दाउन्ने सडक पूर्ण अवरुद्ध

रुपन्देही । बिहीबार रातिदेखिको लगातारको वर्षाका कारण पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिकैको सडक भासिएपछि सवारी आवागमन ठप्प भएको हो।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिममा अवस्थित उक्त क्षेत्रको करिब ८ मिटर सडक खण्ड भासिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रमुख, प्रहरी नायव निरीक्षक तिर्थराज भुसालले जानकारी दिए। उनका अनुसार सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको छ।

भासिएको भागमा आएको बाढीका कारण पूर्वबाट पश्चिमतर्फ गइरहेको तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको बलेरो जिप बगाएको छ। तर, मानवीय क्षति भने नभएको भुसालले बताए। घटनास्थलमा राति २ बजेदेखि नै सडक अवरुद्ध हुँदा बिहानसम्म पनि सञ्चालनमा आउन सकेको थिएन।

सडक मर्मत गरी सवारी सञ्चालनको प्रयास गरिए पनि पुनः दबिएपछि एकतर्फी रुपमा चलाउने प्रयाससमेत विफल भएको जनाइएको छ। केही दिनअघि मात्रै यही सडक खण्ड आंशिक रूपमा बन्द गरेर निर्माण कार्य भइरहेको थियो। सामान्य वर्षामा पनि लगातार सडक चिप्लिने र पहिरोको कारण अवरुद्ध हुने क्रम दोहोरिइरहेको छ।

सडक अवरुद्ध भएपछि अहिले पूर्वबाट पश्चिमतर्फ गइरहेका सवारीसाधन दुम्किबास ज्यामिरेमा र पश्चिमबाट पूर्वतर्फ गइरहेका सवारी बर्दघाटमा रोकिएका छन्।

यसअघि पनि गत शुक्रबार यही स्थानमा सडक भासिँदा करिब ११ घण्टा पूर्ण रूपमा सडक बन्द भएको थियो।

यता, दुम्किबास इलाका प्रहरी कार्यालयका अनुसार विनयी खोलाको डाइभर्सनसमेत बगाएको छ। केही महिनाअघि विनयी खोलाको पुल भत्किएपछि हालसम्म डाइभर्सनबाट सवारी आवागमन हुँदै आएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *