काठमाडौं । व्यवसायीको आन्दोलनले सार्वजनिक सवारी ठप्प भएको बेला यात्रुको सुविधाका लागि साझा यातायातले सडकमा आफ्ना बस निकालेको छ । साझाले प्रहरी सुरक्षामा काठमाडौं उपत्यकामा ४० वटा बस गुडाएको हो ।
साझा यातायातका यातायात व्यवस्थापन अधिकृत शंकर बस्यालले बिहान प्रहरीसँग सल्लाह गरेर १५ वटा बस विभिन्न रुटमा चलाइएकोमा दिउँसोबाट थप गरिएको बताए ।
प्रत्येक गाडीमा २ जना प्रहरीले हतियारसहित पहरा दिएका छन् । बस्यालले साझासँग १ सय वटा बस रहेको भन्दै सबै निकाल्ने तयारीमा रहेको सुनाए ।
ललितपुर र काठमाडौं प्रहरीसँग समन्वय गरेर बस चलाइरहेको बस्यालको भनाइ छ । पोखरा र कुश्मामा अज्ञात समूहले साझाको बस तोडफोड गरेकले अहिले लामो रुटमा नचलाइएको तर अवस्था हेरेर चलाउन सकिने उनले बताए ।
उनी भन्छ्, ‘काठमाडौंमा १ सय वटा साझाको बस सञ्चालन हुँदा ६ हजारभन्दा धेरै यात्रुले सुविधा पाउँछन् ।’
यी हुन् काठमाडौंमा साझा बस सञ्चालन भएका ५ वटा रुट
साझा यातायातले विभिन्न ८ वटा रुटमा बस सञ्चालन गर्दै आएकोमा सार्वजनिक यातायात व्यवसायीले यातायात बन्द गरे पनि ५ वटा रुटमा साझा यातायातले बस सञ्चालन गरिरहेको छ । लगनखेल–गोगंबु बसपार्क, लगनखेल–बूढानीलकण्ठ, गोदावरी– रत्नपार्क, थानकोट–एयरपोर्ट र थानकोट–बुढानीलकण्ठ रुटमा बस सञ्चालन भइरहेको छ ।
असुरक्षाका कारण लामाटार–रत्नपार्क, लेले-जमल र बुगमती-जमल अहिले सञ्चालनमा छैन । प्रहरीसँगको समन्वयमा यी रुटमा पनि बस सञ्चालन गर्ने तयारीमा साझा रहेको छ ।

Leave a Reply