जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुर, धनुषाको औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसमेत १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोगअ अनुसन्धान आयोगले सांसद ठाकुरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले औरही गाउँपालिकामा अस्पताल निर्माणमा अनियमिता गरेको विषयमा साँसद ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको पुष्टि गरे ।
उनका अनुसार अस्पताल निर्माण गर्न आफ्ना मान्छेलाई ठेक्का पार्न सांसद ठाकुरले चलखेल गरेका थिए ।
औरही गाउँपालिका २ देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माण गर्न २४ करोड ४३ लाख ५२ हजार ६५० रुपैयाको लागत अनुमान तयार गरिएको थियो । ०७८ वैशाख १७ मा बोलपत्र आह्वानको सूचना प्रकाशन भएको र बोलपत्र पेश गर्ने अन्तिम मिति जेष्ठ १६ मा आफ्ना व्यक्तिलाई ठेक्का पार्न बोलपत्र पेश गर्ने म्याद सात दिन थप गरेको तथा पुनः बोलपत्र पेश गर्ने समय जेष्ठ ३१ सम्म रहनेगरी ८ दिनको म्याद थप गरेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ ।
१५ वटा बोलपत्र दर्ता भएकोमध्ये १३ बोलपत्रदाताहरुको बोलपत्रलाई प्राविधिक मुल्यांकन असफल गर्न लगाएको र प्राविधिक मुल्यांकनमा सफल लुम्बिनी÷डी. एण्ड एन.जे.भी. र समानन्तर÷बबुल जे.भी.ले दोस्रो पटक म्याद थप भएको अन्तिम समयमा जेष्ठ ३० गते बोलपत्र पेश गरे गराएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सबै भन्दा कम १२ करोड ३५ लाख ५० हजार २४८ रुपैयाँ ८५ पैसा गर्ने बोलपत्रदाता प्रतिष्ठा÷धुलिखेल÷एक्सिस एसियन जे.भी.लाई बोलपत्रमा उल्लेख भएको के एक्टिभिटिस कारण प्राविधिक मुल्याङकनमा फेल गराई उक्त रकमभन्दा बढी रकम १९ करोड १४ लाख ६२ हजार ६३२ रुपैयाँ ८३ पैसा कवोल गर्ने लुम्बिनी÷डि. एण्ड एन. जे.भी.लाई छनौट गरेको अख्तियारको अनुसन्धानले पुष्टि भएको छ ।
अस्पताल निर्माणको ठेक्कामा ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैया ९८ पैसा हानिनोक्सानी भएको भन्दै अख्तियारले साँसद ठाकुर र तत्कालिन गापा अध्यक्ष यादवसहित १७ जनालाई विपक्षी बनाएको छ । उनीहरुविरुद्ध सोही बमोजिमको रकम बिदो दावि गरिएको छ ।
मधेशका सत्तारुढ एमाले सबभन्दा ठूलो दल रहेको छ । एमालेका २५ साँसद छन् । भ्रष्टाचार सम्बन्धी मुद्दा परेसँगै ठाकुर साँसद पदबाट निलम्बित भएका हुन् । उनी संसदीय दलका उपनेता थिए ।

Leave a Reply