भ्रष्टाचारमा तानिँदै पत्रकार, एक सातामै ७ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । दलका नेता र उच्च तहका कर्मचारी भ्रष्टाचारको मुद्दामा परिरहेका बेला पत्रकार पनि मुछिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो ३ महिनामा मात्रै १० जना पत्रकारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो एक सातामा त्यस्तो संख्या ७ जना छ ।

जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादवलाई धनुषाको बटेश्वर गाउँपालिकाको सूचनाको विषयलाई लिएर भ्रष्टाचार अभियोग लागेको छ ।

उनले आर्थिक वर्ष २०७६/२०७७ मा गाउँपालिकाको बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना लुकाएर एक प्रतिमात्रै प्रकाशित गरी सेटिङमा बील बनाइ ६ लाख ४४ हजार १०० रूपैयाँ भुक्तानी लिएका थिए । उनीमाथि ३ महिनादेखि ३ वर्षसम्म कैद र बिगो मागदाबीसहित चैत १२ मा मुद्दा परेको छ ।

त्यस्तै नेपाल मिडिया हाउस प्रालिका निर्देशक नवराज निरौलाविरुद्ध बाराको फेटा गाउँपालिकासँगको मिलेमतोमा ठेक्काको सूचना सौर्य दैनिक पत्रिकामा नगरी/नगराई अभिलेखमा राख्ने गरीमात्र प्रकाशन गरी १ लाख ४२ हजार १६० रकम भुक्तानी लिएकोमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिको २०७९/०८० को विभिन्न ४ वटा ठेक्काको बोलपत्र आव्हान र खरिद आशयको सूचना सौर्य दैनिकमा छापिएको भनी एक-एकप्रति मात्र बदनीयतपूर्ण तरिकाले प्रिन्ट गरेर मिलेमतो गरेको अभियोगमा जसमा टाईम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भूषणकुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रेस काउन्सिल नेपालको रेकर्डमा हेर्दा पत्रिकामा ती सूचना प्रकाशित भएको देखिएन । उनीहरूसँग ३ लाख १६ हजार ४१० रूपैयँ बिगो ३ महिनादेखि ३ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

२ दिनअघिमात्र रौतहट फतुवा विजयपुर नगरपालिकामा कृषकहरूका लागि औषधि स्प्रे टंकी वितरणको टेण्डर सूचना ननिकाली सेटिङ गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, पत्रिकाका सम्पादक, प्रकाशक र पत्रकारसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारका अनुसार उक्त सूचना जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशित भएको भएको भनिएको सूचना वास्तविकरूपमा प्रकाशन गरेको नदिएको र एकप्रति रेकर्डका लागि मात्र प्रिन्ट निकालिएको थियो ।

तत्कालीन प्रशासकीय अधिकृत, सह-लेखापालसँगै जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधि ओमप्रकाश यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।

जनसवाल राष्ट्रिय दैनिकलाई १ लाख ७२ हजार ८२५, तराई एक्सप्रेसलाई ३९ हजार ४ सय र तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २२५ रूपैयाँ झुट्टा बिल राखेर भुक्तानी गरिएको थियो ।

मधेश प्रदेश मिडिया काउन्सिलमा रजिष्टार नियुक्त कमलकुमार उपाध्याय पनि अहिले भ्रष्टाचार मुद्दापछि निलम्बनमा छन् । बाराको पचरौता नगरपालिकासँगको मिलेमतोमा उनले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको उनीमाथि अभियोग छ ।

नगरपालिकाको दुई वटा ठेक्काको टेण्डर सूचना राष्ट्रियस्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा केएस मल्टीपरपोज प्रालिका अध्यक्षसमेत रहेका उपाध्यायले रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएर बील भरपाइ बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेका थिए ।

स्थानीय तहकै भ्रष्टाचारको मुद्दामा छन् भने रामेछाप पत्रकार महासंघका पूर्वसभापति टिका भट्ट पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

Comments

2 responses to “भ्रष्टाचारमा तानिँदै पत्रकार, एक सातामै ७ जनाविरुद्ध अख्तियारको मुद्दा”

  1. RK Avatar
    RK

    जात फाल्नु गुन्द्रुक को झोलमा ! कम्तीमा १ / २ करोड त खानु !

  2. Pradip Ray Avatar
    Pradip Ray

    पत्रकार नै यस्तो भयो भने देशमा केही उभो लाग्छ यो मुलाहरूलाई कडा कारबाही गर्नुपर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *