काठमाडौं । चलचित्र ‘माइतीघर’को क्लाइमेक्स दृश्य खिच्दा कलाकारहरु नै भावुक भएर रुन थालेपछि चलचित्रको सुटिङ नै डेढ घण्टा रोकिएको छ । म्याग्दी जिल्लामा भइरहेको सुटिङमा क्लाइमेक्स दृश्य खिच्ने क्रममा कलाकारहरु साँच्चिकै रुन थालेपछि डेढ घण्टा सुटिङ अवरुद्ध भएको हो ।
निर्माता रोहित अधिकारीका अनुसार क्लाइमेक्स दृश्यमा बिहेको पनि दृश्य थियो । बिहेको दृश्यमा बेहुली पक्षकाहरु रुने नै भए । तर, बेहुला पक्षका जन्तीहरु पनि रुन थालेपछि सुटिङ अवरुद्ध भएको हो । जन्तीका रुपमा मुख्य कलाकार माग्ने बूढा (केदारप्रसाद घिमिरे) नै रुन थालेपछि सुटिङ अघि बढाउन झनै समस्या भएको अधिकारीले बताए ।
अधिकारीले भने, ‘हामीले क्लाइमेक्सको सट खिचिरहेका थियौं । धिरज मगर बेहुला थिए । माग्ने बूढा बेहुलाको तर्फबाट जन्ती थिए । भावुक हुनुपर्ने चाहिँ केटी पक्षकाहरु थियो । तर, बेहुला पक्षहरु नै भावुक हुन थालेपछि डेढ घण्टा सुटिङ रोक्नुपर्यो ।’
भावनात्मक दृश्यका कारण चलचित्र नाटक मात्रै हो भन्ने जान्दाजान्दै पनि कलाकारहरु रोएको अधिकारीले बताए । अलि सम्हालिएपछि अधिकारीलाई माग्ने बूढाले भने, ‘थाहा पाई पाई हामी भावुक भयौं । हाम्रा घरमा पनि छोरीचेली भएका कारण त्यसरी भावुक भयौं ।’
चलचित्रमा केटा पक्ष हास्ने हो, केटी पक्ष मात्रै भावुक हुने हो भनेर सम्झाएपछि क्लाइमेक्स दृश्यको रिसुट गर्ने माहौल बनेको अधिकारीले बताए ।
अधिकारीका अनुसार म्याग्दीमा भइरहेको चलचित्रको सुटिङ अहिलेसम्म चलचित्रको ९५ प्रतिशत सक्किइसकेको छ ।
आउँदो फूलपातिमा प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रमा माग्ने बूढाको साथमा प्रकाश सपूत, धिरज मगर, उपासनासिंह ठकुरी लगायत कलाकार छन् । चलचित्रको निर्देृशन मिलन तामाङले गरिरहेका छन् । यही चलचित्रबाट सिक्किमेली अभिनेत्री श्यामश्री शेर्पाले डेब्यु समेत गर्दैछिन् ।

Leave a Reply