लगातार १० वटा बैठक बंक गरेकी सांसद गीता गुरुङ पदमुक्त

रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् । लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो ।

जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा चयन भएकी गुरुङ पछिल्लो साढे दुई महिनादेखि बेलायतमा बस्दै आएकी छिन् । उनले वैशाख ३० गते श्रीमान् कैलाश गुरुङमार्फत हस्तलिखित राजीनामा पत्र सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक गरेकी थिइन् । तर, औपचारिक रूपमा राजीनामा पत्र प्रदेशसभामा पेश भएन ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङ लगातार १० बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद रिक्त घोषणा गर्न अनुरोध गरे । गुप्ताले आज प्रदेशसभाको बैठकमा गुरुङ पदमुक्त भएको घोषणा भएको नेपाल प्रेसलाई बताए ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार संविधानको उक्त धारामा ‘प्रदेशसभालाई जानकारी नदिई लगातार दश वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुनेछ’ भन्ने व्यवस्था छ । सोही आधारमा सभामुखले बुधबारको बैठकमा गुरुङको पद रिक्त भएको जानकारी दिएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा गुरुङ सबैभन्दा कम उपस्थिति हुने सांसद हुन् । पाँचौं अधिवेशनसम्म भएका ८३ बैठकमध्ये उनी ३४ बैठकमा मात्र उपस्थित भएकी थिइन् । छैंटौं अधिवेशनका १० वटै बैठकमा उनी अनुपस्थित रहिन् । तीन सांसद रहेको जनमतको अब दुई सांसद भएका छन् ।

बेलायतबाट आएर समानुपातिक सांसद बनेकी गुरुङ विदेश गएर बसेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *