काठमाडौं । दिवंगत राजपरिवारको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रममा आज साँझ राजावादीहरु ठूलो संख्यामा कमलादीस्थित गणेश मन्दिरमा पुगे । त्यहाँ नजिकै रहेको प्रज्ञा भवनमा वाइसीएलको पनि कार्यक्रम थियो ।
यसअघि नारायणहिटी दरवारभित्रको मन्दिरमा गर्ने भनिएको दीप प्रज्ज्वलन त्यहाँ निषेधाज्ञा लागेपछि हिमानी ट्रस्टले कमलादीस्थित गणेश मन्दिरमा सारेको हो । साँघुरो ठाउँमा हजारौं संख्यामा राजसंस्था समर्थकहरु भेला भएका थिए । राजावादी शीर्ष नेताहरु सबैजसो आएर दिवंगत राजपरिवारलाई श्रद्धान्जली र दीप प्रज्ज्वलनमा सहभागी भए ।
पूर्वयुवराज्ञी हिमानी र उनका सुपुत्र पूर्वनवयुवराज हृदयेन्द्रको इन्ट्रीपछि सबैको ध्यान उनीहरुतिर सोझियो । मोबाइल र क्यामरा निकालेर सबैले उनीहरुको तस्बिर खिच्न र भिडिओ बनाउने होडमा लागे । भीडलाई छिचोलेर उनीहरुलाई मन्दिर प्रवेश गराउन स्वयम्सेवकलाई हम्मे हम्मे परेको थियो ।

आजकाे कार्यक्रममा पूर्वयुवराज पारसकाे उपस्थिति हुने बताइएकाे थियाे । हिमानी र पारसलाई एकसाथ क्यामेरामा कैद गर्न सञ्चारकर्मीहरु पनि बाक्लाे संख्यामा उपस्थित भएका थिए । तर पारस भने कार्यक्रममा आएनन् ।
कमलादी मन्दिरभित्र प्रहरीको कुनै उपस्थिति थिएन । बाहिर प्रहरी परिचालन भएका थिए, तर उनीहरुले पूर्वराजपरिवारलाई सुरक्षा दिएनन् । हिमानी र हृदयन्द्र भित्र छिर्दा सुभेच्छुकहरुले उनीहरुको जयजयकार गरेका थिए । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को नारा समेत लागेको थियो ।
यता बाहिरको माहोल निकै संवेदनशील थियो । माओवादीनिकट वाइसीएलको राष्ट्रिय सम्मेलन चलिरहेको थियो नजिकै प्रज्ञा भवनमा । हिमानी र हृदयेन्द्र आएको थाहा पाएपछि बन्दसत्रबाट निस्किएर वाइसिएल कार्यकर्ता सडकमा आए । उनीहरुले राजपरिवारविरुद्ध नारावाजी गरेपछि माहोल बिग्रियो । त्यस क्रममा धकेलाधकेल र ढुंगा हानाहान पनि भएको थियो ।
झडपको अवस्था आएपछि प्रहरीले हस्तक्षेप गर्यो । उनीहरुले राजावादी कार्यकर्तालाई माओवादी सभास्थलतिर आउन दिएनन् भने वाइसीएललाई पनि मन्दिरतर्फ जान रोके । केहीबेरमा स्थिति नियन्त्रणमा आएको थियो ।
झडपको अवस्था निम्तिनुमा दुवै पक्षले एक अर्कामाथि आरोप लगाएका छन् । राप्रपा नेतृ खुस्बु ओलीले राजावादीले ढुंगामुढा र राजपरिवारविरुद्ध नारावाजी गरेको आरोप लगाइन् ।
भिडिओ
उनले सञ्चारकर्मीसँग भनिन्, ‘अहिले प्रज्ञा प्रतिष्ठानबाट वाइसीएलको साथीहरुले ढुंगामुढा प्रहार गर्नुभयो । यो चरित्र र आचरणको कुरा हो । उहाँहरुले हाम्रो कार्यक्रममा ढुंगामुढा गर्नुभयो, हामीले त गणतन्त्र दिवसको कार्यक्रममा ढुंगामुढा गरेका थिएनौं नि ।’
नेपाल प्रेससँग कुरा गर्दै एक वाइसीएल कार्यकर्ताले भने राजावादीले नै आफूहरुको कार्यक्रम स्थलमा ढुंगामुढा गरेको आरोप लगाए । उनले राजावादीहरुलाई कोठाकोठाबाट थुतेर गोद्ने धम्की पनि दिए ।
हेर्नुस् भिडिओ:
तस्बिरहरु:


Leave a Reply