बागमतीका निलम्बित मेयर भरत थापालाई ५० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापालाई धरौटीमा छाड्न सर्लाही अदालतले आदेश दिएको छ ।

अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्‍याएको तथा वन ऐनको उल्लंघन गरेको मुद्दामा न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले थापालाई ५० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार थापा आइतबार नै अदालतमा हाजिर भएका थिए । थापाविरुद्ध ४७ लाख घनमिटर भन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।

थापासँगै बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर भएको थियो । थापा बाहेक उक्त मुद्दामा प्रतिवादी बनाइएका ५ जना हाजिर हुन बाँकी रहेका छन् ।

भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा भने विचाराधीन छ । उनी हाल निलम्बित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *