा खोलिएको ने.रु. खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।

गैर आवासीय नेपालीले संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयरमा आवेदन दिने प्रयोजनको लागि विदेशी लगानीको स्वीकृति अगावै त्यस्तो रकम विदेशी लगानीकर्ताको खातामा भित्र्याउन सक्नेछन् ।

शेयर बाँडफाँडमा नपरी आवेदन गरेको रकम विदेशमा फिर्ता गर्नु परेमा खाता रहेको बैंक–वित्तीय संस्था वा आवेदक गैर–आवासीय नेपालीले संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी वा सोको सेयर रजिष्ट्रारको सिफारिस सहित एकाइमा निवेदन पेश गर्नु पर्नेछ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १९(३) को व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम हुने कर बापतको रकम सम्बन्धित विदेशी लगानीकर्ता, उद्योग/कम्पनी, वा कर कार्यालयको नाममा प्राप्त हुने गरी बैंक तथा वित्तीय संस्था मार्फत भित्र्याउन सकिनेछ । यस्तो रकम भित्र्याउन राष्ट्र बैंक वा विदेशी लगानी स्वीकृत गर्ने निकायको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

विदेशमा लगानीको नियमनबारे पनि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ ।  विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सकिने भएको छ ।

संशोधित व्यवस्था अनुसार औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र/उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्नेछ ।

सूचना प्रविधि उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्षहरूमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनु पर्नेछ । सूचना प्रविधि उद्योगले विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्ला तीन आर्थिक वर्षहरूमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुने विनियमावलीमा व्यवस्था गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *