काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका छन् ।
चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँगमात्रै नभई सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताए ।
उनले भने, ‘यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित विषय होइन । सिङ्गो सरकारसँग पनि सम्बन्धित छ । प्रतिपक्ष दलहरूले एकजुट भएर यो विषयलाई गम्भीर रूपले उठाइन्छ । यो सामान्य विषय छैन ।’
भनेपछि त्यही कारणले सरकार ढल्ने अवस्था आउँछ भन्ने जिज्ञासामा उनले थपे, ‘त्यो त अहिले भन्न सक्दिनँ । तर कम्तीमा प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा गराउने स्थितिसम्म चाहिँ बन्छ ।’
प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै महेन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।
बाबुरामले धेरै तल उत्रेर आफूमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नुमात्रै रहेको उनको जिकिर छ । एकता प्रक्रियामा बाबुरामलाई आफूले छोडेको नभई बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको टिप्पणीसमेत दाहालले गरे ।

Leave a Reply