सिंगो गाउँमा धारा लैजाँदा एक परिवार छुटे, राजनीतिक विभेद गरेकाे आराेप

काठमाडौं । संघीय राजधानी काठमाडौंसँगै साँध जोडिएको पालिकामा फरक दल भएकै कारण एक परिवार खानेपानीको लाइनबाट वञ्चित हुनुपरेको छ । दक्षिणकाली नगरपालिका-८ काजीगाउँमा सिंगो गाउँमा खानेपानी वितरण गर्दा कुसुम धितालको घरमा धारा जोडिएन ।

कांग्रेसले बजेट ल्याएको योजनाको पानी ‘एमालेलाई नदिने’ भनेर धारा नजोडिदिएको कुसुमको परिवारले बताएको छ ।

१७-१८ घरधुरी लाभान्वित हुने गरी यो योजना उपभोक्ता समितिमार्फत् सञ्चालन गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष राजु आचार्य थिए । आफ्नै घरको आँगनबाट गएको पानीको एक लाइन माग्दा उल्टै रुट नै परिवर्तन गरेर पाइप बिच्छ्याइएको कुसुमका छोरा आशिषले गुनासो गरे ।

खानेपानीको ट्यांकी धितालकै घरमास्तिर बनाएको छ । तर, ट्यांकीबाट पाइप वितरणको क्रममा उनको घर छुट्याइयो ।

आशिष भन्छन्,‘हाम्रो घरभन्दा माथि ट्यांकी बनाएको छ । घरकै बाटो हुँदै लैजान लागिएको थियो । हामीले धारा मागेपछि पाइपको रुट नै फेरियो । खनेको खाल्डो पनि त्यत्तिकै छाडेका छन् ।’

उनले भने, ‘पार्टीको कुरा हो वा व्यक्तिगत के हो भित्री कुरा उनीहरू नै जानुन् । इस्यू चाहिँ उनीहरूले पार्टीको कुरा निकाले कांग्रेसको बजेटले ल्याएको पानी रे ।’

आशिष भन्छन्,‘हाम्रो छेउको घरले यही धाराको पानी लगेर खाइरहेका छन्, हाम्रै रुटबाट जाने २/३ घर छ । हामीलाई मात्र छुट्याएको छ । आँगनैबाट पाइप लैजाँदा पानी दिन्नँ भनेर बाटो नै परिवर्तन गर्ने भनेको कसरी चुप लागेर बस्नु ?’

पार्टी फेरेकोले पानी नदिएको पनि समितिका मान्छेले गाइँगुइँ गरेको उनी बताउँछन् । ममीलाई माफी माग्नु भने रे । माफी किन माग्ने ? पानीको लागि पार्टी भनेर हुन्छ त ?’

आशिषले आफ्नो घरमा धारो जोड्न नदिएकोमा उत्तमप्रसाद आचार्यले नेतृत्व गरेको आरोप लगाए । खानेपानी आयोजनाको बजेट पनि पारदर्शी नभएको हिमेश केसी टिप्पणी गर्छन् ।

योजनाको जानकारी दिन सार्वजनिक बोर्ड नराखेको र समितिमा आफूखुसी मान्छे राखेर आफ्नै खुसीमा पानी वितरण गरिएको हिमेशको भनाइ छ ।

१५ दिनअघिको यो घटनाबारे मौखिक सिकायत लिएर वडाध्यक्ष, मेयर उपमेयरकहाँ पुगेपनि कसैले चासो नदिएको उनीहरू बताउँछन् । मंगलबारमात्र न्यायिक समिमितमा लिखित उजुरी दिइएको छ । यो उजुरीपछि भने घटना बिस्तारै बाहिर आउन थालेको छ ।

कुसुमले उपभोक्ता समितिका अध्यक्ष र मेयर, उपमेयर, डिभिजन खानेपानी कार्यालयका इन्जिनियर महेश शर्मा र कर्मचारी देव कृष्ण थापासमेतलाई विपक्षी बनाएर उजुरी दिएकी छन् ।

उनले उजुरीमा लेखेकी छन्,‘दक्षिणकाली खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजु आचार्यलगायत समितिका सदस्यहरूले खानेपानीको पाइप विस्तार गर्ने क्रममा पानीको पाइप विभेदपूर्ण तरिकाले वितरण गरेको विरोध गदौ समितिको अध्यक्षले यो पानी कांग्रेसले मात्र पाउँछ, तिमी कांग्रेस नभएकोले पाउँदैनौं धेरै बोल्यो भने लगेर थुनिदिन्छु भन्दै धम्की दिएको र जनप्रतिनिधिलाई मौखिम रूपमा बारम्बार जानकारी गराउँदा पनि सुनुवाइ नभएको उल्लेख गरेकी छन् ।’

मेयर भन्छन्- हतारिएर उहाँहरूले बाहिर कुरा लैजानुभयो

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले आफूहरूले उक्त घटना छलफल गरेर मिलाउने कोसिस गरेको जवाफ दिए । नेपाल प्रेससँगको कुराकानीमा उनले पानी खान नपाउने कुरा दु:खद भएको तर पीडित पक्ष हतारिएर मिडियासम्म पुगेको बताए ।

मेयर बस्नेत ।

पार्टीगत हिसाबले पानी नपाएको कुरा गलत भएको उनको दाबी छ ।

‘उपभोक्ताबीचकै बेमेलको कारण यस्तो भयो भन्दै मसँग भन्न आउनुभएको थियो । हामी सम्झाइदिन्छौं तपाईंहरू त्यहाँ छलफल गर्नुस् भन्दा भन्दै उहाँहरु आत्तिएर छिटो अगाडि बढ्नुभएछ । वास्तवमा त्यस्तो होइन, होस् खानेपानी जस्तो कुरामा चाहिँ कुनै पनि वाद भन्ने कुरा आउँदैन ‘, मेयर बस्नेतले भने ।

न्यायिक समितिले उपभोक्ताहरूसँग बसी छलफल गरेर चाँडै टुंग्याउने बस्नेतको भनाइ छ ।

‘कसैलाई पानी दिने, कसैलाई नदिने भन्ने हुँदैन । न्यायिक समितिमा आइसकेपछि निरुपण हुन्छ’, उनले भने ।

उपमेयर वसन्ती तामाङ डंगोलले आफूविरुद्ध पनि उजुरी परेकोमा उल्टै अचम्म लागेको बताइन् ।

‘यो घटना यसअघि जानकारी थिएन । अब न्यायिक समितिबाट टुंगो लाग्छ’, उनले भनिन् ।

आफूमाथि अफवाह फैलाएर राजनीतिक प्रतिशोधका साथ मिडियावाजी गरेको उनको टिप्पणी छ ।

‘म आफैँ साइवर क्राइममा जान लागेको छु । धिताल परिवारले न्यायिक समितिमा पनि हाल्नुभएको रहेछ । छलफल गर्छौं । पानीजस्तो कुरा घरघरमा पुयाउनुपर्नेमा झन् हामीजस्तो जनप्रतिनिधिले नदिने भन्ने हुन्छ होला त ? न्यायिक समितिमा उजुरी हालेको जस्तो गरेर फोटो खिचेर जानुभएको रहेछ । दर्ता पनि भएको रहेनछ । एक घरलाई छुट्याउनु भनेको त अन्याय नै हो ।’

कुसुमको घरमा धारा जोड्न उपभोक्ता समितिलाई बोलाएर पहल गर्ने उपमेयरको भनाइ छ ।

८ नम्बर वडाका वडाध्यक्ष योसकुमार वाइवाले किन धारा नजोडिएको आफूले बुझ्ने बताए ।

‘यो कुनै पार्टीगत समस्या होइन जस्तो लाग्छ । हालसम्म यसबारे स्पष्ट जानकारी पाएको छैन । मलाई मौखिक रूपमा उजुरी दिनुभएको थियो । मैले उहाँहरूलाई वडामा लिखित निवेदन दिन र न्यायिक समितिमा पनि उजुरी दिन सुझाव दिएको छु । फरक पार्टी भएकैले पानी नदिएको दाबीबारे प्रस्ट केही भन्न सक्दिनँ’, वडाध्यक्षले भने ।

वृहत् खानेपानी योजना केही दिनमा सञ्चालनमा आउँछ । जब योजना सञ्चालन हुन्छ, सबै घरमा पानी पुग्ने व्यवस्था हुन्छ । शायद उहाँहरूको घरमा पहिले नै वृहत् खानेपानीको धारा जोडिएकाले दोहोर्‍याएर जडान नगरिएको हुन सक्छ । उपभोक्ता समितिसँग पनि क-कसले त्यो मूलको पानी प्रयोग गर्दै आएका छन् भन्ने विवरण हुन सक्छ । म यसबारे थप बुझ्नेछु’, उनले थपे ।

धितालको घरमा यसअघि मिटरजडित धारो जोडिएको थियो । केही समयअघिको ठूलो पानी पर्दा त्यो पानीको मुहान सबै बगाइदिएको उनीहरूले बताएका छन् ।

उपभोक्ता समितिका अध्यक्षको खण्डन-

यसैबीच खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजु आचार्यले पाइपलाइन बिस्तारको क्रममा कुसुमको घर अगाडि दलित बस्तीको पहिलैदेखि आवतजावत गरिरहेको घोरेटो बाटोबाट ३ फीट गहिरो खनी लान खोज्दा ‘मेरो खेतको सीमाबाट लान दिन्नँ’ भनी पटकपटक अवरोध गरेको बताएका छन् ।

‘अवरोधपछि सो स्थानको सट्टा ३ सय मिटर टाढा सीतादेवीको बारीछेउबाट बिस्तार गर्न बाध्य भएको र निजले उपभोक्ता समितिमा लिखित/मौखिक रूपमा धारो माग नगरको साथै विना भेदभाव सबैकोमा धारा पुर्‍याइएको छ’, आचार्यले भने ।

धिताल परिवारले ‘कांग्रेसलाई मात्र पानी दिने भन्दै धारो नजोडिदिएको’ भनी गम्भीर आरोप लगाइ आफ्नो प्रतिष्ठामा समेत आँच पुर्‍याएको भन्दै उनले बाहिर आएका कुराको खण्डन पनि गरेका छन् ।

Comments

One response to “सिंगो गाउँमा धारा लैजाँदा एक परिवार छुटे, राजनीतिक विभेद गरेकाे आराेप”

  1. Chandra Panta Avatar
    Chandra Panta

    लाज हराएको समाज र राजनीति भएपछि यस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *