काठमाडौं । संघीय संसद सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुरा बढुवा भएका छन् । सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो ।
सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो । दुरा २०५२ सालदेखि संघीय संसद सचिवालयमा कार्यरत छन् ।
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका दुराले संसद सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायतका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन् । हाल उनी राज्य व्यवस्था तथा सुशासन समितिको सचिव छन् ।
दुराले शनिबार नै सिंहदरवारस्थित कार्यालयमा पदबहाली गरेका छन् ।

Leave a Reply