न्यूजिल्याण्डका उपप्रधानमन्त्री बालुवाटारमा, ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा दुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको हो।

उनीहरुबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रुपान्तरणलाई प्राथमिकता दिएको अवगत गराए।

उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका लागि भएका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साना मुलुकहरुको साझा हितका विषयमा सहकार्य गर्न जोड दिए।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए। सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *