बजेटमा कर्णाली : पम्पिङ खानेपानीदेखि सुरुङमार्गसहित समेटियाे बहुआयामिक योजना

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कर्णाली प्रदेशमा खानेपानी, सडक, ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

बिहीबार प्रस्तुत बजेट वक्तव्यमा प्रदेशका दीर्घकालीन आवश्यकता र सम्भावनालाई सम्बोधन गर्ने परियोजनाहरू समेटिएको छन् ।

बजेटमा सुर्खेतको भेरी पम्पिङ खानेपानी आयोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, भेरी–बबई डाइभर्सन आयोजनाको हेडवक्र्स र पावरहाउस निर्माणका लागि २ अर्ब ७ करोड रुपैयाँ छुट्याइएको छ ।

खेलकुदको क्षेत्रलाई उस्तै प्राथमिकतासहित सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड रुपैयाँको बजेट तय गरिएको छ ।

ऊर्जा पूर्वाधार सुदृढ गर्न फुकोट कर्णाली र मुगु कर्णाली जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाइनेछ । यस्तै, कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइनलाई दुई वर्षभित्र सम्पन्न गरिने घोषणा गरिएको छ ।

यातायात पूर्वाधार विस्तारतर्फ पनि बजेटले उल्लेखनीय योजना अघि सारेको छ । कर्णाली कोरिडोर अन्तर्गत हिल्सा–सिमकोट र खुलालु–पिलुचौर–तुम्च सडक स्तरोन्नतिका लागि १ अर्ब २७ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, सुर्खेत–खुलालु–कालिकोट–जुम्ला, सुर्खेत–महावुलेक–नाग्मा–गमगढी सडकहरूलाई पनि स्तरोन्नति गरिनेछ ।

यसका अतिरिक्त, ताल्चा–रारा सडक कालोपत्रे, बबई–छिन्चु सुरुङमार्गको अगाडि बढाउने, रानीघाट–भुरिगाउँ र हात्तिसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने तयारी पनि बजेटमा समावेश गरिएको छ ।

पर्यटन क्षेत्रको सम्भावना विस्तार गर्ने उद्देश्यले बर्दिया–रारा पर्यटकीय पदमार्ग, रारा विकास, तथा कर्णाली र भेरी नदीमा फिङ (बोट) पर्यटन प्रवर्द्धन गरिनेछ । यसका लागि आवश्यक बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरी नमुना परीक्षणको प्रतिवेदनका आधारमा व्यावसायिक उत्पादन सुरु गरिनेछ, भन्ने सरकारले घोषणा गरेको छ । त्यस्तै, मध्य तथा उच्च पहाडी जिल्लामा उच्च मूल्यका बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा अटिजम तथा बौद्धिक अपांगता भएका बालबालिकाहरूको पहिचान, उपचार र पुनस्र्थापना सेवा सुरु गरिनेछ ।

सुर्खेतमा निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याइएको छ।
शिक्षा र हवाई सेवा विस्तारतर्फ सुर्खेत प्रादेशिक विमानस्थलको पूर्वतयारी सम्पन्न गरी निर्माणको थालनी गरिने जनाइएको छ ।

यस्तै, जुम्लामा उच्च उचाइको खेलकुद स्टेडियम निर्माण गरिनेछ भने दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्धार सेवालाई यथावत राखिएको छ ।

सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिएका नयाँ शहरहरूको लागि छुट्टै बजेटको व्यवस्था समेत गरेको छ ।

संघीय बजेटले कर्णाली प्रदेशको दीर्घकालीन पूर्वाधार विकासलाई नयाँ गतिको अपेक्षा दिलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *